spot_img
Home Blog Page 35

राजनीतिज्ञ लोकमणि आचार्यको संझना

राप्ती पोष्ट समाचारदाता

तुलसीपुर, २ भदौ । राजनीति र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका लोकमणि आचार्यको पाँचौं स्मृति दिवसका अवसरमा शुक्रबार तुलसीपुरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।

पुष्पलाल स्मृति प्रतिष्ठान दाङका अध्यक्ष श्याम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नेहरुले आचार्यले राजनीतिका माध्यमबाट पु¥याएको योगदानको चर्चा गरेका थिए । लामो समय शिक्षकका रुपमा रहनुभएका आचार्यले भूमिगत अवस्थामा पनि राजनीतिक कृयाकलापमा आफूलाई सक्रिय गराउनुभएको थियो ।

आचार्यले पु¥याएको योगदानको चर्चा गर्दैै बक्ताहरुले दाङ जिल्लाको राजनीतिबाट उहाँको नामलाई कसैले पनि अलग गर्न नसक्ने धारणा राखेका थिए । पंचायती व्यवस्थाको समयमा राजनीति गतिविधि गर्नु आफैमा कठिन भएपनि आचार्यले निर्भिकताका साथ आफूलाई राजनीतिक गतिविधिमा होमेको चर्चा बक्ताहरुको थियो ।

पाँचौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीले दाङको कम्युनिष्ट आन्दोलमा लोकमणी आचार्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले आचार्यलाई सँझना र सम्मान गर्ने अनेकन पाटो रहेको बताउनुभयो । आचार्यले लामो समय शिक्षाको क्षेत्रमा काम गरेको, साहित्यीक रुपमा योगदान गरेको, समाजसेवाको काम गरेको भन्दै केसीले आचार्यको योगदानको संझना गर्नु आवश्यक रहेको बताउनुभयो ।

बक्ताहरुले आचार्यले गरेको योगदानलाई लिपिवद्ध गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । उहाँले पंचायती व्यवस्थाको समयमा गरेको संघर्ष प्रेरक रहेको धारणा राख्दै बक्ताहरुले राजनीतिमा लागेर दुःख पाएकाहरुलाई सम्मान गर्न आवश्यक रहेको बताएका थिए । आचार्य नेकपा माले कालदेखि राजनीतिमा सक्रिय हुनुभएको थियो । यस्तै उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्ष भएर नेतृत्व गर्नुभएको थियो ।

पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष नवराज लामिछानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्यहरु मिलन चौधरी, विकिरण गौतम, गोविन्द आचार्य, केदार आचार्य, विनोद शर्मा, प्रदेश सल्लाहकार रुद्रमणी शर्मा, नेकपा एमाले दाङका उपाध्यक्ष राममणी पाण्डे, तुलसिपुर नगर कमिटी सचिव रुप बहादुर खत्री लगायतले बोल्नुभएको थियो ।

लोकमणी आचार्यका सुपुत्र सुरेश आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमकोे सञ्चालन प्रतिष्ठानका सचिव संगीत बस्यालले गर्नुभएको थियो ।

लायन्स 325 N को प्रथम क्याविनेट बैठक भव्यताका साथ सम्पन्न

राप्ती पोष्ट

घोराही, २१ साउन । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ एन को प्रथम क्याविनेट बैठक घोराही १० मा रहेको दाङ फन भ्यालीमा शनिबार सम्पन्न भयो । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ एन का गभर्नर मुकुट ढकालको अध्यक्षतामा भएको क्याविनेट बैठक र पदभार ग्रहण कार्यक्रमको उद्घाटन लायन्स क्लवका अन्तराष्र्टिय निर्देशक बालकृष्ण बुर्लाकोटीले गर्नुभएको थियो ।

नेपालमा रहेका १५ वटा डिष्ट्रिक मध्य सवैभन्दा ठूलो भुगोल र सदस्य संख्या रहेको डिष्ट्रिकका रुपमा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ एन रहेको छ । यस डिष्ट्रिकमा पाँचवटा एरिया रहेका छन् । जसमा काठमाडौं क्षेत्रमा रहेका क्लवहरु एरिया नं. १ मा दाङ र राप्ती क्षेत्रमा रहेका क्लवहरु एरिया नं. २ मा, सुर्खेत र कर्णालीमा रहेका क्लवहरु एरिया नं. ३ मा, बाँके बर्दियामा रहेका क्लवहरु एरिया नं. ४ र सुदुरपश्चिमका जिल्लाहरुमा रहेका लायन्स क्लवहरु एरिया नं. ५ अन्तरगत रहेका छन् ।

सवै एरियाका गरेर सात सय भन्दा बढी लायन्स लिडरहरु कार्यक्रममा सहभागि थिए । कार्यक्रममा बोल्दै अन्तराष्र्टि«य निर्देशक बुर्लाकोटीले नेपाल देशको नामको पहिलो अक्षर एन बाट रहेको लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ एनलाई अन्तराष्र्टि«यसंग जोड्नका लागि आफूले भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपालमा लायन्सका माध्यमबाट अनेकौं परियोजनाहरु संचालन गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता परियोजना संचालनका लागि आफूले सहयोग गर्ने बताउनुभयो ।

सोही अवसरमा पूर्व अन्तराष्ट्र्रिय निर्देशक संजय खेतानले लायनहरुले खेल्नुपर्ने भूमिका बारेमा जानकारी गराउँदै नेपालमा लायन्सको उपस्थिति संसारका लागि उदाहरणिय रहेको बताउनुभयो । उहाँले विश्वभर संगठन रहेको लायन्समा लागेर सेवाका काम गर्नुपर्ने बताउनुभयो । खेतानले आफूले दक्षिण एसियामा काम गर्ने गरी जिम्मेवारी पाएको बताउँदै दक्षिण एसियामै नेपाललाई उत्कृष्ठ नतिजा दिने बताउने ध्यान आफ्नो रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्मा, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमा डिसी, प्रमुख जिल्ला अधिकारी सुशिल बैद्य, लायन्स क्लव इन्टरनेशनलका मल्टिपल चियरप्रसन सिवि चन्द, प्रथम भाइस डिष्ट्रिक गभर्नर विनोद श्रेष्ठ, द्वितिय भाइस डिष्ट्रिक गभर्नर ज्ञानेन्द्र श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
उक्त अवसरमा क्याविनेट अफिसरहरुलाई पदस्थापना गराइएको थियो । यस्तै लायन्स क्लव इन्टरनेशनबाट सहयोग लिएर बनाइएको राप्ती आँखा अस्पतालको परियोजना उद्घाटन गरिएको थियो । परियोजनामा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । यस्तै अन्य केही स्थानमा परियोजना घोषणा गरिएको थियो ।

क्याविनेट बैठकका अवसरमा दुई लाख रुपैया दिएर डिष्ट्रिक ट्रष्टीलाई सहयोग गर्नेहरु, एक लाख रुपैया दिएर ट्रष्टिमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । यस्तै यस बर्ष लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ एनमा थप एक हजार सदस्य थप्ने योजनाको पनि उद्घाटन गरिएको थियो । यसका साथै लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक २३५ एनमा थप २७ वटा क्लव खोल्ने घोषणा गरिएको थियो । कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी उमा थापा मगरले आगामी दिनमा गर्ने कार्ययोजना र कोषाध्यक्ष तेजप्रसाद अधिकारीले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो ।

सोही क्याविनेट बैठकमा आगामी दोस्रो क्याविनेटको घोेषणा गरिएको थियो । आगामी क्याविनेट सुर्खेतमा गर्ने घोषणा गरिएको थियो । लायन्स क्लवले हरेक बर्ष चारवटा क्याविनेट बैठक आयोजना गरेर विगतमा गरेका कामको समीक्षा गर्ने र आगामी दिनमा गर्ने कार्यक्रमको योजना बनाउने गरेको छ ।

दाङमा डेंगु संक्रमितहरु बढ्दै

घोराहीमा स्थानीय द्रूत प्रतिकार्य समिति

छबि पुरी/राप्ती पोष्ट

घोराही, १७ साउन । डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि दाङका स्थानीय सरकारले आन्तरिक तयारी तीव्र पारेका छन् । गत वर्ष डेंगुले जिल्लाका अधिकांश पालिकाका नागरिक बिरामी परेपछि यो पटक यसको नियन्त्रण तथा रोकथामको तयारी तीव्र पारिएको हो ।
जिल्लाका बजार क्षेत्रमा यसको असर बढी मात्रा देखिएकाले सावधानी अपनाउनेदेखि सचेतनाका कार्यक्रमहरु तीव्र पारिएको बबताईएको छ । घोराही उपमहानगरपालिकामा विगत वर्षहरुमा डेंगुको जोखिम बढी मात्रामा देखिएकाले यो पटक यसको नियन्त्रण तथा रोकथामका लागि समिति समेत गठन गरिएको छ ।
नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा मंगलबार बसेको पालिकास्तरीय बैठकले द्रूत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समुह परिचालन सम्बन्धी निर्देशिका २०७९ अनुसार स्थानीय द्रूत प्रतिकार्य समिति गठन गरेको छ । स्थानीय द्रूत प्रतिकार्य समितिको संयोजकमा नगरप्रमुख नरुलाल चौधरी रहनुभएको छ । जसको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, प्रस्तावित लक्ष्मीपुर अस्पतालका डा. रमेश बस्नेत, विपद व्यवस्थापन शाखाका मदनकुमार वली रहनुभएको छ भने सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती रहनुभएको छ ।
यसैगरी, उक्त समितिलाई प्राविधिक सहयोग र समन्वय गर्न स्थानीय द्रूत प्रतिकार्य टोलीमा स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीको संयोजकत्वमा २८ सदस्यीय प्रतिकार्य टोली गठन गरिएको छ । जसको सदस्यमा मेडिकल अधिकृत डा. रमेश बस्नेत, काँडाखुटी स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुख बालाराम रोका, रामपुर स्वास्थ्य चौकीका प्रमुख भुवनेश्वर रिजाल, झिङ्गनी स्वास्थ्य केन्द्रका प्रमुख गोपीलाल वली, लक्ष्मीपुर स्वास्थ्य चौकीका प्रमुख सपना पुनमगर, धर्ना स्वास्थ्य चौकीका प्रमुख बहारुलाल चौधरी, फचकपुर स्वास्थ्य केन्द्रका प्रमुख बलराम शाह, सौडियार स्वास्थ्य चौकीका प्रमुख कुमार दुलाल, मर्पाडाँडा स्वास्थ्य केन्द्रका प्रमुख लालबहादुर डिसी, ढिकपुर स्वास्थ्य चौकीका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद न्यौपाने रहनुभएको छ ।
यसैगरी, आन्द्राभरैया स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुख युवराज धिताल, नारायणपुर स्वास्थ्य चौकीका प्रमुख डिल्लीराज आचार्य, शिवपुर सहरी स्वास्थ्य केन्द्र प्रमुख ललित बुढाथोकी, हापुर स्वास्थ्य चौकी प्रमुख तुलसीराम गिरी, भ्युडर सहरी स्वास्थ्य केन्द्रका प्रमुख माधव गौतम, कलमघारी सहरी स्वास्थ्य केन्द्र प्रमुख प्रकाश आचार्य, नयाँबजार सहरी स्वास्थ्य केन्द्र प्रमुख प्रभा शर्मा, संस्थागत परिवार नियोजन क्लिनिक प्रमुख राधा पौडेल, उत्साह टोल सहरी स्वास्थ्य केन्द्र प्रमुख हिरण्यराज शर्मा, करौतिडाँडा सहरी स्वास्थ्य केन्द्र प्रमुख राममणि शर्मा, हरिद्वार सहरी स्वास्थ्य केन्द्र प्रमुख चेतप्रसाद लम्साल, घोरदौरा सहरी स्वास्थ्य केन्द्रप्रमुख पम्फा पोख्रेल, हात्तीखर्क सहरी स्वास्थ्य केन्द्र प्रमुख अर्जुनकुमार थापा, सैघा स्वास्थ्य चौकी प्रमुख ज्वलन्त खड्का तथा स्वास्थ्यकर्मी बिमला पौडेल र देवका चौधरी रहनुभएको छ ।
अहिले डेंगुका बिरामीहरू घोराही, तुलसीपुर र राप्तीमा देखा परिसकेका छन् । स्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार साउन १ गतेयता जिल्लामा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यो संख्याका हिसावले थोरै मानिएपनि यसले अरुमा संक्रमण फैलाउने जोखिम अत्यधिक रहेको स्वास्थ्यकर्मीको भनाई छ ।
स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन कमल चन्दले दिनुभएको जानकारी अनुसार, घोराहीमा १२ जना, तुलसीपुरमा १३ जना र राप्तीमा एक जनामा डेंगु पुष्टि भएको छ । यसरी संक्रमण पुष्टि भएको अभिलेख सरकारी प्रयोगशालाबाट प्राप्त भएपनि जिल्लामा रहेका निजी प्रयोगशालाको अभिलेख नआएकाले यो संख्या अझ धेरै हुन सक्ने उहाँको अनुमान छ ।
जिल्लाको १० वटै पालिकामा गत वर्ष डेंगुका बिरामी फेला परेका थिए । स्वास्थ्य कार्यालय दाङका अनुसार गत आर्थिक वर्ष २०७९–०८० मा जिल्लामा दुई हजार चार सय पाँच जना डेंगुका बिरामी भएकोमा २ जनाको मृत्यु भएको थियो । डेंगु लागेर मृत्यु हुनेमा एक जना घोराही र अर्का दंगीशरणका रहेका थिए । तथ्यांक हेर्ने हो भने दाङमा डेंगुको संक्रमण दर गत वर्ष ४ वर्षयताकै उच्च रह्यो ।
आर्थिक वर्ष २०७६–०७७ मा ७१ जनामा डेंगु संक्रमण भएका बिरामी भेटिएका थिए । २०७७ मा ७८ मा १५ मा मात्रै डेंगु संक्रमण देखिएको थियो । २०७८–७९ मा डेगु संक्रमणको संख्या छ जना मात्रै थियो । यो तीन वर्षको तथ्यांकलाई हेर्दा डेंगुको संक्रमण कम भएको देखिन्छ । तर, चौथो वर्षमा भने एकाएक बढेको हो । २०७९–०८० मा दाङमा डेंगुबाट संक्रमित संख्या दुई हजार चार सय पाँच पुग्यो ।
डेंगुका कारण २०७२ सालमा पनि दाङको गढवा गाउँपालिका गोबरडिहामा पनि एक महिलाको मुत्यु भएको स्वास्थ्य कार्यालय दाङको तथ्यांकमा छ । स्वास्थ्य कार्यालयका अनुसार २०७३ सालमा नौ जना र २०७४ सालमा ८ जना डेंगु बिरामी फेला परेका थिए । पछिल्ला वर्षहरुमा डेंगुको जोखिम एकाएक बढ्दै गएको छ । स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरका अनुसार जिल्लामा महिलाभन्दा पुरूषमा धेरै डेंगुको समस्या देखिने गरेको छ ।
जिल्लाको १० वटै पालिकामध्ये घोराहीमा जोखिम सबैभन्दा बढी हुने गरेको छ । त्यही अवस्था यो वर्षपनि दोहोरिने सम्भावना उच्च रहेको छ । घोराही उपमहानगरपालिका १४ स्थित अटोभिलेजलगायत केही स्थानमा डेंगुको संक्रमणको उच्च जोखिम मानिएको छ । यस वर्षको वर्षायाम शुरु भएसँगै डेंगु संक्रमितको संख्या बढ्न थालेका छन् । जसको नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको स्वास्थ्य कार्यालय दाङले बताएको छ ।
डेंगुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन चन्दले बताउनुभयो । यसभन्दा अगाडिका वर्षमा कोरोना र नियमित मौसमी वर्षाका कारण कम संक्रमण देखिएको उहाँले बताउनुभयो । धेरै मानिस खुलेआम हिँड्दा, सरसफाईमा ध्यान नदिँदा डेंगुले धेरैलाई संक्रमित बनाउने हुँदा सरसफाई र सचेतनामा विशेष ख्याल गर्नुपर्ने उहाँको भनाई छ ।
डेंगुको संक्रमण बढ्दै गएपछि घोराही उपमहानगर पालिकाले अभियान नै सुरू गर्ने तयारी गरेको छ । खोज र नष्ट गर अभियाननै यसको सबैभन्दा राम्रो विकल्प रहेको बताउँदै पालिकाले वडा स्तरमा यो अभियान तीव्र बनाउने तयारी गरेको हो ।
‘यसको कुनै खोप छैन, त्यसैले जोखिम छ, घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ, लामखुट्टेको टोकाइबाट बच्नुपर्छ,’ घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले भन्नुभयो, ‘डेंगुको संक्रमण बढ्दै गएपछि विगत वर्षदेखि घोराही उपमहानगर पालिकाले अभियान नै सुरू गरेको छ । ‘खोज र नष्ट गर’ अभियाननै यसको सबैभन्दा राम्रो विकल्प हो, योसँगै सावधानी र सचेतना फैलाउन सबै लाग्नुपर्छ र आफुले पनि व्यवहारमा लागू गर्नुपर्छ ।’ डेंगु रोकथाम तथा नियन्त्रणका लागि कीटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्टे बसोबास गर्नसक्ने स्थानमा कीटनाशक औषधी छर्किने, हावामा छर्किन मिल्ने स्पेस स्प्रेको प्रयोग तथा पानी जम्मा हुने सतहहरु सम्याउने काम गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख घर्तीले बताउनुभयो ।
यसैगरी, कुनै पनि ठाउँमा पानी जम्न नदिन भाँडाहरु छोप्ने, पानीको सतहमा लामखुट्टे प्रतिरोधी लार्भा नाशक औषधीहरु छर्किने, किराहरु खाने माछा तथा अन्य जीव पालन गर्ने आदि उपायहरु प्रभावकारी मानिएकाले यस प्रकारका गतिविधीमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
समुदायमा भित्रभित्रै यो वर्ष पनि डेंगु रोगको संक्रमण फैलिसकेको उहाँले बताउनुभयो । डेंगुको जोखिमबाट बच्न हरेक दिन १० मिनेट सरसफाइमा ध्यान दिन समय निकाल्न स्वास्थ्य कार्यालय दाङले अपिल समेत गरेको छ । सबैको साझा दायित्वका रुपमा लिँदै घर वरपर, समुदायमा, कार्यालयमा, कलकारखाना, ग्यारेजहरुमा पनि पानी जम्न नदिन, सरसफाई नियमति गर्न स्वास्थ्य कार्यालयले अपिल गर्दै आएको छ । ‘औषधि छर्केर डेंगु नियन्त्रण असम्भव छ । डेंगु फैलाउने लामखुट्टेले एक पटकमा ५ सय देखि १ हजार अण्डा पार्छ । उसको जीवनकाल १ महिना हुन्छ । यो बेलामा हामीले पानी जम्ने जुन सुकै ठाउँ, भाँडा सफाइ गर्नुपर्ने हुन्छ, उनीहरुको सम्भावित बासस्थान पहिचान गरी नष्ट गर्नु नै सबैभन्द ा उत्तम विकल्प हो’, स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन चन्दले भन्नुभयो ।
डेंगु लामखुट्टेको एक प्रजातीको टोकाइबाट सर्ने भाइरल रोग हो । एडिस नामक लामखुट्टेका प्रजातीहरु बढ्दै गएको पाइएको छ । मानिसहरुको आवत जावत तथा देश भित्रिने क्रम बढ्नु पनि डेंगुको संक्रमण बढ्ने कारण बन्ने गरेको छ । एडिस लामखुट्टेको माध्यमबाट सर्ने डेंगु भाइरसको नेपालमा चार प्रजाति छन्, जसमध्ये डेंगु भाइरस–१ को संक्रमण अधिकांश रहेको छ ।

 

साउन २० गते हुने लायन्स ३२५ एनको क्याविनेट बैठकको तयारी तिव्र

राप्ती पोष्ट

घोराही, १३ साउन । समाजसेवाको क्षेत्रमा अव्वल संस्थाका रुपमा रहेको लायन्स क्लव इन्टरनेशनल ३२५ एन को पहिलो क्याविनेट बैठक दाङमा हुने भएको छ । नेपालमा रहेका १५ वटा डिष्ट्रिकमध्य सवैभन्दा ठूलो डिष्ट्रिकका रुपमा रहेको एन ले पहिलो क्याविनेट दाङमा गर्न थालेपछि तयारी तिव्र पारिएको छ । आगामी साउन २० गतेका दिन क्याविनेट बैठक दाङमा हुँदैछ ।

सोही क्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ एन अन्तरगत एरिया २ ले पत्रकार सम्मेलन गरेर क्याविनेट बैठकको तयारीका बारेमा जानकारी गराएको थियो । प्रचार प्रसार उप समितिका संयोजक शरद अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा डिष्ट्रिक एक्जुकेटिभ चिफ लव अधिकारीले क्याविनेट बैठकका बारेमा जानकारी दिनुभएको थियो ।

करिव एक हजार जनाको सहभागिता रहने क्याविनेट घोराही १० मा रहेको दाङ फन भ्यालीमा आयोजना गरिनेछ । यस्तै उक्त क्याविनेटमा लायन्स क्लव इन्टरनेशनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटी आउनुहुने भएको छ । आयोजक मुल समितिका संयोजक समेत रहनुभएका लव अधिकारीले दाङ जिल्लाको पर्यटन प्रवद्र्धन समेत गराउने उद्देश्यले क्याविनेट बैठक दाङमा राखिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गाालाल केसी, एरिया चिफ डा. भिमसेन गिरी, डिष्ट्रिक को एक्जुकेटिभ चिफ युवराज थपलिया लगायतले बोल्नुभएको थियो । पत्रकार सम्मेलनको संचालन प्रचार प्रसार समितिका सदस्य आर के शितलले गर्नुभएको थियो ।

लायन्स क्लव ३२५ एनको पहिलो क्याविनेट बैठक सफल पार्नका लागि विभिन्न २५ वटा उप समितिहरु गठन गरिएको छ । यस्तै गभर्नर मुकुट ढकाल, प्रथम डिष्ट्रिक गभर्नर विनोद कुमार श्रेष्ठ, द्वितिय डिष्ट्रिय गभर्नर ज्ञानेन्द्र श्रेष्ठ लगायत रहेको सल्लाहकार समिति चयन गरिएको छ । मुल आयोजक समितिका संयोजकमा लव अधिकारी, सह संयोजकद्वय युवराज थपलिया र धुर्व गौतम, सचिवालय संयोजकमा एरिया नं. २ का चिफ डा. भिमसेन गिरी, सचिव भरतराज देवकोटा र कोषाध्यक्ष रेशम गिरी हुनुहुुन्छ । लायन्स क्लवले हरेक बर्ष चारवटा क्याविनेट बैठक गरेर विगतको समिक्षा र आगामी कार्ययोजना तयार गर्ने गर्दछ ।

पाँच बर्षमा डुवेर दुई सय २८ को मृत्यु

छबि पुरी/राप्ती पोष्ट

दाङ, साउन । गएको असार १९ गते बबई गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीय सीताराम खत्रीको नुहाउने क्रममा बबई नदीमा डुबेर ज्यान गयो । पानीको गहिराई र बहाव थाहा नपाउँदा खत्रीले अकालमा ज्यान गुमाउनु पर्यो ।
अघिल्लो वर्षको चैत २० गते घोराही उपमहानगरपालिका २ रामपुर निमुरियाका ३४ वर्षीय होमनारायण चौधरीको मृत्युभयो । चौधरीले बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर चौधरीको शव निकाल्यो ।

गत वर्षको साउन २० गते अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका २ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेलले ज्यान गुमाउनु पर्यो । साथीसँग नुहाउन दोभानमा पुगेका पोखरेलको पानीमा डुबेर ज्यान गएको हो । २०७८ असार १८ गते घोराही उपमहानगरपालिका ९ लरैना मन्दिर परिसरमा रहेको पानी पोखरीमा डुबेर वडा नम्बर ८ का ११ वर्षीय आलोक केसीको मृत्यु भयो ।

राप्ती गाउँपालिका १ माथिल्लो भालुबाङको राप्ती नदीमा डुबेर अर्घाखाँचीको सितगंगा नगरपालिका ८ लापेका २५ वर्षीय शुक्रराज घर्तीमगरको केही समय अघि मृत्यु भयो । विदेशबाट विदा मनाउन घर फर्किएका मगरको नदीमा नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भयो । घोराहीमा मानव निर्मित तालमा डुबेर घोराही उपमहानगरपालिका २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको मृत्यु भयो । भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेऊमा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो ।

२०७६ भदौ २० गते पानीमा डुबेर एकैदिन तीन जनाको ज्यान गएको थियो । दंगिशरण गाउँपालिका ६ मैरवका ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर मृत्यु भयो । सोही गाउँपालिका ४ बैबाङ्गमा बबईखोलाको पुल निर्माण गर्ने मजदुर बर्दियाको गुलरिया–१२ टरुवाका ४० वर्षीय पूर्णबहादुर सुनारको बबईखोला तर्ने क्रममा बगेर मृत्यु भयो । सोही दिन घोराही उपमहानगरपालिका ११ नयाँवस्तीका ३९ वर्षीय रुद्रबहादुर गन्धर्वको पनि घर नजिकैको कुलोमा डुबेर मृत्यु भयो ।

दाङमा पछिल्लो पाँच वर्षमा पानीमा डुबेर ज्यान गुमाउनेको संख्या अत्यधिक छ । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङले दिएको तथ्यांक अनुसार दाङमा पानीमा डुबेर मृत्यु हुनेको संख्या दुई सय २८ रहेको । जसमा एक सय ७४ पुरुष र ५४ जना महिला रहेका छन् । पानीमा डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका अन्तरगतका रहेका छन् । तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१ जना, तुलसीपुरका ४५ जना, लमहीका ३१ जना, राप्तीका २२ जना, गढवाका १६ जनाको मृत्यु भएको छ । यसैगरी, बबईका ९ जना, दंगीशरणका ८ जना, शान्तिनगर र राजपुरका समान ५–५ जना, बंगलाचुलीका ३ जना तथा जिल्ला बाहिरका १६ जना गरी कुल २ सय २८ जना व्यक्तिको पानीमा डुबेरै मृत्यु भएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार, जिल्लामा आर्थिक वर्ष २०७९–०८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा पानीमा डुबेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७८–०७९ मा ६३ जनाको, आर्थिक वर्ष २०७७–०७८ मा ५५ जनाको, आर्थिक वर्ष २०७६–०७७ मा ३७ जनाको र आर्थिक वर्ष २०७५–०७६ मा २९ जनाको पानीमा डुबेर मृत्यु भएको तथ्यांक छ ।

पानीमा डुबेर ज्यान गुमाउनेहरुमा २० वर्ष मुनिका ८५ जना रहेका छन् । प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका रहेका जानकारी दिनुभयो । घोराही ९ की १३ महिनाकी शिशुको २०७८ फागुन २२ गते घर अगाडि राखेको बाल्टीनको पानीमा डुबेर मृत्यु भएको हो भने बंगलाचुली गाउँपालिका वडा नम्बर ७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्नेक्रममा चिप्लेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङले पानीमा डुबेर भएका मृत्युमध्ये अधिकांश लापरवाहीका कारण भएको बताएको छ । पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिनुभयो । ‘केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन् तर अधिकांश पानीमा डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरवाहीका कारण भएको देखिएको छ’ उहाँले भन्नुभयो ‘पानी र आगोसँग कहिले खेलवाड गर्नु हुँदैन भन्ने जान्दाजान्दै केही हुदैन भनेर आफैले ज्यान गुमाएको अवस्था छ ।’

जिल्लाको भौगोलिक अवस्था तथा वर्षाको समयमा सावधानी न अपनाउँदा पनि पानीले बगाएर वा डुबेर मृत्यु भएका जिल्ला प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताउनुभयो । साथीभाइसँग लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरै जसो युवाहरुले पौडिन नजानेरै ज्यान गुमाएका छन् । उहाँले भन्नुभयो ‘पानीमा डुबेर अकालमा ज्यान गुमाउने युवाको संख्या जिल्लामा धेरै छ । युवा जोश देखाउँदै लापरवाहीले नै अन्तिममा ज्यान फाल्न बाध्य भएका घटना छन् ।’

अविरल बर्षादले कहाँ कहाँ क्षति पु¥यायो ।

राप्ती पोष्ट

दाङ, ९ साउन । मंगलबार विहानदेखि लगातार परेको अविरल वर्षाका कारण दाङ जिल्लाको विभिन्न स्थानमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले दिनुभएको जानकारी अनुसार देउखुरी क्षेत्रमा केही गाउँहरु डुवानमा परेका छन् । जिल्लाका विभिन्न स्थानका खोलाहरु बढेका छन् । खोला तर्ने क्रममा केही गाडी बगेका छन् । कतै घर डुवानमा परेका छन् ।

राजपुर गाउँपालिकाको वडा नं. ५ भुर्किहवा स्थित अबिरल बर्षाका कारण राप्ती नढीको सतह बढ्दै जाँदा त्यस स्थानमा रहेका १०÷१२ वटा घर डुबानमा परेका छन् । घरहरु डुवानमा परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चङगुवाबाट गएको प्रहरी टोलीले उद्दार गरेको थियो । घटनामा मानबिय तथा पशु चौपायाको क्षति नभएको पनि गौतमले जानकारी दिनुभयो ।

यस्तै बेलामा पनि बर्षादले क्षति पु¥याएको छ । राती देखि परेको अबिरल वर्षाको कारण राजपुर गाउँपालिका वडा नं. २ बेला बस्ने पुष्पा नेपालीको एक तले खरले छाएको कच्ची घरको एकातिरको भित्ता विहान भत्किएको थियो । घर भत्किएपछि उहाँको परिवारलाई छिमेकी ग्वाते कुमालको घरमा सारिएको छ । त्यस स्थानमा प्रहरी चौकी वेलाबाट गएको प्रहरी टोलीले उद्दार गरेको थियो ।

सोही क्रममा तुलसीपुर उ.म.न.पा.१४ जनकपुरस्थित सौडियार–सर्रा सडक खण्डमा पर्ने सोता खोलाले तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको बा ११ च ९५११ नं.को स्कारपिओ गाडीलाई बगाएको थियो । अस्थायी प्रहरी पोष्ट कोठरी र अस्थायी प्रहरी पोष्ट दलजितपुर दाङबाट प्रहरी टोलीले चालकलाई सकुशल उद्दार गरेको थियो । गाडी बगाएर खोलाको केही तल बगेको थियो ।

अविरल बर्षादलका कारणले गर्दा लमहीमा केही घर डुवानमा परेको बताइएको छ । डुवान भएको क्षेत्रमा वडा प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक शंकर श्रेष्ठको नेतृत्वमा प्रहरी टोली खटिएको छ । लमही नगरपालिका वडा नं. १ सुनडबरी बस्ने बर्ष ७० को निम बहादुर सार्कीको फुसले छाएको १ तले कच्ची घरमा पानी पसेको छ । पानी पसेको घरबाट दुई जनाको परिवारलाई उद्दार गरी छोरा छबे सार्कीको घरमा राखिएको छ ।

यस्तै लमहीको वडा नं. ३ कान्तीपुर बस्ने बर्ष ३६ को राम बहादुर कुमालको १ तले पक्की घरमा पानी पसेको छ भने उहाँको परिवार घरको छतमा बसिरहेको प्रहरीले जानकारी दिएको छ । सोही वडामा बस्ने सुशिल कुमालको २ तले कच्ची घरमा पानी पसेको छ भने परिवारका सदस्यहरुलाई पानी पस्नु भन्दा पहिले नै सुरक्षित ठाउमा लगिएको थियो । यसैगरी ६० बर्षिय दयाराम चौधरीको २ तले कच्ची घरमा पानी पसेको छ । उहाँहरु पनि पानी पस्नु भन्दा पहिले नै सुरक्षित ठाउँमा जानुभएको प्रहरी प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

राप्ती पारी गढवा गाउँपालिकामा पर्ने कालाकाटे देखि गोबडिया हुँदै गढवा सम्मको हुलाकी सडक खण्डका विभिन्न स्थानमा बाढी आई लेदो खसेर बाटो अवरुद्ध भएको छ । बाटो खुलाउनका लागि अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट प्र. स. नि. नेत्रलाल के.सी को कमाण्डमा प्रहरी टोली खटिएको छ भने प्रहरी चौकी गोबडीयाबाट प्र.स.नि.कमल बन्जाडेको कमाण्डमा प्रहरी टोली खटिएको छ । अविरल बर्षादका कारणले बेला–गढवा सडक खण्ड चन्दनपुर खोलामा आएको बाढीले सडक अवरुद्ध भएको छ । त्यस क्षेत्रमा इलाका प्रहरी कार्यालय गढवा दाङबाट प्रहरी निरिक्षकनविन वली को कमाण्डमा प्रहरी टोली खटिएको छ ।

एमाले घोराही–१५ द्वारा अपाङ्गसंघलाई खाद्यान्न सहयोग

राप्ती पोष्ट

घोराही, साउन । नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नं. १५ ले पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा घोराही–१४ स्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखामा बस्दै आएका अपांगता भएकाहरुका लागि खाद्यान्न सहयोग गरेको छ ।

एमालेका वडा नम्बर १५ का वडा अध्यक्ष पोमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य साजिदा सिद्धिकी लगायतले अपाङ्ग संघका जिल्ला अध्यक्ष रुपा ओलीलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा वक्ता नेपाल अपांगका केन्द्रीय उपाध्यक्ष शरद अधिकारीले पुष्पलाल श्रेष्ठले अंगिकार गरेको गरिब दुःखी असहायको सेवा गर्ने अभियान स्वरुप उहाँको स्मृतिमा अपांगता भएकाहरुलाई यस प्रकारको सहयोगले ठूलो हौसला मिल्ने बताउनुभयो ।

शाखा अध्यक्ष ओलीले सहयोग गर्ने दातालाई उक्त सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका किरण रेग्मी, अनिल आचार्य तथा अपांग संघका सचिव बसन्त भट्टलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन वडा नम्बर १५ का उपसचिव विनोदप्रसाद पाण्डेले गर्नुभएको थियो । नेकपा एमाले घोराही, १५ ले चामल, तेल, सर्फ, भुजा, नुन, मसला लगायतका सामग्री हस्तान्तरण गरेको थियो ।

लायन्स राप्ती इञ्जिनियरिङमा पदस्थापना

राप्ती पोष्ट

दाङ, साउन । दाङ जिल्लामा रहेका विभिन्न लायन्स क्लवहरुमा पदस्थापना गरिएको छ । लायन्स क्लव इन्टरनेशनल ३२५ एन का डिष्ट्रिक गभर्नर मुकुट ढकालले दाङ जिल्लामा रहेका विभिन्न क्लवहरुमा पदस्थापना गराउनुभएको हो ।
सोही क्रममा आइतबार राप्ती इञ्जिनियिरङ कलेजमा आयोजना गरिएको कार्यक्रममा लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङ, लायन्स क्लव गुरुकुल र लायन्स क्लव राप्ती अम्विेश्वरीका पदाधिकारीलाई पदस्थापना गरिएको थियो । लायन्स क्लव राप्ती इञ्जिनियरिङका लागि बर्ष सन् २०२२÷२०२३ का अध्यक्ष मधुसूदन बैद्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन डिष्ट्रिक गभर्नर ढकालले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गभर्नर ढकालले जेष्ठ नागरिक, बालवालिकालाई हुने क्यान्सर, भोक विरुद्धको अभियान, रक्तदान र बातावरण जोगाउने अभियानमा लायन्सकर्मीहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले यस बर्ष जनप्रनिधिहरुसंग सहकार्य गरेर काम गर्नका लागि योजना बनाएको जानकारी दिंदै डिष्ट्रिक ३२५ एन अन्तरगत रहेका सवै क्लवले कम्तिमा एउटा वडालाई कार्यक्षेत्र बनाएर काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा प्रथम भाइस गभर्नर विनोद कुमार श्रेष्ठ, द्वितिय भाइस गर्भनर ज्ञानेन्द्र श्रेष्ठ, डिष्ट्रिक ३२५ एनकी सचिव उमा थापा मगर, एक्जुकेटिभ चिफ लव अधिकारीले बोल्नुभएको थियो । यसैगरी लायन्स क्लव राप्ती इञ्जिनियरिङका अध्यक्ष शरद अधिकारीलाई बर्ष २०२२÷२०२३ का अध्यक्ष मधुसूदन बैद्यले पद हस्तान्तरण गर्नुभएको थियो भने अधिकारीले यस बर्ष तोकिएका कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा लायन्स गुरुकुलका अध्यक्ष आशा चौधरीले आफ्नो कार्यकालमा गर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो ।

बरिष्ठ लायनकर्मी प्रतापकुमार शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन धनेश्वर चौधरी र शर्मिला चौधरीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन एरिया नं. २ का चिफ डा. भिमसेन गिरीले गर्नुभएको थियो ।

यसैगरी विहान आयोजित कार्यक्रममा लायन्स क्लव घोराही सिटी, लायन्स क्लव राजविद्या, लायन्स क्लव घोराही सिटीको संयुक्त पदस्थापना कार्यक्रम गरिएको थियो । डिष्ट्रिक गर्भनर लायन मुकुट ढकाल को उपस्थितिमा कार्यक्रम भएको थियो ।
लायन्स क्लव इन्टरनेशन डिष्ट्रिक ३२५ एनको बार्षिक कार्यतालिका अनुसार एरिया नं. २ अन्गरतका क्लवहरुमा पदस्थापना गरिएको गर्भनर ढकालले बताउनुभयो । डिष्ट्रिक ३२५ एन अन्तरगत रहेका पाँचवटा एरिया मध्य बाँकी चारवटा एरियामा पनि कार्यक्रम आयोजना गरेर पदस्थापन गर्ने तयारी गरिएको छ ।

सुनमा पिसिएका घुनहरु

शरद अधिकारी

त्रिभुवन अन्तराष्र्टि«य विमानस्थलबाट एक क्युन्टल सुन बाहिरिदै गर्दा पक्राउ परेको घटनाले सर्वत्र माहौल तताएको छ । सुन कसरी आयो भन्ने कुरामा शंका छैन । हाम्रो विमानस्थलको सुरक्षा व्यवस्थामा रहेको कमजोरीपनाका कारणले गर्दा सुन भित्रिएको हो । नेपालको विमानस्थलको बाटोबाट ल्याइने सुन नेपालको बाटोबाट भारत लैजाने गरिन्छ भन्ने सुनिन्छ । विगतमा यस्तै गरी कयौं पटक सुन ल्याइयो । सुन ल्याएका बारेमा कसैलाई थाहा भएन । विगतमा किन पक्राउ परेको थिएन र अहिले पक्राउ गरियो भन्ने बारेमा सवैले अनुमान गरिसकेका छन् । पहिले सेटिङमा बाहिर निकासी गरियो अहिले सेटिङ मिलेन । नेपालमा अरु धेरै कुरामा सेटिङ चल्छ । जुन सुनको विषयमा चल्यो ।

त्रिभुवन विमानस्थलमा आएको सुनलाई पास गराउनका लागि गृहमन्त्री समेतको सेटिङ रहेको कुरा संचारमा आइरहेको छ । गृहमन्त्रीको ग्रिन सिंग्नल नभएको भए यो घटनामा प्रहरीले आफ्नो उपस्थिति जनाउने थियो । प्रहरीले पक्राउ गर्ने थियो । यो घटनामा प्रहरीले चासो देखाएको छैन । जवकी कुनै पनि सामान विदेशबाट आउँदा त्यसको जाँच गर्ने स्थानमा प्रहरी हुन्छ । प्रहरीले आँखा चिम्लेको घटनामा गृहमन्त्री नै जोडिन्छन । राम्रो काम गर्दा स्यावासी दिइन्छ । नराम्रो काम गर्दा त्यसको आलोचना हुन्छ । नेपालमा गृहमन्त्री हुँदा गरेका कृयाकलापका कारणले गर्दा धेरैले मुद्दा खेपेका छन् । पछिल्लो समय बालकृष्ण खाडको अवस्था पनि यस्तै भएको छ ।

नेपालमा जहिले पनि ठूला माछालाई उम्क्याउने र साना माछालाई खोरमा हाल्ने गरिदै आएको छ । अनेकन काण्डमा यस्तै हुन्छ । अहिलेको सुन काण्डमा एउटा पत्रिकाले व्यक्तिको नामै किटेर सुन उनैको हो भनिदियो । कसैले पनि व्यक्तिगत रुपमा सुन कसको हो भनेर दावी गर्न मिल्दैन । अनुसन्धान गरेर पुष्टि भयो भने त्यसका बारेमा लेख्न सकिन्छ । प्रमाणले दिन्छ भने लेख्न सकिन्छ । तर हामीकहाँ अनुसन्धानको प्रक्रिया थालनी नहुँदै न्यायाधीश बन्ने चलन चलेको छ । अनेकन अर्ति बुद्दि दिने, यसो हुनुपर्छ भनेर भन्ने गरेका अनेकन उदाहरणहरु रहेका छन् । अहिलेको सुन काण्डमा पनि धेरैले धेरै अर्तिबुद्धि दिइरहेका छन् ।

सुन काण्डमा मुख्य दोषि को हो भनेर पत्ता लाग्ने छैन । साना मानिसहरु, जो भरियाका रुपमा काम गरेका थिए तिनीहरु नै घुन बनेर पिसिन्छन । जो सोझो हुन्छ । जो गरीव हुन्छ । जो विपन्न हुन्छ । जो सामान्य जोहो गर्नका लागि कसैको भरिया बन्दछ उसलाई सवैले तारो बनाएका हुन्छन् । सुन काण्डमा यस्तै हुनेवाला छ । सुन काण्डमा अरु काण्डमा जस्तो हुँदैन । सुन विदेशबाट आउँछ । कसले कसरी सेटिङ मिलाएको हुन्छ भन्ने कुरा अर्कोलाई थाहा हुँदैन । यस्तै सेटिङ चरेस, गाँजा ओसार पसारको क्रममा भएको देखिन्छ । सुन काण्डमा पनि यहि भइरहेको छ ।

केही बर्ष अघि नेपालबाट रक्त चन्दन चीनमा निकासी गरियो । चीनमा ओलम्पिक आयोजना गर्दा त्यसमा प्रयोग गर्नका लागि नेपालबाट रक्तचन्दन लगिएको थियो । रक्त चन्दन कहिले पक्राउ पर्दथ्यो । कहिले त्यसका बारेमा कसैलाई थाहा नै हुँदैनथ्यो । रक्तचन्दन कसले तस्करी गरेको थियो भन्ने कुरा सवैलाई थाहा छ । रक्तचन्दनको तस्करीमा कसैलाई पनि कारवाही गरिएन । जसले कारोवार गरे ति धनि भए । नव सम्भ्रान्त भए । नेपालमा सामान ल्याउने खालको तस्करी मात्रै हुँदैन नेपालबाट लैजाने खालको पनि हुन्छ । नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने गरेका घटना धेरै छन् । जस्तो दाङ जिल्लामा चरेशको उत्पादन हुँदैन । यहाँ चरेस ओसार पसार गर्नेहरुले ट्रान्जिट प्वाइन्ट बनाएको कुरा दुनियालाई थाहा छ । प्रहरीले यहाँ उत्पादकहरु भेट्दैन । मात्रै भरिया भेटछ । भरियालाई के कारवाही गर्ने ? सामान्य कारवाही गर्ने हो । केही बर्ष जेल बस्छ उ छुट्छ । फेरि त्यहि कारोवारमा लाग्छ । यसको कारण भनेको अपराधको जडसम्म पुग्ने इच्छाशक्ति नभएका कारणले हो । सुन काण्डको सन्दर्भमा पनि सरकारले यस्तै उदाशिनता अपनाएको छ ।

नेपालमा ३३ किलो सुनको काण्डले खुवै तताएको थियो । ३३ किलो कसले ल्यायो । कसले राख्यो । भन्ने बारेमा केही खुलेन । गोरे भन्ने एकजनालाई पक्राउ गरियो । अरु सवै चोख्खिए । अहिले त्यो भन्दा ठूलो काण्ड हो । अहिले त एक सय किलो भन्दा बढी छ । मात्रै कुरा के हो भने नेपालको विमानस्थलबाट यति धेरै सुन कसरी बाहिरिन सक्यो । हामी सामान्य नागरिकका रुपमा जाँदा आन्तरिक टर्मिनलमा पनि बेल्ट फुकालेर प्लेनमा चढ्न दिन्छ । विदेशमा आउने सामान जाँचमा भने कडाइ छ । आउँदा पनि सामानको चेकजाँच गरेर मात्रै लैजान दिन्छ । विदेशबाट आएको एक सय किलो भन्दा बढी सुनलाई दुई दिनसम्म अध्यागमन विभागमा राखिएछ । दुई दिन पछि व्यक्तिको जिम्मामा लगाइयो । त्यो सामानका बारेमा थाहा पाएरै छोडिएको हो भन्नेमा शंका छ्रन । सुनलाई यति सजिलोसंग कसरी छुटाउन सकिन्छ । नेपालको विमानस्थलको सुरक्षाको कुरा मात्रै होइन नेपालको समग्र सुरक्षा प्रणालीमाथिको प्रश्न हो । यसैगरी चल्दै गयो भने नेपालको अन्तराष्र्टि«य छवि के हुन्छ ? पक्कै पनि यो विषय गम्भिर छ । नेपालमा अनेकन काण्डमध्य यो पनि ठूलो काण्ड हो । यो काण्डमा गहुमा घुन पिसिए झै साना तहका कर्मचारीहरु, तल्लो तहका सुरक्षाकर्मीहरु मात्रै पिसिने खतरा बढेको छ ।

राप्ती इञ्जिनियरिङमा लियो क्लव गठन

राप्ती पोष्ट

घोराही, साउन । लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङको प्रायोजनमा लियो क्लव अफ राप्ती इञ्जिनियरिङ डिकम गठन गरियो । क्लबमा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ विद्यार्थीहरुको सहभागिता रहेको छ ।

लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ एन एरिया २ का चिफ डा. भिमसेन गिरीको उपस्थिति थियो । राप्ती इञ्जिनियरिङ कलेजमा यसअघि पनि लियो क्लव गठन गरिएको थियो । एउटै कलेजमा दुईवटा लियो क्लव खोल्ने राप्ती इञ्जिनिरियरिङ पहिलो कलेज भएको छ । यस अघि गठन गरिएको लियो क्लब अफ राप्ती इञ्जिनियरिङमा पोखरा विश्वविद्यालय अन्र्तगत सञ्चालन भएको विई सिभिल र विसिए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

लियो क्लव राप्ती इञ्जिनियरिङ डि.कमको अध्यक्षमा गणेश नेपाल, प्रथम उपाध्यक्षमा मनोज शर्मा, द्वितिय उपाध्यक्ष प्रकाश चुनारा, तृतिय उपाधयक्ष सवित चौधरी, सचिव शिव बुढाथोकी, कोषाध्यक्ष अञ्जना चौधरी रहनुभएको छ । यसैगरी सह कोषाध्यक्षमा मिना पाण्डे, सह सचिवमा प्रेम प्रसाद दहाल, सदस्यहरुमध्य शिक्षा निर्देशकमा हरिप्रसाद थारु, सामाजिक सर्भिस कार्यक्रममा संगीता सुनार, स्वास्थ्य निर्देशकमा समिर नेपाली, बातावरण निर्देशकमा गीता वली, अन्तर्राष्ट्रिय सम्वन्ध विस्तारमा विवेक चलाउने, क्लव संयोजकमा कपिल लामिछाने, रिपोर्टिङ अफिसरमा सिर्जना सुवेदी, पव्लिक रिलेशन अफिसरमा सिर्जना रसाइली लगायत मनोज गिरी, ओमकान्त चौधरी, शेरबहादुर विक, यमुना वली, विपना विश्वकर्मा, शर्मिला गिरी, नविन चौधरी र बेगम केसी रहनुभएको छ ।

सोही अवसरमा राप्ती इञ्जिनियरिङ क्लवमा अध्ययनरत विद्यार्थीहरुको कम्प्युटर इञ्जिनियरिङ सोसाइटी क्लव गठन गरिएको थियो । कलेजका प्रवन्ध निर्देशक समेत रहनुभएका लायन्स क्लवका एरिया चिफ डा. भिमसेन गिरीले क्लव घोषणा गर्नुभएको थियो ।

सोही क्रममा लायन्स क्लवका एरिया चिफ डा. भिमसेन गिरी, जोन चियर पर्सन मधुसूदन बैद्य, लायन्स क्लव अफ् इञ्जिनियरिङका सचिव ई. शर्मिला दहिद, सह कोषाध्यक्ष विश्ववन्धु थापा, लियो क्लवका अध्यक्ष गणेश नेपाल र कम्प्युटर इञ्जिनियरिङ सोसाइटी क्लका अध्यक्ष हरिप्रसाद थारुले बोल्नुभएको थियो । कार्यक्रमको संचालन ई. धनेश्वर चौधरीले गर्नुभएको थियो ।