spot_img
spot_img

पाँच बर्षमा डुवेर दुई सय २८ को मृत्यु

छबि पुरी/राप्ती पोष्ट

दाङ, साउन । गएको असार १९ गते बबई गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीय सीताराम खत्रीको नुहाउने क्रममा बबई नदीमा डुबेर ज्यान गयो । पानीको गहिराई र बहाव थाहा नपाउँदा खत्रीले अकालमा ज्यान गुमाउनु पर्यो ।
अघिल्लो वर्षको चैत २० गते घोराही उपमहानगरपालिका २ रामपुर निमुरियाका ३४ वर्षीय होमनारायण चौधरीको मृत्युभयो । चौधरीले बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर चौधरीको शव निकाल्यो ।

गत वर्षको साउन २० गते अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका २ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेलले ज्यान गुमाउनु पर्यो । साथीसँग नुहाउन दोभानमा पुगेका पोखरेलको पानीमा डुबेर ज्यान गएको हो । २०७८ असार १८ गते घोराही उपमहानगरपालिका ९ लरैना मन्दिर परिसरमा रहेको पानी पोखरीमा डुबेर वडा नम्बर ८ का ११ वर्षीय आलोक केसीको मृत्यु भयो ।

राप्ती गाउँपालिका १ माथिल्लो भालुबाङको राप्ती नदीमा डुबेर अर्घाखाँचीको सितगंगा नगरपालिका ८ लापेका २५ वर्षीय शुक्रराज घर्तीमगरको केही समय अघि मृत्यु भयो । विदेशबाट विदा मनाउन घर फर्किएका मगरको नदीमा नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भयो । घोराहीमा मानव निर्मित तालमा डुबेर घोराही उपमहानगरपालिका २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको मृत्यु भयो । भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेऊमा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो ।

२०७६ भदौ २० गते पानीमा डुबेर एकैदिन तीन जनाको ज्यान गएको थियो । दंगिशरण गाउँपालिका ६ मैरवका ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर मृत्यु भयो । सोही गाउँपालिका ४ बैबाङ्गमा बबईखोलाको पुल निर्माण गर्ने मजदुर बर्दियाको गुलरिया–१२ टरुवाका ४० वर्षीय पूर्णबहादुर सुनारको बबईखोला तर्ने क्रममा बगेर मृत्यु भयो । सोही दिन घोराही उपमहानगरपालिका ११ नयाँवस्तीका ३९ वर्षीय रुद्रबहादुर गन्धर्वको पनि घर नजिकैको कुलोमा डुबेर मृत्यु भयो ।

दाङमा पछिल्लो पाँच वर्षमा पानीमा डुबेर ज्यान गुमाउनेको संख्या अत्यधिक छ । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङले दिएको तथ्यांक अनुसार दाङमा पानीमा डुबेर मृत्यु हुनेको संख्या दुई सय २८ रहेको । जसमा एक सय ७४ पुरुष र ५४ जना महिला रहेका छन् । पानीमा डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका अन्तरगतका रहेका छन् । तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१ जना, तुलसीपुरका ४५ जना, लमहीका ३१ जना, राप्तीका २२ जना, गढवाका १६ जनाको मृत्यु भएको छ । यसैगरी, बबईका ९ जना, दंगीशरणका ८ जना, शान्तिनगर र राजपुरका समान ५–५ जना, बंगलाचुलीका ३ जना तथा जिल्ला बाहिरका १६ जना गरी कुल २ सय २८ जना व्यक्तिको पानीमा डुबेरै मृत्यु भएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार, जिल्लामा आर्थिक वर्ष २०७९–०८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा पानीमा डुबेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७८–०७९ मा ६३ जनाको, आर्थिक वर्ष २०७७–०७८ मा ५५ जनाको, आर्थिक वर्ष २०७६–०७७ मा ३७ जनाको र आर्थिक वर्ष २०७५–०७६ मा २९ जनाको पानीमा डुबेर मृत्यु भएको तथ्यांक छ ।

पानीमा डुबेर ज्यान गुमाउनेहरुमा २० वर्ष मुनिका ८५ जना रहेका छन् । प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका रहेका जानकारी दिनुभयो । घोराही ९ की १३ महिनाकी शिशुको २०७८ फागुन २२ गते घर अगाडि राखेको बाल्टीनको पानीमा डुबेर मृत्यु भएको हो भने बंगलाचुली गाउँपालिका वडा नम्बर ७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्नेक्रममा चिप्लेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङले पानीमा डुबेर भएका मृत्युमध्ये अधिकांश लापरवाहीका कारण भएको बताएको छ । पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिनुभयो । ‘केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन् तर अधिकांश पानीमा डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरवाहीका कारण भएको देखिएको छ’ उहाँले भन्नुभयो ‘पानी र आगोसँग कहिले खेलवाड गर्नु हुँदैन भन्ने जान्दाजान्दै केही हुदैन भनेर आफैले ज्यान गुमाएको अवस्था छ ।’

जिल्लाको भौगोलिक अवस्था तथा वर्षाको समयमा सावधानी न अपनाउँदा पनि पानीले बगाएर वा डुबेर मृत्यु भएका जिल्ला प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताउनुभयो । साथीभाइसँग लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरै जसो युवाहरुले पौडिन नजानेरै ज्यान गुमाएका छन् । उहाँले भन्नुभयो ‘पानीमा डुबेर अकालमा ज्यान गुमाउने युवाको संख्या जिल्लामा धेरै छ । युवा जोश देखाउँदै लापरवाहीले नै अन्तिममा ज्यान फाल्न बाध्य भएका घटना छन् ।’

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img