शरद अधिकारी
नेकपा एमाले यतिवेला सत्ताको नेतृत्वमा छ । एमाले पटक पटक सत्तामा पुगेको पार्टी हो । नेतृत्वका हिसावले छ पटक प्रधानमन्त्री दिइसकेको छ । व्यक्तिका हिसावले नेकपा एमालेबाट चार जनाले सरकारको नेतृत्वगर्ने अवसर पाएका छन् । २०४६ सालको परिवर्तनपछि पहिलो पटक नेकपा एमाले सरकारमा पुगेको थियो । त्यतिवेला अन्तरिम सरकार बनेको थियो र त्यसको नेतृत्व नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराइले गर्नुभएको थियो । नेपाली काँग्रेस २००७ सालमै सत्ताको नेतृत्वमा पुगेको हो भने एमाले २०४६ पछि मात्रै सरकारमा पुगेको हो । नेतृत्वका हिसावले २०१५ सालमा भएको आम निर्वाचनमा दुई तिहाई मत हासिल गरेर काँग्रेसले सरकारको नेतृत्व गरेको थियो । नेकपा एमालेले हालसम्म बहुमतको सरकार समेत बनाउन सकेको छैन । ठूलो दलका रुपमा र कहिले गठवन्धनको अगुवाई गर्दैै सरकारको नेतृत्व गर्ने स्थानमा पुगेको हो । यहाँ नेपाली काँग्रेस र एमालेको तुलना गर्न खोजिएको होइन । सरकारको नेतृत्वमा रहेको अवस्थामा नेकपा एमालेले गाउँ केन्द्रित अभियान संचालन गर्ने निर्णय गरेको छ यसका बारेमा चर्चा गर्न थालिएको हो । नेकपा एमाले जनमतका हिसावले ठूलो दल हो । प्रतिनिधीका हिसावले संसदमा दोस्रो दलका रुपमा रहेको छ । नेपाली काँग्रेस संसदीय गणितमा पहिलो दलका रुपमा रहेको छ । एमाले दोस्रो दलका रुपमा रहेको छ । दुई दलले सात बुँदे सहझदारी कायम गरेर सरकारको नेतृत्व आलोपालो गर्ने गरी सरकारको नेतृत्वमा रहेका छन् । सरकारको नेतृत्व गरिरहेको अवस्थामा एमालेले थालेको जरा अभियानका बारेमा केही विषय यहाँ उठान गर्न खोजिएको छ ।
नेकपा एमालेले चितवनमा महाधिवेशन गरेको तीन बर्ष पुगेको छ । यो तीन बर्षको अवधिमा नेकपा एमालेले विभिन्न अभियान संचालन गरेको छ । विगतमा पनि अभियान संचालन नगरेको होइन । विगतका अभियान भन्दा यो अभियान फरक छ या छैन भन्ने जिज्ञासा धेरैको मनमा छ । धेरै भएको छैन, नेकपा एमालेले ग्रासरुट अभियान संचालन गरेको थियो । यो अभियान लाई पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९ थियो । जसलाई मिसन ग्रासरुट भनिएको थियो । यो अभियान पछि एमालेले मध्यपहाडी लोकमार्ग लक्षित अभियान चलाएको थियो । अहिले जरा अभियान चलाउने भनेको छ । माघको महिनादेखि संचालन हुने यो अभियान तीन महिनासम्म चल्नेछ । खासगरी नेकपा एमालेले भनेको ‘जरा अभियान’ पार्टीलाई जनताको जरोसम्म पु¥याउने, संगठनलाई बलियो बनाउने, र पार्टीभित्रको सांगठनिक संरचनालाई सुधार्ने उद्देश्यले थालिएको अभियान हो । यस अभियानको मुख्य उद्देश्य पार्टीलाई गाउँ–टोलस्तरमा सक्रिय बनाउनु, जनताको विश्वास जित्नु, र स्थानीय मुद्दाहरू सम्बोधन गर्दै संगठनको प्रभावकारिता बढाउनु हो । जरा अभियानले पार्टी नेतृत्वलाई नीतिगत र वैचारिक स्पष्टता दिनुका साथै पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउने लक्ष्य लिएको छ । यो भनेर नेकपा एमाले गाउँ टोलसम्म पुगेको छैन भन्ने होइन । नेपालमा रहेका सवै राजनीतिक दल मध्य नेकपा एमाले मात्रै व्यवस्थित मानिन्छ । सांगठनिक रुपमा नेकपा एमाले व्यवस्थित रहेको छ । पार्टीमा कार्यकर्ता परिचालनका हिसावले एमाले अरु भन्दा अव्वल रहेको छ । नियमित रुपमा अधिवेशन गर्ने, भेलागर्ने, सम्मेलन गर्ने, पार्टी सदस्यता नविकरण गर्ने पार्टीका रुपमा नेकपा एमाले रहेको छ । २०७५ सालमा माओवादी केन्द्रका बीचमा एकता भएर नेकपा बनेपछि पार्टीका गतिविधीहरु सुस्त भएका थिए । नेकपा बनेपछि कमिटीहरु पनि भद्दा आकारका बनेका थिए । बैठक बैठकका रुपमा नभएर सभा जस्ता भएका थिए । जिल्ला कमिटीको संख्या नै सयौं पुगेको अवस्था थियो । यस्तो अवस्थामा कमिटी चलायनमान बनाउने कुरा निकै गाह्रो हुन्थ्यो । माओवादी र एमाले अलग भएपछि नेकपा एमालेले तेस्रो अभियान चलाउन थालेको छ यो अभियानको नाम जरा अभियान राखिएको छ ।
नेकपा एमालेले थालेको जरा अभियानको मुल उद्देश्य भनेको आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिका रुपमा उभ्याउनु नै हो । नेकपा एमालेले ल्याएको जरा अभियान पार्टीको जनसंगठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष सम्पर्क स्थापना, र संगठनलाई मूलधारका मुद्दाहरूसँग जोड्नका लागि ल्याएको छ । नेपालमा जनताको बीचमा राजनीतिक दलहरु निर्वाचनको बेलामा मात्रै पुग्ने गर्दछन । पाँच बर्षमा हुने निर्वाचनमा जनता खोज्दै घर घर जाने राजनीतिक दलका नेताहरु पाँच बर्ष हराउँछन् । गाउँ गाउँमा पुग्दैनन् । बस्ती बस्तीमा पुग्दैनन् । राजनीतिक दलहरुलाई जनताले खोजिरहेका हुन्छन् । जनताले खोज्ने बेलामा भेटिने राजनीतिक दल नेपाली जनतालाई चाहिएको छ । एक पटक मत लिएर गएपछि पाँच बर्षसम्म हराउने र निर्वाचनको समयमा अनेकन आश्वासन बोकेर हिड्ने दलकै कारणले गर्दा व्यवस्थाप्रति वितृष्णा बढेको छ । यस्तै नागरिकसंग टाढा रहने नेतृत्वले नागरिकका समस्या बुझ्न पनि सक्दैन । जुन राजनीतिक दल पटक पटक जनताको बीचमा पुग्छ त्यो राजनीतिक दलले मात्रै जनताका आवश्यकता पुरा गर्न सक्छ । नेपालमा अहिले मुख्यगरी तीनवटा राजनीतिक दलहरु रहेका छन् । स्थानीय पालिकाको हिसावले भन्ने हो भने तीनवटा राजनीतिक दलहरुले सरकार संचालन गरिरहेका छन् । नेपाली काँग्रेस, एमाले र माओवादीलाई एकातिर राख्ने हो भने अरु राजनीतिक दलहरुको हिसाव थोरैमा आउँछ । तीन दलमध्य दुईवटा राजनीतिक दल अलि ठूला देखिन्छन । यहि बीचमा नेपालको राजनीतिलाई स्थायित्व दिने हो भने मुलुक दुई दलिय व्यवस्थामा जानुपर्ने कुरा जवरजस्त रुपमा उठेको छ । दुइ दलिय व्यवस्था नहुँदा साना राजनीतिक दलहरुले च्याँखे थाप्ने अवसर पाइरहेका छन् । नेपालमा यो रोग जस्तै भइसकेको छ । २०५१ सालमा भएको मध्यावधी निर्वाचनपछि तेस्रो दलका रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पालै पालो सत्तामा पु¥याएका कारणले नै बहुदलिय व्यवस्था बदनाम भएको हो । प्रजातन्त्रमा विश्वास गर्नेहरुले पंचायती पृष्ठभूमि भएकाहरुलाई विश्वास गरेका कारणले गर्दा समस्या देखिएको हो भन्ने भन्ने कुरा सवैलाई थाहा भएको कुरा हो । यतिवेला मुलुकलाई दुई दलिय अवस्थामा लैजाने कुरालाई पुष्टि गर्नका लागि पनि नेकपा एमालेले जरा अभियान चलाएको हुनुपर्छ भन्न सकिन्छ । किनकी नेपाली काँग्रेसले हालै मात्रै एक सय दिने अभियान सकेको छ । जुन अभियानको उद्देश्य पनि बस्ती बस्तीमा गएर पार्टीलाई बलियो बनाउने रहेको थियो ।
जरा अभियानले के एमालेलाई उकालो यात्रामा लैजाला त ? धेरै मानिसको मनमा यहि प्रश्न छ । नेपालमा जुन राजनीतिक दल सत्ताको नेतृत्वमा जान्छ त्यो पार्टीको लोकृपयता घटेको हुन्छ । जुन पार्टी सत्ताबाट बाहिर रहेको हुन्छ त्यो पार्टी राम्रो जस्तो देखिन्छ । मतका हिसावले भन्ने हो भने २०६४ सालमा सवैभन्दा ठूलो दलका रुपमा रहेको माओवादीको लोकपृयता मात्रै घटदो क्रममा रहेको छ । कुनै बेला प्रत्यक्ष तर्फ आधा सिट जितेको माओवादी अहिले प्रत्यक्ष तर्फ १० प्रतिशत सिट जित्ने अवस्थामा पुगेको छ । नेकपा एमाले संसदीय गणितमा दोस्रो पार्टीका रुपमा रहेको छ । यतिवेला सरकारले गरेका कामको प्रचार प्रसार गर्नु र विगतमा गरेका कामका बारेमा जानकारी दिने पार्टीको प्रमुख लक्ष्य जरा अभियानको हुन सक्छ । एमालेले पछिल्लो निर्वाचनहरूमा देखिएको प्रदर्शन र जनस्तरमा पार्टीप्रतिको घट्दो आकर्षणले यस्तो अभियान आवश्यक बनाएको हुन सक्छ । यो अभियान राम्रोसंग चलाउन सक्ने हो भने एमालेको संगठन सुदृढीकरण हुन सक्छ । पार्टीमा अहिले गुट नभएको कुरा गरिएको छ । गुट नभएको भएपनि कतिपय अवस्थामा आन्तरिक कलह देखिन्छ । नेताको वरीपरी घुम्ने तर कार्यकर्ता वा जनताका बीचमा नजाने प्रवृत्ती देखिएको छ । यसलाई रोक्नुपर्छ । नेतालाई मन्दीर ठानेर घुम्नेहरुले जनताका मर्का बुझ्न सक्दैनन् । अर्को कुरा पार्टीका नेता हरेक गाउँ बस्तीमा वा घर घरमा पुग्न सक्दैनन् । पार्टीका कार्यकर्ताहरु प्रतिनिधिका रुपमा जानुपर्छ । न त विगतको ग्रासरुटमा घर घरमा स्थानीय नेताहरु पुगे न यो अभियानमा पुग्नेछन् । जनताले खोजेको कुरा के हो ? जनताले बोल्न चाहेको समस्याको कुरा के हो ? आफ्नो कुरा जसलाई सुनाउन पाउँछ वा जस्ले सुन्छ जनताले उसैलाई कुरा सुनाउने हो । यसर्थ यो अभियानले पार्टीलाई जनताको बीचमा स्थापित गराउने माध्यम बन्नुपर्छ ।
यो अभियानलाई सफल बनाउने हो भने नेकपा एमालेका नेता कार्यकर्ताहरूले आफूले गरेका कामको समीक्षा गर्नुपर्छ । किन भने कसैले पनि संगठनलाई बलियो बनाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ । राजनीतिमा लाग्ने भनेको स्वार्थ फालेर लाग्ने हो । स्वार्थ पक्डेर राजनीतिमा लाग्ने हो भने त्यस्तो राजनीतिमा नलाग्दा पनि हुन्छ । आज मानिस जुन हिसावले अघि बढीरहेको छ यसमा निश्वार्थ भन्ने भावना पटक्कै देखिदैन । यो अभियानलाई सफल पार्ने हो भने जनताको समस्या सुन्ने र उनीहरूको विश्वास जित्ने प्रयास गर्नु जरुरी छ । वैचारिक रूपमा सशक्त बन्ने र पार्टीभित्र अनुशासन कायम राख्न ध्यान दिनुपर्छ । एमालेसंग विचार छ त्यसको प्रचार प्रसार छैन । अरु पार्टीसंग भन्दा एमालेसंग मौलिक नीति कार्यक्रम रहेको छ । जनताको बहुदलिय जनवादका रुपमा रहेको कार्यक्रम नेपालका अन्य राजनीतिक दलको भन्दा फरक र विशिष्ट कार्यक्रम हो । नेकपा एमालेसंग रहेको यो विचारलाई जनताको बीचमा लैजाने हो भने आगामी निर्वाचन विगतको भन्दा सफल हुन सक्छ । जरा अभियानले मुख्यगरी युवालाई पार्टीमा आकर्षित गर्न नवीन प्रविधि र डिजिटल प्लेटफर्महरूको प्रयोग गर्नुपर्छ । पारदर्शीता, इमानदारी र जनउत्तरदायित्वका साथ काम गर्नु पर्छ । नेकपा एमालेले जरा अभियानलाई सफल बनाउन विगतको समीक्षा गर्ने र भविश्यका लागि कार्यक्रम बनाउनुपर्छ । कुनै राजनीतिक दल बलियो हुने भनेको देश बलियो हुने भनेको हो । पार्टी कमजोर हुँदा देश कमजोर हुन्छ । राष्ट्रियता कमजोर हुन्छ । यसकरणले गर्दा नेकपा एमालेले आफूलाई विगतको भन्दा फरक रुपमा अघि बढाउने हो भने पार्टीलाई बलियो बनाउँदै राष्ट्रिय राजनीति र विकासमा अग्रणी भूमिका खेल्न सक्षम हुनेछ । (क्रमशः)
नेकपा एमालेको जरा अभियान र यसले दिने सन्देश –२
नेकपा एमालेले थालेको जरा अभियान तीन महिनासम्म चल्नेछ । तीन महिनाको अवधिमा गर्ने कामका लागि एमालेले योजना बनाएको छ । जरा अभियानमा गर्ने केही कामहरु निर्धारण गरिएको छ । नेकपा एमालेले यो अभियानलाई वडा केन्द्रित अभियान भनेको छ । यस अघि एमालेले थालेको अभियान पार्टी सदस्यसम्म पुग्ने अभियान थियो । एउटा वडाको व्यक्ति अर्को वडामा पुगेर त्यहाँको अवस्थाका बारेमा अध्ययन गर्ने कुरा थियो । अहिले त्यो परिवर्तन भएको छ । अहिले वडा केन्द्रित अभियान संचालन हुनेछ । यो अभियानले नेकपा एमालेको जीवनमा पक्कै सकारात्मक प्रभाव पार्नेछ । विगतका अभियानको समीक्षा गर्दै नेकपा एमालेले यो अभियान ल्याएको छ । नेकपा एमालेले ल्याएको अभियानले पार्टीको लोकपृयता थप बृद्धि गर्ने, विकास र समृद्धिको अभियानमा पार्टी सदस्यहरुलाई जोड्ने र पार्टीको साखलाई अझै माथि उठाउने विश्वास गरिएको छ । नेकपा एमाले सरकारमा भइरहेको यो समयमा हुँदै गरेको अभियानले दुईवटा कुरालाई बढी उठाउनुपर्नेछ । एउटा भनेको सरकारको नेतृत्वमा रहँदा गरिएका कामका बारेमा जानकारी दिने र अर्को आगामी दिनमा गर्ने कामका बारेमा जानकारी दिने । नेकपा एमाले पटक पटक सरकारको नेतृत्व गरेर आएको पार्टी हो । नेकपा एमाले पटक पटक सरकारमा सहभागी भएको पार्टी हो । पटक पटक सरकारमा सहभागी भएको र नेतृत्व गरेको पार्टी भएका कारणले गर्दा जनताले यो पार्टीसंग अनेकन अेपक्षा राख्ने स्वभाविक कुरा हो । यो अपेक्षालाई पुरा गर्नका लागि नेकपा एमालेले अभियानको क्रममा जनताका कुरा सुन्नुपर्छ । जनताका गुनासा सुन्नुपर्छ । जनताले गरेका अपेक्षा पुरा गर्नेगरी कार्यक्रम बनाउनुपर्छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलका अनुसार केन्द्रिय योजना अनुरुप तीन महिने वडा केन्द्रित अभियान सुरुभएको छ । यस अभियान अन्तर्गत निम्न काम प्राथमिकताका साथ सम्पादन गरिनु पर्नेछ । सदस्यता नविकरण र विस्तार (कुल मतदाताको छ प्रतिशत पु¥याउने) नेकपा एमालेले दुई बर्ष अघि ल्याएको ग्रास रुट अभियान पार्टीका सदस्यहरुको नविकरणका लागि पनि केन्द्रित थियो । अहिले पनि त्यहि अभियान छ । कतिपयलाई यो र त्यो अभियान एकै खालको भन्ने लाग्न सक्छ । यसपालीको अभियान भनेको जनसंख्याका आधारमा सदस्यता विस्तार गर्ने कुरा हो । जस्तो कुनै जिल्लामा दुई लाख जनसंख्या रहेको छ भने त्यहाँ कम्तीमा पनि १२ हजार पार्टी सदस्यता पु¥याउने भन्ने हो । दाङ जिल्लामा छ लाख जनसंख्या रहेको हिसाव गर्ने हो भने यहाँको पार्टी सदस्य संख्या ३६ हजार भन्दा बढी पु¥याउनुपर्छ । कतिपय जिल्लामा जनसंख्याको अनुपातमा पार्टीले अहिले ल्याएको बराबर सदस्यता हुन सक्छ । कुनै जिल्लामा रहेको छैन । नेपालको जनसंख्यालाई तीन करोड मान्ने हो भने पार्टी सदस्य संख्या १८ लाख पु¥याउने कुरा यो अभियानमा रहेको छ । नेकपा एमालेले २८ लाख मत त निर्वाचनको क्रममा ल्याएको छ । यो मतदाता संख्यामा विदेशमा बसेका नेकपा एमालेका नेता कार्यकर्ताहरुको संख्या रहेको छैन । विदेशमा बस्ने नेकपा एमालेका कार्यकर्ताहरुको संख्या पनि लाखौंमा रहेको छ । विदेशमा बसेका र नेपालमा बसेका समेत गरेर १८ लाख पार्टी सदस्यता पुराउने कुरा नेकपा एमालेका लागि गाह्रो कुरा होइन । यो अभियान सफल बनाउनका लागि पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्ताहरु कसरी लाग्छन त्यो आगामी दिनले देखाउने कुरा हो ।
जरा अभियान अन्तरगत नेकपा एमालेले टोल तहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तिमा एक तिहाई युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने । योजना बनाएको छ । वडा केन्द्रित अभियान अन्तरगत नेकपा एमालेको तल्लो कमिटी भनेको टोल कमिटी हो । टोल कमिटीसम्म पार्टीलाई विस्तार गर्ने हो भने त्यहा युवाको सख्या बढाउनुपर्छ । आज कतिपय स्थानमा टोल कमिटी छैनन् । टोल कमिटी भएपनि विस्तार हुन सक्ने अवस्था रहेको छैन । टोल कमिटीहरु बृद्ध बृद्धाहरुलाई थन्क्याउने ठाउँ जस्ता भएका छन् । टोल कमिटीबाट उठ्दै गएका कार्यकर्ताहरु भोलीका दिनमा नेतृत्वमा पुग्ने खालको बातावरण बनाउनुपर्छ । पार्टीमा सक्षम पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने कुरालाई जरा अभियानको महत्वपूर्ण विषयका रुपमा राखिएको छ ।
जरा अभियान अन्तरगत अर्को पाटो भनेको पार्टी सम्वद्ध सबै जनसंगठनको सदस्यता व्यापक रुपमा विस्तार गर्ने र सबै जनसंगठनलाई आ आफ्नो वर्ग÷ समुदायको नेताका रुपमा स्थापित गर्ने कुरा रहेको छ । यतिवेला नेकपा एमालेमा जनवर्गिय संगठनहरु हुनुपर्ने जति क्रृयाशिल हुन सकेका छैनन् । जनबर्गिय संगठनहरु कृयाशिल हुन नसक्ने हो भने पार्टी नै चलायमान हुन सक्दैन । विद्यार्थी, युवा, महिला, किसान यि चार महत्वपूर्ण क्षेत्रका रुपमा रहेका छन् । विद्यार्थीहरुको परिचालन ठिक तरिकाले हुन सकेको छैन । युवाहरु संगठित हुन सकिरहेका छैनन् । युवामा प्रशिक्षणको अभाव रहेको छ । राजनीतिक रुपमा प्रशिक्षण दिने, युवाहरुलाई उद्यमसंग जोड्ने, युवामा आशाको सञ्चार गर्ने काम हुन सकिरहेको छैन । नेकपा एमालेसंग दर्जनौं जन संगठन रहेका छन् । ति मध्य चारवटा महत्वपूर्ण रहेका छन् । विद्यार्थी र युवापछिको महत्वपूर्ण क्षेत्र भनेको महिलाको क्षेत्र हो । महिलाहरु निर्वाचनको बेलामा मत बढाउने माध्यमका रुपमा मात्रै सिमीत हुनु हँुँदैन । निर्वाचनको बेलामा महिलाहरुलाई खोजी गर्ने हो भने उमेदवार बनाउँदा पनि महिलाहरुलाई खोज्ने खालको बातावरण बनाउनुपर्छ । महिलालाई दोस्रो तहको पदमा उमेदवार बनाउने वा बाध्यकारी पदमा लैजाने खालको अवस्थालाई तोड्नु पर्छ । नेकपा एमाले अन्य राजनीतिक दल भन्दा महिलालाई बढी अवसर दिने राजनीतिक दलका रुपमा रहेको छ । यस हिसावले नेकपा एमालेले जरा अभियानको क्रममा महिलाहरुलाई संगठित गर्ने बारेमा योजना बनाउनुपर्छ । भन्नका लागि नेकपा एमालेलाई किसान बाहुल्य पार्टी भनिन्छ । श्रमजीवीको प्रतिनिधित्व एमालेमा राम्रो रहेको कुरा पनि गरिन्छ । तर समग्रमा हेर्ने हो भर्ने नेकपा एमालेमा पनि किसानहरुको संगठन कमजोर देखिन्छ । किसान र मजदुरको पार्टीका रुपमा कम्युनिष्ट पार्टी रहनुपर्छ । मजदुरको भन्दा नेपालमा किसानको संख्या ज्यादा रहेको छ । किसानहरु समस्यामा हुँदा पनि संगठित भएर बोल्न नसकेको अवस्था रहेको छ । नेकपा एमालेले किसानलाई संगठित गर्ने हो भने मात्रै पार्टी बलियो बनाउन सकिन्छ । यसर्थ यो कुरामा नेकपा एमालेले ध्यान दिनुपर्छ ।
नेपालमा धेरै राजनीतिक दलले नेकपा एमालेको सिको गर्ने गरेका छन् । कम्युनिष्टहरु महासचिवको नेतृत्वमा रहने गरेको विगत थियो त्यसलाई नेकपा एमालेले नै अध्यक्षात्मक प्रणालीमा जाने निर्णय गरेको हो । यस्तै गरी नेकपा एमालेले नै बहुपदमा जाने भनेर निर्णय गरेको थियो । नेकपा एमालेले गरेको निर्णयपछि नै कतिपय बुर्जुवा पार्टीले बहुपदको अभ्यास गरेका थिए । नेकपा एमालेले बोलेपछि धेरैले कुनै पनि विषयमा औपचारिक धारणा सार्वजनिक गर्ने गरेको विगत रहेको छ । एमालेले जरा अभियान संचालन गर्ने निर्णय गरेपछि अरु राजनीतिक दलले पनि विभिन्न अभियानको कुरा गरेका छन् । जरा अभियान अरु भन्दा फरक तरिकाले अघि बढ्नुपर्छ । जनताका आशा होइन निरासाको खेती भइरहेको समयमा कुनै राजनीतिक दल निरासालाई चिर्नका लागि आउनै पर्ने भएको छ । नेपालको सवैभन्दा ठूलो पार्टीका रुपमा रहेकाले नेकपा एमालेले यो काम गर्नुपर्छ । नेकपा एमालेको जरा अभियानका विभिन्न पाटा रहेका छन् । यो अभियानले राष्ट्रिय राजनीतिमा देखिएका कतिपय तिक्तताहरुलाई मेट्नुपर्छ । कतिपय समस्यालाई चिर्नुपर्छ । (बाँकी आगामी अंकमा)
नेकपा एमालेको जरा अभियान र यसले दिने सन्देश –३
नेकपा एमाले जरा अभियानमा रहेको छ । जरा अभियान अन्तरगत के कस्ता गतिविधिहरु भइरहेका छन भन्ने बारेमा त्यति धेरै सार्वजनिक भएको छैन । कतिपयले पार्टीका गतिविधिहरुलाई ठूलो प्रचार गर्दछन । कतिपयले गतिविधिहरु गर्दछन ति गतिविधिलाई बाहिर ल्याउँदैनन् । जनतासंग पार्टीले गर्ने साक्षात्कार, पार्टीले गर्ने अन्तरक्रिया बाहिर ल्याउनुपर्छ भन्ने छैन । पछिल्लो समय काम कम गर्ने तर त्यसको हल्ला बढी गर्ने चलन चलेको छ । यसका लागि सामाजिक सञ्जालले ठूलो काम गरेको छ । सामान्य काम गर्न पाएको हुँदैन सामाजिक सञ्जालमा ठूलो ठूलो तस्विर राखेको देखिन्छ । भेला, बैठक, छलफल साना हुन्छन सामाजिक सञ्जालमा ठूलै विषय बनेर देखिन्छ । पार्टीमा कतिपय मानिस इमान्दारिताका साथ काम गर्नेहरु हुन्छन जो हल्ला नगरिकनै काम गर्दछन् । एकथरी मानिस हुन्छन जो काम गर्न पाएको हुँदैन हल्ला धेरै गर्दछन् । अहिले नेकपा एमालेले जरा अभियान संचालन गर्दै गर्दा सोसल मिडियामा नियोजित रुपमा सम्प्रेसित मिथ्या सुचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने कुरालाई उठाउने भनेको छ । सामाजिक सञ्जालमा कतिपय विषय नियोजित रुपमा आउने गरेको देखिन्छ । सामाजिक सञ्जाल भनेको मिथ्या सूचना जारी गर्ने प्लेटफर्म होइन र हुँनु हुँदैन । मिथ्या सूचना प्रेषण गर्ने सवालमा केही व्यक्ति, संस्था, केही राजनीतिक दलहरु योजना बनाएर लागेको देखिन्छ । अहिले जुन विषयलाई आफ्नो स्वार्थपूर्तीको विषय ठान्ने गरिएको छ कुनै दिन यहि विषय गलपासो हुने देखिन्छ । सामाजिक सञ्जालको विषयलाई सवै राजनीतिक दलले गम्भिरताका साथ लिनुपर्ने हुन्छ । अहिले जुन रुपमा सामाजिक सञ्जाल अघि बढेको छ यहि रुपमा अघि बढ्ने हो भने भोली कुनै निर्वाचन हुँदा निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जाल बन्द गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
नेकपा एमालेले जरा अभियानको क्रममा वडातहमा जाने गरी योजना बनाउने भनेको छ । जसमा सबै तहका कमिटीहरु र जनप्रतिनिधिहरुले आ–आफ्नो तहको प्रचार डेस्क स्थापनागरी प्रचारात्मक काम अघि वढाउने कुरा उल्लेख गरिएको छ । नेपालमा मुख्यगरी दुई दल रहेका छन् । सत्ताको साझेदार दलका रुपमा नेपाली काँग्रेस र नेकपा एमाले रहेका छन् । नेकपा तीन तहका सरकारमध्य संघीय र प्रदेश सरकारमा नभएको भएपनि स्थानीय तहको सरकारमा अन्य राजनीतिक दल पनि रहेका छन् । साना राजनीतिक दलहरुले पनि स्थानीय सरकार चलाइरहेका छन् । साना राजनीतिक दलले समेत सरकार चलाइरहेको अवस्थामा स्थानीय रुपमा कतिपय काम भएका छन् । केही काम हुन नसकेका पनि होलान् । सरकार चलाइरहेका राजनीतिक दल र प्रतिनिधिहरुले आफूले गरेका कामका बारेमा जानकारी दिनुपर्छ भन्ने कुरा नेकपा एमालेले जरा अभियानका क्रममा राखेको छ । प्रचारको काम भनेको आफूले गरेको कामका बारेमा जानकारी दिने पनि हो । प्रचारको काम भनेको अरुको गाली गर्ने मात्रै होइन । अरुले गरेको कामको खोइरो खन्ने मात्रै होइन । आफूले गरेका कामको प्रचार प्रसार गर्नका लागि सवै तहका कमिटीले प्रचार डेक्स बनाउने कुरालाई नेकपा एमालेले प्रमुख रुपमा उठाएको छ । नेकपा एमालेसंग हजारौं कमिटीहरु रहेका छन् । केन्द्रिय कमिटी छ र यहि केन्द्रिय कमिटी अन्तरगत विभिन्न विभागहरु रहेका छन् । यस्तैगरी प्रदेश कमिटीहरु रहेका छन् । सात प्रदेश, उपत्यका प्रदेश, प्रवास लगायतका कमिटीहरु रहेका छन् । जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी, विभिन्न जन बर्गिय संगठन र तिनका विभिन्न तहका कमिटीहरु रहेका छन् । यि कमिटीले के काम गरिरहेका छन् ? सवैलाई यो कुराका बारेमा जानकारी हुँदैन । जरा अभियान अन्तरगत सवै कमिटीले प्रचार डेक्स स्थापना गर्ने कुरा गरिएको छ । जरा अभियानका लागि मात्रै होइन अन्य समयमा पनि प्रचार डेक्स स्थापना गरेर काम गर्नुपर्छ । यसैगरी नेपालमा जति पनि जनप्रतिनिधिहरु छन ति सवैले के काम गरिरहेका छन भन्ने बारेमा आम नागरिकलाई जानकारी छैन । जनप्रतिनिधिहरुले गरेका काम सवैलाई जानकारी दिनुपर्छ । जनप्रतिनिधिहरुले आफूले गरेका कामको जिम्मेवारी लिने भनेको सुझावहरु समेत लिने भनेको हो ।
नेकपा एमालेले यतिवेला मुलुकको नेतृत्व गरिरहेको छ । नेकपा एमाले मात्रै होइन सत्ताका हिसावले काँग्रेस र माओवादी पनि जिम्मेबारीबाट भाग्न मिल्दैन । यतिवेला अर्को बहस चलिरहेको छ कि मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । मुलुकमा बलियो राष्ट्रिय शक्ति कसरी बनाउने ? आजको दिनमा यो बहस चल्न खोजेको छ । मुलुकमा धेरै दल हुँदा राजनीतिक अस्थिरता भएको हो भन्नेमा विमती हुनुपर्ने छैन । नेपालमा संविधान सभाको निर्वाचनपछि धेरै राजनीतिक दलहरु अस्तित्वमा आएका थिए । त्यतिवेला प्रत्यक्षतर्फ नजित्दा पनि संविधान सभामा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको थियो । कहिल्यै नाम नसुनेका राजनीतिक दलहरुले समेत त्यतिवेला संविधान सभामा माग लिन पाएका थिए । अहिले संविधान बनिसकेको छ । मुलुकमा जुन राजनीतिक दल आएपनि प्रतिनिधित्वका हिसावले कुनै पनि दल समावेशी भन्दा बाहिर जान सक्दैन । यस कारणले गर्दा अव नेपालमा बलियो राष्ट्रिय शक्ति आवश्यक परेको छ । यसका लागि नेकपा एमालेले व्यवस्थित योजना बनाएको छ । जरा अभियानका क्रममा नेकपा एमालेले निर्णायक राष्ट्रिय शक्ति निर्माणको उद्देश्य अनुरुप अघि वढाइएको वार्षिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषय उठान गरेको छ । मुलुकमा नेपाली काँग्रेसले पटक पटक सत्ताको नेतृत्व गर्न पायो । काँग्रेसले पटक पटक बहुमत पनि पायो । यसैगरी माओवादीले पनि प्रत्यक्ष तर्फ बहुमत हासिल गरेको इतिहास छ । नेकपा एमालेले पटक पटक सत्ताको नेतृत्व गर्न पाएको भएपनि नेकपा एमालेले बहुमत पाएको छैन । नेकपा एमालेले बहुमत हासिल गर्नका लागि मिसन ०८४ संचालन गरिरहेको छ । जरा अभियान पनि यहि अनुसार अघि बढेको छ । नेकपा एमालेले जरा अभियान अन्तरगत निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी जानुपर्ने विषय उठाएको छ । यो अभियानलाई पार्टीलाई निर्णायक शक्ति बनाउने तर्फ कसरी जाने भनेर थप योजना बनाएर जानुपर्ने देखिन्छ ।
नेकपा एमाले लामो समयदेखि सरकारमा छ । सरकारको कहिले अगुवाई गर्दै, कहिले साझेदारी दलका रुपमा रहँदै सरकारमा रहेको छ । पार्टीका विभिन्न तहका नेताहरु सरकारमा सहभागी भएका छन् । जरा अभियान अन्तरगत पार्टीको नेतृत्व र सहभागीताका तिनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुना योग्य कामलाई उजागर गर्ने विषय राखिएको छ । नेपालमा संघीय संरचनाको विषयमा ठूलो विवाद पैदा भएको छ । संघीय संरचनामा जाँदा नेपालमा विकास भएन भन्ने भाष्य स्थापित गर्न खोजिएको छ । मुलुकमा जनप्रतिनिधि भएको अवस्थामा भएका राम्रा कामको प्रचार भएको छैन । अर्कोतिर नेकपा एमालेले जहाँ नेतृत्व गरिरहेको छ त्यहाँ के कस्ता राम्रा काम भएका छन् भन्ने कुराको जवाफ जनतालाई दिनुपर्ने छ । नेकपा एमालेको नेतृत्वमा रहेका सरकार र जनप्रतिनिधिहरुले जे जस्ता राम्रा काम गरिरहेका छन् ति कामका बारेमा जानकारी दिनु त कर्तव्य पनि हो । यो कुरालाई जरा अभियानको क्रममा एमालेले उठाउने भनेको छ । यो विषयलाई सवै राजनीतिक दलले अवलम्वन गर्नुपर्छ । जनप्रतिनिधिले गरेका राम्रा काम जान्नका लागि जनता लालायित छन् भन्ने कुरालाई प्रतिनिधिहरुले बुझ्ने हो भने निकै राम्रो हुन्छ ।
नेकपा एमालेले थालेको जरा अभियानका क्रममा रहेको महत्वपूर्ण विषय भनेको ‘जनतासंग प्रत्यक्ष सम्वाद गर्नेगरी सबैका घरघरमा पुग्ने । स्थानीय चासो र जनसरोकारका विषय पहिचान गर्ने । आ–आफ्नो ठाउको विकास र समृद्धिको योजना तयार गर्ने ।’ भन्ने रहेको छ । वडा केन्द्रित भनिएको भएपनि नेकपा एमालेले जरा अभियानका क्रममा जनतासंग प्रत्यक्ष सम्वाद गर्ने भनेको छ । जनतासंग सम्वाद गर्नका लागि राजनीतिक दललाई निर्वाचन आउनुपर्छ । हरेक पाँच बर्षमा मात्रै जनताको बीचमा राजनीतिक दलका नेताहरु पुग्ने गरेका छन् । नेकपा एमाले पटक पटक जनताका बीचमा जाने गरेको छ । पटक पटक जनताको बीचमा जाने गरेको भएपनि यसपाली स्थानीय चासो र जनसरोकारका विषयलाई पहिचान गर्ने भनिएको छ । स्थानीय रुपमा आवश्यकता विषयहरु पनि यो अभियानका क्रममा पहिचान गर्नुपर्नेछ । नेकपा एमालेको जरा अभियानमा रहेको अर्को महत्वपूर्ण बिषय भनेको मिसन ०८४ मा पार्टीको एकल वहुमत प्राप्तहुने गरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुविकरणको अभियान चलाउने र घर फर्क र पार्टी प्रवेश अभियानमा जोड़ दिने रहेको छ । पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिमा आधारित रहेर स्कुलिङको काम अघि वढाउने र पार्टी नीति र कार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने साथै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न नेकपा(एमाले)को नेतृत्व अपरिहार्य रहेको सन्देस प्रवाह गर्ने विषयलाई पनि जरा अभियानमा उठाउने भनिएको छ । जरा अभियानले नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा उभ्याउन सक्नुपर्छ । एमाले बलियो भने राष्ट्रियता बलियो हुन्छ । एमाले कमजोर भयो भने एमाले मात्रै कमजोर हुँदैन नेपाल राष्ट्र नै कमजोर हुन्छ । यसर्थ यो अभियानलाई एमालेका नेता कार्यकर्ताहरुले गम्भिरताका साथ लिनुपर्छ । (बाँकी आगामी अंकमा)
नेकपा एमालेको जरा अभियान र यसले दिने सन्देश –४
नेकपा एमालेको जरा अभियान अन्तरगत विभिन्न कार्यक्रम भइरहेका छन् । नेकपा एमालेले पटक पटक जनताको बीचमा जाने कार्यक्रमहरु संचालन गरिरहेको हुन्छ । २००६ वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको निरन्तरताका रुपमा हालको नेकपा एमाले रहेको छ । तत्कालिन अवस्थामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित हुनुहुन्थेन भन्ने कुरा इतिहासबाट थाहा हुन्छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि त्यसको सन्देश देशभर गयो । देशका विभिन्न स्थानमा पनि जिल्लातहका कमिटीहरु बने । कतिपय कमिटी जिल्ला कमिटीका रुपमा रहेका र केही कमिटीहरु स्वायत्त रुपमा रहेको देखिन्छ । स्थापनाको केही बर्ष ठिकठाकै चलेको भएपनि केही बर्षपछि नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो विग्रह सुरु भएको थियो । करिव १० बर्षपछि राजा महेन्द्रले शासन सत्ता आफनो हातमा लिंदा कम्युनिष्टहरु विभाजित भए । कम्युनिष्ट पार्टीको महासचिवको जिम्मेवारीमा रहेका केशरजंग रायमाझीले राजाको कदमलाई समर्थन गरे । कम्युनिष्ट पार्टीलाई पुनः संगठित गरेर अघि बढाउने कामको नेतृत्व पुष्पलालले गर्नुभएको थियो ।
नेपालमा कम्युनिष्ट पार्टी स्थापना हुनु आपैमा महत्वपूर्ण घटना थियो । कम्युनिष्ट घोषणापत्र जारी भएको एक सय दुई वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अंग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको र नेपालीहरू एक सय चार वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्त हुन खोजिरहेको बेला भएको थियो । स्थापनाको दुई दशक नेपालको कम्युनिष्ट आन्दोलन उतार चढावमय रह्यो । यसै पृष्ठभूमिमा भएको झापा विद्रोह (२०२७–२८) नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनको ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । नेपालमा पहिलो घटना कम्युनिष्ट पार्टी स्थापनाका रुपमा रह्यो भने दोस्रो महत्वपूर्ण घटना झापा विद्रोह बन्यो । झापा विद्रोह सामन्तको विरुद्धमा मात्रै थिएन सामन्ती शासन व्यवस्थाको विरुद्धमा थियो । यसले राजतन्त्रविरुद्ध क्रान्तिको उद्घोष ग¥यो । कम्युनिष्ट आन्दोलनमा उत्पन्न शिथिलता र अकर्मण्यताका विरुद्ध विद्रोह, बलिदान र पुनर्गठनको लहर सिर्जना ग¥यो । प्रतिकूल शक्ति सन्तुलन एवम् उग्रवामपन्थी गल्तीका कारण आन्दोलनमाथि चरम दमन भए पनि धक्कालाई चिर्दै यो धारा २०३२ सालमा को–अर्डिनेसन केन्द्र (कोके) गठन गरियो । यतिवेलासम्म देशका विभिन्न जिल्लामा कम्युनिष्ट पार्टीका जिल्ला कमिटीहरु गठन हुन थालिसकेका थिए । जिल्ला जिल्लामा रहेका कम्युनिष्ट पार्टीका अगुवाहरु समेतको सहभागितामा २०३५ सालमा नेपाल कम्युुनिष्ट पार्टी (माले )को स्थापना गरियो । नेकपा मालेको स्थापना नेपालमा कम्युनिष्ट आन्दोलनका लागि अर्को ‘टर्निङ प्वाइन्ट’ का रुपमा रह्यो । युवाहरुको सहभागिता र सक्रियतामा खुलेको यो पार्टी नै नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारका रुपमा अघि बढीरहेको छ ।
२०४७ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) र माक्र्सवादीका बीचमा एकता भएपछि नेकपा एमालेका रुपमा विकास भयो । २०४८ सालको निर्वाचनमा संसदमा बलियो उपस्थिति जनाएको नेकपा एमालेले २०५१ सालमा भएको मध्यावधी निर्वाचनपछि संसदमा सवैभन्दा ठूलो दल हुने श्रेय पायो । पहिलो पटक, २०५१ सालको मध्यावधि निर्वाचनमा सबभन्दा ठूलो दल भएपछि तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो पटक नेपालका कम्युनिस्ट पार्टीको सरकार बनेको थियो । नौ महिना चलेको उक्त सरकारले गरेका जनमुखी कामहरु नेपालको विकास र समृद्धिका लागि मार्गदर्शकका रुपमा रहेका छन् । आफ्नोगाउँ आफैं बनाऔं, सामाजिक सुरक्षा भत्ता, नौ सको अभियान, तीनखम्बे आर्थिक नीति अवलम्बन, सन्तुलित विदेश सम्बन्ध जस्ता कामहरुमा त्यस सरकारले अघि बढाएका कदमहरु समयक्रममा कसैले पनि उल्ट्याउन नसक्ने कदमका रुपमा स्थापित छन् । नेकपा एमालेलाई सवैभन्दा ठूलो झड्का लागेको भनेको २०५० सालमा मदन भण्डारीको निधन थियो । मदन भण्डारी महासचिवका रुपमा र संगठन विभाग प्रमुखका रुपमा रहेका जिवराज आश्रितको रहस्यमय हत्या भएपछि नेकपा एमालेलाई निकै ठूलो अफ्ठेरो आइलागेको थियो । त्यसपछि अनेकन घटनामा नेकपा एमालेले आफूलाई सतिसाल बनाउँदै आएको छ । बैचारिक रुपमा नेकपा एमालेले देशको नेतृत्व गरिरहेको अवस्था विद्यमान छ । यस्तै सांगठनिक रुपमा नेकपा एमाले सवैभन्दा व्यवस्थिा पार्टीका रुपमा रहेको छ । नेकपा एमाले र माओवादी केन्द्रका बीचमा २०७५ सालमा भएको पार्टी एकिकरणपछि पार्टीका संरचनाहरु भत्किएका थिए । पार्टी अझ व्यवस्थित रुपमा अघि बढ्ला भन्ने बेलामा पार्टी झनै ध्वस्त अवस्थामा पुगेको थियो । पछि अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई छुट्टाइदिएपछि एमालेले आफ्नो गति पक्डेको छ । यद्दपी केही समस्याहरु रहेका छन् । समस्यालाई चिन्दै, समस्यालाई चिर्दै अघि बढ्नु द्वन्द्ववादीको विशेषता हो । नेकपा एमाले व्यवस्थित हुनुका पछिल्तिर निम्न कारणहरु रहेका छन् ।
संगठनात्मक संरचनाः
नेकपा एमालेको बलियो पक्ष भनेको पार्टीसंग रहेको सुदृढ संगठनात्मक संरचना हो । यसले पार्टीलाई केन्द्रदेखि स्थानीय तहसम्म बलियो बनाएको छ । पार्टीमा केन्द्रिय महाधिवेशन समयमा हुन्छ । विधान महाधिवेशन समयमा हुन्छ । केन्द्रिय समिति, पोलिटब्युरो, स्थायी समिति, जिल्ला समिति हुँदै वडा तहसम्मका संरचनाहरू छन्, जसले निर्णय प्रक्रिया सहज बनाउँछ । कुनै पनि संगठनको जीवन बैठकबाट सुरु हुन्छ भनिन्छ । नेकपा एमालेका सवै कमिटीहरुको बैठक नियमित रुपमा हुन्छ । केही जनवर्गिय संगठनको समस्या देखिन्छ । समस्या विहीन त को ही छैन । यसैले नेकपा एमाले व्यवस्थित र बलियो पार्टी हुनुका पछिल्तिर संगठनात्मक संरचना नै मुख्य कारण हो ।
स्पष्ट विचारधाराः
नेकपा एमाले माक्र्सवाद–लेनिनवाद मा आधारित पार्टी हो, जसले राजनीतिक रूपमा अनुशासित बनाएको छ । यसको विचारधाराले कार्यकर्ताहरूलाई एकताबद्ध गर्ने भूमिका खेल्छ । नेकपा एमालेले जनताको बहुदलिय जनवादलाई आत्मसाथ गरेको छ । सुरुमा यो कार्यक्रमको रुपमा मात्रै थियो । पछि यो सिद्धान्तका रुपमा आयो । नेकपा एमालेले आत्मसाथ गरेको जनताको बहुदलिय जनवादका प्रतिपादक मदन भण्डारी हुनुहुन्थ्यो । २०५० साल जेठ ३ गतेका दिन मदन भण्डारीको हत्या भएपछि नेकपा एमालेले यसलाई विचारका रुपमा अघि बढाएको छ । नेपालको विकासका लागि जवज महत्वपूर्ण सैद्धान्तिक धरातलका रुपमा रहेको छ ।
सशक्त नेतृत्वः
एमालेमा निरन्तर अनुभवी नेतृत्व रहँदै आएको छ । मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) बाट प्रेरित नीति तथा केपी ओलीको निर्णायक भूमिकाले पार्टीलाई व्यवस्थित राख्न सहयोग गरेको छ । नेकपा एमालेमा नेतृत्वमा विचलन पटक पटक देखियो । पछिल्लो पटक माधवकुमार नेपाल र झलनाथ खनाल लगायतले पार्टी विभाजन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई विचलनको बाटोमा बढाएका छन् यो सवैभन्दा दुःखद विषयका रुपमा रहेको छ । नेकपा एमालेले अहिलेसम्म बहुमतका रुपमा नेतृत्व गर्न पाएको छैन । २०५१ सालमा ठूलो पार्टीका रुपमा रहेको समयमा २०५४ सालमा विभाजन भयो । २०७५ सालमा पनि ठूलो पार्टी हुँदा विभाजन भयो । नेतृत्व गर्नेहरुमा रहेको गुटगत मानसिकता त्याग नभएसम्म कम्युनिष्ट पार्टीमा समस्या रहिरहनेछ । यतिवेला पार्टी एकत्रित अवस्थामा रहेको छ । नेकपा एमालेमा गुट छैन । पार्टीमा विचारका हिसावले विमती हुन सक्छ तर नेतृत्वमा गुटगत मानसिकता अन्त्य हुनै पर्दछ । शसक्त नेतृत्वले नै पार्टीलाई सहि रुपमा हाँक्न सक्छ ।
कडा अनुशासनः
अनुशासन उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने परिपाटी एमालेमा बलियो छ । यसले पार्टीलाई एकताबद्ध राख्न मद्दत गरेको छ । पार्टीमा बसेर पार्टीलाई खुइल्याउनेहरुलाई पार्टीमा स्थान दिनु हुँदैन । भनिन्छ कि जुन थालमा खायो त्यहि थालमा प्वाल पार्नेहरुको दुनियामा कमी छैन । हिजोका दिनमा एमालेमा बसेर एमालेलाई प्वाल पार्नेहरुका कारणले गर्दा समस्या भयो । एमालेमा निर्वाचनको समयमा पार्टीको अनुशासन उलंघन गर्नेहरुको जमात बढेको हुन्छ । यस्तो कार्यलाई अझै कडाइका साथ लैजानका लागि नेकपा एमालेको नेतृत्वले अझै बल गर्नुपर्ने देखिन्छ ।
कार्यकर्ताको सक्रिय संलग्नताः
नेकपा एमाले कार्यकर्तामा आधारित पार्टी हो । नेकपा एमालेका कार्यकर्ताहरू जनस्तरसँग जोडिएका छन् । विशेष गरी, युवा संगठन, विद्यार्थी संगठन, मजदुर संगठन जस्ता घटक संगठनहरूले पार्टीलाई जनतासँग बलियो बनाएको छ । नेकपा एमालेसंग लाखौं संगठित सदस्यहरु रहेका छन् । नेकपा एमाले मास पार्टी होइन । यसमा पूर्णकालिन रुपमा काम गर्ने पङ्ती पनि छ । नेकपा एमालेको कार्यकर्ता पङ्तीलाई कसैले कमजोर बनाउन सक्दैन । हरेक कार्यका लागि कार्यकर्ताहरु खटेर लागेका हुन्छन् । २०७२ को भूकम्पपछि पुनःर्निमाणमा नेकपा एमालेका कार्यकर्ताहरु सवैभन्दा बढी खटिएका थिए । यस्तै दुई बर्ष अघि कात्तिकमा जाजरकोटमा आएको भूकम्प मात्रै होइन विभिन्न विपत्ती र सहयोगका लागि एमालेका कार्यकर्ताहरु सक्रिय रुपमा लागेका हुन्छन् ।
निर्णय प्रक्रियामा एकरूपताः
पार्टी सामूहिक नेतृत्वका हिसावले अघि बढ्ने गर्दछ । एमालेमा निर्णय लिने प्रक्रियाहरू बहुमतको आधारमा हुन्छन् । विवाद हुँदा पार्टी भित्रै छलफल गर्ने संस्कृति छ, जसले विखण्डन हुन दिँदैन । कतिपय अवस्थामा नेतृत्वले ल्याउने प्रस्तावलाई पारित गर्ने गरेको देखिन्छ । यो नेतृत्वप्रतिको विश्वास पनि हो । नेतृत्वलाई गर्ने विश्वासले गर्दा नै पार्टी बलियो हुन्छ । पार्टीमा सवैको कुरा सुन्ने र निर्णय गर्ने परिपाटी रहेको छ जुन राम्रो हो ।
समयको आवश्यकता बोध
नेकपा एमालेले आफूलाई परिमार्जन गर्दैै अघि बढाएको छ । जस्तो कुनै बेला नेकपा एमाले बर्गिय संघर्षका लागि सेना आवश्यक पर्दछ भन्ने मान्यतामा थियो । पछि शान्तिपूर्ण रुपमा पनि रुपान्तरण गर्न सकिन्छ भनेर आयो । २०४६ साल अघिको नेकपा एमाले र त्यसपछिको नेकपा एमालेमा फरक छ । यसका साथै नेकपा एमालेले समयअनुसार आफ्ना नीतिहरू परिमार्जन गर्दै अघि बढ्ने गरेको छ ।
संगठन विस्तार र चुनावी सशक्तताः
एमाले चुनावमा प्रभावकारी रणनीति अपनाउने पार्टी हो । नेकपा एमालेले पटक पटक विभिन्न अभियान संचालन गर्दै आएको छ । जनतासंग कसरी जोडिएर जाने भन्ने बारेमा एमाले स्पष्ट रहेको छ । नेकपा एमालेले कहिले घर घरमा पुग्ने अभियान चलाउँछ । कहिले विकासका बारेमा बुझ्ने अभियान चलाउँछ । अहिले जरा अभियान चलाएको छ । यो अभियान वडातहमा जाने भनिएको छ । वडातहमा जाने भनिएपनि नेकपा एमालेले हरेक कार्यकर्तालाई परिचालन गर्ने योजना बनाएको छ । हुनत कतिपयले एमालेले चुनाव देखि चुनावसम्म सक्रियता बढाउँछ भन्ने गर्दछन् । चुनावदेखि चुनावसम्म मात्रै होइन । नेकपा एमालेले निर्वाचनबाट सरकार बनाउने अवसर पायो भने अरुले भन्दा फरक तरिकाले काम गर्दछ भन्ने उदाहरण नेकपा एमालेको पहिलो सरकार देखि केपी शर्मा ओलीको पछिल्लो सरकारसम्म छर्लङ्गै छ । नेकपा एमालेले बहुमतको सरकार बनाउन पाएको छैन । नेपाली काँग्रेसले पटक पटक बहुमत पायो तर सरकार चलाउन सकेन । माओवादीले पनि पटक पटक सत्ता नेतृत्वको जिम्मेवारी पायो अहिले माओवादीको जनमत नै घट्दै गएको छ । नेकपा एमालेले थालेको जरा अभियानको मर्म आगामी निर्वाचनमा बहुमत हासिल गर्ने भन्ने पनि रहेको छ । यस हिसावले एमालेले जरा अभियान सफल बताउने हो र आगामी निर्वाचनमा बहुमत ल्याउने हो भने अझै मेहनत गर्नु पर्ने देखिन्छ । ‘सुखी नेपाली र समृद्ध नेपाल’को सपना देख्ने बर्तमान प्रधानमन्त्रीको सपनालाई साकार बनाउने हो भने नेकपा एमालेका अन्य नेता कार्यकर्ताले पनि मेहनत गर्नु जरुरी भएको छ । (समाप्त)