spot_img
spot_img

अवैध उत्खनन विरुद्ध प्रहरी सक्रिय

राप्ती पोष्ट

दाङ, २ बैशाख । दाङ जिल्लामा अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी उत्खनन् तथा ओसारपसार बढ्दै गएपछि प्रहरी प्रशासनले कडाइ गर्दै व्यापक कारबाही अघि बढाएको छ।

मिति २०८२ चैत २४ गतेदेखि २९ गतेसम्म जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको अनुगमन तथा नियन्त्रण अभियानका क्रममा ३ वटा जेसीबी र ३४ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, ती सवारी साधनहरू अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ढुवानीमा संलग्न रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको थियो।

कारबाहीको क्रममा सम्बन्धित निकायले ९ लाख रुपैयाँ जरिवाना गराएको छ। जरिवाना पश्चात ती सवारी साधनहरू सम्बन्धित धनीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार, पछिल्लो समय दाङका विभिन्न खोलानाला तथा नदी क्षेत्रमा अवैध उत्खनन् तीव्र रूपमा बढ्दै गएको छ। यसलाई नियन्त्रण गर्न नियमित रूपमा निगरानी तथा छड्के अनुगमनलाई तीव्र बनाइएको छ।

विज्ञहरूका अनुसार, अवैध नदीजन्य पदार्थ उत्खनन् केवल कानुनी उल्लङ्घन मात्र होइन, यसले वातावरणीय सन्तुलनमा गम्भीर असर पुर्‍याउँछ। नदीको प्राकृतिक बहाव परिवर्तन हुनु, कटान तथा डुबानको जोखिम बढ्नु, जैविक विविधता नष्ट हुनु र स्थानीय बस्ती जोखिममा पर्नु यस्ता गतिविधिका प्रमुख असरहरू हुन्।

दाङ जिल्लामा राप्ती, बबई लगायतका नदीहरूबाट अनियन्त्रित रूपमा ढुङ्गा, बालुवा र गिट्टी निकाल्दा नदीको स्वरूप नै परिवर्तन हुने खतरा बढेको सरोकारवालाहरू बताउँछन्। अवैध उत्खनन् नियन्त्रणका लागि केवल प्रहरीको प्रयास पर्याप्त नहुने भन्दै स्थानीय तह, जिल्ला समन्वय समिति र सम्बन्धित प्राविधिक निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइएको छ।

नदीजन्य पदार्थ व्यवस्थापनका लागि स्पष्ट नीति, पारदर्शी ठेक्का प्रणाली र कडाइका साथ अनुगमन नगरेसम्म यस्ता गतिविधि पूर्ण रूपमा नियन्त्रणमा आउन कठिन हुने देखिएको छ। अवैध रूपमा नदीजन्य पदार्थ निकालिँदा राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ।

कानुनी प्रक्रिया पूरा गरेर उत्खनन् गर्दा सरकारलाई प्राप्त हुने राजस्व अवैध गतिविधिका कारण गुम्ने गरेको छ। यसले समग्र आर्थिक व्यवस्थापनमा नकारात्मक असर पार्ने देखिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ ले अवैध उत्खनन् तथा ओसारपसार विरुद्ध आगामी दिनमा पनि कडाइका साथ अभियान जारी राख्ने जनाएको छ।

प्रहरीले कानुन विपरीत यस्ता गतिविधिमा संलग्न नहुन सम्बन्धित सबै पक्षलाई सचेत गराउँदै, उल्लङ्घन गर्नेहरूलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार