spot_img
spot_img

ग्यास अभावबारे प्रशासन–व्यवसायीबीच आरोप–प्रत्यारोप

राप्ती पोष्ट

दाङ, २२ साउन । दाङमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय दाङले ग्यास व्यवसायीले आफ्नो डिपो, पसल कम्पनीबाट ग्यास विक्रि गर्दा लुकाई छिपाई आफू निकट व्यक्ति, होटल, व्यवसायी र ग्राहकलाई मात्रै विक्रि गरेको आरोप लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले विहीबार सूचना जारी गर्दै ग्यासको अभाव भएको विषयमा भेरी, राप्ती र मनकामना लगायतका ग्यास सिलिण्डर विक्रि गर्ने व्यवसायीले अनियमितता गरेको गुनासो कार्यालयमा आएको बताएको छ । जिल्ला प्रशासन कार्यालयले ग्यासको अभाव भएको विषयमा ग्यास विक्रेतालाई दोष दिएपनि यसको भित्रि कारण अर्कै रहेको धारणा ग्यास व्यवसायीको छ ।
सरकारले केही महिना अघि आधा सिलिण्डर ग्यास विक्रि गर्ने नियम ल्याएपछि आधा भरिएका सिलिण्डर नै मुख्य कारक रहेको धारणा व्यवसायीको छ । आधा ग्यास भर्दा भारतबाट आउने कोटा अनुसार ग्यास भर्न सिलिण्डर अभाव भयो । अहिले एक्कासी पुरै सिलिण्डर भर्ने नियम आएपछि पहिले भरिएका आधा सिलिण्डर समस्याका विषय भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि जिल्ला प्रशासन र ग्यास व्यवसायीबीच आरोप–प्रत्यारोप सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले केही ग्यास व्यवसायीले उद्योगबाट ल्याएको ग्यास सिलिण्डर लुकाएर सीमित व्यक्तिलाई मात्र बिक्री गरेको तथा पहुँचका आधारमा वितरण गरेको गुनासो आएको भन्दै कारबाहीको चेतावनी दिएपछि व्यवसायीहरु रुष्ट भएका छन् । ग्यास व्यवसायीहरूले भने आफूहरूले उद्योगबाट प्राप्त भएको जति ग्यास पनि सरकारी निर्देशनअनुसार पारदर्शी रूपमा बिक्री गरेको दाबी गरेका छन् ।
बजारमा ग्यास नपाएर सर्वसाधारण दिनौँसम्म पसल धाउन बाध्य भइरहेका बेला प्रशासन र व्यवसायीबीच देखिएको विवादले अभावको वास्तविक कारणबारे थप बहस सुरु भएको छ । जानकारहरू भने अहिलेको संकटको प्रमुख कारण केही महिनाअघि सरकारले लागू गरेको ‘आधा सिलिण्डर ग्यास भर्ने व्यवस्था’ भएको बताउँछन् । त्यस व्यवस्थापछि उद्योगको उत्पादन क्षमता घटेको र बजारमा पर्याप्त ग्यास पुग्न नसकेको उनीहरूको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय दाङले बुधबार सार्वजनिक सूचना जारी गर्दै भेरी, राप्ती, मनकामना लगायत विभिन्न कम्पनीका ग्यास विक्रेताले उद्योग वा डिलरबाट ल्याएको ग्यास लुकाएर राख्ने, सीमित व्यक्तिलाई मात्र बिक्री गर्ने तथा पहुँच र चिनजानका आधारमा वितरण गर्ने गरेको गुनासो कार्यालयमा परेको जनाएको छ । प्रशासनले यस्तो कार्य कानुनविपरीत भएको उल्लेख गर्दै नियमित अनुगमन भइरहेको जनाएको छ । यदि कसैले ग्यास सिलिण्डर भण्डारण गरेर कृत्रिम अभाव सिर्जना गरेको, बढी मूल्यमा बिक्री गरेको वा पहुँचका आधारमा वितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने र लुकाइएका ग्यास सिलिण्डर समेत जफत गरिने चेतावनी दिइएको छ ।
सूचनामा स्थानीय तहलाई समेत आवश्यक अनुगमन र व्यवस्थापनमा सक्रिय हुन आग्रह गरिएको छ । साथै ज्येष्ठ नागरिक, अशक्त व्यक्ति तथा विद्यार्थीलाई अत्यावश्यक ग्यास उपलब्ध गराउन प्रशासनले सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ । तर प्रशासनको दाबीलाई ग्यास व्यवसायीहरूले अस्वीकार गरेका छन् ।
दाङका ग्यास वितरकहरूका अनुसार बजारमा कृत्रिम अभाव सिर्जना गरिएको नभई उद्योगबाट आउने आपूर्ति नै अत्यन्त कम भएका कारण सबै उपभोक्ताको माग पूरा गर्न नसकिएको हो । एक व्यवसायीले राप्ती पोष्टसँग भने, ‘हामीले ग्यास लुकाएका छैनौँ । उद्योगबाट जति सिलिण्डर आउँछ, त्यति नै बिक्री हुन्छ । उपभोक्ताको मागको तुलनामा आपूर्ति निकै कम भएकाले सबैलाई एकैपटक दिन सकिएको छैन । प्रशासनले आरोप लगाउनुभन्दा उद्योगबाट आपूर्ति किन घट्यो भन्ने विषयमा पनि अध्ययन गर्नुपर्छ ।’
व्यवसायीहरूका अनुसार अहिले एउटा डिपोमा सयौँ उपभोक्ता ग्यास खोज्दै आउने गरेका छन् । तर आउने सिलिण्डर संख्या मागको तुलनामा निकै कम भएकाले पालो प्रणाली अपनाएर वितरण गर्नुपर्ने अवस्था छ । उनीहरूका अनुसार यदि ग्यास लुकाइएको भए गोदाममा ठूलो परिमाणमा सिलिण्डर भेटिनुपर्ने हो । नियमित अनुगमन हुँदा पनि त्यस्तो अवस्था नदेखिएको उनीहरूको दाबी छ ।
यसैबीच ऊर्जा क्षेत्रका जानकारहरूले अहिलेको संकटको जरो केही महिनाअघि सरकारले लागू गरेको एलपी ग्याससम्बन्धी नयाँ व्यवस्थालाई मानेका छन् । सरकारले केही समयअघि घरेलु ग्यास सिलिण्डरमा सुरक्षा परीक्षणलाई जोड दिँदै आधा सिलिण्डर भरेर परीक्षण गर्ने व्यवस्था लागू गरेको थियो । त्यसपछि उद्योगहरूले पुरानै गतिमा ग्यास भर्न नसकेको र दैनिक उत्पादन तथा वितरण प्रभावित भएको उनीहरूको भनाइ छ ।
ऊर्जा क्षेत्रका एक जानकारका अनुसार नयाँ प्रणाली लागू भएपछि उद्योगहरूले अतिरिक्त समय र जनशक्ति खर्च गर्नुपरेको छ । उत्पादन प्रक्रिया ढिलो हुँदा दैनिक बजारमा पुग्ने सिलिण्डरको संख्या घटेको र त्यसको प्रत्यक्ष असर जिल्लाहरूमा देखिएको हो । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा ग्यास अभाव देखिनुको मुख्य कारण यही हो । माग भने उही अनुपातमा रहेकाले बजारमा असन्तुलन बढ्दै गएको छ ।
यस्तै भारतबाट हुने एलपी ग्यास आयातको समय, ढुवानी व्यवस्थापन र उद्योगहरूको भण्डारण क्षमताले पनि आपूर्तिमा असर पार्ने गरेको जानकारहरू बताउँछन् । यस्ता संरचनात्मक समस्याको समाधान नगरी वितरण प्रणालीलाई मात्र दोष दिएर दीर्घकालीन समाधान ननिस्कने उनीहरूको धारणा छ ।
दाङमा अहिले धेरै उपभोक्ता बिहानैदेखि ग्यास डिपोमा लाइन बस्न बाध्य छन् । कतिपयले दुई–तीन दिनसम्म धाउँदा पनि ग्यास नपाएको गुनासो गरेका छन् । होटल, रेष्टुरेन्ट र साना व्यवसायीहरू समेत ग्यास अभावका कारण प्रभावित भएका छन् । विशेषगरी दैनिक खाना पकाउन ग्यासमा निर्भर परिवारहरू बढी समस्यामा परेका छन् । कतिपयले विद्युतीय चुलो वा दाउरा प्रयोग गर्न थालेका छन् भने ग्रामीण क्षेत्रमा दाउरा र बायोग्यासतर्फ फर्किने क्रम पनि बढ्न थालेको स्थानीयले बताएका छन् ।
उपभोक्ता अधिकारकर्मीहरू भने प्रशासन र व्यवसायी दुवैले एकअर्कालाई दोषारोपण गर्नुको सट्टा वास्तविक तथ्य सार्वजनिक गर्नुपर्ने बताउँछन् । बजारमा दैनिक कति ग्यास आयो, कति बिक्री भयो र कहाँ वितरण गरियो भन्ने विवरण सार्वजनिक गरिए कृत्रिम अभाव छ वा आपूर्ति नै कम हो भन्ने विषय स्पष्ट हुने उनीहरूको भनाइ छ ।
उनीहरूका अनुसार ग्यास अभावको बेला पारदर्शी वितरण प्रणाली लागू गर्न सकिए उपभोक्ताको विश्वास पनि बढ्नेछ । प्रत्येक डिलरले दैनिक प्राप्त सिलिण्डर र वितरण भएको संख्या सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव समेत उनीहरूले दिएका छन् । जिल्ला प्रशासन कार्यालयले भने अनुगमनलाई अझ प्रभावकारी बनाउने जनाएको छ । कानुनविपरीत ग्यास लुकाउने, कालोबजारी गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने जोसुकैलाई पनि कारबाही गरिने प्रशासनको भनाइ छ । यता व्यवसायीहरू भने उद्योगबाट पर्याप्त परिमाणमा ग्यास उपलब्ध गराउन सरकारले पहल नगरेसम्म समस्या समाधान नहुने बताउँछन् ।
राप्ती ग्यास उद्योगका संचालक प्रशान्त बुढाथोकी राप्ती ग्यासले दैनिक घोराही, तुलसीपुर र देउखुरी क्षेत्रमा दुई गाडीका दरले ग्यास पठाइरहेको बताउनुहुन्छ । कम्मनीमा आउने जति सिलिण्डर भर्नका लागि रातीको समयमा पनि काम गरिएको भन्दै उहाँले ग्यासको अभाव हुन नदिनका लागि उद्योगले कुनै कसर बाँकी नराखेको बताउनुभयो ।
राप्ती ग्यास राप्ती क्षेत्रको एक मात्र उद्योगका रुपमा रहेको छ । दाङ लगायतका क्षेत्रमा राप्ती ग्यास सवैभन्दा बढी विक्रि हुने गरेको छ । राप्ती क्षेत्रमा दैनिक रुपमा उत्पादन भएको जति सिलिण्डर पठाउने काम भइरहेको दावी संचालक बुढाथोकीको छ । डिलरलाई कोटा तोकेर सिलिण्डर दिने गरिएको भएपनि सिलिण्डरको माग धेरै हुँदा आपूर्तीमा समस्या भएको हुन सक्ने पनि उहाँले बताउनुभयो ।
ग्यासको सहज आपूर्ती नहुँदा डेरा गरेर बस्ने विद्यार्थीहरु सवैभन्दा बढी मारमा परेका छन् । यसैगरी एउटा मात्रै सिलिण्डर राखेर दैनिक रुपमा खाना पकाउनेहरु पनि समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालय दाङले भने जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र विद्यार्थीहरु र अतिनै ग्यासको आवश्यकता परेका व्यक्तिलाई ग्यासका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनेको छ । जिल्ला प्रशासन कार्यालय दाङले ९८५७८२२७९५ र ९८५७८२२१४४ मा सम्पर्क गरेर आफ्नो नाम नम्वर र ठेगाना टिपाउन भनेको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार