राप्ती पोष्ट
दाङ, साउन । सामान्यतयाः कुनै कार्यालयमा गरिने सवैको फोनको सुनुवाई वा सम्वोधन हुँदैन भन्ने बुझाई छ । तर दाङ प्रहरीले हरेक दिन आउने सयौं फोनलाई गम्भिरताका साथ लिंदै तत्काल प्रतिकृया दिने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दिपक श्रेष्ठले प्रहरी कार्यालयको हट लाइन र अन्य नम्वरमा गरेर हरेक दिन सयौं र हरेक महिनाम आउने हजारौं फोनको प्रतिक्रृया दिन गरेको बताउनुभयो । उहाँका अनुसार गएको आर्थिक वर्ष २०८२÷८३ मा पनि ६६ हजार भन्दा धेरै फोन आएको र सवैलाई प्रहरीले चासो दिएको बताउनुभयो । उहाँले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै सर्वसाधारणबाट प्राप्त सबै फोन कलमा तत्काल प्रतिक्रिया दिने गरेको बताउनुभयो ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार जिल्लाभरका प्रहरी कार्यालयमा गत आर्थिक बर्षमा प्राप्त ६६ हजार पाँ सय ६७ वटा फोन कल आएका थिए । यसरी आएका फोनको शतप्रतिशत रेस्पोन्स गरिएको थियो । यसले नागरिकको सुरक्षा, सूचना व्यवस्थापन र आकस्मिक सेवाप्रति प्रहरीको सक्रियता बढेको देखिएको उहाँले बताउनुभयो । यो संख्यामा कार्यलय प्रमुख लगायत नीजि नम्वरमा आउने कलहरु समेटिएको छैन ।
जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार आर्थिक वर्षभर जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा ६६ हजार पाँच सय ६७ वटा फोन कल प्राप्त भएका थिए । ती सबै फोन कलमा आवश्यक प्रतिक्रिया जनाइएको प्रहरीको दाबी छ । सबैभन्दा धेरै फोन जिल्ला प्रहरी कार्यालय दाङमा आएका थिए । जिल्ला प्रहरी कार्यालयमा २३ हजार छ सय १० वटा फोन कल प्राप्त भएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरमा २१ हजार छ सय ८३ वटा फोन कल दर्ता भएका छन् ।
यस्तै इलाका प्रहरी कार्यालय गढवामा पाँच हजार दुई सय ५८, इलाका प्रहरी कार्यालय अमिलियामा चार हजार तीन सय तीन, वडा प्रहरी कार्यालय लमहीमा तीन हजार आठ सय ६५, इलाका प्रहरी कार्यालय भालुवाङमा तीन हजार पाँच सय ६२, वडा प्रहरी कार्यालय घोराहीमा दुई हजार चार सय ९२ तथा इलाका प्रहरी कार्यालय खिलतपुरमा एक हजार सात सय ९४ वटा फोन कल प्राप्त भएको विवरणमा उल्लेख छ ।
प्रहरीका अनुसार अधिकांश फोन कल शान्ति–सुरक्षा, घरेलु विवाद, हराएका व्यक्ति, सवारी दुर्घटना, झैझगडा, विपद्जन्य घटना, उद्धार तथा अन्य आकस्मिक सेवासँग सम्बन्धित रहेका थिए । प्राप्त सूचना तत्काल सम्बन्धित प्रहरी युनिटमा परिचालन गरी आवश्यक कारबाही तथा उद्धारका काम गरिएको प्रहरीको भनाइ छ ।
एक हजार छ सय ५८ उजुरी फछ्र्योट
प्रहरीले आर्थिक वर्षभर विभिन्न प्रकृतिका एक हजार छ सय ५८ उजुरी तथा निवेदनमाथि कारबाही गर्दै फछ्र्योट गरेको जनाएको छ । तथ्यांकअनुसार जिल्ला प्रहरी कार्यालय दाङले छ सय १७, इलाका प्रहरी कार्यालय तुलसीपुरले छ सय ९२, गढवाले एक सय एक, भालुवाङले ७९, वडा प्रहरी कार्यालय लमहीले ४४, अमिलियाले २१, खिलतपुरले ६२ तथा वडा प्रहरी कार्यालय घोराहीले ४२ वटा उजुरी फछ्र्योट गरेका छन् । प्रहरीका अनुसार अधिकांश उजुरी छलफल, समन्वय, कानुनी प्रक्रिया तथा आवश्यक अनुसन्धानमार्फत टुंग्याइएको हो ।
घरेलु हिंसाका सबै उजुरी मिलापत्र
आर्थिक वर्षभर घरेलु हिंसासम्बन्धी एक सय ८७ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दर्ता भएका सबै उजुरीमा पीडित र सम्बन्धित पक्षबीच कानुनी प्रक्रिया तथा परामर्शमार्फत सहमति गराई फछ्र्योट गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ । घरेलु हिंसामध्ये सबैभन्दा धेरै ५६ वटा उजुरी घरायसी झैँ–झगडासँग सम्बन्धित रहेका छन् । त्यसपछि मादक पदार्थ सेवन गरी गालीगलौज गरेका ५४ वटा घटना दर्ता भएका छन् ।
त्यस्तै घरमा खान र बस्न नदिएको भन्दै २९ वटा उजुरी परेका थिए भने कुटपिट तथा घाउजाँच केस फारामसम्बन्धी २२ वटा, विवाह दर्ता तथा नागरिकता नबनाइदिएको विषयमा २० वटा तथा श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै छ वटा उजुरी दर्ता भएका थिए । प्रहरीले यी सबै एक सय ८७ उजुरीमा आवश्यक परामर्श, छलफल तथा कानुनी प्रक्रियामार्फत सहमति गराई टुंग्याएको जनाएको छ । कुनै पनि उजुरी फछ्र्योट हुन बाँकी नरहेको प्रहरीको दाबी छ ।
सबै उमेर समूहका नागरिक प्रहरी सेवामा जोडिए
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्षभर विभिन्न उमेर समूहका एक हजार आठ सय ७८ जना नागरिकले प्रत्यक्ष रूपमा प्रहरी सेवा तथा परामर्श लिएका छन् । यसले नागरिकमा प्रहरीप्रतिको पहुँच र विश्वास बढ्दै गएको संकेत गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्रेष्ठले आधुनिक प्रविधिको प्रयोगसँगै नागरिकबाट प्राप्त सूचना तथा गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रणालीलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले आकस्मिक अवस्थामा आउने प्रत्येक फोन कललाई संवेदनशील रूपमा लिई आवश्यक प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरी र नागरिकबीचको विश्वास बलियो बनाउन समुदाय–प्रहरी साझेदारी, द्रुत सूचना आदान–प्रदान तथा तत्काल प्रतिक्रिया दिने कार्यलाई प्राथमिकतामा राखिएको छ । घरेलु हिंसा, सामाजिक विवाद तथा समुदायस्तरका समस्यालाई सकेसम्म कानुनी दायराभित्रै रहेर संवाद र समन्वयमार्फत समाधान गर्ने प्रयासलाई पनि निरन्तरता दिइएको उहाँले बताउनुभयो । प्रहरीले एप मार्फत गुनासो लिने र सुनुवाई गर्ने व्यवस्था पनि मिलाएको उहाँले बताउनुभयो ।
प्रहरीले शान्ति–सुरक्षा कायम राख्न नागरिकको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि आपराधिक गतिविधि, दुर्घटना, विपद् वा शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आगामी दिनमा पनि नागरिकमैत्री, उत्तरदायी र प्रविधिमैत्री प्रहरी सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।