spot_img
Home Blog Page 3

राज्यले आवश्यकता पहिचान गर्नुपर्छ– सह महामन्त्री आचार्य

राप्ती पोष्ट

घोराही, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपिन आचार्यले मुलुकको बजेट निर्माण प्रक्रिया परम्परागत पहुँच, शक्ति केन्द्र र राजनीतिक प्रभावका आधारमा नभई वैज्ञानिक अध्ययन, तथ्यगत आवश्यकता र जनअपेक्षामा आधारित हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले बजेट विनियोजनका नाममा नेता, सांसद र मन्त्रीको ढोका धाउने संस्कृतिले देशको समग्र विकासलाई अवरुद्ध बनाएको उल्लेख गर्दै यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

निर्वाचनमा जित हासिल गरेर काठमाडौं गएर आचार्य पहिलो पल्ट दाङ आउनुभएको हो । सोमबार नेपाल पत्रकार महासंघमा आयोजित भेटघाटमा बोल्दै आचार्यले अहिले पनि बजेट निर्माण प्रक्रियामा पहुँचवालाको प्रभाव हाबी रहेको टिप्पणी गर्नुभयो । मन्त्रालयगत ‘रेड बुक’ सार्वजनिक हुने क्रम जारी रहेको उल्लेख गर्दै उहाँले केही दिनभित्रै एकीकृत बजेट पुस्तिका सार्वजनिक हुने जानकारी दिनुभयो । बजेटको आकारभन्दा पनि त्यसको वितरण पद्धति, प्राथमिकता र कार्यान्वयन शैली महत्वपूर्ण हुने उहाँको भनाइ छ।

उहाँले कुनै पनि जिल्ला, पालिका वा वडाका नागरिक तथा जनप्रतिनिधिहरूले विकास बजेटका लागि काठमाडौं धाउनुपर्ने अवस्था लोकतान्त्रिक शासन प्रणालीका लागि उपयुक्त नहुने बताउनुभयो । ‘नागरिकले बजेट माग्ने होइन, राज्यले कहाँ के आवश्यकता छ भन्ने पहिचान गर्नुपर्छ ।’–उहाँले भन्नुभयो, ‘देशका कुन क्षेत्रमा सडक आवश्यक छ, कहाँ विद्यालयको आवश्यकता छ, कहाँ खानेपानी, स्वास्थ्य सेवा वा कृषि पूर्वाधार आवश्यक छ भन्ने कुरा वैज्ञानिक अनुसन्धान र तथ्यगत अध्ययनका आधारमा राज्यले आफैँ पहिचान गर्नुपर्छ ।’

आचार्यले अहिले पनि सांसद र जनप्रतिनिधिहरूको मूल्याङ्कन उनीहरूले आफ्नो क्षेत्रमा कति बजेट पार्न सके वा मन्त्रीहरूसँग कति निकट सम्बन्ध राख्न सके भन्ने आधारमा गरिने गलत अभ्यास रहेको उल्लेख गर्नुभयो । यस्तो प्रवृत्तिले समान विकासको अवधारणालाई कमजोर बनाउने र वास्तविक आवश्यकता भएका क्षेत्रहरूलाई पछाडि पार्ने उहाँको तर्क छ ।
उहाँले आफू क्षेत्रीय स्वार्थभन्दा माथि उठेर समग्र लुम्बिनी प्रदेश र देशकै विकासका पक्षमा सोच्ने नेतृत्वको पक्षमा रहेको बताउनुभयो । राजनीतिक नेतृत्वले आफ्नो निर्वाचन क्षेत्र मात्र नभई समग्र राष्ट्रको आवश्यकता बुझ्न सक्नुपर्ने उहाँको धारणा थियो । सह–महामन्त्री आचार्यले मुलुकमा लामो समयदेखि जरा गाडेर बसेको बेथिति, भ्रष्टाचार र अव्यवस्थालाई केही महिनामै समाप्त गर्न नसकिने यथार्थलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । रास्वपा सरकारमा सहभागी हुँदैमा तत्कालै चमत्कारिक परिवर्तन हुने अपेक्षा गर्नु अव्यावहारिक हुने उहाँको भनाइ थियो ।

‘रास्वपा सरकारमा जाँदैमा छ वा आठ महिनामा जादु हुनेवाला छैन ।’ उहाँले भन्नुभयो, ‘दशकौँदेखि थला परेको व्यवस्था दुई–चार महिनामै सुधार्न सकिने भए यो देशले धेरै अघि नै निकास पाइसक्थ्यो ।’ सुशासन, पारदर्शिता र उत्तरदायित्वका पक्षमा सुधारका प्रयासहरू सुरु भएको भन्दै उहाँले नागरिकहरूले राज्यप्रति आशा गर्न सक्ने आधार तयार हुँदै गएको बताउनुभयो ।

पार्टीको आन्तरिक सुदृढीकरण र संस्थागत विकासका विषयमा बोल्दै आचार्यले आगामी असार ७, ८ र ९ गते चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन आयोजना हुन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त महाधिवेशनले पार्टीलाई तदर्थवादी अभ्यासबाट मुक्त गर्दै पूर्ण वैधानिक, लोकतान्त्रिक र संस्थागत संरचनामा रूपान्तरण गर्नेछ ।

रास्वपा स्थापना भएदेखि नै नयाँ राजनीतिक संस्कार र अभ्यासको पक्षमा उभिँदै आएको उल्लेख गर्दै उहाँले महाधिवेशनलाई पार्टीको संगठनात्मक जीवनको महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्नुभयो । ‘राजनीतिक दल कति लोकतान्त्रिक छ भन्ने कुरा उसको आन्तरिक संरचनाले देखाउँछ ।’ उहाँले भन्नुभयो, ‘पार्टीभित्र विधि, प्रक्रिया र पारदर्शिता स्थापित भए मात्रै सरकार सञ्चालनमा पनि नागरिकमुखी सोच देखिन्छ ।’

उहाँका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने अब केन्द्रीय महाधिवेशनमार्फत पार्टीलाई अझ बलियो र व्यवस्थित बनाउने तयारी भइरहेको छ । महाधिवेशनले नेतृत्व चयन, नीति निर्माण र संगठन विस्तारका लागि नयाँ आधार तयार गर्ने उहाँको विश्वास छ । सह–महामन्त्री आचार्यले सूचना प्रविधिको तीव्र विकाससँगै समाजमा सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रभाव अभूतपूर्व रूपमा बढेको बताउनुभयो । अहिले प्रत्येक मोबाइल फोन आफैँमा एउटा मिडिया बनेको भन्दै उहाँले सामाजिक सञ्जालमा व्यक्त गरिने विचार, टिप्पणी र सूचनाले समाजमा गहिरो प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

विशेषगरी पत्रकारहरूले सार्वजनिक गर्ने समाचार, विश्लेषण र टिप्पणीप्रति समाजले उच्च विश्वास गर्ने भएकाले पत्रकारहरुको जिम्मेवारी पनि उत्तिकै ठूलो हुने उहाँको भनाइ थियो । पत्रकारिता सत्य, तथ्य र निष्पक्षतामा आधारित हुनुपर्नेमा जोड दिँदै उहाँले राजनीतिक दल वा सरकारका कामको मूल्याङ्कन गुण र दोषका आधारमा गर्नुपर्ने बताउनुभयो ।
‘मिडिया र नागरिक समाजले निष्पक्ष मूल्याङ्कन गरिदिए राजनीतिक नेतृत्व सधैँ सही बाटोमा हिँड्न बाध्य हुन्छ ।’ उहाँले भन्नुभयो, ‘राम्रो कामको प्रशंसा र कमजोरीको रचनात्मक आलोचना लोकतन्त्रलाई बलियो बनाउने आधार हो ।’

उहाँले सामाजिक सञ्जालमा सूचना प्रवाह गर्दा तथ्यको पुष्टि, सामाजिक उत्तरदायित्व र नैतिकताको ख्याल गर्नुपर्नेमा समेत जोड दिनुभयो । गलत सूचना, भ्रामक प्रचार र पूर्वाग्रहपूर्ण सामग्रीले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले सबै पक्ष सचेत हुनुपर्ने उहाँको धारणा थियो । देशमा सुशासन, वैज्ञानिक योजना निर्माण, संस्थागत राजनीति र जिम्मेवार सञ्चार संस्कृतिको विकास एकैसाथ अघि बढ्न सके मात्रै लोकतन्त्रको वास्तविक लाभ नागरिकसम्म पुग्ने विश्वास व्यक्त गर्दै सह–महामन्त्री आचार्यले नयाँ राजनीतिक अभ्यासमार्फत नागरिकको विश्वास जित्ने दिशामा रास्वपा अघि बढिरहेको बताउनुभयो । उहाँले बजेट वितरणदेखि शासन प्रणालीसम्मका संरचनात्मक सुधारहरू नै देशको दिगो विकासको आधार बन्ने धारणा समेत व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक

राप्ती पोष्ट

दाङ, १ असार । लम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले सोमवार प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ, चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्ष २०८२्०८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

सरकारले आगामी वर्षको बजेटमार्फत प्रदेश संरचनाको सुदृढीकरण, संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास, प्रादेशिक अर्थतन्त्रको सबलीकरण, वित्तीय सुशासन, सार्वजनिक तथा निजी क्षेत्रको सहभागिता विस्तार र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को दीर्घकालीन सोचलाई कार्यान्वयन गर्ने गरी बजेट तर्जुमा गरिएको मन्त्री कार्कीले बताउनुभयो ।

बजेटले संघीयताको लाभ आम नागरिकसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै पूर्वाधार विकासमा दायित्व भुक्तानीलाई प्राथमिकता दिएको छ । मदिराजन्य तथा सुर्तिजन्य उद्योगबाहेक अन्य उद्योग स्थापना गर्ने उद्यमीलाई पूर्ण छुट दिने व्यवस्था गरिएको छ । उद्यमशीलता प्रवद्र्धनका लागि ‘उद्यम विकास कोष’ स्थापना गरी स्टार्टअप तथा नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिने भएको छ ।

प्रदेश सरकारले मन्त्रालयहरूको पुनःसंरचना गरी आठ मन्त्रालयमार्फत कार्य सञ्चालन गर्ने तथा दरबन्दी पुनरावलोकन गर्ने नीति लिएको छ । डिजिटल लुम्बिनी प्रदेश कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ । स्थानीय तहलाई वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानमा ९६ करोड रुपैयाँ, समपुरक अनुदानमा ९८ करोड ४० लाख रुपैयाँ, विशेष अनुदानमा २० करोड रुपैयाँ तथा सशर्त अनुदानमा १ अर्ब ४१ करोड १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न ४ करोड ९९ लाख रुपैयाँ तथा प्राविधिक सेवा विस्तारका लागि २ करोड ७८ लाख रुपैयाँ छुट्याइएको छ । शिक्षा तथा सामाजिक विकासतर्फ प्राविधिक शिक्षाका लागि ११ करोड रुपैयाँ, सामुदायिक क्याम्पस तथा विद्यालयका लागि ४० करोड रुपैयाँ, शिक्षक क्षमता अभिवृद्धिका लागि १ करोड ५० लाख रुपैयाँ तथा छात्रवृत्तिका लागि ७ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । विद्यालय दिवा खाजा कार्यक्रममा प्रतिविद्यार्थी ५ रुपैयाँ थप गर्ने व्यवस्था गरिएको छ ।

बालविवाह न्यूनीकरण तथा बालविवाहमुक्त प्रदेश अभियानलाई प्रभावकारी बनाउन प्रदेशका १०९ स्थानीय तहलाई प्रतिपालिका १० लाख रुपैयाँका दरले १० करोड ९० लाख रुपैयाँ सशर्त अनुदान उपलब्ध गराइने भएको छ । स्वास्थ्यतर्फ दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । मृगौला प्रत्यारोपण, क्यान्सर उपचार तथा मुटुको भल्भ फेर्ने बिरामीलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

युवालाई उद्यमशीलतासँग जोड्ने कार्यक्रम, खेल पूर्वाधार विकास तथा रोजगार सिर्जनामा केन्द्रित योजना सञ्चालन गरिने बजेटमा उल्लेख छ । वन तथा वातावरणतर्फ सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिइएको छ । ग्रामीण समुदायको आयआर्जन वृद्धि तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि राहत र बीमा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

ग्रामीण तथा शहरी विकासतर्फ ‘अधुरा गरौं पूरा’ अभियानलाई निरन्तरता दिँदै ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेका आयोजनाहरू सम्पन्न गर्न ६६ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । बसाइँसराइ न्यूनीकरण गर्न नमुना बस्ती विकास कार्यक्रम सञ्चालन गरिने तथा हुलाकी र मध्यपहाडी राजमार्ग क्षेत्रमा नयाँ बस्ती विकास कार्यक्रम अघि बढाइने भएको छ । प्रदेश राजधानी क्षेत्रको फोहर व्यवस्थापनका लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सिंचाइ क्षेत्रको विकास तथा विस्तारका लागि ८६ करोड ४१ लाख रुपैयाँ छुट्याइएको छ । पानीका मुहान संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।

दिगो तथा गुणस्तरीय भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै गुरुयोजनामा समावेश सडक तथा राष्ट्रिय राजमार्गसँग जोडिने सडकलाई प्राथमिकतामा राखिएको छ । प्रदेश गौरवको आयोजनाअन्तर्गत रामपुर–कपुरकोट सडक निर्माणका लागि २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशले निर्माण गरेका सडकहरूको छुट्टै पहिचान स्थापित गर्ने व्यवस्था समेत बजेटमा गरिएको छ ।

बहुवर्षीय आयोजनाहरू सम्पन्न गर्न ४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । विपद् व्यवस्थापन, सूचना प्रविधि तथा डिजिटल सेवा विस्तारका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । लुम्बिनी पोर्टल निर्माणका लागि बजेट व्यवस्था गरिएको छ भने सदाचार नीति तर्जुमा, नीति संवाद कार्यक्रम, प्रदेश आयोजना बैंक कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाह सुदृढीकरणका कार्यक्रमसमेत बजेटमा समेटिएका छन् । सरकारले सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको सहकार्यमार्फत साझा समृद्धिको लक्ष्य हासिल गर्ने तथा राष्ट्रसेवक कर्मचारीको क्षमता अभिवृद्धिमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नीति लिएको जनाएको छ ।

बजेटको पूर्ण विवरण हेर्नुहोस ।

लरेना बासुदेव मन्दिर परिसरमा लायन्स प्रतिक्षालय

राप्ती पोष्ट

दाङ, ३० जेठ । सामाजिक सेवाका विविध गतिविधिमार्फत समुदायमा सकारात्मक योगदान पु¥याउँदै आएको लायन्स क्लब नारायणपुरले घोराही उपमहानगरपालिका–९ स्थित लरेना बासुदेव मन्दिर परिसरमा भक्तजन तथा पर्यटकको सुविधाका लागि प्रतिक्षालय निर्माण गरेको छ । मन्दिर परिसरमा निर्माण गरिएको उक्त प्रतिक्षालयको लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो ।

लायन्स क्लब नारायणपुरका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, स्थानीय जनप्रतिनिधि, धार्मिक क्षेत्रका अगुवा तथा लायन्सकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो । लरेना बासुदेव मन्दिर परिसर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ । यहाँ दैनिक रूपमा स्थानीय भक्तजनका साथै विभिन्न स्थानबाट आउने दर्शनार्थीहरूको आवागमन हुने गरेको छ । मन्दिर नजिकै रहेको पिकनिक स्थलमा समेत मानिसहरूको चहलपहल रहने भएकाले बस्ने तथा विश्राम गर्ने उपयुक्त स्थानको आवश्यकता महसुस गरेर प्रतिक्षालय निर्माण गरिएको अध्यष पोखरेलले बताउनुभयो । उहाँका अनुसार लायन्स क्लब नारायणपुरले करिब ६० हजार रुपैयाँ खर्च गरेर प्रतिक्षालय निर्माण गरेको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर श्रेष्ठले लायन्स क्लबले सञ्चालन गर्ने सामाजिक सेवामूलक कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पारिरहेको बताउनुभयो । उहाँले विश्वभर रहेका विभिन्न सामाजिक संस्थाहरूमध्ये लायन्स क्लब सबैभन्दा ठूलो सेवामूलक संस्था भएको उल्लेख गर्दै मानव सेवाका कार्यहरूलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । गभर्नर श्रेष्ठले चालु वर्षमा डिष्ट्रिक्ट ३२५ एन अन्तर्गत सञ्चालन गरिएका सामाजिक, शैक्षिक, स्वास्थ्य तथा वातावरण संरक्षणसँग सम्बन्धित कार्यक्रमहरूको जानकारी गराउँदै समुदायको आवश्यकता अनुसार सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले उत्कृष्ट कार्यसम्पादन गर्ने क्लब अध्यक्ष, जोन चेयरपर्सन तथा उत्कृष्ट क्लबहरूलाई सम्मानसमेत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका–९ का वडा अध्यक्ष चैतुकुमार चौधरीले लरेना क्षेत्रको विकासका लागि लायन्स क्लबले गरेको सहयोग महत्वपूर्ण भएको बताउनुभयो । उहाँले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको लरेना र त्रिवेणी धाम क्षेत्रको समुचित विकास गर्न सके नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार दाङका दुई उपमहानगरपालिका क्षेत्रको बीच भागमा पर्ने लरेना र त्रिवेणी धाम धार्मिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावना बोकेका क्षेत्र हुन् । यी क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके धारपानी, चौघेरा तथा सरयुगंगाको शिर लगायत आसपासका धार्मिक तथा प्राकृतिक सम्पदाको समेत प्रवद्र्धन हुने र समग्र क्षेत्रको आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले लरेना, त्रिवेणी धाम तथा बराह क्षेत्रको संरक्षण, विकास र प्रचारप्रसारका लागि सरकारी तथा गैरसरकारी निकायहरूबीच सहकार्य आवश्यक रहेको बताएका थिए । उनीहरूले धार्मिक सम्पदाको उचित व्यवस्थापन र पूर्वाधार विकासमार्फत दाङलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिने धारणा राखेका थिए ।

कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ एनका स्ट्याटेजिक चिफ धनेश्वर आचार्य, सिनियर एक्जुकेटिभ चिफ लव अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, लरेना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र दाहाल, एरिया चिफ मधुसूदन वैद्य, जोन चेयरपर्सन शरद अधिकारी, क्लबका पूर्व अध्यक्षहरू अभियान बस्नेत र अनिल बस्नेत, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, माध्यमिक विद्यालय खैराकी सहायक प्रधानाध्यापक श्यामा रावत थापा तथा संयुक्त क्लबका अध्यक्ष मोहन आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्ताहरूले लरेना क्षेत्रसम्म पुग्न सहज पहुँचका लागि सडक पूर्वाधारको थप स्तरोन्नति आवश्यक रहेको उल्लेख गर्दै घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत खैराबाट दक्षिणतर्फ पर्ने यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताए ।

लायन्स क्लब नारायणपुरले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष विनोदकुमार डाँगीले राख्नुभएको थियो भने सञ्चालन सचिव विष्णुबहादुर डाँगीले गर्नुभएको थियो । देउखुरीका दुई क्लवलाई चार्टर्ड पेपर हस्तान्तरण यसैबीच सोही अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले देउखुरी क्षेत्रमा स्थापना भएका दुई नयाँ लायन्स क्लबलाई चार्टर्ड पेपर हस्तान्तरण गर्नुभएको छ । लायन्स इन्टरनेशनलबाट प्राप्त चार्टर्ड सर्टिफिकेट, पिन तथा अन्य आधिकारिक सामग्री नयाँ क्लबहरूलाई प्रदान गरिएको हो ।

लायन्स क्लब राप्ती क्यापिटलका अध्यक्ष होमप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न चार्टर्ड हस्तान्तरण कार्यक्रममा लायन्स क्लब लमहीका अध्यक्ष हल्लुप्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सिनियर एक्जुकेटिभ चिफ लव अधिकारी, एरिया चिफ मधुसूदन वैद्य तथा जोन चेयरपर्सन सहाना श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ क्लबहरूको सफल कार्यकालको कामना गर्नुभएको थियो । नयाँ दुई क्लब थपिएसँगै देउखुरी क्षेत्रमा सक्रिय लायन्स क्लबहरूको संख्या पाँच पुगेको छ । सामाजिक सेवा, मानवीय सहयोग तथा समुदाय विकासका क्षेत्रमा लायन्स अभियानलाई थप विस्तार गर्ने उद्देश्यका साथ नयाँ क्लबहरू स्थापना गरिएको बताइएको छ । कार्यक्रमको सञ्चालन उमाकान्त चौधरीले गर्नुभएको थियो ।

के छ ? खगेश्वर भण्डारीको ‘जीवनसूत्रका गीत’ मा

समीक्षा

जीवन र माटोको सुगन्ध ‘जीवनसूत्रका गीत’ मा

शरद ऋतु

नेपाली साहित्यमा बालसाहित्य र किशोर साहित्यको आफ्नै विशिष्ट महत्व छ । बालबालिकाको कोमल मनोविज्ञानलाई बुझेर उनीहरूमा जीवनप्रतिको सकारात्मक दृष्टिकोण, राष्ट्रप्रेम, श्रमप्रतिको सम्मान, प्रकृतिसँगको आत्मीयता तथा मानवीय मूल्यको विकास गराउने साहित्यिक कृतिहरूको आवश्यकता आज झन् बढी महसुस भइरहेको छ । आधुनिक प्रविधि, सामाजिक सञ्जाल र उपभोक्तावादी संस्कृतिको प्रभावले नयाँ पुस्ता आफ्नै मौलिकता, श्रमसंस्कार र सामाजिक उत्तरदायित्वबाट क्रमशः टाढिँदै गएको सन्दर्भमा यस्ता कृतिहरूको महत्व अझ बढेको छ । यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यका साथ साहित्यकार खगेश्वर भण्डारीले प्रस्तुत गर्नुभएको बाल तथा किशोर कविता संग्रह ‘जीवनसूत्रका गीत’ नेपाली बालसाहित्यको क्षेत्रमा एउटा महत्वपूर्ण कृतिका रूपमा देखापरेको छ । नेपाली साहित्यमा बालवालिका लक्षित कृतिहरुको खडेरी छ भन्न सकिन्छ । बालवालिकाका बारेमा पत्रिकामा कम मात्रै लेखिन्छ । रेडियोमा कम बोलिन्छ । टेलिभिजनको अवस्था पनि त्यस्तै हो । पछिल्लो समय लोकपृय रहेको अनलाईनमा पनि यस्तै समस्या देखिन्छ । बालवालिका लक्षित सामग्रीको अभाव भइरहेको समयमा खगेश्वर भण्डारीको जीवनसूत्रका गीतले केही हदसम्म एउटा अभाव कम गरेको छ ।
अक्षरधाम प्रकाशनबाट पहिलो पटक वि.सं. २०८२ मा प्रकाशित यो कृति केवल कविताहरूको संग्रह मात्र होइन, जीवन जिउने कला सिकाउने एउटा साहित्यिक पाठशाला पनि हो । यस पुस्तकमा जीवनका विविध पक्षलाई बालमैत्री शैलीमा प्रस्तुत गरिएको छ । पुस्तकको आवरण हेर्दा नै पाठकलाई आकर्षित गर्ने सामथ्र्य यसमा छ । उदाउँदो वा अस्ताउँदै गरेको सूर्यको पृष्ठभूमिमा एक बाल आकृतिले नरसिङ्गा फुकिरहेको र अर्को आकृति प्रकृतिको काखमा बसेर जीवनलाई नियालिरहेको दृश्यले आशा, जागरण र सिर्जनशीलताको सन्देश दिन्छ । रातो, पहेँलो र सुनौलो रङ्गहरूको संयोजनले नयाँ बिहानीको संकेत गर्छ । बालकको हातमा रहेको बाजाले परिवर्तनको आह्वान गरेको जस्तो अनुभूति हुन्छ भने प्रकृतिको सान्निध्यमा बसेको अर्को आकृतिले जीवनको सौन्दर्य र शान्तिको खोजीलाई प्रतिनिधित्व गरेको देखिन्छ । आवरणले नै पुस्तकको मूल भावलाई दृश्यात्मक रूपमा अभिव्यक्त गरेको छ । खगेश्वर आफैमा राम्रो कलाकार पनि हो । उहाँ आफैले तयार पारेको आवरण र यस भित्रका रचनाहरुले साच्चिकै गम्भिर सन्देश दिएका छन् ।
यस कृतिका लेखक भण्डारीको लेखनीमा बेग्लै पचिहान छ । यस अघि ‘रातो सिपाही’, ‘सेतो विस्तरा’, ‘प्लास्टिकको फूल’ लगायतका चर्चित कृतिहरूमार्फत नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान बनाइसकेका भण्डारीको अनुभव र सिर्जनशीलताको परिपक्वता ‘जीवनसूत्रका गीत’ मा पनि स्पष्ट रूपमा देख्न सकिन्छ । बालसाहित्यलाई केवल मनोरञ्जनको माध्यम नभई चेतना र संस्कार निर्माणको साधनका रूपमा प्रयोग गर्ने लेखकको दृष्टिकोण यस कृतिमा झन् परिपक्व रूपमा प्रस्तुत भएको छ । यस संग्रहमा ३५ वटा गीत तथा कविताहरू समावेश गरिएका छन् । पहिलो रचनादेखि अन्तिम रचनासम्म पुग्दा पाठकले जीवन, समाज, प्रकृति, राष्ट्र, श्रम, अनुशासन, चरित्र र प्रगतिका अनेक सूत्रहरू भेट्टाउँछ । संग्रहका अधिकांश कविताहरू जीवनमुखी छन् । ती कविताहरूले बालबालिकालाई केवल रमाइलो दिन खोजेका छैनन्, बरु उनीहरूलाई सोच्न, बुझ्न र असल नागरिक बन्न प्रेरित गरेका छन् ।
संग्रहमा पहिलो कविताका रुपमा ‘रमाइलो देश’ शिर्षकको कविता रहेको छ । ‘रमाइलो देश’मा देशको झण्डाका बारेमा उल्लेख गरिएको छ । यस कविताले नेपालको प्राकृतिक, सांस्कृतिक र भौगोलिक विविधतालाई अत्यन्त सरल भाषामा चित्रण गरेको छ । कविले हिमाल, पहाड, तराई, वनजंगल, डाँफे, हिउँ र पर्यटकको प्रसंग उठाएर नेपालप्रतिको गर्व र आत्मीयता व्यक्त गरेका छन् । राष्ट्रप्रेमका नाममा नारा मात्र घन्काउने प्रवृत्तिभन्दा फरक, यस कविताले बालबालिकाको मनमा देशलाई चिन्ने, माया गर्ने र संरक्षण गर्ने भावना जगाउँछ । राष्ट्रियताको भावनालाई बालमनोविज्ञानसँग जोडेर प्रस्तुत गर्नु कविको महत्वपूर्ण सफलता हो ।
संग्रहमा रहेको दोस्रो कविता ‘मेरो देश आउ’ रहेको छ । जसमा नेपालको बर्णन गरिएको छ ।
स्वर्ग हेर्न मन भए मेरो देश आउ,
गुराँसका थुँगा टिपी शिरमाथि लाउ ।
हिउँमाथि कुद या त चौतारोमा बस,
जहाँ पनि पाइन्छ है मिठो मधुरस ।।
भण्डारीको जीवनसूत्रका गीतमा यस्तै एक से एक राम्रा रचना रहेका छन् । यस संग्रहको अर्को महत्वपूर्ण पक्ष भनेको श्रम र सीपप्रतिको सम्मान हो । लेखकले आफ्नो भूमिकामै ‘समाज परिवर्तनको पहिलो सर्त श्रम, सीप र वैज्ञानिक संस्कार हो’ भनेर स्पष्ट रुपमा लेख्नुभएको छ । यही विचार संग्रहका धेरै कविताहरूमा प्रतिबिम्बित भएको छ । ‘किसान’, ‘सिप र श्रम’, ‘माटोको ऋण’ लगायतका कविताहरूले पसिनाको मूल्य बुझाउँछन् । आजको समाजमा धेरैजसो युवाहरू सजिलो सफलता र तडकभडकतर्फ आकर्षित भइरहेका बेला यी कविताहरूले श्रम नै सम्मानको आधार हो भन्ने सन्देश दिन्छन् । किसानको मेहनत, कारीगरको सीप र श्रमिकको योगदानलाई सम्मान गर्न सिकाउने यस्ता कविताहरू आजको आवश्यकता हुन् ।
संग्रहका कविताहरूमा जीवनबोध र नैतिक शिक्षाको पक्ष पनि उत्तिकै बलियो छ । ‘जीवन–सार’, ‘जीवनसूत्रका भाका’, ‘चरित्र’ जस्ता कविताहरूले असल आचरण, इमानदारी, सहयोग, अनुशासन र सकारात्मक सोचको महत्वलाई सहज रूपमा प्रस्तुत गरेका छन् । कविले उपदेशात्मक शैलीमा होइन देश र समाजको यथार्थ चित्रण गर्नुभएको छ । कतिपय कवितामा प्रकृतिका तत्वहरू, जनावर, चराचुरुङ्गी र दैनिक जीवनका घटनालाई प्रतीकका रूपमा प्रयोग गरेर बालबालिकाले आफैं निष्कर्ष निकाल्ने वातावरण तयार गरिएको छ । कुनै पनि रचना बोझिला होइन रोचक र रहरलाग्दा छन् ।
प्रकृतिप्रतिको मोह पनि यस संग्रहको अर्को सबल पक्ष हो । नदी, पहाड, वन, फूल, चराचुरुङ्गी, बादल र घामजस्ता प्राकृतिक बिम्बहरू कवितामा बारम्बार दोहोरिएका छन् । यसले बालबालिकामा वातावरणीय चेतना विकास गर्न मद्दत पु¥याउँछ । प्रकृतिसँगको सम्बन्ध कमजोर बन्दै गएको वर्तमान समयमा यस्ता कविताहरूले बालबालिकालाई आफ्नै परिवेशसँग जोड्ने काम गर्छन् । प्रकृतिको संरक्षण र जीवनबीचको सम्बन्धलाई कविले सरल शब्दमा अभिव्यक्त गर्नुभएको छ । आज धेरै बालवालिकाहरु शहरमा बस्दछन् । शहरमा बस्नेहरुसंग जीवन छैन जस्तो लाग्छ । उनिहरु मानिस नभएर यन्त्र जस्ता भएका छन् । दुध के ले दिन्छ ? भन्दा डेरीले भन्ने । चामल कसरी आउँछ ? भन्दा पसलबाट भन्ने खालको अवस्था देखिन्छ । यसले हाम्रो पछिल्लो पिंढी कसरी समाजसंग कटदै गएको छ भन्ने देखाउँछ । बालवालिकालाई जीवन पढाउनु छ । माटो पढाउनु छ । देश पढाउनु छ । संघर्षका कथाहरुका बारेमा पनि जानकारी दिनुपर्नेछ ।
भण्डारीको कृतिको भाषाशैलीका दृष्टिले हेर्दा ‘जीवनसूत्रका गीत’ अत्यन्तै सफल कृतिका रुपमा आएको छ भन्न सकिन्छ । खगेश्वर भण्डारीको भाषा सरल, सहज र प्रवाहपूर्ण छ । बालबालिकाले सजिलै बुझ्न सक्ने शब्द चयन गरिएको छ । कविताहरूमा लयात्मकता प्रबल भएकाले सस्वर वाचन गर्दा झन् प्रभावकारी सुनिन्छन् । अनुप्रास, पुनरुक्ति र ध्वन्यात्मक शब्दहरूको प्रयोगले कवितालाई संगीतात्मक बनाएको छ । यही कारणले यी कविताहरू विद्यालयका पाठ्य गतिविधि, कविता वाचन प्रतियोगिता तथा बालसाहित्यिक कार्यक्रमहरूका लागि पनि उपयुक्त देखिन्छन् ।
पुस्तकमा समावेश गरिएका रेखाचित्रहरू अर्को आकर्षण हुन् । प्रत्येक कवितासँग सम्बन्धित चित्रले कविताको भाव बुझ्न सहयोग पु¥याएको छ । बालबालिकाको ध्यान केन्द्रित गर्न र उनीहरूको कल्पनाशक्ति विस्तार गर्न चित्रहरूको महत्वपूर्ण भूमिका हुन्छ । यस दृष्टिले पुस्तकको दृश्य प्रस्तुति प्रशंसनीय छ । यद्यपि भित्री पृष्ठहरूमा केही रङ्गीन चित्रहरू थपिएको भए पुस्तक अझ बढी आकर्षक बन्न सक्थ्यो भन्ने सुझाव दिन सकिन्छ । हिजो आज सुन्ने भन्दा हेर्ने सामग्रीको खोजी धेरैले गरिरहेका हुन्छन भनिन्छ । यसै भएर श्रव्य दृष्यको महत्व बढ्न थालेको छ । यसैले रंगीन चित्रको खोजी पाठकले गर्न सक्छन ।
कृतिका सबल पक्षहरू धेरै छन् । सबैभन्दा ठूलो उपलब्धि भनेको बाल र किशोर मनोविज्ञानको सही पहिचान हो । कविताहरू मनोरञ्जनात्मक छन्, तर केवल मनोरञ्जनमा सीमित छैनन् । तिनले शिक्षा, प्रेरणा र चेतना पनि दिन्छन् । श्रम, सीप, राष्ट्रियता, चरित्र निर्माण र सकारात्मक सोचजस्ता विषयलाई बालमैत्री ढंगले प्रस्तुत गर्नु सजिलो काम होइन । खगेश्वर भण्डारीले त्यो चुनौती सफलतापूर्वक सामना गर्नुभएको छ । आधुनिक समाजमा बढ्दो परनिर्भरता र श्रमप्रतिको वितृष्णाका बीच यी कविताहरूले आत्मनिर्भरता र कर्मशीलताको सन्देश दिन्छन् । संग्रहमा सुधार गर्नुपर्ने विषय नभएका होइनन् । सुधारका लागि दिने सुझावहरु छन् कतिपय कविताहरूमा प्रयोग भएका केही दार्शनिक अवधारणाहरू साना बालबालिकाका लागि अलि गाह्रो हुन सक्छन् । त्यस्ता विषयहरू बुझ्न शिक्षक वा अभिभावकको सहयोग आवश्यक पर्न सक्छ । बालवालिकाको मनोविज्ञानलाई मनन गरेर रचना गर्न सक्ने हो भने ति बालवालिकाको जिव्रोमा झुण्डीन सक्ने खालका हुन्छन । यो भनेर यसमा समावेश गरिएका रचना कमजोर छन भन्न सकिदैन ।
संग्रहमा रहेको माटोको ऋण शिर्षकको कविताले देशमा बस्न चाहेको एउटा बालक वा युवालाई विदेश जानबाट आमाले नै दवाव दिइरहेको भन्ने भाव बोकेको छ । जसमा भनिएको छ ।
विदेशमा जाउ छोरा नभन है आमा,
प्रेममाथि काँडाँ जाग्छ विज्छ पैतालामा ।
पालीताली हुर्काएर अन्तै पठाउने
खसी हैनन्् छोराछोरी धनले साटिदिने ।।
हिजो आज भन्नका लागि त केटाकेटीहरु देशमा बस्न मान्दैनन्, अलिकति पढ्यो वा अलिकति बढ्यो भने विदेश ताक्छन भन्ने भाष्य खडा गरिएको छ । सवै बालवालिका वा किशोर किशोरीहरु विदेश जान खोज्दैनन् । बालवालिकाहरुलाई देशको बारेमा सिमाउने, देश पढाउने, जीवन पढाउने हो भने देश छोडेर विदेश जाने चाहना गर्ने थिएनन् होला । आमा बावुहरुले नै देखासिकीमा आफ्ना सन्तानलाई विदेश पठाउने चलन चलेको छ । यसलाई रोक्नका लागि भण्डारीको कविताले सन्देश दिएको छ । यस्ता धेरै कविताहरु ‘जीवनसूत्रका गीत’मा समावेश गरिएको छ । रमाइलो देश, मेरो देश आउ, एकताको गीत, माटोको ऋण, चराको आसा, किसान, जीवनसूत्रका भाका, जीवन–सार, पालुवाको विन्ती, मुटुभित्र देश, मानवीय स्वभाव, आमा, माछाको पीडा, चराको संसार, गिद्धको महिमा, आपसी माया, दुःखी झुपडी, स्वाभिमान, गाँैथलीको उपदेश, चरित्र, मेरा गुरु, जीवनबोध, मेरा बा, व्वाँसाहरुको राज, नदी, एक विचरी चरी, कविताको बोली, फूलको संसार, साथिलाई चिठी, स्वाभिमानका स्वरहरु, सिप र श्रम, आफ्नो घर, म को हूँ ?, बाच र बचेरा, र प्रगतिको बाटो गरी ३५ वटा रचनाहरु रहेका छन् ।
समग्रमा ‘जीवनसूत्रका गीत’ नेपाली बाल तथा किशोर साहित्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हो । यसले जीवनका सरल तर गहिरा सत्यहरूलाई बालमैत्री भाषामा प्रस्तुत गरेको छ । पुस्तकले नयाँ पुस्तालाई केवल कविता पढ्न सिकाउँदैन, जीवन बुझ्न पनि सिकाउँछ । राष्ट्रप्रेम, श्रमको सम्मान, प्रकृतिप्रतिको प्रेम, असल चरित्र निर्माण र सकारात्मक जीवनदृष्टिको विकास गर्ने सन्देशले भरिएको यो कृति वास्तवमै जीवन र माटोको सुगन्ध बोकेको साहित्यिक उपहार हो । आजको पुस्तालाई सही दिशा दिन सक्षम यस्ता कृतिहरू विद्यालय, पुस्तकालय र घरघरमा पुग्न आवश्यक छ । खगेश्वर भण्डारीको यो कृति नेपाली बालसाहित्यको समृद्ध परम्परामा एउटा उज्यालो र प्रेरणादायी थप उपलब्धिका रूपमा स्मरणीय रहनेछ ।

होटल व्यवसायीलाई खाद्य स्वच्छताको जानकारी

राप्ती पोष्ट

घोराही, २१ दाङ । घोराही उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित होटल, होमस्टे, रेस्टुरेन्ट तथा क्यान्टीन व्यवसायलाई लक्षित गर्दै खाद्य स्वच्छता सम्बन्धी एकदिने तालिम कार्यक्रम बुधबार घोराहीमा भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर दाङको आयोजना, घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको सहकार्य तथा दाङ देउखुरी होटेल व्यवसाय समितिको सहजीकरणमा कार्यक्रम सम्पन्न गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख पदम बरालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिकाकी नगर उपप्रमुख हुमा कुमारी डी.सी.ले गर्नुभएको थियो । कार्यक्रममा घोराही क्षेत्रका चार दर्जनभन्दा बढी होटल व्यवसायीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा खाद्य अधिकृत बरालले खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने विषयमा सहजीकरण गर्नुभएको थियो भने खाद्य निरीक्षक सुदर्शन गोसाइँले होटल तथा रेस्टुरेन्टको स्तरीकरणका लागि व्यवसायीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने मापदण्डका विषयमा विस्तृत प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनार, सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारी र प्रशासन महाशाखा प्रमुख वासुदेव आचार्यले प्रस्तुत गरिएका दुई वटा कार्यपत्रमाथि टिप्पणी गर्दै खाद्य सुरक्षालाई स्थानीय तहको प्राथमिकता बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी सरोकारवाला तथा व्यवसायीहरू सहित ६५ जनाभन्दा बढीको उपस्थिति रहेको थियो । सहभागीहरूले यस्तो प्रकारका तालिमले व्यवसायमा गुणस्तर सुधार गर्न, उपभोक्ता स्वास्थ्य सुरक्षित गर्न तथा होटल व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

खेलले समाज र राष्ट्र जोड्छ’ काँग्रेस महामन्त्री घिमिरे

दोस्रो खेतुलाल नेपाली स्मृति कप क्रिकेट प्रतियोगिता बंगलाचुलीमा सुरु

राप्ती पोष्ट

दाङ, २१ जेठ । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका–४ वडा समितिको आयोजनामा दोस्रो खेतुलाल नेपाली स्मृति कप क्रिकेट प्रतियोगिता बुधबारदेखि बंगलाचुलीमा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन गर्दै घिमिरेले खेलकुदलाई समाज एकताबद्ध बनाउने सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले खेलमा जात, धर्म, भाषा, क्षेत्र वा राजनीतिक आस्थाको कुनै भेदभाव नहुने उल्लेख गर्दै खेलले सबैलाई एउटै सूत्रमा बाँध्ने काम गर्ने बताउनुभयो ।

उहाँले खेलकुदले अनुशासन, नेतृत्व क्षमता, सहकार्य र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्ने भएकाले युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले ग्रामीण क्षेत्रबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुन सक्ने सम्भावना प्रबल रहेको बताउँदै बंगलाचुलीमा क्रिकेटप्रति देखिएको उत्साह सकारात्मक भएको टिप्पणी गर्नुभयो ।

‘यहाँका खेलाडीहरूले भविष्यमा प्रदेश तथा राष्ट्रिय टोलीमा स्थान बनाएको हेर्न चाहन्छु ।’ उहाँले भन्नुभयो । उहाँले खेल पूर्वाधार विकास, प्रतिभा पहिचान र खेलाडी प्रोत्साहनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो । खेलकुद केवल मनोरञ्जन मात्र नभई समाज, राष्ट्र र विश्वलाई जोड्ने शक्तिशाली माध्यम भएको उहाँको भनाइ थियो ।
कार्यक्रम नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका–४ का वडा सभापति शिवराज परियारको अध्यक्षतामा भएको थियो । उक्त अवसरमा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकर डाँगीले बोल्नुभएको थियो । पालिका उपसभापति इन्द्रमणि वलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव चेतप्रसाद डाँगीले गर्नुभएको थियो ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा बंगलाचुली क्षेत्रका आठ टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा स्युजा क्रिकेट टिम, जुम्लेपानी क्रिकेट टिम, काभ्रे श्रीवारी क्रिकेट टिम र बचेनी क्रिकेट टिम रहेका छन् । त्यस्तै समूह ‘बी’ मा बंगलाचुली क्रिकेट क्लब, श्रीवारी क्रिकेट टिम, छिप्पन क्रिकेट टिम र रोयल मुर्कुटी सहभागी छन् ।

प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलहरूमा स्युजा क्रिकेट टिमले बचेनी क्रिकेट क्लबलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । दोस्रो खेलमा बंगलाचुली क्रिकेट क्लब (पुरुङ) ले रोयल मुर्कुटीलाई हराउँदै जित हात पारेको छ । त्यस्तै तेस्रो खेलमा काभ्रे श्रीवारी क्रिकेट टिमले जुम्लेपानी क्रिकेट टिमलाई पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ ।

प्रतिष्ठानमा मर्मतपछि डायलाइसिस मेसिन संचालनमा

 

राप्ती पोष्ट

दाङ, २१ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्षौंदेखि बिग्रिएर थन्किएका पाँच वटा हेमोडायलाइसिस मेसिन मर्मतपछि पुनः सञ्चालनमा ल्याइएका छन् । मेसिनहरू लामो समयदेखि बन्द अवस्थामा रहँदा मिर्गौला रोगका बिरामीहरू उपचारका लागि लामो समयदेखि पालो कुर्न बाध्य हुँदै आएका थिए ।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीका अनुसार पोखराबाट डायलाइसिस सम्बन्धी प्राविधिक विज्ञ टोली बोलाएर बिग्रिएका मेसिनहरू मर्मत गरी सञ्चालनमा ल्याइएको हो । उहाँले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय लगायत सरकारी निकाय तथा निजी क्षेत्रले सि आर सी अन्तर्गत थप डायलाइसिस मेसिन उपलब्ध गराउन चाहेमा प्रतिष्ठान समन्वय गर्न तयार रहेको बताउनुभयो ।

मेसिनहरू सञ्चालनमा आएपछि बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । डा. रसाइलीका अनुसार यसअघि इमरजेन्सीमा डायलाइसिस गराउने बिरामीको संख्या २२ जनासम्म पुगेकोमा अहिले घटेर तीन जनामा सीमित भएको छ । साथै, दैनिक थप ११ जना नयाँ बिरामीले नियमित डायलाइसिस सेवा पाउन थालेका छन् ।

प्रतिष्ठानमा हाल तीन सिफ्टमा डायलाइसिस सेवा सञ्चालन भइरहेको छ, जसबाट दैनिक ३३ जना मिर्गौला रोगका बिरामीले सेवा लिइरहेका छन् । बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म सञ्चालन हुने सेवाबाट हालसम्म ९१ जना बिरामी लाभान्वित भएको प्रतिष्ठानले जनाएको छ ।

सेवालाई थप प्रभावकारी बनाउन नर्सिङ इञ्चार्जसहित १८ जना नर्सिङ स्टाफलाई विशेष तालिम दिइएको छ । हाल प्रतिष्ठानमा १५ वटा हेमोडायलाइसिस मेसिन सञ्चालनमा रहेका छन् भने थप मेसिन सञ्चालनमा आएपछि प्रतीक्षामा रहेका ५४ जना बिरामीलाई सेवा दिन सकिने अपेक्षा गरिएको छ ।

मेसिन मर्मत तथा सञ्चालनमा ल्याउन प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर शिरीष बुढाथोकीको नेतृत्वमा प्राविधिक टोलीमा आशिष गौतम र अंकित अधिकारीसहितको टोलीले लामो समयदेखि काम गर्दै आएको हो । प्रतिष्ठानले मुलुकमै पहिलोपटक आईसीयूमा रहेका मिर्गौला बिरामीका लागि लक्षित गरी आईसीयूभित्रै डायलाइसिस सेवा पनि सञ्चालन गर्दै आएको छ । विशेषज्ञ चिकित्सक, नर्सिङ इञ्चार्जसहित १८ जनाको टोली निरन्तर सेवा प्रवाहमा खटिएको प्रतिष्ठानले जनाएको छ ।

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनस् एमालेका ४ र जसपाका १ मन्त्री नियुक्त

राप्ती पोष्ट

दाङ, २१ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गर्नुभएको हो ।

पुनर्गठित मन्त्रिपरिषद्‌मा पाँच जना नयाँ मन्त्रीलाई नियुक्त गरिएको छ । नेकपा ९एमाले० बाट चार जना र जनता समाजवादी पार्टी ९जसपा० बाट एक जना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्नुभएको थियो । अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो । नव नियुक्त मन्त्रिहरुको शपथग्रहण जेठ २५ गते सोमबारका लागी तय भएको छ

संजीवनीले सशस्त्र प्रहरीलाई उपचारमा छुट दिने

राप्ती पोष्ट

घोराही, १३ जेठ । दाङको संजीवनी टिचिङ हस्पिटल र सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेडक्वार्टर ज्वालामाई बीच उपचार सेवामा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ ।
अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरी बलमा कार्यरत, अवकाश प्राप्त सुरक्षाकर्मी तथा उनीहरूका आश्रित परिवारलाई विभिन्न स्वास्थ्य सेवामा छुट दिने व्यवस्था गर्दै उक्त समझदारी गरिएको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोका र सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक यदुकुमार कार्की ले समझदारी पत्रमा हालै हस्ताक्षर गर्नुभएको थियो ।

समझदारीअनुसार सशस्त्र प्रहरी बल नेपालमा कार्यरत तथा अवकाश प्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउनेछन् । अस्पताल प्रशासनका अनुसार ओपिडी, ल्याब, शल्यक्रिया, बेड शुल्क लगायतका विभिन्न सेवामा सहुलियत प्रदान गरिनेछ ।

कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत रोकाले सुरक्षा निकायसँग सहकार्य गर्दै सेवा विस्तार गर्न पाउँदा अस्पताल उत्साहित रहेको बताउनुभयो । उहाँले राष्ट्रको सुरक्षामा खटिने सुरक्षाकर्मी र उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा सहज पहुँच दिलाउन अस्पताल प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘सुरक्षाकर्मीहरू देश र नागरिकको सुरक्षाका लागि चौबिसै घण्टा खटिनुहुन्छ ।’ उहाँले भन्नुभयो, ‘उहाँहरूको स्वास्थ्य सुरक्षामा सानो भए पनि योगदान पु¥याउन पाउनु अस्पतालका लागि गौरवको विषय हो ।’

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका एसपी यदुकुमार कार्कीले निजी स्वास्थ्य संस्थाले सुरक्षा निकायप्रति देखाएको सहयोगात्मक भावनाको प्रशंसा गर्नुभयो । उहाँले स्वास्थ्य सेवा महँगो बन्दै गएको अवस्थामा यस्तो सहुलियतले सुरक्षाकर्मी र परिवारलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समझदारी कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत अनिल अर्याल, अस्पताल व्यवस्थापक सह–प्राध्यापक मदन पन्थी, प्रशासन अधिकृत सुशिल रिजाल तथा वित्त नियन्त्रक सिए अनिल सुनार को सहभागिता रहेको थियो । त्यसैगरी सशस्त्र प्रहरी बलतर्फबाट नं. २९ गण हेडक्वार्टर ज्वालामाई दाङका सशस्त्र प्रहरी नायव उपरीक्षक इश्वर डी.सी., नं. ४१ रिजर्भ गण हेडक्वार्टर अर्जुनखोला लमही दाङका सशस्त्र प्रहरी नायव उपरीक्षक टेकराज पोखरेल तथा कारागार सुरक्षा बेस घोराही दाङका सशस्त्र प्रहरी नायव उपरीक्षक दिपकराज अर्याल लगायत सुरक्षा निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
अस्पताल प्रशासनका अनुसार सहुलियत सुविधा प्राप्त गर्न सेवाग्राहीले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । त्यसका साथै सशस्त्र प्रहरी बलमा कार्यरत वा अवकाश प्राप्त व्यक्तिसँगको नाता प्रमाणित हुने कागजात वा सम्बन्धित सशस्त्र प्रहरी कार्यालयको औपचारिक सिफारिस पत्रसमेत आवश्यक पर्ने जनाइएको छ ।

दाङमा पछिल्लो समय निजी स्वास्थ्य संस्थाहरूले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई विस्तार गरिरहेका छन् । स्वास्थ्य उपचारलाई सर्वसुलभ र पहुँचयोग्य बनाउने उद्देश्यले गरिएका यस्ता सहकार्यले सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी पाण्डे भन्नुहुन्छ, ‘मिडिया प्रशासनको आँखा’

राप्ती पोष्ट

घोराही, १३ जेठ । दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे ले मिडियालाई प्रशासनको आँखा भएको बताउनुभएको छ । उहाँले जिल्लाको शान्ति सुरक्षा, सुशासन र विकासका विषयमा सञ्चारमाध्यमसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

सोमबार मात्रै दाङमा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी पाण्डेले मंगलबारदेखि औपचारिक रुपमा कार्यभार सम्हाल्नुभएको हो । कार्यारम्भसँगै सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले जिल्लामा रहेको समस्याका बारेमा बुझ्न थालेको बताउनुभयो । उहाँले दाङ जिल्लामा ठूलो समस्याका रुपमा लागू पदार्थ दुव्र्यसनको समस्या रहेको जानकारी पाएको बताउनुभयो । उहाँले यो समस्या देशव्यापी गम्भीर बन्दै गएको भन्दै दाङमा अझ विकराल रहेको जानकारी आफूले पाएको बताउनुभयो । ‘यसको नियन्त्रणका लागि सबै पक्ष एकजुट हुनुपर्ने छ ।’ उहाँले भन्नुभयो ।

‘हामी कसैले पनि आफ्ना सन्तान बिग्रिएको हामी कसैले पनि हेर्न सक्दैनौँ ।’ उहाँले भन्नुभयो, ‘लागू पदार्थको सेवन रोक्न प्रशासन एक्लैले सक्दैन, यसका लागि अभिभावक, शिक्षक, नागरिक समाज, स्थानीय तह र सञ्चारमाध्यम सबै सक्रिय हुनुपर्छ ।’ जिल्लास्तरमा के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने बारेमा व्यापक छलफल गरेर अघि बढ्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।

उहाँले मिडियाले प्रशासनलाई सही बाटो देखाउने र खबरदारी गर्ने भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै कार्यालयले सम्पादन गर्ने काममा रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो । ‘मिडिया प्रशासनको आँखा हो ।’ उहाँले भन्नुभयो, ‘सकारात्मक सुझाव र आलोचनाले कामलाई थप प्रभावकारी बनाउँछ ।’

प्रमुख जिल्ला अधिकारी पाण्डेले दाङ जिल्लामा विपद् व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिने बताउँदै सम्भावित प्राकृतिक तथा मानवीय विपद्का घटनाप्रति प्रशासन सजग रहने स्पष्ट पार्नुभयो । जिल्लाको विविध भौगोलिक बनोट र सीमावर्ती क्षेत्रका नागरिकले पर्याप्त सेवा सुविधा नपाइरहेको अवस्थाप्रति पनि उहाँले चासो व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले जिल्लामा संचारको अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँले जिल्लामा चारवटा दैनिक पत्रिका, छ वटा साप्ताहिक, एक दर्जन जति रेडियो र दर्तामा रहेका ३७ वटा अनलाइन सञ्चारमाध्यम संचालनमा रहेको जानकारी दिनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीलाई सहज तरिकाले सूचना दिने बातावरण बनाउन आग्रह गर्नुभयो । कतिपय अवस्थामा पत्रकार महासंघले सहजकर्ताको भूमिका समेत खेलेको उदाहरण दिंदै सुवेदीले पत्रकार महासंघ प्रशासनसंग मिलेर काम गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम ले दाङ भौगोलिक र सामाजिक हिसाबले विविधता भएको जिल्ला भएकाले यहाँका नाकावासी तथा दुर्गम क्षेत्रका नागरिकले अझै पनि राज्यका सेवा सुविधामा सहज पहुँच पाउन नसकेको बताउनुभयो । उहाँले सार्वजनिक निकायबाट सूचना सहज रुपमा प्राप्त हुनुपर्नेमा जोड दिँदै कतिपय अवस्थामा सञ्चारकर्मीले सूचना माग्नैपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

उहाँले सार्वजनिक सुनुवाइको अभ्यासलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सञ्चारमाध्यमले सूचना मात्रै नभई समाचारमार्फत जनचासोका विषय उठाउने गरेको बताउनुभयो । सार्वजनिक निकायले सूचना दिन कञ्जुस्याँइ गर्ने गरेको उल्लेख गर्दै गौतमले प्रशासनका तर्फबाट यो कामका लागि सहजिकरण आवश्यक रहेको बताउनुभयो ।

छलफलमा प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य शरद अधिकारीले जिल्ला प्रशासनले सहि र सहज तरिकाले सूचना दिनुपर्ने बताउनुभयो । उहाँले सवै निकायलाई सहज सेवा प्रवाहका लागि निर्देशन दिन आग्रह गर्नुभयो । विगतमा प्रमुख जिल्ला अधिकारी अन्य इलाका प्रशासन कार्यालयमा पनि पुगेर समस्या बुझ्ने परम्परालाई पुनः सक्रिय बनाउनुपर्ने सुझाव पनि उहाँले दिनुभयो । जिल्लाका संचारमाध्यममा आउने समाचारलाई गम्भिरताका साथ लिन पनि उहाँले आग्रह गर्नुभयो ।
कतिपय अवस्थामा संचारकर्मीले समाचारका लागि सूचना माग्दा उल्टै सूचना माग्ने गरेको बताउँदै, सूचना र समाचारको फरकलाई बुझ्न पनि अधिकारीले आग्रह गर्नुभयो । जिल्लाका सरकारी निकायलाई सार्वजनिक सुनुवाई कार्यक्रम नियमित रुपमा गर्न आग्रह गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विजय गौतमले सुभारम्भ गर्नुभएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाले पनि पत्रकारले राखेका जिज्ञासाका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले प्रशासन र सञ्चारमाध्यमबीच समन्वय र विश्वासको वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा राखेका थिए ।