spot_img
spot_img

दाङका प्रमुख जिल्ला अधिकारी पाण्डे भन्नुहुन्छ, ‘मिडिया प्रशासनको आँखा’

राप्ती पोष्ट

घोराही, १३ जेठ । दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे ले मिडियालाई प्रशासनको आँखा भएको बताउनुभएको छ । उहाँले जिल्लाको शान्ति सुरक्षा, सुशासन र विकासका विषयमा सञ्चारमाध्यमसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

सोमबार मात्रै दाङमा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी पाण्डेले मंगलबारदेखि औपचारिक रुपमा कार्यभार सम्हाल्नुभएको हो । कार्यारम्भसँगै सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले जिल्लामा रहेको समस्याका बारेमा बुझ्न थालेको बताउनुभयो । उहाँले दाङ जिल्लामा ठूलो समस्याका रुपमा लागू पदार्थ दुव्र्यसनको समस्या रहेको जानकारी पाएको बताउनुभयो । उहाँले यो समस्या देशव्यापी गम्भीर बन्दै गएको भन्दै दाङमा अझ विकराल रहेको जानकारी आफूले पाएको बताउनुभयो । ‘यसको नियन्त्रणका लागि सबै पक्ष एकजुट हुनुपर्ने छ ।’ उहाँले भन्नुभयो ।

‘हामी कसैले पनि आफ्ना सन्तान बिग्रिएको हामी कसैले पनि हेर्न सक्दैनौँ ।’ उहाँले भन्नुभयो, ‘लागू पदार्थको सेवन रोक्न प्रशासन एक्लैले सक्दैन, यसका लागि अभिभावक, शिक्षक, नागरिक समाज, स्थानीय तह र सञ्चारमाध्यम सबै सक्रिय हुनुपर्छ ।’ जिल्लास्तरमा के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने बारेमा व्यापक छलफल गरेर अघि बढ्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।

उहाँले मिडियाले प्रशासनलाई सही बाटो देखाउने र खबरदारी गर्ने भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै कार्यालयले सम्पादन गर्ने काममा रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो । ‘मिडिया प्रशासनको आँखा हो ।’ उहाँले भन्नुभयो, ‘सकारात्मक सुझाव र आलोचनाले कामलाई थप प्रभावकारी बनाउँछ ।’

प्रमुख जिल्ला अधिकारी पाण्डेले दाङ जिल्लामा विपद् व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिने बताउँदै सम्भावित प्राकृतिक तथा मानवीय विपद्का घटनाप्रति प्रशासन सजग रहने स्पष्ट पार्नुभयो । जिल्लाको विविध भौगोलिक बनोट र सीमावर्ती क्षेत्रका नागरिकले पर्याप्त सेवा सुविधा नपाइरहेको अवस्थाप्रति पनि उहाँले चासो व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले जिल्लामा संचारको अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँले जिल्लामा चारवटा दैनिक पत्रिका, छ वटा साप्ताहिक, एक दर्जन जति रेडियो र दर्तामा रहेका ३७ वटा अनलाइन सञ्चारमाध्यम संचालनमा रहेको जानकारी दिनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीलाई सहज तरिकाले सूचना दिने बातावरण बनाउन आग्रह गर्नुभयो । कतिपय अवस्थामा पत्रकार महासंघले सहजकर्ताको भूमिका समेत खेलेको उदाहरण दिंदै सुवेदीले पत्रकार महासंघ प्रशासनसंग मिलेर काम गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम ले दाङ भौगोलिक र सामाजिक हिसाबले विविधता भएको जिल्ला भएकाले यहाँका नाकावासी तथा दुर्गम क्षेत्रका नागरिकले अझै पनि राज्यका सेवा सुविधामा सहज पहुँच पाउन नसकेको बताउनुभयो । उहाँले सार्वजनिक निकायबाट सूचना सहज रुपमा प्राप्त हुनुपर्नेमा जोड दिँदै कतिपय अवस्थामा सञ्चारकर्मीले सूचना माग्नैपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

उहाँले सार्वजनिक सुनुवाइको अभ्यासलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सञ्चारमाध्यमले सूचना मात्रै नभई समाचारमार्फत जनचासोका विषय उठाउने गरेको बताउनुभयो । सार्वजनिक निकायले सूचना दिन कञ्जुस्याँइ गर्ने गरेको उल्लेख गर्दै गौतमले प्रशासनका तर्फबाट यो कामका लागि सहजिकरण आवश्यक रहेको बताउनुभयो ।

छलफलमा प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य शरद अधिकारीले जिल्ला प्रशासनले सहि र सहज तरिकाले सूचना दिनुपर्ने बताउनुभयो । उहाँले सवै निकायलाई सहज सेवा प्रवाहका लागि निर्देशन दिन आग्रह गर्नुभयो । विगतमा प्रमुख जिल्ला अधिकारी अन्य इलाका प्रशासन कार्यालयमा पनि पुगेर समस्या बुझ्ने परम्परालाई पुनः सक्रिय बनाउनुपर्ने सुझाव पनि उहाँले दिनुभयो । जिल्लाका संचारमाध्यममा आउने समाचारलाई गम्भिरताका साथ लिन पनि उहाँले आग्रह गर्नुभयो ।
कतिपय अवस्थामा संचारकर्मीले समाचारका लागि सूचना माग्दा उल्टै सूचना माग्ने गरेको बताउँदै, सूचना र समाचारको फरकलाई बुझ्न पनि अधिकारीले आग्रह गर्नुभयो । जिल्लाका सरकारी निकायलाई सार्वजनिक सुनुवाई कार्यक्रम नियमित रुपमा गर्न आग्रह गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विजय गौतमले सुभारम्भ गर्नुभएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाले पनि पत्रकारले राखेका जिज्ञासाका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले प्रशासन र सञ्चारमाध्यमबीच समन्वय र विश्वासको वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा राखेका थिए ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार