दोस्रो खेतुलाल नेपाली स्मृति कप क्रिकेट प्रतियोगिता बंगलाचुलीमा सुरु
राप्ती पोष्ट
दाङ, २१ जेठ । नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका–४ वडा समितिको आयोजनामा दोस्रो खेतुलाल नेपाली स्मृति कप क्रिकेट प्रतियोगिता बुधबारदेखि बंगलाचुलीमा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन गर्दै घिमिरेले खेलकुदलाई समाज एकताबद्ध बनाउने सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले खेलमा जात, धर्म, भाषा, क्षेत्र वा राजनीतिक आस्थाको कुनै भेदभाव नहुने उल्लेख गर्दै खेलले सबैलाई एउटै सूत्रमा बाँध्ने काम गर्ने बताउनुभयो ।
उहाँले खेलकुदले अनुशासन, नेतृत्व क्षमता, सहकार्य र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्ने भएकाले युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले ग्रामीण क्षेत्रबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुन सक्ने सम्भावना प्रबल रहेको बताउँदै बंगलाचुलीमा क्रिकेटप्रति देखिएको उत्साह सकारात्मक भएको टिप्पणी गर्नुभयो ।
‘यहाँका खेलाडीहरूले भविष्यमा प्रदेश तथा राष्ट्रिय टोलीमा स्थान बनाएको हेर्न चाहन्छु ।’ उहाँले भन्नुभयो । उहाँले खेल पूर्वाधार विकास, प्रतिभा पहिचान र खेलाडी प्रोत्साहनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो । खेलकुद केवल मनोरञ्जन मात्र नभई समाज, राष्ट्र र विश्वलाई जोड्ने शक्तिशाली माध्यम भएको उहाँको भनाइ थियो ।
कार्यक्रम नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका–४ का वडा सभापति शिवराज परियारको अध्यक्षतामा भएको थियो । उक्त अवसरमा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकर डाँगीले बोल्नुभएको थियो । पालिका उपसभापति इन्द्रमणि वलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव चेतप्रसाद डाँगीले गर्नुभएको थियो ।
प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा बंगलाचुली क्षेत्रका आठ टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा स्युजा क्रिकेट टिम, जुम्लेपानी क्रिकेट टिम, काभ्रे श्रीवारी क्रिकेट टिम र बचेनी क्रिकेट टिम रहेका छन् । त्यस्तै समूह ‘बी’ मा बंगलाचुली क्रिकेट क्लब, श्रीवारी क्रिकेट टिम, छिप्पन क्रिकेट टिम र रोयल मुर्कुटी सहभागी छन् ।
प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलहरूमा स्युजा क्रिकेट टिमले बचेनी क्रिकेट क्लबलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । दोस्रो खेलमा बंगलाचुली क्रिकेट क्लब (पुरुङ) ले रोयल मुर्कुटीलाई हराउँदै जित हात पारेको छ । त्यस्तै तेस्रो खेलमा काभ्रे श्रीवारी क्रिकेट टिमले जुम्लेपानी क्रिकेट टिमलाई पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ ।



