spot_img
Home Blog Page 4

लुम्विनी प्रदेश सरकारको नीति तथा कार्यक्रम

कृषि, स्वास्थ्य, पूर्वाधार र सुशासनलाई प्राथमिकता

राप्ती पोष्ट

दाङ, १२ जेठ । लुम्विनी प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमबार लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।

प्रदेश सभाको आठौं अधिवेशनको छैटौं बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, डिजिटल सेवा, सुशासन तथा आर्थिक सुधारलाई उच्च प्राथमिकतामा राखिएको छ । प्रदेश प्रमुख घर्तीमगरले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, नागरिकमैत्री सेवा प्रवाह, आर्थिक समृद्धि, उत्पादनमुखी अर्थतन्त्र निर्माण तथा प्रदेश सरकारको संस्थागत सुदृढीकरणलाई मुख्य उद्देश्य बनाइएको छ । नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा विस्तार, अधुरा आयोजना सम्पन्न गर्ने, सुशासन कायम गर्ने तथा डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने रणनीति अघि सारिएको छ ।

प्रदेश सरकारले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई प्राथमिकतामा राख्दै ‘बालीवस्तु विशेष सघन व्यावसायिक क्षेत्र विकास कार्यक्रम’ लाई प्रभावकारी बनाउने जनाएको छ । कृषि अनुदान वितरणलाई पारदर्शी बनाउन ‘सरकारी सहुलियतमा सबै कृषकको समान पहुँच’ नीति लागू गरिने उल्लेख गरिएको छ । प्रदेशलाई प्राङ्गारिक प्रदेशको रूपमा विकास गर्न ‘एक पालिका एक अर्गानिक÷रैथाने बाली उत्पादन’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले आगामी बर्षका लागि ल्याउने बजेटमा कृषिलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेखित बुँदाहरुबाट देखिन्छ । सरकारले विदेशबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्न ‘कृषिमा युवा उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रमा स्टार्टअप सहयोग, प्रविधि हस्तान्तरण र उत्पादन सामग्रीमा सहुलियत उपलब्ध गराइने नीति सरकारले लिएको छ । पहाडी जिल्लामा खोरेत रोग नियन्त्रण, पशुपन्छी तथा मत्स्यपालन प्रवद्र्धन, रैथाने बाली संरक्षण तथा बीउ आत्मनिर्भर कार्यक्रमलाई समेत निरन्तरता दिइने भएको छ ।

प्रदेश सरकारले सहकारी क्षेत्र सुधारलाई पनि प्राथमिकता दिएको छ । सहकारी संस्थाको डिजिटल अभिलेखीकरण, वार्षिक कार्यसम्पादन मूल्याङ्कन तथा समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि विशेष व्यवस्था गरिने नीति लिइएको छ । भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनमा संघ र स्थानीय तहसँग समन्वय गरिने कार्यक्रम पनि समेटिएको छ ।

औद्योगिक तथा आर्थिक क्षेत्रतर्फ ‘उद्यमशील लुम्बिनी’ र ‘डिजिटल लुम्बिनी’ अभियानलाई प्रदेशको रूपान्तरणकारी कार्यक्रमका रूपमा अघि बढाइने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनामा प्रोत्साहन, महिला उद्यमशीलता विकास तथा स्टार्टअप कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रम ल्याइने भएको छ ।
श्रम क्षेत्रलाई व्यवस्थित गर्न श्रम तथा रोजगार नीति तर्जुमा गरिने, रोजगार पोर्टलमार्फत सूचना प्रवाह गरिने तथा उद्योगको माग अनुसार सीपमूलक तालिम सञ्चालन गरिने सरकारले जनाएको छ । प्रदेशभित्र सार्वजनिक यातायातलाई सुरक्षित बनाउन जीपीएस ट्र्याकिङ र सीसी क्यामेरा जडान गर्ने व्यवस्था मिलाइने भएको छ ।

संस्कृति तथा पर्यटन क्षेत्रलाई पनि नीति तथा कार्यक्रममा महत्व दिइएको छ । लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना गरी भाषा, कला, साहित्य, संगीत तथा मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिने भएको छ । रोल्पा र रुकुम पूर्वमा साहसिक पर्यटन विकास, पुथा हिमालमा बेसक्याम्प निर्माण तथा “भिजिट नेपाल २०८५” लाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गरिने नीति लिइएको छ ।

प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र प्रवद्र्धनलाई निरन्तरता दिइने भएको छ । दाङको पाण्डवेश्वर, सुकौराकोट–दंगीशरण, स्वर्गद्वारी, सुपादेउराली, रानीमहल, लुम्बिनी लगायतका धार्मिक क्षेत्रलाई पर्यटन प्रवद्र्धनसँग जोडिने नीति सरकारले अघि सारेको छ । कोइलाबासदेखि स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक पथ निर्माण गरिने उल्लेख गरिएको छ ।

पूर्वाधार विकासतर्फ अधुरा आयोजना सम्पन्न गर्ने नीति सरकारले लिएको छ । प्रदेश गौरवको आयोजना रामपुर–कपुरकोट सडकलाई उच्च प्राथमिकता दिइने भएको छ । सडक सञ्जाल विस्तार, झोलुङ्गे पुल निर्माण, सडक सुरक्षामा सुधार तथा पूर्वाधारको गुणस्तर परीक्षणका लागि कपिलवस्तुको चन्द्रौटामा बनेको पूर्वाधार प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ ।
सिँचाइ क्षेत्रको दीर्घकालीन गुरुयोजना बनाइने, भूमिगत तथा सतह सिँचाइ विस्तार गरिने तथा “एक वडा एक पोखरी” कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिने नीति लिइएको छ । बाढी, पहिरो, नदी कटान तथा जलउत्पन्न प्रकोप नियन्त्रणका लागि जोखिम आधारित योजना कार्यान्वयन गरिने प्रदेश सरकारले जनाएको छ ।

ऊर्जा क्षेत्रमा नवीकरणीय ऊर्जालाई प्रोत्साहन गरिने भएको छ । सौर्य ऊर्जा प्रणाली विस्तार, वैकल्पिक ऊर्जा प्रयोग तथा विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने नीति सरकारले अघि सारेको छ । प्रदेशका कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा वैकल्पिक ऊर्जा जडान गरिने भएको छ । खानेपानीतर्फ ‘एक घरः एक धारा’ अभियानलाई निरन्तरता दिइने भएको छ । ८० प्रतिशतभन्दा बढी सम्पन्न आयोजनालाई प्राथमिकता दिएर सम्पन्न गरिने नीति सरकारले लिएको छ । सुरक्षित खानेपानी तथा फोहर पानी व्यवस्थापनका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ ।

वन तथा वातावरण क्षेत्रतर्फ वन व्यवस्थापन, जैविक विविधता संरक्षण, जडीबुटी तथा गैरकाष्ठ वन पैदावार प्रवद्र्धन गरिने भएको छ । वन डढेलो नियन्त्रण, वन्यजन्तु उद्धार तथा बिमा कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षा क्षेत्रतर्फ एकीकृत प्रादेशिक शिक्षा नीति तर्जुमा गरिने भएको छ । ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान विस्तार गरिने तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट प्राविधिक शिक्षाको केन्द्र बनाइने नीति सरकारले अघि सारेको छ । विज्ञान शिक्षा छात्रवृत्ति, स्मार्ट विद्यालय कार्यक्रम तथा ‘पढ्दै, सिक्दै, कमाउँदै’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षण र सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । घोराहीमा लैङ्गिक हिंसा पीडितका लागि दीर्घकालीन पुनस्र्थापना केन्द्र निर्माण अगाडि बढाइने भएको छ । बालविवाह तथा बालश्रममुक्त प्रदेश निर्माणका लागि अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ राप्ती प्रादेशिक अस्पताललाई २०० शैय्यामा स्तरोन्नति गरिने भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा जलन उपचार सेवा विस्तार गरिने तथा डायलाइसिस, बाँझोपन, नवजात शिशु सघन उपचार, रक्तसञ्चार तथा जेष्ठ नागरिक उपचार सेवा विस्तार गरिने नीति सरकारले अघि सारेको छ । ‘मानसिक स्वास्थ्यमा सुधारः स्वस्थ नागरिक लुम्बिनीको आधार’ अभियान सञ्चालन गरिने भएको छ । विद्यालय नर्स कार्यक्रम, टेलिमेडिसिन सेवा, सिकलसेल तथा थालासेमिया उपचार कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । प्रदेश जनस्वास्थ्य ऐन तर्जुमा गरी लागू गरिने नीति पनि सरकारले लिएको छ ।

सुरक्षा तथा सुशासनतर्फ प्रदेश सरकारले डिजिटल गभर्नेन्सलाई जोड दिएको छ । सेवा प्रवाहलाई फेसलेस, छिटोछरितो र प्रविधिमैत्री बनाइने भएको छ । डिजिटल टोकन, फाइल ट्र्याकिङ, एकल विन्दु सेवा प्रणाली लागू गरिने भएको छ । पत्रकार दुर्घटना बिमा कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । प्रदेश प्रमुख घर्ती मगरले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले मन्त्रालय संख्या घटाउने महत्वपूर्ण निर्णयसमेत नीति तथा कार्यक्रममा समेटेको छ । हाल रहेका १२ वटा मन्त्रालयलाई पुनर्संरचना गरी आगामी साउन १ गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित जम्मा आट वटा मन्त्रालय कायम गरिने भएको छ । संगठन तथा दरबन्दी पुनरावलोकन गरिने तथा प्रदेश किताबखाना स्थापना गरी कर्मचारीको सम्पूर्ण अभिलेख विद्युतीय प्रणालीमा राखिने नीति लिइएको छ । केही समय यता प्रदेशमा मन्त्रालयको संख्या धेरै भएको भन्ने बारेमा आलोचना भइरहेको थियो ।

प्रदेश सरकारले अधुरा आयोजना, बहुवर्षीय आयोजना तथा प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने जनाएको छ । बेरुजु घटाउने, आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने तथा वार्षिक कम्तीमा ६० प्रतिशत बेरुजु फछ्र्यौट गर्ने लक्ष्यसमेत सरकारले अघि सारेको छ । नीति तथा कार्यक्रमको अन्त्यमा प्रदेश प्रमुख घर्तीमगरले संविधानको मर्मअनुसार समृद्ध लुम्बिनी प्रदेश निर्माणमा नीति तथा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम कार्यान्वयनमा प्रदेश सभा, राजनीतिक दल, निजी क्षेत्र, सञ्चारमाध्यम, नागरिक समाज तथा सम्पूर्ण नागरिकको सहयोग अपेक्षा गर्नुभयो ।

नीति तथा कार्यक्रममा दाङ जिल्ला

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममा दाङ जिल्लालाई कृषि, पर्यटन, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास तथा प्रशासनिक केन्द्रको रूपमा विशेष प्राथमिकतामा राखिएको छ । प्रदेश राजधानी रहेको जिल्लाका रूपमा दाङमा आर्थिक, प्रशासनिक र सामाजिक पूर्वाधार विस्तारका योजना समेटिएका छन् ।
दाङ–प्यूठान सडकलाई प्राथमिकता
प्रदेश सरकारले दाङ–प्यूठान सडक आसपासका क्षेत्रमा उच्च मूल्यका बाली वस्तु उत्पादन र बजारीकरणका कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । यस सडक करिडोरलाई कृषि उत्पादन र आर्थिक गतिविधिसँग जोड्ने नीति लिइएको छ ।
धार्मिक तथा पर्यटन प्रवद्र्धन
दाङका पाण्डवेश्वर, देवीकोट, सुकौराकोट–दंगीशरण तथा छिल्लीकोट क्षेत्रको संरक्षण र पर्यटन प्रवद्र्धनलाई निरन्तरता दिइने भएको छ । यी क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटनसँग जोड्दै प्रचारप्रसार र पूर्वाधार विकासमा जोड दिइने नीति सरकारले अघि सारेको छ । त्यसैगरी कोइलाबासदेखि गोरक्षरत्ननाथ मन्दिर हुँदै स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक पथ विकास गरिने उल्लेख गरिएको छ । दाङलाई स्वर्गद्वारी र लुम्बिनीसँग जोडेर धार्मिक पर्यटनको केन्द्र बनाउने रणनीति सरकारले अघि सारेको छ ।
देउखुरीलाई आर्थिक केन्द्र बनाउने योजना
प्रदेश राजधानी देउखुरीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने नीति नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिएको छ । अत्यावश्यक पूर्वाधार निर्माण, सहरी योजना तथा आर्थिक गतिविधि विस्तारका लागि लगानी बढाइने भएको छ ।
घोराहीमा दीर्घकालीन पुनस्र्थापना केन्द्र
लैङ्गिक हिंसा पीडित तथा प्रभावित महिलाका लागि दाङको घोराहीमा दीर्घकालीन पुनस्र्थापना केन्द्र निर्माण अगाडि बढाइने भएको छ । प्रदेशलाई लैङ्गिकमैत्री तथा हिंसामुक्त बनाउने अभियानअन्तर्गत यो योजना समावेश गरिएको हो ।
राप्ती प्रादेशिक अस्पताल स्तरोन्नति
दाङस्थित राप्ती प्रादेशिक अस्पताल लाई २०० शैय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । अस्पतालमा विशेषज्ञ सेवा विस्तार, जलन उपचार सेवा, टेलिमेडिसिन, डायलाइसिस तथा अन्य विशेष स्वास्थ्य सेवा थप गरिने नीति सरकारले लिएको छ ।
स्वर्गद्वारी धार्मिक पर्यटनसँग दाङको जोड
प्यूठानको स्वर्गद्वारीलाई दाङसँग धार्मिक तथा सांस्कृतिक रूपमा जोड्दै पर्यटन प्रवद्र्धन गरिने भएको छ । दाङ हुँदै स्वर्गद्वारी जाने धार्मिक मार्गलाई व्यवस्थित बनाउने योजना सरकारले अघि सारेको छ ।
कृषि तथा पशुपालन प्रवद्र्धन

दाङसहित हुलाकी मार्ग आसपासका क्षेत्रमा भैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । मासु तथा दुग्धजन्य उत्पादन वृद्धि गर्न पशुपालन व्यवसायलाई प्राथमिकता दिइने नीति लिइएको छ ।
खेलकुद तथा युवा विकास
‘एक स्थानीय तहः एक सुविधायुक्त खेल पूर्वाधार’ कार्यक्रमअन्तर्गत दाङका स्थानीय तहमा खेल पूर्वाधार विस्तार र स्तरोन्नतिका योजना सञ्चालन गरिने भएका छन् । युवालाई सीप, उद्यमशीलता र रोजगारीसँग जोड्ने कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ ।
फोहर व्यवस्थापन र सहरी विकास
प्रदेश राजधानी क्षेत्रको फोहर व्यवस्थापन आधुनिक प्रविधिबाट गरिने भएको छ । स्थानीय तहसँगको सहकार्यमा साझा फोहर व्यवस्थापन स्थल निर्माणको अध्ययन पनि अघि बढाइने नीति सरकारले लिएको छ ।
डिजिटल सेवा र प्रशासनिक सुधार
प्रदेश राजधानी दाङमै केन्द्रित हुने गरी डिजिटल गभर्नेन्स, फाइल ट्र्याकिङ, एकल विन्दु सेवा तथा प्रशासनिक सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाइने भएको छ ।

ब्रह्माकुमारीज राष्ट्रिय दिव्य सम्मेलन दाङमा हुँदै

नवनिर्मित ‘शिवशक्ति भवन’ को समुद्घाटन गरिने

राप्ती पोष्ट

घोराही, १० जेठ । ब्रह्माकुमारीज विश्व विद्यालयको आयोजनामा घोराहीमा पहिलो पटक आध्यात्मिक अनुष्ठान हुँने भएको छ । घोराहीमा आगामी जेठ १५ गतेदेखि २० गतेसम्म ‘ब्रह्माकुमारीज राष्ट्रिय दिव्य सम्मेलन–२०८३’ आयोजना गरिएको हो ।
ब्रह्माकुमारीज राप्तिक्षेत्रकी क्षेत्रीय प्रमुख राजयोगिनी ब्र.कु. गीता न्यौपानेले विगतमा नेपालका अन्य जिल्लामा आयोजना हुँदै आएको सम्मेलन यस बर्ष पहिलो पटक दाङमा आयोजना गर्न थालिएको हो । सोही अवसरमा घोराहीमा नवनिर्मित ‘शिवशक्ति भवन’ को समुद्घाटन गरिनेछ ।
घोराहीमा आयोजना हुने कार्यक्रमका बारेमा जानकारी दिन शनिबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपालको वार्षिक कार्यक्रम अनुसार क्षेत्रीय कार्यालय तुलसीपुरको आयोजना तथा घोराही शाखाको व्यवस्थापन र समन्वयमा बृहत् कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमका बारेमा जानकारी दिंदै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय घोराहीका प्रवक्ता ब्रह्माकुमार माधव तिमिल्सिनाले घोराहमिा मिनी मधुवन स्थापना गर्न थालिएको बताउनुभयो । उहाँले घोराहीमा हुने कार्यक्रममा अन्तर्राष्ट्रिय केन्द्रबाट पनि सहभागि र अतिथीहरु आउने जानकारी गराउनुभयो ।
कार्यक्रमको उद्देश्य र विषयमाथि विस्तृतरुपमा क्षेत्रीय सचिव शिवलाल महताराले प्रकाश पार्नुभएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, आध्यात्मिक जागरण, नैतिक पुनर्जागरण तथा विश्वशान्तिको दिव्य सन्देश प्रवाह गर्ने मूल उद्देश्यका साथ आयोजना हुन लागेको यस राष्ट्रिय सम्मेलनमा देशभरका ४२ जिल्लाका साथै अन्तर्राष्ट्रिय मुख्यालय एवं पूर्वोत्तर भारत बनारस सबजोन क्षेत्रबाट समेत राजयोग साधक, सेवाकेन्द्र प्रतिनिधि, प्रशिक्षक तथा आध्यात्मिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहनेछ ।
सम्मेलनका अवसरमा संस्थाको अन्तर्राष्ट्रिय नारा ‘विश्व नव निर्माणका लागि आध्यात्मिक जागरण’को राष्ट्रिय शुभारम्भ समेत गरिनेछ । आत्म–परिवर्तनद्वारा विश्व परिवर्तनको दिव्य लक्ष्य बोकेको यस अभियानले मानव जीवनमा सकारात्मक सोच, नैतिकता, सहअस्तित्व र विश्व बन्धुत्वको भावना विकास गर्न ठूलो योगदान पु¥याउने विश्वास लिइएको छ ।
सम्मेलनको प्रमुख आकर्षणका रूपमा घोराही–१५ मा नवकिरण आध्यात्मिक भरोसा र राजयोग शिक्षा तथा अनुसन्धान केन्द्रको मातहतमा निर्मित ‘शिवशक्ति भवन’ को समुद्घाटन कार्यक्रम पनि रहनेछ । यो भवन स्थानीय दानवीर देवराज पाण्डेबाट दानस्वरूप प्राप्त साढे सात कठ्ठा जग्गामा निर्माण गरिएको छ । साविक राप्ती र हाल कर्णाली तथा लुम्बिनी प्रदेशका छ जिल्लामा सेवा प्रवाह गरिरहेको यस संस्थाको यो परियोजना अन्तर्गत करिब दुई सय जनाभन्दा बढीको आवासीय सुविधा र पाँच सय जनाभन्दा बढी क्षमताको बहुउद्देश्यीय अडिटोरियम सभाहल लगायतका भौतिक संरचनाहरू तयार भएका छन् ।
यस परियोजनाका लागि संघीय सरकारबाट चार करोड ४७ लाख, प्रदेश सरकारका विभिन्न मन्त्रालयबाट एक करोड ५५ लाख ६५ हजार, स्थानीय सरकारबाट ३१ लाख गरी कुल छ करोड ३३ लाख ६५ हजार रुपैयाँ सरकारी बजेट प्राप्त भएको थियो । यसका साथै संस्थाका सदस्य, दाता र जग्गा बिक्रीबाट समेत गरी हालसम्म कुल नौ करोड पाँच लाख ३८ हजार रुपैयाँ खर्च भइसकेको जानकारी दिइयो ।
लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलद्वारा २०७६ साल मंसिर २१ गते शिलान्यास गरिएको उक्त भवनको निर्माण कार्य सम्पन्न भएसँगै जेठ १५ गते उद्घाटन हुन लागेको हो । छ दिने वृहत् सम्मेलनका क्रममा विभिन्न सामाजिक तथा चेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछन् । जस अन्तर्गत जेठ ११ गते बिहान घोराही नगरमा सरसफाइ अभियान चलाइनेछ, जसले नागरिकमा स्वच्छता र वातावरणीय जिम्मेवारीप्रतिको सचेतना बढाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, जेठ १७ गते बिहान नगर परिक्रमासहितको शान्ति पदयात्रा आयोजना गरिनेछ, जसले समाजमा शान्ति, अहिंसा, सद्भाव र सकारात्मक सोचको सन्देश फैलाउनेछ । सम्मेलनमा विशेष रूपमा राजयोग साधना सेसन, आध्यात्मिक चिन्तन, अनुभव आदान–प्रदान, संस्थागत समन्वय र वार्षिक समीक्षा जस्ता प्राविधिक सत्रहरू सञ्चालन हुनेछन् ।
यस कार्यक्रमको अर्को महत्वपूर्ण पाटो समाजमा नैतिकता, संस्कार र आध्यात्मिक जीवनशैलीमा प्रेरणादायी योगदान पु¥याउँदै आएका दुई सय ५० जना कन्या कुमारीहरूको विशेष सम्मान कार्यक्रम हो । यस सम्मानले समाजमा नारीप्रतिको सम्मान, समानता र सकारात्मक दृष्टिकोणलाई सुदृढ गर्ने तथा छोरीहरू बोझ होइनन्, बरु समाजको गौरव र भविष्यको शक्ति हुन् भन्ने व्यावहारिक सन्देश स्थापित गर्न मद्दत पुग्ने आयोजकको विश्वास छ ।
‘नारी शक्ति नै समाज रूपान्तरणको आधार हो’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै ब्रह्माकुमारीजले यो सम्मानको कार्यक्रम राखेको हो । सम्मेलनका अवसरमा बाहिरबाट आउने अतिथि तथा सहभागीहरूलाई दाङको प्रसिद्ध धारापानी मन्दिर, बाह्रकुने दह लगायतका धार्मिक तथा प्राकृतिक स्थलहरूको भ्रमण गराइनेछ भने स्वर्गद्वारी र लुम्बिनी दर्शनको समेत व्यवस्था मिलाइएको छ । यसबाट नेपालको आध्यात्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको प्रत्यक्ष अनुभव गराउँदै धार्मिक पर्यटन, सांस्कृतिक पहिचान र स्थानीय अर्थतन्त्रको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यसले आकस्मिकता र प्रकृति संरक्षणसँगै पर्यटन विकास सम्भव छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ । विश्वभरका एक सय ४० भन्दा बढी देशहरूमा १० हजारभन्दा बढी सेवाकेन्द्रहरू मार्फत मानव कल्याणमा सक्रिय यस संस्थाले संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरूसँग परामर्शदाता र पर्यवेक्षकका रूपमा काम गर्दै आएको छ ।
नेपालमा वि.सं. २०२३ सालदेखि सेवा सुरु गरेको यस संस्थाका हाल देशभर एक हजार पाँच सय को हाराहारीमा शाखाहरू क्रियाशील छन् भने दाङमा मात्रै एउटा क्षेत्रीय कार्यालय, सात वटा शाखा र सात वटा इकाई केन्द्रहरू सक्रिय रहेका छन् ।
वर्तमान समयमा भौतिकवाद, तीव्र सहरीकरण, मानसिक तनाव, र पारिवारिक बेमेल जस्ता चुनौतीहरू बढिरहेको सन्दर्भमा ब्रह्माकुमारीजले सञ्चालन गर्ने तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, दुव्र्यसन मुक्ति र स्व–व्यवस्थापन नेतृत्व कला जस्ता प्रशिक्षणहरूले समाजलाई सही दिशा दिन महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयसँग मूल्य शिक्षा र आध्यात्मिकताका पाठ्यक्रम समावेश गर्ने विषयमा सम्झौता भइसकेको र भविष्यमा यसको कार्यान्वयनसँगै समाजमा व्याप्त नैतिक पतन र भ्रष्टाचार न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास रहेको जानकारी पनि सोही अवसरमा दिइएको थियो । यस्तै सम्मेलन गत बर्ष भैरहवामा आयोजन ागरिएको थियो । यस्तै सम्मेलन, पोखरा, धनगढी र काठमाडौं लगायतका स्थानमा हुँदै आएकोमा पहिलो पटक साविक राप्ती अन्तरगत घोराहीमा आयोजना गर्न थालिएको हो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले व्रह्माकुमारी विश्व विद्यालयले आयोजना गर्ने यस खालको कार्यक्रमबाट मानिसमा आध्यामिक चिन्तनको विकासमा सहयोग पु¥याउने विश्वास गर्नुभयो । कार्यक्रमका लागि संचारको सहयोग रहने पनि उहाँले बताउनुभयो ।

अपराध नियन्त्रणदेखि सामुदायिक सचेतनामा दाङ प्रहरीको सक्रियता

राप्ती पोष्ट

घोराही, जेठ । जिल्ला प्रहरी कार्यालय दाङले चालु आर्थिक वर्ष २०८२÷०८३ को हालसम्म अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक सुरक्षा तथा महिला–बालबालिका संरक्षणका क्षेत्रमा उल्लेख्य गतिविधि गरेको जनाएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय दाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वैशाख महिनासहित चालु आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै प्रहरीले फरार प्रतिवादी पक्राउदेखि लागूऔषध नियन्त्रण, अवैध उत्खनन् रोकथाम, घरेलु हिंसा व्यवस्थापन र समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रेशम बोहराका अनुसार वैशाख महिनामा मात्रै विभिन्न अदालतबाट फैसला भई फरार रहेका ६३ जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये पाँच जना १० वर्षपछि, पाँच जना पाँच वर्षपछि र ५३ जना पाँच वर्षभन्दा कम अवधिका फरार प्रतिवादी रहेका छन् । उनीहरूबाट १७ वर्ष ९ महिना १७ दिन कैद तथा तीन लाख ९२ हजार २३४ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
यस अवधिमा जिल्लाभर १०३ वटा मुद्दा दर्ता भएका छन् भने २४ वटा मुद्दा फछ्र्योट भएका छन् । हाल ७९ वटा मुद्दा अनुसन्धान तथा कारवाहीको प्रक्रियामा रहेका छन् । सबैभन्दा बढी १९ वटा झुण्डिएर आत्महत्या सम्बन्धी, १४ वटा लागूऔषध, १३ वटा भवितव्य ज्यान तथा १० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । जवरजस्ती करणी, सवारी ज्यान, चोरी, अभद्र व्यवहारलगायतका मुद्दाहरू पनि उल्लेख्य संख्यामा दर्ता भएका छन् ।
लागूऔषध नियन्त्रणतर्फ दाङ प्रहरीले चालु आर्थिक वर्षमा तीव्र कारवाही अघि बढाएको जनाएको छ । हालसम्म ९१ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन् भने १७७ जना अभियुक्त पक्राउ परेका छन् । प्रहरीले ३५० ग्राम ९६८ मिलिग्राम ब्राउन सुगर, ११ केजी २८८ ग्राम चरेश, दुई केजीभन्दा बढी गाँजा तथा दुई हजार ८७८ वटा नाइट्राजेपाम ट्याब्लेट बरामद गरेको जनाएको छ । वैशाख महिनामा मात्रै १०५ ग्रामभन्दा बढी ब्राउन सुगर र ८९५ ग्राम चरेशसहित ३० जना पक्राउ परेका छन् । प्रहरीले लागूऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि विद्यालय, समुदाय तथा स्थानीय तहसँग सहकार्य गरी सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको जनाएको छ ।
सार्वजनिक गरिएको तथ्यांकअनुसार जिल्लामा आत्महत्याका घटनाले पनि चिन्ता बढाएको देखिन्छ । वैशाख महिनामा मात्रै २१ वटा आत्महत्या सम्बन्धी घटना दर्ता भएका छन् । झुण्डिएर आत्महत्या गर्नेको संख्या १९ रहेको छ भने विष सेवन गरी आत्महत्या गर्ने घटना दुई वटा छन् । आत्महत्या गर्नेहरूमध्ये १८ वर्षमुनिका चार जना, १९ देखि २५ वर्ष उमेर समूहका पाँच जना तथा २६ देखि ३५ वर्ष उमेर समूहका तीन जना रहेका छन् । लिङ्गका आधारमा हेर्दा १७ पुरुष र दुई जना महिला रहेका छन् । मानसिक स्वास्थ्य, पारिवारिक तनाव तथा सामाजिक समस्याका कारण यस्ता घटनामा वृद्धि भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खनन् तथा वन पैदावार ओसारपसार नियन्त्रणमा पनि कडाइ गरेको जनाएको छ । चालु आर्थिक वर्षमा मात्रै अवैध उत्खनन् तथा भन्सार छली सम्बन्धी कारवाहीबाट एक करोड ६२ लाख ७२ हजार चार सय ३८ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिइएको छ । ६ वटा जेसीभी, १६ टिप्पर र १४० वटा ट्याक्टर नियन्त्रणमा लिएर ४३ लाख ११ हजार २५५ रुपैयाँ राजश्व संकलन गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी ५८६ दशमलव ८१ क्युफिट अवैध काठ बरामद गरिएको छ, जसको मूल्य एक करोड २७ लाख ३२ हजार १६७ रुपैयाँ बराबर रहेको जनाइएको छ । वैशाख महिनामा मात्रै १९० दशमलव ३२ क्युफिट अवैध काठ बरामद गरी ३५ लाख ८७ हजार ५५० रुपैयाँ बराबरको राजश्व संकलन गरिएको प्रहरीले जनाएको छ ।
ट्राफिक व्यवस्थापनतर्फ पनि दाङ प्रहरीले सक्रियता बढाएको देखिएको छ । चालु आर्थिक वर्षको हालसम्म ११ हजार ६५३ वटा सवारी साधनमाथि कारवाही गरिएको छ । यसबाट एक करोड २१ लाख १४ हजार रुपैयाँभन्दा बढी राजश्व संकलन भएको प्रहरीले जनाएको छ । वैशाख महिनामा मात्रै एक हजार ५७५ वटा सवारी साधन कारवाहीमा परेका छन्, जसबाट १५ लाख ५३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ । ट्राफिक दुर्घटनामा हालसम्म ३०२ वटा दुर्घटना हुँदा ६३ जनाको मृत्यु भएको छ भने ५३१ जना घाइते भएका छन् । वैशाख महिनामा मात्रै ३४ वटा दुर्घटना हुँदा १० जनाको मृत्यु र ८४ जना घाइते भएको तथ्यांक सार्वजनिक गरिएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सचेतनामूलक कार्यक्रम, ट्राफिक चेकिङ र विद्यालयस्तरीय अभियान सञ्चालन गरिरहेको जनाएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभर १७९ वटा कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट नौ हजार ३१ जना लाभान्वित भएका छन् । लागूऔषध विरुद्ध सचेतना, सवारी दुर्घटना न्यूनीकरण, विद्यालय सम्पर्क कार्यक्रम, महिला तथा बालबालिका विरुद्ध हुने अपराध नियन्त्रण तथा समुदाय सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यसका अतिरिक्त “प्रहरी खबर” नामक साप्ताहिक रेडियो कार्यक्रम रेडियो स्वर्गद्वारी एफएम र रेडियो बंगलाचुलीमार्फत प्रसारण भइरहेको जानकारी पनि दिइएको छ । प्रहरीमा प्रविधिको प्रयोग बढाउँदै मोबाइल एपमार्फत उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ ।
महिला तथा बालबालिका सम्बन्धी उजुरीको संख्या पनि उल्लेख्य देखिएको छ । हालसम्म १३६ वटा महिला तथा बालबालिका सम्बन्धी उजुरी दर्ता भएका छन्, जसमध्ये १३२ वटा मिलापत्रमार्फत समाधान गरिएको छ भने चार वटा बाँकी रहेका छन् । घरेलु हिंसा सम्बन्धी चालु आर्थिक वर्षमा १५० निवेदन परेका छन्, जसमध्ये ११६ वटा मिलापत्र भएका छन् भने २७ वटा सम्बन्ध विच्छेदका लागि अदालत गएका छन् । घोराही उपमहानगरपालिकाबाट सबैभन्दा बढी ३१ वटा घरेलु हिंसाका उजुरी परेका छन् भने तुलसीपुर उपमहानगरपालिकाबाट २९ वटा उजुरी दर्ता भएका छन् ।
हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक खोजतलासमा पनि प्रहरीले सक्रियता देखाएको जनाएको छ । चालु आर्थिक वर्षमा ६१५ जना हराएको निवेदन प्राप्त भएकामा ६०८ जना फेला पारिएको प्रहरीले जनाएको छ । हाल सात जना अझै फेला पर्न बाँकी रहेका छन् । हराएकामध्ये महिला, बालिका र बालकको संख्या बढी रहेको तथ्यांकले देखाएको छ ।
जिल्लामा राजनीतिक गतिविधिहरू खासै नभएको प्रहरीले जनाएको छ । वैशाख महिनामा तीन वटा शान्ति ¥याली, छ वटा विरोध कार्यक्रम, सात वटा ज्ञापनपत्र बुझाउने कार्यक्रम तथा एक वटा कोणसभा सम्पन्न भएको प्रहरीले जनाएको छ । यस्ता गतिविधिलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले आफ्ना कर्मचारीहरूको मनोबल अभिवृद्धिका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । “नेचर वाक”, योग कार्यक्रम, सामूहिक भोजन, जन्मदिन मनाउने, गुनासो व्यवस्थापन तथा सरुवा भएर जाने र आउने प्रहरी कर्मचारीलाई सम्मान तथा अभिमुखीकरण गर्ने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको छ । प्रहरी संगठनभित्र आपसी सद्भाव, मानसिक स्वास्थ्य र सहकार्यको भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको प्रहरीको दाबी छ । पत्रकार भेटघाट कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, अदालत, सरकारी वकिल कार्यालय, स्थानीय तह, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँगको सहकार्यलाई थप मजबुत बनाउँदै जिल्लामा सुरक्षा व्यवस्थापन प्रभावकारी बनाइने प्रहरी नायव उपरिक्षक बोहराले बताउनुभयो । उहाँले नागरिकको सहयोगले मात्रै प्रहरी सफल हुने भन्दै सहयोगका लागि अपिल गर्नुभयो ।

नेत्रलाल पौडेल ‘अभागी’ सच्चा जननेता

सम्पादकीय

दाङको राजनीतिक, शैक्षिक र सांस्कृतिक इतिहासलाई एकै ठाउँमा राखेर हेर्दा त्यसभित्र एउटा यस्तो नाम उज्यालो भएर टल्किन्छ, जसले विचार, संघर्ष र सिर्जनालाई एउटै धारमा उभ्याएर समाज रूपान्तरणको अभियान चलायो, त्यो हो, नेत्रलाल पौडेल ‘अभागी’ । दाङको धर्ना सिसैपुरमा वि.सं. २००१ साल पुस २७ गते जन्मिनुभएका नेत्रलाल पौडेल ‘अभागी’ केवल एक व्यक्ति मात्र होइन, एउटा युगको चेतना, एउटा विचारधाराको प्रतिविम्ब र जनपक्षीय संघर्षको जिउँदो दस्तावेज हुनुहुन्छ । ग्रामीण गरिबी, सामन्ती संरचना र शिक्षाको सीमित पहुँचबीच हुर्किएको उहाँको बाल्यकालले नै उहाँलाई समाजको कठोर यथार्थसँग साक्षात्कार गरायो । जहाँ साक्षरता न्यून थियो, विभेद र अन्याय सामान्य थियो, त्यहीँबाट उठेर उहाँले चेतनाको दीप प्रज्वलन गर्नुभयो । शिक्षक, साहित्यकार र राजनीतिज्ञ—यी तीनै भूमिकामा उहाँले एउटै उद्देश्य बोकेर हिँड्नुभयो, त्यो हो, शोषित, उत्पीडित र श्रमजीवी जनताको मुक्ति । उहाँको जीवन प्रारम्भदेखि नै साधारण थिएन, बरु असाधारण संघर्षको कथा थियो, जसले उहाँलाई दाङ मात्र होइन, सिंगो नेपाली प्रगतिशील आन्दोलनको प्रतीक बनायो ।

नेत्रलाल पौडेल ‘अभागी’को जीवनलाई बुझ्न उहाँको शैक्षिक, सामाजिक र राजनीतिक यात्रालाई एउटै सूत्रमा बाँधेर हेर्न आवश्यक हुन्छ । प्रारम्भिक शिक्षा स्थानीय विद्यालयबाट सुरु गर्दै उहाँले अध्ययनशीलता र अनुशासनलाई आफ्नो जीवनको आधार बनाउनुभयो । ग्रामीण परिवेशबाट काठमाडौं पुगेर वि.सं. २०२२ मा बीए अनर्स पूरा गर्नु त्यतिबेलाको समाजमा असाधारण उपलब्धि थियो, जहाँ गाउँबाट आएका युवाहरूका लागि राजधानीको शैक्षिक यात्रा नै चुनौतीपूर्ण मानिन्थ्यो । तर उहाँको यात्रा केवल डिग्रीसम्म सीमित रहेन; त्यो समाज फर्केर परिवर्तन गर्ने संकल्पमा परिणत भयो । अर्घाखाँची, गुल्मी र दाङका विद्यालयहरूमा अध्यापन गर्दै उहाँले शिक्षालाई केवल पाठ्यपुस्तकको ज्ञान होइन, सामाजिक चेतनाको माध्यम बनाउनु भयो । २०२४ सालतिर नारायणपुरस्थित सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको स्थापना र प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु उहाँको शैक्षिक नेतृत्वको उदाहरण हो, जहाँबाट उहाँले विद्यार्थीहरूलाई केवल अक्षर होइन, विचार पढाउनुभयो । यही क्रममा उहाँको राजनीतिक चेतना पनि गहिरिँदै गयो । २०११ सालतिरै कम्युनिस्ट आन्दोलनसँग जोडिनुभएका उहाँले अर्घाखाँची–गुल्मी क्षेत्रको संगठन विस्तारमा भूमिका खेल्नुभयो । पछि २०३० सालपछि पूर्णकालीन राजनीतिमा प्रवेश गर्दै भूमिगत जीवन अपनाउनु उहाँको संघर्षको निर्णायक मोड थियो । नेकपा मालेको गठनपछि दाङ जिल्ला सचिव, केन्द्रीय सदस्य हुँदै सुदूरपश्चिम ब्युरो सदस्यसम्म पुग्नु उहाँको राजनीतिक योगदानको व्यापकता हो । उहाँ जहाँ पुग्नुहुन्थ्यो, त्यहाँ विचारको उज्यालो फैलिन्थ्यो, किसान र श्रमिकहरूमा आत्मविश्वास जाग्थ्यो, र युवाहरूमा परिवर्तनको हुटहुटी बढ्थ्यो । यही कारण उहाँलाई दाङका कम्युनिस्टहरूले सम्मानपूर्वक ‘माडसाव’ भनेर सम्बोधन गर्थे, एक शिक्षक जसले कक्षाकोठाभन्दा बाहिर जनताको जीवनमा पाठ पढाउनुभयो ।

उहाँको व्यक्तित्व केवल राजनीति वा शिक्षामा सीमित थिएन, बरु साहित्यिक क्षेत्रमा पनि उत्तिकै प्रभावशाली थियो । उहाँका कविता र काव्यहरू केवल साहित्यिक सिर्जना मात्र होइन, सामाजिक विद्रोहका घोषणापत्र थिए । “सतिसाल मात्र ठिङ्ग उभिन सक्छ” जस्ता रचनाले उहाँलाई प्रगतिवादी साहित्यको सशक्त हस्ताक्षरका रूपमा स्थापित ग¥यो । त्यहाँ प्रकृति, जीवनदर्शन, धर्म, संस्कृति र परम्पराभन्दा बढी सामाजिक अन्याय र वर्गीय विभेदविरुद्धको प्रतिरोध मुखरित हुन्छ । उहाँका कविताहरू सरल भाषामा लेखिएका भए पनि तिनको भाव गहिरो छ, जसले सामान्य पाठकको मनमा पनि चेतनाको तरंग पैदा गर्छ । “वर्गप्रेम” जस्तो काव्यसङ्ग्रहले उहाँको वैचारिक प्रतिबद्धतालाई अझ स्पष्ट बनाउँछ, जहाँ प्रेमलाई व्यक्तिगत भावनाभन्दा माथि उठाएर वर्गीय संघर्षसँग जोडिएको छ । उहाँले साहित्यलाई सहरका सीमित वृत्तमा होइन, गाउँका चोक, खेत र बस्तीमा पु¥याउनुभयो । यही कारण उहाँको साहित्य आज पनि प्रगतिशील आन्दोलनमा बारम्बार उद्धृत गरिन्छ । तर उहाँको जीवनको अन्त्य भने अझैसम्म रहस्यको घेराभित्र छ । वि.सं. २०४१ साल जेठ ६ गते पार्टी कामका लागि काठमाडौं जाँदै गर्दा उहाँ बेपत्ता हुनुभयो र पछि लमही नगरपालिका–१ नर्तीको जंगलमा उहाँका अस्थिपञ्जर फेला परेको भनिन्छ । यो घटनाले आजसम्म पनि प्रश्नहरू उब्जाइरहेको छ । तर उहाँको भौतिक अनुपस्थितिभन्दा ठूलो कुरा उहाँले छोडेको विचार हो, जसले आज पनि नेपाली समाजमा अन्यायविरुद्ध आवाज उठाइरहेको छ । राज्यले पछि उहाँलाई सहिद घोषणा गर्नु, हुलाक टिकट प्रकाशित गर्नु र स्मृति प्रतिष्ठान स्थापना गर्नु सम्मानका प्रतीक भए पनि उहाँको योगदानको पूर्ण मूल्यांकन अझै बाँकी छ । उहाँले देखाएको बाटो केवल अतीतको कथा होइन, वर्तमान र भविष्यको मार्गदर्शन हो, जसले भन्छ—परिवर्तन नाराले होइन, विचार, कर्म र जनसंगठनको निरन्तर अभ्यासबाट सम्भव हुन्छ । उहाँको जीवनले दाङको एउटा सानो गाउँबाट उठेर राष्ट्रिय चेतनाको केन्द्रसम्म पुग्ने सम्भावनाको प्रमाण प्रस्तुत गर्छ, जसलाई हामीले अझ गहिरो रूपमा अध्ययन, सम्मान र अनुसरण गर्न आवश्यक छ ।

 

शासकहरू लोकतन्त्रको सीमा बाहिर गए सडकबाटै खवरदारी गरिन्छ– महासचिव पोखरेल

वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै शासकहरू लोकतन्त्रको सीमाभन्दा बाहिर गए जनताले पुनः सडकबाट खबरदारी गर्ने दिन नजिकिएको चेतावनी दिनुभयो ।

पश्चिम नेपालमा कम्युनिष्ट आन्दोलन विस्तार गर्न नेत्रलाल पौडेल ‘अभागी’को ऐतिहासिक भूमिका खेलेको बताउनुभयो । उहाँले थारु समुदायमा राजनीतिक चेतना फैलाउन तथा शिक्षा र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले पुराना राजनीतिक दलहरूप्रति जनतामा अविश्वास बढ्नुका कारण आत्मसमीक्षा आवश्यक रहेको स्वीकार गर्दै दलहरूको कार्यशैली सत्तामुखी बन्दै गएको टिप्पणी गर्नुभयो ।

मदन–आश्रित विनाका ३३ वर्ष

शरद अधिकारी

नेपालको राजनीतिक इतिहासमा २०५० साल जेठ ३ गतेको दिन केवल एउटा दुर्घटनाको दिन थिएन, त्यो दिन नेपाली वाम आन्दोलनको एउटा युग अचानक मौन भएको दिन थियो । मदन भण्डारी र जीवराज आश्रित को चितवनको दासढुंगामा भएको जीप दुर्घटनाले नेपालमा एउटा गहिरो राजनीतिक शून्यता सिर्जना ग¥यो, जसको प्रभाव आजसम्म पनि महसुस गरिन्छ । त्यो दिनलाई धेरैले केवल दुर्घटना भन्छन्, धेरैले रहस्यमय घटना मान्छन्, तर जे भए पनि यो नेपालको राजनीतिक इतिहासमा एउटा कालो दिनका रूपमा स्थापित भइसकेको छ । राणाकालीन दमन, पञ्चायती अधिनायकवाद, र त्यसपछि सुरु भएको प्रजातान्त्रिक संक्रमणको बीचमा मदन भण्डारी त्यस्तो वैचारिक नेतृत्वका रूपमा उदाए, जसले नेपाली वाम आन्दोलनलाई सशस्त्र संघर्षको सीमित घेराबाट निकालेर लोकतान्त्रिक प्रतिस्पर्धाको बाटोमा अघि बढाउने साहस गरे । उहाँले प्रतिपादन गर्नुभएको “जनताको बहुदलीय जनवाद” नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक मोड मात्रै होइन, एउटा ऐतिहासिक रूपान्तरण पनि हो ।
त्यसै वैचारिक यात्राका सहयात्री जीवराज आश्रित संगठन र विचारलाई जोड्ने सेतु थिए । जहाँ मदन भण्डारी विचारका शक्तिशाली वक्ता थिए, त्यहीँ आश्रित संगठन र व्यवहारका कुशल योजनाकार थिए । उनीहरूको सहकार्यले तत्कालीन नेकपा एमालेलाई संगठित, प्रभावशाली र जनस्तरसम्म पहुँच भएको राजनीतिक शक्तिका रूपमा स्थापित ग¥यो । नेपालमा पञ्चायती व्यवस्थाको अन्त्यपछि खुलेको राजनीतिक वातावरणमा वामपन्थी आन्दोलन कुन दिशामा जाने भन्ने ठूलो बहस थियो । धेरै वामपन्थी धाराहरू सशस्त्र संघर्ष र क्रान्तिकारी उथलपुथललाई मात्र समाजवादको बाटो ठान्थे । तर मदन भण्डारीले त्यसको विपरीत लोकतान्त्रिक प्रणालीभित्रै प्रतिस्पर्धाबाट समाजवाद सम्भव छ भन्ने नयाँ राजनीतिक सिद्धान्त अघि सारे । यो विचार केवल सैद्धान्तिक बहस थिएन, यो नेपाली समाजको यथार्थलाई बुझेर गरिएको व्यावहारिक राजनीतिक प्रस्ताव थियो । उनको विचारले तत्कालीन नेकपा (माले) लाई नयाँ ऊर्जा दियो । त्यस पार्टीले जनताको बीचमा आफ्नो उपस्थिति विस्तार गर्न सफल भयो । मदन भण्डारी जनताको मन जित्ने नेता थिए । उहाँको भाषण शैली सरल, स्पष्ट र जनमुखी थियो । गाउँका किसानदेखि सहरका बुद्धिजीवीसम्म सबैलाई एकै प्रकारले आकर्षित गर्ने क्षमता उहाँमा थियो । त्यसैले उहाँलाई “जननेता” भनेर सम्बोधन गरियो, जुन उपाधि केवल भावनात्मक होइन, जनसमर्थनको प्रमाण पनि थियो । जीवराज आश्रित भने संगठन निर्माणका शिल्पी थिए । उनले पार्टीलाई केवल राजनीतिक संरचना होइन, जनतासँग जोडिएको जीवित संगठन बनाउने प्रयास गरे । उहाँको योगदानले नेकपा एमालेलाई देशको एक शक्तिशाली राजनीतिक दलका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । यी दुई नेताको विशेषता केवल राजनीतिक पदमा सीमित थिएन । उनीहरू देशको भविष्यप्रति चिन्तित, जनताको जीवनप्रति संवेदनशील र परिवर्तनप्रति प्रतिबद्ध थिए । उनीहरूको दृष्टिमा राजनीति सत्ता प्राप्तिको माध्यम होइन, समाज रूपान्तरणको साधन थियो ।
दासढुंगाको घटनापछि नेपालको वाम आन्दोलन मात्र होइन, समग्र राजनीतिक संरचना नै प्रभावित भयो । त्यो घटना केवल दुई नेताको मृत्यु थिएन, त्यो एउटा वैचारिक यात्राको आकस्मिक अवरोध थियो । त्यसपछि नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए—जनआन्दोलन, संविधान परिवर्तन, राजतन्त्रको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना—तर मदन भण्डारीले देखाएको राजनीतिक दिशा अझै पनि बहसको विषय बनिरहेको छ ।
मदन भण्डारीले २०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गर्दै त्यसको सीमा र सम्भावनाबारे गहिरो विश्लेषण गरेका थिए । पछि २०६१ माघ १९ को राजनीतिक घटनाक्रमले देखायो कि संविधानको संरचनात्मक कमजोरीलाई उनले पहिले नै औंल्याइसकेका थिए । त्यसैले धेरैले उनलाई “भविष्य देख्न सक्ने नेता” भनेर पनि मूल्यांकन गर्छन् । नेपालको राजनीतिक यात्रामा मदन भण्डारीको अनुपस्थिति अझै पनि खड्किएको छ । केवल उनको विचार बोक्ने दलका लागि मात्र होइन, समग्र राजनीतिक प्रणालीका लागि पनि उनको वैचारिक उपस्थिति आवश्यक जस्तो देखिन्छ । आजको राजनीतिक अस्थिरता, सरकार परिवर्तनको अस्थिर प्रवृत्ति र दलगत स्वार्थले जनताको अपेक्षामा निराशा बढाएको बेला उनको राजनीतिक दृष्टिकोण अझ सान्दर्भिक देखिन्छ ।
आज नेकपा एमाले मा पनि जनताको बहुदलीय जनवादको पूर्ण कार्यान्वयन र व्याख्याबारे विविध बहसहरू चलिरहेका छन् । एकथरीले यसलाई अपरिवर्तनीय सिद्धान्तका रूपमा बुझ्छन् भने अर्कोथरीले समयअनुसार परिमार्जन गर्नुपर्ने धारणा राख्छन् । तर मूल कुरा के हो भने, मदन भण्डारीको विचारलाई व्यवहारमा उतार्न नसकिएसम्म त्यो केवल सिद्धान्तमै सीमित रहन्छ । नेपालको वाम आन्दोलन पछिल्ला वर्षहरूमा एकता र विभाजनका धेरै चरणबाट गुज्रिएको छ । एकीकृत नेकपा बनेर ठूलो शक्ति बने पनि पुनः विभाजन भएको अवस्था छ । यसले देखाउँछ कि राजनीतिक एकता केवल संरचनात्मक होइन, वैचारिक रूपमा पनि मजबुत हुनुपर्छ । मदन भण्डारीले देखाएको वैचारिक स्पष्टता अहिले पनि नेपाली राजनीतिका लागि मार्गदर्शक बन्न सक्छ । उनको विचारको मूल आधार संविधानको सर्वोच्चता, बहुदलीय प्रतिस्पर्धा, मानव अधिकारको रक्षा, आवधिक निर्वाचन, शक्ति पृथकीकरण, कानुनी राज्य र जनउत्तरदायी शासन प्रणाली हो । यी सबै तत्वहरू आजको लोकतान्त्रिक अभ्यासका आधार हुन्, जसलाई उनले धेरै पहिले स्पष्ट रूपमा परिभाषित गरेका थिए ।
जीवराज आश्रितको योगदान भने अझ गहिरो रूपमा संगठनात्मक संस्कृतिसँग जोडिएको छ । पार्टीलाई जनताको बीचमा लैजाने, कार्यकर्तालाई अनुशासित बनाउने र आन्दोलनलाई स्थायित्व दिने काममा उनको भूमिका महत्वपूर्ण थियो । आज ३३ औँ स्मृति दिवस मनाइरहँदा केवल श्रद्धाञ्जलीले पुग्दैन । उनीहरूको योगदानको मूल्यांकन भनेको उनीहरूको विचारलाई वर्तमान राजनीतिक अभ्यासमा लागू गर्ने प्रयास हो । यदि मदन भण्डारीको सपना अनुसार देश अघि बढ्ने हो भने, राजनीतिक दलहरू जनताको सेवा र समृद्धिको दिशामा केन्द्रित हुनुपर्छ । सत्ता केवल साधन हो, लक्ष्य होइन भन्ने उनको मूल दर्शन आज झन् महत्वपूर्ण छ । नेपालको वर्तमान राजनीतिक चुनौती भनेकै जनताको विश्वास पुनःस्थापित गर्नु हो । भ्रष्टाचार, अस्थिरता, नीतिगत अस्पष्टता र दलगत स्वार्थका बीचमा जनतामा निराशा बढिरहेको छ । यस्तो अवस्थामा मदन भण्डारीको “जनता नै सर्वोच्च शक्ति हुन्” भन्ने विचार अझै पनि मार्गदर्शक बन्न सक्छ ।
मदन भण्डारी र जीवराज आश्रित केवल इतिहासका पात्र होइनन्, उनीहरू नेपाली राजनीतिक चेतनाका जीवित विचार हुन् । उनीहरूको अधुरो यात्रा आज पनि नेपाली राजनीतिमा पूर्णताको खोजीमा छ । उनीहरूको सम्झना केवल औपचारिक कार्यक्रम होइन, यो आत्ममूल्यांकनको अवसर हो । यदि हामीले उनीहरूको नाम मात्र लियौँ तर विचार बिर्सियौँ भने त्यो स्मृति अधुरो रहन्छ । तर यदि उनीहरूको विचारलाई व्यवहारमा उतार्न सक्यौँ भने मात्र उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसले यही प्रश्न हामी सबैलाई सोधिरहेको छ, हामी स्मृतिमा बाँचिरहेका छौं कि विचारमा अगाडि बढिरहेका छौं ?

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका पदाधिकारीलाई सपथ

न्यूनतम शुल्कमै जेठ महिना देखि थप दुई हजार लिटर पानी दिइने

राप्ती पोष्ट

घोराही, । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नयाँ पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएसंगै राहतको निर्णय गरेको छ । बर्षौ देखि मासिक न्यूनतम शुल्क एक सय ६० रुपैयामा आठ हजार लिटर पानी उपलव्ध गराउँदै आएको संस्थाले अव न्यूनतम शुल्कमा १० हजार लिटर पानी उपलव्ध गराउने भएको छ ।
विहीबार निर्वाचन समितिले आयोजना गरेको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमपछि नव निर्वाचित अध्यक्ष धु्रव केसीले न्यूनतम शुल्कमा दुइ हजार लिटर पानी बढाइने घोषणा गर्नुभएको हो । घोराहीमा निकै लामो समय देखि मासिक रुपमा एक सय ६० रुपैयामा आठ हजार लिटर मात्रै पानी उपलव्ध गराइदै आएको थियो । विगतको तुलनामा पानीको मात्रा बृद्धि भएको र उपभोक्तालाई राहत दिनका लागि यस्तो निर्णय गरिएको केसीले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष केसीले खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नाम अनुसार आगामी दिनमा सरसफाईको कामलाई पनि अघि बढाउने योजना सुनाउनुभयो । उहाँले तत्कालका लागि प्लाष्टिकको प्रयोग कम गर्नका लागि हरेक उपभोक्तालाई बातावरणमैत्री झोला वितरण गर्ने बताउनुभयो ।
यस्तै घोराही उपमहानगरपालिकासंग समन्वय गरेर ढल व्यवस्थापनका बारेमा पनि योजना बनाउने केसीले बताउनुभयो । उहाँले पानीको स्रोत बढाउनका लागि उत्तरी भेगमा हाइड्यामको योजना अघि सार्ने बताउनुभयो । तत्कालका लागि कटुवा खोलामा हाइड्याम बनाएर पानी को स्रोत बृद्धि गर्ने बताउनुभयो ।
कार्यक्रममा निवर्तमान कार्यसमितिका तर्फबाट उपाध्यक्ष हेमन्ती कुमारी पुन मगरले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत भट्टराइले निर्वाचन सफलताका साथ सम्पन्न गर्नका सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो । उहाँले नयाँ कार्यसमितिसमक्ष अनेकन चुनौति रहेको बताउनुभयो । उहाँले प्रविधिको प्रयोग गर्नुपर्ने, पानीको स्वच्छता बृद्धि गर्नुपर्ने विषयलाई नयाँ कार्यसमितिले योजना बनाएर जानुपर्ने बताउनुभयो ।
कार्यक्रमको संचालन अधिवक्ता भुपवहादुर केसीले गर्नुभएको थियो । उक्त अवसरमा निवर्तमान कोषाध्यक्ष धु्रव केसीले नव निर्वाचित कोषाध्यक्ष टिकाराम वलीलाई चावि हस्तान्तरण गर्नुभएको थियो । गत बैशाख २६ गतेका दिन भएको निर्वाचनबाट घोराही खानेपानीको अध्यक्षमा धु्रव केसी, बरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेय, महिला उपाध्यक्षमा खुमाकुमारी खड्का, सचिव धर्मेन्द्र श्रेष्ठ, कोषाध्यक्ष टिकाराम वली, महिला सदस्यहरु विन्दु पाण्डेय, रेखा न्यौपाने र उषा सुवेदी थापा, खुल्ला सदस्यमा चूर्णबहादुर वली, निरजकुमार कार्की र नवीनकुमार पोख्रेल निर्वाचित हुनुभएको थियो ।
यसैबीच विहीबार बसेको पहिलो बैठकले जेठ महिना देखि लागु हुने गरी मासिक १० हजार लिटर पानी न्यूनतम शुल्कमा दिने निर्णय गरेको छ । अध्यक्ष धु्रव केसीको अध्यक्षतामा बसेको बैठकले मासिक १० हजार लिटर पानी न्यूनतम एक सय ६० रुपैयामा दिने निर्णय पारित गरेको थियो । यस्तै बातावरणमैत्री झोला वितरण गर्ने निर्णय पनि गरिएको सचिव धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

दीपशिखा मावि/कलेजमा नयाँ विषय थप

होटल व्यवस्थापन विषय सञ्चालनमा, उत्कृष्ट नतिजासँगै सम्मान कार्यक्रम

राप्ती पोष्ट

घोराही, ३० वैशाख

दाङको घोराहीस्थित दीपशिखा मावि/कलेज ले यस शैक्षिक सत्रदेखि कक्षा ११ मा होटल व्यवस्थापन विषय थप गरेको छ। २०४९ सालमा स्थापना भएको विद्यालयले समयानुकूल र रोजगारमुखी शिक्षा विस्तार गर्ने उद्देश्यले नयाँ विषय सञ्चालनमा ल्याएको जनाएको छ।
विद्यालयले बुधबार एसईईमा सफल भएका विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्न आयोजना गरेको कार्यक्रममा नयाँ विषय थप गरिएको जानकारी सार्वजनिक गरेको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
विद्यालयका अध्यक्ष माधवप्रसाद शर्मा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रतिनिधि प्रतिकराज बस्नेत ले विद्यार्थी र अभिभावकको मागलाई मध्यनजर गर्दै होटल व्यवस्थापन विषय सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।
उहाँले पछिल्लो समय प्राविधिक तथा रोजगारमुखी शिक्षाप्रति आकर्षण बढिरहेको उल्लेख गर्दै नयाँ विषयले विद्यार्थीलाई भविष्यमा रोजगारी तथा उद्यमशीलतासँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। यसअघि विद्यालयमा अन्य विषयमा अध्ययन अध्यापन हुँदै आएको भए पनि बजारको आवश्यकता र विद्यार्थीको रुचिअनुसार नयाँ कार्यक्रम थप गरिएको उहाँको भनाइ थियो।
दाङको शैक्षिक क्षेत्रमा स्थापित नाम बनाएको दीपशिखा मावि/कलेजले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर, अनुशासन र उत्कृष्ट नतिजाका कारण विशेष पहिचान बनाउँदै आएको छ। विद्यालयले राष्ट्रियस्तरका विभिन्न पुरस्कारसमेत हासिल गरिसकेको छ भने जिल्लामा गुणस्तरीय शिक्षाका लागि अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित छ।
विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप, नैतिक शिक्षा र व्यावहारिक सीप विकासमा पनि जोड दिँदै आएको छ।
कार्यक्रममा यस वर्षको एसईई परीक्षामा चार जिपिए ल्याउन सफल विद्यार्थी तेजश्वी डाँगी लाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। साथै उक्त उपलब्धिमा योगदान पुर्‍याउने शिक्षकहरूलाई पनि जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा बोल्दै शिक्षा समन्वय इकाई दाङका प्रमुख देवमणि चौधरी ले एसईई उत्तीर्ण गरेपछि विद्यार्थीहरूको जिम्मेवारी अझ बढ्ने बताउनुभयो। उहाँले अब विद्यार्थीहरूले स्पष्ट लक्ष्यसहित अझ मेहनत गरेर अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
विद्यालयका संस्थापक तथा आर्थिक विभाग प्रमुख राम थापा ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विद्यार्थीहरू दिपीका भण्डारी, उत्सव केसी, अभिभावक सुष्मा शर्मा श्रेष्ठ, विज्ञान संयोजक शिक्षक सुमन केसी तथा सामाजिक शिक्षक धनबहादुर विसी लगायतले विद्यालयको शैक्षिक वातावरण र उपलब्धिबारे धारणा राख्नुभएको थियो।
विद्यालयका अनुसार गत वर्ष एसईई परीक्षामा सहभागी ९५ जना विद्यार्थी सबै उत्तीर्ण भएका थिए। लगातार उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयले यस क्षेत्रको शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको सरोकारवालाहरूले बताएका छन्।
कार्यक्रममा अध्यक्ष माधवप्रसाद शर्माले विद्यालयमा सञ्चालन भइरहेका विषयका लागि दक्ष र अनुभवी शिक्षकहरूको व्यवस्था गरिएको जानकारी दिँदै नयाँ विषयमा पनि गुणस्तरीय शिक्षा प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल मनोज बुढाथोकी ले गर्नुभएको थियो।

संविधान संशोधनको भित्री मनसाय खतरनाक– जनमोर्चा अध्यक्ष केसी

राप्ती पोष्ट

घोराही, ३० वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ले वर्तमान सरकारले संविधान संशोधनको नाममा गणतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । उहाँले संविधान संशोधनको बहसलाई लोकतान्त्रिक उपलब्धिमाथिको प्रहारका रूपमा व्याख्या गर्दै अहिलेको राजनीतिक परिस्थितिलाई अत्यन्तै संवेदनशील र संकटपूर्ण अवस्था भएको बताउनुभयो । राष्ट्रिय जनमोर्चा दाङद्वारा आयोजित “वर्तमान राजनीतिक अवस्था र संविधान संशोधन” विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै केसीले नेपालको राजनीतिक इतिहास, संविधान निर्माण प्रक्रिया, विदेशी शक्तिको प्रभाव तथा वर्तमान शासन प्रणालीमाथि गम्भीर टिप्पणी गर्नुभयो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य ले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै केसीले नेपालमा संविधानसभा निर्वाचनको माग २००७ सालदेखि नै उठेको भए पनि तत्कालीन राजा त्रिभुवनले राजतन्त्र समाप्त हुने डरले संविधानसभा निर्वाचन नगराएको दाबी गर्नुभयो । उहाँले २००९ सालमा पनि संविधानसभा निर्वाचन हुनुपर्ने भए पनि त्यसलाई योजनाबद्ध रूपमा रोकिएको उल्लेख गर्नुभयो । “नेपालको संविधान नेपाली जनताको पूर्ण इच्छाअनुसार बनेको होइन,” केसीले भन्नुभयो, “२०७२ सालमा संविधान निर्माणका क्रममा विभिन्न शक्तिकेन्द्रहरूले आफ्नो स्वार्थअनुसार संविधान निर्माण गर्न खोजेका थिए ।” उहाँले नेपालको संविधान निर्माण प्रक्रियामा विदेशी शक्तिहरूको प्रभाव रहेको आरोप लगाउँदै विशेषगरी अमेरिका र भारतको भूमिकामाथि प्रश्न उठाउनुभयो ।

उहाँले २०६४ सालको संविधानसभाले संविधान जारी गर्न नसक्नुमा भारतको असहमति प्रमुख कारण रहेको दाबी गर्नुभयो । “छिमेकी देश भारतले नमानेका कारण संविधान निर्माण प्रक्रिया लामो समयसम्म प्रभावित भयो,” उहाँले भन्नुभयो । संघीय व्यवस्थाप्रति सुरुदेखि नै असहमति जनाउँदै आएको राष्ट्रिय जनमोर्चाको धारणा पुनः दोहोर्याउँदै केसीले संघीयता नेपाली जनताको आवश्यकता नभई बाह्य शक्तिको स्वार्थबाट प्रेरित भएको टिप्पणी गर्नुभयो । उहाँले संघीय प्रणालीले मुलुकको आर्थिक भार बढाएको, प्रशासनिक जटिलता सिर्जना गरेको तथा राष्ट्रिय एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको बताउनुभयो ।

“काँकडभिट्टादेखि कञ्चनपुरसम्म एउटै प्रदेश बनाउने योजनामा भारत अझै पनि सक्रिय छ,” उहाँले आरोप लगाउँदै भन्नुभयो, “यसकारण संघीयता नेपालका लागि उपयुक्त छैन भन्ने कुरा हामीले सुरुदेखि नै उठाउँदै आएका थियौं ।” उहाँले नेपाली राजनीतिमा सिद्धान्तभन्दा स्वार्थ हावी भएको आरोप लगाउँदै राजनीति सेवा भन्दा कमाइको माध्यम बनेको टिप्पणी गर्नुभयो । “राजनीति गर्ने भनेको पैसा कमाउने माध्यम हो भन्ने मानसिकता विकसित भएको छ,” उहाँले भन्नुभयो ।

नेपालमा क्रियाशील गैरसरकारी संस्थाहरूको भूमिकामाथि समेत प्रश्न उठाउँदै केसीले देशमा करिब ४३ हजार एनजिओ रहेको उल्लेख गर्नुभयो । उहाँले ती संस्थाहरू विदेशी स्वार्थको प्रभावमा चलेको आरोप लगाउँदै नेपालको प्राकृतिक स्रोत–साधनमाथि बाह्य शक्तिको चासो बढेको बताउनुभयो । “नेपालमा भएको परिवर्तन विदेशी शक्तिको योजनाअनुसार भएको हो,” उहाँले भन्नुभयो, “नेपालको प्राकृतिक सम्पदामाथि नियन्त्रण जमाउने उद्देश्यले विभिन्न गतिविधि भइरहेको छ ।” नेपालका नदी तथा जलस्रोत नेपाली जनताले स्वतन्त्र रूपमा उपयोग गर्न नपाएको उल्लेख गर्दै उहाँले राष्ट्रिय सम्पदामाथि बाह्य हस्तक्षेप बढेको धारणा राख्नुभयो । २०१४ सालदेखि राजनीतिमा सक्रिय रहेको स्मरण गर्दै केसीले अहिलेको राजनीतिक संकट विगतका सबै अवस्थाभन्दा जटिल रहेको टिप्पणी गर्नुभयो । “मैले राजनीतिमा यति ठूलो संकट पहिले कहिल्यै देखेको थिइनँ,” उहाँले भन्नुभयो ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विषय उठाउँदै उहाँले त्यसलाई नेपालमा अमेरिकी रणनीतिक प्रभाव विस्तारको माध्यम भएको दाबी गर्नुभयो । “एमसीसीमार्फत नेपालमा सेना उतारेर चीनमाथि आक्रमण गर्ने योजना अमेरिकाको रहेको छ,” उहाँले आरोप लगाउनुभयो ।
त्यस्तै उहाँले एसपिपी (स्टेट पार्टनरसिप प्रोग्राम) पारित नगरेका कारण पुराना नेताहरूमाथि योजनाबद्ध आक्रमण भएको दाबी समेत गर्नुभयो । उहाँले गत भदौ २४ गते सिंहदरबार, राष्ट्रपति निवास तथा संसद भवनमा आगजनी गर्ने शक्तिहरू अहिले सरकारमा रहेको उल्लेख गर्दै त्यस्ता समूहले संविधान संशोधनको मुद्दा उठाइरहेको आरोप लगाउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै केसीले संविधान संशोधनको बहसमा राजावादी धारणा बोकेकाहरूलाई भूमिका दिइएको टिप्पणी गर्नुभयो । “राजा आउ देश बचाउ भन्नेहरूलाई जिम्मेवारी दिइनुले के संकेत गर्छ ?” उहाँले प्रश्न गर्नुभयो । उहाँले राष्ट्रियता जोगाउने नाममा राजतन्त्र पुनःस्थापना गर्न खोजिनु गलत हुने धारणा राख्नुभयो । “राजा फर्काएर राष्ट्रियता जोगिँदैन,” उहाँले भन्नुभयो, “यदि फेरि राजतन्त्र फर्काउने प्रयास भयो भने देशमा पुनः अर्को संघर्षको अवस्था सिर्जना हुनेछ ।”

संविधान संशोधनको बहसलाई गणतन्त्र कमजोर बनाउने प्रयासका रूपमा चित्रण गर्दै केसीले अहिलेको सरकारले गणतन्त्र हटाउने उद्देश्यसहित संशोधनको विषय उठाएको आरोप लगाउनुभयो । उहाँले वर्तमान संसदीय व्यवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय जनमोर्चाले निरंकुश राजतन्त्र र अहिलेको संसदीय प्रणाली दुवैलाई स्वीकार नगर्ने स्पष्ट पार्नुभयो । उहाँका अनुसार मुलुकलाई स्थिरता र राष्ट्रिय स्वाधीनताको मार्गमा लैजान वैकल्पिक राजनीतिक सोच आवश्यक रहेको छ ।
शिक्षा क्षेत्रमाथि समेत टिप्पणी गर्दै उहाँले समाज ध्वस्त पार्न चाहने शक्तिहरूले सबैभन्दा पहिले शिक्षा प्रणालीलाई कमजोर बनाउने प्रयास गर्ने गरेको बताउनुभयो । “विश्व इतिहासले देखाएको कुरा के हो भने समाज ध्वस्त पार्नुछ भने सबैभन्दा पहिले शिक्षालाई ध्वस्त पारिन्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा एमालेका विकास गौतम, नेपाल कम्युनिष्ट पार्टीका विश्वराज आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेकपा बहुमतका प्रेम बोहरा, नेपाल कम्युनिष्ट पार्टीका सविन पोख्रेल तथा वरिष्ठ अधिवक्ता गोविन्द गौतम ले पनि समसामयिक राजनीतिक अवस्था, संविधान संशोधनको बहस तथा राष्ट्रियताको विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष आचार्यले १३ बुँदे अवधारणापत्र प्रस्तुत गर्दै वर्तमान राजनीतिक संकट समाधानका लागि विभिन्न प्रस्तावहरू अघि सार्नुभयो । उहाँले संघीयता खारेज गर्नुपर्ने, राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय शक्तिको चलखेल रोक्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अवधारणापत्रमा विदेशी दबाब तथा हस्तक्षेप रोक्नुपर्ने, विवादित विषयहरूमा व्यापक राष्ट्रिय छलफल आवश्यक रहेको तथा गणतन्त्रलाई थप सुदृढ बनाउनुपर्ने उल्लेख गरिएको थियो । त्यस्तै राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको सम्झौता गर्न नसकिने धारणा राखिएको थियो ।
त्यसैगरी संविधानका गलत प्रावधानहरू हटाउनुपर्ने, प्रवासी नेपालीलाई मताधिकार दिन नहुने तथा अहिलेसम्म अपरिवर्तनीय भनिएका विषयहरूमाथि पनि खुला बहस हुनुपर्ने प्रस्ताव गरिएको थियो । अवधारणापत्रमा २०६२÷०६३ सालको जनआन्दोलनको म्यान्डेटलाई सम्मान गर्नुपर्ने, कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुन नहुने तथा मिश्रित निर्वाचन प्रणाली कायम राख्नुपर्ने उल्लेख गरिएको थियो । यसका साथै नेपाललाई हिन्दु राज्य बनाउन नहुने र धार्मिक स्वतन्त्रता कायम रहनुपर्ने धारणा समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले वर्तमान राजनीतिक अवस्था जटिल बन्दै गएको, संविधान कार्यान्वयनमा चुनौतीहरू देखिएको तथा राजनीतिक दलहरूबीच आपसी अविश्वास बढेको टिप्पणी गरेका थिए । उनीहरूले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक मूल्य र जनताका अधिकारहरूको रक्षा गर्दै संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

 

सरकारले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रमको पूर्ण विवरण यहाँ क्लिक गरेर पढ्नुहोास ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab