spot_img
Home Blog Page 4

टिप्पर समितिमा पुनः भरतनाथ योगीको नेतृत्व

राप्ती पोष्ट

घोराही, माघ । स्वर्गद्वारी टिप्पर यातायात प्रालिको शुक्रबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले भरतनाथ योगीको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा सुदन केसी, प्रथम उपाध्यक्षमा जितबहादुर वली, द्वितिय उपाध्यक्षमा ओमकान्त रेग्मी, तृतिय उपाध्यक्षमा विमल पौडेललाई चयन गरिएको छ । यसैगरी सचिवमा गोपाल श्रेष्ठ, सह सचिवमा भक्त बस्नेत, कोषाध्यक्षमा जोगमणि रेग्मी र कल्याणकारी प्रमुखमा नारायण घिमिरेलाई चयन गरिएको छ ।

१३ सदस्यीय कार्यसमितिको सदस्यहरुमा भोजराज खत्री, बसन्त राज भण्डारी, गिरु क्ेसी र महेश खनाल हुनुुहुन्छ । यसैगरी लेखा समितिको संयोजकमा शोभाकर डाँगी सदस्यहरुमा नवराज पाण्डे, अनिलकुमार बस्नेत र खगेन्द्र बुढालाई चयन गरिएको छ । साधारण सभा तथा अधिवेशनले भेषराज खत्री, लक्ष्मण आचार्य, कृष्ण घर्ती र हाँसीमान पुनलाई सल्लाहकारमन चयन गरेको छ ।

अध्यक्ष भरतनाथ योगीको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनको उद्घाटन राप्ती त्रिशिद्देश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले व्यावसायिक क्षेत्रमा गरिने कतिपय व्यवहारहरुमा सुधार नभएको गुनासो गर्नुभयो । उहाँले सवै व्यवसायी नियमानुसार चल्नुपर्ने धारणा राख्दै नियम बमोजिम नचल्दा नै समस्या हुने गरेको बताउनुभयो ।

उहाँले पछिल्लो समय टिप्पर व्यवसायीहरु विस्थापित भइरहेको तर्फ सवै चिन्तीत हुनुपर्ने बताउनुभयो । उहाँले टिप्पर व्यवसायीलाई अनुशासन कायम राख्न पनि आह्वान गर्नुभयो । आफूहरुले यातायात प्राधिकरण गठन गर्नका लागि पटक पटक भनेको भएपनि त्यसको सुनुनवाई नभएको गुनासो गर्नुभयो ।

उक्त अवसरमा टिप्पर व्यवसायी समितिका संस्थापक अध्यक्ष गिरिराज सुवेदीले टिप्पर व्यवसायीलाई संगठित भएर अघि बढ्न आह्वान गर्नुभयो । व्यवसायीहरु एकतावद्ध नभएका कारणले गर्दा हिजोका दिनमा ठूला कम्पनीले फुटाएको इतिहास संझाउँदै अव मिलेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले उद्योगलाई सहयोग गर्न व्यवसायीहरु पनि तयार हुनुपर्ने र व्यवसायीको मर्काका बारेमा पनि उद्योग गम्भिर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, दाङ ट्रयाक्टर व्यवसायी समितिका अध्यक्ष चिन्तामणि आचार्य, सिस्नोपानीका दाङ अध्यक्ष डा. लोकराज पराजुली लगायतले व्यावसायिक हितका लागि सवै एक हुनुपर्ने धारणा राख्नुभयो । उक्त अवसरमा उत्कृष्ठ व्यवसायीका रपमा धनेश्वर भण्डारी र दशीराम चौधरीलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ठ चालकका रुपमा सन्देशराज श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सचिव शोभाकर डाँगीले गर्नुभएको थियो ।

लायन्स ३२५ एनमा क्याविनेट तयारी तिव्र

राप्ती पोष्ट

दाङ,  माघ । लायन्स इन्टरनेशनल ३२५ एन को तेस्रो क्याविनेट बैठकको तयारी तिव्र पारिएको छ । आगामी माघ २३ गते प्रि क्याविनेट र २४ गते क्याविनेट बैठकको तयारी तिव्र पारिएको क्याविनेट बैठकका संयोजक एमजेएफ लव नरसिंङ अधिकारीले जानकारी दिनुभयो ।

क्याविनेट बैठकको तयारी स्वरुप अधिकारीको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । जसको सह संयोजकमा एक्जुकेटीभ चिफहरु युवराज थपलिया, अर्जुन कक्षपती र एरिया चिफ मधुसूदन बैद्य हुनुहुुन्छ । यस्तै क्याविनेट बैठक तयारी समितिको सचिवमा अनिल बस्नेत, कोषाध्यक्षमा कर्णबहादुर पुन हुनुहुन्छ ।

क्याविनेट बैठक तयारीका लागि गठन गरिएको समितिमा रेशम गिरी, सहाना श्रेष्ठ, होमप्रसाद शर्मा, शेषदत्त चौधरी, हल्लुप्रसाद चौधरी, गायत्री थापा, धु्रव गौतम, लोकबहादुर बस्नेत, झविन्द्र शर्मा र भरतराज देवकोटा हुनुहुन्छ ।
लुम्विनी प्रदेशको राजधानी भालुवाङमा रहेको होटल पौवामा हुने क्याविनेट बैठकमा यस डिष्ट्रिक अन्तरगत रहेका एक सय २४ वटा क्लवका सात सय बढी लायन्स लिडर र क्याविनेट अफिसरहरुको सहभागिता रहनेछ । जसमा उत्कृष्ठ लायन्स क्लव र विभिन्न जिम्मेवारीमा रहेका लिडरहरुलाई सम्मान गरिनेछ ।

सोही क्रममा मंगलबार तुलसीपुरमा त्यस क्षेत्रमा लायन्स क्लव र अगुवाहरुसंग छलफल गरिएको थियो । क्याविनेट संयोजक लव अधिकारीको अध्यक्षतामा भएको छलफलमा पूर्व डिष्ट्रिक गभर्नर पि एम जे एफ विनोदकुमार श्रेष्ठले क्याविनेट बैठकको तयारीका लागि गर्नु पर्ने कामका बारेमा सुझाव दिनुभयो । उहाँले क्याविनेट बैठकमा डिष्ट्रिकका सवै एरियाबाट बढी भन्दा बढी सहभागिता गराउन सुझाव दिनुभयो । उहाँले लायन्सले गरिरहेका सामाजिक कामलाई सवैले नियालिरहेको भन्दै तेस्रो क्याविनेट बैठकलाई पनि सफल पार्नुपर्ने बताउनुभयो ।

छलफलमा तुलसीपुर क्षेत्रमा रहेका लायन्स क्लवका अध्यक्षहरु, एक्जुकेटिभ चिफहरु धु्रव गौतम, सुरेश हमाल, खड्क बस्नेत, रिजन चियर ऋषि भण्डारी, एरिया चिफ गोरख वली लगायतले बोल्नुभएको थियो । कार्यक्रममा एरिया चिफ लायन मधुसूदन बैद्यले हालसम्म भइरहेको तयारीका बारेमा जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक अधिकारीले तेस्रो क्याविनेट बैठकलाई सफल बनाउनका लागि तय गरिएका कार्यक्रमका बारेमा जानकारी दिनुभयो । उहाँले स्थानीय कला संस्कृतिको प्रस्तुती राख्ने, लायन्समा राम्रो गर्नेलाई पुरस्कृत गर्ने लगायतका कार्यक्रमहरु रहेको बताउनुभयो । उहाँले क्याविनेट बैठकको तयारीका लागि विभिन्न निकायसंग छलफल गर्ने, स्वागत गेट निर्माण गर्ने जस्ता कामलाई तिव्रता दिइएको बताउनुभयो ।

 

रुकुमको अर्गानिक खानाको स्वाद घोराहीमा

राप्ती पोष्ट

घोराही,  माघ । पूर्वी रुकुमको मौलिक खानाको स्वाद अब घोराहीमै चाख्न पाइने भएको छ । घोराही उपमहानगरपालिका–१५ भिङ्ग्रेली चोकमा ‘नविलक रेष्टुरेन्ट’ सञ्चालनमा आएसँगै रुकुमेली परिकारका पारखीहरूका लागि नयाँ गन्तव्य थपिएको छ । रुकुम जिल्लाबाटै ल्याइएका खाद्य सामग्री प्रयोग गरेर परिकार तयार गरिने यो रेष्टुरेन्टले छोटो समयमै ग्राहकको ध्यान तान्न सफल भएको छ ।

पूर्वी रुकुमको सिस्ने गाउँपालिका निवासी तिलक खड्काको लगानी र पहलमा सञ्चालनमा आएको नविलक रेष्टुरेन्टले रुकुमको मौलिकता र स्वादलाई दाङसम्म ल्याउने उद्देश्य राखेको छ । गाउँघरमा उत्पादन हुने अर्गानिक खाद्य सामग्रीलाई प्राथमिकतामा राख्दै सुरु गरिएको यो रेष्टुरेन्टमा पाइने खानाले रुकुमको पहिचान झल्काउने गरेको ग्राहकहरूको अनुभव छ ।

रेष्टुरेन्टमा प्रयोग हुने अधिकांश खाद्य सामग्री रुकुम जिल्लाबाटै ल्याइन्छ । अर्गानिक रूपमा खेती गरिएका तरकारी, चामल तथा गेडागुडीसँगै सानी भेरी नदीका माछा यहाँको मुख्य आकर्षण बनेका छन् । विशेषगरी सानी भेरीको असला माछा खान पाइने सुविधा घोराहीका लागि नौलो मानिन्छ । साथै सिस्ने रुकुमबाट ल्याइएको सिमीको दाल, कालो चामल, रातो चामल, कोदोको रोटी तथा पानी घट्टमा पिसिएको गहुँको पिठोबाट बनाइने रोटीले रुकुमेली स्वादको झल्को दिन्छ ।

रेष्टुरेन्टमा लोकल कुखुराको मासु, खसीको सुकुटी जस्ता परिकार पनि उपलब्ध छन् । गाउँघरमा जस्तै मसला र पकाउने तरिका अपनाइने भएकाले यहाँको खाना घरको स्वादसँग नजिक रहेको ग्राहकहरूको प्रतिक्रिया छ । आधुनिक फास्टफुडभन्दा फरक ढंगले मौलिक र पोषिलो खानालाई प्राथमिकता दिइएको खड्काले बताउनुभयो । करिब आठ लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको नविलक रेष्टुरेन्टले स्थानीय स्तरमै रोजगारीसमेत सिर्जना गरेको छ । हाल रेष्टुरेन्टमा तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । भविष्यमा सेवा विस्तारसँगै रोजगारी संख्या थप गर्ने योजना रहेको सञ्चालक खड्काको भनाइ छ ।

मूल्यको हिसाबले पनि रेष्टुरेन्टलाई सर्वसुलभ बनाइएको छ । कुखुराको मासु वा माछा खाना खाँदा प्रतिव्यक्ति ४५० रुपैयाँ पर्ने व्यवस्था छ । सादा खाना १५० रुपैयाँमा उपलब्ध छ भने रातो चामलको भातसहित सादा खाना खाँदा २०० रुपैयाँ शुल्क लाग्ने गरेको छ । स्वाद, मात्रा र मूल्यको सन्तुलन मिलेकाले ग्राहक सन्तुष्ट देखिन्छन् । यसका साथै सिस्नोको तरकारी पनि उपलव्ध हुने गरेको छ । यो पनि रुकुमबाटै ल्याइन्छ ।

रेष्टुरेन्टमा आएर खाना खाएपछि रुकुमकै स्वाद आउने गरेको अनुभव रुकुमबाट दाङ आएका विनोद केसी सुनाउनुहुन्छ । ‘घोराहीमा आएर सानी भेरीको माछा खान पाउँदा घर सम्झिएजस्तो लाग्छ ।’ उहाँले भन्नुभयो, ‘रुकुममा पाइने स्वाद र सामग्री यहाँ पनि पाउँदा धेरै खुशी लागेको छ ।’ उहाँले आफूले नविलकमा आएर ढिडो खाँदा गाउँघरमा खाएकै झल्को आएको पनि सुनाउनुभयो ।

नविलक रेष्टुरेन्टमा रुकुमबाट दाङ आएका मानिस मात्र होइन, घोराही र आसपासका स्थानीय बासिन्दाहरू पनि नियमित रूपमा खान आउने गरेका छन् । पछिल्लो समय अर्गानिक खाना र मौलिक स्वादप्रति बढ्दो आकर्षणका कारण रेष्टुरेन्टमा दैनिक ग्राहकको संख्या बढ्दै गएको सञ्चालक बताउँछन् । सञ्चालक खड्काका अनुसार उहाँले यसअघि रुकुममै होटल व्यवसाय सञ्चालन गर्नुभएको अनुभव छ । त्यही अनुभवका आधारमा दाङमा पनि फरक स्वाद र पहिचानसहितको रेष्टुरेन्ट खोल्ने सोच बनेको हो । ‘शहरमा धेरै रेष्टुरेन्ट छन्, तर गाउँको वास्तविक स्वाद कमै पाइन्छ ।’ उहाँले भन्नुभयो, ‘त्यही अभावलाई महसुस गरेर रुकुमको अर्गानिक सामग्री प्रयोग गरी यो रेष्टुरेन्ट सुरु गरेका हौं ।’

खानाको स्वाद, सरसफाइ र पाहुनाप्रति अपनाइने व्यवहारका कारण ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उहाँको भनाइ छ । ‘खाना खान आउने अधिकांशले पुनः आउने प्रतिबद्धता जनाउनुहुन्छ, यही नै हाम्रो लागि सबैभन्दा ठूलो सफलता हो ।’ खड्काले थप्नुभयो । रेष्टुरेन्टमा एक पटकमा करिब २० जनालाई सजिलै खाना खुवाउन सकिने क्षमता रहेको छ । कसैले सामूहिक रूपमा अर्डर गरेमा अग्रिम जानकारीका आधारमा आवश्यक परिकार तयारी गरिदिने व्यवस्था समेत गरिएको छ । यसले पारिवारिक जमघट, समूहगत भेटघाट तथा कार्यालयस्तरका कार्यक्रमका लागि समेत रेष्टुरेन्ट उपयुक्त बन्दै गएको छ ।

रुकुमेली खानाको स्वादसँगै यहाँ प्रयोग हुने सामग्रीले स्थानीय कृषि र उत्पादनलाई समेत प्रवद्र्धन गरेको छ । गाउँबाट सिधै ल्याइने अन्न, दाल, तरकारी र मासुले किसानको उत्पादनलाई बजारसँग जोड्ने काम गरिरहेको छ । यसले एकातर्फ ग्रामीण अर्थतन्त्रलाई सहयोग पु¥याएको छ भने अर्कोतर्फ शहरका उपभोक्तालाई स्वस्थ र गुणस्तरीय खाना उपलब्ध गराएको छ ।
खानामा मौलिकता, स्वादमा अपनत्व र सेवामा सरलता भएकाले नविलक रेष्टुरेन्ट छोटो समयमै घोराहीको चर्चित खानास्थल बन्न थालेको छ । रुकुमको पहिचान बोकेको यो रेष्टुरेन्टले दाङको खाद्य संस्कृतिमा नयाँ रंग थपेको स्थानीयहरूको बुझाइ छ । रुकुमको स्वाद दाङमै पाइएपछि हरेक दिन खानाका लागि आउनेहरूको संख्या बढ्दै गएको छ । गाउँको मौलिकता र शहरको सहजतालाई जोड्ने नविलक रेष्टुरेन्टले भविष्यमा रुकुमेली खानालाई अझ व्यापक रूपमा चिनाउने अपेक्षा गरिएको छ ।

राजनीति भित्रको अराजनीति

शरद अधिकारी

राजनीति भन्ने शब्द सुन्नासाथ धेरै मानिसको मनमा शक्ति, सत्ता, दल, चुनाव, भाषण र विवादको चित्र आउँछ । कतिपयका लागि राजनीति सेवा हो भने कतिपयका लागि यो स्वार्थ, अवसरवाद र सत्ताको खेल मात्र बनेको छ । वास्तवमा राजनीति समाजलाई दिशानिर्देश गर्ने, राज्यलाई चलायमान बनाउने र नागरिकको जीवनस्तर उकास्ने सबैभन्दा शक्तिशाली माध्यम हो । तर जब यही राजनीति आफ्नै मूल्य, मान्यता र नैतिकताबाट विचलित हुन्छ, तब त्यसको गर्भबाट ‘अराजनीति’ जन्मिन्छ । आज नेपाली समाजले भोगिरहेको संकटको मूल कारण यही राजनीति भित्र हुर्किरहेको अराजनीति हो । राजनीति के हो ? भन्ने प्रश्नको उत्तर सरल देखिए पनि यसको गहिराइ अत्यन्त व्यापक छ । राजनीति मूलतः राज्यसत्ता सञ्चालन गर्ने कला र विज्ञान हो । समाजका फरक–फरक वर्ग, समुदाय र विचारबीच सन्तुलन कायम गर्दै साझा हितका लागि नीति निर्माण र कार्यान्वयन गर्नु नै राजनीति हो । राजनीति शक्ति प्राप्त गर्ने मात्र होइन, त्यो शक्तिलाई कसरी प्रयोग गरिन्छ भन्ने नै यसको आत्मा हो । जब शक्ति जनताको हितमा प्रयोग हुन्छ, त्यही राजनीति लोककल्याणकारी बन्छ । जब शक्ति सीमित व्यक्तिको लाभका लागि दुरुपयोग हुन्छ, त्यहीँबाट अराजनीतिक प्रवृत्तिको सुरुवात हुन्छ ।

राजनीति किन आवश्यक छ भन्ने प्रश्न अझ महत्वपूर्ण छ । यदि राजनीति नहुने हो भने समाज दिशाविहीन हुन्छ । विकास, समानता, न्याय, अधिकार र कर्तव्यको सुनिश्चितता राजनीतिबिनाको समाजमा सम्भव हुँदैन । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, सुरक्षा र कूटनीति सबै राजनीतिक निर्णयकै उपज हुन् । राजनीति समाजको मेरुदण्ड हो । तर मेरुदण्ड कमजोर भए शरीर जस्तै ढल्छ, राजनीति कमजोर र विकृत हुँदा राज्य र समाज पनि अस्थिर बन्छ । राजनीतिले के गर्दछ त ? राजनीतिले संविधान निर्माण गर्छ, कानुन बनाउँछ, सरकार गठन गर्छ, बजेट विनियोजन गर्छ र राज्य संयन्त्र सञ्चालन गर्छ । यसले नागरिकको अधिकार सुरक्षित गर्छ, सामाजिक न्यायको ढोका खोल्छ र विकासको मार्गचित्र कोर्छ । राजनीतिक नेतृत्वले सही दृष्टिकोण राखेमा मुलुक छोटो समयमै समृद्धिको दिशामा अघि बढ्न सक्छ । विश्वका धेरै मुलुक यसको उदाहरण हुन् । तर राजनीतिले के गर्दैन ? राजनीतिले व्यक्तिगत लोभ पूरा गर्न हुँदैन, नातावाद र कृपावादलाई प्रश्रय दिन हुँदैन, जनताको विश्वास बेच्न हुँदैन । राजनीतिले अपराधीकरणलाई संरक्षण गर्न हुँदैन र लोकतान्त्रिक मूल्यलाई कमजोर पार्न हुँदैन । जब राजनीति यस्ता कार्यमा संलग्न हुन्छ, त्यो राजनीति रहँदैन, अराजनीति बन्छ ।

राजनीति गर्नेमा कस्ता संस्कार आवश्यक छन् भन्ने प्रश्न अत्यन्त गम्भीर छ । राजनीति मूलतः संस्कार र चरित्रको परीक्षा हो । राजनीतिज्ञमा इमानदारी, त्याग, सहनशीलता, पारदर्शिता, जवाफदेहिता र राष्ट्रिय हितप्रतिको निष्ठा अनिवार्य हुनुपर्छ । सत्ता अस्थायी हो तर नैतिकता स्थायी हुन्छ भन्ने चेत राजनीतिज्ञमा हुनुपर्छ । विचार फरक हुन सक्छ तर विचारका नाममा घृणा, विभाजन र हिंसा फैलाउनु राजनीतिक संस्कार होइन । राजनीति गर्नेले भुल्न नहुने कुरा एउटै हो—राजनीति जनताको सेवा हो, व्यापार होइन । जनताले दिएको मत कुनै वस्तु होइन जसलाई सत्तासँग साट्न मिलोस् । राजनीति जनभावनाको जिम्मेवारी हो । यो जिम्मेवारी बिर्सँदा नै राजनीतिज्ञ जनताबाट टाढिँदै जान्छन् । नेपालको राजनीतिमा पछिल्ला दशकमा अराजनीतिक घटनाक्रमहरू तीव्र रूपमा देखिएका छन् । विशेषतः २०७४ पछि बनेका सरकारहरू, संसदको अभ्यास र दलगत व्यवहारले यो प्रवृत्ति झनै उजागर गरेको छ । दलभित्र विचारभन्दा पद र गुट हावी हुनु, चुनावी घोषणापत्र कागजमै सीमित हुनु, सरकार गठन र विघटनको खेल निरन्तर दोहोरिनु, सत्ताका लागि अस्वाभाविक गठबन्धन बन्नु र भत्किनु, यी सबै अराजनीतिक प्रवृत्तिका उदाहरण हुन् ।

संविधान जारी भइसकेपछि पनि राजनीतिक अस्थिरता अन्त्य हुन नसक्नु गम्भीर संकेत हो । २०७८ सालमा प्रतिनिधिसभा दुई पटक विघटन गरिनु, सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्नुपर्ने अवस्था आउनु र कार्यपालिका तथा न्यायपालिकाबीचको टकरावले लोकतान्त्रिक अभ्यासलाई नै प्रश्नको घेरामा ल्यायो । दुई तिहाइको सरकार टिक्न नसक्नु, संसद विघटनजस्ता असंवैधानिक अभ्यास, अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति र अदालतलाई समेत राजनीतिक विवादमा तानिनु अराजनीतिक मानसिकताकै परिणाम हुन् । राजनीतिमा अपराधीकरण अर्को डरलाग्दो पक्ष बनेको छ । पछिल्ला निर्वाचनहरूमा करोडौँ खर्च हुने चर्चा सार्वजनिक हुनु, ‘जित्न सक्ने’लाई मात्र टिकट दिने प्रवृत्ति र राजनीतिक आडमा कानुनी कारबाही रोकिनु सामान्य बन्दै गएको छ । यसले नीति होइन पैसा केन्द्रमा रहने राजनीति निर्माण गरेको छ । आपराधिक पृष्ठभूमिका व्यक्तिहरू राजनीतिक संरक्षणमा शक्तिशाली बन्नु, मुद्दा लागेकाहरू सांसद र मन्त्री हुनु, पैसाको बलमा टिकट वितरण हुनु लोकतन्त्रका लागि गम्भीर खतरा हो । यसले राजनीति शुद्ध प्रतिस्पर्धाको क्षेत्र होइन, शक्तिको अड्डा मात्र बनाउँदै लगेको छ ।

राजनीतिलाई पवित्र बनाउने वा प्रदूषित गर्ने दुवै शक्ति मानवमै निहित हुन्छ । यदि राजनीति मूल्य, नैतिकता र जनउत्तरदायित्वमा आधारित भयो भने यही राजनीति परिवर्तनको मूल शक्ति बन्छ । तर स्वार्थ, अहंकार र लोभले निर्देशित भयो भने यही राजनीति समाजको सबैभन्दा ठूलो अभिशाप बन्न पुग्छ । आजको आवश्यकता राजनीति त्याग होइन, राजनीति शुद्धीकरण हो । अराजनीतिक प्रवृत्तिविरुद्ध विचार, व्यवहार र साहसका साथ उभिन सक्नु नै साँचो राजनीतिक चेतना हो । जब राजनीति पुनः सेवा, सिद्धान्त र सदाचारमा फर्किन्छ, तब मात्र लोकतन्त्र बलियो हुन्छ र राष्ट्र समुन्नतिको यात्रामा अगाडि बढ्छ ।

गुरुकुल एकेडेमीहरूद्वारा संयुक्त विज्ञान प्रदर्शनी

राप्ती पोष्ट

दाङ, माघ । दाङ जिल्लामा सञ्चालनमा रहेका गुरुकुल एकेडेमी तुलसीपुर, गुरुकुल एकेडेमी घोराही र गुरुकुल एकेडेमी लमही ले आज संयुक्त रूपमा विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरेका छन् । विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकास, सिर्जनशीलता अभिवृद्धि तथा प्रयोगात्मक शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीमा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रदर्शनीमा कक्षा अनुसार तयार पारिएका विभिन्न विज्ञान परियोजना, मोडेल, चार्ट र प्रयोगात्मक सामग्री प्रदर्शित गरिएको थियो। भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, वातावरण विज्ञान, सूचना प्रविधि तथा नवीकरणीय ऊर्जासँग सम्बन्धित परियोजनाहरूले दर्शकको ध्यान आकर्षित गरेका थिए । विद्यार्थीहरूले दैनिक जीवनमा विज्ञानको प्रयोग कसरी हुन्छ भन्ने विषयलाई सरल र व्यवहारिक ढंगले प्रस्तुत गरेका थिए ।

वर्षा पानी संकलन प्रणाली, सौर्य ऊर्जाबाट चल्ने उपकरण, वातावरण प्रदूषण नियन्त्रणका उपाय, मानव शरीरको संरचना, स्मार्ट कृषि प्रणाली, फोहोर व्यवस्थापन तथा डिजिटल प्रविधिमा आधारित नमूनाहरू प्रदर्शनीका मुख्य आकर्षण रहेका थिए। विद्यार्थीहरूले आफ्ना परियोजनाबारे आत्मविश्वासका साथ व्याख्या गर्दै अतिथिहरूका जिज्ञासाको उत्तर दिएका थिए ।
कार्यक्रमका क्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा प्रधानाध्यापकहरूले यस्ता गतिविधिले विद्यार्थीलाई पुस्तक केन्द्रित शिक्षाबाट व्यवहारिक शिक्षातर्फ उन्मुख गराउने बताए ।

उनीहरूले विज्ञान प्रदर्शनीले अनुसन्धान क्षमता, समस्या समाधान सीप र प्रस्तुति कलाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका थिए । प्रदर्शनी अवलोकन गर्न आएका अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूको मेहनत, नवप्रवर्तन र सिर्जनशील सोचको खुलेर प्रशंसा गरेका थिए । उनीहरूले यस्ता शैक्षिक कार्यक्रमलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउँदै लैजान सुझाव दिएका छन् ।

शिक्षाको दीप बनिरहेको दीपशिखा

राप्ती पोष्ट

दाङ, माघ । शिक्षा क्षेत्रमा सक्रिय रहेका केही र अन्य पेशा व्यवसायमा लागेकाहरुको सल्लाहले २०४९ सालमा खुलेको दीपशिखा आवासीय मावि ३३ बर्षमा प्रवेश गरेको छ । त्यतिवेला जोसमा रहेका संचालकहरुको जोश यतिवेला पनि कम भएको छैन । केही युवा संस्थापकहरुलाई थपेर शिक्षाको क्षेत्रमा दीप जस्तै बलिरहेको छ दीपशिखा आवासीय मावि ।
दीपशिखा आवासीय माध्यमिक विद्यालय दाङ जिल्लामा मात्रै होइन राष्ट्रिय रुपमै एक प्रतिष्ठित निजी शैक्षिक संस्था हो । घोराही–१५ मा रहेको यो विद्यालय खुल्नु भन्दा अघि रहेको सडकलाई नै सवैले दीपशिखा रोड भनेर चिन्छन । विद्यालय संचालनमा आएपछि सडकको समय समेत नाम बदलियो भनेपछि विद्यालयको लोकपृयता यहिनेर झल्कन्छ ।

यस विद्यालयले प्राथमिक तहदेखि कक्षा १२ सम्म शिक्षा प्रदान गर्दछ । शैक्षिक गुणस्तर, अनुशासन तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालयको योगदानको उच्च मूल्यांकन हुने गरेको छ । विद्यालयको शैक्षिक यात्राका क्रममा सफलता पाएकाहरुले आफ्नो जगलाई भुलेका छैनन् । कतिसम्म भने आइतबार विद्यालयको ३३ औं बार्षिकोत्सवका अवसरमा विद्यालयबाट कक्षा १० उत्तिर्ण गरेर हाल अर्थोपेडिक डाक्टरका रुपमा प्रख्यात रहनुभएका डा. गोपाल सागर डिसी प्रमुख बक्ताका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

 

उहाँले पछिल्लो सफलता प्राप्त गर्नुमा विद्यालय शिक्षाको महत्पूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले दाङ जिल्लामा नीजि क्षेत्रमा स्थापित विद्यालयहरुले शिक्षाको विकासका लागि राम्रो भूमिका खेलेको भन्दै आफूहरुले पाएको सफलतामा विद्यालयको भूमिका रहेको स्मरण गर्नुभयो । कार्यक्रममा पूर्व विद्यार्थीहरुलाई नै अतिथिका रुपमा उपस्थित गराइएको थियो । पूर्व विद्यार्थीहरु अधिवक्ता निकेश कुमार लम्साल, चार्टर्ड एकाउन्टेन्ट अभ्यास बुढाथोकी, सुर्खेतका भवन डिभिजन प्रमुख विवशबावु सदादेव र डा. विनिता केसी लगायतले विद्यालय शिक्षाको स्मरण गर्नुभयो । उहाँहरुले त्यतिवेला शिक्षक र संचालकहरुले आफूहरुलाई भनेको कुरा, मेहनत गर्नका लागि गरेको प्रयासको स्मरण गर्नुभयो । शिक्षाको क्षेत्रमा दीपशिखाले गरेको योगदानले आफूहरुलाई पनि यो स्थानसम्म पु¥याएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, डा. लोकराज पराजुली, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख देवमणि चौधरी, हिमा एक्सलेन्सी अवार्डका संस्थापक केशव दिपक न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विष्णु केसी र ललिता केसीले स्थापना गर्नुभएको विनी अवार्डबाट दुई जना शिक्षकलाई सम्मान गरिएको थियो । जसमा प्रतिकराज बस्नेत र जानका बस्नेतलाई नगद सहित सम्मान गरिएको थियो ।
यस्तै हिमा एक्सलेन्सी अवार्डबाट कक्षा १० मा अध्ययनरत दिपीका भण्डारीलाई नगद १० हजार सहित र कक्षा ८ मा अध्ययनरत प्रकृति बुढामगरलाई नगद सात हजार सहित सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयले उत्कृष्ठ शिक्षकका रुपमा सुशिल कुमार गुप्ता र हरिगोविन्द श्रेष्ठलाई सम्मान गरेको थियो ।

दीपशीखाका प्रिन्सिपल मनोज बुढाथोकीले विद्यालयमा शैक्षिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विद्यालयमा आधुनिक कक्षाकोठा, विज्ञान तथा कम्प्युटर ल्याब, पुस्तकालय, खेलकुद तथा शारीरिक गतिविधि भइरहेको, मल्टीमिडिया स्रोत तथा इन्टरनेट सुविधा रहेको, छात्रवृत्तिका अवसरहरु प्रदान गरिरहेको र अतिरिक्त क्रियाकलाप जस्तै संगीत, नृत्य, कला, समुदाय भ्रमण आदि नियमित रुपमा भइरहेको बताउनुभयो ।

तीन पटक राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको दीपशिखा आवासीय माविले पाठ्यक्रम मात्र होइन चरित्र, अनुशासन र नेतृत्वलाई पनि जोड दिने गरेको छ । विद्यार्थीलाई अनुशासनमा राखेर ज्ञान, आत्मविश्वास र सामाजिक उत्तरदायित्व सहित सामाजमा उभ्याउनु विद्यालयको उद्देश्य रहेको अध्यक्ष शर्माले बताउनुभयो ।

घोराही लैंगिक हिसा नियन्त्रित पालिका घोषणा गर्न अनुगमन

राप्ती पोष्ट

घोराही, माघ । घोराहीलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाका लागि तयारी तिव्र पारिएको छ । आगामी माघ १५ गते नगरपालिका स्थापनाका दिन पारेर घोराहीलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा गर्ने तयारी गरिएको छ ।
सोही क्रममा बुधबार घोराहीका विभिन्न सरोकारवाला निकायमा पुगेर अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको संयोजकत्वमा रहेको अनुगमन समिति घोराही उपमहानगरपालिका वडा नं. १४ का विभिन्न स्थानमा पुगेको थियो । नगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख मोती विश्वकर्माका अनुसार अनुगमनका आधारमा लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाको कार्यक्रमलाई अन्तिम रुप दिइनेछ ।

बुधवार वडा नं. १४ मा गठित वडास्तरिय समितिका पदाधिकारीसंग लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाका लागि वडाले गरेको तयारीका बारेमा छलफल समेत गरिएको थियो । वडा संयोजक तथा वडासदस्य रचना कुमालले वडामा पटक पटक बैठक बसेर लैंगिक हिंसा नियन्त्रित पालिका घोषणको कार्यक्रमका बारेमा छलफल गरिएको बताउनुभयो ।
उहाँले गएको भदौ २४ गते भन्दा पहिले यहि विषयमा चार पटक बैठक बसेको जानकारी गराउनुभयो । पहिले बैठक बसेका माइन्युटहरु जेनजी आन्दोलनका क्रममा नष्ट भएको भन्दै त्यसपछि पनि चार पटक बैठक बसेर आवश्यक तयारी गरिएको बताउनुभयो । उहाँले वडामा लैंगिक हिंसाका कुनै पनि घटना हुन नदिनका लागि टोल विकास संस्थाहरुलाई परिचालन गरिएको बताउनुभयो । वडा नं. १४ मा रहेका ३२ वटा टोललाई यसमा सक्रिय बनाइएको पनि उहाँको धारणा थियो ।

उहाँले घोराही–१४ मा गठन गरिएका बाल क्लवहरु, किशोरी समुहहरु, टोल विकास संस्थाहरु लगायतसंग छलफल गरिएको भन्दै नगर घोषणाका लागि वडा नं. १४ तयार रहेको बताउनुभयो । उहाँले घोराही उपमहानगपालिका वडा नं. १४ मा छिटफुट रुपमा मात्रै लैंगिक हिंसाका घटनाहरु हुने गरेको बताउनुभयो । यसैगरी घोराही १४ मा रहेको सभागृह टोल विकास संस्थाका अध्यक्ष नरबहादुर बुढाथोकीले टोल विकास संस्थाले घोराहीलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाका लागि विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । यस्तै जनचेतना टोलका नरेन्द्र बुढामगरले बालवालिकालाई सक्रिय बनाउने, टोलको सरसफाई गर्दा लैंगिक हिंसा नियन्त्रणका बारेमा जानकारी दिने गरेको बताउनुभयो । उहाँले कतिपयले सवै कुरा नवुझेकाले आफूहरुले कुरा बुझाउने काम गरिरहेको बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको बाल विकास माविमा फोकल पर्सन तोकेर विद्यालयमा अभियान संचालन गरिएको छ । फोकल पर्सन विद्यालयकी शिक्षिका शिवा थापाले लैंगिक हिंसा न्युनिकरणका लागि विद्यालयमा बालवालिकाहरुको समुह निर्माण गरिएको जानकारी गराउनुभयो । उहाँले बाल क्लव, किशोरी क्लव, रेडक्रस र स्काउटको टोली गठन गरिएको बताउनुभयो । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि माथिका सवै विद्यार्थीहरुलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाको बारेमा जानकारी गराइएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार शुक्रवारका दिन विद्यालयमा हुने अतिरिक्त कृयाकलापको कार्यक्रममा यहि विषयमा जानकारी गराउने गरिएको छ । विद्यालय सुरु हुनु अघि प्राथना गर्दा विद्यार्थीहरुलाई पालै पालो लैंगिक हिंसाका बारेमा बोल्न लगाउने गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढाले विद्यालयको सेवा क्षेत्रमा कुनै पनि खालको लैंगिक हिंसाका घटना नहोउन भनेर विद्यार्थीहरुलाई सचेत गराइएको बताउनुभयो । उहाँले नगरपालिकाले दिएको मापदण्ड अनुसार काम भइरहेको बताउनुभयो । घोराही १४ मा रहेको उज्ज्वल महिला विकास संस्थाकी विष्णुकुमारी भुषालले वडामा रहेका आठवटा आमा समूहले लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाका लागि काम गरिरहेको बताउनुभयो । उहाँले सुरुको अवस्थामा केही समस्या बाँकी रहेको जस्तो देखिएपनि पछिका दिनमा सडक नाटक लगायत जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

यसैगरी घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमा डिसीले घोराहीलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाका लागि भइरहेको कामले तिव्रता पाएको बताउनुभयो । पूर्ण रुपमा हिंसा नियन्त्रण हुन सक्दैन कि भन्ने आफूहरुलाई लागेको भएपनि त्यो भन्दा राम्रो अवस्था देखेको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाको लागि व्यापक तयारी भएको बताउनुभयो । उहाँले हिंसा नियन्त्रण गर्ने कुरा सुन्यमा झार्न गाह्रो रहेको बताउनुभयो । विकशीत देशमा पनि हिंसाका घटना हुने गरेको भन्दै उहाँले न्यूनिकरणका लागि प्रयास गर्नुपर्ने बताउनुभयो । केही घटना भइहालेमा न्यायीक समितिका माध्यमबाट न्यायिक निरुपणमा जान सकिने धारणा उहाँको थियो ।

 

लैंगिक हिंसा नियन्त्रित पालिका घोषणाको सन्दर्भमा भएका कामहरुको अनुगमन गर्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले घोराहीलाई समुन्नत बनाउनका लागि यो अभियान महत्वपूर्ण रहने बताउनुभयो । विगतमा दाङ जिल्लामा संचालन गरिएका विभिन्न अभियानहरुलाई घोराहीले सवैभन्दा पहिले पुरा गर्ने गरेको स्मरण गर्दै घोराही नेपालका सवै पालिकामध्य लैंगिक हिंसा नियन्त्रित पहिलो पालिका हुन थालेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यो कामका लागि निकै मेहनत भएको पनि बताउनुभयो । घोराहीलाई आगामी माघ १५ गतेका दिन लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा गर्नु अघि आधारभूत रुपमा २२ वटा र संस्थागत रुपमा १० वटा सुचक तयार पारिएको थियो । विज्ञहरुले तयार पारेका सुचकहरुका आधारमा कार्यक्रम अघि बढेको थियो । सुचक पुरा भएको वा नभएको भन्ने बारेमा घोराहीका विभिन्न वडामा अनुगमन गरिएको थियो । अनुगमनमा जनप्रतिनिधिहरु, पत्रकारहरु, विज्ञहरु लगायतको सहभागिता थियो ।

कांग्रेस कमजोर हुनु भनेको राष्ट्रियता कमजोर हुनु हो – महासचिव पोखरेल

राप्ती पोष्ट

घोराही, माघ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेसभित्र देखिएको विभाजनलाई दुखद र चिन्ताजनक भएको टिप्पणी गर्नुभएको छ । राजनीतिक दलहरू कमजोर हुँदा त्यसको प्रत्यक्ष असर राष्ट्रियतामै पर्ने उल्लेख गर्दै उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि सबै दलहरू बलियो र जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेकपा एमालेको हालै भएको ११ औं केन्द्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेताहरूलाई सम्मान गर्न प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राजनीतिक दलहरूको सुदृढतामै देशको स्थायित्व र सफलताका आधार टेकेको बताउनुभयो । “दल कमजोर हुनु भनेको राष्ट्रियता कमजोर हुनु हो। राजनीतिक दलहरू सुदृढ भए मात्र देश बलियो हुन्छ,” उहाँले भन्नुभयो। नेपाली कांग्रेसतर्फ संकेत गर्दै उहाँले आन्तरिक अन्तरसंघर्ष र विभाजनको राजनीतिबाट बाहिर निस्केर एकताको मार्ग रोज्न आग्रह गर्नुभयो ।

लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्ने बताउँदै महासचिव पोखरेलले दलहरूबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक भए पनि अस्थिरता निम्त्याउने गतिविधि लोकतन्त्रका लागि घातक हुने धारणा राख्नुभयो । उहाँले अहिलेको राजनीतिक वातावरण संवेदनशील रहेको उल्लेख गर्दै देश आम निर्वाचनको सङ्घारमा उभिएको अवस्थामा गैरजिम्मेवार गतिविधिले कानूनी शासनलाई कमजोर बनाउने चेतावनी दिनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले रवी लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने विषयमा चलिरहेको चर्चाप्रति गम्भीर आपत्ति जनाउनुभयो । यदि यस्तो चर्चा सत्य हो भने त्यसले कानूनी शासनमाथि गम्भीर प्रहार गर्ने बताउँदै उहाँले “कानूनभन्दा माथि कोही पनि हुन सक्दैन, कानूनी राज कमजोर बनाउने कुनै पनि कार्य स्वीकार्य हुँदैन,” भन्ने स्पष्ट सन्देश दिनुभयो ।

त्यसैगरी भदौ २३ र २४ गते भएका घटनाबारे थप तथ्यहरू सार्वजनिक हुँदै गएको उल्लेख गर्दै महासचिव पोखरेलले नयाँ शक्तिका रूपमा स्थापित हुन चाहने दलहरूले यस्ता गतिविधिको स्पष्ट र निडर रूपमा विरोध गर्नुपर्ने धारणा राख्नुभयो। पार्टीभित्रका अन्य नेताहरूले पनि गलत कार्यको बचाउ गर्नु नहुने भन्दै उहाँले जिम्मेवार र नैतिक राजनीतिक व्यवहार अपरिहार्य रहेको बताउनुभयो ।

महासचिव पोखरेलले वर्तमान अवस्थामा निर्वाचनको वातावरण अनुकूल नरहेको पनि उल्लेख गर्नुभयो। राज्य र नागरिकबीचको सम्बन्ध ‘आस र त्रास’ दुवैमा आधारित हुनुपर्ने तर्क गर्दै उहाँले भन्नुभयो, “राज्यले नागरिकलाई आशा पनि दिनुपर्छ र अराजकता मच्याउने तत्वलाई त्रास पनि देखाउनुपर्छ। दुवै नहुँदा अराजकता फैलिन्छ।” उहाँका अनुसार अहिलेको सरकारले न त नागरिकलाई भरोसा दिलाउन सकेको छ न त अराजक तत्वलाई नियन्त्रण गर्न सफल भएको छ।

नेपाल प्रहरीको मनोबल अत्यन्त कमजोर भएको टिप्पणी गर्दै महासचिव पोखरेलले सुरक्षाकर्मीको मनोबल उच्च बनाउनेतर्फ राज्यले तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। हतियार फिर्ता गराउने, फरार अभियुक्त पक्राउ गर्ने र कानून कार्यान्वयन गर्ने सवालमा राज्य कमजोर देखिएको उहाँको भनाइ थियो। “इतिहासमै राज्य यति कमजोर र निष्क्रिय अवस्थामा पुगेको देखिएको छ,” उहाँले भन्नुभयो।

महासचिव पोखरेलले नेपालको सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षा तथा सुदृढीकरणका लागि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो। संविधान ‘घाइते’ बनाइएको अवस्थामा प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्नेमा नेकपा एमाले दृढ रहेको उल्लेख गर्दै उहाँले निर्वाचनका लागि पार्टी पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो। “निर्वाचनका लागि हामी तयार छौँ, दलहरूको सान्दर्भिकता सकिएको छैन,” उहाँको भनाइ थियो।

नेकपा एमाले पुरानो पार्टी नभई नयाँ ऊर्जा, विचार र संरचनासहित पुनर्जीवित पार्टी भएको दाबी गर्दै महासचिव पोखरेलले हालै सम्पन्न महाधिवेशनपछि पार्टी थप सशक्त बनेको बताउनुभयो। उम्मेदवार छनोटका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति टिप्पणी गर्दै उहाँले एमालेले ‘खल्तीबाट नाम निकाल्ने’ प्रवृत्ति नअपनाई विधि र प्रक्रियामार्फत उम्मेदवार चयन गर्दै आएको स्पष्ट गर्नुभयो।

पुरानो पुस्ता र नयाँ पुस्ताको नाममा समाजलाई विभाजन गर्ने प्रयासप्रति असहमति जनाउँदै उहाँले यस्तो प्रवृत्ति समाज र लोकतन्त्रका लागि घातक हुने चेतावनी दिनुभयो। अन्तर्राष्ट्रिय सन्दर्भ उल्लेख गर्दै उहाँले अमेरिकाले अपनाएको प्रणाली जस्ताको तस्तै नेपालमा लागू गर्न खोज्नु उपयुक्त नहुने धारणा राख्नुभयो। “नेपाली समाजको आफ्नै विशेषता, संस्कार र सभ्यता छन्,” उहाँले भन्नुभयो।

प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिमल योगीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रेस चौतारी दाङका सचिव निमु संगम घर्तीले गर्नुभएको थियो।

साहित्यकार श्याम चिसको निधन

राप्ती पोष्ट

तुलसीपुर, पुस । साहित्यकार श्याम प्रसाद लामिछाने (श्याम चिस)को ७१ बर्षको उमेरमा निधन भएको छ । चिसका कान्छा सुपुत्र जीवन लामिछानेले दिएको जानकारी अनुसार सोमबार अपरान्ह साढे ३ बजेतिर तुलसीपुर ९ दोघरेमा आफ्नै निवासमा उहाँको निधन भएको हो ।

२०११ मंसिर ८ गतेका दिन पिता गोविन्द प्रकाश शर्मा गोविन्द चिस र माता उल्लोतमा देवि शर्माको माहिलो सन्तानका रुपमा जन्मनुभएका चिस प्रगतिशील लेखक संघ लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्थ्यो । उहाँले प्रगतिशील लेखक संघ नेपाल दाङ शाखामा गोविन्द चिस सर्जक पुरस्कार पनि स्थापना गर्नुभएको थियो । श्याम चिसले कविता, मुक्तक, गजल र नाट्य विधामा योगदान दिनुभएको थियो ।

उहाँ लामो समय शिक्षण पेशामा पनि आवद्ध हुनुभएको थियो । २०३४ सालमा नन्द्रागाउँमा विद्यालय संचालन गर्नुभएका श्याम चिसले २०७१ मंसिर ८ गतेसम्म शिक्षकका रुपमा सेवा गर्नुभएको थियो । २०३२ सालमा पुष्पलाल श्रेष्ठबाट प्रभावित भइ बामपन्थी राजनीतिमा आकर्षित हुनुभएका श्याम चिसले प्रगतिवादी साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्रगतिशील लेखक संघले उहाँलाई गत पुस ३ गते प्रगतिशील साहित्य पुरस्कार समेत प्रदान गरेको थियो । केही समय यता जिव्रोको समस्याले गर्दा विरामी पर्नुभएको थियो । उहाँका दुई छोरा र एक श्रीमती हुनुहुन्छ ।

यसैबीच प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाका अध्यक्ष चन्द्र बहादुर थापाले प्रगतिशील लेखक संघका पुरस्कार संस्थापक श्याम चिसको निधनले प्रलेस परिवार मर्माहत भएको बताउनुभएको छ । उहाँले श्याम चिसको निधनले परिवारमा पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । साहित्यकार चिसको निधनमा राप्ती पोष्ट दैनिकका तर्फबाट पनि श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

पर्वहरु मनाउने तरिका

शरद देवकोटा

हरेक समुदायले पर्वहरु मनाउने विषयमा एकरुपता छैन । सबैले भन्छन् पर्वहरु भड्किलो ढंगले मनाउनुहुँदैन । तर व्यवहारमा झन झन भड्किलोपन देखा पर्दैछ । यसमा सबैको एकमत भएर भड्किलोपन आउन नदिनेतर्फ सचेत हुन जरुरी छ । हुन त सामाजिक र राजनीतिक हिसावमा पुरातन समयको परिवेश र अहिलेको लोकगणतन्त्रको परिवेशमा धेरै भिन्नता आएको छ । जागरण,चेतना र शिक्षाका हिसावले दृष्टिकोणमा भिन्नता आए झै नारीलाई हेर्ने पुरातन सोचमा थोरै भए पनि परिवर्तन आएको छ । तर पनि नारीमाथि हुने घरेलु हिंसा अझै रोकिएको छैन । नारीलाई विभिन्न आरोप लगाएर कुटपिट गर्ने र कतिपय सन्दर्भमा नारीको हत्या समेत हुने क्रम हटेको छैन । कतै बोक्सीको आरोपमा । कतै दाइजो नल्याएको निहुँमा अनि कतै छोरा नजन्माएको दोषमा नारीमाथि अपमान,अमानवीय र असभ्य व्यवहार हुँदै आइरहेको छ ।

नारीमाथि अनेक निहुँ बनाएर अन्याय गर्ने दोषीहरुलाई कतिपय सन्दर्भमा हदैसम्मको कारवाही हुन सकिरहेको छैन । यस्तो विडम्बनापूर्ण व्यवहार हाम्रो समाजमा अहिले पनि देखापरिरहेको छ । पीडक उम्कने । पीडितले न्याय नपाउने परिवेशलाई राज्यका उच्च पदमा बस्ने कतिपय पहुँचवालाहरुले हुर्काउने,संरक्षण गर्ने र मलजल गर्ने काममा अग्रसर भइरहेको देख्न पाइन्छ । यो अत्यन्त दण्डनीय विषय हो । यस्तो परिवेशको अन्त नगरी मुलुकको समृद्धिको यात्रा अधुरो रहने निश्चित छ ।

संसारमा नारीको महत्व कति हो कति धेरै छ । जीवनमा नारीको महिमा कति हो कति बढ्ता छ र सृष्टिको चक्र सन्चालनको लागि नारीको महत्व कति हो कति धेरै छ । डाक्टर जन्माउने नारी । पाइलट इन्जिनियर जन्माउने नारी । वकिल,पत्रकार,बैज्ञानिक,इतिहासकार, राजनीतिज्ञ,कलाकार,साहित्यकार सबै सबैलाई जन्माउने पनि नारी । सृष्टिको मूल नारी । सिर्जनाको मुहान नारी । नारी विश्व । नारी ब्रम्हाण्ड । नारी सबै थोक । नारी सबै लोक । यस्ता अनेकथरि छन् नारीका विशेषतामा जोडिएका विशेषणहरु । विडम्बना नै भन्नुपर्छ तिनै नारीहरु अहिले पनि दबिएकै छन् । शास्त्र पुराणले पनि नारी वर्गको हक अधिकारलाई स्थापित गरको छैन । धर्म र कर्मकाण्डले पनि नारी हकलाई सुनिश्चित गरेको छैन । बरु नारी हकलाई विस्थापित गरेको छ । कतिपय परंपराका नाउँ र कतिपय संस्कार जोगाउने नाउँमा अनि कतिपय धार्मिक अन्धविश्वासमा परेर अहिले पनि नारीहरु शोषण उत्पीडनमा परेकै छन् ।

नारी हक अधिकारको उपभोग गर्नबाट वन्चित उनीहरु अहिले पनि पुरुषप्रधान समाजबाट कैदी जस्तै जीवन जिउन बाध्य पारिएका छन् । यो अति नै दुखलाग्दो पक्ष हो र विचारणीय पाटो हो । ऋाजका मितिसम्म आउँदा नारी जागरणका विषय नउठेका होइनन् । नारीहरु सचेत र वैचारिक रुपमा सबल नभएका पनि होइनन् र नारीहरु आफ्ना हक अधिकार उपभोग गर्नमा कमजोर पनि होइनन् । तर पनि नारीहरु पुरुषको तुलनामा पछि पारिने गरेका छन् । अबला,कमजोर र अज्ञानीको पदवि बेहोर्न बाध्य भइरहेका छन् । नारीहरु हाँसेको सुहाउँदैन । नारी हाँसे बेश्या हुन्छन् । इतिहासको कुनै कालखण्डमा यस्तो भन्ने समाज र परिवेशबाट अनेक चुनौतीको सामना गर्दै नारीहरु आजको अवस्थामा आइपुगेका छन् ।

हिजो भन्दा आज समाजमा परिवर्तन आएको छ । भोलिका दिनमा यो भन्दा बढी जागरण र चेतना अवश्य आउनेछ । तर पनि वर्तमान समयमा नारीहरुलाई हेर्ने उही पुरातन सोच हट्न सकेको छैन । अबका दिनमा नारीहरु आफै नजागी नारीले हक अधिकार प्राप्त गर्न सक्ने छैनन् । अबका दिनमा नारीहरु आफै नजुर्मुराइ नारी स्वतन्त्रतालाई अनुभूत गर्न पाउने छैनन् । यति मात्र होइन,नारी अधिकारका बारेमा अझ बढी अध्ययनशील,अझ धेरै विचारशील, अझ बढ्ता विवेकशील र अझ बलियोगरी संगठित नबन्ने हो भने कठै भनेर यो पुरुषप्रधान समाजले नारीलाई अधिकार कदापि दिने छैन ।

कुनै समय सन्दर्भमा बज्ने बाजा अर्काे कुनै सन्दर्भमा असान्दर्भिक पनि हुन जान्छ । चैतमा भैलो खेलेको के अर्थ ! असारमा मालसिरीको धुन गाएको के महत्व ! रोपाइँ गर्दा जुत्ता मोजाको के प्रयोजन ! नुहाउँदा चस्माको के महत्व ! भोक लाग्दा पानी र प्यास लाग्दा भोजनको के तात्पर्य ! सिद्धान्त विनाको व्यवहार र व्यवहार विनाको सिद्धान्तको के महिमा ! जाडोमा छाताको महत्व हुन्न । वर्षामा छाताको सबै भन्दा बढी महत्व हुन्छ । समय,परिस्थिति र परिवेशले नै हरेक वस्तुको सान्दर्भिकताको मापदण्ड निर्धारण गरेको हुन्छ । वर्षको तीनसय चौसठ्ठी दिनमा नारीमाथि हुकुम,हैकम र यातना वर्षाउने । बाँकी एक दिनमा मन्चमा उक्लिएर नारी स्वतन्त्रता र नारी हक अधिकारका लागि आफू अहोरात्र खटिने गरेको भाषण सुनाएर कसरी नारीले स्वतन्त्रता प्राप्त गर्लान् ? हाम्रो समाजमा अहिले पनि यस्तो परिपाटीको अन्त हुन सकेको छैन । भाषण प्रशिक्षणमा नारी पुरुष बराबर हुन् भन्ने । व्यवहारमा नारी पुरुष बाराबारको परिवेश निम्त्याउने अहिले पनि यस्तो रुपरंगको चालामाला हाम्रै समाज वरिपरि नाचिरहेको देख्न सकिन्छ ।

आजको एक्काइसौं शताब्दीमा पनि अन्धविश्वासलाई मन पराएको देखियो । भीडको कुरा पत्याउने जमाना बाँकी रहेको देखियो । भीडको पछि लाग्ने समय नसिद्धिएको पनि देखियो र भीडको अघिल्तिर बोल्ती बन्द हुने परिवेश पनि सुनियो । भीडले फैसला गर्ने समय पनि देखियो । धामी झाँक्रीको अन्ध विश्वासले अरु मान्छेको ज्यानमाथि खेलवाड गरेको समाचार पनि पढियो । भीडमा हराउने,भीडमा बिलाउने र भीडमा विश्वास गर्नेहरुको अहंकारी स्वभावलाई पनि श्रव्य समाचार र दृश्य चित्रका माध्यमबाट अनुभूत गरियो । कानुनको परिभाषा गर्दा अन्याय गर्नेहरुलाई मात्र होइन,अन्याय सहनेहरुलाई पनि दण्डित गर्नुपर्छ भन्ने मान्यता रहिआएको छ । केही वर्ष पहिले कैलालीमा भएको बोक्सी आरोपमा किशोरीलाई दिइएको शारीरिक तथा मानसिक यातनाले धेरैको मनलाई स्तब्ध बनाएको थियो ।

मुलुकका विभिन्न ठाउँमा श्रमिक महिला दिवस मनाइरहँदा केही वर्ष अघि कैलालीमा भोले बाबा नामको व्यक्तिको अगुवाइमा किशोरीमाथि बोक्सीको आरोपमा केही व्यक्तिहरुले निर्घातरुपमा यातना दिइरहँदा त्यहाँ उपस्थित सयौं मान्छे रमिते बने । भीड मध्ये कसैले पनि यी किशोरीलाई किन यातना दिएको भनेर प्रश्न उठाउन सकेनन् । कति दुखलाग्दो पक्ष ! हाम्रो समाजमा अहिले पनि यस्तो अपराधपूर्ण कार्यलाई चुपचाप राम हेरेर बस्ने मान्छेहरु पनि हुँदारहेछन् । यति ठूलो अपराधपूर्ण कार्यको विरोधका साथसाथै दोषीमाथि कारवाहीको माग राखेर महिलाअधिकारकर्मीहरुको अगुवाइमा कतै जुलुस निस्किएन । कतै भाषण भएनन् र कतै नारा लागेनन् । यति मात्र होइन,महिला अधिकारवादीहरुले आआफ्ना भावनालाई लेखको रुपमा अखबारहरुमा जसरी व्यापकरुपमा ल्याउनुपथ्र्याे ल्याउन सकेनन् । महिलामाथि ज्यादती हुँदा महिलाहरुले मौनता साँध्ने परिस्थितिको सिर्जना किन हुन्छ ? यो निकै सोचनीय विषय हो भन्ने मेरो बुझाइ रहेको छ ।