राप्ती पोष्ट
घोराही, २१ दाङ । घोराही उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित होटल, होमस्टे, रेस्टुरेन्ट तथा क्यान्टीन व्यवसायलाई लक्षित गर्दै खाद्य स्वच्छता सम्बन्धी एकदिने तालिम कार्यक्रम बुधबार घोराहीमा भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर दाङको आयोजना, घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको सहकार्य तथा दाङ देउखुरी होटेल व्यवसाय समितिको सहजीकरणमा कार्यक्रम सम्पन्न गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख पदम बरालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिकाकी नगर उपप्रमुख हुमा कुमारी डी.सी.ले गर्नुभएको थियो । कार्यक्रममा घोराही क्षेत्रका चार दर्जनभन्दा बढी होटल व्यवसायीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा खाद्य अधिकृत बरालले खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने विषयमा सहजीकरण गर्नुभएको थियो भने खाद्य निरीक्षक सुदर्शन गोसाइँले होटल तथा रेस्टुरेन्टको स्तरीकरणका लागि व्यवसायीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने मापदण्डका विषयमा विस्तृत प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनार, सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारी र प्रशासन महाशाखा प्रमुख वासुदेव आचार्यले प्रस्तुत गरिएका दुई वटा कार्यपत्रमाथि टिप्पणी गर्दै खाद्य सुरक्षालाई स्थानीय तहको प्राथमिकता बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी सरोकारवाला तथा व्यवसायीहरू सहित ६५ जनाभन्दा बढीको उपस्थिति रहेको थियो । सहभागीहरूले यस्तो प्रकारका तालिमले व्यवसायमा गुणस्तर सुधार गर्न, उपभोक्ता स्वास्थ्य सुरक्षित गर्न तथा होटल व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।



