spot_img
Home Blog Page 2

विएन फुडको १२ औं बर्षमा नयाँ उत्पादन

बेकरी विक्रि गर्ने विएन फुडको उत्पादन कुकिज पनि

राप्ती पोष्ट

घोराही, चैत । घोराही उपमहानगरपालिका–१७ मा सञ्चालित विएन फुड प्रोडक्सन ले आफ्नो १२ औँ स्थापना दिवसको अवसर पारेर नयाँ उत्पादनका रूपमा कुकिज सार्वजनिक गरेको छ । शनिबार आयोजित विशेष कार्यक्रममा उक्त उत्पादन औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

प्रबन्ध निर्देशक नरेशकुमार श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघ का अध्यक्ष बसन्त जोशी ले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, पत्रकार, स्थानीय तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

२०७१ साल चैत १२ गते स्थापना भएको कोशेली बेकरीबाट सुरु भएको यो उद्योग अहिले विएन फुड प्रोडक्सनका रूपमा विस्तार भई विभिन्न खाद्य सामग्री उत्पादन गर्दै आएको छ । सुरुका दिनमा बेकरीका सीमित परिकार उत्पादन गर्दै आएको उद्योगले समयसँगै आफ्नो उत्पादन दायरा बढाउँदै लगेको छ । हालसम्म केक, ब्रेड, बिस्कुटलगायतका बेकरी आइटम उत्पादन गर्दै आएको कम्पनीले अब नयाँ स्वाद र परिकारका रूपमा कुकिज उत्पादन सुरु गरेको हो ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक श्रेष्ठले १२ वर्षसम्मको यात्रामा उद्योगले विभिन्न उतार–चढाव पार गर्दै आफूलाई स्थापित गर्न सफल भएको उल्लेख गर्नुभयो । ‘हामीले सानो स्तरबाट सुरु गरेर आज विभिन्न खाद्य सामग्री उत्पादन गर्ने अवस्थामा पुगेका छौँ ।’ उहाँले भन्नुभयो, ‘अब उपभोक्ताको माग र बजारको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ–नयाँ उत्पादन ल्याउने क्रममा कुकिज सार्वजनिक गरेका हौँ ।’

उहाँका अनुसार कुकिज उत्पादन विभिन्न स्वाद र गुणस्तरमा तयार गरिएको छ, जसले बजारमा प्रतिस्पर्धात्मक उपस्थिति जनाउने विश्वास गरिएको छ । साथै, आगामी दिनमा नमकिन, अचार लगायतका अन्य खाद्य सामग्री उत्पादन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । उत्पादन मात्र नभई त्यसको प्रभावकारी बजारीकरणका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने उहाँको भनाइ थियो । ‘उद्योग विस्तार गर्नु सजिलो छैन, तर हामीले निरन्तर प्रयास गरिरहेका छौँ,’ श्रेष्ठले थप्नुभयो, ‘अब बजारमा हाम्रो पहुँच अझै विस्तार गर्न सबैको साथ र सहयोग आवश्यक छ ।’

कुकिज सार्वजनिक गर्ने १२ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले उद्योग सञ्चालन व्यापारभन्दा फरक र चुनौतीपूर्ण क्षेत्र भएको बताउनुभयो । उहाँले उद्योगीहरूले निरन्तर मेहनत, योजना र दूरदृष्टि राख्नुपर्नेमा जोड दिनुभयो । ‘व्यापारभन्दा उद्योग सञ्चालन धेरै जटिल र दीर्घकालीन प्रतिबद्धता माग्ने क्षेत्र हो,’ जोशीले भन्नुभयो, ‘२४ घण्टा नै सोच्नुपर्ने, योजना बनाउनुपर्ने र बजारको माग बुझ्नुपर्ने हुन्छ ।’ उहाँले उत्पादनका लागि आवश्यक प्राविधिक तथा विषयगत ज्ञानको महत्त्व औंल्याउँदै गुणस्तर कायम राख्न उद्योगीहरू सजग हुनुपर्ने सुझाव दिनुभयो ।

जोशीले कोशेली बेकरीबाट सुरु भएको संस्थाले विभिन्न खाद्य वस्तु उत्पादन गरी देशका विभिन्न भागमा पठाउन थालेकोमा खुशी व्यक्त गर्नुभयो । साथै, खाद्य वस्तुको गुणस्तरबारे बिना परीक्षण आरोप लगाउनु उपयुक्त नहुने धारणा व्यक्त गर्दै यसमा सम्बन्धित निकायहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । ‘कुनै पनि खाद्य वस्तु राम्रो कि नराम्रो भन्ने कुरा परीक्षण बिना भन्न मिल्दैन ।’ उहाँले स्पष्ट पार्नुभयो, ‘यसमा प्रशासन, स्थानीय तह र नियामक निकायले जिम्मेवार भूमिका खेल्नुपर्छ ।’

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ का निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेल ले लगानी सुरक्षाको विषयमा ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्योग तथा व्यवसाय फस्टाउनका लागि लगानीमैत्री वातावरण अपरिहार्य रहेको बताउनुभयो । ‘उद्योगमा लगानी गर्नेहरूलाई सुरक्षित वातावरण दिन सकिएन भने दीर्घकालीन विकास सम्भव हुँदैन ।’ उहाँले भन्नुभयो, ‘नीतिगत स्पष्टता, प्रशासनिक सहजीकरण र लगानीमैत्री वातावरण आजको आवश्यकता हो ।’
कार्यक्रममा उद्योगका विभिन्न क्षेत्रमा योगदान पु¥याउने कर्मचारीहरूलाई सम्मानसमेत गरिएको थियो । लामो समयदेखि कार्यरत निराजन चौधरी, उत्पादन क्षेत्रमा सक्रिय नन्द किशोर, सहायक लेखापालमा बढुवा हुनुभएकी अञ्चना चौधरी, प्रबन्धकको जिम्मेवारी पाउनुभएका सुरेन्द्र गौतम तथा सुपरभाइजरको जिम्मेवारी पाउनुभएकी दीपा बुढा मगरलाई सम्मान गरिएको हो । कार्यक्रमले संस्थाको आन्तरिक व्यवस्थापन सुदृढीकरणसँगै कर्मचारीको मनोबल उच्च राख्न यस्ता सम्मान कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने सन्देश दिएको छ ।

ममता थापाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम घोराही–१० स्थित फन भ्यालीमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूले स्थानीय उद्योगको प्रवद्र्धन, उत्पादन विस्तार र रोजगारी सिर्जनामा विएन फुड प्रोडक्सनले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । १२ वर्षको यात्रापछि नयाँ उत्पादन सार्वजनिक गर्दै विएन फुड प्रोडक्सनले आफूलाई थप विस्तार गर्ने संकेत दिएको छ ।

निर्वाचनको समीक्षाः सच्चिने होइन सक्किने

शरद अधिकारी

आम निर्वाचन सकियो । परिणाम पनि आयो । अव प्रतिक्षा नयाँ सरकारको छ । नयाँ सरकारलाई लिएर अनेकन अड्कलवाजी चलिरहेका छन् । नयाँ सरकार कस्तो होला ? को को व्यक्तिहरु मन्त्रि होलान ? ति मन्त्रीहरुले कस्तो काम गर्लान ? यस्तै धेरै विषयहरु अनुत्तरित रुपमा रहेका छन् । निर्वाचनमा पुराना भनिएका दलहरुको अवस्था अत्यन्त नाजुक भयो । विक्रम सम्वत २००० को सुरुवातमा खुलेका र निरन्तरतामा रहेका दलहरु इतिहासमै संकटको अवस्थामा पुगेका छन् । नेपाली काँग्रेस राणा शासनको अन्त्यका लागि गठन भएको थियो । हालको नेकपा एमाले नेकपाको निरन्तरता हो, जुन विक्रम सम्वत २००० को सुरुवातकै क्रममा अर्थात २००६ सालमा स्थापना भएको थियो । अहिलेको नेकपाको उदय पनि त्यहि नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता हो । यस्तै पंचायती व्यवस्थाको अवशेषका रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः शक्तिशाली हुन नसक्ने गरी खुम्चिएको छ । यस्तै हर्क साम्पाङको पार्टी यति छोटो समयमा राष्ट्रिय मान्यता प्राप्त द लबनेर उदाएको छ । यहि सेरोफेरोमा सवैभन्दा ठूलो बहसको विषय बनेको के छ भने जेनजी विद्रोह पछि पुराना भनेका दलहरु पुनः उठ्न सक्छन कि सक्दैनन् ? जेनजी विद्रोहपछि पुराना दलहरुले विद्रोहलाई सहज तरिकाले लिएको भए । विद्रोहका लागि उठेका आवाजलाई सम्वोधन गर्न सकेको भए, स्थिती अर्को स्थानमा पुग्ने थियो होला । तर जे भयो त्यो सवै ढीला भयो । जे भयो त्यो सवै असान्दर्भिक भयो । पछिल्लो पटक बंगलादेशको निर्वाचनमा नयाँ भनिएको शक्तिले पराजय भोगेपछि नेपालमा पनि यस्तै हुन्छ भनेर पर्खिएर बस्ने काम समेत भयो । जुन विषय भुत भइसक्यो त्यो फर्किएर आउँदैन । प्रजातन्त्र आएपछि त्यसमा रजगज गरेका राजनीतिक दलहरुले आन्दोलनको स्प्रिड बुझ्न नसकेका कारणले नै आजको अवस्था आयो । हिजोका दिनमा राजनीति गर्ने कुरा, निर्वाचन उठ्ने कुरा अनुभवका आधारमा हुन्थ्यो । कतिसम्म भने केन्द्रिय सदस्य बन्नका लागि मात्रै होइन जिल्ला कमिटीमा जानका लागि अनेकन तघारा पार गर्नुपर्ने हुन्थ्यो । नयाँ दलमा त्यो बार बन्धन केही रहेन । न निर्वाचनमा उठ्नका लागि राजनीतिमा लागेको अनुभव चाहिएन । कमिटीमा बस्नु परेन । पुराना भनिएका दलहरुले अनेकन नियम कानुन बनाएर नयाँलाई रोक्न खोजे । पहिलो पटक कमिटीमा गएको मानिस पहिलो पटक स्थायी कमिटी बन्न सकेन । पहिलो पटक कमिटीमा गएको व्यक्ति पोलिटव्युरो बन्न सकेन । पदाधिकारी बन्न सकेन । दलहरु यसैगरी चलेका कारणले गर्दा आजको नतिजा आयो भन्ने निश्कर्ष निकाल्ने हो भने त्यो अन्यथा हुँदैन ।

निर्वाचनको समीक्षा कसरी गर्ने ? जितेकाहरुलाई सरकारी यसरी चल्नुपर्छ । उसरी चल्नुपर्छ । यस्तो गर्नुपर्छ । उस्तो गर्नुपर्छ । भन्दै अर्ति दिने काम शुरु भएको छ । यसरी अर्ति दिने काम कम्तीमा पनि एक बर्षका लागि बन्द गरे हुन्छ । आफूले काम गर्न नसक्नेहरुले अरुलाई अर्ति बुद्धि खुवै दिन खोज्छन् । आफूले काम गर्न नसक्दा अरुको आलोचना गर्न सकिन्छ । मिडियाको कुरा गर्ने हो भने पहिलो दिन देखि नै खवरदारी गर्न सक्छ । सहिलाई सहि र गलतलाई गलत भन्न सक्छ । राजनीतिक दलहरु जो विसौं बर्ष देखि सत्ताको चास्नीमा थिए तिनले अर्ति बुद्धि दिनुको अर्थ रहदैन । निर्वाचनमा राजनीति दलले पाएको मतका बारेमा टिका टिप्पणि पनि भइरहेका छन् । अल्गोदिमले गर्दा परिणाम यस्तो आयो, भनेर परिणामलाई गलत सावित गर्ने कोशिस भइरहेको छ । निर्वाचन जसरी पनि जित्ने कला राजनीतिक दलमा हुनुपर्छ । निर्वाचन भनेको जित्नका लागि लड्ने हो । मतदातालाई प्रभावित गरेर हुन्छ कि ? मतदातालाई आश्वासन दिएर हुन्छ कि ? विकासको कुरा गरेर हुन्छ कि ? अन्य नीतिगत कुरा गरेर हुन्छ कि ? निर्वाचन भनेको जसरी पनि जित्नुपर्छ । निर्वाचन जितेपछि पहिले दिएका आश्वासन पुरा गर्नुपर्छ । पहिले गरेका बाचाहरु पुरा गर्नुपर्छ । निर्वाचन हो भनेर अनावश्यक आश्वासन दिने काम गर्नु हुँदैन । निर्वाचन कसरी जितिन्छ भन्ने बारेमा नेपालमा सवै राजनीतिक दलहरु जानकार छन् । आफूले हार्दा धाँधली भयोे भनेर आरोप लगाउने काम त अमेरिकाको चुनावमा पनि देखिन्छ । नेपालमा त झन यो कुरा नआउने कुरै छैन । प्राविधिक रुपमा विद्युतिय मेसिनको प्रयोग गरेर हुने निर्वाचनलाई धाँधलीरहित बनाउन सकिएन भन्ने आरोप लाग्छ भने हाम्रो जस्तो देशमा यो आरोप स्वभाविक हुन्छ । निर्वाचनमा कुनै बेला मरिसकेकाहरुले पनि मतदान गर्ने गरेको मुलुक हो । बुथ कव्जा गरेर एकतर्फी रुपमा मतदान गर्ने मुलुक हाम्रो हो । मतदान भइसकेपछि गणना नगरिकनै घोषणा हुने मुलुक हाम्रो हो । यसरी हेर्दा अनेकनथरीका निर्वाचन भएका छन् । अनेकन थरिका निर्वाचन हुने क्रममा अहिले भएको निर्वाचनलाई एल्गोरिदमले प्रभावित गरेको भनेर उम्कने भन्दा अरु उपाय छैन ।

निर्वाचनपछि कोही जितुवा हुन्छन् । कोही हरुवा हुन्छन् । यसपटक अलि फरक देखिएको छ । आफ्ना सांसदलाई एकैथलोमा राखेर रास्वपाले प्रशिक्षण दियो । पहिले अरु दलले पनि प्रशिक्षण दिने गरेका थिए । अहिले सानो संख्यामा झर्दा ति दलको चर्चा नभएको मात्रै होला । यसपालीको प्रशिक्षणमा नेतृत्वकर्ता फरक सुनिय । विनम्र देखिए । आफ्ना सांसदहरुका लागि अलि कडा भाषा प्रयोग गरेको देखियो । यसले नयाँका लागि केही सुविधा दिएको छ । छिटो छिटो परिवर्तन चाहने नेपाली नागरिकका लागि अहिलेको परिवर्तनले कतिसम्म थेग्छ वा कहिलेसम्म नेपाली नागरिकले पर्खन्छन त्यो अहिल्यै भन्न सकिदैन । ठूलो दलका रुपमा रहेको दलले विनम्रता प्रकट ग¥यो र अरु दललाई पनि सम्मान गर्दै अघि बढ्यो भने अवको एक दशक यो दलको विकल्प खोज्नुपर्नेछैन । नेपालीहरुको विशेषता भनेको एक दशक पर्खने त्यसपछि परिवर्तन गर्ने हो । एक दशकको अवधिमा राम्रो गर्न सकेको अवस्थामा मुलुकले विकासमा फड्को मार्नेछ । एक दशकको कुरा त टाढाको कुरा भयो, पाँच बर्षमा सहि तरिकाले चल्न सकेनन् भने पाँच बर्षपछि नागरिकले विकल्प खोज्नेछन् । जहाँसम्म पुराना राजनीतिक दलहरुको कुरा छ ति दलले आफूलाई सच्चाउन प्रयत्न नगरेका कारणले नै आजको अवस्था आएको हो भन्ने बुझ्नुपर्ने हो । पहिलेका राजनीतिक दलले सत्ता ठिक तरिकाले चलाएको भए, युवाहरुमा यति धेरै वितृष्णा आउने थिएन । सुशासनका कामहरु गरेको भए, सवैलाई एउटै खालको नियम लगाइदिएको भए । रोजगारीका अनेकन अवसरहरु सिर्जना गरेको भए आजको अवस्था आउने थिएन ।

निर्वाचनको विषयलाई लिएर कतिपयले जनताले गल्ती गरेको भनिरहेका छन् । हिजो यिनै जनताले मत दिंदा ठिक, अहिले मत नदिंदा बेठिक भन्ने हुँदैन । जनतासंग रहेको विकल्प भनेको एउटा दलबाट भएन भने अर्को दल खोज्ने हो । बहुदलिय व्यवस्थामा दलको विकल्प भनेको अर्को दल हो । कहिले काँग्रेस, कहिले एमाले, कहिले माओवादी, कहिले नेकपा हुँदै यतिवेला रास्वपालाई मत दिएका छन् । चुनावको मुद्दा एउटैले सधै धान्दैन । एमालेले बृद्ध भत्ताको कुरा धेरै बर्ष चलायो । त्यो चल्यो । अहिले औषत नेपालीको एक परिवारबाट एकजना विदेश गएको अवस्था छ । विदेश गएकाहरुले दुःख गरेर रकम कमाएका छन् । परिवारका सदस्यतले त्यो पैसा देखेका छन् । व्यक्तिको स्तर बढेको छ तर त्यसको साटो देशको स्तर उठ्न सकेको छैन । नागरिकलाई प्राथमिकतामा राखेर काम हुने गरेको छैन । नागरिकमा रहेको यहि गुनासो सम्वोधन गर्नबाट पुराना दलहरु चुकेका हुन । अहिले कुनै कारणले बहुमत पाएको दलले सहि तरिकाले काम गर्न सकेन भने विकल्पमा अर्को आउँछ । यसरी आउने विकल्प भनेको काँग्रेस, एमाले वा माओवादी नभएर नयाँ कोही हुन सक्छ । अहिले आएको हर्क साम्पाङको दल देशव्यापी हुन सक्छ । फरक तरिकाले उसप्रति विश्वास बढ्न सक्छ । अवसर पाएको समयमा काम गर्न सकिएन भने अर्को पटक अवसर आउँछ वा आउँदैन यसै भन्न सकिदैन । आज यिनै पार्टीमा लागेर कतिले जवानी सकेका छन् । यहि पार्टीमा पालो आउला र केही योगदान गरौंला भनेर बसिरहेका छन् । तर पालो आउने होइन कि पार्टी नै सक्किने हो कि भन्ने अवस्थामा पुग्न थालेको आभाष भइरहेको छ । यस्तो अवस्थामा पुराना दलसंग सच्चिने होइन कि सक्किने भन्दा अर्को विकल्प छैन । अहिले जिम्मेवारी पाएकोले राम्रो नगरोस र आफ्नो पालो आउला भनेर कुरेर बस्ने हो भने त्यो अवस्था आउने छैन । एक पटक धुलो भएर पुनः आकार ग्रहण गर्ने गरी समीक्षा गर्न तयार हुनुपर्ने अवस्था छ । अहिलेको आकार, आकृति र स्वभावले धान्नेवाला छैन भन्ने कुरा कम्तिमा पनि बुझनु पर्ने हुन्छ ।

निर्वाचनपछि नयाँ सरकार बन्ने तयारीमा छ । यतिवेला नयाँ सरकार नवन्दै अनेकन टिका टिप्पणि थालिएका छन् । यो सरकार नवन्दै विवाद उत्पन्न भएको भन्ने कुरा आइरहेको छ । ठूलो दल हुँदा बाद विवाद हुने कुरा स्वभाविक हो । तर यहि विषयलाई रौं चिरा पार्ने गरी पहिलेका दलहरु नलाग्दा हुन्छ । काँग्रेस, एमाले र माओवादीले सिद्धान्तलाई पोलेर खाइसकेका छन् । एउटाले अर्कोको चिन्हमा मतदान गर्न लगाएका छन् । यि तीन पार्टी होइन कि एउटै पार्टी तीनवटा गुट जस्तो भएका छन् । कहिले एउटा अर्काेसंग मिलेर सरकार बनाउँछ । कहिले एउटाले अर्कोलाई गाली गर्दछ । राजनीतिक संस्कार समेत बाँकी नराखेर गाली गलौचमा उत्रनेहरु पनि यिनै हुन । पार्टी भित्र फरक मत राख्दा त्यसलाई भित्तामै पु¥याएर समाप्त पार्नेहरु यिनै हुन । पराजयको सिस्नोले पोलेपछि झसंग भएकाहरुले अहिले आत्म समीक्षा गरेर विगतका गतिविधीप्रति पश्चाताप गर्छन कि गर्दैनन् ? जे दिन्छौं भनेर जनतासंग मत मागे र पाए त्यो पुरा गर्न सके कि सकेनन् ? समीक्षाको कसीमा आफै उत्रिन सके भने मात्रै मतप्रति न्याय हुने थियो । निर्वापछिको समीक्षामा जे भनिएपनि अव सक्किनका लागि तयार हुनुको विकल्प छैन । २०७९को निर्वाचनमा घण्टी बजिसकेको थियो । सच्चिने कि सक्किने भन्ने विकल्प त्यतिवेला थियो । अहिले भनेको सच्चिन्छु भनेर भन्न पनि नसक्ने गरी खाडलमा खसिसकेको अवस्था छ । यो खाडलबाट चिच्चाएर कराउँदा पनि कसैले सुन्नेवाला छैन ।
sharadreetu@gmail.com

 

‘अदालतकी छोरी’लाई सम्मान

अव निर्मम समीक्षा गर्नुपर्छ–प्रधानन्यायाधीश

राप्ती पोष्ट

दाङ, चैत । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जेनजी आन्दोलनका क्रममा असाधारण साहस प्रदर्शन गरी दाङ जिल्ला अदालतलाई सम्भावित क्षतिबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी प्रहरी जवान संगीता अधिकारीलाई विशेष सम्मान प्रदान गर्नुभएको छ । न्यायालयको गरिमा, सुरक्षा र निरन्तरताका लागि संकटपूर्ण अवस्थामा देखाउनुभएको उहाँको दृढता र समर्पणको उच्च मूल्याङ्कन गर्दै प्रधानन्यायाधीश राउतले उहाँलाई ‘अदालतकी छोरी’ का रूपमा सम्बोधन गर्नुभयो ।

जेनजी आन्दोलनका क्रममा क्षति भएका अदालतको निरिक्षण र जिल्ला अदालत जोगाउन महत्वपूर्ण भूमिका खेल्ने अधिकारीलाई सम्मान गर्नका लागि दाङ आएको बताउँदै प्रधानन्यायाधीश राउतले भदौ २४ गतेका दिन भएको जेनजी आन्दोलनको स्मरण गर्नुभयो । सो आन्दोलनका क्रममा देशभरका विभिन्न अदालतहरूमा तोडफोड र आगजनीका घटना भएका थिए । उहाँका अनुसार उक्त दिन २३ वटा अदालतमा क्षति पुगेको थियो, जसले न्याय प्रणालीमै गम्भीर चुनौती उत्पन्न गरेको थियो ।

प्रधानन्यायाधीश राउतले त्यसबेला आफूले जलेका सबै अदालतहरूको अवलोकन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको स्मरण गराउँदै भन्नुभयो, ‘त्यस समयमा मैले जलेका सबै अदालतहरू हेर्ने प्रतिवद्धता व्यक्त गरेको थिएँ। त्यही क्रममा आज यहाँ आएको हुँ ।’ उहाँका अनुसार सो घटनाले न्यायपालिकाको संरचना मात्र होइन, जनविश्वासमा समेत गम्भीर प्रश्न खडा गरेको थियो । भदौ २५ गतेको दिनको अनुभव स्मरण गर्दै उहाँले भन्नुभयो, ‘त्यतिबेला हाम्रो ध्यान आगो निभाउने र अदालतको सुरक्षा सुनिश्चित गर्नेमा केन्द्रित थियो । सुरक्षाको प्रत्याभूति कसरी दिलाउने भन्ने विषयमा सुरक्षा निकायसँग पटक–पटक संवाद गरिएको थियो ।’ उहाँका अनुसार त्यस्तो कठिन परिस्थितिमा पनि संवैधानिक जिम्मेवारी निर्वाह गर्दै अदालत सञ्चालनलाई निरन्तरता दिनु ठूलो चुनौती थियो ।

उहाँले थप उल्लेख गर्नुभयो कि, ‘त्यो समय यस्तो थियो, जहाँ कोही पनि सहज रूपमा अगाडि आउन सक्ने अवस्था थिएन । तर त्यही अवस्थामा केही व्यक्तिहरूले असाधारण साहस प्रदर्शन गर्नुभयो, जसले न्यायालयलाई जोगाउने काम ग¥यो ।’
यही सन्दर्भमा दाङ जिल्ला अदालतलाई सम्भावित आगजनी र तोडफोडबाट जोगाउन प्रहरी जवान संगीता अधिकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले भन्नुभयो, ‘उहाँले देखाउनुभएको साहस र समर्पण लामो समयसम्म स्मरणीय रहनेछ । यो केवल पदिय दायित्वको निर्वाह मात्र नभई अविचलित निष्ठाको उदाहरण हो ।’

प्रधानन्यायाधीश राउतका अनुसार संगीता अधिकारीको योगदानले न्यायालयप्रतिको कर्तव्यबोध, समर्पण र जिम्मेवारीको उच्च उदाहरण प्रस्तुत गरेको छ । ‘यदि सबैले उहाँजस्तै जिम्मेवारी र साहस देखाउने हो भने, यस्तो क्षति हुनै सक्दैनथ्यो,’ उहाँले भन्नुभयो । उहाँले संगीता अधिकारीलाई ‘अदालतकी छोरी’ को रूपमा सम्वोधन गर्र्दै भन्नुभयो, ‘उहाँ प्रहरीको ड्युटीमा हुनुहुन्थ्यो, तर अदालतलाई जोगाउन जुन योगदान गर्नुभयो, त्यसले उहाँलाई न्यायालयकै सदस्यजस्तै बनाएको छ ।’

कार्यक्रममा बोल्दै न्याय प्रणालीको सुधार र सेवा प्रवाहको विषयमा पनि प्रधानन्यायाधीश राउतले महत्वपूर्ण धारणा राख्नुभयो। उहाँले अदालतको सेवा प्रवाहलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘अदालतले दिने सेवा पहिलेभन्दा फरक र प्रभावकारी हुनुपर्छ । त्यसका लागि हामीले आफैभित्रबाट निर्मम समीक्षा गर्नुपर्ने हुन्छ ।’
उहाँका अनुसार न्याय प्रणालीमा देखिएका कमजोरीहरूलाई स्वीकार गर्दै सुधारको दिशामा अघि बढ्नु आवश्यक छ । ‘कतिपय कुरा संकेतका रूपमा आउँछन्, जसलाई हामीले बुझ्नुपर्छ र फरक ढंगले सोच्नुपर्छ,’ उहाँले भन्नुभयो । प्रधानन्यायाधीश राउतले न्यायालय केवल न्याय दिने संस्था मात्र नभई राज्यका अन्य निकायहरूको सञ्चालनमा समेत महत्वपूर्ण भूमिका खेल्ने संस्था भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अदालत सञ्चालनमा आएपछि मात्रै अन्य धेरै सरकारी कार्यालयहरू सुचारु रूपमा चल्न सक्छन । नगरपालिका, नापी, मालपोत, प्रहरी प्रशासन सबै अदालतसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन् ।’

उहाँका अनुसार समाज अस्थिर अवस्थामा पुगेका बेला न्यायालयको भूमिका अझ महत्वपूर्ण हुन्छ । ‘जब समाज अस्तव्यस्त हुन्छ, तब सबैले फरक ढंगले सोच्नुपर्छ । न्यायको मन्दिरलाई प्रदूषित हुनबाट जोगाउनु हाम्रो साझा दायित्व हो,’ उहाँले स्पष्ट पार्नुभयो । उक्त अवसरमा गत भदौ २४ गतेका दिन क्षति भएको कार्यालय भवनको भिडियो समेत प्रस्तुत गरिएको थियो ।
सम्मान कार्यक्रम जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला अदालतका श्रेष्तेदार भूपाल भण्डारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम पश्चात अदालतमा भएको क्षतिको बारेमा छानविन भइरहेको छ कि छैन ? भन्ने संचारकर्मीको जिज्ञासामा त्यो छानविन गर्ने र अनुसन्धान गर्ने निकाय आफूहरु नरहेको बताउनुभयो ।

कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भूपेन्द्र खत्री, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल लगायत न्याय क्षेत्र तथा प्रशासनिक क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
सोही अवसरमा प्रधानन्यायाधीश राउतले तुलसीपुरस्थित उच्च अदालतको समेत अवलोकन गर्नुभएको थियो । भदौ २४ गते तुलसीपुर उच्च अदालत, सरकारी वकिलको कार्यलयहरुमा क्षति भएको थियो । घोराहीमा उहाँले जिल्ला बार घोराहीको कार्यालयमा पुगेर कानुन व्यवसायीहरूसँग पनि छलफल गर्नुभएको थियो । उहाँको दाङ भ्रमणले न्यायालयप्रतिको जनविश्वास अभिवृद्धि गर्नुका साथै न्याय प्रणाली सुधारका लागि आवश्यक संवाद र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

 

लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा बालबालिका लक्षित कार्यक्रम

वक्त्तृत्वकला प्रतियोगितामा बालबालिकाहरुको उत्साहपूर्ण सहभागिता

राप्ती पोष्ट

घोराही, ३ चैत । घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा दैनिक विशेष कार्यक्रमहरु सञ्चालन भईरहेको छन् । जस अन्तरगत मंगलवार बालबालिका लक्षित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म आयोजना गरिएको ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सव ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा मंगलवार शिक्षा तथा बालबालिका विशेष कार्यक्रम अन्तरगत विद्यार्थीहरुबिच भएको वक्तृत्वकला प्रतियोगितामा बालबालिकाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

‘स्वदेशी उत्पादनको प्रयोग, देश समृद्धिको अवसर’ विषयक वक्तृत्वकला प्रतियोगितामा जिल्लाका निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोतिामा सहभागी बालबालिकाहरुले आफ्नो प्रस्तुति मार्फत स्वदेशी उत्पादनको प्रयोगका विषयमा भनाई राखेका थिए । नेपाल परनिर्भर हुनु परेको वास्तविकता दर्शाउदै आयात भन्दा निर्यात गर्नका लागि नेपाल सरकारले योजना बनाएर काम गर्नुपर्ने बताएका थिए । उनीहरुले स्वदेशी उत्पादनको प्रयोग भन्दा पनि स्वदेशी देखावटी वस्तुको प्रयोगमा नेपालीहरु भुलिरहेकाले देश समृद्धिको मार्गमा जान नसकेको उनीहरुको भनाई थियो । स्थानीय उत्पादनको प्रयोग गरेर स्थानीय उद्योगहरुको प्रवद्र्धन गर्न आवश्यक रहेको उनीहरुको भनाई थियो ।

प्रतियोगितामा मनकामना ईङ्लिस सेकेण्डरी स्कूलकी छात्रा यमुना बाँठा मगर प्रथम, विद्यानिलकण्ठ सेकेण्डरी स्कूलका छात्रा स्वयम्भिका बस्नेत द्वतिय र ज्ञानमाला एकेडेमीका उन्नती के.सी तृतिय हुनुभएको थियो । प्रतियोगिताको निर्णायकमा प्रदीप मज्गैँया, बिनोद के.सी र सुशीला आचार्य रहनुभएको थियो । कार्यक्रम संयोजक सरद अधिकारीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव एवं घोराही बनाउ अभियानका संयोजक सविन प्रीयासनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रीयासनले सरकारले स्थानीय साना तथा घरेलु उद्योगको उत्पादनलाई बजारिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले निजि क्षेत्रका उद्योगहरुलाई प्रोत्सान गर्ने गरि कार्यक्रमहरु सञ्चालन गर्न सकेमा प्रभावकारी हुने बताउनुभयो । महोत्सवले विद्यार्थी केन्द्रिय कार्यक्रमहरु सञ्चालन गरेकोमा धन्यवाद दिदै महोत्सव सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा बोल्दै महोत्सव आयोजक मूल समितिका संयोजक एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारीले महोत्सवलाई विशेष बनाउनका लागि दैनिक विशेष कर्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुको क्षमता प्रवर्शन, स्थानीय कला संस्कृतिको जागरण गर्ने एवं व्यवसायिक, सामािजक, बालबालिका, महिला, युवा, उद्यमीहरु लक्षित कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । साथै सरकारले साना तथा घरेलु उद्योगहरुलाई सहज व्यवसाय सञ्चालनका लागि वातावरण गराउन सरकारसँग माग गर्नुभयो ।

प्याब्सन घोराही नगरका सचिव विमल भण्डारीले यस महोत्सवले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएका प्रतियोगितात्मक कार्यक्रमहरुले स्थानीय बालबालिकाहरुको प्रतिभा प्रदर्शन गर्ने थलो बनेको बताउनुभयो । कार्यक्रमको सहजिकरण महोत्सवका प्रचारप्रसार उपसमितिका संयोजक आर.के.शीतलले गर्नुभएको थियो । विशेष कार्यक्रम अन्तरगत वुधवार व्यवसायिक क्षेत्रमा सुचना प्रविधकिो प्रयोग समस्या र सुरक्षा विषयक प्यानल डिस्कसन हुने महोत्सव आयोजक मूल समितिका संयोजक लव अधिकारीले जानकारी दिनुभयो ।

बुधवार गायिक ज्योति मगरको प्रस्तुति

महोत्सवमा वुधवार गायिक ज्योति मगरको प्रस्तुति रहने भएको छ । महोत्सवको आकर्षणको रुपमा रहेको सांस्कृति कार्यक्रम अन्तरगत ज्योति मगरको प्रस्तुति रहने आयोजक मूल समितिले जानकारी दिएको छ । महोत्सवमा वुधवार गायिका ज्योति मगरसँगै गायक विसाल सोनी, शान्तराम सेञ्चुरी, आर.जे.रास्कोटी, विष्णु सुनार लगायतको प्रस्तुति रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका महासचिव सीत मल्लले जानकारी दिनुभयो । महोत्सवमा मंगलवार कलाकारहरु सुमन बि.टी, अञ्जु कश्मी लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

प्रदेश स्तरिय महाेत्सव : बालमैत्री, बाल मनोविज्ञान र बालअधिकार सम्बन्धी छलफल

राप्ती पोष्ट

घाेराही, २ चैत . घाेराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महाेत्सवमा दैनिक विशेष कार्यक्रमहरू सुरू भएका छन् । महाेत्सवमा साेमवार बालबालिकासँग सम्बन्धीत अन्तरक्रिया भएकाे छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म  ‘घरेलु तथा साना उद्याेगकाे विकास र विस्तार, लुम्बिनी प्रदेश समृद्धिकाे आधार’ भन्ने नारा सहित आयाेजना गरिएकाे ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा साेमवार बालमैत्री, बाल मनाेविज्ञान र बालअधिकार सम्बन्धी प्यानलमा छलफल भएकाे छ ।
प्यानल डिस्कसनमा बालमैत्री विज्ञ दुर्गालाल केसी, नेपाल बाल संगठनका केन्द्रिय सदस्य विनोद केसी, मनोविमर्सकर्ता सुशिला आचार्य हुनुहुन्थ्यो । कार्यक्रममा बालमैत्री बिज्ञ केसीले जिल्लाका सवै पालिका अहिले पनि बालमैत्री हुन नसकेको बताउनुभयो । बालमैत्री घोषणा भएको घोराहीमा अनुगमनको काम भइरहेको छ । यो काममा परिवार, समाज सवै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।
यस्तै बाल संगठनका केन्द्रिय सदस्य केसीले बालमैत्री घोषणा गरेर मात्रै कर्तव्य पुरा नहुने धारणा राख्नुभयो । बालमैत्री घोषणा गर्ने तर अनुगमन नगर्ने चलन रहेको छ । सवैले पहशुस गर्न पाउनुपर्छ । स्थानीय सरकारका रुपमा रहेको सरकारले यो कुरामा बढी ध्यान दिनुपर्छ । बालवालिकाका लागि लगानी बढाउनुपर्छ ।
मनोसामाजिक विमर्शकर्ता आचार्यले बालवालिकामा मनोसामाजिक समस्या बढ्दै गएको बताउनुभयो । उहाँले बालवालिकामा देखिएको समस्या सवैभन्दा बढी अभिभावकले सुन्नुपर्ने बताउनुभयो । उहाँले बालवालिकाको कुरा सुन्ने र बुझ्ने व्यवहार चाहिने धारणा राख्नुभयो । बच्चालाई पैसा दिएर चुप लगाउने होइन कुरा सुन्नुपर्दछ ।
उक्त अवसरमा नगर बाल सञ्जालकी अध्यक्ष भुषालले बालवालिकालाई सुरक्षित बनाउनका लागि परिवारले भूमिका खेल्नुपर्ने बताउनुभयो । सवैभन्दा नजिकको साथी आमा वा बाबु हुने भएकाले आफ्नो समस्या सुनाउनुपर्ने उहाँको धारणा थियो ।
यस्तै नगर सञ्जालका सचिव लक्ष्मण भण्डारीले ग्रामिण क्षेत्रमा रहेका बालवालिकाहरु अधिकारबाट बञ्चित भएकाले त्यसका लागि राज्यका निकायले ध्यान दिनुपर्र्ने बताउनुभयो । उहाँले घोराही जस्तै अन्य पालिकालाई पनि बालमैत्री घोषणा गर्न आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रमकाे सहजिकरण पत्रकार अमर क्षितिज भण्डारीले गर्नु भएको थियोे ।
महाेत्सवमा मंगलबार ‘स्वदेशी उत्पादनको प्रयोग देश समृद्धिको अवसर’ विषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको मुल संयोजक तथा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लव अधिकारीले जानकारी दिनुभयो ।

प्रकाश दासले नचाए दर्शक

महाेत्सवमा साेमवार पनि चर्तीत कलाकारहरूकाे प्रस्तुति रहेकाे छ । साेमवार गायक प्रताप दास, ऋतु शाही लगायतका कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे । प्रताप दासले फाेटाे फिरिममा कहिले मिलन कहिले बिछाेड मायापिरिममा, फुल हाेईन काडा काडै बाटाे हिडाैला, तिमी र म जाउ माया कही टाढा लगायतका गीतहरू प्रस्तुति राख्नुभएकाे थियाे ।  साेमवार गायिका ऋतु शाहीले पनि प्रस्तुति राख्नुभएकाे थियाे ।
महाेत्सवमा मंगलवार गायक सुमन बि.टी, अञ्जु कुश्मी, गायक आर.जे.रास्काेती, गायिका विष्णु सुनार लगायतका कलाकारहरूकाे प्रस्तुति रहने आयाेजक मूल समितिले जानकारी दिएकाे छ

सामाजिक सेवा हुँदै साजिदाको संसदीय यात्रा

राप्ती पोष्ट

दाङ/ दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा सामाजिक सेवा, महिला सशक्तिकरण र समावेशी राजनीतिमा सक्रिय रूपमा चिनिने नाम हो, साजिदा सिद्दिकी । ०६० को दशकमा सामाजिक सेवामा जुट्नुभएकी सिद्दिकी संसदको यात्रामा पुग्ने यस क्षेत्रकै पहिलो मुस्लिम महिला बन्नुभएको छ ।

समाजसेवा, सामुदायिक नेतृत्व र राजनीतिक सक्रियताको संयोजनबाट पहिचान बनाउनुभएकी सिद्दिकी हाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट प्रतिनिधिसभाको समानुपातिक प्रणालीमार्फत सांसदमा मनोनित हुनुभएको छ । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै संघीय संसदमा पुग्नु उहाँका लागि मात्र नभई दाङका मुस्लिम समुदाय तथा महिलाका लागि पनि महत्वपूर्ण उपलब्धि मानिएको छ ।

साजिदा सिद्दिकीको जन्म दाङ जिल्लामा भएको हो र उहाँ घोराही क्षेत्रमै हुर्कनु–बढ्नुभएको हो । बहुसांस्कृतिक र बहुजातीय समाज रहेको दाङमा हुर्कँदै गर्दा उहाँले विभिन्न समुदायबीचको सहकार्य र सामाजिक समावेशिताको महत्व नजिकबाट अनुभव गर्नुभयो । यही अनुभवले उहाँलाई समाजसेवा र सार्वजनिक जीवनतर्फ आकर्षित गरेको बताइन्छ । बाल्यकालदेखि नै समाजका विभिन्न समस्याप्रति संवेदनशील स्वभाव भएकी सिद्दिकीले शिक्षा हासिल गर्ने क्रममा पनि सामाजिक काममा सक्रियता देखाउन थाल्नुभएको थियो । उहाँको आफ्नो समुदायमा रहेको दमनको प्रतिरोध गर्दै उहाँ सामाजिक सेवाबाट राजनीतिमा आउनुभएको थियो ।

साजिदा सिद्दिकी सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँ विशेषगरी महिला सशक्तिकरण, सामाजिक समावेशिता, शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा सक्रिय रहनुभएको छ । उहाँ सिसा नामक सामाजिक संस्थाकी अध्यक्ष समेत रहनुभएको छ । उक्त संस्थामार्फत महिला, बालबालिका तथा विपन्न समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सामाजिक चेतना अभिवृद्धि, सीप विकास, महिला आत्मनिर्भरता र सामुदायिक नेतृत्व विकास जस्ता गतिविधिमा संस्थाले काम गर्दै आएको छ ।

सिसा संस्थाको नेतृत्व सम्हाल्दै सिद्दिकीले विशेषगरी मुस्लिम समुदायका महिला तथा अन्य वञ्चित वर्गका महिलालाई सामाजिक तथा आर्थिक रूपमा सक्षम बनाउने अभियानमा योगदान दिनुभएको छ । ग्रामीण क्षेत्रमा महिला चेतना अभिवृद्धि गर्ने, बालबालिकाको शिक्षा सुनिश्चित गर्ने र सामाजिक समावेशिताको वातावरण निर्माण गर्ने कार्यमा उहाँको सक्रियता देखिन्छ । सिद्दिकी महिला अधिकार र समावेशी समाज निर्माणका पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ । उहाँले समाजमा अझै पनि विभिन्न समुदाय, विशेषगरी अल्पसंख्यक तथा मुस्लिम महिलाले भोगिरहेका समस्या र चुनौतीबारे विभिन्न कार्यक्रममा आफ्ना धारणा व्यक्त गर्दै आउनुभएको छ । उहाँको विचारमा सामाजिक परिवर्तनका लागि महिलाको सहभागिता अत्यन्त आवश्यक छ । महिला शिक्षित र सशक्त भए समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उहाँको विश्वास छ । त्यसैले उहाँले महिला नेतृत्व विकास, सामाजिक सहभागिता र आर्थिक सशक्तिकरणका विषयमा विभिन्न कार्यक्रममार्फत काम गर्दै आउनुभएको छ ।

सामाजिक क्षेत्रबाट सक्रियता देखाउँदै आउनुभएकी सिद्दिकी क्रमशः राजनीतितर्फ पनि आकर्षित हुनुभयो । समाज परिवर्तनका लागि नीति निर्माणको तहमा पुग्नुपर्ने आवश्यकता महसुस गर्दै उहाँ राजनीतिक गतिविधिमा सक्रिय हुनुभएको बताइन्छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग आवद्ध रहँदै पार्टीको संगठन विस्तार तथा सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । पार्टीभित्र उहाँ केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत रहनुभएको छ । एमालेभित्र मुस्लिम समुदायका प्रतिनिधि व्यक्तित्वका रूपमा उहाँलाई चिनिन्छ । पार्टी संगठन सुदृढीकरण, समुदायमा राजनीतिक चेतना अभिवृद्धि तथा सामाजिक सद्भाव कायम गर्ने गतिविधिमा उहाँको सक्रियता रहेको बताइन्छ ।
एमालेले प्रतिनिधिसभाको समानुपातिक प्रणाली अन्तर्गत चयन गरेको सांसदको सूचीमा साजिदा सिद्दिकीको नाम समावेश भएको छ । मुस्लिम महिला क्लस्टरबाट उहाँ समानुपातिक सांसदमा मनोनित हुनुभएको हो ।

यो मनोनयनलाई दाङ जिल्लाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । विशेषगरी मुस्लिम समुदायबाट महिला प्रतिनिधित्व सुनिश्चित हुनु समावेशी लोकतन्त्रको दृष्टिले सकारात्मक कदम मानिएको छ । संसदमा पुगेसँगै सिद्दिकीले महिला अधिकार, सामाजिक समावेशिता, शिक्षा, स्वास्थ्य तथा अल्पसंख्यक समुदायका मुद्दालाई प्रभावकारी रूपमा उठाउने बताउनुभएको छ । दाङ जिल्लामा नेकपा एमालेबाट प्रत्यक्ष तर्फको सांसद नभएको अवस्थामा सिद्दिकीको उपस्थितिले यस क्षेत्रका मुद्दाहरु संसदसम्म पुग्ने अपेक्षा गरिएको छ । जिल्लाको धरातललाई राम्रोसंग बुझेको प्रतिनिधि भएकाले पनि उहाँको उपस्थितिलाई महत्वका साथ हेरिएको छ । सामाजिक सेवाबाट सुरु भएको साजिदा सिद्दिकीको यात्रा अहिले संघीय संसदसम्म पुगेको छ । समाजसेवा, महिला सशक्तिकरण र समावेशी राजनीतिप्रतिको उहाँको प्रतिबद्धता नै उहाँको पहिचान बनेको छ । दाङबाट मुस्लिम महिला प्रतिनिधिका रूपमा संसदमा पुग्नु उहाँको व्यक्तिगत उपलब्धि मात्र नभई समावेशी लोकतन्त्रको अभ्यासका लागि पनि महत्वपूर्ण सन्देश हो । आगामी दिनमा उहाँले संसदमा उठाउने आवाज र निर्वाह गर्ने भूमिकाले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

जिम्मेवार नागरिक

सम्पादकीय

भनिन्छ, नागरिक जिम्मेवार भए देश सुदृढ हुन्छ । लोकतन्त्र बलियो हुन्छ । वास्तवमा कुनै पनि राष्ट्रको शक्ति केवल उसको सेना, स्रोत वा संरचनामा मात्र निर्भर हुँदैन, त्यसको सबैभन्दा ठूलो आधार त्यहाँका नागरिकको चेतना, जिम्मेवारी र कर्तव्यबोधमा हुन्छ । यही कारणले आज विश्वका सबै लोकतान्त्रिक मुलुकहरूमा नागरिक सचेतना र जिम्मेवारीलाई विशेष महत्व दिइन्छ । जब नागरिक जिम्मेवार हुन्छन्, तब मात्र लोकतन्त्रको जग मजबुत हुन्छ र राष्ट्र विकासको मार्गमा अघि बढ्न सक्छ । जिम्मेवार नागरिक भन्नाले केवल अधिकारको माग गर्ने व्यक्तिलाई मात्र बुझिँदैन । जिम्मेवार नागरिक भनेको आफ्नो अधिकारसँगै कर्तव्य पनि बुझ्ने व्यक्ति हो। समाज, राष्ट्र र सार्वजनिक हितलाई ध्यानमा राखेर व्यवहार गर्ने व्यक्ति नै वास्तविक अर्थमा जिम्मेवार नागरिक हो । यस्तो नागरिकले कानुनको सम्मान गर्छ, सामाजिक मूल्य–मान्यतालाई जोगाउँछ र राष्ट्रको समृद्धिका लागि आफ्नो ठाउँबाट योगदान दिन्छ । अहिलेको लोकतान्त्रिक व्यवस्थामा नागरिकको भूमिका अत्यन्त महत्वपूर्ण छ । लोकतन्त्रमा जनताले नै शासन गर्ने भनिन्छ । तर त्यो शासन केवल मतदान गरेर प्रतिनिधि छान्ने प्रक्रियामा मात्र सीमित हुँदैन । मतदान लोकतन्त्रको महत्वपूर्ण अभ्यास अवश्य हो, तर जिम्मेवार नागरिकको भूमिका त्यसभन्दा धेरै फराकिलो हुन्छ । मतदानपछि पनि नागरिकले आफ्ना प्रतिनिधिहरूको कामकारबाहीमाथि निगरानी राख्नुपर्छ, राम्रो कामलाई प्रोत्साहन दिनुपर्छ र गलत कामको विरोध गर्नुपर्छ । यसरी नागरिक सक्रिय भए मात्रै लोकतन्त्रको वास्तविक अभ्यास सम्भव हुन्छ ।
जिम्मेवार नागरिक देशका खम्बा हुन् । उनीहरू देशका पहरेदार हुन् । लोकतन्त्रको मजबुत आधार पनि उनीहरू नै हुन् । जब नागरिक जागरुक हुन्छन्, तब सरकार र राज्यका संस्थाहरू पनि उत्तरदायी बन्न बाध्य हुन्छन् । नागरिकले प्रश्न गर्न थाले भने मात्र शासन व्यवस्था पारदर्शी र जवाफदेही बन्न सक्छ। त्यसैले नागरिक सचेतना लोकतन्त्रको प्राण हो । यदि नागरिक जिम्मेवार भए भने देशले प्रगति हासिल गर्न सक्छ । इतिहासले पनि देखाएको छ कि जहाँ नागरिक चेतनशील र जिम्मेवार छन्, त्यहाँ विकास तीव्र गतिमा अघि बढेको छ । जापान, दक्षिण कोरिया, जर्मनी जस्ता देशहरूको विकासमा त्यहाँका नागरिकको अनुशासन, मेहनत र जिम्मेवारीबोधले महत्वपूर्ण भूमिका खेलेको छ । नागरिकहरूले राष्ट्रलाई आफ्नो साझा घरका रूपमा बुझेर काम गरेपछि मात्रै राष्ट्र समृद्ध बन्न सक्छ । तर जब नागरिक आफ्नो जिम्मेवारीप्रति उदासीन हुन्छन्, तब समस्याहरू बढ्न थाल्छन् । जिम्मेवारीबोधको कमी हुँदा भ्रष्टाचार बढ्छ, सामाजिक अराजकता फैलिन्छ र लोकतान्त्रिक संस्थाहरू कमजोर बन्छन् । नागरिकले आफ्नो कर्तव्य बिर्से भने देशको प्रगति मात्र होइन, कहिलेकाहीँ राष्ट्रको अस्तित्वसमेत संकटमा पर्न सक्छ । इतिहासमा यस्ता उदाहरण पनि भेटिन्छन् जहाँ नागरिकबीचको विभाजन, असहिष्णुता र गैरजिम्मेवारीले राष्ट्रलाई ठूलो क्षति पु¥याएको छ । नागरिकले गर्ने सानो गल्तीले पनि ठूलो असर पार्न सक्छ । समाजमा फैलिने अफवाह, घृणा र हिंसात्मक प्रवृत्तिले राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । सार्वजनिक सम्पत्तिको दुरुपयोग, कानुनको अवज्ञा र सामाजिक उत्तरदायित्वप्रति उदासीनता जस्ता व्यवहारले राष्ट्रलाई पछाडि धकेल्छ । यसैले नागरिकले आफ्नो व्यवहारमा सचेत र जिम्मेवार हुन आवश्यक छ ।
जिम्मेवार नागरिक बन्नु भनेको केवल राजनीतिक क्षेत्रमा सक्रिय हुनु मात्र होइन । यो दैनिक जीवनसँग जोडिएको कुरा पनि हो । सडकमा ट्राफिक नियम पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, कर तिर्नु, वातावरण जोगाउनु, सामाजिक सद्भाव कायम राख्नु, यी सबै जिम्मेवार नागरिकताको उदाहरण हुन् । जब प्रत्येक नागरिकले आफ्नो दैनन्दिन व्यवहारमा जिम्मेवारी देखाउँछ, तब समाज स्वाभाविक रूपमा व्यवस्थित र समृद्ध बन्छ । आजको नेपालजस्तो लोकतान्त्रिक मुलुकमा नागरिकको जिम्मेवारी अझ बढेको छ । लोकतन्त्र केवल संविधान र संस्थाहरूले मात्र जोगिँदैन, यसलाई जोगाउने असली शक्ति नागरिक नै हुन् । नागरिक सचेत र सक्रिय भए भने लोकतन्त्रलाई कमजोर पार्ने कुनै पनि प्रयास सफल हुन सक्दैन । त्यसैले आजको आवश्यकता नागरिक सचेतना र जिम्मेवारीको भावना अझ बलियो बनाउनु हो । यसका लागि शिक्षा, सामाजिक संवाद र सकारात्मक राजनीतिक संस्कृतिको विकास आवश्यक छ । विद्यालयदेखि समाजसम्म नागरिक शिक्षालाई महत्व दिनुपर्छ । नागरिकले आफ्नो अधिकारसँगै कर्तव्य पनि बुझ्ने वातावरण निर्माण गर्नुपर्छ। साथै राज्यले पनि नागरिकलाई विश्वास गर्ने, सुन्ने र सहभागिताको अवसर दिने नीति अवलम्बन गर्नुपर्छ । राष्ट्र निर्माण केवल सरकारको काम होइन, यो सम्पूर्ण नागरिकको साझा जिम्मेवारी हो । जब प्रत्येक नागरिकले आफूलाई राष्ट्रको जिम्मेवार अंगका रूपमा महसुस गर्छ, तब मात्र देश सही दिशामा अघि बढ्छ । जिम्मेवार नागरिक भए भने मात्र देश सुदृढ हुन्छ, लोकतन्त्र बलियो हुन्छ र भविष्य सुरक्षित बन्छ । त्यसैले आजको सबैभन्दा ठूलो आवश्यकता जिम्मेवार नागरिकताको संस्कार विकास गर्नु हो ।

 

‘देवीकोट दर्शन दौड’ हुँदै,

के हुँदैछ देवीकोट दर्शन दौडमा

राप्ती पोष्ट

दाङ, २६ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर खुला ‘देवीकोट दर्शन दौड’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको देवीकोट क्षेत्रको प्रचार–प्रसार, पर्यटन प्रवद्र्धन र युवाहरूमा खेलप्रतिको रुचि बढाउने उद्देश्यले फागुन २९ गते उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
मंगलबार गाउँपालिकाले भालुवाङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार प्रतियोगिता फागुन २९ गते बिहान ७ बजेदेखि सञ्चालन हुनेछ । राप्ती गाउँपालिका–४ मौरीघाटबाट सुरु हुने दौड करिब आठ किलोमिटरको दूरी पार गर्दै राप्ती गाउँपालिका–९ स्थित ऐतिहासिक देवीकोट मन्दिर परिसरमा पुगेर सम्पन्न हुनेछ ।

गाउँपालिकाले आयोजना गर्न लागेको यो प्रतियोगिता महिला तथा पुरुष दुवैका लागि खुला रहेको छ । राष्ट्रव्यापी स्तरको प्रतियोगिता भएकाले देशभरका इच्छुक खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई ४० हजार रुपैयाँ र तृतीय हुनेलाई ३० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष विष्टले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने देवीकोट क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउन तथा स्थानीय पर्यटनलाई प्रवद्र्धन गर्न प्रतियोगिता महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार खेलकुदले मानिसको शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा सकारात्मक भूमिका खेल्ने भएकाले गाउँपालिकाले खेलकुदका यस्ता गतिविधिलाई प्राथमिकता दिँदै आएको छ । ‘देवीकोट क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।‘ अध्यक्ष विष्टले भन्नुभयो ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, खेलकुदकर्मी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले फागुन १८ गतेदेखि २८ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् ।

गाउँपालिकाका अनुसार दर्ता प्रक्रिया निःशुल्क राखिएको छ । खेलाडीहरूले राप्ती गाउँपालिकाको कार्यालयमा उपस्थित भएर वा इमेलमार्फत निवेदन पठाएर नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ । हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका गरी करिब १७ जना भन्दा बढी खेलाडीहरूले आफ्नो नाम दर्ता गराइसकेको जानकारी गाउँपालिकाले दिएको छ ।
गाउँपालिकाले आगामी दिनमा प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको संख्या अझ बढ्ने अपेक्षा गरेको छ । विशेषगरी मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट खेलाडीहरू सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगिताले खेलकुद गतिविधि विस्तारका साथै स्थानीय स्तरमा खेल संस्कृतिको विकासमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

देवीकोट क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । प्राचीनकालदेखि नै श्रद्धालुहरूको आस्था केन्द्रका रूपमा रहेको यो मन्दिर परिसरमा वर्षेनी विभिन्न धार्मिक गतिविधि तथा मेला महोत्सवहरू आयोजना हुँदै आएका छन् । पछिल्ला वर्षहरूमा स्थानीय तह र प्रदेश सरकारको पहलमा यहाँका धार्मिक तथा पर्यटकीय संरचनाहरूको विकासमा पनि ध्यान दिन थालिएको छ ।

गाउँपालिकाका अनुसार देवीकोट क्षेत्रमा मन्दिरको जीर्णोद्धार, पदमार्ग निर्माण तथा अन्य आधारभूत पूर्वाधार विकासका कामहरू पनि अघि बढाइएका छन् । यसले गर्दा धार्मिक पर्यटनको सम्भावना बढ्दै गएको स्थानीयवासी बताउँछन् । यदि उचित योजना र प्रचार–प्रसारका साथ यहाँको विकास गर्न सकियो भने देवीकोट क्षेत्र लुम्बिनी प्रदेशकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्न सक्ने विश्वास गरिएको छ ।

राप्ती गाउँपालिकाले स्वर्गद्वारी, अम्बिकेश्वरी मन्दिर र देवीकोटलाई समेटेर धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्ने दीर्घकालीन योजना पनि अघि सारेको छ । यी तीनवटै धार्मिक स्थललाई एउटै पर्यटन मार्गमा जोड्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने र स्थानीय आर्थिक गतिविधि पनि सशक्त बन्ने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा पर्यटनको विकास हुँदा होटल, यातायात, कृषि उत्पादन तथा हस्तकला व्यवसायजस्ता क्षेत्रले पनि लाभ पाउने विश्वास गरिएको छ । गाउँपालिकाले धार्मिक तथा प्राकृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखेको जनाएको छ ।

देवीकोट दर्शन दौड प्रतियोगिताले धार्मिक पर्यटन र खेलकुदलाई एकसाथ जोड्ने प्रयास गरेको गाउँपालिकाको भनाइ छ। खेलकुद गतिविधि र धार्मिक आस्थाको संगमले यस क्षेत्रको पहिचान अझ व्यापक रूपमा फैलिने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले प्रतियोगितामा देशभरका खेलाडी, युवावर्ग तथा सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ । प्रतियोगिताले देवीकोट क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्दै स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । स्थानीयवासीहरू पनि यस्तो कार्यक्रमले गाउँपालिकाको पहिचान राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा व्यक्त गर्छन् । धार्मिक, सांस्कृतिक र खेलकुद गतिविधिलाई एकसाथ अघि बढाउने प्रयासले राप्ती क्षेत्रको समग्र विकासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।

दाङका तीनै क्षेत्रमा कस कसको भयो जमानत जफत

राप्ती पोष्ट

दाङ, फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फ दाङ जिल्लाका तीनै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवारहरूले स्पष्ट विजय हासिल गर्दा अन्य राजनीतिक दल र सवै स्वतन्त्र उमेदवारको जमानत जफत भएको छ । निर्वाचन जित हात पार्ने सवैको लक्ष्य हुन्छ तर जमानत जोगाउन सक्नु अर्को उपलव्धि जस्तो हुन्छ । निर्वाचन ऐनअनुसार प्रत्यक्षतर्फ उम्मेदवार बनेका व्यक्तिले कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसकेमा उसको जमानत जफत हुने व्यवस्था छ । गएको निर्वाचनमा दाङ क्षेत्र नम्बर १, २ र ३ मा धेरै उम्मेदवारले न्यून मत प्राप्त गरेका कारण जमानत जफत भएको देखिएको छ भने मुख्य प्रतिस्पर्धी दलका केही उम्मेदवारले मात्र आफ्नो जमानत जोगाउन सकेका छन् ।

दाङ–१ मा रास्वपाका उम्मेदवार देवराज पाठक ४२ हजार छ सय दुई मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १५ हजार दुई सय ८० मत प्राप्त गर्नुभयो भने तेस्रो स्थानमा नेकपा ९एमाले० का रेवतीरमण शर्मा घिमिरेले छ हजार आठ सय २५ मत प्राप्त गर्नुभयो । चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरी चार हजार नौ सय ६५ मतमा सिमित रहनुभयो । क्षेत्र नं। १ मा दुई जना उमेदवारको मात्रै जमानत जोगिएको छ ।
यस क्षेत्रको कुल सदर मत झण्डै ८० हजारको हाराहारीमा थियो । त्यसअनुसार जमानत जोगाउन कम्तीमा करिब आठ हजार मत आवश्यक पर्दथ्यो । यस आधारमा दाङ–१ मा रास्वपाका देवराज पाठक, नेपाली कांग्रेसका योगेन्द्र चौधरी मात्रै जमानत जोगाउन सफल हुनुभयो । नेकपाका चौधरी, एमालेका शर्मा घिमिरे सहित अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूले १० प्रतिशत मतको सीमा पार गर्न नसक्दा उनीहरूको जमानत जफत भएको छ ।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय वीसी, राष्ट्रिय जनमोर्चाका गणेश प्रसाद आचार्य, नेकपा माओवादीका प्रकाश शाही, जनता समाजवादी पार्टीका भरतलाल चौधरी, राष्ट्रिय रिपब्लिक नेपालका मीनबहादुर थेडी मगर, मंगोल नेशनल अर्गनाइजेसनका खुमबहादुर गाहा मगर, आम जनता पार्टीका सिताराम यादव, राष्ट्रिय परिवर्तन पार्टीका रणजीत चौधरी, स्वतन्त्र उम्मेदवार मलिकराम यादव तथा कुलप्रसाद केसी लगायतका उम्मेदवारहरूले निकै न्यून मत पाएपछि जमानत जफत भएको छ ।

दाङ क्षेत्र नम्बर २ मा पनि त्यस्तै अवस्था देखिएको छ । यहाँ रास्वपाका उम्मेदवार विपिनकुमार आचार्यले भारी मतान्तरका साथ विजय हासिल गर्नुभयो । उहाँले करिब ४३ हजार पाँच सयभन्दा बढी मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एमालेका प्रभावशाली नेता शंकर पोखरेल दोस्रो स्थानमा रहँदै करिब १५ हजारभन्दा बढी मत ल्याउनुभयो भने नेपाली कांग्रेसका किरणकिशोर घिमिरे तेस्रो स्थानमा करिब ११ हजार पाँच सयभन्दा बढी मत प्राप्त गर्न सफल हुनुभयो । यस क्षेत्रमा कुल सदर मतका आधारमा जमानत जोगाउन सात हजार पाँच सय भन्दा बढी मत आवश्यक पर्ने थियो । यस क्षेत्रमा रास्वपाका विपिनकुमार आचार्य, एमालेका शंकर पोखरेल र नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले मात्र जमानत जोगाउन सक्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यको पनि जमानत जोगिएको छैन ।

यस क्षेत्रमा नेकपा, राप्रपा, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले अपेक्षाकृत निकै कम मत पाएपछि उनीहरूको जमानत जफत भएको देखिन्छ । विशेषगरी एमालेका प्रभावशाली नेता तथा पूर्वमुख्यमन्त्री पोखरेल दोस्रो स्थानमा सीमित हुनु र रास्वपाले भारी मतान्तरले जित्नु देशमै चर्चित राजनीतिक घटना भएको छ । दाङ क्षेत्र नम्बर ३ मा पनि समान प्रवृत्ति देखिएको छ । यहाँ रास्वपाका कमल सुवेदीले ४४ हजार दुई सय ४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गिरीले १६ हजार चार सय ५३ मत प्राप्त गर्नुभयो भने एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत ल्याउनुभयो । यस क्षेत्रमा कुल सदर मत झण्डै ८० हजारको आसपासमा रहेको थियो । यस अनुसार दाङ–३ मा रास्वपाका कमल सुवेदी, नेपाली कांग्रेसका दीपक गिरी र एमालेका घनश्याम पाण्डेले मात्र जमानत जोगाउन सफल हुनुभयो । प्रदेश सभाबाट राजीनामा दिएर निर्वाचनमा होमिनुभएका नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले पनि जमानत जोगाउन सक्नु भएन ।

अन्य सबै साना दल र स्वतन्त्र उम्मेदवारहरूले १० प्रतिशत मत कटाउन नसकेपछि उनीहरूको जमानत जफत भएको छ । समग्रमा दाङ जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा नयाँ दल रास्वपाले भारी मतान्तरका साथ विजय हासिल गर्दै परम्परागत दलहरूलाई ठूलो चुनौती दिएको छ । यस्तै मुख्य प्रतिस्पर्धा प्रायः तीन दलबीच सीमित देखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका प्रमुख निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितका अनुसार तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये सीमित उम्मेदवारले मात्र आवश्यक मत प्राप्त गरेर जमानत जोगाएका छन् भने अधिकांश उम्मेदवारले आवश्यक मत नपुग्दा जमानत जफत भएको छ । उहाँले निर्वाचनको अन्तिम मतपरिणामका आधारमा क्षेत्र नम्बर १ मा दुई जनाले मात्रै जमानत जोगाएका छन् । यो क्षेत्रबाट नेकपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बन्नुभएका कुलप्रसाद केसीले एक हजार आठ सय ६७ मत प्राप्त गर्नुभयो ।

प्रमुख निर्वाचन अधिकृत पण्डितले निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको बताउनुभयो । उहाँले निर्वाचनमा धेरै उम्मेदवार सहभागी भए पनि आवश्यक मत प्राप्त गर्न नसकेका कारण जमानत जफत हुने अवस्था देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन आयोगको नियमअनुसार कुल सदर मतको न्यूनतम १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ । सोही प्रावधानका आधारमा दाङका अधिकांश उम्मेदवारको जमानत जफत भएको हो ।

सामाजिक अभियन्ता योगीलाई उत्कृष्ट महिला सम्मान

राप्ती पोष्ट

दाङ, फागुन ।  कुनै समय गाउँका महिलाहरू घरको चुलो–चौकोमै सीमित रहने सामाजिक संरचनामा परिवर्तन ल्याउने सपना देख्नु पनि ठूलो साहस मानिन्थ्यो । त्यही समय महिलालाई शिक्षित, सचेत र आर्थिक रूपमा सक्षम बनाउने उद्देश्य लिएर गाउँ–गाउँ पुगेकी एक महिला अहिले समाजसेवाको क्षेत्रमा उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित हुनुभएको छ, उहाँ हुनुहुन्छ विमला योगी ।

समाजसेवामा दीर्घकालीन योगदान पु¥याएको कदर गर्दै त्रिभुवननगर जेसिजले आइतबार विमला योगीलाई “शारदा खगराज लोहनी उत्कृष्ट महिला पुरस्कार–२०२६” प्रदान गरेको छ । समाजसेवा, महिला सशक्तीकरण र आर्थिक रूपान्तरणका क्षेत्रमा लामो समयदेखि निरन्तर काम गर्दै आउनुभएकी योगीलाई यो सम्मान प्रदान गरिएको हो । दाङ जिल्लामा महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक चेतना अभिवृद्धि गर्न उल्लेखनीय भूमिका खेल्दै आउनुभएकी योगीको योगदानलाई सम्मानस्वरूप त्रिभुवननगर जेसिजले यो पुरस्कार प्रदान गरेको हो । समाज रूपान्तरणका लागि उहाँले देखाएको प्रतिबद्धता, साहस र समर्पणका कारण जिल्लामा सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ ।
योगीले आफ्नो जीवनको ठूलो समय समाजसेवामा समर्पित गर्नुभएको छ । विशेषगरी महिलाहरूलाई संगठित गर्ने, शिक्षित बनाउने र आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि उहाँले निरन्तर संघर्ष गर्नुभएको छ । महिलाहरूको सामाजिक उत्थानका लागि काम गर्दा उहाँले धेरै कठिनाइहरू पनि सामना गर्नुप¥यो । तर ती सबै चुनौतीका बीच पनि उहाँ आफ्नो उद्देश्यबाट कहिल्यै पछि हट्नुभएन ।

एक समय यस्तो पनि थियो, जब गाउँका महिलाहरू घरको सीमाभित्र मात्र सीमित रहने सामाजिक मान्यता थियो । महिलाले बाहिर निस्केर सामाजिक गतिविधिमा संलग्न हुनु राम्रो मानिँदैनथ्यो । शिक्षा, आर्थिक गतिविधि वा राजनीतिक सहभागितामा महिलाको भूमिका न्यून थियो । यही सामाजिक संरचनालाई परिवर्तन गर्ने लक्ष्यका साथ विमला योगीले आफ्नो अभियान सुरु गर्नुभएको थियो । महिलाहरूको सामाजिक उत्थानका लागि काम गर्ने क्रममा उहाँले एउटा महत्वपूर्ण कुरा बुझ्नुभयो । आर्थिक रूपान्तरणबिना सामाजिक रूपान्तरण सम्भव हुँदैन । महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म उनीहरूको सामाजिक स्थिति पनि मजबुत हुन सक्दैन भन्ने निष्कर्षमा उहाँ पुग्नुभयो । त्यसपछि उहाँले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानलाई प्राथमिकता दिन थाल्नुभयो ।

समाजका पीडित र उपेक्षित महिलाहरूको पीडा बुझ्न उहाँ गाउँ–गाउँ पुग्नुभयो । द्वन्द्वपीडित महिलाहरूका घरमा पुगेर उनीहरूको दुःख सुन्नुभयो । आँसु पुछ्नुभयो । महिलाहरूका साझा समस्याहरूलाई नजिकबाट बुझेर समाधान खोज्ने प्रयास गर्नुभयो । महिलाहरूलाई संगठित गर्दै उनीहरूलाई आत्मविश्वास र साहसका साथ अघि बढ्न प्रेरित गर्नुभयो । महिलाहरूलाई संगठित गर्ने क्रममा उहाँले समाजका विभिन्न समस्याहरू नजिकबाट देख्नुभयो । अशिक्षा, गरिबी, घरेलु हिंसा र जातीय विभेदजस्ता समस्या धेरै गाउँमा गहिरो रूपमा जरा गाडेर बसेका थिए । धेरै महिलाहरू आफ्नो नाम लेख्नसमेत नसक्ने अवस्थामा थिए । ल्याप्चे लगाएर कागजमा सहमति जनाउनुपर्ने अवस्था थियो ।

यही अवस्थालाई परिवर्तन गर्ने लक्ष्यका साथ विमला योगीले महिलाहरूका लागि साक्षरता अभियान सुरु गर्नुभयो । ल्याप्चे लगाउने महिलाहरूलाई हस्ताक्षर गर्न सक्ने बनाउनु उहाँको प्रमुख अभियान बन्यो । शिक्षाको उज्यालो बिना समाज परिवर्तन सम्भव छैन भन्ने विश्वासका साथ उहाँले शिक्षालाई प्राथमिकतामा राख्नुभयो । यस अभियानलाई संस्थागत रूपमा अघि बढाउन उहाँले एउटा महत्वपूर्ण निर्णय लिनुभयो । आफ्ना समकालीन साथीहरूलाई साथमा लिएर उहाँले २०५० सालमा “नेपाल महिला सामुदायिक सेवा केन्द्र” स्थापना गर्नुभयो । उहाँकै नेतृत्वमा स्थापना भएको यो संस्थाले महिलाहरूको चेतना अभिवृद्धि गर्ने उद्देश्य राख्यो ।

संस्थाको स्थापना पछि गाउँ–गाउँमा प्रौढ शिक्षा अभियान सञ्चालन गरियो । महिलाहरूलाई साक्षर बनाउने अभियान सुरु भयो। तर यो यात्रा सहज भने थिएन । गाउँमा प्रौढ शिक्षा अभियान सञ्चालन गर्न जाँदा विभिन्न अवरोध र विरोध पनि सामना गर्नुप¥यो । कतिपय गाउँमा उनीहरूलाई गाउँमै पस्न नदिने प्रयास गरियो । कतिपयले बहिष्कारसमेत गरे । “घर भाँड्न आएका” जस्ता आरोप लगाइयो। सामाजिक संरचना परिवर्तन गर्ने प्रयासलाई धेरैले सहज रूपमा स्वीकार्न सकेनन् । तर ती सबै आरोप र अवरोधका बीच पनि विमला योगी आफ्नो अभियानबाट पछि हट्नुभएन ।

रातको समयमा लाल्टिनको उज्यालोमा महिलाहरूलाई पढाउन सुरु गरिएको थियो । प्रौढ शिक्षा अभियानमार्फत महिलाहरूलाई अक्षर चिनाउने, हस्ताक्षर गर्न सिकाउने र सामाजिक चेतना जगाउने प्रयास गरियो। यस अभियानले धेरै गाउँका महिलाहरूको जीवनमा नयाँ उज्यालो ल्यायो । योगीका अनुसार गाउँ–गाउँमा असमानताका धेरै गम्भीर समस्या थिए । कतै घरेलु हिंसा थियो, कतै जातीय विभेदको समस्या थियो । गरिबी र अशिक्षाले धेरै महिलाको जीवन कठिन बनाएको थियो । यी सबै समस्याको मूल कारण चेतनाको कमी भएको उहाँले अनुभव गर्नुभयो । त्यसैले चेतनाको विकास नै समाज परिवर्तनको आधार हो भन्ने निष्कर्षमा पुगेर उहाँले शिक्षाको अभियानलाई अझ व्यापक बनाउनुभयो । प्रौढ शिक्षा अभियानमार्फत ग्रामीण महिलाहरूमा चेतना जगाउने प्रयासलाई निरन्तरता दिनुभयो ।

२०२५ सालमा घोराही उपमहानगरपालिका–१३ सेवार बनगाउँमा भएको हो । उहाँले उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयबाट प्राप्त गर्नुभएको छ । समाजशास्त्र तथा अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययन गर्नुभएको उहाँ शैक्षिक रूपमा पनि सक्षम व्यक्तित्व हुनुहुन्छ । शिक्षा र सामाजिक चेतनाको महत्व बुझेर उहाँले आफ्नो जीवनलाई समाजसेवामा समर्पित गर्नुभयो । विभिन्न संस्थागत पहलमार्फत महिलाहरूको आर्थिक सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्नुभयो । २०५४ सालमा उहाँले सामुदायिक बचत तथा ऋण सहकारी संस्था स्थापना गर्नुभयो । यस संस्थामार्फत महिलाहरूलाई बचत र ऋणको माध्यमबाट आर्थिक गतिविधिमा संलग्न गराउने प्रयास गरियो । यसले धेरै महिलाहरूलाई साना व्यवसाय सुरु गर्न सहयोग पुग्यो ।

त्यसैगरी २०७८ सालमा उहाँको पहलमा महिला सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापना गरिएको थियो । यसबाहेक अन्य विभिन्न बचत तथा महिला सहकारी संस्थाहरूको स्थापना र सञ्चालनमा पनि उहाँको महत्वपूर्ण भूमिका रहेको छ । आर्थिक सशक्तीकरणको क्षेत्रमा काम गर्दै उहाँ मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडमा दुई वर्ष प्रमुख कार्यकारी निर्देशकका रूपमा पनि कार्य गर्नुभएको छ । यस अवधिमा उहाँले ग्रामीण महिलाहरूलाई आर्थिक गतिविधिमा जोड्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुभयो ।

योगी विभिन्न सामाजिक तथा राजनीतिक संस्थाहरूमा पनि सक्रिय रहनुभएको छ । उहाँ महिला अधिकार र मानव अधिकारको क्षेत्रमा पनि निरन्तर सक्रिय हुनुहुन्छ । नेपाल मानव अधिकार संगठन दाङको पूर्वअध्यक्षको जिम्मेवारीसमेत उहाँले सम्हाल्नुभएको छ । २०४६ सालको जनआन्दोलनका क्रममा पनि उहाँ सक्रिय रूपमा सहभागी हुनुभएको थियो । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सहभागी हुँदै उहाँले लोकतन्त्र र नागरिक अधिकारका पक्षमा आफ्नो आवाज उठाउनुभएको थियो । समाजसेवामा उहाँले पु¥याएको योगदानका कारण विभिन्न संस्थाहरूले उहाँलाई सम्मान गर्दै आएका छन् । २०७९ सालमा उत्कृष्ट सामाजिक कार्यका लागि राष्ट्रपति कार्यालयबाट उहाँलाई सम्मान गरिएको थियो । यो सम्मान उहाँको समाजसेवाप्रतिको समर्पणको कदरका रूपमा हेरिएको छ । त्यसैगरी २०८० सालमा दाङ महिला जेसिजले पनि सामाजिक योगदानका लागि उहाँलाई सम्मान गरेको थियो । घोराही खानेपानी तथा सरसफाइ संस्थाले सामाजिक योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरेको थियो ।

घोराही उपमहानगरपालिकाले २०८० सालमा बालबालिकालाई सहयोग पु¥याएको योगदानका लागि उहाँलाई सम्मान गरेको थियो । लायन्स क्लब अफ घोराही सिटीले पनि महिला तथा बालबालिकाको सामाजिक तथा आर्थिक सशक्तीकरणमा योगदान पु¥याएको भन्दै उहाँलाई सम्मान प्रदान गरेको थियो । आज दाङका धेरै महिलाहरू साक्षर भएका छन्, आर्थिक रूपमा सक्रिय भएका छन् र सामाजिक गतिविधिमा आत्मविश्वासका साथ सहभागी भइरहेका छन् । यस परिवर्तनको यात्रामा विमला योगी जस्ता सामाजिक अभियन्ताहरूको ठूलो योगदान रहेको छ ।

हरेक बर्ष आठ मार्चमा वितरण गर्ने गरी पाँच लाख रुपैयाको अक्षयकोष सहित स्थापित पुरस्कार उहाँले पहिलो पटक पाउनुभयो । ‘यसै बर्ष देखि वितरण गर्न थालिएको हो, धेरै नामहरु आएका थिए तर उहाँको नाम छनौट भयो ।’ छनौट समितिमा रहुनभएका जेसिजका पूर्व अध्यक्ष समेत रहनुभएका कुमार राज श्रेष्ठले भन्नुभयो । त्रिभुवननगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको पनि उपस्थिति थियो । योगीलाई सम्मान गर्दै कार्कीले यस बर्ष जेसिजका हरेक शाखाहरुले आठ मार्चमा विभिन्न रचनात्मक कार्य गरेको बताउनुभयो । उहाँले नयाँ सोच बोक्नेहरुलाई सम्मान गरेर जेसिजले नयाँ थालनी गरेको बताउनुभयो । उहाँले महिलाको त्याग र समर्पणले मात्रै परिवर्तन सम्भव भएका धेरै उदाहरण रहेको बताउनुभयो । उहाँले युवाहरुले समाज परिवर्तनका लागि सकारात्मक सोच राख्नुपर्ने बताउँदै महिला शसक्तिकरणका लागि अनेकन कृयाकलापहरु गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, जिल्ला अध्यक्ष सन्तोष सुवेदी, दाङ महिला जेसिजकी अध्यक्ष अर्चना शर्मा, सिसा नेपालकी अध्यक्ष साजिदा सिद्दकी, पत्रकार महिला मञ्चकी अध्यक्ष लक्ष्मी आचार्य लगायतले बोल्नुभएको थियो । त्रिभुवननगर जेसिजकी पूर्व अध्यक्ष समेत रहनुभएकी खगराज लोहनी र शारदा लोहनीकी सुपुत्री माया लोहनीले पुरस्कार स्थापना गर्नुभएको हो । उहाँले पाँच लाख रुपैया अक्षयकोष बनाउनुभएको छ । सोही रकमको व्याजबाट हरेक बर्ष पुरस्कार प्रदान गरिन्छ । यो पहिलो बर्ष हो । पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा प्रतिक लोहनीले शारदा खगराज लोहनीका बारेमा बताउनुभएको थियो । कार्यक्रम संयोजक श्याम कुमार गिरीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन महासचिव बावुराम पाण्डेले गर्नुभएको थियो ।