राप्ती पोष्ट
घोराही, साउन । नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नं. १५ ले पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा घोराही–१४ स्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखामा बस्दै आएका अपांगता भएकाहरुका लागि खाद्यान्न सहयोग गरेको छ ।
एमालेका वडा नम्बर १५ का वडा अध्यक्ष पोमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य साजिदा सिद्धिकी लगायतले अपाङ्ग संघका जिल्ला अध्यक्ष रुपा ओलीलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा वक्ता नेपाल अपांगका केन्द्रीय उपाध्यक्ष शरद अधिकारीले पुष्पलाल श्रेष्ठले अंगिकार गरेको गरिब दुःखी असहायको सेवा गर्ने अभियान स्वरुप उहाँको स्मृतिमा अपांगता भएकाहरुलाई यस प्रकारको सहयोगले ठूलो हौसला मिल्ने बताउनुभयो ।
शाखा अध्यक्ष ओलीले सहयोग गर्ने दातालाई उक्त सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका किरण रेग्मी, अनिल आचार्य तथा अपांग संघका सचिव बसन्त भट्टलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन वडा नम्बर १५ का उपसचिव विनोदप्रसाद पाण्डेले गर्नुभएको थियो । नेकपा एमाले घोराही, १५ ले चामल, तेल, सर्फ, भुजा, नुन, मसला लगायतका सामग्री हस्तान्तरण गरेको थियो ।