spot_img
spot_img

दाङमा डेंगु संक्रमितहरु बढ्दै

घोराहीमा स्थानीय द्रूत प्रतिकार्य समिति

छबि पुरी/राप्ती पोष्ट

घोराही, १७ साउन । डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि दाङका स्थानीय सरकारले आन्तरिक तयारी तीव्र पारेका छन् । गत वर्ष डेंगुले जिल्लाका अधिकांश पालिकाका नागरिक बिरामी परेपछि यो पटक यसको नियन्त्रण तथा रोकथामको तयारी तीव्र पारिएको हो ।
जिल्लाका बजार क्षेत्रमा यसको असर बढी मात्रा देखिएकाले सावधानी अपनाउनेदेखि सचेतनाका कार्यक्रमहरु तीव्र पारिएको बबताईएको छ । घोराही उपमहानगरपालिकामा विगत वर्षहरुमा डेंगुको जोखिम बढी मात्रामा देखिएकाले यो पटक यसको नियन्त्रण तथा रोकथामका लागि समिति समेत गठन गरिएको छ ।
नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा मंगलबार बसेको पालिकास्तरीय बैठकले द्रूत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समुह परिचालन सम्बन्धी निर्देशिका २०७९ अनुसार स्थानीय द्रूत प्रतिकार्य समिति गठन गरेको छ । स्थानीय द्रूत प्रतिकार्य समितिको संयोजकमा नगरप्रमुख नरुलाल चौधरी रहनुभएको छ । जसको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, प्रस्तावित लक्ष्मीपुर अस्पतालका डा. रमेश बस्नेत, विपद व्यवस्थापन शाखाका मदनकुमार वली रहनुभएको छ भने सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती रहनुभएको छ ।
यसैगरी, उक्त समितिलाई प्राविधिक सहयोग र समन्वय गर्न स्थानीय द्रूत प्रतिकार्य टोलीमा स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीको संयोजकत्वमा २८ सदस्यीय प्रतिकार्य टोली गठन गरिएको छ । जसको सदस्यमा मेडिकल अधिकृत डा. रमेश बस्नेत, काँडाखुटी स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुख बालाराम रोका, रामपुर स्वास्थ्य चौकीका प्रमुख भुवनेश्वर रिजाल, झिङ्गनी स्वास्थ्य केन्द्रका प्रमुख गोपीलाल वली, लक्ष्मीपुर स्वास्थ्य चौकीका प्रमुख सपना पुनमगर, धर्ना स्वास्थ्य चौकीका प्रमुख बहारुलाल चौधरी, फचकपुर स्वास्थ्य केन्द्रका प्रमुख बलराम शाह, सौडियार स्वास्थ्य चौकीका प्रमुख कुमार दुलाल, मर्पाडाँडा स्वास्थ्य केन्द्रका प्रमुख लालबहादुर डिसी, ढिकपुर स्वास्थ्य चौकीका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद न्यौपाने रहनुभएको छ ।
यसैगरी, आन्द्राभरैया स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुख युवराज धिताल, नारायणपुर स्वास्थ्य चौकीका प्रमुख डिल्लीराज आचार्य, शिवपुर सहरी स्वास्थ्य केन्द्र प्रमुख ललित बुढाथोकी, हापुर स्वास्थ्य चौकी प्रमुख तुलसीराम गिरी, भ्युडर सहरी स्वास्थ्य केन्द्रका प्रमुख माधव गौतम, कलमघारी सहरी स्वास्थ्य केन्द्र प्रमुख प्रकाश आचार्य, नयाँबजार सहरी स्वास्थ्य केन्द्र प्रमुख प्रभा शर्मा, संस्थागत परिवार नियोजन क्लिनिक प्रमुख राधा पौडेल, उत्साह टोल सहरी स्वास्थ्य केन्द्र प्रमुख हिरण्यराज शर्मा, करौतिडाँडा सहरी स्वास्थ्य केन्द्र प्रमुख राममणि शर्मा, हरिद्वार सहरी स्वास्थ्य केन्द्र प्रमुख चेतप्रसाद लम्साल, घोरदौरा सहरी स्वास्थ्य केन्द्रप्रमुख पम्फा पोख्रेल, हात्तीखर्क सहरी स्वास्थ्य केन्द्र प्रमुख अर्जुनकुमार थापा, सैघा स्वास्थ्य चौकी प्रमुख ज्वलन्त खड्का तथा स्वास्थ्यकर्मी बिमला पौडेल र देवका चौधरी रहनुभएको छ ।
अहिले डेंगुका बिरामीहरू घोराही, तुलसीपुर र राप्तीमा देखा परिसकेका छन् । स्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार साउन १ गतेयता जिल्लामा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यो संख्याका हिसावले थोरै मानिएपनि यसले अरुमा संक्रमण फैलाउने जोखिम अत्यधिक रहेको स्वास्थ्यकर्मीको भनाई छ ।
स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन कमल चन्दले दिनुभएको जानकारी अनुसार, घोराहीमा १२ जना, तुलसीपुरमा १३ जना र राप्तीमा एक जनामा डेंगु पुष्टि भएको छ । यसरी संक्रमण पुष्टि भएको अभिलेख सरकारी प्रयोगशालाबाट प्राप्त भएपनि जिल्लामा रहेका निजी प्रयोगशालाको अभिलेख नआएकाले यो संख्या अझ धेरै हुन सक्ने उहाँको अनुमान छ ।
जिल्लाको १० वटै पालिकामा गत वर्ष डेंगुका बिरामी फेला परेका थिए । स्वास्थ्य कार्यालय दाङका अनुसार गत आर्थिक वर्ष २०७९–०८० मा जिल्लामा दुई हजार चार सय पाँच जना डेंगुका बिरामी भएकोमा २ जनाको मृत्यु भएको थियो । डेंगु लागेर मृत्यु हुनेमा एक जना घोराही र अर्का दंगीशरणका रहेका थिए । तथ्यांक हेर्ने हो भने दाङमा डेंगुको संक्रमण दर गत वर्ष ४ वर्षयताकै उच्च रह्यो ।
आर्थिक वर्ष २०७६–०७७ मा ७१ जनामा डेंगु संक्रमण भएका बिरामी भेटिएका थिए । २०७७ मा ७८ मा १५ मा मात्रै डेंगु संक्रमण देखिएको थियो । २०७८–७९ मा डेगु संक्रमणको संख्या छ जना मात्रै थियो । यो तीन वर्षको तथ्यांकलाई हेर्दा डेंगुको संक्रमण कम भएको देखिन्छ । तर, चौथो वर्षमा भने एकाएक बढेको हो । २०७९–०८० मा दाङमा डेंगुबाट संक्रमित संख्या दुई हजार चार सय पाँच पुग्यो ।
डेंगुका कारण २०७२ सालमा पनि दाङको गढवा गाउँपालिका गोबरडिहामा पनि एक महिलाको मुत्यु भएको स्वास्थ्य कार्यालय दाङको तथ्यांकमा छ । स्वास्थ्य कार्यालयका अनुसार २०७३ सालमा नौ जना र २०७४ सालमा ८ जना डेंगु बिरामी फेला परेका थिए । पछिल्ला वर्षहरुमा डेंगुको जोखिम एकाएक बढ्दै गएको छ । स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरका अनुसार जिल्लामा महिलाभन्दा पुरूषमा धेरै डेंगुको समस्या देखिने गरेको छ ।
जिल्लाको १० वटै पालिकामध्ये घोराहीमा जोखिम सबैभन्दा बढी हुने गरेको छ । त्यही अवस्था यो वर्षपनि दोहोरिने सम्भावना उच्च रहेको छ । घोराही उपमहानगरपालिका १४ स्थित अटोभिलेजलगायत केही स्थानमा डेंगुको संक्रमणको उच्च जोखिम मानिएको छ । यस वर्षको वर्षायाम शुरु भएसँगै डेंगु संक्रमितको संख्या बढ्न थालेका छन् । जसको नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको स्वास्थ्य कार्यालय दाङले बताएको छ ।
डेंगुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन चन्दले बताउनुभयो । यसभन्दा अगाडिका वर्षमा कोरोना र नियमित मौसमी वर्षाका कारण कम संक्रमण देखिएको उहाँले बताउनुभयो । धेरै मानिस खुलेआम हिँड्दा, सरसफाईमा ध्यान नदिँदा डेंगुले धेरैलाई संक्रमित बनाउने हुँदा सरसफाई र सचेतनामा विशेष ख्याल गर्नुपर्ने उहाँको भनाई छ ।
डेंगुको संक्रमण बढ्दै गएपछि घोराही उपमहानगर पालिकाले अभियान नै सुरू गर्ने तयारी गरेको छ । खोज र नष्ट गर अभियाननै यसको सबैभन्दा राम्रो विकल्प रहेको बताउँदै पालिकाले वडा स्तरमा यो अभियान तीव्र बनाउने तयारी गरेको हो ।
‘यसको कुनै खोप छैन, त्यसैले जोखिम छ, घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ, लामखुट्टेको टोकाइबाट बच्नुपर्छ,’ घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले भन्नुभयो, ‘डेंगुको संक्रमण बढ्दै गएपछि विगत वर्षदेखि घोराही उपमहानगर पालिकाले अभियान नै सुरू गरेको छ । ‘खोज र नष्ट गर’ अभियाननै यसको सबैभन्दा राम्रो विकल्प हो, योसँगै सावधानी र सचेतना फैलाउन सबै लाग्नुपर्छ र आफुले पनि व्यवहारमा लागू गर्नुपर्छ ।’ डेंगु रोकथाम तथा नियन्त्रणका लागि कीटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्टे बसोबास गर्नसक्ने स्थानमा कीटनाशक औषधी छर्किने, हावामा छर्किन मिल्ने स्पेस स्प्रेको प्रयोग तथा पानी जम्मा हुने सतहहरु सम्याउने काम गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख घर्तीले बताउनुभयो ।
यसैगरी, कुनै पनि ठाउँमा पानी जम्न नदिन भाँडाहरु छोप्ने, पानीको सतहमा लामखुट्टे प्रतिरोधी लार्भा नाशक औषधीहरु छर्किने, किराहरु खाने माछा तथा अन्य जीव पालन गर्ने आदि उपायहरु प्रभावकारी मानिएकाले यस प्रकारका गतिविधीमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
समुदायमा भित्रभित्रै यो वर्ष पनि डेंगु रोगको संक्रमण फैलिसकेको उहाँले बताउनुभयो । डेंगुको जोखिमबाट बच्न हरेक दिन १० मिनेट सरसफाइमा ध्यान दिन समय निकाल्न स्वास्थ्य कार्यालय दाङले अपिल समेत गरेको छ । सबैको साझा दायित्वका रुपमा लिँदै घर वरपर, समुदायमा, कार्यालयमा, कलकारखाना, ग्यारेजहरुमा पनि पानी जम्न नदिन, सरसफाई नियमति गर्न स्वास्थ्य कार्यालयले अपिल गर्दै आएको छ । ‘औषधि छर्केर डेंगु नियन्त्रण असम्भव छ । डेंगु फैलाउने लामखुट्टेले एक पटकमा ५ सय देखि १ हजार अण्डा पार्छ । उसको जीवनकाल १ महिना हुन्छ । यो बेलामा हामीले पानी जम्ने जुन सुकै ठाउँ, भाँडा सफाइ गर्नुपर्ने हुन्छ, उनीहरुको सम्भावित बासस्थान पहिचान गरी नष्ट गर्नु नै सबैभन्द ा उत्तम विकल्प हो’, स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन चन्दले भन्नुभयो ।
डेंगु लामखुट्टेको एक प्रजातीको टोकाइबाट सर्ने भाइरल रोग हो । एडिस नामक लामखुट्टेका प्रजातीहरु बढ्दै गएको पाइएको छ । मानिसहरुको आवत जावत तथा देश भित्रिने क्रम बढ्नु पनि डेंगुको संक्रमण बढ्ने कारण बन्ने गरेको छ । एडिस लामखुट्टेको माध्यमबाट सर्ने डेंगु भाइरसको नेपालमा चार प्रजाति छन्, जसमध्ये डेंगु भाइरस–१ को संक्रमण अधिकांश रहेको छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img