राप्ती पोष्ट
घोराही, साउन । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले गत आर्थिक वर्ष २०८०–०८१ मा दर्ता भएका १ सय ७२ विवाद मध्ये १ सय ४५ विवाद फछ्र्यौट गरेको छ । न्यायीक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीको अध्यक्षता तथा नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा बुधबार पत्रकार सम्मेलन गरि अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरी आएका तथा गत आर्थिक वर्षमा दर्ता भएका विवाद उपर छलफल गराई ८४ प्रतिशत अर्थात १ सय ४५ विवाद मिलापत्र गर्न सफल भएको जनाएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ अनुसार देवानी प्रकृतिका मुद्दा उपर न्यायीक इजलासमार्फत न्याय निरुपण गर्ने क्रममा दफा १ अनुसार ५२ वटा, दफा २ अनुसारका ३६ वटा, अन्य उजुरी तथा निवेदन गरि ५१ वटा र आर्थिक वर्ष २०७९–०८० बाट जिम्मेवारी सरी आएका ३३ वटा विवाद गरि १ सय ७२ विवाद मध्ये १ सय ४५ विवाद समाधान भएको न्यायीक समिति संयोजक डिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, दफा १ अनुसारका ४६ वटा, दफा २ अनुसारका २८ वटा, अन्य उजुरी तथा निवेदनका ३८ वटा एवम् अघिल्लो वर्षको जिम्मेवारी सरी आएको ३८ वटै विवादको मिलापत्र भएको छ । अब २७ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको उहाँले बताउनुभयो । न्यायीक समितिमा सबैभन्दा धेरै नाबालक छोराछोरी वा पति पत्नीलाई ईज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिईएको ३० वटा, सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काेले मिची वा घुसाई खाएको २३ वटा तथा लेनदेन, अंश, ऐलानी जग्गा विवादसमेतका ५१ वटा विवाद न्यायीक समितिमा न्यायको माग गर्दै उजुरी परेका थिए ।
अब दफा १ अनुसार आलीधुर, बाँध पानीघाटको बाँडफाँडका १ वटा, ज्याला मजदुरी नदिएको १ वटा, अर्काे जग्गा वा सम्पत्तिलाई असर गर्ने गरि रुख बिरुवा लगाएका १ वटा, नाबालक छोराछोरी वा पति पत्नीलाई ईज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिईएको ३ वटा गरि ६ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको छ ।
यसैगरी, दफा २ अनुसार सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काेले मिची वा घुसाई खाएको ५ वटा, सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा संरचना बनाएको १ वटा, अर्काको हक भोगमा रहेको जग्गा आवाद भोग चलन गरेको २ वटा गरि ८ वटा विवादको मिलापत्र गर्न बाँकी रहेको छ भने अन्य उजुरी अन्तरगत लेनदेन, घरायसी अंश, ऐलानी जग्गा विवादका १३ उजुरीको मिलापत्र गर्न बाँकी रहेको न्यायीक समिति संयोजक डिसीले बताउनुभयो ।
घुम्ती न्यायीक शिविरमार्फत पछिल्लो समय न्यायीक समितिले काम गर्दै लगेकोे हुँदा न्याय निरुपणको काम सहज रुपमा भईरहेको उहाँले बताउनुभयो । अहिले गाउँबस्तीमा पुगेर नगरबासीलाई कानुनी साक्षरता प्रदान गर्ने कामसमेत अघि बढाईएको पालिकाले जनाएको छ ।
सो अवसरमा, नगरप्रमुख चौधरीले नगरबासीलाई सहज न्याय दिलाउन न्यायीक समितिले प्रभावकारी रुपमा गर्दै आएको कामले पीडित र पीडक भनिएकाहरु दुवैले जीत– जीतको महसुस गर्ने गरेको बताउनुभयो । सामाजिक विषयसँग जोडिएका समस्याहरु न्यायीक समितिमा उजुरी परेका हुँदा कानुनी साक्षरतासँग जिम्मेवार नागरिक बनाउन पालिकाले ध्यान दिएको बताउनुभयो । कार्यक्रमको सहजीकरण कानुनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले गर्नुभएको थियो ।