spot_img
Home Blog Page 75

के के विषय समेटिय आगामी आ.वको बजेटमा

सरकारले ल्यायो लोकपृय बजेट

राप्ती पोष्ट
दाङ, १५ जेठ । सरकारले कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहदरवारमा आयोजित कार्यक्रममा बजेट सार्वजनिक गर्नुभएको हो । संसद नभएका कारण अध्यादेशबाट सरकारले बजेट ल्याएको हो ।

आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न खर्ब छ अर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत, पुँजीगत तर्फ तीन खर्ब अर्ब ४७ अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ दुई खर्ब सात अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश विनियोजन गरेको छ ।
सरकारले ल्याएको बजेटमा सवै नेपाली नागरिकलाई कोरोना खोप लगाउने योजना अघि सारेको छ । जसका लागि २६ अर्व रुपैया विनियोजन गरिएको छ । यस्तै स्वास्थ्य क्षेत्रका लागि कुल ३६ अर्व भन्दा बढी बजेट विनियोजन गरिएको छ । आगामी बर्षको बजेटमा विभिन्न अस्पतालहरुमा बेड थप गर्ने, सुविधा थप गर्ने, अक्सिजन प्लान स्थापना गर्ने, भवन निर्माण गर्ने लगायतका विषयहरु समेटिएको छ ।

आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ल्याएको बजेटमा जेष्ठ नागरिक, एकल महिला, अपांग, युवा, विद्यार्थी, बालवालिका र महिलालाई समेत राहत दिने उल्लेख गरिएको छ । कोरोनाका कारणले गर्दा अर्थतन्त्रलाई ठिक बाटोमा लैजाने चुनौतीका बीच अर्थमन्त्रीले बजेट ल्याउनुभएको छ । सरकारले यस बर्ष १७ अर्व रुपैयाको बजेट ल्याएको छ ।
सरकारले विभिन्न ठूला आयोजनाहरुलाई प्राथमिकतामा राखेको छ । यस्तै उद्योगी व्यवसायी र आम नागरिकलाई पनि लकडाउनले पारेको प्रभाव कम हुनेगरी बजेट विनियोजन गरेको छ । विभिन्न स्थानका सडक निर्माण गर्ने, जलविद्युत उत्पादन गर्ने, सुरुङमार्ग निर्माण गर्ने, अस्पताल निर्माण गर्ने लगायतका योजनाहरुलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।
आगामी आर्थिक बर्षका लागि ल्याइएको बजेटमा सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरेर चार हजार पुराइएको छ । २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा रहेको सरकारमा अर्थमन्त्री भरतमोहन अधिकारीले ल्याउनुभएको सामाजिक सुरक्षा भत्ता २७ बर्षपछि चार हजार पुगेको छ । गत बर्ष दुई हजारबाट बढाएर तीन हजार पुराएको थियो भने आगामी आर्थिक बर्षदेखि चार हजार रुपैया दिने गरी बजेट विनियोजन गरिएको छ । अव ७० बर्ष पुगेको जेष्ठ नागरिक, एकल महिला, अपांगले प्रत्यक्ष रुपमा लाभ पाउनेछन् ।

आर्थिक वर्ष २०७८÷७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिनुभयो । यसका लागि १ खर्ब छुट्याएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक अनुसार मुलुकभर ३२ लाख ५८ हजार एक सय २९ जनाले सामाजिक सुरक्षा भत्ता खाइपाइ आएका छन् । जसमध्ये १७ लाख ३९ हजार तीन सय ५९ जनाले बृद्धभत्ता बुझ्दै आएका छन् ।

सरकारले केही दिर्घकालिन महत्वका योजना अघि सारेको छ । जसमध्य एउटा रासायनिक मलको कारखाना पनि रहेको छ । आगामी आर्थिक बर्ष सरकारले कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको छ । आगामी तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि उक्त बजेट विनियोजन गरेको हो । किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र तीन वर्ष भित्र निर्माण गरिसक्ने गरी कारखाना स्थापना गर्न बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

सरकारले युवा लक्षित कार्यक्रम ल्याएको छ । विए पास गरेका विद्यार्थीलाई प्रमाणपत्रका आधारमा पाँच प्रतिशतमा २५ लाख रुपैयासम्म ऋण उपलव्ध गराउनेछ । यस्तै उद्यमीलाई १ प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँ दिने गरी ‘सिड मनी’ को व्यवस्था गरेको छ । यसका लागि १ अर्व रुपैया विनियोजन गरिएको छ । सहुलियतपूर्ण कर्जा ५ प्रतिशतसम्ममा २५ लाखसम्म दिने व्यवस्था बजेटमा व्यवस्था गरिएको छ ।

विद्यार्थीहरुलाई ल्यापटप खरिदका लागि ८० हजारसम्म कर्जाको व्यवस्था गरिएको छ । त्यस्तै एक थान सिम कार्ड खरिदको निःशुल्क व्यवस्था मिलाइएको छ । पुनःकर्जालाई निरन्तरता दिइएको छ । सरकारले आगामी एक वर्षमा १ लाखलाई निःशुल्क तालिम दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८÷०७९ मा एक लाख युवालाई तालिम दिनका लागि ४० करोड बिनियोजन गरिएको छ ।

कोरोनाका कारण मर्कामा परेका आम उपभोक्तालाई राहत दिनका लागि सरकारले विद्युतमा छुट दिने भएको छ । घरमा प्रयोग गरिएको विद्युत महसुल छुट दिने क्रममा २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले विद्युतको महसुल सबै छुट पाउने छन् । भने मासिक १०० युनिटसम्मको खपतमा ५० प्रतिशत र २५० युनिटसम्म प्रयोग गरेमा ३० प्रतिशत छुट पाइने छ ।

सरकारले भूमिहिन दलित, सुकुम्बासी, जग्गाविहिनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने घोषणा गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउनका लागि ६८ करोड बिनियोजन गरिएकोछ ।

सरकारले विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७÷७८ को बजेट भाषणमार्फत सो घोषणा गर्नुभयो । संसद विकास कोषको नामले परिचित ‘स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम’ को बजेट सदुपयोग हुन नसकेको भनेर विरोध हुँदै आएको थियो । अर्थमन्त्री पौडेलले बजेटमा स्रोत अभावका कारण यो कोष खारेज गरिएको बताउनुभयो ।

सरकारले शिक्षा क्षेत्रमा एक खर्ब ८० अर्ब चार करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक २०७८÷७९ मा शिक्षा क्षेत्रमा एक खर्ब ८० अर्ब चार करोड बजेट विनियोजन गरेको हो । आगामी वर्षको बजेटमा शिक्षा षेत्रका लागि सबैभन्दा धेरै बजेट छुट्याएको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो ।
पत्रकारलाई राहत
सरकारले यस बर्ष पत्रकार र सञ्चारमाध्यमलाई राहत पुग्नेगरी बजेट सार्वजनिक गरेको छ । सरकारले आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा निःशुल्क उपचार सुविधा दिने निर्णय गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणमार्फत साउन १ गतेदेखि यो सुविधा उपलब्ध हुने जानकारी दिनुभयो । ‘आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छु,’ मन्त्री पौडेलले भन्नुभयो । ‘सञ्चारकर्मीको पेसागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रतिष्ठान स्थापना गरिनेछ ।’

यस्तै सञ्चारमाध्यमलाई कर छुट लगायतका कार्यक्रम ल्याइएको छ । रेडियोले नविकरणका लागि तिर्नुपर्ने शुल्कमा पूर्ण रुपमा छुट गरिएको छ । यस्तै कोरोनाका कारण बन्द भएका संचारमाध्यमलाई सहुलियत कर्जा उपलव्ध गराउने भएको छ । सरकारले संचारग्राममा प्रेस काउन्सीलले थालेको सञ्चार संग्रहालयका लागि बजेट विनियोजन गरेको छ ।

 

कोरोना संक्रमितका सारथी बन्दै डा. गिर रोदन महरा

विनु दहाल
घोराही, १५ जेठ । केही दिन यता कोरोनाको कहर केही कम भएको छ तर थामिएको छैन । कोरोनोको दोस्रो लहर सुरु भएपछि यसरी फैलियो कि सवैतिर हाहाकार र अत्यासको स्थिती बन्यो । मानिसहरुलाई कहाँबाट सुझाव लिने, कस्लाई सोध्ने भन्ने तनाव थियो । यहि समयमा घोराहीका युवा डा. गिर रोदन महरालाई सेवाको हात बढाउन मन लाग्यो । कोरोनाको समयमा मानिसले भोगेको दुःख देखेपछि उहाँ लाग्नु भयो घर घरमा संक्रमितको उपचारका लागि ।

करिव एक महिना भयो । यो अभियानमा उहाँ लाग्नुभएको । महरा घरमै गएर र बसन्त पुनले फोनबाट परामर्श दिने गर्नुभएको छ । एक महिनाको अवधिमा एक सय ५० जनालाई घरमै गएर उपचार गरेको महराको भनाई छ । घोराहीमा कोरोनाको उपचारका लागि दुःख पाएको आफूलाई लागेपछि घर घरमा पुगेर उपचारको अभियान चलाएको उहाँको भनाई छ ।

घोराहीमा जन्मिएर हुर्के बढेको व्यक्तिलाई आफ्नो ठाउँको माया लाग्नु स्वभाविक हो । आफ्नै दाजु भाई, दिदी बहिनीहरुले दुःख पाएको देख्न सकेन त्यहि भएर यस्तो अभियानमा हिडेको महराको भनाई छ । उहाँले करिव एक महिनाअघि थालेको अभियानका क्रममा विरामीका घर घरमा पुगेर जाँच गर्ने, औषधीहरु लेखिदिने र परामर्श दिने गर्नुभएको छ ।

विरामीहरु कोरोना भयो भनेपछि निकै आत्तिने गर्नुभएको छ । कोरोना हुँदैमा आत्ति हाल्नु पर्दैन । विरामी जति आत्तियो त्यति समस्या हुने भन्दै उहाँले विरामीलाई मनोसामाजिक विमर्शको जरुरी रहेको बताउनुहुन्छ । डाक्टरलाई देखेपछि विरामीको आधा रोग निको हुन्छ भन्ने छ । त्यसै भएर आफूले घरमै पुगेर उपचार गर्ने योजना बनाएको उहाँको भनाई छ । अहिलेसम्म आफूले हेरेका मध्य कुनै पनि विरामीको दुःखद निधन नभएको पनि उहाँले बताउनुभयो । प्रत्यक्ष रुपमा एक सय ५०जनालाइ जाँच गरेको भएपनि फोनबाट सयौलाई परामर्श दिएको उहाँको भनाई छ । ‘फोनमा पिसिआर चेक नगराएकाहरुले लक्षण सहित जिज्ञासा राख्नुहुन्छ । पिसिआर चेक जाँच गरेकाहरुले पनि सोध्नुहुन्छ । घरमै गएर पनि हेर्छु फोनबाटै पनि जानकारी दिन्छु ।’ उहँले भन्नुभयो ।

विरामीको उपचार गरेपछि एक रुपैया पनि शुल्क लिनुभएको छैन । ‘उपचार र परामर्शपछि शुल्कका बारेमा सोध्ने गर्नुभएको छ तर मैले पैसा लिने भए घरमा आएर सेवा गर्ने नै थिएन भनेर जवाफ दिने गरेको छु । पैसा कमाउनका लागि मैले यस्तो गरेको होइन ।’ राप्ती पोष्टसंग कुरा गर्दै महराले भन्नुभयो । उपचारका लागि घरमा जाँदा आवश्यक पर्ने केही सामग्रीहरु शुरुका दिनमा आफै र पछि साथिभाइले जुटाइदिएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १४ ले वडामा विरामीलाई उपचार तथा परामर्श गरिदिनुपर्छ भन्दै केही थान पिपिइ दिएको छ । जसले गर्दा सहज भएको छ ।

घोराही उपमहानगरपालिकाका विभिन्न स्थानमा पुगेर उपचार गर्ने क्रममा धेरै अनुभव हासिल भएको छ । कतिपय विरामीहरुको अवस्था अत्यन्त नाजुक देखिन्छ । यस्तोमा आफैले भएपनि सिलिण्डर बोकेर जाने गरेको उहाँको अनुभव छ । केही दिन अघिको तुलनामा केही दिन यता केही सहज भएको छ । केही दिन त रातको १२ बजेपनि संक्रमितको उपचारका लागि गएको डा. महराको भनाई छ ।

लाखौं रुपैया खर्च गरेर चिकित्सा क्षेत्रमा लागेपछि धेरैको चाहना पैसा कमाउने नै हुन्छ तर डा. महरालाई त्यतातिर ध्यान छैन । लामो समय सरकारी सेवामा रहेर हालै सेवा निवृत्त हुनुभएका डा. महराका बुवा गञ्जबहादुर एमसीलाई पनि छोराले गरेको काम देखेर खुशी लाग्ने गरेको छ । घरबाट पूर्ण रुपमा साथ रहेको छ । महामारीको यस्तो अवस्थामा पैसा कमाउने भन्दा पनि सेवा गरेर ज्यान बचाउने कुरा ठूलो हो जस्तो लाग्छ त्यहि भएर यो अभियानमा हिडेको डा. महराले बताउनुभयो ।

दाङमा लकडाउन खुकुलो हुँदै

के के कुरामा हुने भयो सहज ?

राप्ती पोष्ट
दाङ, १४ जेठ । करिव एक महिना अघि देखि दाङ जिल्लामा जारी लकडाउनलाई केही खुकुलो पारिने भएको छ । अव बजार हरेक दिन विहान २ घण्टा खुल्नेछन् भने अन्य केही व्यवसाय र कारोवारका लागि केही खुकुलो पारिएको छ ।

दाङमा तेस्रो पटक लकडाउनको समय थपेर जेठ २५ गतेसम्म पुराइएको छ । पहिलो पटकको लकडाउन बैशाख १७ देखि २५ गतेसम्म लगाइएको थियो । त्यसपछि एक साता थप्दै जेठ १ गतेसम्मका लागि लकडाउन गरिएको थियो । तेस्रो पटक गरिएको लकडाउन जेठ १५ गतेसम्म अर्थात भोलीसम्मका लागि थियो । तेस्रो पटकको लकडाउनको समय सकिनु एक दिन अघि कोरोना संकट व्यवस्थापन केन्द्र दाङको बैठक बसेर केही खुकुलो बनाउँदै लकडाउनको अवधि थप गर्ने निर्णय गरेको थियो ।

जिल्लामा कोरोना संक्रमणको दर केही कम भएको र मृत्युदरमा पनि कमी आएको निश्कर्ष निकाल्दै कोरोना संकट व्यवस्थापन केन्द्रले अझै सावधानी अपनाउनु जरुरी रहेको ठहर गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले यस अघि साताको दुई दिन मात्रै बजार एक घण्टा खोल्ने निर्णयलाई बदलेर अव हरेक दिन विहान २ घण्टा खोल्न दिने निर्णय गरेको हो । अत्याबश्यक बस्तुका पसल विहान ६ बजेदेखि ८ बजेसम्म खुल्नेछन् । अत्यावश्यक खाद्यान्न पसलहरुले स्वास्थ्य सुरक्षाको मापदण्डलाई भने कडाइका साथ पालना गर्नुपर्नेछ ।

यस्तै जिल्लामा रहेका बैंकहरुलाई साताको दुई दिनको समय तोकिएकोमा सोही अवधिमा समय थप गरिएको छ । अव जिल्लाका बैंकहरु सातामा दुई दिन विहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछन् । यसैगरी निर्माण सामग्री विक्रिका लागि बेलुका छ बजेदेखि राती ९ बजेसम्मको समय निर्धारण गरिएको छ । यस्तै नदिजन्य पदार्थ ओसार पसारका लागि विहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ ।

यसैगरी सिमेन्ट उद्योगले बोक्ने चुन ढुङ्गाका लागि पनि समय निर्धारण गरिएको छ । बैठकमा सहभागि नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार घोराही सिमेन्ट उद्योगका लागि बेलुका ५ बजेदेखि राती १२ बजेसम्म र सोनापुर सिमेन्ट उद्योगलाई विहान ९ बजेदेखि बेलुका ७ बजेसम्मको समय निर्धारण गरिएको छ । केहि दिन यता दाङ जिल्लामा कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ ।

आफूखुशी मुल्य बृद्धि गरिए कारवाही गर्ने उद्योग बाणिज्य महासंघको चेतावनी

 

राप्ती पोष्ट
दाङ, १४ जेठ । नेपाल उद्योग बाणिज्य महासंघले विभिन्न जिल्लामा आफूखुशी मूल्यवृद्धि गरीएको घटनालाई गम्भिरताका साथ लिएको छ । दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यपारीलाई उद्योग वाणिज्य सङ्घले कारवाही गर्ने चेतावनी दिएको हो ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञाका कारण व्यापारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएको गुनासो आइरहेको छ । निषेधाज्ञाको समयमा भएको चर्को मूल्यबृद्धिका कारण उपभोक्ताहरु मर्कामा परेका छन् । दैनिक खाद्य बस्तु लगायत अन्य उपभोग्य बस्तुहरुको चर्को मूल्यबृद्धि भएको छ ।

उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका महासचिव दीपकबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यवसायीले आफूखुशी चर्को मूल्य लिँदै आएको भन्ने खबरप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

महामारीको विषम परिस्थितिमा समस्याको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य असुल गर्ने, कालोबजारी गर्नेलगायत गरे कारबाही गर्ने सङ्घले जनाएको छ । उद्योग बाणिज्य महासंघका जिल्ला शाखाहरु देशका सवै जिल्ला र नगरमा रहेका छन् ।

किन सँझने प्रगतिवादी साहित्यकार कृष्ण सेन‘इच्छुक’ लाई

 

कृष्ण सेन‘इच्छुक’

शरद अधिकारी
कृष्ण सेन इच्छुक नेपालको पत्रकारिता र साहित्यमा पृथक पहिचान बनाएको नाम हो । लामो समय देखि परिवर्तनको पक्षमा लागिरहनुभएका इच्छुकको जन्म विक्रम सम्वत २०१३ सालमा भएको थियो । शुरुका दिनमा साहित्यका माध्यमबाट चेतनाको विगुल फुक्न शुरु गर्नुभएका इच्छुक विस्तारै पत्रकारितामा तानिनुभयो । राजनीतिक यात्रा त उहाँको पत्रकारिता भन्दा अघि देखि शुरु भइसकेको थियो । राजनीतिक रुपमा उहाँले जुन स्थान बनाउनुभएको थियो त्यो भन्दा राम्रो योगदान कलमका माध्यमबाट उहाँले दिइरहनुभएको थियो । इच्छुकले जुन लेखनी लेख्नुभयो । जुन विचार दिनुभयो । जुन विचारको पक्षमा निरन्तर लाग्नुभयो त्यसैको फलस्वरुप उहाँलाई हिरासतमै मारियो । इच्छुक एक निडर योद्धाको नाम हो । उहाँ शासकहरुसंग झुक्नु भएन । जेलसंग कहिल्यै डराउनुभएन । जेलसंग डराएको भए उहाँ परिवर्तनको पक्षमा निरन्तर लाग्नु हुँदैनथ्यो । उहाँले आफ्नो कर्मलाई निरन्तरता दिनु हुुन्नथ्यो । तर इच्छुकको कलम देखि शासकहरु डराए ।

साहित्यको शुरुवातका चरणमा उहाँले कलम साहित्यीक पत्रिकाको सम्पादकको जिम्मेवारी लिनुभएको थियो । त्यसपछि उहाँले जनादेश साप्ताहिकको सम्पादकको जिम्मेवारी सम्हाल्नुभयो । त्यसपछि इच्छुक जनदिशा दैनिकको पनि सम्पादकका रुपमा रहेर जिम्मेवारी निर्वाह गर्नुभयो । इच्छुकसंग डराएका शासकहरुले पंचायतकालमा पनि जेलमा सडाए । बहुदलिय व्यवस्थाको आगमन पनि पटक पटक जेलमा हाल्ने काम गरियो । देश र जनताको पक्षमा कलमका माध्यमबाट संघर्ष गर्दा गर्दै कृष्ण सेनलाई २०५९ जेठ १३ गते प्रहरी हिरासतभित्रै हत्या गरिएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र र कांग्रेस नेतृत्वको सरकारको योजनामा उहाँलाई महेन्द्र पुलिस क्लबभित्रै चर्को यातना दिएर हत्या गरिएको थियो । तत्कालिन शासकहरुले इच्छुकको भौतिक शरीरलाई ढालेर विचारको हत्या गर्ने योजना बनाएका थिए तर त्यो सफल भएन । विचारको हत्या गरेर शासन सत्तालाई जोगाउने सत्ताधारीको योजना सफल भएन । जसको उदाहरण भनेको नेपालमा गणतन्त्रको आगमन हो ।

कृष्ण सेनको भौतिक शरीर हामीबाट गुमेको भएपनि उहाँले छोडेर गएको विचार हाम्रो सामूमा जिवित जस्तै छ । उहाँलाई ०५९ जेठ ६ गते पक्राउ गरिएको थियो । करिव डेढ दशक देखि सक्रिय रुपमा पत्रकारिता गरिरहनुभएका सेनलाई पक्राउ गरेको घट्नाका बारेमा कुरा लुकाउन खोजिएको थियो । यद्दपि त्यो कुरा सार्वजनिक भयो । यस अघि पनि उहाँलाई पक्राउ गरिन्थ्यो । केही समय पनि परिस्थिती अनुरुप उहाँ छुट्नु हुन्थ्यो । तर २०५९ सालमा पक्राउ गरेपछि जेलमा राखिएन हिरासतमै राखियो । कृष्ण सेनलाई प्रहरीले पक्राउ गरेपछि रिहाइका लागि दाङमा नेपाल पत्रकार महासंघको नेतृत्वमा हामीले पनि ¥याली निकालेका थियौं । उहाँलाई त्यसअघि अर्थात २०५८ सालमा संकलकाल लागेपछि पक्राउ गर्दा पनि हामीले रिहाइको माग गरेका थियौं । २०५९ सालमा पक्राउ गरिएपछि सवैभन्दा पहिले जनआस्था साप्ताहिकले हिरासत भित्रै हत्या गरेको भन्ने समाचार छापेको थियो ।

इच्छुकका बारेमा धेरै कुरा सानो बसाइमा सम्भव हुने कुरा होइन । इच्छुकलाई संझना गर्ने क्रममा केही कुरा सँझनामा आउँछन् । जव उहाँको हत्या गरियो २०५९ सालमा त्यसको अर्को बर्ष अर्थात २०६० साल देखि प्रगतिशील लेखक संघ नेपाल दाङले नियमित रुपमा उहाँलाई संझना गर्दै आइरहेको छ । उहाँलाई मरणोप्रान्त सम्मान गर्ने काम पनि प्रलेस दाङले गरेको छ । तर दुःखका साथ के कुरा भन्नुपर्छ भने हिजो संकटको समयमा प्रलेसले इच्छुकको संझना गर्र्दा आतंककारीको संझना गर्ने भनेर ओठ लेप्र्याउने कतिपय आज ठूला क्रान्तीकारी र इच्छुकको नजिकको मानिस भएका छन् । यस्तो देख्दा निकै दुःख लागेर आउँछ । इच्छुकले कहिल्यै विचारमा संझौता गर्नुभएन । कहिल्यै खराव प्रवृत्तिसंग झुक्नुभएन । उहाँले आत्मसमर्पण वा आन्दोलनमा गद्दारी गरेको भए आज हामीले उहाँलाई संझना गरिरहेका हुन्नथ्यौं । उहाँले गद्दारी नगरेर जसरी जनताको जीवनका लागि काम गर्ने दृढता देखाउनुभयो त्यसैकारणले गर्दा अजम्वरी जीवन प्राप्त गर्नुभयो । उहाँले गरेको कर्म र लेखनीकै कारणले गर्दा उहाँप्रति शव्दश्रद्धा व्यक्त गर्ने काम भइरहेको छ ।

कृष्णसेन दाङसंगै अत्यन्त नजिकको साइनो जोडिएको व्यक्ति हुनुहुन्थ्यो । इच्छुकको निधन भएको खवर सुन्दा शुरुमा त विश्वासै लागेन तर विश्वास गर्न कर लाग्यो । दाङको भालुवाङ घर भएपनि उहाँको जन्म भारतमा भएको थियो । भारतको देहरादुनमा लाहुरे जीवन बिताउनुभएका उहाँका बुबा यमबहादुर सेन र आमा भीमकुमारी सेनको कोखबाट २०१३ साल कार्तिक ३ गते त्यहि सेनको जन्म भयो । २०२८ सालदेखि कवितामार्फत साहित्य लेखनतर्फ प्रवेश गर्न भएका कृष्णसेन इच्छुकले सहिद मित्रमणि आचायको सम्झनामा दाङ जेल बसाइको क्रममा शोकाञ्जली लेख्नुभएको थियो । जुन २०४८ सालमा प्रकाशित भएको थियो । त्यसैगरी २०५६ सालमा इतिहासको यस घडीमा नामक कविता संग्रह प्रकाशित भएको थियो भने २०५८ सालमा बन्दी र चन्द्रागिरी नामक कविता संग्रह प्रकाशित भएको थियो । उहाँले लेखेका कतिपय कृतियहरु अहिले पनि अप्रकाशित रुपमा हुन सक्छन् । उहाँले लेख्नुभएका फुटकर रचनाहरु सयौं साहित्यिक पत्रिकाहरुमा प्रकाशन भएका छन् ।

इच्छुक तत्कालिन नेकपा माओवादीको क्षेत्रीय ब्यूरो सदस्यका रुपमा रहेपनि उहाँ अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रिय अध्यक्षका रुपमा हुनुहुन्थ्यो । त्यस्तै बामपन्थी साहित्यकारहरुको साझा थलोको रुपमा रहेको प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य हुनुुहुन्थ्यो । उहाँ मानव अधिकारवादी संस्था जनअधिकार सरोकार अभियानको केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघको केन्द्रिय पार्षद हुनुहुन्थ्यो । उहाँले पंचायतकालमा सात बर्षसम्म दाङ लगायतका जेलमा बस्नुभएको थियो । जेल बसाइका क्रममा उहाँसंग संगत गर्नेहरुले धेरै कुरा भन्न सक्नुहुन्छ भन्ने लाग्छ । इच्छुक व्यक्ति मात्रै होइन संघर्षको प्रवृत्ति पनि हो । संघर्षबाट सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यता बोक्नुभएका इच्छुकले जुन आदर्श र मान्यता स्थापित गर्नुभयो । जे कुराका लागि लड्नुभयो । जुन अधिकारका लागि आवाज वुलन्द पार्नुभयो धेरै कुरा अहिले पनि अधुरा रहेका छन् । इच्छुकका अधुरा सपना पुरा गर्ने जिम्मेवारी बाँचेकाहरुको हो । इच्छुकको १९ औं स्मृति दिवसका सन्दर्भमा भावपूर्ण श्रद्धाञ्जली ।

sharadreet@gmail.com

प्रधानमन्त्रीद्वारा कोरोनाको सम्पुर्ण विवरण माग

 

उपचारमा कुनै कमि नराख्न निर्देशन

राप्ती पोष्ट
दाङ, ११ जेठ । प्रधानमन्त्री एवं कोभिड– १९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोभिड– १९ विरुद्ध हालसम्म भएका प्रगति विवरण उपलव्ध गराउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले कोरोना विरुद्धको लडाइमा सफलता पाउनका लागि उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न पनि निर्देशन दिनुभयो ।

आफ्नो अध्यक्षतमा बसेको पहिलो बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमितको यथार्थ अवस्था गाउँपालिका तहसम्म पुगेर लिन भन्नुभयो । उहाँले भन्नुभयो–‘पालिका–पालिकासम्म समन्वय गरी कति संक्रमित छन्, होम आइसोलेशनमा कति बसेका छन् ? कति जँचाउन आएका छन्, कति आएका छैनन्, तिनको अवस्था के छ भन्ने सम्मको पूर्ण जानकारी देखि हामीसँग सुईसम्म कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस् भन्नेतर्फ ध्यान दिनुपर्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपचारमा कुनै किसिमको ढिलाई गर्ने छुट कसैलाई नभएको समेत बताउनुभयो । प्रधानमन्त्रीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपहरुका लागि पहल गर्न परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिनुभयो । ‘खोप ल्याउन सकियो भने कोभिड विरुद्धको लडाइँ जितिन्छ । अन्यथा लडाइँ गरिरहनु पर्ने भयो’, उहाँले भन्नुभयो ।

सरकारले हालै ल्याएको कोभिड– १९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई आवश्यक जनशक्ति र संसाधन सरकारले तत्कालै उपलब्ध गराउने समेत उहाँले बताउनुभयो । प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्यांक हासिल गरी उपचार सेवाको अवस्था चिकित्सा कर्मी र स्वास्थ्य उपकरणको उपलब्धताबारे अध्यावधिक जानकारी लिन समेत निर्देशन दिनुभयो ।

नेपालमा कोरोनाका कारणले दैनिक सात आठ हजार जना संक्रमण भइरहेको अवस्थामा प्रधानमन्त्रीले कोरोना विरुद्धको लडाइमा लाग्न सवैलाई आग्रह गर्नुभएको छ । उपचारका लागि कुनै पनि कमि नराख्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो । यस अघि उप प्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना नियन्त्रण समितिको जिम्मेवारी प्रधानमन्त्री आफैले लिनुभएको छ । प्रधानमन्त्रीले जिम्मेवारी लिएपछि कोरोना विरुद्धको लडाइमा उपलव्धि हुने अपेक्षा पनि गरिएको छ ।

महासंघले दाङको संचार अवस्था अध्ययन गर्ने

 

केन्द्रिय अध्यक्ष, उपाध्यक्ष र काउन्सील सदस्यलाई स्वागत

राप्ती पोष्ट
घोराही, ११ जेठ । नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लामा रहेका संचार माध्यम र संचारकर्मीको अवस्थाका बारेमा अध्ययन गर्ने भएको छ । नेपाल पत्रकार महासंघ दाङको आज (मंगलबार) बसेको नियमीत बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले हालसम्म भएका गतिविधिको समिक्षा गरेको थियो । जिल्लामा कोरोना संक्रमणका कारण प्रभावित भएका पत्रकारहरुलाई भेटेर स्वास्थ्य लाभको कामना गरिएको, केही स्वास्थ्य सामग्री प्रदान गरिएको र आइसोलेशन संचालनका लागि तयारी गरिएको समिक्षा गरिएको थियो ।

महासंघले स्थापना गरेको आइशोलेसनमा हालसम्म कुनै पनि पत्रकार बस्नु नपरेको भएपनि प्राप्त सहयोग रकमबाट सहायता कोष स्थापना गर्ने बारेमा छलफल भएको थियो । यसैगरी महासंघले संक्रमीत पत्रकारहरुको उपचारमा सहजिकरण गरेको र आगामी दिनमा पनि यी कार्यहरुलाई निरन्तरता दिदै अगाडी बढ्ने निर्णय गरियो ।
कोरोना महामारीको समयमा जिल्लामा रहेका सञ्चारमाध्यमहरुको अवस्थाको बारेमा अध्ययन गर्नकालागी उपाध्यक्ष सन्तोष सुवेदी संयोजक, सहसचिव दशरथ घिमिरे र कोषाध्यक्ष शरद रेग्मी सदस्य रहेको अध्ययन समिति गठन गरिएको छ ।

बैठकमा नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्यहरु विपुल पोख्रेल नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा, उदय जि.एम केन्द्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको र शरद अधिकारी प्रेस काउन्सील नेपालको सदस्यमा मनोनित हुनुभएकोमा बधाई ज्ञापन गरिएको थियो । बैठकमा उहाँहरुले मन्तव्य राख्नुभएको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघ दाङ शाखा सदस्य बबई गाँउपालिका ४ हापुरेका लक्ष्मण बस्नेतको यही जेठ ३ गते र उहाँको वुवा टोपबहादुर बस्नेतको जेठ २ गते कोरोना भाईरस संक्रमणका कारण असामयिक निधन भएकाले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने निर्णय गरेको सचिव आर के शितलले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

बिपतको बेलामा

 

सम्पादकीय

अहिले जेठ महिनाको दोश्रो सातादेखि दाङ जिल्लामा कोरोना महामारीको अवस्था केही कम हुन थालेको छ । संक्रमित हुनेहरुको संख्या र मृत्यु हुनेहरुको संख्यामा पनि कमी आउँदै गरेको छ । लकडाउन,स्वास्थ्य सचेतनाको पालना,औष्ािध उपचारलगायतका कारण अब त कोरोनालाई पराजित गर्न सकिन्छ कि भन्ने आत्मबल बढ्न थालेको छ । शुरुका दिनमा अक्सिजन सिलिण्डरको जोहो गर्नको लागि सहयोगी व्यक्ति,विभिन्न संघसंस्थाबाट भएको पहल प्रशंसायोग्य रहेको छ । मान्छेको परीक्षा विपतको बेलामा हुन्छ । दिनरात नभनी ,भोकै,अनिदो रहेर पनि बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी,नागरिक तहबाट स्वतस्फूर्त सहयोगी मनहरुको भूमिकालाई कसैले पनि बिर्सन मिल्दैन । कतिपय अवस्थामा त सरकार भन्दा नागरिकको सक्रियता बढेको देखाप¥यो यो वास्तविकतालाई सबैले स्मरण गर्नैपर्छ । विपतको समयमा धैर्य,आत्मबल,एकता,सहयोगी भावनालाई कसैले पनि भुल्नु हुँदैन । यही नभुल्ने स्वभाव हाम्रो समाजमा अहिले पनि कायमै रहेका कारण मान्छेले हरेक बिपत्तिलाई पराजित गर्दै आइरहेको छ ।

वास्तवमा असल कामको थालनी राजनीतिक नेतृत्व र सरकारको नेतृत्वतहबाटै हुनुपर्ने हो । सहयोगी भावना,आत्मीयता र निष्ठाको पालना नेतृत्व तहबाटै हुनुपर्ने हो । नेतृतव आफूले पालना गरे अरुलाई पनि पालना गर्न कर लाग्छ । माथिल्लो पदमा बस्नेले नीति,विधिलाई लत्याउने । हामीले मात्र किन पालना गरिरहने ? यस्तो भावना सबैतिर जाग्दै जाग्न थाल्यो भने समाजमा अराजकता फैलिन सक्छ । रोगको महामारी भन्दा अराजकतको महामारी भयाव हुन्छ । राजनीतिलाई निष्ठाले डो¥याउनु पर्छ । नैतिकताले सिंगार्नुपर्छ । सहयोगी भावनालाई लत्याउने र जनताको आवाज नसुन्ने नेतृत्व लोकप्रिय बन्न सक्दैन । हाम्रा कला,साहित्यमा यो वास्तविकलाई सुव्यवस्थितढंगले उठाउनु पर्छ । राजनीति कमाउनिष्टि आफै हुँदैन । राजनीति फोहरी आफै बन्दैन । राजनीतिलाई विकृत बनाउने काम मान्छेले नै गर्नसक्छ । सफा पनि मान्छेले नै गर्ने हो । विचार र निष्ठामा धमिरा लाग्यो भने राजनीति फोहरी बन्दै जान्छ । त्यस्तो राजनीतिले निर्माण गर्ने सत्ता र शासकको चरित्र कस्तो होला ? हामी सबैले अनुमान गर्न सक्छौं । राजनीतिमा निष्ठा हराउँदै भयो भने आचरण पनि भ्रष्ट हुँदै जान्छ । त्यस्तो आचरणले कुनै पनि समस्याको समाधान मात्र हैन,राजनीतिको यात्रालाई जनताको पक्षमा हिडाउन पक्कै सक्दैन ।

वर्तमान समयमा राजनीतिमा गालीको मात्रा बढ्दै जानथालेको छ । आफू कुन पदमा छु । मेरो जिम्मेवारी के हो र मैले पार्टीका कार्यकर्ता,शुभेच्छुक र आममतदातालाई कस्तो शिक्षा दिने हो भन्ने बिर्सेर गालीको महिमा गाउनु बेठीक हो । वर्तमान समयमा सबैतिर गालीको चर्चा हुने गरेको छ । कुन नेताले कति धेरै गाली गर्नसक्यो । कसले कसलाई कति खुइल्याउन सक्यो र कसले कसको कति धेरै मात्रामा उछित्तो काढ्न सक्यो भन्ने विषयले प्रमुख स्थान पाउन थालेको छ । नेतृत्वमा बस्नेहरुको आलोचना हुनु बेठीक होइन । तर नेतृत्वले मातहतका कमिट िर वयक्रिलायृ धारेहात लगाउनु अति नै बेठीक हो । झुपडीमा बस्नेले महलतिर फर्केर धारेहात लगाउँदा अस्वाभाविक मानिदैन । तर महलमा बस्नेले झुपडीमा बस्नेलाई हेलाहोचो गर्न थाल्यो भने त्यो अस्वाभाविक मानिन्छ । वर्तमान समयमा हरेक अस्वाभाविक लाग्ने कार्यको बोलवाला हुन थालेको छ । यो अति नै चिन्ताको विषय हो । कुनै पनि नेतृत्वले यसलाई ख्यालख्यालको ठान्नुहुँदैन ।

जेसिजको टोली औषधी सहित कोरोना संक्रमितको घरघरमा

राप्ती पोष्ट
दाङ, १० जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष सहितको टोलीले कोरोना सङ्क्रमितको घरमै पुगेर निःशुल्क औषधि वितरण गरेको छ । वडा अध्यक्ष विष्णुमणि दाहाल, जनस्वास्थ्य निरीक्षक नारायणप्रसाद न्यौपाने तथा त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश्वर शर्मासहित वडा नं. ५ का सङ्क्रमितको घरमा पुगेको टोलीले निःशुल्क रुपमा औषधि, सेनिटाइजर तथा मास्क वितरण गरेको हो ।

विरामीहरुको स्वास्थ्य अवस्था तथा चेकजाँच गरिएका रिपोर्ट हेरी औषधि उपलब्ध गराइएको जनस्वास्थ्य निरीक्षक न्यौपानेले बताउनुभयो । हाल वडा नं. ५ मा कोरोनाका २५ जना सक्रिय सङ्क्रमित रहेको समेत उहाँले बताउनुभयो ।
कोरोना सङ्क्रमित तथा सोको लक्षण देखिएका ३५ बढीलाई औषधि तथा सुरक्षा सामग्री वितरण गरिएको वडा अध्यक्ष विष्णुमणि दाहालले बताउनुभयो । वडाका नागरिकलाई घरदैलोमै औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउन आफू लागिरहेको अध्यक्ष दाहालले बताउनुभयो । “महामारीको अवस्थामा अरुको मुख ताक्ने भन्दा पनि हामीले जे सक्छौँ त्यही कुराको अनुभूति नागरिकलाई गराउन लागेका छौँ” अध्यक्ष दाहालले भन्नुभयो “जटिल अवस्थाका बिरामी बाहेक अन्यको अवस्थामा हामीले सक्दो सहयोग गरेका छौँ ।”

त्रिभुवननगर जेसीजले स्थानीय सरकारसँगको समन्वयमा ग्रामीण भेगका तथा बिपन्न परिवारका लागि निःशुल्क औषधि वितरण अभियानअन्तर्गत औषधि तथा सुरक्षा सामग्री वितरण गरिएको अध्यक्ष मुकेश्वर शर्माले जानकारी दिनुभयो । त्रिभुवननगर जेसीजले खडा गरेको ‘त्रिभुवननगर जेसीज आपतकालीन कोरोना उद्धार कोष’बाट सामग्री उपलब्ध गराइएको हो ।

जेसीजले सो कोषमा आफ्ना सदस्य, विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट स्वेच्छिकरुपमा सहयोग सङ्कलन गरेको छ । अध्यक्ष शर्माले घोराही उपमहानगरपालिकाका सम्पूर्ण वडाहरुमा क्रमशः जेसीजले यो अभियानलाई अघि बढाउने बताउनुभयो । आजै त्रिभुवननगर जेसीजले स्वास्थ्यचौकी धर्नामा नेबोलाइजर मेसिनसहित विभिन्न १२ किसिमका औषधि समेत हस्तान्तरण गरेको छ ।

वासिङको अनुमति लिएर क्रसिङको काम गरिरहेका उद्योगमा सेवा सुविधा रोकिने

राप्ती पोष्ट
दाङ, ९ जेठ । बालुवा प्रशोधनको अनुमति लिएर कानुन विपरित क्रसर उद्योग समेत संचालन गरिरहेका उद्योगहरुलाई पूर्ण रुपमा बन्द गराउन जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले आइतबार जरुरी सूचना जारी गर्दै जिल्लामा संचालित १० वटा उद्योगलाई पूर्ण रुपमा बन्द गर्नका लागि चेतावनी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जारी गर्नुभएको सूचनामा जिल्ला प्रशासन कार्यालयले गत बर्ष मंसिर ४ गतेका दिन नै वासिङका लागि अनुमति लिएर क्रसरको काम गरिरहेकालाई बन्द गर्न भनिएको भएपनि त्यसलाई अवज्ञा गरी क्रसरको काम गरिरहेको पाइएमा त्यस्ता उद्योगमा जाडिएको विद्युत खानेपानी लगायतका सेवा सुविधा बन्द गर्ने चेतावनी दिइएको छ ।

प्रशासनले उद्योग र संचालकहरु समेतको बैंक खाता, कारोवार लगायतका कामहरु रोक्का गरिने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयले दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले अवैध रुपमा संचालनमा रहेका क्रसर संचालनका लागि मौन समर्थन दिएको गुनासो आइरहदा प्रमुख जिल्ला अधिकारीको यस्तो सूचना आएको छ ।

जिल्लाका विभिन्न स्थानमा रहेका १० वटा वासिङ उद्योगले क्रसिङको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । यसरी वासिङको अनुमति लिएर क्रसिङको काम गरिरहेका उद्योगहरुमा स्वर्गद्वारी प्लान्ट, जनविश्वावस वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग, बगारबावा बालुवा प्रशोधन उदोग, पाण्डवेश्वर बालुवा वासिङ उद्योग, जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, पूर्णागिरी एगृगेट बालुवा वासिङ उद्योग र कृप्रभिज्ञा बालुवा वासिङ उद्योग रहेका छन् ।