spot_img
spot_img

जेसिजको टोली औषधी सहित कोरोना संक्रमितको घरघरमा

राप्ती पोष्ट
दाङ, १० जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष सहितको टोलीले कोरोना सङ्क्रमितको घरमै पुगेर निःशुल्क औषधि वितरण गरेको छ । वडा अध्यक्ष विष्णुमणि दाहाल, जनस्वास्थ्य निरीक्षक नारायणप्रसाद न्यौपाने तथा त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश्वर शर्मासहित वडा नं. ५ का सङ्क्रमितको घरमा पुगेको टोलीले निःशुल्क रुपमा औषधि, सेनिटाइजर तथा मास्क वितरण गरेको हो ।

विरामीहरुको स्वास्थ्य अवस्था तथा चेकजाँच गरिएका रिपोर्ट हेरी औषधि उपलब्ध गराइएको जनस्वास्थ्य निरीक्षक न्यौपानेले बताउनुभयो । हाल वडा नं. ५ मा कोरोनाका २५ जना सक्रिय सङ्क्रमित रहेको समेत उहाँले बताउनुभयो ।
कोरोना सङ्क्रमित तथा सोको लक्षण देखिएका ३५ बढीलाई औषधि तथा सुरक्षा सामग्री वितरण गरिएको वडा अध्यक्ष विष्णुमणि दाहालले बताउनुभयो । वडाका नागरिकलाई घरदैलोमै औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउन आफू लागिरहेको अध्यक्ष दाहालले बताउनुभयो । “महामारीको अवस्थामा अरुको मुख ताक्ने भन्दा पनि हामीले जे सक्छौँ त्यही कुराको अनुभूति नागरिकलाई गराउन लागेका छौँ” अध्यक्ष दाहालले भन्नुभयो “जटिल अवस्थाका बिरामी बाहेक अन्यको अवस्थामा हामीले सक्दो सहयोग गरेका छौँ ।”

त्रिभुवननगर जेसीजले स्थानीय सरकारसँगको समन्वयमा ग्रामीण भेगका तथा बिपन्न परिवारका लागि निःशुल्क औषधि वितरण अभियानअन्तर्गत औषधि तथा सुरक्षा सामग्री वितरण गरिएको अध्यक्ष मुकेश्वर शर्माले जानकारी दिनुभयो । त्रिभुवननगर जेसीजले खडा गरेको ‘त्रिभुवननगर जेसीज आपतकालीन कोरोना उद्धार कोष’बाट सामग्री उपलब्ध गराइएको हो ।

जेसीजले सो कोषमा आफ्ना सदस्य, विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट स्वेच्छिकरुपमा सहयोग सङ्कलन गरेको छ । अध्यक्ष शर्माले घोराही उपमहानगरपालिकाका सम्पूर्ण वडाहरुमा क्रमशः जेसीजले यो अभियानलाई अघि बढाउने बताउनुभयो । आजै त्रिभुवननगर जेसीजले स्वास्थ्यचौकी धर्नामा नेबोलाइजर मेसिनसहित विभिन्न १२ किसिमका औषधि समेत हस्तान्तरण गरेको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img