spot_img
Home Blog Page 30

घोराही–तुलसीपुर चारलेन सडक अलपत्र

कहिले हुन्छ काम ? छैन जवाफ कसैसंग

छबि पुरी /राप्ती पोष्ट

घोराही, फागुन । सम्झौता अनुसार काम भएको भए घोराही तुलसीपुर सडक फराकिलो र व्यवस्थित हुने थियो । सवारी आवागमन सहज हुँदा अहिलेसम्म भएका मानवीय र सवारी साधनमा क्षति हुने थिएन । तर, पाँच वर्ष बितिसक्दा पनि साविकको सडक क्षतिविक्षत भएपछि मर्मत गरेर अहिले काम चलाऊ अवस्थामा पुर्याईएको छ ।

दाङको लमही–घोराही–तुलसीपुर फोरलेन सडक २०७५ पुुस १३ गतेदेखि निर्माण सुरु गरिएको थियो । यो आयोजना २०७८ असोज मसान्तसम्म अर्थात् काम सुरु भएको ३० महिनाभित्र सम्पन्न हुने सम्झौता भएको थियो । भारतीय निर्माण तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले १ करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा सो सडक निर्माणको जिम्मा लिएको थियो । फोरलेन सडक विस्तार आयोजना सुरु भएको अहिले ५ वर्ष बितिसकेको छ । यस बीचमा ३ पटक म्याद थप गरेर काम गर्ने वातावरण बनाएपनि काम हुने अवस्था नभएपछि ठेक्का तोडेर नयाँ प्रकृयामा जाने अवस्था बनेको छ ।
अलपत्र फोरलेन विस्तार आयोजनाका कारण सर्वसाधारणहरूको दैनिकी निकै कष्टकर बनिरहेको छ । साढे २ करोड खर्च गरेर खाल्डाखुल्डी पुरेपनि सडक बिस्तार गर्न भन्दै दायाँबायाँ खनिएका खाडलका कारण सडक साँघुरो बनेको छ । अलपत्र फोरलेन सडकले धेरै दुःख दियो । कैयौँको ज्यान समेत लियो । तर न त्यो दुःख सरकारले देख्छ, सरोकार निकायले भने जस्तै भएको छ ।

त्यसो त अलपत्र फोरलेन सडक विस्तार आयोजना निर्माणका बारेमा स्थानीय सरकार मात्रै होइन, प्रदेश र संघीय सरकारले पटक पटक चासो देखाएपनि कामले गति लिएको छैन । निर्माण हुन नसकेपछि ठेक्का रद्द गरिएको घोराही तुलसीपुर सडक खण्ड फेरि चारलेन निर्माणका लागि प्रस्ताव गर्ने तयारी गरिएको छ । यसअघि यो सडक चारलेन विस्तारका लागि ठेक्का लागेको थियो तर काम नभएपछि सरकारले ठेक्का रद्द भएको छ । अहिले पुनः घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चारलेन नै बनाउन प्रस्ताव गरिने भएको छ । अहिले यो सडकको डिपिआरको काम अन्तिम अवस्थामा पुगेको सडक सुधार तथा विकास आयोजना निर्देशनालय प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
अहिले डिपिआरको अन्तिम तयारीमा रहेका रहेको बताउँदै केही दिनमा डिपिआरको रिपोर्ट तयार हुने निर्देशनालय प्रमुख सुवेदीले बताउनुभयो । डिपिआरको रिपोर्ट तयार भएपछि निर्देशनालयले सम्बन्धित मन्त्रालयमा पठाउने र थप प्रकृया थालनी हुने उहाँको भनाई छ ।

डिपिआर सरकारलाई बुझाएपछि सरकारले ठेक्का आह्वानका लागि लगानीकर्ता भारतको एक्जिम बैंकमा उक्त डिपिआर पेश गर्ने बाटो खुल्नेछ । उक्त डिपिआर माथि भारतीय एक्जिम बैंकले निर्णय लिएर ठेक्का आह्वान गर्ने बताईएको छ । सबै प्रक्रिया पुर्याएर काम गर्दा केही समय लाग्ने देखिएको छ । सडक विस्तारका लागि भारतीय बैंक राजी भए उसले ठेक्का आह्वान गर्ने भन्दै उहाँले तत्काल सबै काम हुने अवस्था नरहेको र प्रक्रिया पूरा हुन समय लाग्ने बताउनुभयो । यो वर्ष प्रकृयामै समय सकिने उहाँले जानकारी गराउँदै सबै काम समयमै अघि बढेमा अर्को वर्षबाट कामको थालनी हुने बताउनुभयो ।

निर्देशनालयले यो सडकलाई चारलेन नै निर्माण गर्ने गरी प्रस्ताव गर्ने तयारी गरेको छ । चारलेन सडक बनाउने भएपछि बजेट कति लाग्ने भन्नेबारे डिपिआरको फाइनल भएपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो । यसअघि घोराही तुलसीपुर सडकमा आधा भाग दुई लेन र आधार भाग चारलेन बनाउने गरी काम अघि बढाईएको थियो । सडकमा खनिएका खाडल पुरिए पनि यो सडक दुर्घटनाको उत्तिकै जोखिम बनिरहेको छ । साँघुरो सडकसँगै यातायातको बढ्दो चापले दुर्घटनाको जोखिम निम्त्याएको छ । साँघुरो सडकमा अनियन्त्रित गति दुर्घटनाको अर्को कारण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी निरीक्षक किरणप्रकाश मल्लले बताउनुभयो । साँघुरो सडकमा धेरै सवारी साधन सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

फोरलेन आयोजना अलपत्र भएका कारण सडकको खाल्टाखुल्टीमा परी पाँच वर्षको अवधिमा हालसम्म ३६ जनाले ज्यान गुुमाइसकेका छन् । फोरलेन सडक निर्माणका नाममा ठेकेदार कम्पनीले जथाभावी गरेको सडक कटानले दुर्घटना हुँदा ३६ जनाले ज्यान गुुमाई सकेको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ । बढ्दो सवारी चाप र साँघुरो सडकका कारण दुर्घटनाको जोखिम उच्च रहेको छ ।

गत बर्ष भएको संसदीय निर्वाचनपछि क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने रेखा शर्मा, प्रदेश ‘क’का सांसद राजु खनाल र ‘ख’ का सांसद प्रचण्ड विक्रम न्यौपानेले १५ दिन भित्र चारलेन सडकको काम थाल्ने घोषणा पत्रकार सम्मेलन गरेरै गर्नुभएको थियो । उहाँहरुमध्य शर्मा संचारमन्त्री तथा सरकारको प्रवक्ताको भूमिकामा हुनुहुुन्छ । प्रदेश सांसद खनाल स्वास्थ्य मन्त्रीको भूमिकामा हुनुुहन्छ । सांसदहरु विभिन्न राजकिय पदमा पुग्दा पनि चारलेन सडकको काम अलपत्र अवस्थामा रहेको छ ।
गएको असोजमा चारलेन सडकमा रहेका खाडल पुरियो । जसले गर्दा यातायातमा केही सहज भयो । तर दुर्घटनाको जोखिम कम भएको छैन । चारलेन सडकको काम कहिलेबाट सुरु हुुन्छ भन्ने बारेमा कसैले दिने जवाफ आधिकारीक लाग्दैनन् । दाङ ३ बाट निर्वाचित सांसद दिपक गिरीले आगामी बैशाखमा मात्रै टेण्डर हुने बताउनुभएको थियो । उहाँले भन्नुभयो,‘मैले पहिले नै बैशाख नहुँदै टेण्डरको प्रक्रियामा जाँदैन भनेर भनेको थिए ।’

दाङ उपत्यकाको लाइफ लाइनका रुपमा रहेको लमही घोराही हुँदै तुलसीपुर जोड्ने सडक चारलेन बन्ने आशामा बर्षौ विताइसकेका दङ्गालीले निर्वाचनपछि आएका जनप्रतिनिधिले काम गर्नेछन भन्ने आशा गरेका थिए । नयाँ जनप्रतिनिधि आएको एक बर्ष वितिसक्दासम्म पनि काम अघि नवढेपछि जुन जोगी आएपनि कानै चिरेका भन्ने उक्ति सार्थक भएको गुनासो बढ्न थालेको छ ।

रामपुरमा घोराहीको सार्वजनिक सुनुवाई

विकासका काम विकेन्द्रित गर्न सुझाव

छबि पुरी /राप्ती पोष्ट

घोराही,  फागुन । घोराही उपमहानगरपालिकाले दोश्रो त्रैमासिक सार्वजनिक सुनुवाई गरेको छ । पालिकाको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्म सम्पादित काम, तथा प्रगतिको बारेमा जानकारी गराउन तथा वडा स्तरमा भएका कामको बारेमा जानकारी गराउन वडा नम्बर २ रामपुरमा शुक्रबार सार्वजनिक सुनुवाई गरिएको थियो ।

अघिल्लो वर्षबाट पालिकासँगै वडा तहमा पुगेर सार्वजनिक सुनुवाई गर्दै आएकोमा वडा नम्बर १, २, ३, ४ र १७ लाई लक्षित गरी आयोजना गरिएको सार्वजनिक सुनुवाईमा वडा कार्यालयले चालु आर्थिक वर्षको दोश्रोे त्रैमाससम्म सम्पादन गरेका काम र योजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा पाँच वटै वडाका वडा सचिवहरुबाट दोश्रो त्रैमासिकसम्म भएको प्रगति विवरण प्रस्तुत भएको थियो ।

वडा नम्बर १ मा ३२ वटा योजना रहेकामा ९ वटा सम्झौता भई दुई वटा सम्पन्न भएको, नगर स्तरीय योजना १४ वटा प्रकृयामा रहेको वडा सचिवले जानकारी दिनुभयो । यसैगरी, वडा नम्बर २ मा १७ वटा योजना सम्पन्न भईसकेको बताउँदै प्रकृयामा १३ वटा रहेको वडा सचिवले जानकारी गराउनुभयो । वडा नम्बर ३ मा ३७ वटा वडा स्तरको कार्यक्रम रहेको र केही योजना सम्पन्न भईसकेको वडा सचिवले बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ४ ले ५९ वटा योजनामध्ये २८ वटा सम्पन्न भएका, नगर र संघीय गरी ३१ वटा प्रकृयामा रहेको वडा सचिवले बताउनुभयो । वडा नम्बर १७ ले पनि वडा तहदेखि छनौट भएका योजना तथा कार्यक्रम भईरहेको बताएको छ । स्वास्थ्य, शिक्षा, सामाजिक विकासलगायत पूर्वाधार विकासका क्षेत्रमा वडा तहबाट काम भईरहेको वडा सचिवले जानकारी गराउनुभयो ।

नगर उपप्रमुख हुमा डिसीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा वडाबासीले पालिकाबाट विनियोजन हुने विकासका कामलाई ग्रामीण क्षेत्रमा प्राथमिकता दिन माग गरेका थिए । यसैगरी, सार्वजनिक सुनुवाईको दायरा फराकिलो बनाउँदै हरेक वडा तहमा गर्न उहाँहरुको सुझाव थियो । विकासका कामसँगै सामाजिक विकासका क्षेत्रमा पनि लगानी बढाउँदै नागरिक सचेतनामा ध्यान दिन सहभागीहरुले आग्रह गर्नुभएको थियो ।

वडा नम्बर २ प्रगतिशील टोलका बासुदेव पौडेलले सार्वजनिक सुनुवाईको दायरा फराकिलो बनाउँदै आर्थिक विनियोजनमा वडाबासीको उपस्थिती बढाउन सुझाव दिनुभयो । वडा नम्बर ३ ज्ञानज्योति टोल भैसकुर्माका रामबहादुर केसीले भैसकुर्मा कुलोको कटान नियन्त्रणमा ध्यान दिन पालिकालाई आग्रह गर्नुभयो ।

आधारभूत विद्यालय चाक्लीघाटका प्रधानाध्यापक गुरुप्रसाद पौडेलले विद्यार्थीहरुको पठनपाठनमा ध्यान दिन पालिकास्तरबाट पहलकदमी बढाउन आग्रह गर्नुभयो । उहाँले बालबालिकाहरु कुलतको सिकार भईरहेकाले घरघरमा सचेतनाका कार्यक्रम फैलाउन ढिलाई गर्न नहुने बताउनुभयो । मावि झिङ्गनी बन्जाडीका प्रधानाध्यापक विण्णुप्रसाद शर्माले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि सामाजिक विकास महाशाखाको प्रभावकारी भूमिकाको खाँचो औँल्याउनुभयो । उहाँले शैक्षणिक सुपरीवेक्षणको काम शुन्य जस्तै भएकाले यस बारेमा ध्यान दिन उहाँको आग्रह थियो ।
कार्यक्रममा वडा नम्बर ४ मिलीजुली टोलका प्रितम पाण्डे, जनता मावि बुकाका विद्यार्थी गणेश सुनार, हेमन्ता भण्डारीलगायतले जिज्ञासा राख्नुभएको थियो । सार्वजनिक सुनुवाईमा उहाँहरुले वडा र पालिकाबाट भईरहेका कामलाई पूर्णता दिन, सार्वजनिक सेवालाई प्रभावकारी बनाउन, अलपत्र परेका पूर्वाधारका कामलाई सम्पन्न गर्न, शिक्षा, स्वास्थ्य, सामाजिक विकासका कामलाई नागरिकमैत्री बनाउन सुझाव दिनुभएको थियो ।

कार्यक्रममा जवाफदेही वक्ताका रुपमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतम, वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुदन शर्माले सुझावसहित सहभागीहरुबाट आएका जिज्ञासा र प्रश्नको जवाफ दिनुभएको थियो । पालिकाले माघ ५ गतेबाट वडाबाट आर्थिक प्रशासनीक कामको थालनी गरेको, घरनक्सा पासको काम अनलाईन प्रणालीमा लगेको, वित्तीय सुशासनका क्षेत्रमा सुधार गर्दै लगेको, नागरिकको सेवा सहज, सरल बनाउँदै लगेको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी गराउनुभयो ।

सार्वजनिक सेवालाई सुधार गर्दै नागरिक सन्तुष्टि बढाउनु नै पालिकाको प्रमुख लक्ष्य रहेको उहाँको भनाई थियो । यसका लागि पालिका, वडाले गर्दै आएका कामलाई आम नागरिकका बीचमा सार्वजनिक सुनुवाई निरन्तर गर्दै लगेको जानकारी गराउनुभयो । समाजका लागि संचार पैरवी नेपालले सहजीकरण गरेको सार्वजनिक सुनुवाईमा नागरिक अभिमत र नागरिकले सेवा लिँदै गर्दाको अनुभव समेटिएको नागरिक प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो ।

सहिद नेत्रलाल अभागी अव हुलाक टिकटमा

राप्ती पोष्ट

काठमाडौं, फागुन । प्रगतिवादी साहित्यकार सहिद नेत्रलाल पौडेल अभागीको नामको हुलाक टिकट प्रकाशन गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अभागी लगायत सहिदहरु कामी बुढा, रामवृक्ष यादव र ऐतिहासिक व्यक्तित्व साहना प्रधानसहित विभिन्न प्राकृतिक तथा सांस्कृतिक सम्पदाको तस्विर अङ्कित हुलाक टिकटमा टाँचा लगाुनभएको हो ।

हुलाक सेवा विभागले प्रकाशन गरेको हुलाक टिकटमा टाँचा प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऐतिहासिक व्यक्तिहरुको योगदानकै कारण आजको राजनीतिक परिवर्तन संभव भएकाले उनीहरुको सम्मान आवश्यक रहेको बताउनुभयो । राजनीतिक सामाजिक परिवर्तनका लागि योगदान गरेका ऐतिहासिक व्यक्तिहरुको सम्मान गर्नु राज्यको प्राथमिक दायित्व भएको पनि उहाँले बताउनुभयो ।

प्रकाशनमा ल्याएको हुलाक टिकटमा मुखाकृत ऐतिहासिक व्यक्तित्वहरुको योगानको चर्चा गर्दै मन्त्री शर्माले आजको पुस्तालाई अग्रजहरुले गरेको त्याग बलिदान र वीरताका गाथा अनुभूत गराउनुपर्ने बताउनुभयो । मन्त्रालयले हुलाक टिकटमार्फत थोरै भए पनि ऐतिहासिक व्यक्तित्वहरुको सम्मान गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालमा प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलन तथा सामाजिक रुपान्तरणमा अभियानमा योगदान गर्ने थुप्रै ऐतिहासिक व्यक्तित्वलाई आगामी दिनमा संभव भएसम्म राज्यका विभिन्न निकायबाट सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हुलाक विभागका महानिर्देशक प्रदीपराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्रीहरु दिनानाथ शर्मा र रामकुमारी झाँक्री, सहिद रामवृक्ष यादवका छोरी एवं मधेश सरकारका पर्यटन मन्त्री सुनिता यादव, सहिद नेत्रलाल अभागीकी श्रीमती एवं पूर्व सांसद विष्णु शर्मा पौडेललगायतले बोल्नुभएको थियो ।

६४ वर्षपछि नेपालमै टिकट छाप्न सुरु

यसैबीच सरकारले ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न सुरु गरेको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ थालेको हो । विसं २०१६ सम्म नेपालमै टिकट छाप्ने गरिए पनि त्यसपछि भने विभिन्न देशमा छाप्ने गरिएको थियो । यो वर्षदेखि जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइ सुरु गरेको छ । यसबाट सस्तो मूल्यमा टिकट छाप्न सकिने भएकाले राज्य कोषको वचत हुन जाने सरकारको विश्वास छ ।

 

घोराहीका ६४ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइने

राप्ती पोष्ट

घोराही, फागुन । आगामी फागुन १३ गतेदेखि घोराहीमा दादुरा रुवेला विरुद्ध खोप अभियान संचालन गरिने भएको छ । दादुरा रुबेला विरुद्धको खोप अभियान अन्तरगत घोराहीमा पनि तयारी तीव्र पारिएको छ । नेपाल सरकारले फागुन १३ गतेदेखि चैत २७ गते भित्र देशव्यापी रुपमा दादुरा रुबेला खोप अभियान संचालन गरिसक्ने निर्देशन गरे बमोजिम घोराहीमा बसोबास गर्दै आएका ६४ हजार तीन सय २८ जना बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने तयारी भएको हो ।

उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले बिहीबार कार्यपालिका सदस्य, सामाजिक विकास महाशाखाका प्रमुख, प्रतिनिधीहरु, पत्रकारहरुका लागि आयोजना गरेको अभिमुखिकरणमा फागुन १३ गतेदेखि पालिकाभरका एक सय ९७ वटा खोप केन्द्रमार्फत बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाउन लागिएको जानकारी गराईएको हो ।
विद्यालयहरुका खोप केन्द्र निर्धारण गरी संचालन गर्न थालिएको अभियानमा स्वास्थ्यकर्मी, शिक्षक र स्वयम्सेविकाहरुले सहजीकरण गर्नेछन् । संघ सरकारले उपलब्ध गराएको खोपलाई प्रदेश सरकारले व्यवस्थापन गरीरहेको छ भने स्थानीय पालिकाहरुले खोप अभियानलाई कार्यान्वयन गर्ने भएको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ यो अभियान पूर्ण खोप सुनिश्चित भएका स्थानहरुमा पनि संचालन गर्न थालिएको छ ।

पालिकास्तरीय खोप समन्वय समिति संयोजक एवम् नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको अभिमुखीकरणमा पालिकाभरसंचालन हुन लागेको खोप अभियान बारे जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी गराउनुभएको थियो । अघिल्लो वर्ष ९५ प्रतिशत बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाईएकोमा यो पटक शतप्रतिशत पुर्याउने लक्ष्य लिईएको उहाँले बताउनुभयो ।

‘नियमित दादुरा–रूबेला खोपको कभरेज ९५ प्रतिशत भन्दा कम भएको, नियमित दादुरा–रूवेला खोपको कभरेज सबै तहमा एकरूपता नरहेको, दादुरा रुबेला खोप अभियान २०७६÷७७ पछि गरिएको सर्भेक्षणअनुसार दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत मात्र देखिएको, कोभिड १९ को महामारी र अन्य कारणहरूले गर्दा दादुरा रूबेला खोप लगाउन छुट बालबालिकाहरूको संख्यामा वृद्धि भई २०७९–०८० मा दादुराको महामारी देखिएका कारण पनि यस्तो बेलामा सबैले सकारात्मक रुपमा अभियान सफल बनाउन लाग्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो ।

नगर प्रमुख चौधरीले आफ्ना बालबालिकालाई तोकिएको खोप केन्द्रबाट अनिवार्य खोप अनिवार्य लगाउन अनुरोध गर्नुभयो । स्वस्थ नागरिक बनाउने सरकारको लक्ष्यलाई सहयोग गर्न उहाँको आग्रह थियो । ‘लक्षित उमेरका बालवालिकाहरुलाई दादुरा–रूबेला खोप लगाएर दादुरा र रूबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगहरूबाट संक्रमण हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न, पाँच वर्ष मुनिका बालबालिकाहरूको नियमित खोपको अवस्था पहिचान गरेर छुट नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्न सबै अभिभावकहरु, सरोकार निकायले जिम्मेवारपूर्वक भुमिका खेल्न अनुरोध छ, गाउँ टोल समुदायमा सबैले सहयोग गर्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो ।

९ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकाहरुका लागि दादुरा रुबेला खोप अभियान संचालन हुन लागेको हो । पछिल्लो समय दादुरा रुबेलाका बिरामीको संख्या बढेको हुँदा सो अभियान सञ्चालन गर्नु परेको सरकारको भनाई छ । लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषणा भएपनि २०७९ मंसिर ३ देखि २०८० पुस १५ गतेसम्म दादुरा रुबेलाको महामारीको रुपमा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेका थिए । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा ३ सय २१ जना दादुरा रुबेलाबाट बालबालिका संकमित भएका थिए । त्यसैगरी बर्दियामा ७२, दाङमा ३९, अर्घाखाँचीमा ११ जनामा बिरामी परेका थिए ।

जसका कारण पुनः तराईका २१ जिल्लामा ९ महिना दखि १५ वर्ष उमेर समुहका र काठमाडौं उपत्यकाका ३ जिल्लामा ९ महिना देखि ५ वर्ष उमेर समुहका बालबालिकाहरुमा दादुरा रुबेला खोप अभियान संचालन हुन लागेको छ । यस अभियान अन्तरगत लुम्बिनी प्रदेशमा रहेका ११ लाख ६० हजार ६ सय ६६ जना बालिबालिकाहरुमा खोप लगाउने लक्ष्य रहेको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उसो त, नियमित दादुरा रुबेला खोपको कभरेज सबै स्थानीय तहमा एकरुपता हुन सकेको छैन । जसका कारण पनि दादुरा रुबेला खोप अभियानको कभरेज समग्रमा ८४ प्रतिशत मात्र रहेको पाइएको छ । खोपबाट बचाउन सकिने रोग नियन्त्रण गर्नु तथा अपाङ्गता र मृत्युदरलाई कम गर्न, खोपबाट बचाउन सकिने रोगहरुको निवारण र उन्मुलनको लक्ष्य हासिल गर्ने कार्यलाई तिव्रता दिई दिगोपन कायम राख्न, सन् २०१० देखि पोलियो शुन्य अवस्था कायम भएकोलाई निरन्तरता दिई सन् २०२६, सम्ममा पोलियो रोग उन्मूलन गर्न, सन् २००५ देखि नवशिशु धनुष्टंकार रोग निवारण भएको अवस्थालाई कायम राख्न, सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्न र प्रत्येक बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चित गर्न अभियानकै रुपमा संचालन गर्ने लक्ष्य राखिएको बतार्ईएको छ ।

यद्यपि, हालसम्मको अवस्था हेर्ने हो भने अपेक्षित कभरेज हासिल नहुनु, कभरेजमा एकरूपता नहुनु, शून्य खोप र ड्रपआउटको संख्या बढ्दै जानु, सुक्ष्मयोजना अध्यावधिक नगरिनु, पूर्ण खोप दिगोपना कार्यक्रम प्रभावकारी नहुनु, महामारीहरु देखा परी रहनु तथा खोप खेर जाने दर उच्च हुनु जस्ता समस्याले चुनौति थप्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

कक्षा पाँचवटा, शिक्षक भने एकजना

शरद अधिकारी

खानीगाउँ(सैघा), फागुन । घोराही उपहानगरपालिकाको सवैभन्दा विकट वडाका रुपमा रहेको वडा नं. १९ मा पर्ने बराह क्षेत्र प्राथमिक विद्यालयमा विहीबार दिउँसो पुग्दा शिक्षक सरीता केसी हस्याङ फस्याङ गर्दै हुनुुहुन्थ्यो । केह विद्यार्थी बाहिर खेलिरहेका थिए । केही विद्यार्थी कक्षा कोठामा थिए ।

विद्यालयमा पाँचवटा कक्षा छन् । विहीबारका दिन केसी मात्रै उपस्थित हुनुहुन्थ्यो । एक देखि कक्षा पाँच सम्म अर्थात पाँचवटा कक्षा एक्लै सम्हाल्न उहाँलाई हम्मे हम्मे परिरहेको थियो । ‘एक्लै छु, हैरान भएको छ, कता कता जाने, कसरी पढाउने ?’ उहाँले भन्नुभयो । विद्यालयमा चारजना मात्रै शिक्षक हुनुहुन्छ । केही दिन अघि प्रधानाध्यापकको जिम्मेवारीमा रहनुभएका शिशिर खनाल अनेत्रै जानुभयो । खनालले पढाउने विषयहरु त्यसै अलपत्र परिरहेका छन् ।

खनालले अंग्रेजी, विज्ञान, स्थानीय विषय बढाउने गर्नुभएको थियो । पुसको २६ गते खनाल सरुवा भएर गएपछि एक महिना भन्दा लामो समयदेखि उहाँले पढाउने विषयहरु पढाइ भइरहेका छैनन् । ‘कहिलेकाँही मैले शिशिर सरले पढाउनुभएका विषय पढाउँछु ।’ केसीले भन्नुभयो । कक्षा ५ का विद्यार्थी देवराज विकले परीक्षा आउने समय भइसक्दा पढाइ नसकिएको र पढाइ निमियत नभएको गुनासो गर्नुभयो ।

सिमलडाँडाबाट एक घण्टा हिडेर विद्यालय आएको बताउने प्रकाश घर्तीले विद्यालयमा आएपनि पढाइ नहुने समस्या रहेको बताउनुभयो । करिव एक महिनादेखि राम्रोसंग पढाइ भइरहेको छैन । विहीबार एक जना शिक्षक मात्रै उपस्थित हुँदा केही विद्यार्थी बाहिर खेलिरहेका थिए । केही विद्यार्थीहरु कक्षा कोठामा थिए । कक्षा ५ का विद्यार्थीहरु कोठा भित्र बसेर पढीरहेका थिए । कक्षामा ११ जना विद्यार्थी भर्ना भएको भएपनि विहीबार ६ जना मात्रै उपस्थित थिए । शिक्षक पाँच जनामा एक जना, विद्यार्थी करिव एक सयमा आधा जति उपस्थिति थिए । नेपाली विषय पढाउने सरीता चौधरी सासु वितेका कारण उपस्थिति हुनुभएको थिएन । कार्यालय सहयोगी देवकली घर्ती पढाइको सिलसिलामा भर्ना हुनका लागि अन्तिम दिन भनेर जानुभएको थियो । बाल शिक्षा अन्तरत मिना बोहरा पनि कार्यालयमा उपस्थिति हुनुहुन्थेन । जसका कारणले गर्दा विहीबार सरीता केसी मात्रै विद्यालयमा उपस्थित हुनुभएको थियो । बोहराले खुट्टा मर्केका कारणले गर्दा आउन नपाएको खवर पठाउनुभएको थियो । विद्यालयमा सरकारी दरवन्दी दुईजनाको मात्रै रहेको छ । एक जना कार्यालय सहयोगी र एकजना सहयोगी कार्यकर्ताका रुपमा हुनुहुन्छ । कार्यालय सहयोगीको दरवन्दीमा रहनुभएकी देवकली घतीले कक्षा ५ का विद्यार्थीलाई स्वास्थ्य विषय पढाइरहनुभएको छ ।

करिव ४० बर्ष अघि स्थापना भएको विद्यालयमा करिव एक सय विद्यार्थीहरु रहेका छन् । २०४१ सालमा स्थापना भएको विद्यालयमा शिक्षकको अभाव मात्रै होइन अभावका अनेकौं विषयहरु रहेका छन् । विद्यालयमा एउटा धारा रहेको छ जसमा पानी आउँदैन । विद्यालयमा आउने पानी गाउँलेले नै बन्द गरिएको गुनासो विद्यार्थीहरुको छ । जसका कारणले गर्दा विद्यार्थीहरुलाई खानेपानीको समस्या रहेको छ । शौचालयमा पानी त टाढाको कुरा भएको छ ।

विद्यालयमा शिक्षकहरु उपस्थित नभएको बारेमा जानकारी लिनका लागि विद्यालयका अध्यक्ष खिमबहादुर घर्तीलाई सम्पर्क राख्दा उहाँकोमा सम्पर्क हुन सकेन । यस्तै घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले विद्यालयमा प्रअ आज शुक्रबारबाटै जाने बताउनुभयो । उहाँले पहिलेका प्रअ सरुवा भएर रामपुर आएपछि प्रअको दरवन्दी रिक्त थियो । शिक्षा महाशाखाले प्रावि बराह क्षेत्रमा एक जना प्रअ पठाउने बारेमा निर्णय पास भइसकेको बताउनुभयो ।
वडा नं. १९ का अध्यक्ष ज्ञानबहादुर रायमाझीले वडा नं. १९ को विकट विद्यालयका रुपमा रहेको बराह क्षेत्र विद्यालयको समस्याका बारेमा आफू जानकार रहेको बताउनुभयो । उहाँले विद्यालयमा देखिएको समस्या समाधान गर्नका लागि वडाका तर्फबाट पहल गरिएको बताउनुभयो । विद्यायलमा रहेको दरवन्दी अनुसार शिक्षक व्यवस्थागर्ने देखि लिएर अन्य खालका सेवा सुविधा थप गर्ने विषयमा आफूले पहल गरिरहेको उहाँले बताउनुभयो ।

दाङमा बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव हुने

राप्ती पोष्ट

घोराही, फागुन । दाङमा बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव हुने भएको छ । एभरेष्ट कल्चरल ग्रुपको मुख्य आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानीय आयोजनामा फागुनको १८ गतेदेखि २१ गतेसम्म घोराहीस्थित कृषि सामग्री कम्पनीको खुला मैदानमा अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव हुने भएको हो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गरी स्थानीय तथा देशको मौलिक कला संस्कृति विश्व समुदायमा परिचित गराउने र जिल्लावासिलाई विभिन्न देशको कला, संस्कृति तथा भेषभुषालाई अवलोकन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले लोकसांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बारे जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा नेपाल, भारत, जर्मन, अष्ट्रिया, वेल्जियम, वोत्स्वाना, इस्टोनिया, ईजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका र दक्षिण कोरीयाका करिव ३ सय वढी कलाकारहरुको मौलिक प्रस्तुति रहने छ । ऐतिहासिक कार्यक्रममा दाङको मौलिक परम्परागत कला संस्कृति सम्वन्धित महत्वपूर्ण नाच र राष्ट्रिय स्तरमा प्रसिद्ध परम्परागत नाचहरु पनि प्रस्तुत हुने आयोजकले जनाएको छ ।

राहीमा करीव १२ वर्षअघि पनि यस प्रकारको कार्यक्रम आयोजना गरिएको थियो । यस पटकको कार्यक्रमले दाङको विभिन्न पर्यटन तथा व्यावसायीक क्षेत्रहरुमा टेवा पुग्ने, आर्थिक संकटको वेलामा पनि आर्थिक चलायमान हुने, दाङसहित लुम्विनी प्रदेशकै कला संस्कृति तथा पर्यटनको विश्व सामु परिचित गराउन महत्वपूर्ण भुमिका रहने विश्वास आयोजकले लिएको छ ।
अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव भएकोले दाङको सान उच्च राख्नमा महत्वपूर्ण भुमिका रहने, आफ्नै जिल्लामा वसेर विभिन्न देशको कला संस्कृतिको अवलोकन गर्न पाउने अवसर प्राप्त हुने तथा स्थानीय जातजाति भेषभुषा तथा कला संस्कृतिलाई पनि विश्वका विभिन्न राष्ट्रहरु सामु परिचित गराउन पाउने अवसर प्राप्त हुने बताईएको छ ।

बाह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा १३ देश र लुम्विनी प्रदेशकै सांस्कृतिक प्रतिनिधित्व हुनेगरी निम्नानुसार कार्यक्रमहरू प्रस्तुत गरिने भएको छ । जस अनुसार, फागुन १८ गते स्थानीय झाँकी शोभायात्रासहित उद्घाटन एवं सांस्कृतिक प्रस्तुति रहनेछ । फागुन १९ गते स्थानीय सांस्कृतिक एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ ।

फागुन २० गते स्थानीय सांस्कृतिक एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ र फागुन २१ गते १३ देशका २ सय ७० जना कलाकार राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक प्रस्तुतीपश्चत कार्यक्रम समापन गरिने बाह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव मूल आयोजक समिति संयोजक एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनुभयो । लोकसांस्कृतिक महोत्सव सम्पन्न गर्न उद्योग वाणिज्य संघले विभिन्न समिति तथा उपसमितिको संयोजक तोकेर जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।

बंगलाचुलीमा एमालेको प्रशिक्षक प्रशिक्षण

राप्ती पोष्ट

बंगलाचुली, माघ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको निर्णय र जिल्ला कमिटी दाङको निर्देशनमा स्कुल बिभागले बंगलाचुलीको कमिरेचौरमा दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो ।

नेकपा एमाले बंगलाचुली गाउँपालिका कमिटीको ब्यबस्थापनमा आयोजना गरिएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा घोराहीका नगरप्रमुख नरुलाल चौधरीले गर्नुभएको थियो । दाङका दशवटै पालिकामा प्रशिक्षण गर्ने क्रममा बंगलाचुलीबाट प्रशिक्षक–प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा बोल्दै पोलिटव्युरो सदस्य चौधरीले नेकपा एमालेका नेता कार्य कर्ताहरु अरु पार्टी भन्दा बैचारिक र सैद्धान्तिक हिसाबले फरक हुनुपर्ने बताउनु भयो । नेकपा (एमाले) को स्पष्ट कार्यनीति र कार्यदिशाका साथ अगाडि बढेको हुनाले रास्ट्रको समृद्धिको लागि ‘मिसन २०८४’ लाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनु भयो ।

उद्घाटन कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतले मन्तव्य राख्नुभएको थियो । प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा पहिलो दिन दाङको समग्र विकासको बारेमा पोलिटब्युरो सदस्य नरुलाल चौधरीले, पार्टी संचालन र लेनिनवादी संगठनात्मक पद्धतिको बारेमा सचिवालय सदस्य तथा दाङ स्कुल बिभाग प्रमुख बिबेक श्रेष्ठले र (एमाले)को एप्स कसरी चलाउने भन्ने बारेमा कार्यलय सचिब युवराज ज्ञावलिले प्रशिक्षण दिनुभएको थियो ।

दोस्रो दिन अर्थात शनिबार दाङको कम्युनिस्ट आन्दोलनको इतिहासको बारेमा जिल्ला सचिब मनोहर बुढाथोकीले नेतृत्व शैली र बैठक संचालन बारे स्कुल बिभाग सदस्य विनोद केसीले, जबजको बारेमा प्रदेश कमिटी सदस्य सुरामणि बेल्बासे, राजनीति पार्टीहरुको तुलनात्मक अध्ययनको बारेमा केन्द्रिय स्थानीय तह बिभाग सदस्य विकिरण गौतम र माक्र्सवादी दर्शनको बारेमा प्रदेश कमिटी सदस्य तिरण गौतमले प्रशिक्षण दिनुभएको थियोे । प्रशिक्षणको समापन गाउँपालिका कमिटी अध्यक्ष यमुना थापा घर्तीको अध्यक्षतामा भएको थियो । समापन कार्यक्रमको संचालन स्कुल विभागका सदस्य विनोद केसीले गर्नुभएको थियो ।

विकास पत्रकारितामा दाङका छापा माध्यमको योगदान

 

शरद अधिकारी

पत्रकारिताका हिसावले दाङ जिल्ला अव्वल जिल्लामा पर्दछ । दाङ जिल्लामा सवैभन्दा पहिले संचारमाध्यमका रुपमा छापा माध्यम आएको थियो । कतिपय जिल्लामा पत्रिका प्रकाशन नहुँदै रेडियो पुगेका उदाहरणहरु छन् । दाङ जिल्लामा पंचायतकालमै पत्रिका प्रकाशन भएको देखिन्छ । पत्रकारको कुरा गर्ने हो भने जिल्लामा पत्रिका नहुँदा पनि पत्रकारहरु जन्मिइसकेका थिए । जिल्लामा पत्रिका प्रकाशन भएको कुरालाई आधार मान्ने हो भने करिव पाँच दशक मात्रै भएको छ । यो पाँच दशकको अवधिमा छापा माध्यमले निकै फड्को मारेको छ । शुरुमा पाक्षिक रुपमा पत्रिका निस्केको इतिहास छ । समाचार पत्रको रुपमा युगवोध दैनिकलाई पहिलो पत्रिका मान्ने हो भने यो सुरुमा पाक्षिक थियो । पछि साप्ताहिक रुपमा आयो । युगवोध दैनिक लामो समय छापा माध्यमका रुपमा उभियो । दाङ जिल्लामा पंचायती व्यवस्थाको समयमा केही पत्रिकाहरु जन्मिएका थिए । केही पत्रिकाहरु लोकतन्त्रको आगमन पछि मात्रै आएका छन् । पत्रकारिताका लागि उर्वर मानिएको दाङ जिल्लामा छापा माध्यमले विकास पत्रकारिताको क्षेत्रमा कति योगदान गरे ? कुन कुन क्षेत्रमा योगदान गरे भन्ने सन्दर्भमा आजको लेख केन्द्रित रहेको छ ।

विकास पत्रकारिताको मुख्य काम भनेको समाज परिवर्तनका लागि सकारात्मक सन्देश दिने हो । छापा माध्यमको काम भनेको समाजमा परिवर्तन ल्याउने हो । विकास ल्याउने हो । समृद्धि ल्याउने हो । विकृती विसंगती अन्त्य गर्ने हो । त्यसका लागि खोज र अनुसन्धान गने हो । दाङ जिल्लाको कुरा गर्ने हो भने अहिले यहाँ पाँचवटा दैनिक पत्रिकाहरु नियमित रुपमा प्रकाशन भइरहेका छन् । घोराहीबाट चारवटा दैनिक पत्रिका छन् भने तुलसीपुरबाट एउटा दैनिक पत्रिका प्रकाशन भइरहेको छ । यस्तै केही साप्ताहिक पत्रिकाहरु प्रकाशित भइरहेका छन् । जिल्लाबाट प्रकाशित पत्रिकाहरुले गरेको योगदान अनुसन्धानको विषय हो । जिल्लाको विकासका लागि छापा माध्यमले गरेको योगदान महत्वपूर्ण रहेको छ । परिवर्तनका पक्षमा, विकासका लागि पत्रकारिताले योगदान गरेको छ । जसलाई निम्न रुपमा उल्लेख गर्न सकिन्छ ।
विकास सम्वन्धी समाचारहरुः हामी सवैलाई थाहा छ नेपालको पत्रकारितामा राजनीतिले बढी स्थान पाउने गर्दछ । यो रोगबाट दाङ जिल्ला पनि अछुतो रहेको छैन । दाङ जिल्लाका छापा माध्यममा पनि राजनीतिक कुरा नै धेरै आउँछन् । यति हुँदा हुँदै पनि दाङको छापा माध्यमले विकासका क्षेत्रमा भइरहेका प्रगतिहरु, लगायत विकासमा भइरहेका समस्याहरुलाई उजागर गरिरहेका छन् । पत्रकारिताले कहिले पनि आफूलाई यो विषयबाट टाढा राखेको छैन । विकास सम्वन्धी समाचारहरु यहाँका पत्रिकाका लागि प्राथमिकतामा पर्र्ने गरेका छन् । कतिपय विकासका कुरा, विनासका कुरा, भ्रष्टाचारका कुराहरु मानिसले छापा माध्यमबाट आउने समाचारबाट थाहा पाउने गरेका छन् ।

साक्षरता बढाउने काममा छापा माध्यमः विकासको कुरा गर्दा विकास भनेको भौतिक विकास मात्रै होइन । भौतिक विकासको कुरा मात्रै समाचारमा आउने होइन । विकासका विभिन्न क्षेत्रहरु छन् ति विषयहरु पनि छापा माध्यममा विषय बन्ने गरेका छन् । स्वास्थ्यको क्षेत्रमा भएका राम्रा काम र प्रगतिका बारेमा पत्रिकामा आउने गरेका छन् । शिक्षाको क्षेत्रमा भएका अनेकौं प्रगतिका बारेमा समाचारहरु आउने गरेका छन् । अन्य विषयहरुको तुलनामा शिक्षाको क्षेत्रमा वा साक्षरता बढाउने सवालमा पनि यहाँको पत्रकारिताले काम गरेको छ ।

अभियान संचालनमा साथैः हाम्रो समाजमा अनेकन खालका समस्याहरु रहेका छन् । कतिपय समस्याहरु समाधान भएका छन् । कतिपय समस्याहरु अझै ज्यूदै छन् । कुनै बेला दाङ जिल्लामा खुल्ला दिसामुक्त अभियान चलिरहेको थियो । त्यतिवेला अभियानकर्मीसंग छापा माध्यम पनि कुदिरहेको थियो । छापामाध्यमले खुल्ला दिसामुक्तको अभियानमा आफूलाई साथै लगाएको थियो । यो त एउटा उदाहरण मात्रै हो । केही बर्ष अघि विधवाले सेतो लगाउनुपर्छ भन्ने मान्यतालाई तोडन्का लागि महिलाहरु लागिरहेको समयमा त्यसलाई छापा माध्यमले साथ दिएको थियो । एकल महिलाहरुले रातो लगाउने अभियानलाई सफलतामा पु¥याउनका लागि पत्रकारिताले ठूलो योगदान गरेको थियो । यस्तै जिल्लामा कम्लहरी मुक्तीको अभियानमा पत्रिका साथै थिए । जिल्लालाई बालश्रम मुक्त बनाउनका लागि पत्रकारिताले योगदान गरेको थियो । अहिले पूर्ण सरसफाईको अभियान चल्न खोजिरहेको छ । यसमा पनि छापामाध्यमको पुरै साथ र सहयोग हुनेछ ।

समस्या उजागर गर्नेः समाजमा अनेकौं समस्याहरु छन् । समाजमा गरीवी छ । समाजमा बेरोजगारी छ । समाजमा शिक्षाको अभाव छ । समाजमा अहिले पनि छुवाछुत कायमै छ । बाल विबाह अन्त्य भएको छैन । बालश्रमिकहरु राख्ने क्रम पूर्ण रुपमा अन्त्य भएको छैन । अपाङ्गता भएकाहरुले अधिकार पाएका छैनन् । कहिले किसान समस्यामा हुन्छन् । कहिले विद्यार्थी, कहिले व्यापारी, कहिले खेलाडीहरु समस्यामा पर्ने गरेका छन् । यस्ता समस्याहरुको उजागर गर्ने भरपर्दो माध्यम छापा माध्यम बन्ने गरेको छ । कसैले न्याय पाएन भने पत्रकारलाई खोज्दै गरेको देखिन्छ । कोही विरामी पर्दा पत्रकारले समाचार लेखिदिए केही सहयोग जुट्छ कि भन्नेहरुको कमि छैन । यस्ता धेरै बिषयहरु छन जसलाई पत्रकारिताले उजागर गर्दै आइरहेको छ ।

सांस्कृतिक अभिवृद्धिमा योगदानः दाङ जिल्ला विविधताले भरिएको जिल्ला हो । यहाँका छापा माध्यमले स्थानीय सांस्कृतिक गतिविधिहरू, विभिन्न पर्वहरु, विभिन्न चाडहरुलाई महत्व दिइएका हुन्छन् । पर्यटनका विषयहरु होउन वा सांस्कृतिक संरक्षण गर्ने सवाल ने किन नहोस छापा माध्यमले आफूलाई अव्वल रुपमा प्रस्तुत गर्दै आएको छ । सांस्कृतिक रुपमा रहेको विविधता संरक्षण गर्ने र संरक्षणमा लाग्नेहरुलाई उत्प्रेरणा दिने काम संचारले गर्नै पर्दछ । दाङको छापा माध्यमले यो विषयमा पनि आफूलाई सधै अग्रस्थानमा राख्ने गरेको छ ।

स्थानीय उद्यमशिलता प्रवद्र्धनः छापा माध्यमको काम जस्तो भएको छ स्थानीय उद्यमिहरूको प्रवद्र्धन गने कुरा । स्थानीय रुपमा उद्यमीहरुले हासिल गरेका सफलताका कथाहरु, कसैले सानो लगानीबाट गरेका सफलताहरुलाई प्रवद्र्धन गर्नै काम मिडियाले गरिरहेको छ । छापा माध्यमहरुले अनेकौं सफलताका जीवन्त बिषयहरुलाई उजागर गर्दै आइरहेका छन् । कसैले गरेका राम्रा कामहरु, कसैले गरेका राम्रा योगदानहरु, कसैले गरेका राम्रा कामहरु, स्थानीय उद्यमीले राष्ट्रिय रुपमा समेत चर्चा पाएका सफलता गथाहरूलाई छापा माध्यमहरुले उजागर गर्ने गरेका छन् ।

यि त केही उदाहरण मात्रै हुन । जिल्लाको छापा माध्यमले पाँच दशकको अवधिमा गरेको योगदानलाई लिपिवद्ध गर्नु गाहे कुरा हो । छापा माध्यमले विकास पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको कुरा हामी सजिलै भन्न सक्छौं । यो विषय लुकाउँदा पनि लुक्ने विषय होइन । जिल्लामा रहेका पाँचवटा दैनिक पत्रिकाहरुले विकास पत्रकारितालाई कुनै न कुनै रुपमा अघि बढाएका छन् । कुनै न कुनै रुपमा सम्वोधन गरेका छन् । छापा माध्यमको इतिहास लामो छ । जिल्लामा अहिले नयाँ युगवोध दैनिक, गोरक्ष दैनिक, गणतन्त्र दैनिक, राप्ती पोष्ट दैनिक घोराहीबाट प्रकाशित भइरहेका छन् । तुलसीपुरबाट प्रदेश टुडे दैनिक प्रकाशनमा रहेको छ । पाँच वटा दैनिक नियमित रुपका प्रकाशन भइरहदा हरेक दिन कुनै न कुनै विकासका बिषयहरुले स्थान पाइरहेका छन् । स्थानीय विषयको मात्रै कुरा होइन राष्ट्रिय बिषयलाई पनि महत्व दिने काम यहाँका पत्रिकाहरुले गरिरहेका छन् । कुनै पनि संचारका माध्यमहरु समाजका सम्पती हुन । यि सवै समाजका विषयहरु उजागर गर्ने माध्यमहरु हुन । कसैलाई पत्रिका वा रेडियोले अरु विषयहरु उजागर गर्नुपर्छ भन्ने लाग्न सक्छ । त्यो स्वभाविक कुरा हो । कसैलाई अझै धेरै बिषय आए हुन्थ्यो भन्ने लाग्न सक्छ । मिडियामा आउने विषयका बारेमा व्यापक छलफल गर्ने । बहस गर्ने । यो पुगेन भनेर भन्ने हो भने त्यो विषयलाई समेट्न सवै माध्यम तयार हुनेछन् । संचारमाध्यमलाई कसरी राम्रो बनाउने भन्ने बारेमा समाजको सचेत बर्गले ध्यान दिनुपर्छ ।

sharadreetu@gmail.com

स्वर्गद्वारी गुठी पीडित मोही किसानले सडक आन्दोलन गर्ने

छबि पुरी /राप्ती पोष्ट
घोराही,  माघ । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले लामो समयदेखि उठाउँदै आएको माग र मुद्दा सुनुवाई नभएको भन्दै आम हड्तालसहित सडक आन्दोलनको घोषणा गरेको छ । आगामी फागुन ८ गतेबाट सडक आन्दोलन गर्न लागेको बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले जनाएको छ ।

जसअनुसार ८ गते व्यानर प्लेकार्ड सहित घोराही बजारमा र्याली तथा सभा गर्ने, फागुन ९ गतेदेखि ११ गते समम जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय दाङ घोराहीमा २४ घण्टे धर्ना दिने, फागुन १३ गतेदेखि १५ गते सम्म रÞ्याली सहित दाङका राजनीतिक पार्टी कार्यालयमा धर्ना दिने, फागुन २० गतेदेखि २२ गतेसम्म लुम्बिनी प्रदेश सभामा र्याली सहित धर्ना र पूर्वपश्चिम राजमार्गमा २ घण्टा सुतेर बन्द गर्ने साथै ऐक्यबद्धता जनाउनेलाई कम्तिमा १ घण्टा सहभागी हुन लगाउने गरी आन्दोलनको घोषणा भएको छ । यसैगरी, फागुन २७ र २८ गते घोराहीमा देश भरीका गुठी पीडित किसानहरुको सम्मेनल गराई, दाङ गुठी पीडित घोषणा पत्र जारी गर्ने, चैत १ गतेदेखि दाङ बन्द वा काठमाडौ केन्द्रित आन्दोलन गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक भएको छ ।

आफुहरु पुस्तौ पुस्तादेखि शोषित पीडित मोही किसानहरुको जायज मागहरुलाई पुरा गराउन बाध्य भई सडक आन्दोलनमा उत्रिन लागेको स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो । मोही किसानहरु कुनै पनि धर्म संस्कृतिका विरोधी नभई हाम्रा आफ्नै पनि धर्म संस्कृतिहरु रहदै आएका र मान्दै पनि आइरहेको सन्दर्भमा केवल जमिन माथिको द्वैध स्वामित्व अन्त्यगरी वर्षौदेखिको समस्या समाधानको अन्तिम लडाइँमा उत्रिएको उहाँले बताउनुभयो ।

परापूर्वकालदेखि दाङ देउखुरी भरहेको अव्यवस्थित जग्गालाई आवाद गरी उर्वर भूमि बनाई मानव बस्न योग्य बनाउनेहरु नै अहिले उपेक्षामा परेको उहाँको भनाई थियो । विभिन्न कारणले थारुहरु स्वर्गद्वारी आश्रम प्यूठानका हंशानन्द महाप्रभुका चेला प्रचेला अनन्तानन्द गिरी, सूर्यानन्द गिरी, भोलानन्द गिरी, विद्यानन्द गिरी लगायत व्यक्तिहरुको नाममा दर्ता श्रेष्ता भएको दाङ देउखुरीको जग्गा जमिन जोत्ने मोही किसान हुन गएको बताउँदै उहाँले आफुहरु मोही किसानहरुले मोहीयानी हक दावी गर्न थालेको स्मरण गराउनुभयो ।

पुस्तौदेखि गुठी जमिन जोत्दै आएका दर्तावाल वा बेदर्तावाल ठेककुत बुझाएको तर मोहि नजनाईएको जग्गा मोही किसानका नाममा कम्तिमा ७५ प्रतिशत रैकर सरह दर्ता गरि जग्गाको लालपूर्जा दिइनुपर्ने र बाँकी २५ प्रतिशत जग्गा सरकारी दररेटमा किस्ता बन्दीमा मोहि किसानलाई नै किन्न दिइनुपर्ने माग आफुहरुको रहेको बताउनुभयो । गुठी जमिन कमाई आएका मोही किसानहरुले यदि बुझाउन पर्ने जिन्सी अन्य भुक्तानी गर्न बाँकी कुतको हालसम्मको कुल लगत निकाली ८० प्रतिशत छुट दिने व्यवस्था मिलाउनु पर्ने आवाज आफुहरुको रहेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

यसैगरी, विभिन्न बहानामा मोही निष्कासन गरिएको तर कुतवाली बुझाई आएका किसानलाई मोही पुनर्वहाली गरी मोही सरह जमिन दिइनु पर्ने माग सारिएको छ । गुठीका नाममा देखिएका, किसानले जोतभोग गर्दै आएका तर मोही नलागेका जमिन किसानहरु कै नाममा दर्ता गरिनु पर्ने, १ नम्बर लगतमा समावेश भएका सम्पूर्ण किसानहरुलाई मोही सरहको मान्यता दिइनुपर्ने, मोहीका नाममा जग्गा दर्ता गर्दा प्राप्त हुने राजश्वको स्थायी कोष बनाएर प्राप्त आम्दानीले स्वर्गद्वारी आश्रमको व्यवस्थापन गर्नुपर्ने माग आफुहरुको रहेको बताउनुभयो ।

गुठी जग्गामा कायम द्वैध स्वामित्व अन्त्य गरिनुपर्ने विशेष माग गर्दै आन्दोलनमा उत्रिएका किसानले आफुहरूको माग कार्यान्वयनका लागि सरकारको सहयोग हुनुपर्ने आवाज उठाईरहेका हुन् । जग्गामा आफुहरूको एकल स्वामित्व नहुँदा किसानलाई खानेपानी, विद्युत जडान, मोही नामसारीलगायतका समस्या भोग्नु परेको जिल्ला भूमि अधिकार मञ्च दाङका अध्यक्ष देउमन दमाईको भनाई छ । लामो सयमदेखिको द्वैध स्वामित्व अन्त्य गर्ने सवालमा सरकारले चाहेमा तत्काल समस्या समाधान हुन सक्ने उहाँको तर्क छ ।
मोही किसानले जोतभोग गर्दै आएको पुस्तौँ बित्दा पनि स्वामित्व पाउन नसक्दा राज्यबाट पाउनुपर्ने सुविधाबाट वन्चित हुनुपर्ने अवस्था रहेको उहाँको भनाई छ । ‘मोही किसानले जग्गा प्राप्त नगर्दा खानेपानीका लागि धारा, विद्युत जडान गर्न तथा मोही नामसारीलगायतका समस्या पाइरहेका छन्’, मञ्चका जिल्ला अध्यक्ष दमाईले भन्नुभयो, ‘यी समस्या समाधान हुनु पर्ने र जग्गामा भएको द्वेध स्वामित्व अन्त्य हुनुपर्छ भन्ने किसानको विशेष माग हो ।’

किसानले लामो समयदेखि गुठी जग्गाको स्वामित्व आफूहरूमा एकल कायम हुनुपर्ने भन्दै आन्दोलन गरिरहेको भएपनि जग्गाको स्वामित्व प्राप्तिमा भने कानूनी अड्चन रहेको बताईएको छ । सर्वोच्च अदालतको एउटा परमादेश उनीहरूलाई जग्गाको स्वामित्व प्राप्त गर्न बाधक बनिदिएको छ । स्वर्गद्वारी आश्रम जग्गा दिन राजी भइहाले पनि सर्वोच्चको यो निर्णयले भने जग्गा दिन नमिल्ने गरी परमाआदेश दिएको छ । २०६२ चैतमा सर्वोच्च अदालतले जारी गरेको परमादेशमा स्वर्गद्वारी आश्रमको जग्गा विशेष निजी गुठी भएकाले यसको ‘खण्डीकरण नगर्नु नगराउनु’ भनिएको छ । जग्गा पाउनका लागि खण्डीकरण गर्नु पर्ने तर यो परमादेशले जग्गा पाउनबाट किसानलाई बञ्चित गरिदिएको छ । स्वर्गद्वारी आश्रमको एक हजार ५० बिगाहा जमिनमध्ये सात सय ७६ बिगाहा जमिनमा दुई सय ८९ जना किसानले मोही दाबी गर्दै आएका छन् ।

तीन पुस्ते अनुसार दुई सय ८९ जना घरपरिवार रहे पनि चार पुस्तासम्म आइपुग्दा यो परिवार संख्या बढेर तीन हजार पाँच पुगेको जिल्ला भूमि अधिकार मञ्च दाङले जनाएको छ । तर, स्वर्गद्वारी आश्रमले भने मोही किसानले उठाएका समस्या समाधानका लागि सरकारले कानून निर्माण गर्नु पर्ने बताउँदै आएको छ । स्वर्गद्वारी गुठीको द्वैध स्वामित्व अन्त्यका लागि काम गर्ने भन्दै जिल्लामा रहेको सबै दल र पार्टीले लिखित प्रतिवद्धता पनि जनाएका छन् । तर, लामो समयदेखि समस्याको गाँठो फुक्न सकेको छैन । पत्रकार सम्मेलनमा संघर्ष समितिका सचिव भरत गिरी, उपसचिव प्रविण चौधरीलगायतले भनाई राख्नुभएको थियो ।

सामाजिक सुरक्षा भत्ता लिंदा नागरिकलाई सधै सास्ती

छबि पुरी / राप्ती पोष्ट
घोराही, २५ माघ । विभिन्न लक्षित समुदाय र जेष्ठ नागरिकलाई वितरण हुने सामाजिक सुरक्षा भत्ता बैंकमा लिन जाँदा धेरै दुख पाएको गुनासो आउने गरेको छ । प्रत्येक ३–३ महिनामा वितरण हुने सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गरेर आफ्नै गाउँठाउँमा वितरण गरिदिए हुन्थ्यो भन्ने उनीहरुलाई लागेको छ । तर, बैंकसम्म धाउँदा अनेकन दुख सहनु परेको जेष्ठ नागरिकको गुनासो छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १३ बगाले पाखापानीकी चन्द्रकला पुन अहिले ९३ वर्षको हुनुभयो । हात पाखुराबसी सकेको अवस्थामा पनि उहाँलाई सकी नसकी भएपनि घरदेखि बैंकसम्म धाउनुपर्छ । ‘शरीरले नसके पनि घरबाट जबरजस्ती आउनुपर्छ’, उहाँले भन्नुभयो ‘आऊजाऊको समस्या एकातिर छ । बैंकमा आएपछि दिनभरको कुराई अर्को समस्या छ ।’

सोही वडाको मंगलेरीमा बस्दै आउनुभएका दीपबहादुर बिष्ट सामाजिक सुरक्षा भत्ता पाउन धेरै दुख झेल्नु परिरहेको दुखेसो सुनाउनुहुन्छ । ‘हामी आफै कमजोर छौँ । यो बेलामा आफ्नै गाउँठाउँमा गएर सेवा दिए हुन्थ्यो नी’, उहाँले भन्नुभयो ‘भत्ता पाएकोमा खुशी छौँ तर सेवा सहज बनाई दिए हुन्थ्यो भन्ने लागेको छ ।’

भत्ता बुझ्दै आउनु भएकी फुदुमा सुनारलाई स्वास्थ्य समस्या छ । भत्ता राज्यले दिएको सुविधा भएकाले यसलाई जेष्ठनागरिक, अपांगमैत्री बनाई दिए हुन्थ्यो आशा गर्नुहुन्छ । उपमहानगरमै रहेपनि दुरीका हिसावले करीव १० किलोमिटर टाढा पर्छ मौलाकोट । सो ठाउँबाट अपांगता भत्ता बुझ्न भुपबहादुर घर्ती मगर बिहानै ६ बजे घरबाट निस्कनुपर्छ । असहाय, अशक्त, जेष्ठ नागरिकलाई वडाबाटै सेवा पाए हुन्थ्यो भन्ने लागेको छ ।

घोराही १ सिमलताराकी ८० वर्षीय लिलाबहादुर वली बिहान ६ बजे घरबाट निस्कनु भयो । घोराही बजारमा रकम निकाल्न लाईन लागेको दिउँसो अबेरसम्म सेवा पाउनु भएन । ‘ढिला आएपछि पैसा निकाल्न पाइँदैन भनेर बिहानै आएको हुँ,’ उहाँले भन्नुभयो ‘सबेरै नआउने हो भने एकैदिनमा सेवा पाउन गाह्रो हुन्छ ।’ घोराही उपमहानगरपालिका–१ हर्नोक काउलेकी माधुरी परियार सामाजिक सुरक्षा भत्ता लिनका लागि बिहानै ७ बजेदेखि लाइनमा बस्नु भएको थियो । समयमै पाउलो आउला भनेर बिहानै आएको उहाँको भनाई थियो । ‘कति दिनदिनै आउने जाने भनेर बिहानै आएकी हुँ १२ बजिसक्यो अहिलेसम्म पालो आएको छैन,’ उहाँले भन्नुभयो ‘बेलामा नआउने हो भने धौ हुन्छ ।’

घरमा कोही नभएका कारण घरमा ढोका लगाएर आएको उहाँले बताउनुभयो । ‘आज पालो आएन भने फेरि भोलि आउनु पर्छ,’ उहाँले भन्नुभयो, ‘दैनिक भत्ता लिन बजार आउँदा दुःख हुनुका साथै पैसासमेत धेरै खर्च हुने गर्छ ।’ भत्ता लिन आउन मात्रै करिब दुई सय रुपैयाँ खर्च हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले दिएको आधा भत्ताको पैसा यतै सकिन्छ’ । आफ्नै वडामा भत्ता बुझ्न पाउँदा सहज हुने उहाँको भनाई छ ।

बैंकमा भत्ता बुझ्ने लाइनमा भेटिएका घोराही उपमहानगरपालिका–२ निमुरिया नेत्रप्रसाद उपाध्यायले पनि सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या रहेको बताउनुभयो । ‘भत्ता बुझ्न धेरै समस्या छ यस प्रकारको समस्या कहिले समाधान होला,’ उहाँले भन्नुभयो, ‘सहज रूपमा भत्ता बुझ्ने व्यवस्था भएमा यसरी दुःख पाउनु पर्ने थिएन ।’ एकै दिनमा भत्ता पाउन नसकेपछि फेरि पनि बजार आउनु पर्ने बाध्यता रहेको उहाँको भनाई थियो । घोराही–२ रामपुरकै हुमा नेपालीले सहज रूपमा भत्ता पाउन नसकेको बताउनुहुन्छ । भत्ता बुझ्नकै लागि बिहान ५ बजे आएर लाइनमा बसेको उहाँको भनाई थियो । बिहान आएर लाइनमा बस्दा खाना खान नपाउँदा भोक लागेर नास्ता खाएर लाइनमा बसेको उहाँले बताउनुभयो । जेष्ठ नागरिक लामो समयसम्म यसरी चिसोमा लाईनमा बस्नु पर्दा धेरै समस्या हुने गरेको गुनासो गरेका छन् ।

‘चुनावको समयमा नेताहरूले घरघरमा भत्ता पुर्याउने गरेको वाचा भुलेको प्रति जेष्ठ नागरिकको चित्त दुखाई छ । सरकारले जेष्ठ नागरिकलाई सम्मान गर्ने भने पनि त्यसअनुसारको कार्यान्वयन हुन नसकेको उनीहरुको धारणा छ । ‘बिहान आएर चिसोमा बस्दा बिरामी हुने अवस्था भइसकेको छ,’ हुमाले भन्नुभयो ‘यसरी कहिलेसम्म हामीले दुःख पाइरहने हो ? ज्येष्ठ नागरिकलाई सहज रूपमा भत्ता बुझ्ने व्यवस्था मिलाउन ध्यान दिए हुन्थ्यो ।’ तर, सरकारले सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित गर्दै लगेको बताएको छ । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नागरिकको बुझाइले गर्दा समस्या भएको बताउनुहुन्छ । सामाजिक सुरक्षा भत्ताको पैसाको रकम आयो भनेर सबै एकै पटक आउँदा भीड हुने गरेको उहाँको भनाई छ । यसका बारेमा जानकारी गराउन वडावडालाई समेत भनिएको उहाँले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ताको रकम व्यक्तिको खातामा जाने भएकाले जहिले निकाल्दा पनि हुने उहाँ बताउनुहुन्छ । व्यक्तिको खातामा गएको रकम फिर्ता नहुने, फ्रिज नहुने उहाँल बताउनुभयो । बैंकसम्म पुग्न नसक्ने नागरिकको हकमा वडा कार्यालयको सिफारिसमा इच्छाइएको व्यक्तिलाई समेत रकम लैजान सक्ने व्यवस्था गरिएको उहाँको भनाई छ ।

त्रैमासिक रुपमा निकासा हुने भत्ता रकम सम्बन्धित व्यक्तिको खातामा जाने हुँदा यो फिर्ता नहुने भएकाले आफु अनुकुल निकाल्न सकिने र यसो गर्दा दुख पाउनु पर्ने अवस्था नहुने बताउनुहुन्छ, घोराही उपमहानगरपालिका पंजीकरण शाखा प्रमुख दिवाकर योगी । कतिपय पालिकाका वडाहरुमा सामाजिक सुरक्षा भत्ता लक्षित व्यक्तिको घरमै पुगेर वितरण गर्ने गरिएको छ । यसले सेवाग्राहीलाई राहत मात्रै होईन, स्थानीय सरकार हुनुको महसुस पनि गराएको छ । घोराहीमा भने यस प्रकारको काम हुन सकेको छैन । सेवाग्राहीको घरमै वा वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सक्ने अवस्था नरहेको घोराही उपमहानगरपालिका पंजीकरण शाखा प्रमुख दिवाकर योगीको तर्क छ ।

घोराहीमा अहिले १६ हजार चारसय ३८ जना सामाजिक सुरक्षा भत्ता लिने व्यक्ति रहेका छन् । घोराहीमा विभिन्न आठ प्रकारका लक्षित समुहले सामाजिक सुरक्षा भत्ता लिई रहेको देखिएको छ । जसमा जेष्ठ नागरिक अन्य सात हजार आठ सय ५५ जना, जेष्ठ नागरिक दलित एक हजार २९ जना, जेष्ठ नागरिक एकल महिला एक हजार चार सय चार जना, विधवा महिला दुई हजार नौ सय ४५ जना, पूर्ण अपांगता क वर्ग चार सय १३ जना, अति अशक्त अपांगता ख वर्ग नौ सय ३७ जना, दलित बालबालिका एक हजार आठ सय २४ जना र लोपोन्मुख जाति ३१ जनाले सामाजिक सुरक्षा भत्ता लिईरहेका छन् । जिल्लाका कतिपय स्थानीय तहले बैंकसँगको सहकार्यमा टोलटोलमा पुगेर भत्ता वितरण गर्ने गरेका छन् । वडा तथा टोल टोलमार्फत भत्ता वितरण नहुँदा बजारसम्म पुगेर नागरिकले सास्ती भोग्दै आएका छन् । यसलाई थप व्यवस्थित बनाउनु पर्ने लाभग्राहीको आवाजलाई समय सापेक्ष राज्यले सम्बोधन गरिदिए अझ राम्रो हुने थियो ।