spot_img
spot_img

सामाजिक सुरक्षा भत्ता लिंदा नागरिकलाई सधै सास्ती

छबि पुरी / राप्ती पोष्ट
घोराही, २५ माघ । विभिन्न लक्षित समुदाय र जेष्ठ नागरिकलाई वितरण हुने सामाजिक सुरक्षा भत्ता बैंकमा लिन जाँदा धेरै दुख पाएको गुनासो आउने गरेको छ । प्रत्येक ३–३ महिनामा वितरण हुने सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गरेर आफ्नै गाउँठाउँमा वितरण गरिदिए हुन्थ्यो भन्ने उनीहरुलाई लागेको छ । तर, बैंकसम्म धाउँदा अनेकन दुख सहनु परेको जेष्ठ नागरिकको गुनासो छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १३ बगाले पाखापानीकी चन्द्रकला पुन अहिले ९३ वर्षको हुनुभयो । हात पाखुराबसी सकेको अवस्थामा पनि उहाँलाई सकी नसकी भएपनि घरदेखि बैंकसम्म धाउनुपर्छ । ‘शरीरले नसके पनि घरबाट जबरजस्ती आउनुपर्छ’, उहाँले भन्नुभयो ‘आऊजाऊको समस्या एकातिर छ । बैंकमा आएपछि दिनभरको कुराई अर्को समस्या छ ।’

सोही वडाको मंगलेरीमा बस्दै आउनुभएका दीपबहादुर बिष्ट सामाजिक सुरक्षा भत्ता पाउन धेरै दुख झेल्नु परिरहेको दुखेसो सुनाउनुहुन्छ । ‘हामी आफै कमजोर छौँ । यो बेलामा आफ्नै गाउँठाउँमा गएर सेवा दिए हुन्थ्यो नी’, उहाँले भन्नुभयो ‘भत्ता पाएकोमा खुशी छौँ तर सेवा सहज बनाई दिए हुन्थ्यो भन्ने लागेको छ ।’

भत्ता बुझ्दै आउनु भएकी फुदुमा सुनारलाई स्वास्थ्य समस्या छ । भत्ता राज्यले दिएको सुविधा भएकाले यसलाई जेष्ठनागरिक, अपांगमैत्री बनाई दिए हुन्थ्यो आशा गर्नुहुन्छ । उपमहानगरमै रहेपनि दुरीका हिसावले करीव १० किलोमिटर टाढा पर्छ मौलाकोट । सो ठाउँबाट अपांगता भत्ता बुझ्न भुपबहादुर घर्ती मगर बिहानै ६ बजे घरबाट निस्कनुपर्छ । असहाय, अशक्त, जेष्ठ नागरिकलाई वडाबाटै सेवा पाए हुन्थ्यो भन्ने लागेको छ ।

घोराही १ सिमलताराकी ८० वर्षीय लिलाबहादुर वली बिहान ६ बजे घरबाट निस्कनु भयो । घोराही बजारमा रकम निकाल्न लाईन लागेको दिउँसो अबेरसम्म सेवा पाउनु भएन । ‘ढिला आएपछि पैसा निकाल्न पाइँदैन भनेर बिहानै आएको हुँ,’ उहाँले भन्नुभयो ‘सबेरै नआउने हो भने एकैदिनमा सेवा पाउन गाह्रो हुन्छ ।’ घोराही उपमहानगरपालिका–१ हर्नोक काउलेकी माधुरी परियार सामाजिक सुरक्षा भत्ता लिनका लागि बिहानै ७ बजेदेखि लाइनमा बस्नु भएको थियो । समयमै पाउलो आउला भनेर बिहानै आएको उहाँको भनाई थियो । ‘कति दिनदिनै आउने जाने भनेर बिहानै आएकी हुँ १२ बजिसक्यो अहिलेसम्म पालो आएको छैन,’ उहाँले भन्नुभयो ‘बेलामा नआउने हो भने धौ हुन्छ ।’

घरमा कोही नभएका कारण घरमा ढोका लगाएर आएको उहाँले बताउनुभयो । ‘आज पालो आएन भने फेरि भोलि आउनु पर्छ,’ उहाँले भन्नुभयो, ‘दैनिक भत्ता लिन बजार आउँदा दुःख हुनुका साथै पैसासमेत धेरै खर्च हुने गर्छ ।’ भत्ता लिन आउन मात्रै करिब दुई सय रुपैयाँ खर्च हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले दिएको आधा भत्ताको पैसा यतै सकिन्छ’ । आफ्नै वडामा भत्ता बुझ्न पाउँदा सहज हुने उहाँको भनाई छ ।

बैंकमा भत्ता बुझ्ने लाइनमा भेटिएका घोराही उपमहानगरपालिका–२ निमुरिया नेत्रप्रसाद उपाध्यायले पनि सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या रहेको बताउनुभयो । ‘भत्ता बुझ्न धेरै समस्या छ यस प्रकारको समस्या कहिले समाधान होला,’ उहाँले भन्नुभयो, ‘सहज रूपमा भत्ता बुझ्ने व्यवस्था भएमा यसरी दुःख पाउनु पर्ने थिएन ।’ एकै दिनमा भत्ता पाउन नसकेपछि फेरि पनि बजार आउनु पर्ने बाध्यता रहेको उहाँको भनाई थियो । घोराही–२ रामपुरकै हुमा नेपालीले सहज रूपमा भत्ता पाउन नसकेको बताउनुहुन्छ । भत्ता बुझ्नकै लागि बिहान ५ बजे आएर लाइनमा बसेको उहाँको भनाई थियो । बिहान आएर लाइनमा बस्दा खाना खान नपाउँदा भोक लागेर नास्ता खाएर लाइनमा बसेको उहाँले बताउनुभयो । जेष्ठ नागरिक लामो समयसम्म यसरी चिसोमा लाईनमा बस्नु पर्दा धेरै समस्या हुने गरेको गुनासो गरेका छन् ।

‘चुनावको समयमा नेताहरूले घरघरमा भत्ता पुर्याउने गरेको वाचा भुलेको प्रति जेष्ठ नागरिकको चित्त दुखाई छ । सरकारले जेष्ठ नागरिकलाई सम्मान गर्ने भने पनि त्यसअनुसारको कार्यान्वयन हुन नसकेको उनीहरुको धारणा छ । ‘बिहान आएर चिसोमा बस्दा बिरामी हुने अवस्था भइसकेको छ,’ हुमाले भन्नुभयो ‘यसरी कहिलेसम्म हामीले दुःख पाइरहने हो ? ज्येष्ठ नागरिकलाई सहज रूपमा भत्ता बुझ्ने व्यवस्था मिलाउन ध्यान दिए हुन्थ्यो ।’ तर, सरकारले सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित गर्दै लगेको बताएको छ । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नागरिकको बुझाइले गर्दा समस्या भएको बताउनुहुन्छ । सामाजिक सुरक्षा भत्ताको पैसाको रकम आयो भनेर सबै एकै पटक आउँदा भीड हुने गरेको उहाँको भनाई छ । यसका बारेमा जानकारी गराउन वडावडालाई समेत भनिएको उहाँले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ताको रकम व्यक्तिको खातामा जाने भएकाले जहिले निकाल्दा पनि हुने उहाँ बताउनुहुन्छ । व्यक्तिको खातामा गएको रकम फिर्ता नहुने, फ्रिज नहुने उहाँल बताउनुभयो । बैंकसम्म पुग्न नसक्ने नागरिकको हकमा वडा कार्यालयको सिफारिसमा इच्छाइएको व्यक्तिलाई समेत रकम लैजान सक्ने व्यवस्था गरिएको उहाँको भनाई छ ।

त्रैमासिक रुपमा निकासा हुने भत्ता रकम सम्बन्धित व्यक्तिको खातामा जाने हुँदा यो फिर्ता नहुने भएकाले आफु अनुकुल निकाल्न सकिने र यसो गर्दा दुख पाउनु पर्ने अवस्था नहुने बताउनुहुन्छ, घोराही उपमहानगरपालिका पंजीकरण शाखा प्रमुख दिवाकर योगी । कतिपय पालिकाका वडाहरुमा सामाजिक सुरक्षा भत्ता लक्षित व्यक्तिको घरमै पुगेर वितरण गर्ने गरिएको छ । यसले सेवाग्राहीलाई राहत मात्रै होईन, स्थानीय सरकार हुनुको महसुस पनि गराएको छ । घोराहीमा भने यस प्रकारको काम हुन सकेको छैन । सेवाग्राहीको घरमै वा वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सक्ने अवस्था नरहेको घोराही उपमहानगरपालिका पंजीकरण शाखा प्रमुख दिवाकर योगीको तर्क छ ।

घोराहीमा अहिले १६ हजार चारसय ३८ जना सामाजिक सुरक्षा भत्ता लिने व्यक्ति रहेका छन् । घोराहीमा विभिन्न आठ प्रकारका लक्षित समुहले सामाजिक सुरक्षा भत्ता लिई रहेको देखिएको छ । जसमा जेष्ठ नागरिक अन्य सात हजार आठ सय ५५ जना, जेष्ठ नागरिक दलित एक हजार २९ जना, जेष्ठ नागरिक एकल महिला एक हजार चार सय चार जना, विधवा महिला दुई हजार नौ सय ४५ जना, पूर्ण अपांगता क वर्ग चार सय १३ जना, अति अशक्त अपांगता ख वर्ग नौ सय ३७ जना, दलित बालबालिका एक हजार आठ सय २४ जना र लोपोन्मुख जाति ३१ जनाले सामाजिक सुरक्षा भत्ता लिईरहेका छन् । जिल्लाका कतिपय स्थानीय तहले बैंकसँगको सहकार्यमा टोलटोलमा पुगेर भत्ता वितरण गर्ने गरेका छन् । वडा तथा टोल टोलमार्फत भत्ता वितरण नहुँदा बजारसम्म पुगेर नागरिकले सास्ती भोग्दै आएका छन् । यसलाई थप व्यवस्थित बनाउनु पर्ने लाभग्राहीको आवाजलाई समय सापेक्ष राज्यले सम्बोधन गरिदिए अझ राम्रो हुने थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img