spot_img
spot_img

घोराही–तुलसीपुर चारलेन सडक अलपत्र

कहिले हुन्छ काम ? छैन जवाफ कसैसंग

छबि पुरी /राप्ती पोष्ट

घोराही, फागुन । सम्झौता अनुसार काम भएको भए घोराही तुलसीपुर सडक फराकिलो र व्यवस्थित हुने थियो । सवारी आवागमन सहज हुँदा अहिलेसम्म भएका मानवीय र सवारी साधनमा क्षति हुने थिएन । तर, पाँच वर्ष बितिसक्दा पनि साविकको सडक क्षतिविक्षत भएपछि मर्मत गरेर अहिले काम चलाऊ अवस्थामा पुर्याईएको छ ।

दाङको लमही–घोराही–तुलसीपुर फोरलेन सडक २०७५ पुुस १३ गतेदेखि निर्माण सुरु गरिएको थियो । यो आयोजना २०७८ असोज मसान्तसम्म अर्थात् काम सुरु भएको ३० महिनाभित्र सम्पन्न हुने सम्झौता भएको थियो । भारतीय निर्माण तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले १ करोड २१ लाख ८२ हजार अमेरिकन डलरमा सो सडक निर्माणको जिम्मा लिएको थियो । फोरलेन सडक विस्तार आयोजना सुरु भएको अहिले ५ वर्ष बितिसकेको छ । यस बीचमा ३ पटक म्याद थप गरेर काम गर्ने वातावरण बनाएपनि काम हुने अवस्था नभएपछि ठेक्का तोडेर नयाँ प्रकृयामा जाने अवस्था बनेको छ ।
अलपत्र फोरलेन विस्तार आयोजनाका कारण सर्वसाधारणहरूको दैनिकी निकै कष्टकर बनिरहेको छ । साढे २ करोड खर्च गरेर खाल्डाखुल्डी पुरेपनि सडक बिस्तार गर्न भन्दै दायाँबायाँ खनिएका खाडलका कारण सडक साँघुरो बनेको छ । अलपत्र फोरलेन सडकले धेरै दुःख दियो । कैयौँको ज्यान समेत लियो । तर न त्यो दुःख सरकारले देख्छ, सरोकार निकायले भने जस्तै भएको छ ।

त्यसो त अलपत्र फोरलेन सडक विस्तार आयोजना निर्माणका बारेमा स्थानीय सरकार मात्रै होइन, प्रदेश र संघीय सरकारले पटक पटक चासो देखाएपनि कामले गति लिएको छैन । निर्माण हुन नसकेपछि ठेक्का रद्द गरिएको घोराही तुलसीपुर सडक खण्ड फेरि चारलेन निर्माणका लागि प्रस्ताव गर्ने तयारी गरिएको छ । यसअघि यो सडक चारलेन विस्तारका लागि ठेक्का लागेको थियो तर काम नभएपछि सरकारले ठेक्का रद्द भएको छ । अहिले पुनः घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चारलेन नै बनाउन प्रस्ताव गरिने भएको छ । अहिले यो सडकको डिपिआरको काम अन्तिम अवस्थामा पुगेको सडक सुधार तथा विकास आयोजना निर्देशनालय प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
अहिले डिपिआरको अन्तिम तयारीमा रहेका रहेको बताउँदै केही दिनमा डिपिआरको रिपोर्ट तयार हुने निर्देशनालय प्रमुख सुवेदीले बताउनुभयो । डिपिआरको रिपोर्ट तयार भएपछि निर्देशनालयले सम्बन्धित मन्त्रालयमा पठाउने र थप प्रकृया थालनी हुने उहाँको भनाई छ ।

डिपिआर सरकारलाई बुझाएपछि सरकारले ठेक्का आह्वानका लागि लगानीकर्ता भारतको एक्जिम बैंकमा उक्त डिपिआर पेश गर्ने बाटो खुल्नेछ । उक्त डिपिआर माथि भारतीय एक्जिम बैंकले निर्णय लिएर ठेक्का आह्वान गर्ने बताईएको छ । सबै प्रक्रिया पुर्याएर काम गर्दा केही समय लाग्ने देखिएको छ । सडक विस्तारका लागि भारतीय बैंक राजी भए उसले ठेक्का आह्वान गर्ने भन्दै उहाँले तत्काल सबै काम हुने अवस्था नरहेको र प्रक्रिया पूरा हुन समय लाग्ने बताउनुभयो । यो वर्ष प्रकृयामै समय सकिने उहाँले जानकारी गराउँदै सबै काम समयमै अघि बढेमा अर्को वर्षबाट कामको थालनी हुने बताउनुभयो ।

निर्देशनालयले यो सडकलाई चारलेन नै निर्माण गर्ने गरी प्रस्ताव गर्ने तयारी गरेको छ । चारलेन सडक बनाउने भएपछि बजेट कति लाग्ने भन्नेबारे डिपिआरको फाइनल भएपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो । यसअघि घोराही तुलसीपुर सडकमा आधा भाग दुई लेन र आधार भाग चारलेन बनाउने गरी काम अघि बढाईएको थियो । सडकमा खनिएका खाडल पुरिए पनि यो सडक दुर्घटनाको उत्तिकै जोखिम बनिरहेको छ । साँघुरो सडकसँगै यातायातको बढ्दो चापले दुर्घटनाको जोखिम निम्त्याएको छ । साँघुरो सडकमा अनियन्त्रित गति दुर्घटनाको अर्को कारण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी निरीक्षक किरणप्रकाश मल्लले बताउनुभयो । साँघुरो सडकमा धेरै सवारी साधन सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

फोरलेन आयोजना अलपत्र भएका कारण सडकको खाल्टाखुल्टीमा परी पाँच वर्षको अवधिमा हालसम्म ३६ जनाले ज्यान गुुमाइसकेका छन् । फोरलेन सडक निर्माणका नाममा ठेकेदार कम्पनीले जथाभावी गरेको सडक कटानले दुर्घटना हुँदा ३६ जनाले ज्यान गुुमाई सकेको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ । बढ्दो सवारी चाप र साँघुरो सडकका कारण दुर्घटनाको जोखिम उच्च रहेको छ ।

गत बर्ष भएको संसदीय निर्वाचनपछि क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने रेखा शर्मा, प्रदेश ‘क’का सांसद राजु खनाल र ‘ख’ का सांसद प्रचण्ड विक्रम न्यौपानेले १५ दिन भित्र चारलेन सडकको काम थाल्ने घोषणा पत्रकार सम्मेलन गरेरै गर्नुभएको थियो । उहाँहरुमध्य शर्मा संचारमन्त्री तथा सरकारको प्रवक्ताको भूमिकामा हुनुहुुन्छ । प्रदेश सांसद खनाल स्वास्थ्य मन्त्रीको भूमिकामा हुनुुहन्छ । सांसदहरु विभिन्न राजकिय पदमा पुग्दा पनि चारलेन सडकको काम अलपत्र अवस्थामा रहेको छ ।
गएको असोजमा चारलेन सडकमा रहेका खाडल पुरियो । जसले गर्दा यातायातमा केही सहज भयो । तर दुर्घटनाको जोखिम कम भएको छैन । चारलेन सडकको काम कहिलेबाट सुरु हुुन्छ भन्ने बारेमा कसैले दिने जवाफ आधिकारीक लाग्दैनन् । दाङ ३ बाट निर्वाचित सांसद दिपक गिरीले आगामी बैशाखमा मात्रै टेण्डर हुने बताउनुभएको थियो । उहाँले भन्नुभयो,‘मैले पहिले नै बैशाख नहुँदै टेण्डरको प्रक्रियामा जाँदैन भनेर भनेको थिए ।’

दाङ उपत्यकाको लाइफ लाइनका रुपमा रहेको लमही घोराही हुँदै तुलसीपुर जोड्ने सडक चारलेन बन्ने आशामा बर्षौ विताइसकेका दङ्गालीले निर्वाचनपछि आएका जनप्रतिनिधिले काम गर्नेछन भन्ने आशा गरेका थिए । नयाँ जनप्रतिनिधि आएको एक बर्ष वितिसक्दासम्म पनि काम अघि नवढेपछि जुन जोगी आएपनि कानै चिरेका भन्ने उक्ति सार्थक भएको गुनासो बढ्न थालेको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img