spot_img
Home Blog Page 29

दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेलाको तयारी तिव्र

राप्ती पोष्ट

घोराही, फागुन । महाशिवरात्री पर्वका अवसरमा हरेक दाङको धारपानीमा लाग्ने महाशिवरात्री मेला तथा शिवपूजनको तयारी तीव्र पारिएको छ । फागुन २३, २४ र २५ गते तीन दिनसम्म लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

धारपानीसम्म पुग्न घोराही–पनौरा–धारपानीसम्मको सडक मर्मत गरिएको छ भने मन्दिरलाई थप आर्कषित बनाउन रंङरोगन गरिएको आयोजकले जनाएको छ । २५ गते महाशिवरात्रीको दिन नेपाली सेनाबाट विश्वकै अग्लो त्रिशुलमा सलामी, शिव भगवानको पूजा आरधना तथा भजनकिर्तन हुने समिति सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो । मेलामा विभिन्न विकृतीजन्य क्रियाकलाप तथा अन्य नकारात्मक गतिविधि हुन नदिन सुरक्षाकर्मी, स्थानीय टोल विकास संस्था, व्यवसायी लगायतसँग तयारी बैठक समेत गरिएको छ ।

मेलामा पार्किङ व्यवस्थापन, यातायात, पूजा व्यवस्था लगायत काम गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । जसमा समितिका सचिव विष्णुराम आचार्यको संयोजकत्वमा सूचना प्रचारप्रसार उपसमिति शारदा पोख्रेलको संयोजकत्वमा पूजा व्यवस्थापन उपसमिति, टेकनाथ आचार्यको संयोजकत्वमा सुरक्षा उपसमिति, विवेक श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, रेवबहादुर बुढाथोकीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र शंकर गौतमको संयोजकत्वमा स्वागत सम्मान उपसमिति गठन गरिएको छ ।

समिति सदस्य बलिराम भुसाल गोपालको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति, मधुसुदन पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, विमल अधिकारीको संयोजकत्वमा आर्थिक सहयोग उपसमिति, ऋषिदेव शर्माको संयोजकत्वमा अनुगमन उपसमिति, शिवशंकर देवकोटाको संयोजकत्वमा पानी व्यवस्थापन उपसमिति, यज्ञश्वरी चन्दको संयोजकत्वमा फुलमाला व्यवस्थापन उपसमिति, निमबहादुर चौधरीको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, बुद्धिराम भण्डारीको संयोजकत्वमा भजनकिर्तन उपसमिति, श्यामप्रकाश आचार्यको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति र गोविन्द खड्काको संयोजकत्वमा सरसफाई व्यवस्थापन उपसमिति गठन गरिएको छ । तीन दिनसम्म चल्ने मेलामा सहभागी हुन सवै भक्तजनहरुमा समितिले आग्रह गरेको छ । समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले मेलामा सहभागी हुन सवैमा अनुरोध गर्नुभएको हो ।

 

समाचार हुबहु सार्ने १८३ अनलाइनलाई प्रेस काउन्सिलले गर्‍यो कारबाही

राप्ती पोष्ट

काठमाडौं, १६ फागुन । प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै गत आ.व. यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एण्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको जनाएको हो । कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । ‘स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रुपमा दर्ता/सूचीकरण नभएका २९ वेबपोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ ।’ काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बुधवार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । बैठकले हुबहु प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रकृया अघि बढाउने निर्णय गरेको छ । बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ । ‘आगामी दिनमा बिना अनुमति हुबहु प्रकाशन नगर्नरनगराउन ध्यानाकर्षण गराउने र पुनः त्यस्तो प्रवृत्ति पुनरावृत्ति भएको उजुरी तथा गुनासो प्राप्त भएमा प्रचलित कानुन तथा आचारसंहिताबमोजिम थप कारबाही हुनेतर्फ सचेत गराउने निर्णय गरिएको हो ।  त्यस्तै, एक लाई भुलसुधार गर्न र एक लाई खण्डन प्रकाशन गर्न निर्देशन दिने र एक सञ्चार माध्यमको जवाफ चित्तबुझ्दो नदेखिएकोप्रति सम्पादकलाई छलफलमा बोलाउने निर्णय गरेको छ ।’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकमा नेपाल पत्रकार महासङ्घका अध्यक्षसमेत रहनुभएका काउन्सिल सदस्य विपुल पोखरेल, काउन्सिलका सदस्यहरू दिपक पाण्डे, दुर्गा भण्डारी पौडेल, ठाकुर बेलबासे, लालबाबु शेख, शरदप्रसाद अधिकारी, गणेशप्रसाद पोख्रेल तथा नेपाल बार एशोसियसनका तर्फबाट प्रतिनिधि महासचिव अञ्जिता खनाल र काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराको सहभागिता रहेको थियो ।

अध्यक्ष बस्नेतले अनलाइनको सङ्ख्यात्मक मात्र नभइ गुणात्मक वृद्धि गराउन र समाचार चोरी गर्ने प्रवृत्ति रोक्न आगामी दिनमा काउन्सिलले झन् कडाइ गर्ने बताउनुभयो । ‘सञ्चार माध्यमले आफ्नो मौलिक र खोजमूलक प्रस्तुति नदिने हो भने पत्रकारिता फस्टाउन सक्दैन । विश्वसनीयता पनि घट्छ । यसतर्फ गम्भीर भइ काउन्सिलले अनुगमन, सहजीकरण र कारबाही गर्दै आएको छ’ उहाँले भन्नुभयो ।  काउन्सिलमा २०८० साउनदेखि फागुन १५ गतेसम्म विभिन्न मिडिया विरुद्ध २२० वटा उजुरी, १२ जनगुनासा दर्ता भएका छन् । पछिल्लो तीन महिनामा ५१ उजुरी, २ जनगुनासोसहित ५३ वटा उजुरी दर्ता भएको छ भने यस अवधिमा अघिल्लो आ.व. समेतको गरी १६० वटा उजुरी फर्छ्यौट भएका छन् ।

काउन्सिलले मूल स्रोतको अनुमति बिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

तुलसीपुर रोयल्स र घोराही टाईगर्स विजयी

दाङ क्रिकेट लिग –२

छबि पुरी/राप्ती पोष्ट

घोराही,  फागुन । घोराहीमा जारी दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगमा मंगलबार भएको खेलमा तुलसीपुर रोयल्स र घोराही टाईगर्स विजयी भएका छन् । दाङ क्रिकेट संघको आयोजनामा सोमबारबाट घोराही १७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा भईरहेको खेल अन्तरगत बिहान भएको खेलमा तुलसीपुर रोयल्सले दंगाली लायन्सलाई २७ रन तथा दिउँसो भएको खेलमा घोराही टाईगर्सले पुरन्धारा च्यालेन्जर्सलाई २ विकेटले पराजित गरेको छ । पाँच फ्रेन्चाईज टोली रहेको खेलमा तुलसीपुर रोयल्सको विजयी शुरुवात हो भने घोराहीले पहिलो खेलमा हार व्यहोर्दा दोश्रो खेलमा जीत दर्ता गरेको छ ।

जारी लिगमा दोश्रो दिनको पहिलो खेलमा विराटसिंह भण्डारी र विपिन रावलले कीर्तिमानी ९५ रनको ओपनिङ साझेदारी गर्दै टीमका लागि राम्रो स्कोर गरेपछि तुलसीपुर रोयल्सले विजयी शुरुवात गरेको हो । प्रतियोगिताको सबै ठूलो साझेदारी गर्दै १६ दशमलव २ ओभरमा ३ चौका र १ छक्कासहित ४२ रन बनाएर खेली रहेका कप्तान विपिन रावल बसिर अहमदको बललाई हिट गर्ने क्रममा विकेट किपर अंकित बुढा मगरले स्टम्पिङ आउट हुनुभयो । तुलसीपुरका लागि विपिनले बनाएको ४२ रन सर्वाधिक रह्यो ।

यसैगरी विराटसिंह भण्डारी १ चौका र १ छक्कासहित ३८ रन बनाउँदै प्रकाश जैशीको बलमा एलबीडब्लू आउट हुनुभयो । रुपेश सिंह १ चौकासहित ८ रन बनाएर विपिन खत्रीको बलमा एलबीडब्लूको सिकार हुनुभयो । अर्का मार्की खेलाडी अमरसिंह रौटेला २ चौकासहित १० रन बनाउँदै रनआउट हुनुभयो । भुवन कार्कीले अविजित ७ रन बनाउनुभयो ।
दंगाली लायन्सका लागि विपिन खत्री, बसिर अहमद र प्रकाश जैसीले समान १–१ विकेट लिनुभयो । १ सय २६ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको दंगाली लायन्सका खेलाडीले ओभरमा १० विकेट गुमाउँदै ९८ रन मात्रै बनाउन सके । दंगाली लायन्सका लागि ओपनरद्वय सन्तोष कार्की र अंकित बुढा मगरले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरे पनि त्यसपछिका ब्याटरहरु क्रिजमा टिक्न सकेनन् ।

व्यक्तिगत १६ रन बनाएर क्रिजमा खेली रहेका अंकित बुढा मगर तुलसीपुरका कप्तान दिवान पुनको बलमा बोल्ड आउट भएपछि दंगाली लायन्सको विकेट पतनको सिलसिला शुरु भएको थियो । सन्तोष कार्कीले टीमलाई जीत तर्फ लैजाने प्रयास गरेपनि सफल हुन सक्नु भएन । उहाँले सर्वाधिक ३१ रनको योगदान दिनुभयो । त्यसअघि अमरसिंह रौटेलाको बलमा दंगाली लायन्सका महत्वपूर्ण खेलाडी बसिर अहमद फाईन लेगमा सट हान्ने क्रममा बल ग्लोबमा लागेर विकेट किपरबाट क्याच हूँदै आउट भएपछि खेल थप धर्मराएको थियो ।

बसिरले १ छक्काको मद्दतमा ८ रन बनाउनुभयो । त्यसलगत्तै क्रिजमा आउनुभएका शंकर रानालाई रौटेलाले बोल्ड गर्नुभयो । यसैगरी, बिपिन खत्री पनि रौटेलाको बलमा १२ रन बनाउँदै आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । शिशिर डाँगी २ रन, प्रकाश जैसी ३ रन, सनम श्रेष्ठ ७ रन, वीरबहादुर घर्ती ५ रन, किशन भारती ७ रन तथा हेमराज रानाले ३ रन बनाउँदै ९ड रनमा सिमित भएपछि खेल तुलसीपुरले जितेको हो ।

तुलसीपुर रोयल्सका लागि प्लेयर अफ द म्याच घोषित हुनुभएका अमर सिंह रौटेलाले ४ ओभरमा २२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिनुभयो । स्माईल अन्सारीले ३ विकेट लिँदा दिवान पुनले २ तथा रुपेश सिंहले १ विकेट लिनुभयो ।
यस्तै, मंगलबार भएको खेलमा घोराहीले २ विकेटको पहिलो जित दर्ता गरेको छ । टस हारेर व्याटिङको निम्तो पाएको पुरन्धाराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ बनाएको थियो । पुरन्धाराका लागि राजु रिजालले अर्धशतकीय योगदान रहेपनि जित भने हुन सकेन । जारी प्रतियोगितामा यो पहिलो अर्धशतक पनि हो । रिजालले ४४ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाउँदै दिपेश कँडेलको बलमा वृषभ सेन्चुरीको हातबाट क्याच हुँदै पेभेलियन फर्किनुभयो ।
टीमका लागि ओपनर रित गौतमले १६, दिपेन्द्र रावतले १५ रन, कप्तान मोहन खत्रीले ११ रन, प्रनित थापाले १० रन बनाउँदा राजवीर सिंहले ३ रन बनाउनुभयो । प्लेयर अफ द म्याच हुनुभएका दिपेश कँडेलले घोराही टाइगर्सका लागि कसिलो बलिङ गर्दै ४ ओभरमा जम्मा १२ रन खर्चेर सर्वाधिक ३ विकेट लिनुभयो । मिलन बुढाथोकीले २ तथा युनिश विक्रम सिंह र अर्जुन घर्तीले समान १–१ विकेट लिनुभयो ।

१ सय १८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको घोराहीको शुरुवात राम्रो नभएपनि मध्यक्रमका ब्याटरले बलियो साझेदारी गरेपछि जित निकालेको हो । घोराहीले १९ दशमलव ४ ओभरमा ८ विकेट गुमाउँदै जित निकाल्ने क्रममा अर्जुन घर्तीले सर्वाधिक ४१ रनको योगदान दिनुभयो । ३ चौका र २ छक्काको मद्दतमा अर्जुनले उक्त रन बनाउनुभयो । उहाँलाई दिपेश कँडेलले साथ दिनुभएको थियो । टीमले दशौँ ओभरमा ५२ रन बनाउँदै ४ विकेट गुमाईसकेको अवस्थामा दिपेश कँडेल र अर्जुन घर्तीले ४२ रनको महत्वपूर्ण साझेदारी गरेपछि खेल घोराहीको पक्षमा आएको हो । दिपेशले २ चौकाको मद्दतमा १९ बनाउँदै कृष्ण कार्कीको बलमा बोल्ड आउट हुँदा दिल्साद अलीले १५ रन, दिलिप नाथले १० रन, युनिश विक्रम सिंहले ९ रन, वृषभ सेन्चुरीले ७ रन, अनुप न्यौपानेले २ रन तथा रविन थापाले १ रनको योगदान दिनुभयो ।

पुरनधाराका लागि कृष्ण कार्की, दिपेन्द्र रावत र सुजल वलीले समान २–२ विकेट लिनुभयो । यसैगरी रीत गौतम र राजबीर सिंहले समान १–१ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन । योसँगै पाँच वटै टीमको समान २–२ अंक भएको छ । प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्सले प्रतिष्पर्धा गरिरहेका छन् ।

दाङ क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिता राउण्ड रोबिन फम्र्याटमा भइरहेको छ । हरेक क्लबले ४–४ खेल खुल्नेछन् । उत्कृष्ट दुई टिमले फाईनल खेल्नेछ । प्रतियोगिताको फाईनल फागुन १९ गते हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल टेलिकम, गोल्ड प्रायोजकमा गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, क्रिजल आयल सप्लायर्स, सगरमाथा सिमेन्ट, इन्स्योरेन्स पार्टनरमा शिखर इन्स्योरेन्स कम्पनी, प्लेयर अफ द म्याच प्रायोजकमा किसान ट्रेडिङ कन्सर्न सोनालिका, स्कुल पार्टनरमा गुरुकुल एकेडेमी घोराहीले सम्झौता गरेका छन् ।
यसैगरी, प्रतियोगिताका लागि हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हस्पिटल, घोराही र लाईफ फुड एण्ड बेभरेज प्रालि अन्तर्गतको किबु इनर्जी ड्रिंक पार्टनरको रुपमा रहेका छन् । प्रतियोगिता सफलताका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायले पनि सहयोग गर्नुभएको छ । लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार प्रदान गरिनेछ भने हरेक दिन प्लेयर अफ द म्याचलाई पाँच हजार प्रदान हुँदै आएको छ । प्रतियोगिता अन्तर्गत अब तेश्रो दिन बुधबार पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान तुलसीपुर रोयल्स र पुरन्धारा च्यालेन्जर्सको तथा दोश्रो खेल दिउँसो घोराही टाइगर्स र देउखुरी वारियर्सबीच हुने संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो ।

 

दाङका छापा माध्यम र यिनले उठाएका विषयहरु–२

शरद अधिकारी

पत्रकारिताले गरेको योगदान डिग्री लगाएर नाप्ने विषय होइन । स्वास्थ्यको सेवा लिनेहरुको प्रतिशत, साक्षरताको प्रतिशत, खानेपानीको पहुँचमा रहेको नागरिक, विद्युत उपभोग गरिरहेको जनसंख्याको प्रतिशत निकालेको जस्तो हुँदैन । पत्रकारिताले दिने सचेतनाले कसरी उपलव्धि दिन्छ भन्ने कुराको मापन गर्ने काम निकै गाह्रो हो । पत्रकारिताले विषयको उठान मात्रै गर्दैन । समस्या उजागर गर्ने काम मात्रै गर्दैन । धेरैजसो अवस्थामा समाधानको उपायका बारेमा छलफल चलाउँछ । राष्ट्रिय विषयहरु हुन वा स्थानीय विषयहरु नै किन नहोउन सवै संचारका सरोकारका विषयहरु हुन्छन् । कुनै घटना वा दुर्घटनाका विषय, अचम्म लाग्दा विषयहरु, खेलकुदका विषयहरु, कसैले गिनिज बुकमा नाम लेखाएका कुराहरु, विकास निर्माणका विषयहरु लगायत अन्य धेरै विषयहरु संचारका सरोकारका विषय हुन्छन । एकथरी विषयहरु घटना भएपछि समाचार बन्छन भने अर्कोथरी सचेतनाका लागि संचारका विषय बन्छन् । समाचार घटनाका मात्रै हुँदैनन् । कतिपय विषयहरु समाचारमा आएपछि मानिसलाई अहो यस्तो भएको रहेछ भन्ने लाग्छ । दाङ जिल्लामा छापा माध्यम सवैभन्दा पहिले आयो । रेडियो २०५८ सालमा आयो । टेलिभिजन छ तर यसको प्रभावकारीताका बारेमा मानिसहरुलाई त्यति चासो छैन । अहिले इन्टरनेट सर्वसुलभ भएपनि जिल्लाबाट प्रशारण हुने टेलिभिजनहरु अन्य जिल्लामा पनि हेर्न सकिने भएको छ । यो अर्को राम्रो पक्ष हो ।

अघिल्लो अंकमा दाङ जिल्लाका छापा माध्यमले उठाएका विभिन्न विषयका बारेमा चर्चा गरेको थिए । दाङ जिल्लाको छापा पत्रकारिताको इतिहास करिव पाँच दशक हुँदै गर्दा अनेकन विषयहरु उठान गरिएका छन् । अधिकार प्राप्तीका लागि भएका आन्दोलन देखि लिएर समसामयिक विषयहरु संचारका विषय बन्ने गरेका छन् । संचारका विषयहरुको प्रभावकारिता नाप्न गाह्रो भएपनि संचारले उठाएका विषयको प्रभावकारितालाई स्मरण गर्नै पर्दछ । दाङ जिल्लाबाट प्रकाशित हुँदै आएका छापा माध्यमले उठाएका विषयहरुमध्य केही विषयहरुका बारेमा अघिल्लो सातामा चर्चा गरिसकिएकाले थप विषयहरु यहाँ उठान गरिएको छ । छापा माध्यमले उठाएका विषयहरु र त्यसको प्रभावकारिताका बारेमा लिखित चर्चा गर्न जरुरी छ । हामीकहाँ कुनै संचारमाध्यमले उठाएको विषयका बारेमा चर्चा गरिदो रहेनछ । कुनै संचारमाध्यमले बार्षिकोत्सव आयोजना ग¥यो भने वा कुनै स्मारिका प्रकाशन ग¥यो भने राम्रोको बयान गरिने रहेछ । कुन राम्रो विषयले उठायो जसले प्रभावकारी भूमिका खेल्यो भन्ने बारेमा अनुसन्धान नहुने रहेछ । यो पत्रिका गज्जव छ । यो राम्रो छ । यसले निरन्तरता पाएको छ । सवैको मनमा बसेको छ । जताततै जाने गरेको छ । हरेक दिन विहान सवैको हातमा पुग्छ भन्दै त्यसको प्रशंसा गरिने रहेछ । त्यो माध्यमले उठाएको यो विषय प्रभावकारी भयो । यो विषय उठाएर निकै राम्रो भयो भन्ने बारेमा नलेखिने रहेछ । छापामाध्यमले उठाएका अनेकन विषयहरु छन । ति मध्य थप विषयहरु निम्न बमोजिम रहेका छन् ।
१. बादी जातिलाई मुल प्रवाहमा ल्याउने विषय
२. विकास निर्माणका अभियानमा खवरदारी
३. भूमिहिनका मुद्दामा वकालत
४. जनआन्दोलन लगायत विभिन्न आन्दोलनहरु
५. न्यायका आवाजहरु बुलन्द
६. पर्यटन पवद्र्धनका लागि भूमिका
७. किसानका कुरा, मजदुरका कुरा, न्यायको खोजिमा रहेकाहरुका कुरा ।

बादी जातिलाई मुल प्रवाहमा ल्याउने विषयः
कुनै बेला दाङ जिल्लाका विभिन्न स्थानमा बादी जातिले देह व्यापार गर्दछन भन्ने कुरा प्रमाणित जस्तै थियो । समयक्रमसंगै बादी जातिका महिलाहरु यो व्यापारबाट मुक्ती चाहिरहेका थिए । बादी जातिका महिलाहरु कुरा गर्नु, उनिहरुले भोगिरहेको समस्यालाई उजागर गर्नु चुनौतिको कुरा थियो । पत्रकारहरु समेत त्यहाँ जान डराउने अवस्था थियो । समस्या सुन्नका लागि उनिहरुकै बस्तीमा जानुपर्ने, उनिहरुसंग कुरा गर्नुपर्ने । कसैले देख्ला कि भनेर डराउनुपर्ने अवस्था थियो । जिल्लाका पत्रकारहरुले त्यो चुनौतिलाई चिर्दै बादी जातिले भोगिरहेका समस्यालाई संचारको विषय बनाए । बादी जातिका महिलाहरु देह व्यापार छोड्न चाहन्छन् भन्ने समाचारहरु प्रवाह गरे । खासगरी छापा माध्यममा यि विषयहरु उजागर गरियो । विस्तारै दाङ जिल्लामा देह व्यापार गर्ने बादी जातिको संख्या सुन्य जस्तै भयो । अहिले बरु अरुले देहव्यापार गरेको भन्ने सुन्नमा आउँछ । पहिले देश व्यापार गरेर निश्चित स्थानमा बस्ने बादी जातिका महिलाहरुले पेशा परिवर्तन गरेका छन् । कोही व्यापारमा लागेका छन् । कोही विभिन्न संघ संस्थामा लागेका छन् । कोही खेतिपातीमा लागेका छन् । बरु गिट्टी कुटेर खाने तर देहव्यापार नगर्ने भन्ने सोच सहित बादी जातिका महिलाहरुले करिव यो पेशा छोडेका छन् । दाङ जिल्लामा बादी जातिले देहव्यापार छोड्नुमा संचारको महत्वपूर्ण योगदान रहेको छ ।

विकास निर्माणका अभियानमा खवरदारीः
यो मुलुकमा विकास निर्माणको काममा ढीला सुस्ती हुने कुरा सामान्य विषय हो । काम फटाफट भयो भने अचम्म मान्नुपर्छ । एकसय वटा योजनामा एक÷दुईवटा योजना मात्रै समयमा हुने तर अन्य सवै योजना समयमा नहुने प्रचलन जस्तै भएको छ । विकास निर्माणको काममा खवरदारी गर्ने काममा संचारले आफूलाई कहिल्यै पछि पारेका छैन । विकास निर्माणका हरेक काममा खवरदारी गर्ने काम छापा माध्यमले गरेको छ । योजना शिलान्यास हुने समय देखि योजना सम्पन्न नहुँदासम्म त्यसका हरेक पक्ष केलाउने काम संचारले गरिरहेको छ । २०५८ सालतिर राप्ती नदीमा बनेको गढवा जोड्ने स्थानमा बनेको पुलमा भएको भ्रष्टाचारको विषयलाई उजागर गर्ने विषयलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ । यस्ता धेरै विषयहरुलाई छापा माध्यमले खवरदारी गरिरहेको पाइन्छ । कतै पानी नपुगेको कुरा, कतै विद्युत नपुगेको कुरा, कतै सडक नपुगेको कुरा छापा माध्यमको बिषय बनिरहेको हुन्छ । पानी नपुगेको कुरा गर्ने संचारले पानी पुगेपछि त्यसलाई समाचारको विषय बनाउने गरेको छ । विद्युत नपुगेको कुरा गर्ने संचारले विद्युत पुगेपछि विद्युत पुगेको कुरा गर्ने गरेको छ । बाटो हुँदा र नहुँदाको अवस्थाको चित्रण गर्ने गरेको छ । पुल नवनेका कारणले गर्दा नागरिकले पाएको दुःखलाई संचारले आफ्नो विषय बनाउने गरेको छ । दाङ जिल्लाबाट प्रकाशित भइरहेका संचारमाध्यमका लागि यि र यस्ता विषयहरु प्राथमिकतामा पर्ने गरेको देखिन्छ । विकास निर्माणमा हुने ढिलासुस्ती र अनियमितताका बारेमा संचारमा कुरा उठ्ने गरेको छ ।

भूमिहिनका मुद्दामा वकालतः
दाङ जिल्लाको कुरा गर्ने हो भने भूमिहिनको समस्या ठूलो समस्याका रुपमा रहेको छ । भूमिहिनलाई जमिन दिने भनेर पटक पटकका सरकारले आश्वासन दिने गरेका छन् । सरकार परिवर्तन भएसंगै भूमि आयोग गठन गर्ने, निवेदन माग गर्ने, केही काम गरेको जस्तो गर्ने तर बर्षौैसम्म भूमिहिनका विषयलाई अड्काइराख्ने काम भएको छ । बर्षौदेखि समस्याको विषय बनेको भूमिहिनका मुद्दाहरु संचारमा आउने गरेका छन् । मोहीयानी हक नपाएका कुराहरु, गुठि पीडितले जमिन नपाएका कुराहरु, सुकुम्बासीले जमिन नपाएका कुराहरु, सरकारले सुकुम्वासीलाई दिएको जमिन विक्रि गरेर अनियमितता गरेका कुराहरु पनि संचारमा आउने गरेका छन् । राजनीतिक दलको काम आश्वासन दिने जस्तो भएको छ । यतिवेला स्वर्गद्वारी गुठि पीडितहरु आन्दोलनमा छन् । आन्दोलनका समाचार छापा लगायत सवै माध्यममा आइरहेका छन् । कसरी उनिहरुले जमिन पाउन सकिरहेका छैनन् । कहाँनेर विषय अड्किएको छ भन्ने बारेमा संचारमा प्रशस्त कुरा आएका छन् ।

जनआन्दोलन लगायत विभिन्न आन्दोलनहरुः
दाङ जिल्लामा छापा माध्यम आउनु भन्दा पहिले अनेकौैं आन्दोलन भएका थिए । २००७ सालको क्रान्तीको समयमा दाङ जिल्लाका योद्दाहरुको योगदान इतिहासकारले लिपिवद्ध गरिसकेका छन् । पंचायती व्यवस्थाको समयमा भएका अनेकौं किसान आन्दोलनका बारेमा पनि इतिहासमा लिपिवद्ध गरिसकिएको छ । २०३३ सालपछि जव दाङमा छापा माध्यम सुरुवात भयो तवदेखि भएका अनेकन आन्दोलनको समर्थनमा पत्रकारिताले भूमिका निर्वाह गरेकै छ । पत्रकारहरु जहिले पनि परिवर्तनको पक्षमा देखिन्छन् । अग्रगमनको पक्षमा देखिन्छन् । शान्तिको पक्षमा देखिन्छन । विकास निर्माणको पक्षमा देखिन्छन् । यस कारणले गर्दा विभिन्न समयमा भएका आन्दोलनको पक्षमा पत्रकारिताले योगदान गरेको छ । आन्दोलनका बारेमा जानकारी दिने र नागरिकलाई उत्साहित गराउने काम पत्रकारितले गरेकै छ । पछिल्लो समय अर्थात २०६२÷०६३ सालको आन्दोलनलाई उचाईमा पु¥याउने सवालमा छापा माध्यमको योगदान रह्यो ।

न्यायका आवाजहरु बुलन्दः
संचार माध्यम भन्ने कस्तो विषय हो भने कुनै व्यक्तिले कतै न्याय पाएन भने न्यायको आशामा जाने अन्तिम स्थान भनेको संचार हो । हामी मानिसहरु अन्यायमा परेको भनेर प्रहरी कार्यालय गएको देख्छौं । कतिपय जिल्ला प्रशासन कार्यालय पुगिरहेका हुन्छन् । कतिपय अदालत पुगिरहेका हुन्छन । अदालतले न्याय दिन्छ कि फैसला भन्ने बहस एकातिर छदैंछ । यति हुँदा पनि न्याय नपाएको वा आफू मर्कामा परेको भन्ने ठान्यो भने मानिस पत्रकारलाई खोज्दै आउँछ । आफू अन्यायमा परेका कुरा गर्दछ । कसैलाई उपचार गर्नुपरेको छ तर आर्थिक रुपमा निकै समस्या छ भने उसले पत्रकारलाई खोज्छ । पत्रिकामा समाचार लेखेका कारणले गर्दा कतिपटक बालवालिकाले पुस्तक पाएका छन् । कतिपयले घर निर्माणका लागि सामग्री पाएका छन् । कतिपयले औषधी उपचारका लागि रकमको सहयोग पाएका छन् । घर नभएका नभएकाहरुलाई घर हुने, भर नभएकाहरुलाई भर हुने क्षेत्र भएको छ संचार । अन्यायको विरुद्धमा र न्यायको पक्षमा पत्रकारिताको खवरदारी जहिले पनि हुन्छ । न्यायको पक्षमा लाग्नका लागि पत्रकारिताले अरुलाई उत्प्रेरणा प्रदान गरिरहेको हुन्छ ।

पर्यटन पवद्र्धनका लागि भूमिकाः
पर्यटन पवद्र्धनको विषय संचारको प्राथमिकताको विषय हो । दाङ जिल्लाका संचारमाध्यमले दाङका पर्यटकिय स्थलको मात्रै होइन प्यूठानको स्वर्गद्वारीका बारेमा पटक पटक लेख्ने गरेका छन् । जिल्लामा रहेका पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने कामलाई कर्तत्वका रुपमा लिने गरेका छन् । पछिल्लो समय प्रख्यात रहेको धारापानी प्रख्यात हुनुमा संचारको भूमिका रहेको छ । यस्तै हलवारमा रहेको सिद्ध चमेरे गुफाको बारेमा उजागर गर्ने कुरा, छिल्लिकोट रमणिय पर्यटकिय स्थल हो भन्ने कुराको प्रचार प्रसार गर्ने कुरा, देउखुरीमा रहेको जखेरा तालको प्रचार प्रसार गर्ने कुरा, बाघनाथ वावाको कुटीको प्रचार प्रसार गर्ने कुरा, विभिन्न ताल तलैयाका बारेमा प्रचार प्रसार गर्ने कुरा संचारका लागि प्राथमिकताको विषय बनिरहेको हुन्छ । यस्तै पुरन्धारा झरनाको प्रचार प्रसार गर्ने कुरा, ज्यामिरे दहलाई प्रचारमा ल्याउने कुरा, दंगिशरणको प्रचार प्रसार गर्ने कुरा, घोडदौरामा पर्यटन प्रवद्र्धन गर्न सकिने कुरा देखि लिएर सवारी कोटबाट प्याराग्लाइडिङ गरिएको विषय पनि पत्रकारका लागि विषय बन्ने गरेका छन् । अझ भन्ने हो भने पर्यटन र पत्रकारिता आपसमा जोडिएको विषय बनेको छ । पत्रकारिताले पर्यटन पवद्र्धनका लागि भूमिका खेलिरहेको छ । विभिन्न मेला महोत्सव संचालन हुनुपर्ने र मेला महोत्सवलाई पर्यटन प्रवद्र्धन गर्ने माध्यम बनाउनुपर्छ भनेर संचारले खवरदारी गर्दै आएको विषय हो ।

किसानका कुरा, मजदुरका कुरा, समग्रमा भूईमान्छेका कुराः
पत्रकारितामा नअटाउने कुनै विषय छैन । कतिपयले यहि भएर पत्रकारलाई सवै कुरा थाहा हुन्छ भन्ने गर्दछन् । हो पत्रकारलाई सवै कुरा थाहा हुन्छ तर सवै कुरा पूर्ण रुपमा थाहा नहुन सक्छ । अहिले पत्रकारितामा विट पत्रकारिता फस्टाएको छ । पत्रकारले गहिरोसंग अध्ययन गर्नुपर्छ । अनुसन्धान गर्नुपर्छ । पत्रकारले विषयको गहिराई बुझ्नुपर्छ भनेर नै विट पत्रकारिताको सुरुवात गरिएको हो । जिल्लामा विट पत्रकारिताको अभ्यास सामान्य रुपमा भएपनि थालिएको छ । जिल्लाको पत्रकारिताले किसानले मल नपाएको कुरा गर्ने गरेको छ । किसानले विउ नपाएको कुरा गर्ने गरेको छ । श्रम गर्नेहरुले उचित मूल्य नपाएको बारेमा वकालत गर्ने गरेको छ । कतिपयले पत्रकारले थाहा पाउछन् भनेर श्रम शोषण नगरेको, कामबाट निकाल्न नसकेको, नियमित रुपमा तलव दिइरहेका हुन्छन ।

पत्रकारिताले उठाउनुपर्ने विषयहरु अनेकन छन् । पत्रकारिताले उठाइरहेका विषयहरु पनि अनेकन छन् । कहिलेकाँही पाठकले विषय दिने गर्दछन् । पत्रिकाले लेखेपछि केही हुन्छ भन्ने मानिसमा जुन विश्वास रहेको छ यसलाई जोगाउनुपर्छ । पत्रिकाले लेख्छ भन्ने कुराले भ्रष्टाचारमा कमी ल्याउन सघाउ पु¥याउँछ । पत्रिकाले लेख्छ भन्ने डरले सरकारी सेवालाई चुस्त दुरुस्त बनाउनुपर्छ भन्नेहरु पनि छन् । समग्रमा दाङ जिल्लामा पत्रकारिताले उठाएका केही विषय सफल भएका छन् । केही विषयहरु निरन्तर खवरदारी गर्नुपर्ने विषयका रुपमा रहेका छन् । दाङ जिल्ला पत्रकारितका लागि उर्वर क्षेत्र हो । शिक्षाका लागि उर्वर रहेको भूमि पत्रकारिताका लागि पनि राम्रो मानिन्छ । साविक राप्ती अञ्चलको केन्द्रका रुपमा दाङ जिल्ला रहेको थियो । अहिले यहाँ छ जिल्ला छन् तर दाङ जिल्लामा मात्रै दैनिक पत्रिकाहरु प्रकाशनमा छन् । साप्ताहिक पत्रिकाहरु छन् । म्यागेजिनहरु छन् । साहित्यीक पत्रिकाहरु प्रकाशनमा रहेका छन् । यस कारणले गर्दा पनि दाङ जिल्लाको पत्रकारिताको उचाई बढी छ । (समाप्त)

sharadreetu@gmail.com

विकटको विद्यालयमा पढाइ चौपट

बराह क्षेत्र प्राविमा अझै कोही प्रधानाध्यापक पुगेन

राप्ती पोष्ट

घोराही, फागुन । गएको फागुन ३ गते राप्ती पोष्ट दैनिकको टिम घोराही उपमहानगरपालिकाको वडा नं. १९ खानीगाउँमा रहेको बराह क्षेत्र प्राथमिक विद्यालयमा एक जना मात्रै शिक्षक उपस्थित हुनुुहुन्थ्यो । पाँचवटा कक्षामा एक जना मात्रै शिक्षकले पढाइरहनुभएको थियो । फागुन ४ गतेका दिन राप्ती पोष्ट दैनिकमा ‘कक्षा पाँचवटा, शिक्षक भने एकजना’ शिर्षकमा समाचार छापियो । त्यसको भोलिपल्टै विद्यालयमा प्रधानाध्यापक जाने जानकारी घोराही उपमहानगपालिकाको शिक्षा महाशाखाले गरायो । शिक्षा महाशाखाले प्रधानाध्यापक जाने जानकारी गराएको १० दिन वितिसकेको छ तर विद्यालयमा कोही प्रधानाध्यापक पुगेको छैन ।

गएको पुस २७ गतेका दिन त्यहाँ कार्यरत प्रधानाध्यापक शिशिर खनालको सरुवा भयो । खनालको सरुवा भएपछि विद्यालयमा पठन पाठन प्रभावित भयो । खनालले कक्षा ५ मा मात्रै तिनवटा विषय पढाउनुहुुन्थ्यो । अंग्रेजी, विज्ञान र स्थानीय पाठ्यक्रम बढाउने गर्नुहुन्थ्यो । उहाँको अनुपश्थिति भएको डेढ महिना नाघी सकेको छ । तर उपमहानगरपालिकाले एक जना शिक्षक त्यहाँ पठाउन सकिरहेको छैन ।

घोराही उपमहानगरपालिका वडा नं. १९ का अध्यक्ष ज्ञानबहादुर रायमाझीलाई सोमबार बराह क्षेत्र प्राथमिक विद्यालयमा को प्राधानाध्यापक जानुभयो भनेर जिज्ञासा राख्दा अहिलेसम्म कोही पनि नगएको बताउनुभयो । उहाँले नगर शिक्षा समितिले महेश्वरी घर्ती जाने निर्णय गरिरहेको भएपनि उहाँ हालसम्म नगएको बताउनुभयो । नगर शिक्षा समितिले निर्णय गरेपछि शिक्षा महाशाखाले पनि उहाँलाई जाने अनुमति दिइसकेको छ । नगर शिक्षा समिति र शिक्षा महाशाखाबाट गरिएको निर्णय कार्यान्वयन गराउनका लागि शिक्षा विकास तथा समन्वय इकाई बाधक देखिएको छ । यस विद्यालयमा कार्यालय सहयोगी एकजना, सहयोगी कार्यकर्ता एक जना र दुई जना मात्रै दरवन्दीका शिक्षक हुनुहुुन्छ । दरवन्दीका शिक्षक पनि समयमा नजाँदा विद्यालयको पठन पाठन चौपट भएको छ ।

‘म यहि काममा लागेको छु, विद्यार्थीहरुको परीक्षा आउने समय भइसक्यो । पढाइ डामाडोल भएको छ । यताबाट निर्णय भइसक्यो तर काम टुंगोमा पुगेको छैन ।’ वडाध्यक्ष रायमाझीले राप्ती पोष्टसंग भन्नुभयो । उहाँले एकजना शिक्षक लग्नका लागि आफूले निकै दुःख पाएको सुनाउनुभयो र भन्नुभयो–‘रिमोट कता छ थाहा छैन, म निकै आत्तिएको छु । के गरौं कसो गरौं भइरहेको छ ।’ उहाँले आफ्नो वडा विकट रहेको र विद्यालय झनै विकट भेगमा रहेकाले शिक्षकहरु जान नमान्ने समस्या रहेको बताउनुभयो । ‘कोही नयाँ शिक्षक गयो भने छ महिना बसेर फेरि सुगमतिर आउने गर्दछन् । घर्ती स्थानीय पनि हुनुुहुन्छ । उहाँलाई पठाउने कुरा भएको छ तर उहाँ जाने बातावरण बनेको छैन ।’वडाध्यक्षले भन्नुभयो ।

घोराही उपहानगरपालिकाको सवैभन्दा विकट वडाका रुपमा वडा नं. १९ रहेको छ । बराह क्षेत्र प्राविमा अहिले करिव एक सय जना विद्यार्थीहरु रहेका छन् । शिक्षक नियमित रुपमा नआउँदा विद्यालयमा आउने विद्यार्थीको संख्या नै कम भएको छ । हरेक दिन आधा जसो मात्रै विद्यार्थी विद्यालयमा उपस्थित हुने गरेका छन् । घोराही उपमहानगरपालिकाले विद्यालयमा जाने, अनुगमन गर्ने र समस्या समाधानका लागि चासो नदेखाएका कारणले गर्दा समस्या भएको स्थानीयको भनाई रहेको छ ।

डिसिएलको उपविजेताका लागि लिलारामको सहयोग

राप्ती पोष्ट

घोराही, फागुन । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि दाङमा हुन लागेको नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को उपविजेतालाई प्रदान गरिने नगद राशिको सहयोग जुटेको छ । प्रतियोगिताको उपविजेतालाई प्रदान गरिने नगद राशी क्रिजल आयल सप्लायर्स घोराहीका सञ्चालक तथा युवा व्यवसायी लिलाराम चौधरीले नगद एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । डिसिएलको उपविजेताले टीमले नगद एक लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाण पत्र पाउने व्यवस्था छ ।

आर्थिक मन्दीका बीचमा लुम्बिनी प्रदेशकै ठूलो प्रतियोगिताका रुपमा लिईएको नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ का लागि उहाँले गर्नुभएको सहयोगले आयोजकलाई निकै ठुलो राहत भएको प्रतियोगिता संयोजक तथा क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो । यस प्रकारको सहयोगले प्रतियोगिता संचालनमा मात्रै नभई यहाँको क्रिकेटको विकासमा पनि टेवा पुग्ने भन्दै सहयोगीदाता चौधरीलाई दाङ क्रिकेट परिवारका तर्फबाट हार्दिक आभार व्यक्त गरिएको छ । ‘आफ्नो ठाँउको विकास गर्न, आफ्नो जिल्ला चिनाउन हरेकले भुमिका र सहयोग गर्नुपर्छ भन्ने भावका साथ डिसिएललाई गर्नुभएको आर्थिक सहयोगप्रति आभार व्यक्त गर्दछौँ’, अध्यक्ष मजगैयाले भन्नुभएको छ ।

यसैबीच, नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ का लागि सहयोग गर्ने दाता, संघसंस्था र निकाय थपिने क्रम जारी छ । प्रतियोगिता संचालन गर्न अहिलेसम्म विभिन्न व्यक्ति, संस्थाले हात अघि बढाएका छन् । कतिपयले नगद सहयोग समेत गर्नुभएको छ । जस अनुसार, हाल अमेरिकामा बस्दै आउनुभएका घोराही ५ बसन्तापुर निवासी होताराम अधिकारीले प्रतियोगिता सफलताको शुभकामनासहित १५ हजार ४ सय ७६ रुपैयाँ सहयोग गर्नुभएको छ ।

दाङका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी किरण थापा र बिमल थापाले आफ्नो पुजनीय स्वर्गीय बुवा कुलबहादुर थापाको सम्झनामा प्रतियोगिता सफलताको शुभकामनासहित १० हजार सहयोग गर्नुभएको छ । अष्ट्रेलिया बस्दै आउनुभएका क्रिकेट शुभचिन्तक प्रेमराज उप्रेतीले प्रतियोगिताका लागि भन्दै नगद १० हजार सहयोग गर्नुभएको छ । यसैगरी, घोराही १७ गुलरिया निवासी कुलराज शर्माले पनि डिसिएलको सफलताको शुभकामनासहित ५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश शिक्षा विभाग प्रमुख सुशील अधिकारीले पनि दाङ क्रिकेट लिगको सफलताको शुभकामनासहित ५ हजार सहयोग गर्नुभएको छ ।

यसैगरी, क्रिकेट संघ नेपालका केन्द्रीय सदस्य तथा धनगढीमा रहेको माया मेट्रो अस्पतालका संचालक धीरेन्द्र सावद, नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव, रुपन्देही जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्त मल्ल, नवलपरासी जिल्ला क्रिकेट संघमा लामो समयदेखि नेतृत्व गर्दै क्रिकेटको गतिविधि सक्रिय बनाउँदै आउनुभएका अग्रज कृष्ण श्रेष्ठ, रोल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष ओम केसी, नेपाली सेनाको सहसेनानी पदमा कार्यरत शरद मरासिनीले प्रतियोगिता सफलको कामनासहित नगद सहयोग गर्नुभएको छ ।

यसअघि, मुख्य प्रायोजकमा नेपाल टेलिकम, गोल्ड प्रायोजकमा गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, प्लेयर अफ द म्याच प्रायोजकमा किसान ट्रेडिङ कन्सर्न सोनालिका, स्कुल पार्टनरमा गुरुकुल एकेडेमी घोराहीले सम्झौता गरेका छन् ।
यसैगरी, प्रतियोगिताका लागि हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हिस्पटल, घोराही र लाईफ फुड एण्ड बेभरेज प्रालि अन्तर्गतको किबु इनर्जी ड्रिंक पार्टनरको रुपमा रहने भएका छन् ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको नेपाल टेलिकम डिसिएल–२ प्रतियोगितामा घोराही टाईगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोलीले प्रतिष्पर्धा गर्नेछन् । जसका लागि पाँच वटै फ्रेन्चाईज क्लबले प्रत्येक टीममा १४ जना खेलाडी खरीद गरिसकेका छन् । प्रत्येक टीम मालिकले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाएका छन् ।

१४ गतेबाट हुने लिग १९ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका सबै खेल घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा हुनेछन् । लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश÷दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

विश्व कीर्तिमानी आरोही बुढालाई अभिनन्दन गरिने

राप्ती पोष्ट

घोराही, फागुन । घुँडा माथिबाट दुवै खुट्टा गुमाएर पनि विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरि विश्व कीर्तिमान बनाउनु भएका हरि बुढा मगरको दाङमा नागरिक अभिनन्दन हुने भएको छ ।

गोरखा ग्रुपको आयोजनामा यही फागुन १४ गते उहाँलाई घोराहीमा भव्य समारोहबीच नागरिक अभिनन्दन गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा १४ गते सोमबार बिहान ८ बजे घोराहीको तुलसीपुर चोक (भानुचोक)बाट थालनी हुने विश्व किर्तिमानी आरोही, गोर्खा गु्रपका संस्थापक तथा पूर्व ब्रिटिश आर्मी बुढा मगरको भव्य नागरिक अभिनन्दनमा सहभागी हुन सबैमा अनुरोध गरिएको छ ।

उक्त दिन बाजागाजा र साँस्कृतिक झाँकीसहितको र्यालीका साथ उहाँलाई अभिनन्दन गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघको सभागृह हलमा विशेष सम्मान कार्यक्रम गरिने भएको हो । सो अवसरमा, विश्व कीर्तिमानी व्यक्ति तथा सकारात्मक सोँचका अभियन्ता बुढा मगरबाट व्यक्त हुने उत्प्रेरणामूलक विचार सुन्नका लागि आम नागरिकहरुमा आयोजकले अनुरोध गरेको छ ।

असल कर्मद्वारा नै असल समाजको निर्माण हुने हुँदा असल कर्म गर्नेहरुलाई समाजका सदस्यहरुले प्रेरणा, स्नेह र सम्मान गर्न पछि पर्नु हुदैन भन्ने मान्यताका साथ गोरखा ग्रुपले यो कार्यक्रम गर्न थालेको ग्रुपका अध्यक्ष बुढाले बताउनुभयो ।
दृढ इच्छा शक्ति, संकल्प र उच्च साहसका साथ निरन्तर रुपले खटेर राष्ट्रिय पहिचानका लागि अन्तर्राष्ट्रिय रेकर्ड राख्न सक्षम बुढा मगरले गरेको विश्व किर्तिमानको साहसिक कार्यबाट आज मुलुकको शीर विश्व रंगमञ्चको साहसिक पर्यटनको क्षेत्रमा उँचो भएको अध्यक्ष बुढाले बताउनुभयो ।

निरन्तरको मेहनत र परिश्रमका कारण उहाँले प्राप्त गरेको सफलताले गोरखा ग्रुप मात्र नभई सिंगो नेपाली समाज आज गौरवान्वित भएको हुँदा उहाँलाई थप हौसला र स्नेहका साथ गरिन थालिएको सम्मान अरुका लागि पनि प्रेरणादायी हुने विश्वास गरिएको आयोजकले बताएको छ ।

हरि बुढा मगर बुवा नौला बुढा मगर र आमा पुरइ बुढा मगरको कोखबाट २०३६ सालमा रोल्पा जिल्ला थवाङ गाँउपालिका ३ मिरुलमा जन्मनुभएको हो । उहाँ सन् १९९९ जनवरी १ मा ब्रिटिश आर्मीमा भर्ना हुनुभएको हो । ब्रिटिश आर्मीमै सेवारत रहँदा सन् २०१० अप्रिल १७ मा अफगानिस्थानमा ड्युटीमै रहेको बेला एम्बुसमा परेर घाइते हुनुभयो र दुवै खुट्टा घुँडामाथिबाट गुमाउनु भयो ।

दुःखद घटनापछि पनि उहाँ जीवनप्रति कहिल्यै निराश नभई उच्च मनोबल र सकारात्मक सोचका साथ आफुलाई एक सफल सामाजिक अभियन्ता तथा उत्प्रेरक बक्ता अर्थात मोटिभेसनल स्पिकरको रुपमा आफुलाई क्रियाशिल राख्दै आउनु भएको छ । अदम्य साहास र संघर्षपूर्ण जीवन गाथा भएका हरि बुढा मगर दुवै खुट्टा घुँडामाथिदेखि गुमाए पनि पाँच वर्षको प्रयासपछि २०८० जेठ ५ गते दिनको ३ बजेर १० मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व किर्तिमान राख्नुभएको हो । कानुनी अड्चनका कारण सगरमाथा आरोहण गर्न अवरोध हुँदै आएकोमा उहाँले कानुन निर्माणदेखि खुट्टा नभएपनि अदम्य शाहस र विश्वास भए जस्तोसुकै कठिन कामपनि गर्न सकिन्छ भन्ने प्रमाणित गर्नुभएको छ ।

उहाँ घुँडामाथि देखि दुवै खुट्टा नहुने विश्वको पहिलो सगरमाथा आरोही बन्नु भएको छ । उहाँको विश्व किर्तिमान अपाङ्गता वा फरक क्षमता भएकाहरुको लागि ठूलो प्रेरणा बनेको छ । सगरमाथा सफल आरोहणपछि आफ्नो अनुभव बाँडेर आम मानिसहरूमा सकारात्मक उत्साह थप्न निरन्तर बिभिन्न साहसीक गतिविधिहरुमा संलग्न हुँदै आउनु भएको छ ।

पश्चिम दाङका अगुवा कम्युनिष्ट अरविन्द केसीको निधन

पश्चिम दाङका अगुवा कम्युनिष्ट अरविन्द केसीको निधन

राप्ती पोष्ट

दाङ, फागुन । दाङका पुराना कम्युनिष्ट नेता इमबहादुर केसी (अरविन्द)को निधन भएको छ । पश्चिम दाङमा कम्युनिष्टहरुको अभिभावकका रुपमा रहनुभएका केसीको शनिबार विहान ७ः३० बजे निधन भएको हो ।

शान्तिनगर गाउँपालिका वडा नं. ४ जुम्वेकुला निवासी केसी केही समय यता विरामी हुनुहुन्छ । २०५४ सालमा भएको निर्वाचनमा शान्तिनगर गाविस वडा नं. ९ बाट वडाध्यक्षका रुपमा निर्वाचित केसी पंचायती व्यवस्थाको समयमा सेल्टरदाता र आफै पनि सक्रिय कार्यकर्ताका रुपमा हुनुहुन्थ्यो ।

उहाँको ७४ बर्षको उमेरमा निधन भएको छ । तुलसीपुरदेखि पश्चिम पार्टीलाई स्थापित गर्नका लागि उहाँको महत्वपूर्ण भूमिका रहेको छ । तत्कालिन नेकपा मालेमा सक्रिय रहनुभएका केसीका पाँच भाई छोराहरु हुनुहुन्छ । उहाँका माइला सुपुत्र विष्णुबहादुर केसी नेकपा एमाले दाङको सचिवालय सदस्य तथा पार्टीका शान्तिनगर इञ्चार्ज हुनुुहुन्छ । यस्तै इन्द्र व्यावसायिक काममा हुनुहुन्छ भने डम्मर, पोखर र खिमबहादुर केसी सरकारी सेवामा हुनुहुुन्छ ।

केसीको निधनमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा पोखरेलले लेख्नुभएको छ ।‘दाङको कम्युनिष्ट आन्दोलनका अगुवा अरविन्द केसीप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना ।’
यसैगरी माओवादी नेता तथा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा अपारले पनि केसीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ ।‘एक पुराना र पस्चिम दाङ्मा स्थापित कम्युनिष्ट नेता, २०५४ को स्थानिय निर्वाचन मा साविक शान्तिनगर ९ बाट बिजयी वडा अध्यक्ष, एवम् नेकपा ( एमाले ) का युवा नेता बिष्णु केसिका बुवा अर्बिन्द केसिको ७४ बर्षको उमेरमा भएको दुखद निधनले अत्यन्त दुखि भएको छु । दुखको यसघडिमा दिवङ्गत बुवा प्रति भावपुर्ण श्रध्दाञ्जलि अर्पण गर्दै शोकाकुल सम्पुर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

केसीको शनिबार नै बागर खोलामा अन्तेष्टि गरिएको थियो । उहाँको पार्थिव शरिरमा नेकपा एमालेका झण्डा ओढाउनुका साथै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

 

डिसिएल–२ को खेल तालिका सार्वजनिक

मुख्य प्रायोजकमा नेपाल टेलिकम

छबि पुरी /राप्ती पोष्ट

घोराही, फागुन । घोराहीमा फागुन १४ गतेदेखि हुन थालेको लुम्बिनी प्रदेशकै ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग सिजन–२ को खेल तालिका सार्वजनिक भएको छ । जस अनुसार, १४ गते उदघाटन खेल साविक विजेता घोराही टाईगर्स र दंगाली लायन्सबीच हुने भएको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो ।

सोही दिन दिउँसो देउखुरी वारियर्स र पुरन्धारा च्यालेन्जर्सबीच हुनेछ । १५ गते बिहान दंगाली लायन्स र तुलसीपुर रोयल्सबीच खेल हुनेछ । दिउँसो पुरन्धारा च्यालेन्जर्स र घोराही टाईगर्सबीच खेल हुने भएको छ । १६ गते बिहान तुलसीपुर रोयल्स र पुरन्धारा च्यालेन्जर्स बीच खेल हुनेछ भने दिउँसो घोराही टाईगर्स र देउखुरी वारियर्सबीच खेल हुने भएको छ ।
१७ गते बिहान देउखुरी वारियर्स र तुलसीपुर रोयल्स बीच खेल हुँदा दिउँसो पुरन्धारा च्यालेन्जर्स र दंगाली लायन्स बीच खेल हुने भएको छ । १८ गते दंगाली लायन्स र देउखुरी वारियर्स बीच खेल हुँदा दिउँसो तुलसीपुर रोयल्स घोराही टाईगर्स बीच खेल हुनेछ । लिगमा उत्कृष्ट दुई टीमले फाईनल खेल्नेछन् । फाईनल खेल १९ गते शनिबार हुने भएको दाङ क्रिकेट लिगका संयोजक तथा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो ।

यसैबीच दाङ क्रिकेट लिग–२ को मुख्य प्रायोजक नेपाल टेलिकम भएको छ । दाङ क्रिकेट संघको आयोजनामा हुन थालेको फ्रेन्चाईज लिगको मुख्य प्रायोजक नेपाल टेलिकम भएको बुधबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको हो । आयोजक र मुख्य प्रायोजक नेपाल टेलिकम बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

१९ गतेसम्म घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया स्थित घोराही क्रिकेट मैदानमा हुने सो प्रतियोगिताका लागि नेपाल टेलिकमले खेल क्षेत्रको विकासका लागि सामाजिक योगदान स्वरुप लगानी गरेको नेपाल टेलिकमका प्रबन्धक हरि ढकालले बताउनुभयो । क्रिकेटको विकासका लागि तल्लो तहबाटै वातावरण निर्माण गर्नुपर्ने अवस्थामा दाङमा क्रिकेटको वातावरण राम्रो बन्दै गएको हुँदा नेपाल टेलिकमले सहकार्य गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल टेलिकम घोराहीका प्रमुख माधव खनालले दाङ क्रिकेट लिग सिजन–२ जिल्लाको क्रिकेट विकासका प्रमुख आधार रहेको बताउँदै यस प्रकारको प्रतियोगितामा संस्थागत सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो । उहाँले क्रिकेटको विकासका लागि पूर्वाधार र खेलाडीमा लगानीको वातावरण बन्दै गएको हुँदा क्रिकेटलाई माथि उठाउन र व्यावसायिक बनाउन सबैको साथ सहयोग चाहिने बताउनुभयो । उहाँले क्रिकेट प्रतियोगिताले जिल्लाबाट राम्रा खेलाडी उत्पादनसँगै राष्ट्रिय स्तरमा स्थापित गर्न भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । क्रिकेटको विकासका लागि आगामी दिनमा पनि नेपाल टेलिकम सहकार्य गर्न तयार रहेको उहाँको भनाई थियो ।

पत्रकार सम्मेलनमा दाङ क्रिकेट लिगका संयोजक तथा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले लिगको तयारी तीव्र रुपमा भईरहेको जानकारी गराउनुभयो । प्रंतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न साझेदार निकाय, संघसंस्थाहरुसँग भेटघाट भईरहेको बताउँदै उहाँले १४ गते निर्धारित समयमा खेल उदघाटन हुने बताउनुभयो । जिल्लामा हुन लागेको डिसिएल–२ मा साविक विजेता घोराही टाईगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज क्लबले प्रतिष्पर्धा गर्नेछन् । फ्रेन्चाईज क्लबहरुले अक्सनमार्फत खेलाडी खरिद गरि सकेका छन् । अक्सनका लागि दुई सय बढी खेलाडीले रजिष्ट्रेशन भरेकामा ७० खेलाडी प्रतियोगिताका लागि छनोट भएका छन् ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका १ सय ३ जना, दाङबाट सिनियर समुहमा ५२ जना, १९ वर्ष मुनिको १९ जना, १६ वर्ष मुनिको २१ जनाबाट पाँच फ्रेन्चाईज क्लबले खेलाडी भित्र्याएका छन् । ६ दिन चल्ने प्रतियोगितामा ११ खेल हुनेछन् । जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको जिल्ला सचिव एवम् प्रतियोगिता संयोजक सन्जु केसीले जानकारी दिनुभयो ।
लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिने भएको प्रतियोगिता निर्देशक विशेष अधिकारीले जानकारी दिनुभयो ।

डिसिएल–२ प्रतियोगिता सफल बनाउन मुख्य प्रायोजकमा नेपाल टेलिकमसँगै गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हस्पिटल, घोराही, अनलाईन पार्टनर खल्ती एप, अफिसियल पार्टनरमा गुरुकुल एकेडेमी, प्लेयर अफ द म्याचको पार्टनरमा किसान ट्रेडिङलगायत रहेका छन् । प्रतियोगिताको सफलताका लागि देशभित्र र देश बाहिरबाट पनि विभिन्न व्यक्ति, संस्थाबाट सहयोग भएको छ ।

दाङका छापा माध्यम र यिनले उठाएका विषयहरु

शरद अधिकारी

दाङ जिल्लाको छापामाध्यमको इतिहास लामो छैन । पंचायतकालिन समयमा जिल्लामा पत्र पत्रिकाहरु प्रकाशन भएको देखिन्छ । छापा माध्यमको कुरा गर्दा कुनै बेला साहित्यीक पत्रिकामा आएका सामग्री नै चर्चाको विषय हुन्थे । पत्रिकामा आएका साहित्यीक सामग्रीहरु होउन वा साहित्यीक पत्रिकाहरु नै किन नहोउन सवैका सामग्री चर्चाको विषय हुन्थे । कसैले पत्रिकामा कविता लेख्यो भने त्यो प्रशासनको नजरमा निकै आलोचनाको विषय हुन्थ्यो । लेख्ने मानिसहरुको संख्या कम हुने, लेखेका सामग्रीहरु प्रकाशनका लागि संचारमाध्यम कम हुने अवस्था थियो । बहुदलिय व्यवस्थाको आगमनपछि पत्रिका खोल्ने क्रम बढेर गयो । विस्तारै लेख्नेहरुको संख्या बढ्दै गयो । पत्रकारिता गर्नेहरुको संख्या बढ्दै गयो । जिल्लामा नेपाल पत्रकार महासंघ स्थापना गर्दाको समयसम्म पनि साहित्यमा कलम चलाउनेहरुलाई ल्याएर पत्रकार महासंघको सदस्य बनाउनुपर्ने अवस्था थियो । २०४९ सालको कार्यसमितिमा जसलाई राखिएको छ त्यतिवेला उहाँहरुलाई कार्यसमितिमा बसिदिनुप¥यो भनेर अनुरोध गरेर बसालिएको थियो भन्ने स्पष्ट हुन्छ । मुलधारको पत्रकारितामा लाग्नेहरुको त निकै अभाव थियो भन्ने सामान्य अध्ययनबाट पनि निश्कर्ष निकाल्न सकिन्छ । २०३३ सालबाट सुरु भएको छापा पत्रकारिता आजको दिनसम्म आइपुग्दा अनेकन आरोह अवरोह पार गरेर अघि बढेको छ । जिल्लाबाट प्रकाशित पत्रिकाहरु दैनिक हुनका लागि पनि निकै लामो समय लागेको थियो । २०५५ सालदेखि मात्रै युगवोध दैनिक रुपमा प्रकाशन हुन थाल्यो । युगवोध दैनिक जिल्लाको पहिलो दैनिक पत्रिकाका रुपमा थियो । त्यसको केही बर्षपछि मात्रै जिल्लामा दैनिक पत्रिकाहरु नियमित रुपमा प्रकाशन हुन थालेका थिए ।

आजको लेखमा जिल्लाबाट प्रकाशित भइरहेका कुन पत्रिकाले के कस्ता बिषय उठाएका थिए भन्ने बारेमा समिक्षा गर्नुभन्दा पनि समग्रमा यहाँको छापा पत्रकारिताले के कस्ता बिषयलाई उठाएको थियो भन्ने बारेमा चर्चा गर्न थालिएको छ । जिल्लाको पत्रकारिताले उठाएका केही विषयहरु छन जसका बारेमा पछिसम्म चर्चा भइरहनेछ । अध्ययन गर्नेहरुले यो विषयमा थप खोज गर्न सक्नेछन् । दाङ जिल्लाका पत्रिकाहरुले उठाएका विभिन्न विषयहरुलाई यसरी उल्लेख गर्न सकिन्छ । पंचायती व्यवस्थाको अन्त्यका लाागि होस कि ? प्रजातन्त्रलाई बलियो बनाउनका लागि नै किन नहोस । यहाँको छापा माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । लोकतन्त्रको आगमनका लागि भूमिका खेलेको यहाँको छापामाध्यमले आन्दोलनका लागि मात्रै होइन विभिन्न अभियानमा आफूलाई अग्रभागमा उभ्याउँदै आएको छ । आन्दोलन एउटा उद्देश्यकालागि हुन्छ तर अभियान निरन्तर हुन्छ । कतिपय विषयहरु आन्दोलन जस्तो देखिएतापनि ति आन्दोलनका रुपमा होइन कि अभियानका रुपमा अघि बढीरहेका हुन्छन । जिल्लामा छापा माध्यमले सशक्त रुपमा उठाएका विषयहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

१. कमैया मुक्तिको अभियान र पुनःस्थापनाको सवाल
२. एकल महिलाले रातो लगाउनुपर्छ भन्ने अभियान
३. जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियान
४. कम्लहरी मुक्तिको अभियान
५. बालश्रम मुक्तको अभियान
६. छुवाछुतमुक्त अभियान
७. शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सवालहरु
८. मानवअधिकारका सवालहरु

कमैया मुक्तिको अभियान र पुनःस्थापनाको सवालः

०४६ सालमा नेपालमा प्रजातन्त्र आयो । त्यसपछि जिल्लामा छापा माध्यमको तिव्र विकास भयो । साप्ताहिक पत्रिकाहरु खुल्ने क्रम बढेर गयो । केही बर्षपछि दैनिक पत्रिकाहरु थपिए । जिल्लाका छापा माध्यमले उठाएका अनेकन विषयहरुमध्य कमैया मुक्तिको विषय पेचिलो विषय थियो । थोरै पैसा र अन्नमा मानिसलाई काममा लगाउने परिपाटीको अन्त्यका लागि यहाँका छापा माध्यमले प्रशस्त योगदान गरेका थिए । खासगरुी थारु जातिलाई काममा लगाउने र उनिहरुलाई काममा लगाए बापत थोरै मात्रै अन्नपात दिने चलनका विरुद्ध त्यतिवेला संचारमाध्यमले विषय उठाएको थियो । पछि २०५७ साल साउन २ गतेका दिन सरकारले कमैया मुक्ती घोषणा गरेको थियो । कमैया मुक्तिको घोषणापछि पुनःस्थापनाका लागि संचारमाध्यमले व्यापक खवरदारी गरेका थिए । उनिहरुलाई दिइएको जमिन, उनिहरुलाई घर निर्माणका लागि दिइएको काठ र नगदको उपयोग सम्वन्धमा दाङका संचारमाध्यम र संचारकर्मीले खवरदारी गरेका थिए ।

एकल महिलाले रातो लगाउनुपर्छ भन्ने अभियानः

दाङ जिल्लाबाट सुरु भएको यो अभियान पछि देशभर पुग्यो । अहिले श्रीमानको मृत्यु भएपछि श्रीमतीले सेतो कपडा लगाएर हिड्नुपर्छ भन्ने मान्यता थियो । दाङ जिल्लाका एकल महिलाहरुले श्रीमानको मृत्यु हुँदैमा रातो फाल्नुपर्छ र सेतो लगाउनुपर्छ भन्ने छैन भन्दै अभियान संचालन गर्नुभयो । रातो भनेको बावु आमाले दिएको रङ हो । २१ औं सताव्दिमा रातो रङ लगाउनु हुँदैन वा सेतो रङ मात्रै लगाउनुपर्छ भन्ने जुन मान्यता परम्परादेखि जकडिएर बसेको थियो यसलाई तोड्नका लागि यहाँको छापा माध्यमले भूमिका खेलेको थियो । एकल महिलाहरुले थालेको अभियानलाई संचारले साथ दिएको यो पनि प्रमुख विषय थियो । दाङ जिल्लाबाट थालनी भएको यो अभियान देशव्यापी भयो । पछि गायक बद्री पङ्गेनीले लाउ चेली सिन्दुर लाउ भन्दै गीत गाएपछि यो अभियानको सार्थकता बढेर गयो । अहिले कुनै महिलाले श्रीमान गुमाइन भने जिन्दगीभर सेतो लगाउने कल्पना गरिदैछ । एक बर्षसम्म पूर्णतया रातो नलगाएपनि त्यसपछि रातो लगाएर हिडेको देखिन्छ । एकल महिलाको अभियानलाई नजिकबाट समर्थन छापा माध्यमको थियो । अव कसैलाई पनि रातो लगाउनुपर्छ भनेर भन्नु पर्दैन । महिलाहरुको सोचाईमा पनि व्यापक परिवर्तन आएको छ ।

जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानः

दाङ जिल्ला नेपालमै छिट्ै खुल्ला दिसामुक्त भएको जिल्ला हो । यो अभियानमा यहाँको छापा माध्यमको साथ र सहयोग हुँदैनथ्यो भने यति छिट्टै अभियान सफल हुने थिएन । दाङ जिल्लाको कुरा गर्ने हो भने ३९ वटा गाउँ विकास समिति र दुईवटा नगरपालिका हुँदा खुल्ला दिसामुक्तको अभियान संचालन भएको थियो । यो अभियानमा नेतृत्व खानेपानी कार्यालयको थियो तर संगै यहाँका पत्रिकाहरु र पत्रकाहरु संगै हिड्ेका थिए । यहाँका छापा माध्यमले खुल्ला दिसामुक्त अभियानमा भएका गतिविधिहरुलाई मात्रै प्रकाशन गरेका थिएनन् दिसा खुल्ला रुपमा गर्नु हुँदैन भनेर अभियान नै संचालन गरेका थिए । लेखेर गर्ने अभियानसंगै अभियानकर्तासंग संगै हिड्ने काम पत्रकारहरुले गरेका थिए । जिल्लामा खुल्ला दिसामुक्त अभियानले छिट्टै सफलता पाउनुका पछि छापा माध्यम लगायत अन्य माध्यमको सक्रियता थियो ।

कम्लहरी मुक्तिको अभियानः

कमैया मुक्तिको अभियान टुङ्गोमा पुगेको भएपनि कम्लहरी प्रथा कायमै थियो । माघी आउँदा थारु बालिकाहरु मलिकको घरमा जानुपर्ने बाध्यकारी अवस्था थियो । कतिपयले पढाइदिन्छु भन्दै लगेको देखिन्थ्यो । कतिले छोरीजस्तै पाल्छु भन्दै लगेका हुन्थे । कतिपयले बावु आमालाई थोरै रकम दिएर छोरी लगेर जाने गरेको पाइन्थ्यो । थारु बस्तीमा माघी पछि साना गाडी र मोटरसाइकिलका लाइन लागेको देखिन्थ्यो । थारुहरु आफ्नो छोरीलाई बाध्यताले बढी र रहरले कम पठाएको पाइन्थ्यो । विस्तारै यो विषय संचारमा आयो । पहिले सामान्य लाग्ने गरेकोमा पछि यो बालिकाको श्रम शोषण हो भन्ने लाग्न थाल्यो । साना नानीहरु जो विद्यालयमा जानुपर्ने । हातमा कापी कलम हुनुपर्ने । तर जुठा भाँडा माझिरहेका हुन्थे । आफूजत्रै नानीहरु बोकिरहेका देखिन्थे । यातना कति हो कति ? कति यौन शोषणको मारमा परेका हुन्थे । कम्लहरी राख्ने कुरा राम्रो होइन र यो सरासर शोषण हो भन्ने कुरा पत्रिकामा आउन थालेपछि विस्तारै कम्लहरी मुक्तीको अभियान संचालन भयो । कम्लहरी मुक्तिको अभियानमा केही संस्थाहरु लागेका थिए तर त्यो अभियानको साथमा दाङका पत्रिकाहरु थिए । दाङका पत्रकारहरु थिए । दाङ जिल्लाबाट सुरु भएको अभियान सफल हुँदै जाँदा पश्चिम नेपालका अन्य जिल्लाका कम्लहरीहरु मुक्त भए । पश्चिम नेपालमा रहेको कम्लहरी कुप्रथाको अन्त्यका लागि सरकारले नै कम्लहरी मुक्तीको घोषणा गरेको थियो । यो अभियान सफल हुनुमा छापा पत्रकारिताको भूमिका महत्वपूर्ण थियो ।

बालश्रम मुक्तको अभियानः

नेपालको संविधानले बालवालिकालाई श्रममा लगाउन नपाइने कुरा गरेको छ । बालवालिकाहरुलाई काममा लगाउने कुरा संविधानको विपरित कुरा हो । यस बाहेक अन्तराष्ट्र्रिय सन्धी सँझौताहरुमा नेपालले हस्ताक्षर गरेको छ । नेपालले बालवालिकाको क्षेत्रमा रहेका अन्तराष्ट्र्रिय सन्धी सँझौताहरु पालना गरिसकेको अवस्थामा बालश्रम मुक्तको अभियान संचालन गर्नु अनिवार्य थियो । जव कम्लहरी मुक्तिको अभियान सफल भयो तव कम्लहरीको विकल्पमा मानिसले बालश्रमीक रोज्न पुगे । जसले गर्दा गाउँदेखि शहरसम्म बालश्रमिकको संख्या बढेर गयो । वालवालिकाले उमेर नपुग्दासम्म काम गर्ने होइन । बालवालिकाहरुले घरमा सामान्य काम गरेपनि श्रमको बजारमा जानु हुँदैन । अर्को कुरा साना बालवालिकालाई काममा लगाउँदा ठूला मानिसको श्रम खोसिएको हुन्छ । जिल्लालाई बालश्रम मुक्त बनाउने सवालमा संचारक्षेत्रले बारम्वार खवरदारी गरिरह्यो । बालश्रम मुक्तीको अभियान दाङ जिल्लाका छापा माध्यमको संलग्नतामा भएको सफल अभियान हो ।

छुवाछुतमुक्त अभियानः

मानिस र मानिसका बीचमा कुनै विभेद हुनुहुँदैन भन्ने कुरा सैद्धान्तिक रुपमा निकै राम्रो सुनिन्छ । संविधानमा मानिस र मानिसका बीचमा कुनै विभेद हुनु हुँदैन । सवै मानिस समान हुन भन्ने कुरा गरिएको छ । तर व्यवहारिक कुरा गर्ने हो भने छुवाछुत अहिले पनि जिवित छ । छुवाछुत आज केही न्युनिकरण भएको छ । यो न्युनिकरणका लागि छापा माध्यमले खेलेको भूमिका महत्वपूर्ण रहेको छ । ५० को दशकमा दाङ जिल्लामा छुवाछुत विरुद्धका विभिन्न अभियान संचालन हुँदा संचारको योगदान रहने गरेको थियो । कतिपय संघ संस्थाले सह भोज आयोजना गरेर कथित दलित र गैर दलितलाई खाना संगै खाने बातावरण मिलाउने गरेका थिए । कानुनका रुपमा सवै समान भनिएपछि मानिसका बीचमा हुने छुवाछुत रोक्नका लागि मानिस र मानिसका बीचमा संगत बढी हुनुपर्छ । एउटाले अर्कोलाई बुझ्नुपर्छ । मानिस र मानिसका बीचमा विभेद हुनु हुँदैन भन्ने कुरा सवैले बुझ्नुपर्छ । संचारले जसरी मानिसलाई विभेद विरुद्ध उत्प्रेरणा प्रदान गरिरहेको छ यसलाई निरन्तरता दिनुपर्छ ।

पत्रकारिताले उठाएका कतिपय विषयहरुमा सरोकारवारवालको ध्यान पुगिरहेको हुँदैन । भ्रष्टाचारका विषयहरु संचारमा आउँदा सरोकारवाला निकायले आफूलाई सुधार गर्नुको साटो त्यसलाई दवाउन खोज्ने, सुशासनका कुरा गर्दा त्यसलाई वास्ता नगर्ने चलन छ । दाङ जिल्लाको पत्रकारिता तुलनात्मक रुपमा सन्तुलित मानिन्छ । दाङ जिल्लाको पत्रकारितालाई अझै सन्तुलनमा राख्नुका साथै सकारात्मक विषय उठान गर्ने र नकारात्मक विषयलाई खवरदारी गर्ने सवालमा पत्रकारिता गरिरहेकाहरुले समिक्षा गर्नुपर्छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सवालहरुः

विकास पत्रकारिता भनेको भौतिक विकासको मात्रै कुरा होइन । विकास पत्रकारिता भनेको शिक्षाको विकासको कुरा, स्वास्थ्य सेवा विस्तारको कुरा, खानेपानी आपूर्तिको कुरा विकासको परिभाषा भित्र पर्दछ । दाङ जिल्लाका विद्यालयहरुको अवस्थालाई समाचारका रुपमा उजागर गर्ने काम छापा माध्यमले महत्व दिएको देखिन्छ । यस्तै विकट स्थान मात्रै होइन सुगम स्थानमा पनि स्वास्थ्यको अवस्था राम्रो नरहेको बारेमा पत्रकारिताले पटक पटक कुरा उठाएको देखिन्छ । पत्रकारिताले उठाउने विषयहरु अनेकन छन् । पत्रकारिताले उठाउनुपर्ने विषय उठाइरहेका छन कि छैनन् भन्ने विषयमा खोजी र अनुसन्धान हुनु जरुरी छ । के कस्ता बिषयहरु संचारमा आइरहेका छन् ? कस्ता विषयहरु आउनुपर्ने थियो भन्ने बारेमा अनुसन्धान कम भएको देखिन्छ । छापा माध्यम होउन वा विद्युतिय माध्यम सवैमा आइरहेका विषयका बारेमा तथ्याङ्कगत रुपमा अध्ययन जरुरी छ ।

मानवअधिकारका सवालहरुः

मानिसको बाँच्न पाउने हकका बारेमा धेरैले बोल्छन तर कार्यान्वयन भइरहेको हुँदैन । समग्रमा राज्यलाई खवरदारी गर्ने काम पत्रकारिताको हो । मानिसले आफ्नो अधिकार प्रयोग गर्न नपाएको कुरा पत्रकारिताका लागि महत्वपूर्ण सामग्री बन्दछ । मानवअधिकारका सवालहरु अहिलेको विश्वका लागि ज्वलन्त विषयहरु हुन् । मानवअधिकारको कुरा गर्दा महिलाको समग्र अधिकारको कुरा, बालवालिकाको अधिकारको कुरा, अपाङ्ता भएकाहरुको अधिकारको कुरा, जेष्ठ नागरिकका कुरा, दुर दराजका बस्तीमा बस्नेहरुका कुरा संचारका विषयहरु बनिरहेका छन् ।

पत्रकारितालाई आवाजहिनको आवाजका रुपमा चित्रण गर्ने गरिन्छ । राज्यको चौथो अंगका रुपमा पत्रकारितालाई लिइन्छ । पत्रकारिताको काम खवरदारी गर्ने हो । मानिसलाई जवाफदेही बनाउने हो । पत्रकारिताले उठाएका कतिपय विषयहरुमा सरोकारवारवालको ध्यान पुगिरहेको हुँदैन । भ्रष्टाचारका विषयहरु संचारमा आउँदा सरोकारवाला निकायले आफूलाई सुधार गर्नुको साटो त्यसलाई दवाउन खोज्ने, सुशासनका कुरा गर्दा त्यसलाई वास्ता नगर्ने चलन छ । दाङ जिल्लाको पत्रकारिता तुलनात्मक रुपमा सन्तुलित मानिन्छ । दाङ जिल्लाको पत्रकारितालाई अझै सन्तुलनमा राख्नुका साथै सकारात्मक विषय उठान गर्ने र नकारात्मक विषयलाई खवरदारी गर्ने सवालमा पत्रकारिता गरिरहेकाहरुले समिक्षा गर्नुपर्छ । दाङका अग्रज पत्रकार सुशिल गौतम ‘विकास पत्रकारिता भनेको सरकार र गैर सरकारी क्षेत्रले दिएका प्रचारमुखी सूचनाको सम्प्रेषण हो भन्ने भ्रम छ । उदाहरणका लागि यति बाटो बन्यो, यति छात्रवृत्ति वितरण भयो, यति निशुल्क औषधी वितरण भयो, आदि आदि समाचार छाप्छौं तर त्यसका बृहत्तर पक्षबारे हामीले विश्लेषण गर्दैनौं ।’ यसर्थ समाचार लेखेपछि त्यसको कार्यान्वयन कसरी भइरहेको छ भन्ने बारेमा खवरदारी गर्ने दायित्व पनि पत्रकारिताको हो । पत्रकारिताको धर्म लेखेर मात्रै सकिदैन । लेखेपछि त्यसको बारेमा पटक पटक अध्ययन अनुसन्धान गर्ने कुरालाई पत्रकारिताले आफ्नो कर्तत्वको दायरामा राख्नुपर्छ ।
sharadreetu@gmail.com