घोराही, चैत । अनुचित लेनदेन अर्थात मिटरब्याज सम्बन्धी उजुरीको फाइल हेर्ने जिम्मा अहिले जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ । सरकारले मिटर ब्याजसम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई जिम्मा दिएसँगै जिल्ला प्रशासन कार्यालय दाङमा रहेका फाईल खोल्ने र कारवाही प्रकृया अघि बढाउने काम अहिले जिल्ला प्रहरी कार्यालयमा हुने गरेको छ ।
अनुचित लेनदेन समस्या समाधान जिल्लास्तरीय समन्वय तथा सहजीकरण समिति दाङको बैठकपछि समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले अनुचित लेनदेनसम्बन्धी उजुरीको ४ सय ४७ वटा फाइल २०८० माघ २६ गते जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीलाई हस्तान्तरण गरेयता प्रहरीले यस विषयमा काम गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालयमा पठाइएका अनुचित लेनदेनका मुद्दामा अहिलेसम्म २३ वटा फाईलमा सहमति जुटाई सकेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय दाङमा प्राप्त अनुचित लेनदेनका अनलाइन आवेदनहरू, मिलापत्र÷सम्झौता भएका र फछ्र्याैट हुन बाँकी रहेका सम्पूर्ण उजुरी निवेदनहरू जिल्ला प्रहरी कार्यालयमा छ ।
करीव डेढ महिनाको अवधिमा प्रहरीले दुवै पक्षलाई सँगै राखेर सहमति जुटाउने प्रयास गरेपनि कतिपय उजुरीकर्ता कार्यालयमा नआउने तथा कतिपय पीडक भनिएका पनि उपस्थित नहुँदा समयमा काम गर्न ढिलाई भईरहेको उहाँको भनाई छ । प्रशासनमा उजुरी दिएर अदालत तिर पनि गएका कतिपय फाईलको बारेमा सहमति जुटाउने प्रयास अहिले पनि भईरहेको उहाँ बताउनुहुन्छ । सहमति गरिएका मुद्दामा दुवै पक्षले लेनदेनमा सहमति गरेर मिलापत्र गरेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।
‘मिटर ब्याजका सबै निवेदन जिल्ला प्रशासनबाट हामी कहाँ आएका छन् । ती निवेदन हामीले हेरिरहेका छौँ, यस बारेमा दुवै पक्षलाई सँगै राखेर छलफल गराउने काम निरन्तर भईरहेको छ’ उहाँले भन्नुभयो ‘दैनिक जसो निवेदनकर्तालाई फोन गरेर बोलाउने काम भईरहेको छ । त्यसमध्ये कोही आउँछन् कोही आउँदैनन् ।’ प्रहरीलाई फाइल बुझाउनुअघि जिल्ला प्रशासन कार्यालयमा चार सय ५२ उजुरी परेका थिए । ती मध्ये एक सय १९ वटाको मात्रै दुवै पक्षलाई राखेर छलफल गराइएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा चित्त नबुझी २३ वटा उजुरी अदालत गएका थिए ।
प्रहरी कार्यालयमा फाईल पठाइएपछि तोकिएको जिम्मेवारी अनुसार प्रहरीले काम गर्न खोज्दा एक महिना अपेक्षित प्रगति हुन सकेन । शुरुमा फोन गरेर सम्पर्कमा आउन भन्दा एकजना पनि पीडित सम्पर्कमा नआउँदा मुद्दा अगाडि बढ्न ढिलाई भएको प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा पनि मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरू नै सम्पर्कमा नआउँदा शुरुमा दुवै पक्षलाई राखेर छलफल गराउन प्रहरीलाई निकै सकस भएको थियो । दाङमा अनुचित लेनदेनसम्बन्धी परेका उजुरीमा ३६ हजार रुपैयाँदेखि एक करोड ४० लाख रुपैयाँसम्मको कारोबार गरेको उल्लेख छ । मिटर ब्याजसम्बन्धी परेका उजुरीमाथि छानबिन एवम् अनुसन्धान गर्दा ऋणीहरूलाई थोरै रकम दिएर त्यसवापत बढीको कपाली तमसुक गराएकोलगायत उजुरी छन् । यसैगरी, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक र जग्गा जमिन, घडेरी धितोवापत आफ्ना नाममा रजिस्ट्रेशन गराएको पाइएको निवेदनमा उल्लेख छ ।
सरकारले २०७९ साल चैत २० गते विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा पूर्वएआइजी उत्तमराज सुवेदी र पूर्वसहमहान्यायाधिवक्ता गणेशराज अर्याल सदस्य रहेको आयोग गठन गरेको थियो । सो आयोगले आठ महिनाको अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा गरिब किसानलाई ऋण प्रवाह हुनुपर्ने, बैंक, लुघवित्त तथा सहकारी गरिब किसानमैत्री हुनुपर्ने, स्थानीय तहले गरिब किसानको कम्तिमा तीन लाखको जीवन बिमा गरिदिनुपर्ने, वैदेशिक रोजगारमा जान चाहने किसानलाई बैंकले ऋण उपलब्ध गराउनुपर्ने, फ्रि भिसा फ्रि टिकट प्रावधान प्रभावकारी बनाइनुपर्नेलगायतका सुझाव समेटिएका थिए ।
यता, मटिर व्याज सम्बन्धी मुद्दालाई सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयमा एक जना फोकल पर्सन तोकिएको छ । प्रशासनमा डेस्क स्थापना गरी अनुचित लेनदेन अर्थात मिटरव्याज सम्बन्धी कुनै पनि गुनासो, उजुरी आएमा सहजीकरणका लागि फोकल पर्सन तोकिएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
गृह मन्त्रालयको चैत ५ गतेको पत्रानुसार मिटरब्याज सम्बन्धी उजुरी निवेदन र पीडितहरुका गुनासा तत्काल सुनुवाई गर्न फोकल अधिकृत अर्थात गुनासो सुनुवाई तथा सहजीकरण अधिकृत तोकी कार्यालयको मुद्दा शाखामा गुनासो सुनुवाई तथा सहजीकरण डेस्क संचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
दाङ, चैत । निरन्तरको लगाव र मिहिनेतबाट सफलता प्राप्त हुन्छ भन्ने उदाहरण सागर अधिकारी ‘शरद’ ले प्रस्तुत गर्नुभएको छ । साङ्गीतिक क्षेत्रमा दुई दशक विताउनुभएका अधिकारीले विश्व कृतिमानी गायकका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ । उहाँले प्राप्त गर्नुभएको सफलताले कुनै काममा सफलता पाउनका लागि धैर्यता, निरन्तरता र मिहिनेत आवश्यक पर्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
२०५७ सालमा पहिलोपल्ट गीतमा आवाज भर्नु भएका सागरको अहिले चौतर्फी चर्चा चुलिएको छ । काममा विश्वास गर्ने उहाँ चल्तीका गायक र सङ्गीतकारमा गनिनुहुन्छ । धैर्यता र निरन्तरलाई सफलताका सूत्र मान्ने सागर भन्नुहुन्छ, ‘निरन्तर मिहिनेत गर्ने हो भने एक दिन सफल भइदोरहेछ । निरन्तर २३ वर्ष मैले गरेको परिश्रमका कारण आज एउटा उपलब्धी हासिल गरेको छ’, सागरले भन्नुभयो । उहाँले थप्नुभयो, ‘धैर्यता नहुँदो हो त म उहिले नै यो क्षेत्रबाट हराइसकेको हुने थिएँ । त्यसैले सफलताका लागि आफ्नो कामलाई निरन्तरता दिन आग्रह गर्दछु ।’ सुगम संगीत, आधुनिक गायन र सेमी क्लासिकल शैलीका गजल गाउन र सङ्गीत गर्न रुचाउने सागरका दुई सय ५० बढी गीत गजल रेकर्ड भइसकेका छन् ।
सङ्गीतको औपचारिक ज्ञान बिना गायनमा प्रवेश गरेका सागर शाश्त्रिय संगीतमा गायनतर्फ स्नातकोत्तरसम्मको अध्ययन पुरा गरिसक्नुभएको छ । महेन्द्र बहुमुखी क्याम्पस दाङमा आयोजित कार्यक्रममा गीत गाएको सुनिसकेपछि डा. गोविन्द आचार्यले २०५७ सालमा गीत रेकर्ड गराइदिएको स्मरण गर्दै सागरले भन्नुभयो, ‘सङ्गीतको औपचारिक ज्ञान नहुँदा गोविन्द दाइले गीत गाउने अवसर दिनुभयो । त्यसपछि मैले व्यवसायिक रूपमै अघि बढाउँछु भन्ने धारणाका साथ गीत रेकर्डिङ भन्दा पनि संगीत अध्ययनलाई बढी प्राथमिकता दिन थाले । जो अहिले बाँच्ने आधार बनेको छ ।’ वर्तमान पुस्ता राम्रो सिर्जना गर्ने भन्दा पनि कसरी हिट बनाउने भन्नेतर्फ मात्रै लाग्ने गरेको बताउँदै सागरले आफूले सुन्दर सृजनाका लागि लागिपर्ने बताउनुभयो । ‘म तड्पिएको हेर्ने हौ भने मरुभूमि भई हेर’ बोलको गीतबाट साङ्गीतिक यात्रा प्रारम्भ गर्नुभएको सागरका ‘नजाऊ टाढा कतै यी नजरदेखि’ ‘मलाई लट्ठै लट्ठै लट्ठै बनायो’, मैले जति माया तिम्लाई कस्ले, मदिराले आज मलाई रमाउन सिकायो चर्चामा रहेका गीत हुन् ।
यसरी भएको थियो विश्व कृतिमानी काम
विश्वकै उच्च स्थानमा रहेको तिलिचो तालमा प्रत्यक्ष गीत रेकर्ड गरेर गीनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएर विश्व कृतिमानी कायम गर्नुभएका सागरले काम गर्दाका दुःखद् क्षण सफलताले भुलाएको बताउनुभयो । ‘आजको खुसीले हिजोको पीडा बिसाई दिएको छ । अग्लो स्थानमा रेकर्ड र छायांकन गर्न सहज थिएन । छायांकनको दौरानमा अनेकन घटनाहरु घटे त्यहाँबाट लडेको मात्र भए के के हुन्थ्यो कसैलाई थाहा थिएन’, सागरले भन्नुभयो, ‘खुट्टाको पाइला राख्नेबाहेक अरू ठाउँ थिएन । केही तलमाथि भयो भने ढ्ंगाले मान्छेसमेत लग्ने बाटो हुँदो रहेछ त्यहाँ ।
‘डिआर उपाध्यायलाई त अन्नपूर्ण बेस क्याममै गाह्रो भएर इमर्जेन्सी हेलिकप्टर बोलाएर पोखरा ल्याई काठमाडौँ ल्याउनुपरेको थियो । त्यस्तो गाह्रो हुँदा पनि हामीले रेकर्ड राख्नुपर्छ भनेर पीडालाई पनि उछिन्दै रमाउँदै काम ग¥यौं । आज मिहिनेतको फल पाएका छौँ ।’ सागरको भनाई छ । डा. डिआर उपाध्यायको शब्द, भेषप्रसाद श्रेष्ठको संगीत र सागर अधिकारी ‘शरद’ को स्वर रहेको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । पाँच हजार एक सय ५ मिटर उचाइमा छायांकन गरिएको थियो । तिलिचो ताल विश्वकै अग्लो स्थानमा रहेको ताल हो । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले गायक अधिकारीसहित सम्पूर्ण टीमलाई विश्वकीर्तिमानको सम्मान प्रदान गर्नभएको छ ।
सन्दर्भः ५९ औँ अन्तराष्र्टि«य जातिय रंगभेद तथा भेदभाव उन्मुलन दिवस
लक्ष्मण विश्वकर्मा
आज २१ मार्च अर्थात ५९ औँ अन्तराष्र्टि«य जातिय रंगभेद तथा भेदभाव उन्मुलन दिवस । हरेक वर्ष यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईन्छ । नेपालमा पनि अंग्रेजी क्यालेण्डरको हरेक बर्ष मार्च २१ गते मनाईने यो दिवसका अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले औपचारिक वा अनौपचारिक रुपमा विविध कार्यक्रम गरी मनाउँछन् । तर यसरी हाम्रो मुलुकमा यो दिवस मनाउन थालेको आज ५९ बर्ष पुगेको छ । दिवस एउटा पर्व जस्तै हो । दिवसलाई वर्षमा एक पटक सम्झनु र दिवसका रुपमा मनाउनु स्वभाविक पनि हो । दिवसका दिन खुशियाली र उत्सवका रुपमा समुदायमा कार्यक्रम गर्नु तथा स्मरण गर्नु राम्रो पक्ष हो । तर दिवस मनाउदैमा समाजमा जातिय छुवाछुत अन्त्य हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिदैन ।
सधै दिवसका अवसरमा औपचारिक वा अनौचारिक रुपमा बन्द कोठाको हल भित्र होस अथवा बाहिर खुल्ला ठाउँमा होस जातिय छुवाछुत तथा भेदभाव गर्न पाईदैन, छुवाछुत अन्त्य हुनुपर्छ भन्ने लगाएतका नारा कहिले सम्म लगाउने ? नारा जुलुस कहिले सम्म गर्नुपर्ने हो ? यसरी जातिय छुवाछुतका घटनाक्रम कहिले रोकिन्छ ? प्रत्येक वर्ष एउटै नारा लगाउने र दिवस मनाउनु मात्रै ठुलो कुरा होईन । के सधैभरी वर्षमा एक पटक मनाईने दिवसका बेला मात्रै यो नारा लगाएर समाजमा विद्यमान जातिय छुवाछुत अन्त्य हुन्छ त ? दलित समुदायले अब यस्ता यावत प्रश्नहरुको जवाफ खोज्न जरुरी छ ।
दिवसका सन्दर्भमा कार्यक्रम गर्नु, नाराजुलुस लगाउनु जस्ता गतिविधिहरु गर्नु नराम्रो पक्ष होईन । यसले चेतनामा अभिबृद्धि ल्याउन टेवा पु¥याउन सक्छ । यद्यपी एउटै नाराजुलुस कतिन्जेल गर्ने भन्ने प्रश्न दलित समुदाय भित्र उब्जिएको छ । दिवसमा मात्रै कार्यक्रम देखाउन गरे जस्तै भएको छ । यसले दिने सन्देशले समाजमा कस्तो खालको परिवर्तन आएको छ भन्ने सवालमा अब गम्भिर रुपमा छलफल गर्न आबश्यक छ ।
विभिन्न कालखण्डमा भएको राजनितिक आन्दोलन परिवर्तनले अहिले देशको व्यवस्था नै फेरिएको छ । संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि नेपाललाई पहिलो पटक २०६३ जेठ २१ गते जातिय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको छ । यस्तैगरी जातिय भेदभाव तथा छुवाछुत (सजाय र कसुर) ऐन २०६८ जारी भएको पनि १२ बर्ष वितेको छ ।
नेपालको सविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हक सम्बन्धी कुनै पनि व्यक्तिलाई निजको उत्पत्ती,जात,जाती,समुदाय,पेशा,व्यवसाय वा शारीरीक अवस्थाको आधारमा कुनै पनि निजि तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भन्ने व्यवस्था गरिएको छ । देशमा संविधान छ, कानुन छ, तिन तहका सरकार छन् । तर पनि जातिय छुवाछुत तथा विभेद अझै अन्त्य हुन सकेको छैन । दलित समुदायहरुको पिडा र अवस्था अझै उस्तै छ । महत्वपुर्ण प्रश्न यहाँ नेर हो । के दलित सम्बधी बनेका कानुन र व्यवस्था देखाउनलाई मात्र हो ? व्यवहारमा कानुन कार्यन्वयन कहिले हुन्छ ? माथि उल्लेखित यी प्रश्नहरुको जवाफ खोज्न जरुरी छ । यसका लागी आम दलित समुदायहरु एकठाउँमा उभिनु पर्छ र राज्य तथा प्रशासनलाई घचघच्याउन आबश्यक देखीन्छ ।
यति मात्रै होईन दलित समुदायका हरेक व्यक्तहरु कुनै न कुनै राजनितिक दलमा आबद्ध छन । उनीहरुले आस्थाको राजनिति पनि गर्दै आएका छन् । उनीहरुले आफु आबद्ध दलमा छुवाछुतका विषयलाई जोडबलका साथ उठाउने र समाजमा कोहि कसैले जातको आधारमा जातिय विभेद तथा छुवाछुत गर्छ भने आबश्क कारवाही गर्ने र कानुनलाई कडाईका साथ लागु गर्न सकेमा यो प्रथा अन्त्य गर्न लामो समय पखर्नु पर्दैन ।
यस्ता दिवसका सन्दर्भमा कार्यक्रममा मात्रै सिमित नभएर आम दलित समुदायहरु आफना हकअधिकारको मुद्धामा एक ठाउँमा उभिएर सत्ता सन्चालन गर्ने दल र कानुन कार्यन्वयन गर्ने निकायको समयमै खवरदारी गर्न जरुरी छ । अबका दिनहरुमा दिवस मनाउन मात्रै होईन दलित समुदायको अवस्था पनि बदल्न जरुरी छ । यसका लागी आम दलित समुदायका अगुवा नेताकार्यकर्ताहरु अब ढिला नगरी गम्भिर बन्न जरुरी छ । साथै जातिय छुवाछुत सामाजिक मुद्धा भएकाले आम गैरदलितका समुदायहरुले पनि दलित समुदायलाई साथ, सहयोग दिन जरुरी छ । र बनेका ऐन कानुन कार्यन्वयन गराउने राज्य संरचना पनि गम्भिर बन्नुपर्दछ । अनि मात्रै कथित दलित समुदायले न्याय पाउनेछन् भने अर्को तर्फ छुवाछुत तथा भेदभाव अन्त्य हुनेमा विश्वस्त बन्न सकिन्छ ।
(लेखक तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य हुनुहुन्छ ।)
काठमाडौं, ७ चैत । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई व्यथित काव्य सम्मान(२०८०ू प्रदान गर्ने भएको छ । सङ्घले बेलवासेलाई व्यथित काव्य सम्मान र दाहाललाई व्यथित काव्य डायस्पोरा सम्मान प्रदान गर्ने भएको हो ।
साहित्यकार प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र श्रीओम श्रेष्ठ ूरोदनू सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिसअनुसार संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले उक्त निर्णय गरेको हो । कवि बेलबासेका सागरको वरिपरि मनहरूको समारोह (२०५८), अचानक यो साँझ (२०६७ ), त्रासमा ईश्वर र अन्य कविताहरू (२०६९), यतैकतै (संयुक्त सात कविको समूह, २०७७)जस्ता कवितासङ्ग्रह प्रकाशित छन् ।
ढाकावाङ, अर्घाखाँचीका कवि ठाकुर बेलबासेले विनय रावल स्मृति प्रतिभा पुरस्कार, विराट नेपाल राष्ट्रिय कविता महोत्सव प्रथम पुरस्कार (२०५८) नेपाल राष्ट्रिय कविता महोत्सव ,नेप्रप्र (२०५८) तृतीय पुरस्कार, कविता महोत्सव -नेप्रप्र (२०६९) प्रथम पुरस्कार, लुनकरणदासगंगादेवी चौधरी नेपाल नवप्रतिभा पुरस्कार, युवा वर्ष मोती पुरस्कार, साझा पुरस्कार, भोग्यप्रसाद शाह पत्रकारिता पुरस्कार , राष्ट्रिय पत्रकारिता पुरस्कार , क्षत्रीय प्रतिभा पुरस्कार , ससिद्धि राष्ट्रिय कलाश्री पुरस्कार , त्रिचन्द्र देवकोटा सम्मान , जनमत पुरस्कार ,महाकवि देवकोटा शताब्दी महोत्सव काव्य पुरस्कार ,नै देरूनिख गौरव पुरस्कार , वनिता व्यथित काव्य पुरस्कार लगायतका पुरस्कार एवं सम्मान पाइसकेका छन् ।
यसैगरी लाब्री, तेह्रथुमका कवि खेमनाथ दाहालका श्वेतपत्र (महाकाव्य), रश्मि (खण्डकाव्य) तथा श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु जस्ता कवितासङ्ग्रह प्रकाशित छन् । कवि खेमनाथ दाहाल गेरु-अम्बिका वाणी पुरस्कार, छन्दोबद्ध कृति पुरस्कार (अनेसास), साहित्य सन्ध्या नियात्रा पुरस्कार, पुष्पपराग साहित्य परम माया र कृष्णप्रसाद थपलिया सम्मान, मिलाप राष्ट्रिय विशेष व्यक्तित्व सम्मान लगायतका पुरस्कार पाइसकेका छन् ।
वि स २०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार सङ्घबाट प्रदान गर्ने गरिन्छ । यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा। दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुङ्गेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी र गीता कार्की सम्मानित भइसकेका छन्। यसैगरी ‘व्यथित काव्य डायस्पोरा सम्मान’बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित भइसकेका छन् ।
घोराही, ६ चैत । घोराही उपमहानगरपालिका मुलुकका ११ उपमहानगरपालिकामध्य सवैभन्दा ठूलो छ । घोराहीको जनसंख्या दुई लाख नाघेको छ भने भुगोलका हिसावले अन्य उपमहानगरपालिका भन्दा ठूलो छ । २०३५ सालमा घोराही नगरपञ्चायत बन्दा घोराही, हरिद्वार, रावतगाउँ र सेवार बनगाउँलाई गाभिएको थियो । चुरे र महाभारात पर्वतले घेरेको एसिया कै दोस्रो ठूलो उपत्यका दाङ उपत्यकाको पूर्वि भाग र केही पहाडी इलाकामा फैलिएर कुल ५२२.२१ बर्ग किलोमिटर क्षेत्रफल रहेको छ । उपमहानगरपालिकाको पूर्वमा बंगलाचुली गाँउपालिका पर्दछ भने पश्चिममा तुलसीपुर उपमहानगरपालिका रहेको छ । यसैगरी उत्तरमा रोल्पा जिल्ला र दक्षिणमा लमही नगरपालिकाले घेरिएको छ ।
२०६८ सालको जनगणना अनुसार घोराही उपमहानगरपालिकामा ३५ हजार चार सय १९ घरधुरीमा गरी कूल जनसंख्या एक लाख ५६ हजार एक सय ६४ रहेको थियो भने २०७८ सालको जनगणना अनुसार घोराही उपमहानगरपालिकामा ४९ हजार सात सय ६१ घरधुरीमा गरी कूल जनसंख्या दुई लाख पाँच सय ३० रहेको छ जस्मा ४६.८ प्रतिशत पुरुष छन भने ५३.२ प्रतिशत महिला रहेका छन ।
घोराहीको पहिचान विविधतापूर्ण रहेको छ । जातीय रुपमा घोराही उपमहानगरपालिकामा खस आर्य, दलित, जनजाति, मधेसी, मुस्लिम आदिको बसोबास छ । २०३५ देखि २०७३ सालसम्म घोराही ११ वटा वडामा सिमित रहेको थियो । उपमहानगरपालिका घोषणा भएपश्चात घोराहीमा १९ वटा वडा रहेका छन् । नेपाल सरकारको २०७३ साल फागुन २२ गतेको निर्णयअनुसार साविक घोराही नगरपालिकामा त्रिपुर नगरपालिका लगायत सौडियार गाविस, सैघा गाविस, धर्ना गाविस, रामपुर गाविस र लक्ष्मीपुर गाविसलाई समायोजन गरिएको थियो । त्रिपुर नगरपालिकामा साविकका नारायणपुर, हापुर र ढिकपुर गाविसलाई गाभिएको थियो ।
ज्यामिरे दह, घोराही, १३
घोराहीमा ऐतिहासिक पर्यटकिय स्थलहरु रहेका छन् । धार्मिक स्थलहरु रहेका छन् । पहाडी भुगोल छ । सम्म मैदानी भाग छ । चुरेदेखि महाभारतसम्म फैलिएको छ । घोराहीको पहिचान अहिले नयाँ भएको छ । अर्थात घोराही अहिले तालै तालको शहर भएको छ । घोराही उपमहानगरपालिकामा २०७४ सालमा नयाँ जनप्रतिनिधि आएपछि भएका विभिन्न कामहरु मध्य ताल तलैया बनाउने कामले प्राथमिकता पाएको थियो । घोराहीका १९ वटा वडामध्य सवैजसो वडामा कुनै न कुनै जलासय रहेका छन् । जसले घोराहीको पहिचानलाई फरक बनाइदिएको छ ।
घोराही बजारमा व्यावसायिक तरकारी आपूर्ति गर्ने गाविस कुनै बेला रामपुर थियो । २०५४ सालमा हाल घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी साविक रामपुर गाविसको अध्यक्ष हुँदा तरकारी खेती गर्नुहुन्थ्यो । रामपुरमा पानीको स्रोतको व्यवस्थापन गर्नका लागि विभिन्न निकायले सहयोग गरेका थिए । त्यसको केही बर्षपछि घोराही नजिकका रहेका अन्य गाविसमा पनि खेतीपाती सुरु भयो । खेतीपाती त सुरु भयो तर समस्या पानीको थियो । अहिले घोराहीमा यति धेरै ताल तलैया बनेका छन् कि सिचाईका लागि निकै सजिलो भएको छ ।
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी घोराहीमा ठूला नदी र पानीको स्रोतको कमी भएका कारणले गर्दा तलाउ बनाएर पानी संकलन गर्ने योजना ल्याएको बताउनुहुन्छ । पानीको स्रोत कमी आउन नदिनका लागि घोराहीका विभिन्न वडामा गरेर ४३ वटा कृतिम जलासय बनिसकेका छन् । घोराहीमा सवैभन्दा पहिले वडा नं. १८ मा कृतिम जलायस बनाइएको थियो । जनप्रतिनिधि आएपछि कृतिम जलासय बनाउने क्रमले तिव्रता पाउँदा वडापिच्छे कृतिम जलासय बनेका छन् ।
घोराही उपमहानगरपालिकाले पानीको स्रोत बचाउन, सिँचाई सुविधामा बढवा दिन, पर्यटन प्रबद्र्धन गर्न र वाताबरणीय सन्तुलन कायम गर्न ४३ वटा कृत्रिम जलाशय बनाएको नगरप्रमुख चौधरीको भनाई छ । उपमहानगरले पानीको मुहान सुक्न थालेपछि पानी जोगाउन कृत्रिम जलाशय निर्माणमा जोड दिएको उहाँको भनाई छ । घोराहीमा सहरी क्षेत्र विस्तार हुँदै गएपछि पानीको अभाव पनि बढ्न थालेको हुँदा नगरपालिकाले घोराहीका अधिकांश स्थानमा कृत्रिम जलाशयको अवधारणा अगाडि सारेको हो । जसमा नयाँ कृत्रिम जलाशय निर्माणदेखि पहिलेदेखि रहेको पानी पोखरी, दहहरुलाई थप मर्मत गरी उपयोगी जलाशय बनाइएका छन् ।
यसरी बनाइएका जलासयहरु मध्य कतिपय वर्षाको समयमा आकाशबाट आउने पानीलाई संकलन गर्ने तलाउका रुपमा रहेका छन् भने कतिपय स्थानमा मुल संरक्षण गरेर पानी जम्मा पारिएको छ । पानीका पोखरी बनाउन थालेसंगै घोराहीको परिचय फेरिएको छ । घोराहीमा विभिन्न स्थानमा निर्माण गरिएका कृतिम तालबाट खेती गर्ने काममा ठूलो सघाउ पुगेको छ भने कतिपय तालहरु पर्यटकिय स्थलका रुपमा विकास भएका छन् ।
पानी संकलन गर्ने साथै स्थानीय जनताहरुको जीविकोपार्जन र आयआर्जनमा जोड दिने उद्देश्यले जलाशयको निर्माणलाई प्राथमिता दिएको नगर प्रमुख चौधरीको भनाई छ । उहाँका अनुसार ‘पानी संरक्षणलाई पहिलो प्राथमिकता दिएर बनाइएका कृत्रिम जलाशयहरु अहिले बहुउपयोगी भएका छन् । जलाशयको नगरका रुपमा परिचित यस उपमहानगरपालिका भित्र ४३ वटा कृत्रिम जलाशयहरु रहेका छन् । सुख्खापनलाई हटाउँदै पानीको स्रोत संरक्षण गर्नका लागि बनाइएका ती कृत्रिम जलाशयहरु अहिले आम्दानीको गतिलै स्रोत बनेका छन् ।’
घोराही उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी घोराही उपमहानगरपालिकाले निर्माण गरेका जलाशयहरुबाट पाँच सय बिघा भन्दा बढी क्षेत्रफलमा बाह्रै महिना सिँचाई सुबिधा पुगेको बताउनुहुुन्छ । घोराहीमा रहेका केही खोलाहरु बर्षातको समयमा पानी आउने तर हिंउद लाग्दा नलाग्दै सुक्ने गरेका थिए । डिप बोरिङमा पनि पानी गहिरिदै जाने समस्या रहेका कारणले गर्दा पानी जम्मा गर्नका लागि कृतिम जलायसको योजना अघि सारिएको केसीको भनाई छ ।
दाङ–हिँउदमा सिंचाई गर्ने पानी थिएन । खेतबारी बाँझो थिए । खेतीपाती गर्नेहरुले पनि हरेस खाँदै थिए । पानी भएन त केही भएन । यस्तै स्थितिमा थिए घोराहीका धेरै बस्ती । तर, सिंचाईका लागि मानव निर्मित जलासय निर्माण गर्ने योजना बन्यो । त्यो योजना अहिले वरदान सावित बन्न पुगेको छ । घोराही उमपहानगरपालिका वडा नं. १७ का सुभम चौधरीले आकाशे पानीको भरमा खेती गर्दै आउनुभएको थियो । पिउने पानीकोसमेत समस्या थियो । केही बर्ष यता खेतबारीमा अहिले कृत्रिम तालमा जम्मा भएको पानी सिँचाइ गर्न थालेपछि खेती गर्न सजिलो भएको छ । ‘पानीको सुविधा नहुँदा तरकारी बजारबाट किनेर खाने गरेका थियौँ अहिले बाह्रै महिना तरकारी खेती गरेर आम्दानी गर्ने भएका छौँ,’ उहँँले भन्नुभयो । चौधरी लगायतले नजिकै रहेको जलासयको पानी मोटरले तानेर खेतबारीमा पु¥याउने गर्नुभएको छ । जलासयको पानीले ८० देखि ९० बिघा जमिनमा सिँचाई भइरहेको चौधरीले बताउनुभयो ।
पहिले गर्मी लाग्दा नलाग्दै इनारमा पानी सुक्ने समस्या हुने गर्दथ्यो । खेतीपाती त निकै टाढाको कुरा थियो । जलायसका कारणले गर्दा वडा नं. १ देखि वडा नं. १९ का विभिन्न स्थानमा निर्माण गरिएका जलासयका कारण जमिन मुनीको पानी समेत बढ्न थालेको छ । इनारहरु सुक्ने समस्या कम हुँदै गएको छ । घोराही उपमहानगरपालिकाले केही जलाशयमा माछापालनका लागि सहयोग गरेके छ भने पर्यटन प्रवद्र्धनका लागि केही जलासयमा डुंगाको व्यवस्था गरिदिएको छ । खुला भाग र चिरा, सोता र खोलाहरुलाई थुनेर जलासय बनाइएको छ । जलाशयबाट ओसीलोपना बढेको छ । पानीको स्रोत बढेको छ । विभिन्न नयाँ र लोपोन्मुख चराचुरुङगीहरुको आगमन भएको छ भने वातावरण हरियाली भएको छ । केही समय यता घुमफिर गर्नेहरुलाई रमाईलो गर्नेहरुको संख्या बढ्दै गएको छ । मानिसहरु बनभोज खान, फोटो खिच्न र घुमघामका लागि जलासयलाई रोज्ने गरेका छन् । घोराही उपमहानगरपालिकाले ‘एक वडा एक जलाशय’ अभियान सञ्चालन गरेको भएपनि कतिपय वडामा तीन चारवटा सम्म जलासय निर्माण गरिएको छ । घोराहीको बजार क्षेत्र वडा नं. १५ बाहेक सवै वडामा साना ठूला गरेर जलासय निर्माण गरिएको छ ।
जलासय निर्माणका लागि २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको टिमले महत्वपूर्ण योगदान गरेको थियो । जलासय निर्माणका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पु¥याउने काम भएको उपमहानगरका उप प्रमुख हुमा डिसीको भनाई छ । जलाशय निर्माणसँगै स्थानीयले सिँचाइ सुविधा लिएर कृषि पेसाबाट पर्याप्त आम्दानी लिन थालेपछि उत्साहित भएको उहाँको भनाई छ । कृषि र पानीको स्रोत बढाउन अभियान सुरु गरिएको बताउँदै उपप्रमुख डिसीले सुख्खा हुँदै गएको जमिनमा सिँचाइ सुविधा पुगेको छ । उहाँले कृतिम जलायसयले घोराहीको परिचय नै बदलेको दावी गर्नुभयो । सबैभन्दा धेरै वडा नं. १७ मा आठवटा जलाशय निर्माण भएको उपप्रमुख हुमा डिसीले जानकारी दिनुभयो ।
उपमहानगरभित्र पालिका र वडाले स्रोत व्यवस्थापन गर्नुका साथै केही प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी जलाशय निर्माण गरिएको उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इञ्जिनियर युवराज पौडेलले बताउनुभयो । कुनै ठाउँमा साना पोखरीका रुपमा रहेका जलाशयलाई विस्तार गरिएको छ भने कतै ठूला जलासय बनाईको छ । घोराहीको वडा नं. १ र २ मा पर्ने चेपे ड्याम, वडा नं. ४ लक्ष्मीपुरमा निर्माण गरिएको ड्याम, वडा नं. १३ मा निर्माण गरिएको ज्यामिरे दह, वडा नं. १७ कर्जाहीमा निर्माण गरिएको जलासयहरु मुख्यगरी रहेका छन् ।
घोराही उपमहानगरपालिकाका प्रमुख चौधरी सम्भाव्य स्थानको खोजी गरेर जलायसको संख्या बढाउने योजना कायमै रहेको बताउनुहुन्छ । आर्थिक बर्ष २०८०÷२०८१ नीति तथा कार्यक्रममा नगर क्षेत्रभित्र रहेका सम्भावित खोला, खोल्सी, सिमसार लगायत सम्भावित क्षेत्रहरुको सम्भाव्यता अध्ययन गरी पानीको मुहान संरक्षण गर्ने कुरा प्राथमिकता साथ राखिएको छ । यस्तै भूमिगत जलभण्डार पुनर्भरण तथा सिंचाईको लागि रज्जे मन्नामे तथा अन्य स्थानहरुको पहिचान गरी कृतिम जलासयलाई प्राथमिकता दिइने पनि नगरप्रमुख चौधरीले बताउनुभयो । घोराहीको पहिचान बदल्ने योजनाका रुपमा रहेकाले आगामी दिनमा पनि कृतिम जलासय निर्माणको कामलाई निरन्रता दिने सोचमा आफूहरु रहेको चौधरीको भनाई छ ।
दाङ, चैत । घोराही उपमहानगरपालिका वडा नं. ५ धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरले महाशिबरात्रीको अबसरमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा शनिबार आर्थिक विवरण सार्वजनिक गरिएको थियो ।
आर्थिक समितिका संयोजक बिमल अधिकारीले शिवरात्रीको अवसरमा भएको आय÷ब्यय विवरण पेस गर्नु भएको थियो । उहाँका अनुसार मेलामा लगाइएको ठूलो पिङको ठेक्काबाट एक लाख ८१ हजार पाँच रुपैयाँ, सानो पिङबाट ११ हजार, मेला बजार एक लाख ७१ हजार नौ सय ५०, रसीदबाट सहयोग ५४ हजार एक सय ७० रुपैया आम्दानी भएको थियो । यस्तै पुजा भेटी तथा दान पेटिबाट दुई लाख ८० हजार एक सय रुपैया र गाडी पार्किङबाट ७९ हजार आठ सय ५३ गरि जम्मा सात लाख ७९ हजार ७८ रुपैयाँ आम्दानी भएको छ ।
त्यसैगरी खर्च तर्फ त्रिशूल सलामी सेना यातायात खर्च ११ हजार, साउन्ड सिस्टम र टेन्ट ४२ हजार, मन्दिर परिषर सरसफाइ तीन हजार पाँच सय, खाजा नास्ता ३५ हजार पाँच सय १०, भजन मन्ड्ली १५ हजार पाँच, साधु सन्त दक्षिणा ३१ हजार दुई सय ८५, कर्मचारी, पुजारी र भक्तीनी दक्षिणा नौ हजार छ सय ५०, भोजनालय खर्च ४२ हजार पाँच सय ५५ रुपैया भएको थियो ।
यस्तै कार्ड फोटोकपी, ठेली स्टेसनरी २४ हजार एक सय ८०, पुजा सामग्री छ हजार सात सय १०, प्रचारप्रसारका लागि मिडिया खर्च ३० हजार पाँच सय, सामान ढुवानी तथा मेला ब्यबस्थापन १४ हजार सात सय ५०, फिल्ड मर्मत डोजर र ट्याक्टर खर्च एक लाख दुई हजार सात सय ८७ रुपैयाँ, भान्से र सहयोगहरुको ज्याला १७ हजार रुपैयाँ गरि तीन लाख ८८ हजार चार सय ३२ रुपैयाँ खर्च भएको थियो । शिवरात्रीको समयमा तीन लाख ९० हजार छ सय ४६ रुपैयाँ बचत भएको आर्थिक समिति संयोजन अधिकारीले बताउनुभयो ।
शिबरात्रीको अबसरमा सहयोग गर्ने सम्पूर्ण भक्तजन, दाता, शुभचिन्तक, संघ सस्था, समिति, उपसमिति, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद दियको छ । कार्यक्रमको सञ्चालन मन्दिर ब्यबस्थापन समितिका सचिव बिस्णुराम आचार्यले गर्नुभएको थियो । गएको फागुन २३, २४ र २५ गते तीन दिन मेला लागेको थियो ।
घोराही, चैत । यो वर्ष मौसमले निकै साथ दिएपछि मालागेडी अर्थात सुगन्धकोकिला बिक्रिबाट राम्रो आम्दानी गर्न पाउँदा छिल्लीकोटबासी निकै खुशी छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटबसीले मालागेडी अर्थात सुगन्धकोकिला बिक्रि गरेरै यो वर्ष करीव दुई करोड रुपैयाँ गाउँमा भित्र्याउन पाउँदा उत्साहित बनेका हुन् ।
माडागेडीबाट निस्कने सुगन्धले छिल्लीकोट बाह्रै महिना बासनादार बनेको हुन्छ । चैत लागेसँगै फूल फुल्न थालेपछि अचेल सो ठाउँको वातावरण मगमग बासना आउने गरेको छ । बासनादार छिल्लीकोट मालागेडीबाट सुगन्धित बनेको छ भने गाउँलेले आम्दानी पनि गरिरहेका छन् ।
विश्वमै लोपोन्मुख प्रजाति मालागेडी अर्थात सुगन्ध कोकिला छिल्लीकोट क्षेत्रमा प्रसस्त मात्रामा पाईने गरेको छ । हिमाली हावापानीको प्रभावमा हुर्केको मालागेडीको बोटबाट उत्पादन भएको फल उच्च गुणस्तरको रहेको बताईएको छ । त्यसैले पनि अरु ठाउँमा फलेको माला गेडी भन्दा छिल्लीकोटमा फलेको मालागेडीले मुल्य राम्रो पाउने गरेको स्थानीय परबीर पुन बताउनुहुन्छ ।
यो वर्ष हावापानीले राम्रै साथ दिएपछि गाउँभरबाट करीव एक सय ५० क्वीन्टल मालागेडी निकासी भएको उहाँ बताउनुहुन्छ । एक घरबाट दुई क्वीन्टलदेखि १२ क्वीन्टलसम्म मालागेडी बिक्री भएको छ । मालागेडी किन्न व्यापारी घरमै आउने हुँदा बजारका लागि पनि कुनै समस्या नरहेको उहाँको भनाई छ । यो पटक ५७ हजार रुपैयाँ क्वीन्टलमा मालागेडी बिक्रि भएको अर्को स्थानीय कौशिला वलीले बताउनुभयो । उहाँले यो पटक तीन क्वीन्टल मालागेडी बिक्री गर्नुभयो ।
बाउ÷बाजेको पालामा रोपेको मालागेडीका रुख निकै ठूलाठूला छन् । पछिल्लो समय व्यावसायिक रुपमा यसको खेती गर्न थालेपछि रोपिएका रुपले पनि प्रसस्त मात्रामा फल दिन थालेको छ । जसले गर्दा दाङको यार्सा गुम्बाका रुपमा लिईएको मालागेडी बिक्रि गरेर स्थानीयले मनग्य आम्दानी गर्ने गरेका छन् । यो वर्ष १२ क्वीन्टल मालागेडी बिक्रि गर्नुभएका पलबहादुर बुढाले छ लाख ८४ हजार रुपैयाँ आम्दानी गर्नुभयो ।
विरुवा रोपेको छ वर्षपछि फल दिने गरेको छ । अहिले हरेक घरमा ५० बोटसम्म पुराना रुखहरु छन् । अरु नयाँ बोट पनि हुर्किइरहेका छन् । यो वर्षौसम्म फलिरहन्छ । फागुन अन्तिमतिरबाट फूल फुल्न शुरु गर्ने मालागेडीको फल भदौ अन्तिमतिरबाट टिप्न थालिन्छ । पाकेपछि रुखबाट खस्ने जामुन आकारका फललाई संकलन गरेर बिक्रि गर्ने गरेको अर्का स्थानीय थानीय किसान पवित्रा रेउलेले बताउनुभयो । हरेक घरमा मालागेडीका रुख छन् । पहाडी भूगोल रहेको छिल्लीकोटमा मालागेडीका रुखले ढाकेको छ ।
तुलसीपुर १८ को दुधरासबाट उत्तर पहाडमा करीव १२ किलोमिटरको दुरीमा रहेको छिल्लीकोटमा मालागेडी जस्तै अरु थुप्रै आयुर्वेदिक वनस्पति पाईन्छन् । सो क्षेत्रमा स्थानीयले व्यक्तिगत जमीन र सामुदायिक वन क्षेत्रमा पनि मालागेडी रोपेका छन् । ‘यो हामीहरुको लागि यार्सा जस्तै हो, यहीबाट अक्सर हामीहरुको घर व्यवहार चल्छ, बहुमुल्य बस्तु भएकाले पनि धेरै फलोस् भन्ने अपेक्षा लिएका हुन्छौँ, यो पटक विगत वर्षभन्दा राम्रो फल्यो’, स्थानीय परबीर पुनले भन्नुभयो ‘मालागेडी नै हामीहरुको प्रमुख आम्दानीको श्रोत हो । यो नेपालमा यही मात्रै पाईने विशेष खालको वनस्पति हो । यहाँको मालागेडीको विशेषता नै विशेष खालको छ । व्यापारीले यहाँको मालागेडीलाई नै रुचाउँछन् ।’
सोही ठाउँकी स्थानीयवासी पुष्पा पुनका अनुसार छिल्लीकोटका सबै घरपरिवारले व्यवसायिक रुपमा मालागेडीको खेती गर्दै आएका छन । स्थानीयको आम्दानीको मुख्य स्रोत यही मालागेडी हो । असोज लागेपछि जामुन पाके जस्तै कालो भएर आफै खस्ने मालागेडी संकलन गर्न सजिलो होस् भन्दै रुखको वरपरका सबै झाडी सफा गरेर मैदान बनाउने गरिन्छ । यसरी संकलन गर्दा छिटो छरितो हुने गरेको अर्का स्थानीय किसान पवित्रा रेउलेले बताउनुहुन्छ । यो ठाउँमा फलेका हरेक दाना मालागेडी निकै मुल्यवान भएको भन्दै उहाँले छिल्लीकोटका लागि यो सबै थोक रहेको बताउनुभयो । मालागेडी बेच्न बजार खोज्नु पर्दैन, मानिस घरमै आउँछन् ।
वर्षेनी यसको माग र मुल्य दुवै बढ्दै गएको छ । नुहाउने साबुन, स्याम्पु, अत्तर, अगरबत्तीलगायतको कच्चा पदार्थका रुपमा लिईने सुगन्धकोकिला नै छिल्लीकोटको पहिचान रहेको छ । छिल्लीकोट क्षेत्रमा पर्ने खानी गाउँ, चुचुर्के, तिनुखोला, डोटेल डाँडा, पिपलडाँडा, पैयाँ टाकुरालगायत आसपासमा मालागेडीका रुखैरुख छन् । हाल यो वनस्पतीको खेती अन्य पालिकामा पनि विस्तार हुने क्रममा छ भने २६ जिल्लामा छिल्लीकोटबाट मालागेडीको बिरुवा पठाइएको स्थानीय कृषक परबीर पुनले बताउनुभयो । अरु ठाउँमा मालागेडी फलेपनि यहाँको जस्तो गुणस्तरको नरहेको उहाँ बताउनुहुन्छ ।
घोराही, फागुन । घोराहीस्थित बुद्ध ईन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा एक बालकको मृत्युु भएको घटनालाई लिएर मृतकका आफन्तले आन्दोलनमा उत्रिएका छन् । गाला सुन्निएर बुधबबार बिहान ९ बजे उपचारका लागि अस्पतालमा भर्ना भएकोमा उपचारका क्रममा १ घण्टापछि बालकको मृत्यु भएपछि चिकित्सकको लापरवाहीले घटना भएको भन्दै मृतक आफन्त आक्रोशित हुँदै दिनभर नाराबाजीगर्दै अस्पताल तोडफोडसमेत गरेका थिए । मृतकका आफन्तको ढुंगा प्रहारबाट अस्पतालको झ्यालका सीसा फुटेका छन् ।
‘घाँटीमा सुन्निएको थियो । त्यही उपचारका लागि घोराही आएका थियौ’ मृतकका आफन्त सपना बुढाले भन्नुभयो, ‘अस्पतालमा भर्ना भएको बच्चाको केही समयमै मृत्यु भयो । त्यसैले हामीलाई शङ्का लागेको छ ।’ अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले विवाद गर्दा केही समय अस्पतालमा समस्या भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । घटनाबारे विस्तृत विवरण अस्पताल प्रशासनले ल्याएको छैन ।
प्रहरी नायव उपरीक्षक मल्लले भन्नुभयो, ‘बिरामीको मृत्यु भएपछि अस्पतालमा बिरामीका आफन्तले विरोध गर्दा सेवा प्रवाहमा समस्या भएको छ, घट्ना के कसरी भयो, त्यो बुझ्ने क्रममा छौँ ।’ मृतकका आफन्तका अनुसार एक साताअघि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालकको उपचार गराएर घर लगिए पनि ठिक नभएपछि बुधवार बुद्ध अस्पतालमा उपचारका लागि लगिएको थियो ।
मृतकका आफन्त सपना बुढाका अनुसार, राजपुर गाउँपालिका वडा नम्बर १ का ९ वर्षका सुरेश कुँवरको उपचार क्रममा मृत्यु भएको हो । कुँवरको उपचारका क्रममा चिकित्सकीय लापरवाहीले मृत्यु भएको भन्दै कडा कारवाहीको माग गर्दै अस्पतालको सेवामा रोक लगाएर आन्दोलन गरेका हुन् । यो समाचार तयार पार्दासम्म अस्पताल अशान्त थियो । दिनभर पटक पटक सहमतिको प्रयास गर्दा पनि जुट्न सकेन ।
यता अस्पताल पक्षले भने बालकको ओपिडी जाँच गर्ने क्रममै मृत्यु भएको बताएको छ । जाँचका लागि सुई लगाएर नमुना संकलन गर्नेक्रममा रगत बग्न सुरु गरेपछि बालकको मृत्यु भएको अस्पतालको भनाई छ । स्थिति नियन्त्रणमा लिन दिनभर उल्लेख्य रुपमा प्रहरी परिचालन गरिएको छ ।
सो अस्पतालमा यसअघि पनि यस प्रकारका घटना बारम्बार हुने गरेको नागरिकको भनाई छ । केही समय अघि पनि एक महिलाको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर आफन्तले दुई दिन अस्पताल सेवा ठप्प पारेका थिए भने गत माघमा घोराही १७ चौघेराकी एक महिलाको उपचारका क्रममा असावधानी अपनाउँदा बिरामीको स्थिती अत्यन्तै नाजुक बनेपछि आफन्तले काठमाडौ लगेर उपचार गरेका थिए ।
घोराही, फागुन । दाङमा निकै तामझामका साथ फागुन १३ गतेबाट शुरु भएको दादुरा रुबेला विरुद्धको पहिलो चरणको खोप अभियान सकिएको साता दिन बितेको छ । छुटफुटलाई खोप लगाउन सकिने समय भएपनि मिति तोकेरै खोप अभियान चलाईएको समय सकिएको एक साता बित्दा पनि दाङमा अहिलेसम्म कति जना बालबालिकाले खोप लगाए भन्ने कुनै आधिकारिक तथ्याङ्क सार्वजनिक हुन सकेको छैन ।
जिल्लाभरको स्वास्थ्य क्षेत्रका एकीकृत तथ्याङ्क संकलन गर्ने स्वास्थ्य कार्यालयले पहिलो चरणमा तोकिएको खोप अभियान सकिएको एक साता बित्दा पनि तथ्याङ्क नै निकाल्न सकेको छैन । खोप अभियान चलेका जिल्लाहरुमा दैनिक रुपमा खोप लगाउनेको विवरण अध्यावधिक भईरहँदा दाङमा अहिलेसम्म कति जनाले खोप लगाए भन्ने कुनै आधिकारिक विवरण स्वास्थ्य कार्यालयले दिन सकेको छैन ।
हरेक खोप केन्द्रमा कति बालबालिकाले खोप लगाउने, उनीहरुको अवस्थाका बारेमा जानकारी लिने, अभियानका क्रममा स्थलगत अनुगमन गर्ने, खोप सर्वेक्षण गर्ने लगायत कामलाई प्रभावकारी बनाउने योजना बनाएको भएपनि फागुन १३ गतेयता कति जनाले खोप लगाई सके वा कति छुटेका छन् भन्ने बारे यकिन तथ्याङ्क नै निस्कन सकेको छैन ।
पहिलो चरण भन्दै फागुन १३ देखि २१ गतेसम्म घोराही, बंगलाचुली, लमही, राप्ती, गढवा र राजपुरमा खोप अभियान चलाईएको हो भने दोश्रो चरणमा फागुन २३ गतेदेखि तुलसीपुर, दंगीशरण, शान्तिनगर र बबईमा खोप अभियान जारी छ । अहिले पनि जिल्लामा खोप अभियान चलिरहेकाले सबै ठाउँमा खोप लगाउने काम भईरहेको छ । पहिलो चरण भनेर थालनी गरिएका पालिकामा पनि छुटेका बालबालिकालाई खोप लगाउने काम भने भईरहेको छ ।
उता, स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन तथा सूचना अधिकारी किशोर आचार्यले दारुरा रुबेला विरुद्धको खोप अभियानका क्रममा खोप लगाई सकेका बालबालिकाहरुको तथ्याङ्क अझै तयार भई नसकेको जानकारी दिनुभयो ।
यद्दपि, पालिकाहरुबाट हरेक दिन खोप लगाईएको विवरण अध्यावधिक गरी लक्ष्य अनुसार खोप लगाईयो, लगाईएन, खोप पुग्यो पुगेन भन्ने बारे जानकारी लिनुपर्ने दायित्व स्वास्थ्य कार्यालयको हो । तर, यो काममा भएको ढिलासुस्तीले स्वास्थ्य कार्यालयले गरिरहेको काम, प्रदान गरिरहेको सेवा कति प्रभावकारी भईरहेको होला भन्ने प्रश्न उब्ज्याएको छ । खोप अभियान प्रभावकारी भएको दावी गरिए पनि हालसम्मको खोप अभियानको मापन गर्ने ठोस आधार देखिएको छैन ।
जिल्लामा एक लाख ७१ हजार छ सय ३४ बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । जसमा ९ महिनादेखि पाँच वर्ष मुनिका ४९ हजार तीन सय आठ जना र ५ वर्षदेखि १५ वर्ष मुनिका एक लाख २२ हजार तीन सय २६ जना बालबालिका लक्षित छन् । यी मध्ये कति बालबालिकाले खोप लगाए भन्ने कुराको तथ्याङ्क समयमै अध्यावधिक गर्ने तर्फ स्वास्थ्य कार्यालयले ध्यान दिएको छैन । खोप फोकल पर्सन आचार्यले काम व्यस्तताले खोप अभियानका क्रममा कति बालबालिकाले खोप लगाए भन्ने बारे अध्यावधिक गर्न ढिलाई भएको बताउनुभयो ।
स्वास्थ्य जस्तो संवेदनशील विषय र अभियानका रुपमा अघि बढाइएको कार्यक्रमलाई कार्यालयले प्राथमिकता दिनुपर्नेमा यसो हुन सकेको छैन । स्वास्थ्य कार्यालय दाङका निमित्ति कार्यालय प्रमुख डम्मरबहादुर कुँवरले पालिकाहरुमा खोप अभियान चलिरहेको बताउनुभयो । पहिलो चरण भनेर तोकिएका पालिकामा खोप अभियान सकिए पनि लगाउन छुटेकाहरुलाई पहिचान गरेर खोप लगाउने काम भईरहेको निमित्त प्रमुख कुँवरले बताउनुभयो ।
‘देउखुरी क्षेत्रका पालिकाहरुमा खोप लगाउने काम करिव सकिएको छ भन्ने जानकारी आएको छ, कतिले खोप लगाए भन्ने बारे यकिन जानकारी भने छैन, यसको अध्यावधिक गर्ने काम सायद भने छैन, त्यसैले यकिन जानकारी नहुँदै यति जनाले खोप लगाए भन्नुको अर्थ हुँदैन’, उहाँले भन्नुभयो ‘अब चाँडै नै खोप अभियानको अध्यावधिक गरेर जानकारी गराउँछौँ ।’
अघिल्लो वर्ष दादुरा रुबेला विरुद्धको खोप अभियान चलाउँदा लक्ष्य अनुसार बालबालिकाले खोप लगाएका थिएनन् । खोप कभरेज कमजोर रहेकाले यो पटक कभरेज बढाउने गरी काम गर्ने यसअघि योजना बनाईएको थियो । तर, खोप अभियानको समग्र समयावधि अधिकांश सकिएको अवस्थामा पनि जिल्लामा खोप लगाएका र अब लगाउन बाँकी रहेकाहरुको अवस्था स्वास्थ्य कार्यालयले यकिन गर्न सकेको छैन ।
विगतमा गाउँमा भन्दा बजार क्षेत्रमा खोप कभरेज कमजोर देखिएको थियो । जसका कारण यो पटक खोज र खोप अभियानपनि चलाइने बताईएको थियो ।
घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख नारायणप्रसाद घर्तीले खोप अभियानको समय सकिएको भएपनि खोप लगाउने बालबालिकाहरु अझै भेटिने गरेको बताउनुभयो । पालिकाको १९ वटै वटाबाट लक्षित बालबालिकाहरुले खोप लगाएको अवस्थाका बारेमा जानकारी लिने र छुटेको भए खोजेर भएपनि खोप लगाउने काम अघि बढाएको बताउनुभयो ।
घरधुरी सर्वेक्षण गरी तोकिएको खोप केन्द्रबाट खोप लगाए नलगाएको अवस्थालाई पनि नियाल्ने काम भईरहेको उहाँको भनाई छ । उहाँका अनुसार, यो पटक घोराहीमा १०५ प्रतिशत बालबालिकाले खोप लगाई सकेका छन् । तर, यो संख्या कति हो भन्ने बारे यकिन छैन । जिल्लाभर सात सय पाँच वटा खोप केन्द्र संख्या तोकेर विद्यालय केन्द्रित खोप अभियान चलाईएको हो । जसमा स्वास्थ्यकर्मी संख्या एक हजार चार सय १० जना र स्वयंसेवक संख्या दुई हजार एक सय १५ तय गरिएको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप लगाएका बालबालिकाहरुलाई पनि यो पटक अनिवार्य खोप लगाउन लागिएको हो । लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषणा भएपनि २०७९ मंसिर ३ देखि २०८० पुस १५ गते सम्म दादुरा रुबेलाको समस्या देखा परेको थियो । दाङमा पनि ३९ जना बिरामी फेला परेका थिए ।
घोराही, २८ फागुन । मानवजीवनका लागि पानी अत्यन्त आवश्यक हुन्छ । तर, बर्सेनि घटिरहेको पानीको श्रोतलाई कसरी जोगाउने भन्नेमा समयमै सबैको ध्यान नपुग्ने हो भने भोलिका दिनमा पानीको संकट सबैतिर हुन सक्ने देखिन्छ । घोराही बजारको काखैमा रहेको घोरदौरा गाउँले वर्षौदेखि पानीको संकट सामना गरिरहेको छ ।
जसोतसो पानीको जोहो गरिरहेको भएपनि पछिल्लो समय मुहान सुक्न थालेपछि घोरदौराबासी चिन्तामा छन् । अचेल हप्तामा धेरै जसो बार पानी नआउने अवस्था भएपछि प्रदेश सरकारले नयाँ खानेपानी आयोजना संचालन चाँडै गरिदिए हुन्थ्यो भन्ने उनीहरुलाई लागेको छ । हुन पनि घोराहीको बजारबाट करिव आठ किलोमिटरमा उत्तर पूर्वमा छ, घोरदौरा गाउँ । पुख्र्यौली बस्ती रहेको यो गाउँ बाहिरबाट हेर्दा जति शान्त छ । खानेपानीको पिरलोले सँधै बेचैन छ । निकै प्रयासपछि केही वर्ष पहिले बंगलाचुलीको मर्पेस क्षेत्रबाट खानेपानीको जोहो गर्दै पाईप बिस्तार गरेर जेनतेन खाईरहेका घोरदौराबासीले पानीको प्यास भने मेट्न पाएका छैनन् ।
स्थानीय गीता नगरकोटीले हरेक दिन खानेपानीकै लागि संघर्ष गर्नुपर्ने बाध्यता रहेको दुखेसो सुनाउनुहुन्छ । ‘बिहान ढिला उठ्यो भने खानेपानी पाउनै कठिन हुन्छ, दैनिक धारामा पानी आए पनि हुन्थ्यो त्यो पनि हुदैन, हप्तामा ४ दिनजसो पानी आउँछ’, गीताले भन्नुभयो ‘बाउबाजेको पुस्तादेखि पानीको लागि यो ठाउँ संघर्षरत छ ।’
सोही ठाउँमा १२ वर्षीय जीवन पुनले पानीको निकै दुख रहेको बताउनुभयो । बर्खायाममा पानीको मुल राम्रो हुने हुँदा केही सहज हुने भएपनि हिउँद लागेसँगै सुख्खायाममा पानीको संकट वर्षेनी भोग्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
हप्तामा धेरै जसो दिन पानी नआउने समस्या भोग्दै आएका घोरदौराबासीलाई धारामा पानी आईहाले गाग्री कति बेला भरिएला भन्नेमा ध्यान केन्द्रित हुन्छ । तीन दिनपछि पानी भर्न पाएपछि दुई चारदिनलाई ढुक्क हुनुभएकी सीता पुनलाई कपडा धुन, नुहाउन अनि घरमा पालिएका गाईबस्तुलाई पानी खुवाउन भने टाढै जानुपर्ने बाध्यता छ । ‘हामीलाई रासनपानी त किनेर खानुपर्छ नै, त्यो भन्दा दुख पानीको छ, धित मारेर पानी प्रयोग गर्ने दिन कहिले आउला र खै र’ उहाँले भन्नुभयो ‘यो ठाउँको विकासको प्राथमिकता के हो भन्ने बुझेर काम गरेको भए अहिले हामीलाई पानीको दुख सहनुपर्ने थिएन, सायद ।’
सोही ठाउँकी मिरा बुढाका अनुसार, बिहान ६ बजे धारामा पानी आउँछ, तर पानी भर्नकै लागि बिहान २–३ बजे नै गाग्री लाईनमा लगाउनुपर्छ । एक घरका मानिसले दुई गाग्री मात्रै पानी पाउँछन् । वर्षौदेखि पानीकै लागि गरिरहेको संघर्ष अब गर्न नपरे हुन्थ्यो भन्ने स्थानीयलाई लागेको छ । अर्का मेघबहादुरलाई पनि सरकारले भन्ने गरेको एक घर एक धाराको नारालाई चाँडो कार्यान्वय गरिदिए हुन्थ्यो भन्ने लागेको छ । अरु काम छाडेर भएपनि पानीको जोहो गर्नुपर्नेमा गाउँबासीको ध्यान हुन्छ ।
स्थानीय मेघबहादुरले बाउबाजेको पालादेखिको समस्या नातिपुस्तासम्म आईपुग्दा पनि समाधान हुन नसकेको बताउनुभयो । ६२ वर्षीय मेघबहादुरले घोरदौराबासीलाई खानेपानीले दिएको दुख अब धेरै दिन नरहला भन्ने लागेको छ । अहिले गाउँमा पानीको नयाँ धारा जडानका लागि काम भईरहेको हुँदा चाँडै सहज रुपमा पानी खान पाईएला भन्ने आशामा बस्नुभएको छ ।
घोरदौरामा हाल ८८ घरधुरीको बसोबास छ । विगतदेखिको खानेपानीको समस्यालाई समाधान गर्न प्रदेश सरकारले क्रमागत रुपमा लिफ्ट मार्फत खानेपानी ल्याउने गरी काम गरिरहेको छ । जसका धेरै जसो काम भईसकेको हुँदा अब चाँडै नै घोरदौराबासीले सहज रुपमा खानेपानी उपभोग गर्न पाउने आशा व्यक्त गर्नुहुन्छ, घोराही १८ का वडा अध्यक्ष भरतमणि अर्याल । क्रमागत बजेटका कारण लामो समयदेखिको प्रयासलाई पूर्णता दिन नसकिएको उहाँ बताउनुहुन्छ । अहिले भईरहेको काम हेर्दा आउने वर्षसम्ममा घोरदौरामा खानेपानीको संकट सदाका लागि समाधान हुने उहाँको विश्वास छ । घोडदौरामा पानीको अभाव हुँदा कतिपय विस्थापित पनि भएका छन् ।
यता, खानेपानी र सरसफाई डिभिजन कार्यालय घोराहीले २०७५ सालदेखि क्रमागत बजेट विनियोजन भई निरन्तर रुपमा घोरदौरा खानेपानी आयोजनाको काम जारी रहेकाले स्थानीयले वर्षौदेखि भोग्दै आएको समस्या सदाका लागि समाधान गर्ने गरी काम भईरहेको कार्यालय प्रमुख भोलाप्रसाद थापाको भनाई छ । लिफ्टिङमार्फत खानेपानी घोरदौरामा ल्याउने प्रयास भईरहेको जनाउँदै लागत केही खर्चिलो भएपनि दीगो रुपमा समस्या समाधान गर्ने गरी काम अघि बढाइएको बताउनुभयो । करीव ८० प्रतिशत भौतिक प्रगति भईसकेको हुँदा आउने आर्थिक वर्षमा गाउँमा खानेपानी वितरण हुने उहाँ बताउनुहुन्छ ।
घोरदौरामा रहेका विभिन्न टोलमा छ वटा सार्वजनिक धारा छन् । ती धाराको पानीले गाउँबासीलाई थेग्न नसक्ने अवस्था छ । मानवजीवनको मुख्य आधार पानीका स्रोत बर्सेनि घटिरहेको छ । नागरिकका लागि खानेपानी व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने अवस्था रहेको नागरिक अगुवा बताउँछन् । जिल्लाका ग्रामीण तथा पहाडी भेगका धेरै जसो गाउँमा अझै पनि सहज रुपमा खानेपानीको उपलब्धता हुन सकेको छैन । यसका लागि तीन तहका सरकारले आआफ्नै ढंगले काम गरिरहेका बताउने गरेका छन् ।