spot_img
Home Blog Page 27

राप्ती साहित्य परिषद दाङको अध्यक्षमा रेग्मी

राप्ती पोष्ट

घोराही, चैत । राप्ती साहित्य परिषद जिल्ला शाखा दाङको श्रष्टा सम्मान तथा काव्य उत्सव अन्तरगत साहित्यपुञ्ज लोकार्पण, सम्मान एवम् पुरस्कार समर्पणका साथै १६ औँ वार्षिक साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

परिषदको जिल्ला शाखा अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रकाश लामिछाने, परिषद केन्द्रका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले बोल्नुभएको थियो ।

सो अवसरमा राप्ती साहित्य परिषद केन्द्रका सल्लाहकार एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष गजलकार, समालोचक डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद केन्द्रका वरिष्ट उपाध्यक्ष, दाङ शाखाका पूर्वअध्यक्ष एवम् वर्तमान सल्लाहकार तथा साहित्यकार कमलमणि देवकोटा, राप्ती साहित्य परिषदका केन्द्रीय सदस्य एवम् विश्वकीर्तिमानि सङ्गीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको छ ।

साहित्य मार्फत योगदान दिएको भन्दै यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार–२०८० बाट साहित्यकार तथा समालोचक नारायण नेपाल, कृष्ण गायत्री प्रज्ञा पुरस्कार २०८० बाट साहित्यकार तथा समीक्षक यज्ञबहादुर डाँगी, वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार २०८० बाट साहित्यकार तथा थारु भाषा साहित्य तथा सांस्कृती मन्च दाङका अध्यक्ष छविलाल कोपिलालाई पुरस्कृत गरिएको थियो । यस्तै पत्रकार गोविन्द खड्का र साहित्यकार खेमराज गाउँलेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कवि तथा सर्जकहरु श्रवण नेपाली, विक्रम वली नेपाली बाबु, संगीत मगर, दीलकुमारी बुढामगर, डा. कृष्णराज डी.सी., हरी पोखेल, छविलाल कोपिला, यज्ञबहादुर डाँगी, नारायण नेपाल, सन्तोष श्रेष्ठ, कमलमणि देवकोटा, टीकाराम उदासी, उत्तमकृष्ण मजगैयाँलगायतले सिर्जना सुनाउनुभएको थियो । कोषाध्यक्ष यम रेग्मीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गर्नुभएको थियो ।

यसैबीच, राप्ती साहित्य परिषद दाङ शाखाको आगामी कार्यकालका लागि दुई सदस्य पछि मनोनित गर्ने गरी यम रेग्मीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्ष सुरेशकुमार पाण्डे, सचिवमा घनश्याम केसी, सहसचिवमा वीणा रोका, कोषाध्यक्षमा सुशीला आचार्य सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी, सदस्यहरुमा अर्जुनकुमार पौडेल (अर्जुन सर), कपिलमणि लामिछाने, गुरुप्रसाद कुमाल बुलबुल, नारदमणि भण्डारी चयन हुनुभएको छ ।

जलायसको उपयोगिता

सम्पादकीय

घोराही उपमहानगरपालिका नेपालका ११ वटा उपमहानगरपालिका मध्य सवैभन्दा ठूलो भूगोल भएको पालिका हो । घोराही र तुलसीपुरलाई मिलाएर एउटै महानगर बनाउने चर्चा पुरा नहुँदासम्मका लागि घोराही नेपालका सवै उपमहानगरपालिकामध्य ठूलो भुगोलका रुपमा रहेको घोराहीमा निर्माण गरिएका जलासयहरुले राम्रो प्रचार पाएका छन् । दाङ जिल्लामा पानी संरक्षण गर्नका लागि जलायस बनाउनुपर्ने कुरा लामो समयदेखि उठ्दै आएको हो । दाङ जिल्लाको भुगोल यस्तो छ कि यहाँ पानी लामो समय अड्दैन । करिव आठ १० किलोमिटरको उत्तर–दक्षिण भुगोल रहेको छ । माथिबाट परेको पानी तल्लो भागमा पुगेर बवई हुँदै बाहिरिन्छ । पानीका ठूला स्रोत केही छैनन् । प्राकृतिक रुपमा बनेका ताल तलैयाहरु छैनन् । ठूला नदी वा खोलाहरु पनि यो भुगोलमा रहेका छैनन् । बर्षातको समयमा आउने खहरे खोलाको पानी जम्मा गर्ने संयन्त्र पनि हामीसंग रहेको छैन । यस कारणले गर्दा हामीले पानीका लागि जलासय बनाउनुको विकल्प रहेको छैन । जुन काम घोराहीले गरिरहेको छ । घोराहीले साना ठूला गरेर ४३ वटा जलासय बनाएको छ । ठूला साना जलासयहरु बनाएर पानी संकलन गर्ने जुन कार्य गरिएको छ यसले घोराही क्षेत्रमा पानीको सतहलाई बढाउने काम गरेको छ । सिचाईका लागि राम्रो भएको छ । घोराहीले गरेको कामले घोराहीको पहिचानलाई फरक बनाएको छ ।

घोराही उपमहानगरपालिकाको पूर्वमा बवई रहेको छ । जुन अत्यन्त सानो रहेको छ । बवई दाङका सवै खोलाको पानी जाने अन्तिम थलो हो । यस्तै उत्तर र दक्षिण भएर बग्ने खोलाहरु सिस्ने, कटुवा, सेवार, गुर्जे, हापुर खोला घोराही भित्रका खोलाहरु हुन । यस बाहेक केही साना तिना खोलाहरु पनि छन् । साना तिना खोलाहरु खहरे खोलाका रुपमा रहेका छन् । घोराहीमा पानीको स्थायी स्रोत अरु केही छैन । अहिले पानीको सतह हरेक बर्ष तल तिर गइरहेको छ । पानीको सतह कम भएका कारणले गर्दा घोराहीमा कुवा सुकेका छन् । घोराहीमा डिप बोरिङहरुबाट पानी आउन छोडेको छ । यस कारणले गर्दा घोराही खानेपानीले बवईबाट लिफ्टिङ गरेर पानी घोराही ल्याउने तयारी गरिरहेको छ । घोराहीको उत्तरी क्षेत्रमा पानीको स्रोत राम्रो हुन्थ्यो भने बवईबाट पानी उत्तरतर्फ ल्याउनुपर्ने दुःख गर्नु पर्दैनथ्यो । घोराहीमा बनेका तालहरुबाट सिचाई गरेर तरकारी खेती गर्ने क्रम बढेको छ । घोराहीमा पानीको स्रोत बढ्न थालेको छ । पहिले सुक्ने गरेका कुवाहरुमा पानी पछिसम्म हुन थालेको छ । तरकारी खेती गर्नेहरुका लागि राहत भएको छ । यो नै यसको राम्रो पक्ष हो । घोराहीमा पानीको स्रोत बृद्धि गर्नका लागि हामीले गर्ने काम मध्य सवैभन्दा महत्वपूर्ण काम यहि हो । विश्वका कतिपय मुलुकमा नालाबाट बग्ने पानीलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याइएको हुन्छ । हामीले त्यो कुरा कल्पना मात्रै गर्न सक्छौं । हामीले फोहरलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउन सकिरहेका छैनौं भने पानीलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउने कुरा निकै टाढाको कुरा हो । भविश्यमा यस्तो पनि हुन सक्छ । यस्तो गर्न सकिन्छ । यस्तो अनिवार्य गर्नुपर्ने अवस्था आउँछ ।

घोराही उपहानगरपालिकाले जलासय बनाएर अरु पालिकालाई पानी जम्मा गर्नका लागि जलासय बनाउन सकिने रहेछ भन्ने सन्देश दिएको छ । कतिपय जलासयहरु पर्यटकिय स्थलमा परिणत हुँदैछन् । घुम्न जाने, बोटिङ गर्ने, सिचाई गर्ने काममा पानीको प्रयोग भइरहेको छ । घोराहीमा पानीका लागि जलासय बनाउने काम जति भएको छ यो अझै पर्याप्त भएको छैन । घोराहीमा पानी जम्मा गर्नका लागि अहिले जति ताल तलैया बनेका छन् यो संख्या अझै बढाउनुपर्छ । यसका साथै तल्लो तहमा भन्दा घोराहीको माथिल्लो भेगमा पानी जम्मा गर्ने ठूला जलासय बनाउनुपर्छ । बर्षातमा आएको पानीलाई जम्मा गर्ने र मुल संरक्षण गर्ने हो भने मात्रै घोराहीमा दिर्घकालिन रुपमा पानीको समस्या समाधान गर्न सकिन्छ । घोराही ठाडा खोलाहरुलाई पानी जम्मा गर्ने गरी ड्याम बनाउन गाह्रो छ । पहाडी क्षेत्रमा ड्याम बनाउन सकिन्छ । सम्म भागमा पानी जम्मा गर्नका लागि प्राकृतिक खाडललाई नै प्रयोग गर्ने हो । घोराही क्षेत्रको उत्तरी भेगमा ठूला चिराहरु छन् । सोताहरु छन् । ति सवैलाई पानी जम्मा गर्ने गरी व्यवस्थापन गरिनुपर्छ । संगै ख्याल गर्नुपर्ने कुरा अर्को के छ भने घोराही क्षेत्रमा रहेका कतिपय जलासयहरु असुरक्षित देखिएका छन् । असुरक्षित जलासयलाई कसरी सुरक्षित बनाउने भन्ने योजना संगै आउनुपर्छ । तारवार गर्ने, तयारी अवस्थामा डुंगा र जनशक्ति राख्ने बारेमा संगै योजना बनाउनुपर्छ । जहाँ केही राम्रो पक्ष हुन्छ त्यहाँ केही नराम्रो पनि हुन्छ । राम्रो कामको परिणाम पनि राम्रो नै हुन्छ । यसर्थ घोराही उपमहानगरपालिकाले थालेको जलासय निर्माणको योजनालाई थप व्यवस्थित गर्दै संख्या बृद्धि गर्ने र उपयोगिता बढाउने काम गर्नुपर्छ ।

जेष्ठ नागरिक सरोकार केन्द्रमा पुनः गिरीको नेतृत्व

राप्ती पोष्ट

घोराही, चैत । घोराही–१६ मा बृद्धाश्रम सञ्चालन गरिरहेको जेष्ठ नागरिक सरोकार केन्द्रको अध्यक्षमा पुनः भुपाल गिरीलाई चयन गरिएको छ । आगामी तीन बर्षका लागि गिरीको नेतृत्वमा तीन सदस्यीय कार्यसमिति चयन गरिएको हो । सर्वसम्मत रुपमा चयन गरिएको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा डा. अर्जुनकुमार बुढाथोकी, उपाध्यक्षमा पार्वती लोहनी, सचिवमा तिलक केसी, कोषाध्यक्षमा श्यामकुमार आचार्य, सह सचिवमा सुष्मा रेग्मीलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा रुपा वली, सुशिला आचार्य, विदुषा पाण्डे, कुमार राज श्रेष्ठ र नारायण विवशलाई चयन गरिएको छ ।

अध्यक्ष गिरीको अध्यक्षतमा भएको कार्यक्रमको उद्घाटन द्रोपता कुमारी लोहनी लक्ष्मीनारायण वृद्धाश्रमद्वारा संचालित जेष्ठ नागरिक सरोकार केन्द्रका पूर्व अध्यक्ष एवम् सल्लाहकार नारायणप्रसाद शर्माले गर्नुभएको थियो । उहाँले मानव सेवामा समर्पित संस्थाहरुलाई राजनीतिक पूर्वाग्रह राख्न नहुने बताउनुभयो । जेष्ठ नागरिक सरोकार केन्द्रको १६ औँ साधारण सभा एवं छैंठौँ अधिवेशनलाई सम्बोधन गर्दै शर्माले मानव सेवामा समर्पित सामाजिक संघ संस्थाहरु समाजको हीतका पक्षमा हुने भएकाले संस्थानको मर्यादामा चल्न दिनुपर्ने बताउनुभयो ।

२०६२ सालमा स्थापित जेष्ठ नागरिक सरोकार केन्द्रकोे लामो इतिहास बारेमा स्मरण गर्दै उहाँले मानव धर्म नै सबैभन्दा उत्तम कार्य भएको बताउनुभएको थियो । उहाँले संस्थाको संवद्र्धन र संरक्षण गर्ने दायित्य सबैको भएको भन्दै उहाँले मानवतावादी संस्थालाई अगाडी बढाउन सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश अध्यक्ष खुमानन्द अधिकारी, वडा नम्बर १६ का अध्यक्ष तारा बहादुर डाँगी, संस्थापक सदस्य एवम् सल्लाहकार ऋषिराज जंगली, सल्लाहकार गुरुप्रसाद शर्मा, डा. भोलानाथ योगी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायत बोल्नुभएको थियो ।

कार्यक्रममा जेष्ठ नागरिक सरोकार केन्द तरौटका सचिव दधिराम खनालले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्याम प्रकाश आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । जसमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ जनजागृति टोल निवासी ९६ वर्षिय दिवाकर आचार्य, वडा नम्बर १७ पचुर्खा निवासी ८१ वर्षिया मायादेवी रेग्मी, वडा नम्बर १५ निवासी साहित्यकार कमलमणी देवकोटालाई सम्मान गरिएको छ ।

यसैगरी विभिन्न अक्षयकोष दाताहरु, जेष्ठ नागरिक एवं आजिवन सदस्य, स्वास्थ्य शिविर तथां स्वास्थ्य सेवा गर्नुभएका स्वास्थ्यकर्मी लगाएतलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष पार्वति देवी लोहनीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष डा. अर्जुन कुमार बुढोथोकीको स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन सचिव दधिराम खनालले गर्नुभएको थियो ।

घोराहीमा दिसाजन्य लेदोबाट मल र सिचाईका लागि पानी तयार गरिने

राप्ती पोष्ट

घोराही, चैत । घोराही उपमहानगरपालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणका लागि (डिपिआर) गुरुयोजना तयारीका लागि सरोकारवालाहरु सँग छलफल र स्थलगत अबलोकन भएको छ ।

त्यसका लागि घोराही उपमहानगरपालिकाको आयोजना तथा नेपाल नगरपालिका संघको आयोजना एवं नेपाल नगरपालिका संघको समन्वय र वाताबरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा विहीबार नगरसभा हलमा नगर कार्यपालिका सदस्य, महाशाखा तथा शाखा प्रमुखहरु र ल्याण्डफिल साईड क्षेत्रका नागरिकहरुको उपस्थितीमा छलफल भएको छ ।

डिपिआर तयारीको लागि सहमती दिने र तयारी गर्ने सँगै प्रशोधन प्रविधिको छनौटका बिषयमा सरोकारवालाहरुबीच छलफल भएको हो । दिसाजन्य लेदोको उचित प्रशोधन तथा व्यवस्थापन हुदा पानी जन्य रोगको नियन्त्रण, जनस्वास्थ्यमा असरमा कमी, प्रशोधनबाट मल उत्पादन र पानी सिचाईका लागि प्रयोग गर्न सकिने छ ।

कार्यक्रममा बाताबरण तथा जनस्वास्थ्य संस्थाका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठ, कार्यक्रम संयोजक बुद्ध बज्राचार्य र इन्जिनियर रुपक श्रेष्ठले योजनाको बारेमा जानकारी दिनुभयो । छलफल कार्यक्रम पूर्व प्लान्ट निर्माण गर्ने वडा नम्बर १६ को ल्याण्डफिल साईड क्षेत्रको नगर प्रमुख नरुलाल चौधरी सहित नगरको बाताबरण तथा सरसफाई शाखाका प्रमुख लक्ष्मण अधिकारी सहितका कर्मचारी र त्यस क्षेत्रका स्थानीय र प्राविधिक टोलीले अबलोकन गरेको थियो । केही दिन पहिले नगर प्रमुख चौधरी दिसाजन्य लेदो व्यवस्थापनको विषयमा जानकारी लिन र अबलोकनका लागि बंगलादेश जानुभएको थियो ।

कालाकाटे–गढवा सडक कालोपत्रे अलपत्र

छबि पुरी /राप्ती पोष्ट

घोराही, चैत । ठेक्का सम्झौता भएअनुसार काम गरेको भए अहिलेसम्म कालाकाटे गढवा सडक पुनः मर्मत गर्ने अवस्थामा हुन्थ्यो होला । तर, ठेक्का सम्झौता भएकोे साढे चार वर्ष पुग्दासमेत सडकको पिच पूरा भएको छैन । ६५ करोडको लागतमा २०७६ कात्तिक २९ मा बज्रगुरू कान्छाराम जेभीसँग हुलाकी राजमार्ग आयोजना कार्यालयले बनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरे पनि ठेकेदारले काम नगर्दा अहिले सडक कालापत्रेको काम फेरि अलपत्र अवस्थामा छ ।

जबकी हुलाकी सडक अन्तर्गत गढवा गाउँपालिकाको कालाकाटेदेखि राजपुर गाउँपालिकाको सिक्टासम्मको सडक निर्माणको तीन वर्षभित्र सक्ने गरी कार्यालय र निर्माण व्यवसायीबिच सम्झौता भएको थियो । तोकिएको समयमा काम नभएपछि २०७९ मंसिर अन्त्यतिर म्याद थपेर २०८० साउन १० सम्म कायम गराउँदा पनि नभएको सडकको काम गत मंसिर २२ गतेदेखि काम पुनः शुरु गरिए पनि ठेकेदारको लापरवाहीले काम रोकिएको छ ।

निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको हुलाकी सडक निर्माणको काम सुरु गर्न गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पटक पटक आग्रह गरेपछि शुरु भएको काम अहिले फेरी रोकिएको छ । हुलाकी सडक निर्माणको काम सुरु नगरे ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको थियो । हुलाकी राजमार्ग निर्देशनालयको कार्यालय र निर्माण व्यवसायीबिच भएको सम्झौता अनुसार काम गरे जस्तो गरेको ठेकेदार अहिले फेरी काम छाडेर सम्पर्क विहीन बनेको छ ।

मंसीरयता काम गर्न थालेको निर्माण कम्पनीले जेठानगाउँदेखि धैरेनीसम्मको पाँच किलोमिटर सडक मात्रै कालोपत्रे गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो । ‘काम गर्छु भनेर वचन दिएको ठेकेदार कम्पनी फेरी हराएको छ, बल्लबल्ल खोजेर काम गर्न लगाएको अहिले फेरी उस्तै अवस्था छ, काम नगर्दा हामीलाई हैरान बनाएको छ’, उहाँले भन्नुभयो ‘सम्बन्धित कार्यालय र ठेकेदार कम्पनीसँग भन्दा भन्दा म आफै हैरान भईसकेँ । जति भने पनि नलाग्दो रहेछ, काम समयमा सकेको भए सबैलाई सहज हुने थियो ।’

लामो समयदेखि कालोपत्रेको पर्खाईमा रहेका नागरिक पनि धुलाम्मे सडकका कारण आजित बनेका छन् । काम गरे जस्तो गरेर दुई चारदिन देखिने कामदारहरु ठेकेदारकै कारण काम छाडेर जाने गरेका छन् । अहिले पनि अवस्था त्यही भएको छ । ‘आयोजना कार्यालयले कोसिस गरिरहेका छौं । ठेकेदारलाई फकाइरहेका छौं भन्छन् । सडककै कारण जनताले वर्षौंदेखि सास्ती खेपेका छन् । छिटो भन्दा छिटो काम हुनुपर्छ । नभए ठेकेदारले समयमै काम नगरे अब समयमै ठेक्का तोडेर अर्को ठेक्का लगाउनुपर्छ’ अध्यक्ष पोख्रेलले भन्नुभयो ‘हामीले पहिलेदेखि नै काम नगर्नेको ठेक्का तोड्नुुपर्छ भन्दै आएका छौँ । एउटाको कारणले सबैले दुख पाउनुहुदैन भन्ने हो । अहिले पिचको काम बन्द भएको छ । काम किन भएको छैन भन्ने वास्तविकता बुझ्न निकै कठीन भएको छ ।’

हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगंजका आयोजना प्रमुख लीलाबहादुर भण्डारीले निर्माण व्यवसायीका कारण सडक कालोपत्रेको काम अहिले अलपत्र परेको बताउनुभयो । ‘म यो कार्यालयको जिम्मेवारी सम्हाल्न असोजमा आएको हुँ । यो सडकको काम त पहिलेदेखि नै अलपत्र रहेछ । काम गर्न ताकेता गरेपछि मंसीरबाट केही भागमा काम गरेको छ । अहिले काम गर्दागर्दै फेरि छाडेको छ’, उहाँले भन्नुभयो ‘काम गर्ने ठेकेदार भए समयमै गथ्र्यौ होला । यो त दुख दिने बाहेक केही भएको छैन । कति पटक काम गर्न दवाव दिनु र खै ?’

हुन पनि ठेक्का सम्झौता गरेको पक्षले काम अनुसारको भुक्तानी लगेको छ । काम भने पूरा गरेको छैन । ‘भुक्तानीको समस्याले काम रुकेको अवस्था होईन । निर्माण व्यवसायीले आफ्नै कमजोरीका कारण भुक्तानी लिन सकेका छैनन् । बाँकी रहेको रकम दिन कार्यालय तयार छ । सो आयोजनाका लागि रकम पनि छ । कार्यालय भुक्तानी दिन तयार छ’ उहाँले भन्नुभयो ‘भुक्तानीका लागि मैले रकम पनि छुट्याएर राखेको छु । उसको फर्ममा नन फाइलर भएर बसेको रैछ । त्यो बुझाए भने भुक्तानी दिन सकिन्छ । तर, ऊ आफै अहिले यो पूरा गर्न सक्ने अवस्था छ जस्तो लाग्दैन ।’

पछिल्लो पटक पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ । अझै ११ किलोमिटरको काम बाँकी छ ।‘उसले अहिले पाँच हजार तीन सय मिटर जति कालोपत्रे गर्यो । जम्मा १६ किलोमिटरमा ११ किलोमिटर कालोपत्रे अझै बाँकी छ । हामीले कामलाई निरन्तरा दिँदै सम्पन्न गर्न आग्रह गर्दै आएका छौँ, हिजो पनि यो विषयमा निर्माण पक्षसँग कुरा भएको थियो’ उहाँले भन्नुभयो’ ‘तर यो पक्षसँग काम पूरा गर्न निकै गाह्रो छ । अन्य निर्माण कम्पनीको काम गराउन समस्या भएको छैन ।’

उहाँले एक दुई ठाउँको पुल बन्दै गरेको अवस्था रहेकोले यो ठेक्काको काम सकिए गढवा कालाकाटे बाह्रै महिना आवतजावतमा रुकावट नहुने अवस्था रहेको बताउनुभयो । यही अवस्थामा ठेक्का तोड्दा नयाँ ठेक्का लाग्ने सुनिश्चितता नहुने भएकोले स्थानीयलाई झन सास्ती हुने देखेर पनि यसैलाई काम गराउन लागि परेको उल्लेख गर्नुभयो । मंसीर २२ गते पिचको काम शुरु गर्दासम्म जम्मा डेढ किलोमिटर मात्रै सडक कालोपत्रे भएको थियो । कालाकाटेदेखि–गढवा सडकखण्डको बनघुस्रीदेखि गढवासम्मको २० किमी सडकको कामको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३२ प्रतिशत देखिएको छ । २०७९ मै म्याद सकिएकोमा कोभिडको समयमा ठेक्का लागेको र लकडाउनको कारण काम नभएकोेले म्याद थप गरिएको ठेक्कामा अहिले थप भएको म्याद पनि सकिएको छ ।

उता, २०७६ मंसिर १ गते ६९ करोडको लागतमा बनाउने गरी एपेक्स कन्काई खड्का कृष्ण प्रालिले ठेक्का लिएको गढवादेखि राजुपरको गंगदी पारीसम्मको २० किमीको प्रगति भने सन्तोषजनक रहेको देखिएको छ । उक्त सडकको कालोपत्रेको काम सकिएको छ । एक पटक म्याद थपेर २०८० साउन १० सम्म पुर्याइएको उक्त सडकमा बाँकी रहेको फुटपाथ र अन्य काम सकिने अवस्थामा रहेको गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताउनुभयो ।

 

मापदण्ड र कानुन विपरीत संचालित चार उद्योग बन्द

छबि पुरी /राप्ती पोष्ट

घोराही, चैत । दाङमा संचालित नदीजन्य उद्योगको अनुगमन गरिएको छ । जिल्ला अनुगमन समितिले जिल्लामा संचालित नदीजन्य उद्योगका बारेमा बारम्बार गुनासो आएको भन्दै स्थलगत रुपमा अनुगमन गरेर पछिल्लो अवस्थाका बारेमा जानकारी लिनुका साथै मापदण्ड विपरित संचालनमा रहेका केही उद्योग बन्द गर्ने निर्णय पनि गरेको छ ।
जिल्ला अनुगमन समितिले नदीजन्य उद्योग सन्चालन नयाँ मापदण्ड २०७९ ले निर्दिष्ट गरेका केही सुचकसहित स्थानीय सरकार र आन्तरिक राजश्व कार्यालयलाई बुझाउनुपर्ने कर लगायत कम्तिमा ३८ वटा सुचकमा रहेर स्थलगत अनुगमन गर्दा मापदण्ड र कानुन विपरीत संचालनमा रहेको निष्कर्षसहित ४ उद्योग बन्द गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवम् समन्वय अधिकारी मोहन सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला अनुगमन समितिले चार वटा नदीजन्य उद्योगलाई मापदण्ड र कानुन विपरीत सन्चालनमा आएको निष्कर्षसहित बन्द गर्ने निर्णय गरेको हो । जिल्ला अनुगमन समितिका संयोजक नित्यानन्द शर्माको नेतृत्वमा समितिका सदस्यहरु सहितको टोलीले जिल्लाको घोराही, तुलसीपुर तथा पश्चिम क्षेत्रमा रहेका दशवटा क्रसर उद्योग तथा वालुवा प्रशोधन उद्योगको बुधबार स्थलगत अनुगमन गरी चार वटा उद्योगलाई तत्काल बन्द गर्न पत्राचार गर्ने र बाँकी उद्योगहरुलाई अपुग कागजात पेश गर्न आग्रह गर्दै मापदण्ड अनुरुप व्यवस्थित भएर संचालन गर्न निर्देशन दिने निर्णय गरेको छ ।

स्थलगत अनुगमनपछि तुलसीपुरमा बसेको जिल्ला अनुगमन समितिको बैठकले तुलसीपुर उपमहानगरपालिका १९ ग्वारखोलास्थित जनविश्वास कंक्रिट उद्योग, तुलसीपुर उपमहानगरपालिका ४ हलवार ग्वारखोलास्थित न्यु राप्ती क्रसर उद्योग, तुलसीपुर उपमहानगरपालिका ८ टिकरीस्थित राप्ती वालुवा वासिङ उद्योग र बबई गाउँपालिका ६ स्थित क्रिपाभिज्ञ बालुवा वासिङ उद्योगलाई तत्काल बन्द गर्ने निर्णय गरेको हो ।

अनुगमन पश्चात क्रिपाभिज्ञ वालुवा वासिङ उद्योग तात्कालिन समयमा दाङ–सुर्खेत सडक निर्माणका क्रममा कालिका कन्सट्रक्सन कम्पनीले संचालन गरेको तर सो कम्पनीको काम सम्पन्न भैसकेको अवस्थामा पनि सरकारी जग्गा खोलामा उद्योग संचालन भएकाले बन्द गर्ने निर्णय भएको अनुगमन समितिले जनाएको छ । यसैगरी राप्ती बालुवा वासिङ उद्योगले क्रसरको पनि काम गरेको तथा पातुखोला र गहते खोलाको दोभानमा सार्वजनिक जग्गा अतिक्रमण गरी संचालनमा आएकाले तत्काल बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन समिति सदस्य रामबन्धु सुवेदीले जानकारी दिनुभयो । यसैगरी ग्वारखोलामा रहेको जनविश्वास कंक्रिट उद्योगले मापदण्ड विपरीत खोलामानै उद्योग स्थापना गरी नदिजन्य पदार्थ अबैध रुपमा उत्खनन् गरेकाले बन्द गर्ने निर्णय अनुगमन समितिले गरेको उहाँले बताउनुभयोे ।

ग्वारखोलाकै न्यु राप्ती क्रसर उद्योगले पनि खोलामै उद्योग संचालन गरेको, मापदण्ड विपरीत नदिजन्य पदार्थ सोही स्थानबाट उत्खनन् गरेको तथा तोकिएको राजश्व नबुझाएको कारण बन्द गर्ने निर्णय गरेको समितिले जनाएको छ । उक्त कारवाहीको जानकारी अख्तियार कार्यालय बुटवल र नेपालगन्जमा समेत गराउने निर्णय भएको समन्वय अधिकारी सुवेदीले बताउनुभयो । यसैगरी तत्काल बन्द गर्ने निर्णय भएका क्रसर उद्योगहरुबाट अवैध रुपमा संकलन गरिएका नदीजन्य पदार्थ स्थानीय पालिका तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकाले जफत गरी नियमानुसार राजश्व लिएर बिक्रि वितरण गर्न पत्राचार गर्ने पनि निर्णय भएको अनुगमन समिति संयोजक शर्माले जानकारी दिनुभयो । नियम कानून मान्ने कुरा केही देखिएन, खोलामै उद्योग राखेर व्यापक उत्खनन् गरिएको छ । ‘एउटा उद्देश्यले खोलेको उद्योग अरु काममा लगाईएको छ । कागज पत्र केही अध्यावधिक छैन । राजश्व बझाएको छैन, यस्ता उद्योग कारवाही मात्रै होईन बन्द गर्ने निर्णय नै गरेका छौँ’, समन्वय प्रमुख शर्माले भन्नुभयो ‘यो निर्णय बारे अख्तियार कार्यालयलाई गर्ने भएका छौँ । अब देउखुरी क्षेत्रको पनि अनुगमन हुन्छ । मापदण्ड विपरितको पाईए कारवाही हुन्छ । ’

सरकारी जग्गा अतिक्रमण गरी संचालन गरिएका ति उद्योगले प्रयोग गरेका जग्गा भालुवाङ ज्वालामाई गणलाई खाली गराउन पत्राचार गर्ने तथा ती उद्योगहरुमा तत्काल विद्युत सेवा काट्न नेपाल विद्युत प्राधिकरण कार्यालयलाई पनि पत्राचार गर्ने समेत निर्णय भएको छ । जिल्ला अनुगमन समितिले घोराही उपमहानगरपालिका हापुरखोलास्थित शिवाज दाङ कंक्रिट उद्योग प्रालि, तुलसीपुर उपमहानगरपालिका १८ सक्रामखोलास्थित स्वर्गद्वारी स्क्रीन प्लान्ट प्रालि, भाग्यलक्ष्मी क्रसर उद्योग प्रालि, तुलसीपुर, के एण्ड एस बालुवा प्रशोधन प्रालि ग्वारखोला, समावेशी क्रसर उद्योग तुलसीपुर १६ ग्वारखोला, मंगलम् बालुवा वासिङ उद्योग तुलसीपुर १२, गणेश बालुवा प्रशोधन उद्योग तुलसीपुर ११ सुकौरामा पनि स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनमा एक दुई उद्योग बाहेक दाङ जिल्लामा संचालनमा रहेका अधिकांश क्रसर तथा बालुवा उद्योगहरुले नयाँ मापदण्ड पनि पूरा गर्न नसकेको पाइएको छ । अधिकांश क्रसर उद्योगहरु खोला किनारमा संचालनमा रहेका, सार्वजनिक जग्गामा तयारी नदीजन्य पदार्थ डम्पिङ गरिएका, स्थानीय कर, राजश्व कर, वार्षिक कर चुक्ता तथा वार्षिक लेखा परीक्षणसमेत नगराएको पाइएको अनुगमन समितिले जनाएको छ ।

समितिले त्यस्ता उद्योगहरुलाइ तोकिएका कागजात तत्काल पूरा गरी कर र राजश्वका दायरामा आउन पनि निर्देशन गर्ने गरी सम्बन्धित सबै उद्योगहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ । धेरै उद्योगहरु बालुवा वासिङका नाममा दर्ता भएपनि क्रसिङको काम गरीरहेको पाईएकोसमितिका सदस्य सचिव सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला अनुगमन समितिका संयोजक शर्मा नेतृत्वको अनुगमन टोलीमा अनुगमन समितिका सदस्यहरु प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदी, जिल्ला प्रहरी प्रमुख रामबहादुर केसी, डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख टीकाराज चौलागाई, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक पृथ्वीबहादुर बोगटी, सडक पूर्वाधार विकास कार्यालयका इन्जिनियर लीलाधर गिरी, जिल्ला समन्वय समितिको समन्वय अधिकारी मोहन सुवेदी, जिल्ला अनुसन्धान कार्यालय दाङका प्रमुख रमेश डाँगीलगायत हुनुुहुन्थ्यो ।

अर्थतन्त्रको ओरालो

सम्पादकीय

बास्तविक कुरा गर्दा नकारात्मक कुरा हुन जान्छ । सकारात्मक कुरा गरौं, तत्थ्याङ्कले यस्तो देखाउँदैन । सत्य कुरा सत्य हुन्छ । झुटो कुरालाई जति नै रफ्फु गरौं त्यो सत्य हुँदैन । हालचाल सोध्दा विरामीले पनि ठिकै छु भन्ने जवाफ दिन्छ । भित्री पीडा उसलाई मात्रै थाहा हुन्छ । समस्याको चाँङ बोकेर मानिस भौतारिइरहेको हुन्छ । बाहिर देख्दा ठिक ठाक देखिएपनि भित्री कुरा अर्कै हुन्छ । नेपालमा अर्थतन्त्रका बारेमा यस्तै तथ्याङक बाहिर आइरहेका हुन्छन । सरकारको नेतृत्वमा जो जान्छ उसले अर्थतन्त्रमा सुधार भइरहेको कुरा गर्दछ । पहिलेको तुलनामा राम्रो भइरहेको कुरा गर्दछ । पहिलेको तुलनामा के राम्रो भइरहेको छ ? भन्ने बारेमा जवाफ नपाएर नागरिक अलमलमा छन् । नागरिकको हातमा पैसा छैन । युवाहरु काम खोजिरहेका छन् । युवाहरु काम नपाएर विदेश धाइरहेका छन् । देश छोड्ने केहीका लागि रहरको विषय होला धेरैका लागि बाध्यताको विषय हो । अवसरको खोजिका लागि मानिसले आफ्नो स्थान बदल्ने गर्दछ । हिजोका दिनमा हाम्रा पुर्खाहरु काम खोज्दै महिनौंको यात्रा तय गरेर मुग्लान जान्थे । लाहौर जान्थे । अहिले समय फेरिएको छ । प्रविधिले संसारलाई नजिक बनाएको छ । कहाँ के कस्तो अवसर छ भन्ने बारेमा सवैलाई थाहा छ । कतिपय देशका मानिसहरु संसारका सवैजसो देशमा पुगिरहेका छन् । नेपालीले जाने अनुमती नपाएका मुलुकमा नेपाली पुगेको कुरा रुस र युक्रेनी सेनामा नेपाली पुगेकोबाट थाहा हुन्छ । मानिस रहरले थोरै र बाध्यताले धेरै विदेश गइरहेको छ । कामको खोजीमा गएको छ । देशको अर्थतन्त्र सवल र ठिक ठाक भएको भए यस्तो अवस्था आउने थिएन ।

एउटा तथ्याङकले भन्छ कि कामको खोजीमा विदेश जानेहरुको संख्या हरेक महिना बढीरहेको छ । गएको आर्थिक बर्षलाई आधार मान्ने हो भने हरेक महिना विदेश जानेहरुको संख्या बढीरहेको छ । यो संख्या बैधानिक रुपमा विदेश जानेहरुको हो । अवैधानिक रुपमा विदेश जानेहरुको तथ्याङ्क सरकारसंग रहेको छैन । गएको साउनको महिनामा ५५ हजार पाँच सय ७५ जना मानिस कामको खोजिमा विदेश पुगेका रहेछन् । यस्तै भदौको महिनामा ५० हजार आठ सय ८४ जना विदेश पुगेका रहेछ । असोजको महिनामा ५६ हजनार दुई सय ३५ जना विदेश पुगेका रहेछन् । यस्तै कात्तिकमा ४३ हजार छ सय ३३ जना युवाहरु विदेश पुगेका रहेछन् । मंसिरको महिना यो संख्या ह्वात्तै बढेको देखिन्छ । मंसिरमा ७१ हजार दुई सय ७६ जना युवाहरु कामको खोजिमा विदेशिएका रहेछन् । यसैगरी पुसको महिनामा ६५ हजार आठ सय १३ जना विदेशिएका छन् भने माघको महिनामा ६२ हजार एक सय ४७ जना विदेशिएका छन् । फागुनमा आउँदा यो संख्या ६५ हजार छ सय ५८ जना युवाहरु विदेश पुगेका छन् । गएको साउन यता हरेम महिना करिव ६० हजारको दरले युवाहरु कामको खोजिमा विदेश गएका छन् । कात्तिकको महिनामा दशै र तिहार परेका कारणले संख्या केही कम जस्तो देखिएको छ । कात्तिक पछि अर्थात मंसिरमा आठ महिनामध्य सवैभन्दा धेरै विदेश पुगेका छन् । विदेशमा पुगेकाहरुको संख्यालाई हेर्दा हरेक दिन दुई हजार युवाहरुले देश छोडिरहेका छन् ।

कुनै मुलुकको निर्माणका लागि कर्मशिल जनशक्ति आवश्यक पर्दछ । नेपालमा अहिलेसम्म कर्मशिल जनशक्ति धेरै छ । विस्तारै युवाहरुको संख्यामा कमी आउने देखिएको छ । जनसंख्या बृद्धिदर ऋणात्मक नभएपनि विस्तारै बृद्धिदर ऋणात्मक हुने होकि भन्ने देखिएको छ । काम गर्ने युवाहरु विदेशमा जाने क्रम यसैगरी बढ्यो भने ति युवाबाट जन्मने जनशक्ति स्वभाविकै रुपमा नेपालको नागरिक हुँदैन । नेपालमा जनसंख्या बृद्धिदर ऋणात्मक हुँदै जाने हो भने त्यसको प्रत्यक्ष प्रभाव नेपालको विकासका पर्दछ । विश्वका कतिपय मुलुकहरुमा जनसंख्या बृद्धिदर ऋणात्मक छ तर त्यहाँ उद्योग धन्दाको राम्रो विकास भएको छ । श्रम गर्ने जनशक्ति स्वदेशको नभएपनि काममा लगाउने जनशक्ति देशको छ । काम गर्ने जनशक्ति सस्तोमा दिनका लागि नेपाल जस्ता देशहरु विश्वमा छँदैछन् । नेपाल जस्तै आर्थिक रुपमा कमजोर अवस्थामा रहेका देशहरु सस्तो श्रम विक्रि गरेर त्यसबाट आएको रकमले दैनिक छाक टार्न बाध्य छन् । अरुकोमा काम गरेर कोही पनि धनी बन्दैन । देशको हकमा पनि यहि सुत्र लागु हुन्छ । विदेशमा गएर केही सिप सिक्ने, केही रकम ल्याउने र त्यसलाई उत्पादनको काममा लगाउने हो भने मात्रै त्यसले प्रगति हासिल हुन्छ । अर्थतन्त्रको जोखिम बढ्नुका पछिल्तिर एउटै कारण भनेको हाम्रो नीति हो । हाम्रो नीतिमा रहेको समस्याका कारणले गर्दा नेपालको अर्थतन्त्र ओरोलो लागिरहेको छ । ओरालो लागिरहेको अर्थतन्त्रलाई सुधारको बाटोमा अघि बढाउने हो भने आर्थिक अवस्थाको बास्तविक अवस्था के छ ? भन्ने तथ्य पर्गेल्नुपर्छ । ओरालोमा हिडिरहेको अर्थतन्त्रलाई जोगाउनका अव कसैगरी अवेर गर्नु हुँदैन ।

सव्जी मण्डी व्यवस्थित गर्ने योजनामा अमृत टोल

राप्ती पोष्ट

घोराही, चैत । घोराही उपमहानगरपालिका वडा नं. १५ अमृत टोलमा रहेको सव्जिमण्डीलाई थप व्यवस्थित गर्ने बारेमा शनिबार छलफल गरिएको छ । अमृत टोल विकास संस्थाले बाह्रकुनेमा आयोजना गरेको बनभोज तथा साधारण सभामा सव्जिमण्डी व्यवस्थित गर्ने योजना प्रस्तुत गरिएको थियो ।

टोल विकास संस्थाका अध्यक्ष नेत्रप्रकाश पाण्डेले अमृत टोल विकास संस्था अन्तरगत रहेको सव्जिमण्डीलाई व्यवस्थित गर्नका लागि नगरपालिकासंग सहकार्य र छलफल चलिरहेको जानकारी दिनुभयो । उहाँले टोल विकास संस्था अन्तरगतका सडकहरुलाई उज्ज्यालो सडकका रुपमा विकास गरिएको, नाला व्यवस्थित गरिएको, खानेपानीको समस्या समाधान गरिएको बताउनुभयो ।

उहाँले टोल विकास संस्थालाई सुरक्षित बनाउनका लागि सिसी टिभी क्यामेरा जडान गर्ने योजना अघि बढेको जानकारी गराउनुभयो । टोल विकास संस्था अन्तरगत शिव मन्दिर निर्माण गर्ने तयारी गरिएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा टोल अन्तरगत रहेको मण्डी व्यवस्थापन समितिका संयोजक केशवराज ढकालले मण्डीलाई धुरो रहित बनाउने, ग्रामिण क्षेत्रबाट आउने किसानलाई अझै बढी सुविधा प्रदान गर्ने, मण्डीलाई प्लाष्टिक रहित बनाउने, पार्किङ व्यवस्थित गर्ने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा मण्डी व्यवस्थापन समितिका उपाध्यक्ष सञ्जिव रोकाले मण्डीको आम्दानीले मण्डीलाई व्यवस्थित गर्ने योजना रहेको भएपनि रकमको अभावले काम गर्न गाह्रो भइरहेको बताउनुभयो । उहाँले आम्दानी र खर्चको हिसाव गर्दा आम्दानी कम र खर्च बढीरहेको बताउनुभयो ।

टोल विकास संस्थाका कोषाध्यक्ष पूर्ण भण्डारीले आम्दानी र खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले टोल विकास संस्था कुनै बेला घोराहीको उत्कृष्ठ टोल रहेको स्मरण गर्दै आगामी दिनमा पनि टोललाई उत्कृष्ठ बनाउने गरी योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा टोल विकास संस्थाका सल्लाहकारहरु राजकुमार थापा, समिरमणि गौतम, शरद अधिकारी लगायतले सुझावहरु दिनुभएको थियो । कार्यक्रममा टोल अन्तरगत रहेका ६१ घरपरिवारको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत विजया पौडेलले र संचालन उषा सुवेदीले गर्नुभएको थियो ।

एसइईका लागि दाङमा एक हजार एक सय ६५ जनशक्ति खटिँदै

छबि पुरी /राप्ती पोष्ट

घोराही,  चैत । अबको चार दिनपछि अर्थात चैत १५ गतेदेखि हुन लागेको यस वर्षको एसईई परीक्षामा दाङका दुई सय ४२ विद्यालयबाट सबै समुहका गरेर १२ हजार आठ सय ९८ जना विद्यार्थी सहभागी हुन लागेका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले शनिबार पत्रकार सम्मेलन गरी एक सय सात वटा सामुदायिक विद्यालय र एक सय ३५ वटा संस्थागत विद्यालयबाट छ हजार ७६ जना छात्र र छ हजार आठ सय २२ जना छात्राले यस वर्षको एसईई परीक्षामा सामेल हुन लागेको जानकारी गराएको छ ।

परीक्षा समन्वय समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा जिल्लाभरका ४७ वटा परीक्षा केन्द्रबाट साधारण धारतर्फ छ हजार चार सय ६५ छात्रा र पाँच हजार सात सय ६३ जना छात्र गरी १२ हजार दुई सय २८ जना रहेको जानकारी गराइएको थियो । यसैगरी, प्राविधिक धारतर्फ एक सय ६२ छात्रा र एक सय ६१ जना छात्रा गरी तीन सय २३ जनाले परिक्षा दिँदैछन् । ग्रेड वृद्धितर्फ पनि एक सय ९५ जना छात्रा र एक सय ५२ जना छात्र गरी तीन सय ४७ जना विद्यार्थीले परिक्षा दिन लागेका समन्वय एकाई प्रमुख देवमणि चौधरीले जानकारी दिनुभयो ।

यो पटक दुई वटा परीक्षा केन्द्र थप गरिएको छ । थप भएका परीक्षा केन्द्रमा घोराहीमा नेपाल प्रहरी स्कुल र तुलसीपुरमा गोरखा मावि रहेका छन् । जिल्लामा आदर्श मावि लालमटियाबाट दुई जना दृष्टिविहीनले पनि परीक्षा दिन लागेका छन् । परीक्षा दिने एक छात्र र एक छात्रा रहेका छन् । समन्वय इकाईका अनुसार पशुपति मावि हरिपौरीमा अध्ययनरत एक छात्रले सुधार गृहबाट परीक्षा दिने भएका छन् । उनलाई नेपालगंज बाँकेस्थित जयन्द्र बाल सुधारगृहबाट परीक्षा दिने व्यवस्था मिलाईएको समन्वय इकाईकी प्राविधिक सहायक प्रमिला शर्माले बताउनुभयो ।

परीक्षा संचालन गर्न ४७ जना केन्द्राध्यक्ष, ८४ जना सहायक केन्द्राध्यक्ष, छ सय ५१ जना निरिक्षक, एक सय २८ जना सहायक कर्मचारी, दुई सय ५५ जना सहयोगी कर्मचारी गरी एक हजार एक सय ६५ जना जनशक्ति खटिने भएका छन् । परीक्षा संचालनका लागि केन्द्रबाट आवश्यक उत्तरपुस्तिकालगायत सामग्री परीक्षा केन्द्रहरुमा पठाउने काम भईसकेको छ । अरु आन्तरिक तयारी पनि करीव पूरा भईसकेको उहाँले जानकारी दिनुभयो ।

चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ । परीक्षा केन्द्रमा विद्यार्थीको चाप अनुसार १० देखि १५ जना सुरक्षाकर्मी पनि परिचालन गर्न लागिएको छ । परीक्षालाई अनुशासित, मर्यादित, भयरहित, स्वच्छ वातावरणमा सम्पन्न गर्न सबै प्रकारको तयारी गरिएको परीक्षा समन्वय समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।

परीक्षा संचालन गर्दा सुरक्षाकर्मीको सहयोगमा परीक्षा हलमा प्रवेश गर्नुपूर्व परीक्षार्थीको खानतलासी गरेर मात्रै परीक्षा हलमा प्रवेश गराउन, परीक्षा संचालनको क्रममा खटिएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरिक्षक, सहयोगी कर्मचारीहरुको अनिवार्य परिचय पत्रको व्यवस्था गर्न, परीक्षा केन्द्र प्रवेशका लागि आधिकारिक निकायबाट अनुमति प्राप्त गरेका पदाधिकारी बाहेक कुनै पनि व्यक्तिलाई परीक्षा केन्द्रमा प्रवेश गर्न नदिने निर्णय गरिएको छ । यसैगरी, पत्रकारहरुलाई फोटो खिच्न परेमा परीक्षा केन्द्रको मूलगेटबाट मात्रै खिच्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।

किन आउँछस ए होली ?

कविता

शरद ऋतु

रगतको आहलमा खेलेकाहरुको
तालुमा आलु फलिरहेको बेला,
बन्दुक बोकेर बर्गयुद्ध गर्ने बेला
सन्दुकमा लुकेकाहरुको बोली विक्रि भएको बेला
होलीका नाममा रङ् दलेर
कसरी खुसी हुन सक्छु र ?
एक होइन, हजार होइन लाखौंको
आशामा तुषारापात भएको बेला
किन आउँछस ए होली ।

इतिहास के थियो ?
इतिहासमा के भयो ?
हिरण्य कश्युपको कुरा
होलीका दहनका कुरा
केही बुझ्दैन म किन हो ?
मात्र बुझिरहेको छु, हिजो रोएकाहरु
रोइरहेका छन्, चामलका लागि, नुनका लागि
कम्तिमा गुनको बदला तिर्नुपर्छ भनेर
एउटा सानो भुल नगरेको भए
होलीलाई हर्षको रुपमा मनाउन सकिन्थ्यो
मन रोएको, तन रोएको यो समयमा
किन आउँछस ए होली ?

भन्नलाई त भन्न सक्छु
कति रुनु जीवनमा, हाँस्नुपर्छ ।
हाँसेर बाँच्नुपर्छ, बाँचेर नाच्नुपर्छ ।
नाच्नका लागि न आगँन रह्यो
न सिप बच्यो कुनै हातमा
देश उचाल्ने युवाहरु
बा को मुहारमा खुसी ल्याउन भन्दै
सात समुन्द्र पारी
अनकण्टार जंगल छिचोलिरहेको बेला
अनुहारमा रङ दलेर,
कसरी म होली मनाउन सक्छु ।
उल्लास, उत्साह र उमङ्ग
अरुको बन्धनमा परेको यो समयमा
किन आउँछस ए होली ?

समिकरण बदलिन्छन्÷समिकरण भत्कन्छन ।
जव बन्छन, सुरु हुन्छ भत्काउन पनि ।
मैले होइन उल्ले रोेकेको हो यात्रा
मैले होइन उल्ले गरेको हो जात्रा ।
उ नभएको भए मैले ल्याउने थिए राम राज्य
बर्षौदेखि सुन्दै आएको छु यस्तै यस्तै
कुन कुराको विश्वास लिने
कुन कुराको विश्वास नलिने ?
कतिञ्जेल विश्वास गर्ने ?
कहिलेसम्म आस गर्ने ?
आशै आशामा जीवन वित्दै गर्दा
हरेक बर्ष दुःखमाथि दुःख थप्न
किन आउँछस ए होली ?

देश घुम्छन, विदेश हेर्छन
खै के देख्छन र हो ? कि आँखा चिम्म गरेर हिड्छन् ।
‘शोक न सुर्ता भोक न भकारी’ भनेझै
नागरिकका रित्ता भकारी भर्न
न कुनै योजना, न कुनै उत्साह
बोकेर निरासाको झोली र
उस्तै हुनेछ जीवनको भोली भन्दै
युवा जति पलायन भइरहेको यो समयमा
आएको होलीमा रङ पोतेर कसरी सुखी बन्न सक्छु ।
कालो पोतेर अनुहामा
अनेकौैं कतुर्तको षडयन्त्रको, भ्रष्टाचारको ।
नाङ्गै भएर नाचिरहेछ शासकहरु
उत्साहित भएर नाच्न नसकिने बेला
घाउमा नुन चुक छर्न
किन आउँछस ए होली ?
२०८०।१२।१०

sharadreetu@gmail.com