छबि पुरी /राप्ती पोष्ट
घोराही, चैत । अबको चार दिनपछि अर्थात चैत १५ गतेदेखि हुन लागेको यस वर्षको एसईई परीक्षामा दाङका दुई सय ४२ विद्यालयबाट सबै समुहका गरेर १२ हजार आठ सय ९८ जना विद्यार्थी सहभागी हुन लागेका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले शनिबार पत्रकार सम्मेलन गरी एक सय सात वटा सामुदायिक विद्यालय र एक सय ३५ वटा संस्थागत विद्यालयबाट छ हजार ७६ जना छात्र र छ हजार आठ सय २२ जना छात्राले यस वर्षको एसईई परीक्षामा सामेल हुन लागेको जानकारी गराएको छ ।
परीक्षा समन्वय समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा जिल्लाभरका ४७ वटा परीक्षा केन्द्रबाट साधारण धारतर्फ छ हजार चार सय ६५ छात्रा र पाँच हजार सात सय ६३ जना छात्र गरी १२ हजार दुई सय २८ जना रहेको जानकारी गराइएको थियो । यसैगरी, प्राविधिक धारतर्फ एक सय ६२ छात्रा र एक सय ६१ जना छात्रा गरी तीन सय २३ जनाले परिक्षा दिँदैछन् । ग्रेड वृद्धितर्फ पनि एक सय ९५ जना छात्रा र एक सय ५२ जना छात्र गरी तीन सय ४७ जना विद्यार्थीले परिक्षा दिन लागेका समन्वय एकाई प्रमुख देवमणि चौधरीले जानकारी दिनुभयो ।
यो पटक दुई वटा परीक्षा केन्द्र थप गरिएको छ । थप भएका परीक्षा केन्द्रमा घोराहीमा नेपाल प्रहरी स्कुल र तुलसीपुरमा गोरखा मावि रहेका छन् । जिल्लामा आदर्श मावि लालमटियाबाट दुई जना दृष्टिविहीनले पनि परीक्षा दिन लागेका छन् । परीक्षा दिने एक छात्र र एक छात्रा रहेका छन् । समन्वय इकाईका अनुसार पशुपति मावि हरिपौरीमा अध्ययनरत एक छात्रले सुधार गृहबाट परीक्षा दिने भएका छन् । उनलाई नेपालगंज बाँकेस्थित जयन्द्र बाल सुधारगृहबाट परीक्षा दिने व्यवस्था मिलाईएको समन्वय इकाईकी प्राविधिक सहायक प्रमिला शर्माले बताउनुभयो ।
परीक्षा संचालन गर्न ४७ जना केन्द्राध्यक्ष, ८४ जना सहायक केन्द्राध्यक्ष, छ सय ५१ जना निरिक्षक, एक सय २८ जना सहायक कर्मचारी, दुई सय ५५ जना सहयोगी कर्मचारी गरी एक हजार एक सय ६५ जना जनशक्ति खटिने भएका छन् । परीक्षा संचालनका लागि केन्द्रबाट आवश्यक उत्तरपुस्तिकालगायत सामग्री परीक्षा केन्द्रहरुमा पठाउने काम भईसकेको छ । अरु आन्तरिक तयारी पनि करीव पूरा भईसकेको उहाँले जानकारी दिनुभयो ।
चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका छ । परीक्षा केन्द्रमा विद्यार्थीको चाप अनुसार १० देखि १५ जना सुरक्षाकर्मी पनि परिचालन गर्न लागिएको छ । परीक्षालाई अनुशासित, मर्यादित, भयरहित, स्वच्छ वातावरणमा सम्पन्न गर्न सबै प्रकारको तयारी गरिएको परीक्षा समन्वय समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।
परीक्षा संचालन गर्दा सुरक्षाकर्मीको सहयोगमा परीक्षा हलमा प्रवेश गर्नुपूर्व परीक्षार्थीको खानतलासी गरेर मात्रै परीक्षा हलमा प्रवेश गराउन, परीक्षा संचालनको क्रममा खटिएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरिक्षक, सहयोगी कर्मचारीहरुको अनिवार्य परिचय पत्रको व्यवस्था गर्न, परीक्षा केन्द्र प्रवेशका लागि आधिकारिक निकायबाट अनुमति प्राप्त गरेका पदाधिकारी बाहेक कुनै पनि व्यक्तिलाई परीक्षा केन्द्रमा प्रवेश गर्न नदिने निर्णय गरिएको छ । यसैगरी, पत्रकारहरुलाई फोटो खिच्न परेमा परीक्षा केन्द्रको मूलगेटबाट मात्रै खिच्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।