spot_img
spot_img

कालाकाटे–गढवा सडक कालोपत्रे अलपत्र

छबि पुरी /राप्ती पोष्ट

घोराही, चैत । ठेक्का सम्झौता भएअनुसार काम गरेको भए अहिलेसम्म कालाकाटे गढवा सडक पुनः मर्मत गर्ने अवस्थामा हुन्थ्यो होला । तर, ठेक्का सम्झौता भएकोे साढे चार वर्ष पुग्दासमेत सडकको पिच पूरा भएको छैन । ६५ करोडको लागतमा २०७६ कात्तिक २९ मा बज्रगुरू कान्छाराम जेभीसँग हुलाकी राजमार्ग आयोजना कार्यालयले बनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरे पनि ठेकेदारले काम नगर्दा अहिले सडक कालापत्रेको काम फेरि अलपत्र अवस्थामा छ ।

जबकी हुलाकी सडक अन्तर्गत गढवा गाउँपालिकाको कालाकाटेदेखि राजपुर गाउँपालिकाको सिक्टासम्मको सडक निर्माणको तीन वर्षभित्र सक्ने गरी कार्यालय र निर्माण व्यवसायीबिच सम्झौता भएको थियो । तोकिएको समयमा काम नभएपछि २०७९ मंसिर अन्त्यतिर म्याद थपेर २०८० साउन १० सम्म कायम गराउँदा पनि नभएको सडकको काम गत मंसिर २२ गतेदेखि काम पुनः शुरु गरिए पनि ठेकेदारको लापरवाहीले काम रोकिएको छ ।

निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको हुलाकी सडक निर्माणको काम सुरु गर्न गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पटक पटक आग्रह गरेपछि शुरु भएको काम अहिले फेरी रोकिएको छ । हुलाकी सडक निर्माणको काम सुरु नगरे ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको थियो । हुलाकी राजमार्ग निर्देशनालयको कार्यालय र निर्माण व्यवसायीबिच भएको सम्झौता अनुसार काम गरे जस्तो गरेको ठेकेदार अहिले फेरी काम छाडेर सम्पर्क विहीन बनेको छ ।

मंसीरयता काम गर्न थालेको निर्माण कम्पनीले जेठानगाउँदेखि धैरेनीसम्मको पाँच किलोमिटर सडक मात्रै कालोपत्रे गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो । ‘काम गर्छु भनेर वचन दिएको ठेकेदार कम्पनी फेरी हराएको छ, बल्लबल्ल खोजेर काम गर्न लगाएको अहिले फेरी उस्तै अवस्था छ, काम नगर्दा हामीलाई हैरान बनाएको छ’, उहाँले भन्नुभयो ‘सम्बन्धित कार्यालय र ठेकेदार कम्पनीसँग भन्दा भन्दा म आफै हैरान भईसकेँ । जति भने पनि नलाग्दो रहेछ, काम समयमा सकेको भए सबैलाई सहज हुने थियो ।’

लामो समयदेखि कालोपत्रेको पर्खाईमा रहेका नागरिक पनि धुलाम्मे सडकका कारण आजित बनेका छन् । काम गरे जस्तो गरेर दुई चारदिन देखिने कामदारहरु ठेकेदारकै कारण काम छाडेर जाने गरेका छन् । अहिले पनि अवस्था त्यही भएको छ । ‘आयोजना कार्यालयले कोसिस गरिरहेका छौं । ठेकेदारलाई फकाइरहेका छौं भन्छन् । सडककै कारण जनताले वर्षौंदेखि सास्ती खेपेका छन् । छिटो भन्दा छिटो काम हुनुपर्छ । नभए ठेकेदारले समयमै काम नगरे अब समयमै ठेक्का तोडेर अर्को ठेक्का लगाउनुपर्छ’ अध्यक्ष पोख्रेलले भन्नुभयो ‘हामीले पहिलेदेखि नै काम नगर्नेको ठेक्का तोड्नुुपर्छ भन्दै आएका छौँ । एउटाको कारणले सबैले दुख पाउनुहुदैन भन्ने हो । अहिले पिचको काम बन्द भएको छ । काम किन भएको छैन भन्ने वास्तविकता बुझ्न निकै कठीन भएको छ ।’

हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगंजका आयोजना प्रमुख लीलाबहादुर भण्डारीले निर्माण व्यवसायीका कारण सडक कालोपत्रेको काम अहिले अलपत्र परेको बताउनुभयो । ‘म यो कार्यालयको जिम्मेवारी सम्हाल्न असोजमा आएको हुँ । यो सडकको काम त पहिलेदेखि नै अलपत्र रहेछ । काम गर्न ताकेता गरेपछि मंसीरबाट केही भागमा काम गरेको छ । अहिले काम गर्दागर्दै फेरि छाडेको छ’, उहाँले भन्नुभयो ‘काम गर्ने ठेकेदार भए समयमै गथ्र्यौ होला । यो त दुख दिने बाहेक केही भएको छैन । कति पटक काम गर्न दवाव दिनु र खै ?’

हुन पनि ठेक्का सम्झौता गरेको पक्षले काम अनुसारको भुक्तानी लगेको छ । काम भने पूरा गरेको छैन । ‘भुक्तानीको समस्याले काम रुकेको अवस्था होईन । निर्माण व्यवसायीले आफ्नै कमजोरीका कारण भुक्तानी लिन सकेका छैनन् । बाँकी रहेको रकम दिन कार्यालय तयार छ । सो आयोजनाका लागि रकम पनि छ । कार्यालय भुक्तानी दिन तयार छ’ उहाँले भन्नुभयो ‘भुक्तानीका लागि मैले रकम पनि छुट्याएर राखेको छु । उसको फर्ममा नन फाइलर भएर बसेको रैछ । त्यो बुझाए भने भुक्तानी दिन सकिन्छ । तर, ऊ आफै अहिले यो पूरा गर्न सक्ने अवस्था छ जस्तो लाग्दैन ।’

पछिल्लो पटक पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ । अझै ११ किलोमिटरको काम बाँकी छ ।‘उसले अहिले पाँच हजार तीन सय मिटर जति कालोपत्रे गर्यो । जम्मा १६ किलोमिटरमा ११ किलोमिटर कालोपत्रे अझै बाँकी छ । हामीले कामलाई निरन्तरा दिँदै सम्पन्न गर्न आग्रह गर्दै आएका छौँ, हिजो पनि यो विषयमा निर्माण पक्षसँग कुरा भएको थियो’ उहाँले भन्नुभयो’ ‘तर यो पक्षसँग काम पूरा गर्न निकै गाह्रो छ । अन्य निर्माण कम्पनीको काम गराउन समस्या भएको छैन ।’

उहाँले एक दुई ठाउँको पुल बन्दै गरेको अवस्था रहेकोले यो ठेक्काको काम सकिए गढवा कालाकाटे बाह्रै महिना आवतजावतमा रुकावट नहुने अवस्था रहेको बताउनुभयो । यही अवस्थामा ठेक्का तोड्दा नयाँ ठेक्का लाग्ने सुनिश्चितता नहुने भएकोले स्थानीयलाई झन सास्ती हुने देखेर पनि यसैलाई काम गराउन लागि परेको उल्लेख गर्नुभयो । मंसीर २२ गते पिचको काम शुरु गर्दासम्म जम्मा डेढ किलोमिटर मात्रै सडक कालोपत्रे भएको थियो । कालाकाटेदेखि–गढवा सडकखण्डको बनघुस्रीदेखि गढवासम्मको २० किमी सडकको कामको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३२ प्रतिशत देखिएको छ । २०७९ मै म्याद सकिएकोमा कोभिडको समयमा ठेक्का लागेको र लकडाउनको कारण काम नभएकोेले म्याद थप गरिएको ठेक्कामा अहिले थप भएको म्याद पनि सकिएको छ ।

उता, २०७६ मंसिर १ गते ६९ करोडको लागतमा बनाउने गरी एपेक्स कन्काई खड्का कृष्ण प्रालिले ठेक्का लिएको गढवादेखि राजुपरको गंगदी पारीसम्मको २० किमीको प्रगति भने सन्तोषजनक रहेको देखिएको छ । उक्त सडकको कालोपत्रेको काम सकिएको छ । एक पटक म्याद थपेर २०८० साउन १० सम्म पुर्याइएको उक्त सडकमा बाँकी रहेको फुटपाथ र अन्य काम सकिने अवस्थामा रहेको गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताउनुभयो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img