spot_img
spot_img

अर्थतन्त्रको ओरालो

सम्पादकीय

बास्तविक कुरा गर्दा नकारात्मक कुरा हुन जान्छ । सकारात्मक कुरा गरौं, तत्थ्याङ्कले यस्तो देखाउँदैन । सत्य कुरा सत्य हुन्छ । झुटो कुरालाई जति नै रफ्फु गरौं त्यो सत्य हुँदैन । हालचाल सोध्दा विरामीले पनि ठिकै छु भन्ने जवाफ दिन्छ । भित्री पीडा उसलाई मात्रै थाहा हुन्छ । समस्याको चाँङ बोकेर मानिस भौतारिइरहेको हुन्छ । बाहिर देख्दा ठिक ठाक देखिएपनि भित्री कुरा अर्कै हुन्छ । नेपालमा अर्थतन्त्रका बारेमा यस्तै तथ्याङक बाहिर आइरहेका हुन्छन । सरकारको नेतृत्वमा जो जान्छ उसले अर्थतन्त्रमा सुधार भइरहेको कुरा गर्दछ । पहिलेको तुलनामा राम्रो भइरहेको कुरा गर्दछ । पहिलेको तुलनामा के राम्रो भइरहेको छ ? भन्ने बारेमा जवाफ नपाएर नागरिक अलमलमा छन् । नागरिकको हातमा पैसा छैन । युवाहरु काम खोजिरहेका छन् । युवाहरु काम नपाएर विदेश धाइरहेका छन् । देश छोड्ने केहीका लागि रहरको विषय होला धेरैका लागि बाध्यताको विषय हो । अवसरको खोजिका लागि मानिसले आफ्नो स्थान बदल्ने गर्दछ । हिजोका दिनमा हाम्रा पुर्खाहरु काम खोज्दै महिनौंको यात्रा तय गरेर मुग्लान जान्थे । लाहौर जान्थे । अहिले समय फेरिएको छ । प्रविधिले संसारलाई नजिक बनाएको छ । कहाँ के कस्तो अवसर छ भन्ने बारेमा सवैलाई थाहा छ । कतिपय देशका मानिसहरु संसारका सवैजसो देशमा पुगिरहेका छन् । नेपालीले जाने अनुमती नपाएका मुलुकमा नेपाली पुगेको कुरा रुस र युक्रेनी सेनामा नेपाली पुगेकोबाट थाहा हुन्छ । मानिस रहरले थोरै र बाध्यताले धेरै विदेश गइरहेको छ । कामको खोजीमा गएको छ । देशको अर्थतन्त्र सवल र ठिक ठाक भएको भए यस्तो अवस्था आउने थिएन ।

एउटा तथ्याङकले भन्छ कि कामको खोजीमा विदेश जानेहरुको संख्या हरेक महिना बढीरहेको छ । गएको आर्थिक बर्षलाई आधार मान्ने हो भने हरेक महिना विदेश जानेहरुको संख्या बढीरहेको छ । यो संख्या बैधानिक रुपमा विदेश जानेहरुको हो । अवैधानिक रुपमा विदेश जानेहरुको तथ्याङ्क सरकारसंग रहेको छैन । गएको साउनको महिनामा ५५ हजार पाँच सय ७५ जना मानिस कामको खोजिमा विदेश पुगेका रहेछन् । यस्तै भदौको महिनामा ५० हजार आठ सय ८४ जना विदेश पुगेका रहेछ । असोजको महिनामा ५६ हजनार दुई सय ३५ जना विदेश पुगेका रहेछन् । यस्तै कात्तिकमा ४३ हजार छ सय ३३ जना युवाहरु विदेश पुगेका रहेछन् । मंसिरको महिना यो संख्या ह्वात्तै बढेको देखिन्छ । मंसिरमा ७१ हजार दुई सय ७६ जना युवाहरु कामको खोजिमा विदेशिएका रहेछन् । यसैगरी पुसको महिनामा ६५ हजार आठ सय १३ जना विदेशिएका छन् भने माघको महिनामा ६२ हजार एक सय ४७ जना विदेशिएका छन् । फागुनमा आउँदा यो संख्या ६५ हजार छ सय ५८ जना युवाहरु विदेश पुगेका छन् । गएको साउन यता हरेम महिना करिव ६० हजारको दरले युवाहरु कामको खोजिमा विदेश गएका छन् । कात्तिकको महिनामा दशै र तिहार परेका कारणले संख्या केही कम जस्तो देखिएको छ । कात्तिक पछि अर्थात मंसिरमा आठ महिनामध्य सवैभन्दा धेरै विदेश पुगेका छन् । विदेशमा पुगेकाहरुको संख्यालाई हेर्दा हरेक दिन दुई हजार युवाहरुले देश छोडिरहेका छन् ।

कुनै मुलुकको निर्माणका लागि कर्मशिल जनशक्ति आवश्यक पर्दछ । नेपालमा अहिलेसम्म कर्मशिल जनशक्ति धेरै छ । विस्तारै युवाहरुको संख्यामा कमी आउने देखिएको छ । जनसंख्या बृद्धिदर ऋणात्मक नभएपनि विस्तारै बृद्धिदर ऋणात्मक हुने होकि भन्ने देखिएको छ । काम गर्ने युवाहरु विदेशमा जाने क्रम यसैगरी बढ्यो भने ति युवाबाट जन्मने जनशक्ति स्वभाविकै रुपमा नेपालको नागरिक हुँदैन । नेपालमा जनसंख्या बृद्धिदर ऋणात्मक हुँदै जाने हो भने त्यसको प्रत्यक्ष प्रभाव नेपालको विकासका पर्दछ । विश्वका कतिपय मुलुकहरुमा जनसंख्या बृद्धिदर ऋणात्मक छ तर त्यहाँ उद्योग धन्दाको राम्रो विकास भएको छ । श्रम गर्ने जनशक्ति स्वदेशको नभएपनि काममा लगाउने जनशक्ति देशको छ । काम गर्ने जनशक्ति सस्तोमा दिनका लागि नेपाल जस्ता देशहरु विश्वमा छँदैछन् । नेपाल जस्तै आर्थिक रुपमा कमजोर अवस्थामा रहेका देशहरु सस्तो श्रम विक्रि गरेर त्यसबाट आएको रकमले दैनिक छाक टार्न बाध्य छन् । अरुकोमा काम गरेर कोही पनि धनी बन्दैन । देशको हकमा पनि यहि सुत्र लागु हुन्छ । विदेशमा गएर केही सिप सिक्ने, केही रकम ल्याउने र त्यसलाई उत्पादनको काममा लगाउने हो भने मात्रै त्यसले प्रगति हासिल हुन्छ । अर्थतन्त्रको जोखिम बढ्नुका पछिल्तिर एउटै कारण भनेको हाम्रो नीति हो । हाम्रो नीतिमा रहेको समस्याका कारणले गर्दा नेपालको अर्थतन्त्र ओरोलो लागिरहेको छ । ओरालो लागिरहेको अर्थतन्त्रलाई सुधारको बाटोमा अघि बढाउने हो भने आर्थिक अवस्थाको बास्तविक अवस्था के छ ? भन्ने तथ्य पर्गेल्नुपर्छ । ओरालोमा हिडिरहेको अर्थतन्त्रलाई जोगाउनका अव कसैगरी अवेर गर्नु हुँदैन ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार