spot_img
spot_img

शासकहरू लोकतन्त्रको सीमा बाहिर गए सडकबाटै खवरदारी गरिन्छ– महासचिव पोखरेल

वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै शासकहरू लोकतन्त्रको सीमाभन्दा बाहिर गए जनताले पुनः सडकबाट खबरदारी गर्ने दिन नजिकिएको चेतावनी दिनुभयो ।

पश्चिम नेपालमा कम्युनिष्ट आन्दोलन विस्तार गर्न नेत्रलाल पौडेल ‘अभागी’को ऐतिहासिक भूमिका खेलेको बताउनुभयो । उहाँले थारु समुदायमा राजनीतिक चेतना फैलाउन तथा शिक्षा र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले पुराना राजनीतिक दलहरूप्रति जनतामा अविश्वास बढ्नुका कारण आत्मसमीक्षा आवश्यक रहेको स्वीकार गर्दै दलहरूको कार्यशैली सत्तामुखी बन्दै गएको टिप्पणी गर्नुभयो ।

 

राप्तीपोष्ट

घोराही, ६ जेठ । नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका प्रखर संवाहक, सिद्धान्तनिष्ठ नेता तथा सर्वहारा वर्गका क्रान्तिकारी योद्धा नेत्रलाल पौडेल ‘अभागी’ को ४२ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले दाङले बुधबार स्मृति सभा आयोजना ग¥यो ।
नेकपा (एमाले) दाङ जिल्ला कमिटीको आयोजनामा घोराहीमा आयोजित उक्त भव्य कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैली, लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार र मुलुकको समसामयिक राजनीतिक संकटका बारेमा गम्भीर तथ्यहरु प्रस्तुत गर्नुभयो । महासचिव पोखरेलले वर्तमान सरकार अधिनायकवादी बाटोमा अग्रसर भएको आरोप लगाउँदै यदि शासकहरू लोकतन्त्रको स्थापित सीमाभन्दा बाहिर निस्किएमा जनता पुनः सडकमा ओर्लन बाध्य हुने र त्यो सडक आन्दोलनको दिन अब धेरै नजिक आइसकेको कडा चेतावनी दिनुभएको छ ।
स्मृति सभालाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले जननेता नेत्रलाल पौडेल ’अभागी’ को ऐतिहासिक अवदानको सविस्तार चर्चा गर्नुभएको थियो । उहाँले वि.सं. २०३५÷२०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन र तत्कालीन भूमिगत किसान आन्दोलनलाई एकापसमा जोड्ने कडीका रूपमा नेत्रलाल अभागीको भूमिका अद्वितीय रहेको स्मरण गर्नुभयो ।
तत्कालीन समयमा नेकपा (माले) को स्थापना र सङ्गठन विस्तार गर्ने क्रममा पश्चिम नेपालको भूगोलबाट कमरेड नेत्रलालले खेल्नुभएको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले उहाँले दाङ र आसपासका क्षेत्रमा शोषित, पीडित र उत्पीडित किसानहरूलाई सङ्गठित गर्दै सामान्तवाद विरोधी आन्दोलनको नेतृत्व गरेको बताउनुभयो । दाङमा किसान आन्दोलन उचाइमा पुगेपछि नै यस क्षेत्रको राजनीतिक, सामाजिक र वैचारिक आयाम फराकिलो भएको उहाँको भनाइ थियो ।
महासचिव पोखरेलले अगाडि थप्दै भन्नुभयो कि किसान आन्दोलनको तीव्रतापछि नै नेत्रलाल तत्कालीन निरङ्कुश पञ्चायती राज्यसत्ताको कडा निशानामा पर्नुभएको थियो । विशेष गरी दाङको सामाजिक संरचनामा ठुलो हिस्सा ओगटेको रैथाने थारु समुदायका बीचमा वामपन्थी विचारधारा, वर्गचेतना र राजनीतिक चेतना स्थापित गर्न नेत्रलालले आफ्नो सिङ्गो जीवन आहुति दिनुभएको उहाँले उल्लेख गर्नुभयो ।
नेत्रलालको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै पोखरेलले उहाँ एक कुशल शिक्षक, साहित्यकार र क्रान्तिकारी विचारक भएको बताउनुभयो । नारायणपुरस्थित स्थानीय विद्यालयको स्थापनामा अभागीले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै पोखरेलले उहाँ विद्यालयमा केवल पाठ्यपुस्तक मात्र पढाउनुहुन्नथ्यो, बरु विद्यार्थीहरूलाई समाज परिवर्तनको चेतना र क्रान्तिको कखरा पढाउने गर्नुहुन्थ्यो भन्नुभयो । उहाँको प्रसिद्ध कविता ‘सतीसाल मात्रै ठिंग उभिन सक्छ’ ले आज पनि हरेक क्रान्तिकारीलाई जस्तोसुकै आँधीबेहरीमा पनि आफ्नो सिद्धान्त र निष्ठामा अडिग रहन प्रेरणा दिने बताउँदै क्रान्तिकारीहरू कति जोखिमपूर्ण र कठिन यात्रा गर्दछन् भन्ने कुराको प्रत्यक्ष ऐना कमरेड नेत्रलालको जीवन भएको जिकिर गर्नुभयो ।
शहीद नेत्रलाल अभागीको आदर्श र निष्ठाको चर्चा गरेपछि महासचिव पोखरेलले देशको वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्नुभएको थियो । उहाँले देश र जनताको मुक्तिका लागि दशकौंसम्म जेल, नेल, निर्वासन र अनेकौं त्याग गरेका स्थापित राजनीतिक दलहरू यतिबेला नियोजित रूपमा चौतर्फी अविश्वास र निसानामा पारिएको प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । जनताको मुक्तिका लागि लडेका दलहरूमाथि आज जुन अविश्वास सिर्जना गर्न खोजिएको छ, त्यो यी दलहरूले कुनै गलत नीति लिएर वा कुनै ठुलो अपराध गरेर नभएको दाबी पोखरेलले गर्नुभयो । यो त संसद् र लोकतन्त्र विरोधी शक्तिहरूले फैलाएको भ्रमको परिणाम भएको भन्दै गएको निर्वाचनमा स्थापित दलहरूलाई अस्वीकृत गर्ने खालको वातावरण नियोजित रुपमा बनाइएको आरोप उहाँले लगाउनुभयो ।
गएको निर्वाचनका बेला उम्मेदवार को हो, उसको पृष्ठभूमि के हो, देशका लागि उसको योगदान के हो भन्नेसम्म चिन्नु नपर्ने र केवल ’नयाँ’ को नाममा संवेग फैलाउने काम गरिएको उहाँको गुनासो थियो । उहाँले पुरानालाई गाली गर्ने र नयाँलाई विनाआधार देवत्वकरण गर्ने प्रवृत्तिका कारण जसले नेपालको राजनीतिक परिवर्तन, गणतन्त्र र सङ्घीयताका लागि रगत–पसिना बगाए, उनीहरू नै आज असुरक्षित र आरोपित हुने विडम्बनापूर्ण अवस्था सिर्जना भएको बताउनुभयो । निर्वाचनका बेला दल नबद्ल्ने तर मत बद्ल्ने भन्दै जनतालाई भ्रमित पारिएको र सबैभन्दा धेरै गरिबी र अभावमा बाँचेका नागरिकहरूलाई केही महिनामै देशमा जादुमयी चमत्कार नै हुन्छ जस्तो भ्रम छरिएको भए पनि आज ती भ्रमका महलहरू बिस्तारै भत्किँदै गएको विचार व्यक्त गर्नुभयो ।
महासचिव पोखरेलले देशको राजनीतिलाई गलत दिशामा मोड्नका लागि विगतमा भएका केही घटनाहरूको गम्भीर संकेत गर्दै भदौ २३ र २४ गतेको घटना मुलुकलाई अगाडि बढाउनका लागि नभई राजनीतिक स्थिरता भत्काउनका लागि रचिएको प्रपञ्च भएको दाबी गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेको घटनामा विद्यार्थीहरूलाई राजनीतिक स्वार्थका लागि कसले प्रयोग गरेको थियो, तिनको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनै पर्ने माग गर्नुभयो ।
राजनीतिक प्रतिशोध साध्नका लागि प्रतिपक्षीलाई ’हत्याराको पार्टी’ सम्म भनेर जघन्य आरोपहरू लगाइएको प्रति आक्रोश पोख्दै उहाँले ती घटनाहरू राजनीतिक रूपमा नेकपा (एमाले) लाई मात्र कमजोर पार्न रचिएको भए पनि त्यसको दीर्घकालीन असर समग्र लोकतान्त्रिक प्रणालीमा परेको उल्लेख गर्नुभयो । त्यस बेला अन्य राजनीतिक दलहरूले यो एमालेको मात्र समस्या हो भनेर रमिते बनेको र कतिपयले त यसलाई परिवर्तनको रूपमा व्याख्या गर्ने ऐतिहासिक गल्ती समेत गरेको आरोप पोखरेलले लगाउनुभयो । दलहरूले स्पष्ट रूपमा यो षड्यन्त्र हो भन्न नसकेका कारण आज ती दलहरू आफैं पनि सङ्कटको भुमरीमा फसिसकेको उहाँको राजनीतिक विश्लेषण थियो ।
वर्तमान सरकारको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गर्दै महासचिव पोखरेलले सरकार लोकतान्त्रिक मूल्य र शक्ति सन्तुलनको सिद्धान्तलाई लत्याउँदै अमेरिकी राष्ट्रपतीय मोडल वा निरङ्कुश कार्यपालिकाको ढाँचामा चल्न खोजेको आरोप लगाउनुभयो । सरकार भनेको अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले यसले राज्यका स्थायी संयन्त्रहरूको सम्मान गर्नुपर्ने भए पनि अहिलेको सरकार स्थापित लोकतान्त्रिक परिपाटी विरुद्ध अधिनायकवादी बाटोमा अघि बढेको उहाँले बताउनुभयो ।
पोखरेलले राज्यका प्रमुख अङ्गहरूमाथि सरकारले नियन्त्रण बढाउँदै लगेको प्रति घोर आपत्ति जनाउनुभयो । राज्यको चौथो अङ्ग मानिने सञ्चार जगत्, राष्ट्र निर्माणका खम्बा मानिने शिक्षक र निजामती कर्मचारीहरू अहिले सरकारको पहिलो निसानामा परेको उहाँको भनाई थियो । समाजको सचेत र बोल्न सक्ने वर्ग भनेकै शिक्षक, बुद्धिजीवी र कर्मचारीहरू भए पनि आज सरकारको त्रास र अधिनायकवादी नीतिका कारण यो वर्ग पनि स्वतन्त्र रूपमा बोल्न र आफ्ना विचार राख्न नसक्ने गरी भयभित पारिएको उहाँले उल्लेख गर्नुभयो ।
न्यायपालिकाको स्वतन्त्रतामाथि पनि सरकारले ठाडो हस्तक्षेप गरेको भन्दै पोखरेलले कडा असन्तुष्टि व्यक्त गर्नुभयो । अदालत राज्यको शक्ति सन्तुलनको मुख्य प्रतीक हुनुपर्नेमा न्यायपालिकालाई सन्तुलनमा राख्नुपर्ने ठाउँमा वरीयता र स्थापित मान्यता मिचेर हतार–हतार चौथो नम्बरका व्यक्तिलाई राजनीतिक स्वार्थका आधारमा नियुक्ति गरिएको आरोप लगाउनुभयो । अदालतलाई स्वतन्त्र संस्था रहन नदिई सरकारको आफ्नै मातहतको एउटा लाचार निकाय बनाउने दुश्प्रयास भइरहेको भन्दै उहाँले नेपाली जनता आफ्नो प्रधानमन्त्रीलाई सुन्न र देशको निकासका योजनाहरू बुझ्न चाहने भए पनि वर्तमान प्रधानमन्त्रीले संसद् र लोकतन्त्र दुवैको उपेक्षा गरिरहनुभएको बताउनुभयो ।
सरकारले भूमिहीन, सुकुम्बासी र विपन्न वर्गप्रति अमानवीय व्यवहार गरिरहेको आरोप लगाउँदै महासचिव पोखरेलले काठमाडौँ लगायतका क्षेत्रमा सुकुम्बासीहरूलाई बन्दीलाई जस्तो व्यवहार गरिएको दाबी गर्नुभयो । सरकारले राहत र पुनस्र्थापनाका नाममा घोषणा गरेको नीतिलाई उपहासको संज्ञा दिँदै उहाँले काठमाडौँमा सुकुम्बासीहरूलाई व्यवस्थापनका नाममा केवल १५ हजार रुपैयाँ दिने भनिएकोमा आपत्ति जनाउनुभयो । आजको यो चरम महँगीको जमानामा १५ हजार रुपैयाँले एउटा परिवार कसरी पाल्न सकिन्छ भन्दै यो पैसा दिने नाममा गरिब जनताको आँखामा छारो हाल्ने र उनीहरूको उठिबास लगाउने प्रपञ्च मात्रै भएको धारणा राख्नुभयो । वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्नका लागि पोखरेलले आफ्नै पार्टी नेकपा (एमाले) भित्र पनि गम्भीर आत्मसमीक्षा र कार्यशैलीमा परिवर्तनको आवश्यकता औंल्याउनुभयो । उहाँले जनता र राजनीतिक प्रतिनिधिहरूबीचको दूरी बिस्तारै बढ्दै गएको कुरालाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।
हामीले गम्भीरतापूर्वक बुझ्नुपर्छ कि हाम्रा जनप्रतिनिधिहरू बिस्तारै जनताको जगबाट कटिसकेका रहेछन् र हाम्रो समग्र राजनीतिक कार्यशैली सामूहिक र जनताकेन्द्रित हुनुपर्नेमा बढी सत्तामुखी भइरहेको स्विकार्नुभयो । हामीले कता कता लोकतान्त्रिक दलको भूमिकाभन्दा पनि परम्परागत शासककै शैलीमा शासन गर्न थालेका रहेछौं भन्ने कुरालाई आत्मसात गर्नैपर्ने उहाँको भनाइ थियो । उहाँले पार्टीको साङ्गठनिक संरचना कमजोर भएकोमा चिन्ता व्यक्त गर्दै विगत केही समययता हाम्रो कमिटीगत प्रणाली कमजोर भएको र सामुहिकताको भावनामा ह्रास आएको उल्लेख गर्नुभयो । जनतासँग पुनः बलियो सम्बन्ध जोड्ने हो भने कमिटी प्रणालीलाई पुनर्संरचना गर्नैपर्ने, समाजमा फैलिएको सस्तो पपुलिष्ट प्रभावबाट पार्टी र कार्यकर्ताहरूलाई मुक्त राख्दै विचार र सिद्धान्तको राजनीतिमा जोड दिनुपर्ने तथा राजनीतिलाई समसामयिक र प्रभावकारी बनाउने हो भने सोसल मिडियालाई सही र रचनात्मक ढङ्गले आफ्नो पहुँच र नियन्त्रणमा राख्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
आफ्नो सम्बोधनको अन्त्यमा महासचिव पोखरेलले जनताको पाँच वर्षको जनमतको सम्मान गर्ने एमालेको नीति भए पनि सरकारले संविधान र लोकतन्त्र नै सिध्याउने बाटो समातेमा संसद् कुरेर मात्र नबस्ने स्पष्ट पार्नुभयो । देशको स्थिरताका लागि पाँच वर्षका लागि जनमत दिइसकेकाले त्यसको कदर गरिने भए पनि अब लोकतन्त्र, संविधान र नागरिक अधिकारकै रक्षाका लागि पुनः सडकमा गएर अधिकार माग्नुपर्ने र सरकारलाई घुँडा टेकाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो । जनताको दिमागमा एमाले, कांग्रेस र माओवादी जस्ता स्थापित दलहरूलाई किन पत्याउने भन्ने जुन संशय पैदा गरिएको छ, त्यसको भ्रम चाँडै टुट्ने र फेरि पनि देशको नेतृत्व यिनै विचारवान दलहरूले नै गर्नुपर्ने दाबी उहाँले गर्नुभयो ।
नेकपा (एमाले) दाङका जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा सम्पन्न सो स्मृति सभामा पार्टीका अन्य केन्द्रीय तथा प्रान्तीय नेताहरूले पनि शहीद नेत्रलाल अभागीको स्मृति र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना भनाइहरू राख्नुभएको थियो । कार्यक्रममा बोल्दै नेकपा (एमाले) का केन्द्रीय सदस्य नरुलाल चौधरीले नेत्रलालले देखाएको कम्युनिस्ट आचरण र सादगी जीवनलाई आजका कार्यकर्ताहरूले आफ्नो जीवनमा उतार्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, केन्द्रीय अनुशासन आयोगका सदस्य छविलाल वली र लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले वर्तमान दक्षिणपन्थी अवसरवादका विरुद्ध वैचारिक सङ्घर्ष बलियो बनाउनुपर्ने धारणा राख्नुभएको थियो । जिल्ला कमिटीका उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण जिल्ला सचिव सूर्यबहादुर डाँगीले गर्नुभएको थियो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार