कविता
शरद ऋतु
रगतको आहलमा खेलेकाहरुको
तालुमा आलु फलिरहेको बेला,
बन्दुक बोकेर बर्गयुद्ध गर्ने बेला
सन्दुकमा लुकेकाहरुको बोली विक्रि भएको बेला
होलीका नाममा रङ् दलेर
कसरी खुसी हुन सक्छु र ?
एक होइन, हजार होइन लाखौंको
आशामा तुषारापात भएको बेला
किन आउँछस ए होली ।
इतिहास के थियो ?
इतिहासमा के भयो ?
हिरण्य कश्युपको कुरा
होलीका दहनका कुरा
केही बुझ्दैन म किन हो ?
मात्र बुझिरहेको छु, हिजो रोएकाहरु
रोइरहेका छन्, चामलका लागि, नुनका लागि
कम्तिमा गुनको बदला तिर्नुपर्छ भनेर
एउटा सानो भुल नगरेको भए
होलीलाई हर्षको रुपमा मनाउन सकिन्थ्यो
मन रोएको, तन रोएको यो समयमा
किन आउँछस ए होली ?
भन्नलाई त भन्न सक्छु
कति रुनु जीवनमा, हाँस्नुपर्छ ।
हाँसेर बाँच्नुपर्छ, बाँचेर नाच्नुपर्छ ।
नाच्नका लागि न आगँन रह्यो
न सिप बच्यो कुनै हातमा
देश उचाल्ने युवाहरु
बा को मुहारमा खुसी ल्याउन भन्दै
सात समुन्द्र पारी
अनकण्टार जंगल छिचोलिरहेको बेला
अनुहारमा रङ दलेर,
कसरी म होली मनाउन सक्छु ।
उल्लास, उत्साह र उमङ्ग
अरुको बन्धनमा परेको यो समयमा
किन आउँछस ए होली ?
समिकरण बदलिन्छन्÷समिकरण भत्कन्छन ।
जव बन्छन, सुरु हुन्छ भत्काउन पनि ।
मैले होइन उल्ले रोेकेको हो यात्रा
मैले होइन उल्ले गरेको हो जात्रा ।
उ नभएको भए मैले ल्याउने थिए राम राज्य
बर्षौदेखि सुन्दै आएको छु यस्तै यस्तै
कुन कुराको विश्वास लिने
कुन कुराको विश्वास नलिने ?
कतिञ्जेल विश्वास गर्ने ?
कहिलेसम्म आस गर्ने ?
आशै आशामा जीवन वित्दै गर्दा
हरेक बर्ष दुःखमाथि दुःख थप्न
किन आउँछस ए होली ?
देश घुम्छन, विदेश हेर्छन
खै के देख्छन र हो ? कि आँखा चिम्म गरेर हिड्छन् ।
‘शोक न सुर्ता भोक न भकारी’ भनेझै
नागरिकका रित्ता भकारी भर्न
न कुनै योजना, न कुनै उत्साह
बोकेर निरासाको झोली र
उस्तै हुनेछ जीवनको भोली भन्दै
युवा जति पलायन भइरहेको यो समयमा
आएको होलीमा रङ पोतेर कसरी सुखी बन्न सक्छु ।
कालो पोतेर अनुहामा
अनेकौैं कतुर्तको षडयन्त्रको, भ्रष्टाचारको ।
नाङ्गै भएर नाचिरहेछ शासकहरु
उत्साहित भएर नाच्न नसकिने बेला
घाउमा नुन चुक छर्न
किन आउँछस ए होली ?
२०८०।१२।१०