spot_img
spot_img

घोराहीको परिचय फेर्ने जलासयहरु

शरद अधिकारी /राप्ती पोष्ट

घोराही, ६ चैत । घोराही उपमहानगरपालिका मुलुकका ११ उपमहानगरपालिकामध्य सवैभन्दा ठूलो छ । घोराहीको जनसंख्या दुई लाख नाघेको छ भने भुगोलका हिसावले अन्य उपमहानगरपालिका भन्दा ठूलो छ । २०३५ सालमा घोराही नगरपञ्चायत बन्दा घोराही, हरिद्वार, रावतगाउँ र सेवार बनगाउँलाई गाभिएको थियो । चुरे र महाभारात पर्वतले घेरेको एसिया कै दोस्रो ठूलो उपत्यका दाङ उपत्यकाको पूर्वि भाग र केही पहाडी इलाकामा फैलिएर कुल ५२२.२१ बर्ग किलोमिटर क्षेत्रफल रहेको छ । उपमहानगरपालिकाको पूर्वमा बंगलाचुली गाँउपालिका पर्दछ भने पश्चिममा तुलसीपुर उपमहानगरपालिका रहेको छ । यसैगरी उत्तरमा रोल्पा जिल्ला र दक्षिणमा लमही नगरपालिकाले घेरिएको छ ।

२०६८ सालको जनगणना अनुसार घोराही उपमहानगरपालिकामा ३५ हजार चार सय १९ घरधुरीमा गरी कूल जनसंख्या एक लाख ५६ हजार एक सय ६४ रहेको थियो भने २०७८ सालको जनगणना अनुसार घोराही उपमहानगरपालिकामा ४९ हजार सात सय ६१ घरधुरीमा गरी कूल जनसंख्या दुई लाख पाँच सय ३० रहेको छ जस्मा ४६.८ प्रतिशत पुरुष छन भने ५३.२ प्रतिशत महिला रहेका छन ।

घोराहीको पहिचान विविधतापूर्ण रहेको छ । जातीय रुपमा घोराही उपमहानगरपालिकामा खस आर्य, दलित, जनजाति, मधेसी, मुस्लिम आदिको बसोबास छ । २०३५ देखि २०७३ सालसम्म घोराही ११ वटा वडामा सिमित रहेको थियो । उपमहानगरपालिका घोषणा भएपश्चात घोराहीमा १९ वटा वडा रहेका छन् । नेपाल सरकारको २०७३ साल फागुन २२ गतेको निर्णयअनुसार साविक घोराही नगरपालिकामा त्रिपुर नगरपालिका लगायत सौडियार गाविस, सैघा गाविस, धर्ना गाविस, रामपुर गाविस र लक्ष्मीपुर गाविसलाई समायोजन गरिएको थियो । त्रिपुर नगरपालिकामा साविकका नारायणपुर, हापुर र ढिकपुर गाविसलाई गाभिएको थियो ।

ज्यामिरे दह, घोराही, १३

घोराहीमा ऐतिहासिक पर्यटकिय स्थलहरु रहेका छन् । धार्मिक स्थलहरु रहेका छन् । पहाडी भुगोल छ । सम्म मैदानी भाग छ । चुरेदेखि महाभारतसम्म फैलिएको छ । घोराहीको पहिचान अहिले नयाँ भएको छ । अर्थात घोराही अहिले तालै तालको शहर भएको छ । घोराही उपमहानगरपालिकामा २०७४ सालमा नयाँ जनप्रतिनिधि आएपछि भएका विभिन्न कामहरु मध्य ताल तलैया बनाउने कामले प्राथमिकता पाएको थियो । घोराहीका १९ वटा वडामध्य सवैजसो वडामा कुनै न कुनै जलासय रहेका छन् । जसले घोराहीको पहिचानलाई फरक बनाइदिएको छ ।

घोराही बजारमा व्यावसायिक तरकारी आपूर्ति गर्ने गाविस कुनै बेला रामपुर थियो । २०५४ सालमा हाल घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी साविक रामपुर गाविसको अध्यक्ष हुँदा तरकारी खेती गर्नुहुन्थ्यो । रामपुरमा पानीको स्रोतको व्यवस्थापन गर्नका लागि विभिन्न निकायले सहयोग गरेका थिए । त्यसको केही बर्षपछि घोराही नजिकका रहेका अन्य गाविसमा पनि खेतीपाती सुरु भयो । खेतीपाती त सुरु भयो तर समस्या पानीको थियो । अहिले घोराहीमा यति धेरै ताल तलैया बनेका छन् कि सिचाईका लागि निकै सजिलो भएको छ ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी घोराहीमा ठूला नदी र पानीको स्रोतको कमी भएका कारणले गर्दा तलाउ बनाएर पानी संकलन गर्ने योजना ल्याएको बताउनुहुन्छ । पानीको स्रोत कमी आउन नदिनका लागि घोराहीका विभिन्न वडामा गरेर ४३ वटा कृतिम जलासय बनिसकेका छन् । घोराहीमा सवैभन्दा पहिले वडा नं. १८ मा कृतिम जलायस बनाइएको थियो । जनप्रतिनिधि आएपछि कृतिम जलासय बनाउने क्रमले तिव्रता पाउँदा वडापिच्छे कृतिम जलासय बनेका छन् ।

घोराही उपमहानगरपालिकाले पानीको स्रोत बचाउन, सिँचाई सुविधामा बढवा दिन, पर्यटन प्रबद्र्धन गर्न र वाताबरणीय सन्तुलन कायम गर्न ४३ वटा कृत्रिम जलाशय बनाएको नगरप्रमुख चौधरीको भनाई छ । उपमहानगरले पानीको मुहान सुक्न थालेपछि पानी जोगाउन कृत्रिम जलाशय निर्माणमा जोड दिएको उहाँको भनाई छ । घोराहीमा सहरी क्षेत्र विस्तार हुँदै गएपछि पानीको अभाव पनि बढ्न थालेको हुँदा नगरपालिकाले घोराहीका अधिकांश स्थानमा कृत्रिम जलाशयको अवधारणा अगाडि सारेको हो । जसमा नयाँ कृत्रिम जलाशय निर्माणदेखि पहिलेदेखि रहेको पानी पोखरी, दहहरुलाई थप मर्मत गरी उपयोगी जलाशय बनाइएका छन् ।

यसरी बनाइएका जलासयहरु मध्य कतिपय वर्षाको समयमा आकाशबाट आउने पानीलाई संकलन गर्ने तलाउका रुपमा रहेका छन् भने कतिपय स्थानमा मुल संरक्षण गरेर पानी जम्मा पारिएको छ । पानीका पोखरी बनाउन थालेसंगै घोराहीको परिचय फेरिएको छ । घोराहीमा विभिन्न स्थानमा निर्माण गरिएका कृतिम तालबाट खेती गर्ने काममा ठूलो सघाउ पुगेको छ भने कतिपय तालहरु पर्यटकिय स्थलका रुपमा विकास भएका छन् ।

पानी संकलन गर्ने साथै स्थानीय जनताहरुको जीविकोपार्जन र आयआर्जनमा जोड दिने उद्देश्यले जलाशयको निर्माणलाई प्राथमिता दिएको नगर प्रमुख चौधरीको भनाई छ । उहाँका अनुसार ‘पानी संरक्षणलाई पहिलो प्राथमिकता दिएर बनाइएका कृत्रिम जलाशयहरु अहिले बहुउपयोगी भएका छन् । जलाशयको नगरका रुपमा परिचित यस उपमहानगरपालिका भित्र ४३ वटा कृत्रिम जलाशयहरु रहेका छन् । सुख्खापनलाई हटाउँदै पानीको स्रोत संरक्षण गर्नका लागि बनाइएका ती कृत्रिम जलाशयहरु अहिले आम्दानीको गतिलै स्रोत बनेका छन् ।’

घोराही उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी घोराही उपमहानगरपालिकाले निर्माण गरेका जलाशयहरुबाट पाँच सय बिघा भन्दा बढी क्षेत्रफलमा बाह्रै महिना सिँचाई सुबिधा पुगेको बताउनुहुुन्छ । घोराहीमा रहेका केही खोलाहरु बर्षातको समयमा पानी आउने तर हिंउद लाग्दा नलाग्दै सुक्ने गरेका थिए । डिप बोरिङमा पनि पानी गहिरिदै जाने समस्या रहेका कारणले गर्दा पानी जम्मा गर्नका लागि कृतिम जलायसको योजना अघि सारिएको केसीको भनाई छ ।

दाङ–हिँउदमा सिंचाई गर्ने पानी थिएन । खेतबारी बाँझो थिए । खेतीपाती गर्नेहरुले पनि हरेस खाँदै थिए । पानी भएन त केही भएन । यस्तै स्थितिमा थिए घोराहीका धेरै बस्ती । तर, सिंचाईका लागि मानव निर्मित जलासय निर्माण गर्ने योजना बन्यो । त्यो योजना अहिले वरदान सावित बन्न पुगेको छ । घोराही उमपहानगरपालिका वडा नं. १७ का सुभम चौधरीले आकाशे पानीको भरमा खेती गर्दै आउनुभएको थियो । पिउने पानीकोसमेत समस्या थियो । केही बर्ष यता खेतबारीमा अहिले कृत्रिम तालमा जम्मा भएको पानी सिँचाइ गर्न थालेपछि खेती गर्न सजिलो भएको छ । ‘पानीको सुविधा नहुँदा तरकारी बजारबाट किनेर खाने गरेका थियौँ अहिले बाह्रै महिना तरकारी खेती गरेर आम्दानी गर्ने भएका छौँ,’ उहँँले भन्नुभयो । चौधरी लगायतले नजिकै रहेको जलासयको पानी मोटरले तानेर खेतबारीमा पु¥याउने गर्नुभएको छ । जलासयको पानीले ८० देखि ९० बिघा जमिनमा सिँचाई भइरहेको चौधरीले बताउनुभयो ।

पहिले गर्मी लाग्दा नलाग्दै इनारमा पानी सुक्ने समस्या हुने गर्दथ्यो । खेतीपाती त निकै टाढाको कुरा थियो । जलायसका कारणले गर्दा वडा नं. १ देखि वडा नं. १९ का विभिन्न स्थानमा निर्माण गरिएका जलासयका कारण जमिन मुनीको पानी समेत बढ्न थालेको छ । इनारहरु सुक्ने समस्या कम हुँदै गएको छ । घोराही उपमहानगरपालिकाले केही जलाशयमा माछापालनका लागि सहयोग गरेके छ भने पर्यटन प्रवद्र्धनका लागि केही जलासयमा डुंगाको व्यवस्था गरिदिएको छ । खुला भाग र चिरा, सोता र खोलाहरुलाई थुनेर जलासय बनाइएको छ । जलाशयबाट ओसीलोपना बढेको छ । पानीको स्रोत बढेको छ । विभिन्न नयाँ र लोपोन्मुख चराचुरुङगीहरुको आगमन भएको छ भने वातावरण हरियाली भएको छ । केही समय यता घुमफिर गर्नेहरुलाई रमाईलो गर्नेहरुको संख्या बढ्दै गएको छ । मानिसहरु बनभोज खान, फोटो खिच्न र घुमघामका लागि जलासयलाई रोज्ने गरेका छन् । घोराही उपमहानगरपालिकाले ‘एक वडा एक जलाशय’ अभियान सञ्चालन गरेको भएपनि कतिपय वडामा तीन चारवटा सम्म जलासय निर्माण गरिएको छ । घोराहीको बजार क्षेत्र वडा नं. १५ बाहेक सवै वडामा साना ठूला गरेर जलासय निर्माण गरिएको छ ।

जलासय निर्माणका लागि २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको टिमले महत्वपूर्ण योगदान गरेको थियो । जलासय निर्माणका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पु¥याउने काम भएको उपमहानगरका उप प्रमुख हुमा डिसीको भनाई छ । जलाशय निर्माणसँगै स्थानीयले सिँचाइ सुविधा लिएर कृषि पेसाबाट पर्याप्त आम्दानी लिन थालेपछि उत्साहित भएको उहाँको भनाई छ । कृषि र पानीको स्रोत बढाउन अभियान सुरु गरिएको बताउँदै उपप्रमुख डिसीले सुख्खा हुँदै गएको जमिनमा सिँचाइ सुविधा पुगेको छ । उहाँले कृतिम जलायसयले घोराहीको परिचय नै बदलेको दावी गर्नुभयो । सबैभन्दा धेरै वडा नं. १७ मा आठवटा जलाशय निर्माण भएको उपप्रमुख हुमा डिसीले जानकारी दिनुभयो ।

उपमहानगरभित्र पालिका र वडाले स्रोत व्यवस्थापन गर्नुका साथै केही प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी जलाशय निर्माण गरिएको उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इञ्जिनियर युवराज पौडेलले बताउनुभयो । कुनै ठाउँमा साना पोखरीका रुपमा रहेका जलाशयलाई विस्तार गरिएको छ भने कतै ठूला जलासय बनाईको छ । घोराहीको वडा नं. १ र २ मा पर्ने चेपे ड्याम, वडा नं. ४ लक्ष्मीपुरमा निर्माण गरिएको ड्याम, वडा नं. १३ मा निर्माण गरिएको ज्यामिरे दह, वडा नं. १७ कर्जाहीमा निर्माण गरिएको जलासयहरु मुख्यगरी रहेका छन् ।

घोराही उपमहानगरपालिकाका प्रमुख चौधरी सम्भाव्य स्थानको खोजी गरेर जलायसको संख्या बढाउने योजना कायमै रहेको बताउनुहुन्छ । आर्थिक बर्ष २०८०÷२०८१ नीति तथा कार्यक्रममा नगर क्षेत्रभित्र रहेका सम्भावित खोला, खोल्सी, सिमसार लगायत सम्भावित क्षेत्रहरुको सम्भाव्यता अध्ययन गरी पानीको मुहान संरक्षण गर्ने कुरा प्राथमिकता साथ राखिएको छ । यस्तै भूमिगत जलभण्डार पुनर्भरण तथा सिंचाईको लागि रज्जे मन्नामे तथा अन्य स्थानहरुको पहिचान गरी कृतिम जलासयलाई प्राथमिकता दिइने पनि नगरप्रमुख चौधरीले बताउनुभयो । घोराहीको पहिचान बदल्ने योजनाका रुपमा रहेकाले आगामी दिनमा पनि कृतिम जलासय निर्माणको कामलाई निरन्रता दिने सोचमा आफूहरु रहेको चौधरीको भनाई छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार