spot_img
spot_img

गढवामा सहकारीका लागि कोपोमिस तालिम

आलोक भावुक/राप्ती पोष्ट

गढवा, ३ वैशाख । दाङ देउखुरीको गढवा गाउँपालिका मा सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरूका लागि दुईदिने कोपोमिस तालिम बिहीबारदेखि सुरु भएको छ । गाउँपालिकाको सभाहलमा सञ्चालन भइरहेको तालिममा स्थानीय तहभित्र क्रियाशील सहकारी संस्थाबाट २३ जना व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल ले सहकारी संस्थालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन कोपोमिस प्रणाली अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार कागजी प्रक्रियाबाट डिजिटल प्रणालीतर्फ रूपान्तरण गर्दै सहकारीको कार्यप्रणालीलाई आधुनिक बनाउने दिशामा कोपोमिसले महत्वपूर्ण भूमिका खेल्नेछ ।

उहाँले सहकारी संस्थाहरूलाई प्रविधिमैत्री बनाउँदै सेवा प्रवाहलाई छिटो, सहज र विश्वसनीय बनाउन यस्ता तालिमहरू उपयोगी हुने उल्लेख गर्नुभयो । साथै, गाउँपालिकाले सहकारी क्षेत्रको सुदृढीकरणका लागि आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहकारी शाखा प्रमुख अशोक कुमार यादव ले कोपोमिस प्रणालीको महत्त्वबारे प्रकाश पार्दै सहकारीका सम्पूर्ण गतिविधिहरू—सदस्य विवरण व्यवस्थापन, बचत तथा ऋणको अभिलेख, शेयर व्यवस्थापन, तथा दैनिक, मासिक र वार्षिक प्रतिवेदन तयारी—डिजिटल माध्यमबाट सञ्चालन गर्न सकिने बताउनुभयो ।

उहाँका अनुसार कोपोमिसले लेखा परीक्षण प्रक्रियालाई समेत सहज बनाउने भएकाले सहकारी संस्थाको पारदर्शिता र विश्वासनीयता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । वर्तमान समयमा डिजिटल प्रणालीको प्रयोग बिना सहकारी संस्थालाई सबल र सुदृढ बनाउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले सहभागीहरूलाई तालिम अवधिभर गम्भीरतापूर्वक सिकाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

तालिममा सत्यपाल यादव प्रशिक्षकको रूपमा रहनुभएको छ । उहाँले सहजीकरण गरिरहेको उक्त तालिममा कोपोमिस प्रणालीको प्रयोग, डाटा इन्ट्री, रिपोर्ट तयार गर्ने तरिका तथा व्यवहारिक अभ्यासहरू समेटिएको छ । गाउँपालिकाले सहकारी संस्थाहरूलाई प्रविधिमैत्री बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । सहभागीहरूले तालिमबाट सिकेका सीपहरू संस्थागत रूपमा कार्यान्वयनमा ल्याए सहकारी क्षेत्र थप व्यवस्थित र विश्वसनीय बन्ने विश्वास गरिएको छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार