spot_img
spot_img

लगाव र मेहनतबाट सफलता पाएका सागर

राप्ती पोष्ट

दाङ, चैत । निरन्तरको लगाव र मिहिनेतबाट सफलता प्राप्त हुन्छ भन्ने उदाहरण सागर अधिकारी ‘शरद’ ले प्रस्तुत गर्नुभएको छ । साङ्गीतिक क्षेत्रमा दुई दशक विताउनुभएका अधिकारीले विश्व कृतिमानी गायकका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ । उहाँले प्राप्त गर्नुभएको सफलताले कुनै काममा सफलता पाउनका लागि धैर्यता, निरन्तरता र मिहिनेत आवश्यक पर्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।

२०५७ सालमा पहिलोपल्ट गीतमा आवाज भर्नु भएका सागरको अहिले चौतर्फी चर्चा चुलिएको छ । काममा विश्वास गर्ने उहाँ चल्तीका गायक र सङ्गीतकारमा गनिनुहुन्छ । धैर्यता र निरन्तरलाई सफलताका सूत्र मान्ने सागर भन्नुहुन्छ, ‘निरन्तर मिहिनेत गर्ने हो भने एक दिन सफल भइदोरहेछ । निरन्तर २३ वर्ष मैले गरेको परिश्रमका कारण आज एउटा उपलब्धी हासिल गरेको छ’, सागरले भन्नुभयो । उहाँले थप्नुभयो, ‘धैर्यता नहुँदो हो त म उहिले नै यो क्षेत्रबाट हराइसकेको हुने थिएँ । त्यसैले सफलताका लागि आफ्नो कामलाई निरन्तरता दिन आग्रह गर्दछु ।’ सुगम संगीत, आधुनिक गायन र सेमी क्लासिकल शैलीका गजल गाउन र सङ्गीत गर्न रुचाउने सागरका दुई सय ५० बढी गीत गजल रेकर्ड भइसकेका छन् ।

सङ्गीतको औपचारिक ज्ञान बिना गायनमा प्रवेश गरेका सागर शाश्त्रिय संगीतमा गायनतर्फ स्नातकोत्तरसम्मको अध्ययन पुरा गरिसक्नुभएको छ । महेन्द्र बहुमुखी क्याम्पस दाङमा आयोजित कार्यक्रममा गीत गाएको सुनिसकेपछि डा. गोविन्द आचार्यले २०५७ सालमा गीत रेकर्ड गराइदिएको स्मरण गर्दै सागरले भन्नुभयो, ‘सङ्गीतको औपचारिक ज्ञान नहुँदा गोविन्द दाइले गीत गाउने अवसर दिनुभयो । त्यसपछि मैले व्यवसायिक रूपमै अघि बढाउँछु भन्ने धारणाका साथ गीत रेकर्डिङ भन्दा पनि संगीत अध्ययनलाई बढी प्राथमिकता दिन थाले । जो अहिले बाँच्ने आधार बनेको छ ।’ वर्तमान पुस्ता राम्रो सिर्जना गर्ने भन्दा पनि कसरी हिट बनाउने भन्नेतर्फ मात्रै लाग्ने गरेको बताउँदै सागरले आफूले सुन्दर सृजनाका लागि लागिपर्ने बताउनुभयो । ‘म तड्पिएको हेर्ने हौ भने मरुभूमि भई हेर’ बोलको गीतबाट साङ्गीतिक यात्रा प्रारम्भ गर्नुभएको सागरका ‘नजाऊ टाढा कतै यी नजरदेखि’ ‘मलाई लट्ठै लट्ठै लट्ठै बनायो’, मैले जति माया तिम्लाई कस्ले, मदिराले आज मलाई रमाउन सिकायो चर्चामा रहेका गीत हुन् ।

यसरी भएको थियो विश्व कृतिमानी काम

विश्वकै उच्च स्थानमा रहेको तिलिचो तालमा प्रत्यक्ष गीत रेकर्ड गरेर गीनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएर विश्व कृतिमानी कायम गर्नुभएका सागरले काम गर्दाका दुःखद् क्षण सफलताले भुलाएको बताउनुभयो । ‘आजको खुसीले हिजोको पीडा बिसाई दिएको छ । अग्लो स्थानमा रेकर्ड र छायांकन गर्न सहज थिएन । छायांकनको दौरानमा अनेकन घटनाहरु घटे त्यहाँबाट लडेको मात्र भए के के हुन्थ्यो कसैलाई थाहा थिएन’, सागरले भन्नुभयो, ‘खुट्टाको पाइला राख्नेबाहेक अरू ठाउँ थिएन । केही तलमाथि भयो भने ढ्ंगाले मान्छेसमेत लग्ने बाटो हुँदो रहेछ त्यहाँ ।

‘डिआर उपाध्यायलाई त अन्नपूर्ण बेस क्याममै गाह्रो भएर इमर्जेन्सी हेलिकप्टर बोलाएर पोखरा ल्याई काठमाडौँ ल्याउनुपरेको थियो । त्यस्तो गाह्रो हुँदा पनि हामीले रेकर्ड राख्नुपर्छ भनेर पीडालाई पनि उछिन्दै रमाउँदै काम ग¥यौं । आज मिहिनेतको फल पाएका छौँ ।’ सागरको भनाई छ । डा. डिआर उपाध्यायको शब्द, भेषप्रसाद श्रेष्ठको संगीत र सागर अधिकारी ‘शरद’ को स्वर रहेको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । पाँच हजार एक सय ५ मिटर उचाइमा छायांकन गरिएको थियो । तिलिचो ताल विश्वकै अग्लो स्थानमा रहेको ताल हो । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले गायक अधिकारीसहित सम्पूर्ण टीमलाई विश्वकीर्तिमानको सम्मान प्रदान गर्नभएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img