spot_img
spot_img

विकटको विद्यालयमा पढाइ चौपट

बराह क्षेत्र प्राविमा अझै कोही प्रधानाध्यापक पुगेन

राप्ती पोष्ट

घोराही, फागुन । गएको फागुन ३ गते राप्ती पोष्ट दैनिकको टिम घोराही उपमहानगरपालिकाको वडा नं. १९ खानीगाउँमा रहेको बराह क्षेत्र प्राथमिक विद्यालयमा एक जना मात्रै शिक्षक उपस्थित हुनुुहुन्थ्यो । पाँचवटा कक्षामा एक जना मात्रै शिक्षकले पढाइरहनुभएको थियो । फागुन ४ गतेका दिन राप्ती पोष्ट दैनिकमा ‘कक्षा पाँचवटा, शिक्षक भने एकजना’ शिर्षकमा समाचार छापियो । त्यसको भोलिपल्टै विद्यालयमा प्रधानाध्यापक जाने जानकारी घोराही उपमहानगपालिकाको शिक्षा महाशाखाले गरायो । शिक्षा महाशाखाले प्रधानाध्यापक जाने जानकारी गराएको १० दिन वितिसकेको छ तर विद्यालयमा कोही प्रधानाध्यापक पुगेको छैन ।

गएको पुस २७ गतेका दिन त्यहाँ कार्यरत प्रधानाध्यापक शिशिर खनालको सरुवा भयो । खनालको सरुवा भएपछि विद्यालयमा पठन पाठन प्रभावित भयो । खनालले कक्षा ५ मा मात्रै तिनवटा विषय पढाउनुहुुन्थ्यो । अंग्रेजी, विज्ञान र स्थानीय पाठ्यक्रम बढाउने गर्नुहुन्थ्यो । उहाँको अनुपश्थिति भएको डेढ महिना नाघी सकेको छ । तर उपमहानगरपालिकाले एक जना शिक्षक त्यहाँ पठाउन सकिरहेको छैन ।

घोराही उपमहानगरपालिका वडा नं. १९ का अध्यक्ष ज्ञानबहादुर रायमाझीलाई सोमबार बराह क्षेत्र प्राथमिक विद्यालयमा को प्राधानाध्यापक जानुभयो भनेर जिज्ञासा राख्दा अहिलेसम्म कोही पनि नगएको बताउनुभयो । उहाँले नगर शिक्षा समितिले महेश्वरी घर्ती जाने निर्णय गरिरहेको भएपनि उहाँ हालसम्म नगएको बताउनुभयो । नगर शिक्षा समितिले निर्णय गरेपछि शिक्षा महाशाखाले पनि उहाँलाई जाने अनुमति दिइसकेको छ । नगर शिक्षा समिति र शिक्षा महाशाखाबाट गरिएको निर्णय कार्यान्वयन गराउनका लागि शिक्षा विकास तथा समन्वय इकाई बाधक देखिएको छ । यस विद्यालयमा कार्यालय सहयोगी एकजना, सहयोगी कार्यकर्ता एक जना र दुई जना मात्रै दरवन्दीका शिक्षक हुनुहुुन्छ । दरवन्दीका शिक्षक पनि समयमा नजाँदा विद्यालयको पठन पाठन चौपट भएको छ ।

‘म यहि काममा लागेको छु, विद्यार्थीहरुको परीक्षा आउने समय भइसक्यो । पढाइ डामाडोल भएको छ । यताबाट निर्णय भइसक्यो तर काम टुंगोमा पुगेको छैन ।’ वडाध्यक्ष रायमाझीले राप्ती पोष्टसंग भन्नुभयो । उहाँले एकजना शिक्षक लग्नका लागि आफूले निकै दुःख पाएको सुनाउनुभयो र भन्नुभयो–‘रिमोट कता छ थाहा छैन, म निकै आत्तिएको छु । के गरौं कसो गरौं भइरहेको छ ।’ उहाँले आफ्नो वडा विकट रहेको र विद्यालय झनै विकट भेगमा रहेकाले शिक्षकहरु जान नमान्ने समस्या रहेको बताउनुभयो । ‘कोही नयाँ शिक्षक गयो भने छ महिना बसेर फेरि सुगमतिर आउने गर्दछन् । घर्ती स्थानीय पनि हुनुुहुन्छ । उहाँलाई पठाउने कुरा भएको छ तर उहाँ जाने बातावरण बनेको छैन ।’वडाध्यक्षले भन्नुभयो ।

घोराही उपहानगरपालिकाको सवैभन्दा विकट वडाका रुपमा वडा नं. १९ रहेको छ । बराह क्षेत्र प्राविमा अहिले करिव एक सय जना विद्यार्थीहरु रहेका छन् । शिक्षक नियमित रुपमा नआउँदा विद्यालयमा आउने विद्यार्थीको संख्या नै कम भएको छ । हरेक दिन आधा जसो मात्रै विद्यार्थी विद्यालयमा उपस्थित हुने गरेका छन् । घोराही उपमहानगरपालिकाले विद्यालयमा जाने, अनुगमन गर्ने र समस्या समाधानका लागि चासो नदेखाएका कारणले गर्दा समस्या भएको स्थानीयको भनाई रहेको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img