spot_img
spot_img

डिसिएलको उपविजेताका लागि लिलारामको सहयोग

राप्ती पोष्ट

घोराही, फागुन । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि दाङमा हुन लागेको नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को उपविजेतालाई प्रदान गरिने नगद राशिको सहयोग जुटेको छ । प्रतियोगिताको उपविजेतालाई प्रदान गरिने नगद राशी क्रिजल आयल सप्लायर्स घोराहीका सञ्चालक तथा युवा व्यवसायी लिलाराम चौधरीले नगद एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । डिसिएलको उपविजेताले टीमले नगद एक लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाण पत्र पाउने व्यवस्था छ ।

आर्थिक मन्दीका बीचमा लुम्बिनी प्रदेशकै ठूलो प्रतियोगिताका रुपमा लिईएको नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ का लागि उहाँले गर्नुभएको सहयोगले आयोजकलाई निकै ठुलो राहत भएको प्रतियोगिता संयोजक तथा क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो । यस प्रकारको सहयोगले प्रतियोगिता संचालनमा मात्रै नभई यहाँको क्रिकेटको विकासमा पनि टेवा पुग्ने भन्दै सहयोगीदाता चौधरीलाई दाङ क्रिकेट परिवारका तर्फबाट हार्दिक आभार व्यक्त गरिएको छ । ‘आफ्नो ठाँउको विकास गर्न, आफ्नो जिल्ला चिनाउन हरेकले भुमिका र सहयोग गर्नुपर्छ भन्ने भावका साथ डिसिएललाई गर्नुभएको आर्थिक सहयोगप्रति आभार व्यक्त गर्दछौँ’, अध्यक्ष मजगैयाले भन्नुभएको छ ।

यसैबीच, नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ का लागि सहयोग गर्ने दाता, संघसंस्था र निकाय थपिने क्रम जारी छ । प्रतियोगिता संचालन गर्न अहिलेसम्म विभिन्न व्यक्ति, संस्थाले हात अघि बढाएका छन् । कतिपयले नगद सहयोग समेत गर्नुभएको छ । जस अनुसार, हाल अमेरिकामा बस्दै आउनुभएका घोराही ५ बसन्तापुर निवासी होताराम अधिकारीले प्रतियोगिता सफलताको शुभकामनासहित १५ हजार ४ सय ७६ रुपैयाँ सहयोग गर्नुभएको छ ।

दाङका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी किरण थापा र बिमल थापाले आफ्नो पुजनीय स्वर्गीय बुवा कुलबहादुर थापाको सम्झनामा प्रतियोगिता सफलताको शुभकामनासहित १० हजार सहयोग गर्नुभएको छ । अष्ट्रेलिया बस्दै आउनुभएका क्रिकेट शुभचिन्तक प्रेमराज उप्रेतीले प्रतियोगिताका लागि भन्दै नगद १० हजार सहयोग गर्नुभएको छ । यसैगरी, घोराही १७ गुलरिया निवासी कुलराज शर्माले पनि डिसिएलको सफलताको शुभकामनासहित ५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश शिक्षा विभाग प्रमुख सुशील अधिकारीले पनि दाङ क्रिकेट लिगको सफलताको शुभकामनासहित ५ हजार सहयोग गर्नुभएको छ ।

यसैगरी, क्रिकेट संघ नेपालका केन्द्रीय सदस्य तथा धनगढीमा रहेको माया मेट्रो अस्पतालका संचालक धीरेन्द्र सावद, नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव, रुपन्देही जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्त मल्ल, नवलपरासी जिल्ला क्रिकेट संघमा लामो समयदेखि नेतृत्व गर्दै क्रिकेटको गतिविधि सक्रिय बनाउँदै आउनुभएका अग्रज कृष्ण श्रेष्ठ, रोल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष ओम केसी, नेपाली सेनाको सहसेनानी पदमा कार्यरत शरद मरासिनीले प्रतियोगिता सफलको कामनासहित नगद सहयोग गर्नुभएको छ ।

यसअघि, मुख्य प्रायोजकमा नेपाल टेलिकम, गोल्ड प्रायोजकमा गोल्ड प्रायोजकमा नेपाल बैंक लिमिटेड, प्लेयर अफ द म्याच प्रायोजकमा किसान ट्रेडिङ कन्सर्न सोनालिका, स्कुल पार्टनरमा गुरुकुल एकेडेमी घोराहीले सम्झौता गरेका छन् ।
यसैगरी, प्रतियोगिताका लागि हस्पिटालिटी पार्टनरमा भिंग्रेली भिलेज रिसोर्ट, घोराही, मेडिकल सहयोग पार्टनरमा बुद्ध इन्टरनेशनल हिस्पटल, घोराही र लाईफ फुड एण्ड बेभरेज प्रालि अन्तर्गतको किबु इनर्जी ड्रिंक पार्टनरको रुपमा रहने भएका छन् ।

दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको नेपाल टेलिकम डिसिएल–२ प्रतियोगितामा घोराही टाईगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज टोलीले प्रतिष्पर्धा गर्नेछन् । जसका लागि पाँच वटै फ्रेन्चाईज क्लबले प्रत्येक टीममा १४ जना खेलाडी खरीद गरिसकेका छन् । प्रत्येक टीम मालिकले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाएका छन् ।

१४ गतेबाट हुने लिग १९ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका सबै खेल घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा हुनेछन् । लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश÷दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img