शरद अधिकारी
दाङ जिल्लाको छापामाध्यमको इतिहास लामो छैन । पंचायतकालिन समयमा जिल्लामा पत्र पत्रिकाहरु प्रकाशन भएको देखिन्छ । छापा माध्यमको कुरा गर्दा कुनै बेला साहित्यीक पत्रिकामा आएका सामग्री नै चर्चाको विषय हुन्थे । पत्रिकामा आएका साहित्यीक सामग्रीहरु होउन वा साहित्यीक पत्रिकाहरु नै किन नहोउन सवैका सामग्री चर्चाको विषय हुन्थे । कसैले पत्रिकामा कविता लेख्यो भने त्यो प्रशासनको नजरमा निकै आलोचनाको विषय हुन्थ्यो । लेख्ने मानिसहरुको संख्या कम हुने, लेखेका सामग्रीहरु प्रकाशनका लागि संचारमाध्यम कम हुने अवस्था थियो । बहुदलिय व्यवस्थाको आगमनपछि पत्रिका खोल्ने क्रम बढेर गयो । विस्तारै लेख्नेहरुको संख्या बढ्दै गयो । पत्रकारिता गर्नेहरुको संख्या बढ्दै गयो । जिल्लामा नेपाल पत्रकार महासंघ स्थापना गर्दाको समयसम्म पनि साहित्यमा कलम चलाउनेहरुलाई ल्याएर पत्रकार महासंघको सदस्य बनाउनुपर्ने अवस्था थियो । २०४९ सालको कार्यसमितिमा जसलाई राखिएको छ त्यतिवेला उहाँहरुलाई कार्यसमितिमा बसिदिनुप¥यो भनेर अनुरोध गरेर बसालिएको थियो भन्ने स्पष्ट हुन्छ । मुलधारको पत्रकारितामा लाग्नेहरुको त निकै अभाव थियो भन्ने सामान्य अध्ययनबाट पनि निश्कर्ष निकाल्न सकिन्छ । २०३३ सालबाट सुरु भएको छापा पत्रकारिता आजको दिनसम्म आइपुग्दा अनेकन आरोह अवरोह पार गरेर अघि बढेको छ । जिल्लाबाट प्रकाशित पत्रिकाहरु दैनिक हुनका लागि पनि निकै लामो समय लागेको थियो । २०५५ सालदेखि मात्रै युगवोध दैनिक रुपमा प्रकाशन हुन थाल्यो । युगवोध दैनिक जिल्लाको पहिलो दैनिक पत्रिकाका रुपमा थियो । त्यसको केही बर्षपछि मात्रै जिल्लामा दैनिक पत्रिकाहरु नियमित रुपमा प्रकाशन हुन थालेका थिए ।
आजको लेखमा जिल्लाबाट प्रकाशित भइरहेका कुन पत्रिकाले के कस्ता बिषय उठाएका थिए भन्ने बारेमा समिक्षा गर्नुभन्दा पनि समग्रमा यहाँको छापा पत्रकारिताले के कस्ता बिषयलाई उठाएको थियो भन्ने बारेमा चर्चा गर्न थालिएको छ । जिल्लाको पत्रकारिताले उठाएका केही विषयहरु छन जसका बारेमा पछिसम्म चर्चा भइरहनेछ । अध्ययन गर्नेहरुले यो विषयमा थप खोज गर्न सक्नेछन् । दाङ जिल्लाका पत्रिकाहरुले उठाएका विभिन्न विषयहरुलाई यसरी उल्लेख गर्न सकिन्छ । पंचायती व्यवस्थाको अन्त्यका लाागि होस कि ? प्रजातन्त्रलाई बलियो बनाउनका लागि नै किन नहोस । यहाँको छापा माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । लोकतन्त्रको आगमनका लागि भूमिका खेलेको यहाँको छापामाध्यमले आन्दोलनका लागि मात्रै होइन विभिन्न अभियानमा आफूलाई अग्रभागमा उभ्याउँदै आएको छ । आन्दोलन एउटा उद्देश्यकालागि हुन्छ तर अभियान निरन्तर हुन्छ । कतिपय विषयहरु आन्दोलन जस्तो देखिएतापनि ति आन्दोलनका रुपमा होइन कि अभियानका रुपमा अघि बढीरहेका हुन्छन । जिल्लामा छापा माध्यमले सशक्त रुपमा उठाएका विषयहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
१. कमैया मुक्तिको अभियान र पुनःस्थापनाको सवाल
२. एकल महिलाले रातो लगाउनुपर्छ भन्ने अभियान
३. जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियान
४. कम्लहरी मुक्तिको अभियान
५. बालश्रम मुक्तको अभियान
६. छुवाछुतमुक्त अभियान
७. शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सवालहरु
८. मानवअधिकारका सवालहरु
कमैया मुक्तिको अभियान र पुनःस्थापनाको सवालः
०४६ सालमा नेपालमा प्रजातन्त्र आयो । त्यसपछि जिल्लामा छापा माध्यमको तिव्र विकास भयो । साप्ताहिक पत्रिकाहरु खुल्ने क्रम बढेर गयो । केही बर्षपछि दैनिक पत्रिकाहरु थपिए । जिल्लाका छापा माध्यमले उठाएका अनेकन विषयहरुमध्य कमैया मुक्तिको विषय पेचिलो विषय थियो । थोरै पैसा र अन्नमा मानिसलाई काममा लगाउने परिपाटीको अन्त्यका लागि यहाँका छापा माध्यमले प्रशस्त योगदान गरेका थिए । खासगरुी थारु जातिलाई काममा लगाउने र उनिहरुलाई काममा लगाए बापत थोरै मात्रै अन्नपात दिने चलनका विरुद्ध त्यतिवेला संचारमाध्यमले विषय उठाएको थियो । पछि २०५७ साल साउन २ गतेका दिन सरकारले कमैया मुक्ती घोषणा गरेको थियो । कमैया मुक्तिको घोषणापछि पुनःस्थापनाका लागि संचारमाध्यमले व्यापक खवरदारी गरेका थिए । उनिहरुलाई दिइएको जमिन, उनिहरुलाई घर निर्माणका लागि दिइएको काठ र नगदको उपयोग सम्वन्धमा दाङका संचारमाध्यम र संचारकर्मीले खवरदारी गरेका थिए ।
एकल महिलाले रातो लगाउनुपर्छ भन्ने अभियानः
दाङ जिल्लाबाट सुरु भएको यो अभियान पछि देशभर पुग्यो । अहिले श्रीमानको मृत्यु भएपछि श्रीमतीले सेतो कपडा लगाएर हिड्नुपर्छ भन्ने मान्यता थियो । दाङ जिल्लाका एकल महिलाहरुले श्रीमानको मृत्यु हुँदैमा रातो फाल्नुपर्छ र सेतो लगाउनुपर्छ भन्ने छैन भन्दै अभियान संचालन गर्नुभयो । रातो भनेको बावु आमाले दिएको रङ हो । २१ औं सताव्दिमा रातो रङ लगाउनु हुँदैन वा सेतो रङ मात्रै लगाउनुपर्छ भन्ने जुन मान्यता परम्परादेखि जकडिएर बसेको थियो यसलाई तोड्नका लागि यहाँको छापा माध्यमले भूमिका खेलेको थियो । एकल महिलाहरुले थालेको अभियानलाई संचारले साथ दिएको यो पनि प्रमुख विषय थियो । दाङ जिल्लाबाट थालनी भएको यो अभियान देशव्यापी भयो । पछि गायक बद्री पङ्गेनीले लाउ चेली सिन्दुर लाउ भन्दै गीत गाएपछि यो अभियानको सार्थकता बढेर गयो । अहिले कुनै महिलाले श्रीमान गुमाइन भने जिन्दगीभर सेतो लगाउने कल्पना गरिदैछ । एक बर्षसम्म पूर्णतया रातो नलगाएपनि त्यसपछि रातो लगाएर हिडेको देखिन्छ । एकल महिलाको अभियानलाई नजिकबाट समर्थन छापा माध्यमको थियो । अव कसैलाई पनि रातो लगाउनुपर्छ भनेर भन्नु पर्दैन । महिलाहरुको सोचाईमा पनि व्यापक परिवर्तन आएको छ ।
जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानः
दाङ जिल्ला नेपालमै छिट्ै खुल्ला दिसामुक्त भएको जिल्ला हो । यो अभियानमा यहाँको छापा माध्यमको साथ र सहयोग हुँदैनथ्यो भने यति छिट्टै अभियान सफल हुने थिएन । दाङ जिल्लाको कुरा गर्ने हो भने ३९ वटा गाउँ विकास समिति र दुईवटा नगरपालिका हुँदा खुल्ला दिसामुक्तको अभियान संचालन भएको थियो । यो अभियानमा नेतृत्व खानेपानी कार्यालयको थियो तर संगै यहाँका पत्रिकाहरु र पत्रकाहरु संगै हिड्ेका थिए । यहाँका छापा माध्यमले खुल्ला दिसामुक्त अभियानमा भएका गतिविधिहरुलाई मात्रै प्रकाशन गरेका थिएनन् दिसा खुल्ला रुपमा गर्नु हुँदैन भनेर अभियान नै संचालन गरेका थिए । लेखेर गर्ने अभियानसंगै अभियानकर्तासंग संगै हिड्ने काम पत्रकारहरुले गरेका थिए । जिल्लामा खुल्ला दिसामुक्त अभियानले छिट्टै सफलता पाउनुका पछि छापा माध्यम लगायत अन्य माध्यमको सक्रियता थियो ।
कम्लहरी मुक्तिको अभियानः
कमैया मुक्तिको अभियान टुङ्गोमा पुगेको भएपनि कम्लहरी प्रथा कायमै थियो । माघी आउँदा थारु बालिकाहरु मलिकको घरमा जानुपर्ने बाध्यकारी अवस्था थियो । कतिपयले पढाइदिन्छु भन्दै लगेको देखिन्थ्यो । कतिले छोरीजस्तै पाल्छु भन्दै लगेका हुन्थे । कतिपयले बावु आमालाई थोरै रकम दिएर छोरी लगेर जाने गरेको पाइन्थ्यो । थारु बस्तीमा माघी पछि साना गाडी र मोटरसाइकिलका लाइन लागेको देखिन्थ्यो । थारुहरु आफ्नो छोरीलाई बाध्यताले बढी र रहरले कम पठाएको पाइन्थ्यो । विस्तारै यो विषय संचारमा आयो । पहिले सामान्य लाग्ने गरेकोमा पछि यो बालिकाको श्रम शोषण हो भन्ने लाग्न थाल्यो । साना नानीहरु जो विद्यालयमा जानुपर्ने । हातमा कापी कलम हुनुपर्ने । तर जुठा भाँडा माझिरहेका हुन्थे । आफूजत्रै नानीहरु बोकिरहेका देखिन्थे । यातना कति हो कति ? कति यौन शोषणको मारमा परेका हुन्थे । कम्लहरी राख्ने कुरा राम्रो होइन र यो सरासर शोषण हो भन्ने कुरा पत्रिकामा आउन थालेपछि विस्तारै कम्लहरी मुक्तीको अभियान संचालन भयो । कम्लहरी मुक्तिको अभियानमा केही संस्थाहरु लागेका थिए तर त्यो अभियानको साथमा दाङका पत्रिकाहरु थिए । दाङका पत्रकारहरु थिए । दाङ जिल्लाबाट सुरु भएको अभियान सफल हुँदै जाँदा पश्चिम नेपालका अन्य जिल्लाका कम्लहरीहरु मुक्त भए । पश्चिम नेपालमा रहेको कम्लहरी कुप्रथाको अन्त्यका लागि सरकारले नै कम्लहरी मुक्तीको घोषणा गरेको थियो । यो अभियान सफल हुनुमा छापा पत्रकारिताको भूमिका महत्वपूर्ण थियो ।
बालश्रम मुक्तको अभियानः
नेपालको संविधानले बालवालिकालाई श्रममा लगाउन नपाइने कुरा गरेको छ । बालवालिकाहरुलाई काममा लगाउने कुरा संविधानको विपरित कुरा हो । यस बाहेक अन्तराष्ट्र्रिय सन्धी सँझौताहरुमा नेपालले हस्ताक्षर गरेको छ । नेपालले बालवालिकाको क्षेत्रमा रहेका अन्तराष्ट्र्रिय सन्धी सँझौताहरु पालना गरिसकेको अवस्थामा बालश्रम मुक्तको अभियान संचालन गर्नु अनिवार्य थियो । जव कम्लहरी मुक्तिको अभियान सफल भयो तव कम्लहरीको विकल्पमा मानिसले बालश्रमीक रोज्न पुगे । जसले गर्दा गाउँदेखि शहरसम्म बालश्रमिकको संख्या बढेर गयो । वालवालिकाले उमेर नपुग्दासम्म काम गर्ने होइन । बालवालिकाहरुले घरमा सामान्य काम गरेपनि श्रमको बजारमा जानु हुँदैन । अर्को कुरा साना बालवालिकालाई काममा लगाउँदा ठूला मानिसको श्रम खोसिएको हुन्छ । जिल्लालाई बालश्रम मुक्त बनाउने सवालमा संचारक्षेत्रले बारम्वार खवरदारी गरिरह्यो । बालश्रम मुक्तीको अभियान दाङ जिल्लाका छापा माध्यमको संलग्नतामा भएको सफल अभियान हो ।
छुवाछुतमुक्त अभियानः
मानिस र मानिसका बीचमा कुनै विभेद हुनुहुँदैन भन्ने कुरा सैद्धान्तिक रुपमा निकै राम्रो सुनिन्छ । संविधानमा मानिस र मानिसका बीचमा कुनै विभेद हुनु हुँदैन । सवै मानिस समान हुन भन्ने कुरा गरिएको छ । तर व्यवहारिक कुरा गर्ने हो भने छुवाछुत अहिले पनि जिवित छ । छुवाछुत आज केही न्युनिकरण भएको छ । यो न्युनिकरणका लागि छापा माध्यमले खेलेको भूमिका महत्वपूर्ण रहेको छ । ५० को दशकमा दाङ जिल्लामा छुवाछुत विरुद्धका विभिन्न अभियान संचालन हुँदा संचारको योगदान रहने गरेको थियो । कतिपय संघ संस्थाले सह भोज आयोजना गरेर कथित दलित र गैर दलितलाई खाना संगै खाने बातावरण मिलाउने गरेका थिए । कानुनका रुपमा सवै समान भनिएपछि मानिसका बीचमा हुने छुवाछुत रोक्नका लागि मानिस र मानिसका बीचमा संगत बढी हुनुपर्छ । एउटाले अर्कोलाई बुझ्नुपर्छ । मानिस र मानिसका बीचमा विभेद हुनु हुँदैन भन्ने कुरा सवैले बुझ्नुपर्छ । संचारले जसरी मानिसलाई विभेद विरुद्ध उत्प्रेरणा प्रदान गरिरहेको छ यसलाई निरन्तरता दिनुपर्छ ।
पत्रकारिताले उठाएका कतिपय विषयहरुमा सरोकारवारवालको ध्यान पुगिरहेको हुँदैन । भ्रष्टाचारका विषयहरु संचारमा आउँदा सरोकारवाला निकायले आफूलाई सुधार गर्नुको साटो त्यसलाई दवाउन खोज्ने, सुशासनका कुरा गर्दा त्यसलाई वास्ता नगर्ने चलन छ । दाङ जिल्लाको पत्रकारिता तुलनात्मक रुपमा सन्तुलित मानिन्छ । दाङ जिल्लाको पत्रकारितालाई अझै सन्तुलनमा राख्नुका साथै सकारात्मक विषय उठान गर्ने र नकारात्मक विषयलाई खवरदारी गर्ने सवालमा पत्रकारिता गरिरहेकाहरुले समिक्षा गर्नुपर्छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सवालहरुः
विकास पत्रकारिता भनेको भौतिक विकासको मात्रै कुरा होइन । विकास पत्रकारिता भनेको शिक्षाको विकासको कुरा, स्वास्थ्य सेवा विस्तारको कुरा, खानेपानी आपूर्तिको कुरा विकासको परिभाषा भित्र पर्दछ । दाङ जिल्लाका विद्यालयहरुको अवस्थालाई समाचारका रुपमा उजागर गर्ने काम छापा माध्यमले महत्व दिएको देखिन्छ । यस्तै विकट स्थान मात्रै होइन सुगम स्थानमा पनि स्वास्थ्यको अवस्था राम्रो नरहेको बारेमा पत्रकारिताले पटक पटक कुरा उठाएको देखिन्छ । पत्रकारिताले उठाउने विषयहरु अनेकन छन् । पत्रकारिताले उठाउनुपर्ने विषय उठाइरहेका छन कि छैनन् भन्ने विषयमा खोजी र अनुसन्धान हुनु जरुरी छ । के कस्ता बिषयहरु संचारमा आइरहेका छन् ? कस्ता विषयहरु आउनुपर्ने थियो भन्ने बारेमा अनुसन्धान कम भएको देखिन्छ । छापा माध्यम होउन वा विद्युतिय माध्यम सवैमा आइरहेका विषयका बारेमा तथ्याङ्कगत रुपमा अध्ययन जरुरी छ ।
मानवअधिकारका सवालहरुः
मानिसको बाँच्न पाउने हकका बारेमा धेरैले बोल्छन तर कार्यान्वयन भइरहेको हुँदैन । समग्रमा राज्यलाई खवरदारी गर्ने काम पत्रकारिताको हो । मानिसले आफ्नो अधिकार प्रयोग गर्न नपाएको कुरा पत्रकारिताका लागि महत्वपूर्ण सामग्री बन्दछ । मानवअधिकारका सवालहरु अहिलेको विश्वका लागि ज्वलन्त विषयहरु हुन् । मानवअधिकारको कुरा गर्दा महिलाको समग्र अधिकारको कुरा, बालवालिकाको अधिकारको कुरा, अपाङ्ता भएकाहरुको अधिकारको कुरा, जेष्ठ नागरिकका कुरा, दुर दराजका बस्तीमा बस्नेहरुका कुरा संचारका विषयहरु बनिरहेका छन् ।
पत्रकारितालाई आवाजहिनको आवाजका रुपमा चित्रण गर्ने गरिन्छ । राज्यको चौथो अंगका रुपमा पत्रकारितालाई लिइन्छ । पत्रकारिताको काम खवरदारी गर्ने हो । मानिसलाई जवाफदेही बनाउने हो । पत्रकारिताले उठाएका कतिपय विषयहरुमा सरोकारवारवालको ध्यान पुगिरहेको हुँदैन । भ्रष्टाचारका विषयहरु संचारमा आउँदा सरोकारवाला निकायले आफूलाई सुधार गर्नुको साटो त्यसलाई दवाउन खोज्ने, सुशासनका कुरा गर्दा त्यसलाई वास्ता नगर्ने चलन छ । दाङ जिल्लाको पत्रकारिता तुलनात्मक रुपमा सन्तुलित मानिन्छ । दाङ जिल्लाको पत्रकारितालाई अझै सन्तुलनमा राख्नुका साथै सकारात्मक विषय उठान गर्ने र नकारात्मक विषयलाई खवरदारी गर्ने सवालमा पत्रकारिता गरिरहेकाहरुले समिक्षा गर्नुपर्छ । दाङका अग्रज पत्रकार सुशिल गौतम ‘विकास पत्रकारिता भनेको सरकार र गैर सरकारी क्षेत्रले दिएका प्रचारमुखी सूचनाको सम्प्रेषण हो भन्ने भ्रम छ । उदाहरणका लागि यति बाटो बन्यो, यति छात्रवृत्ति वितरण भयो, यति निशुल्क औषधी वितरण भयो, आदि आदि समाचार छाप्छौं तर त्यसका बृहत्तर पक्षबारे हामीले विश्लेषण गर्दैनौं ।’ यसर्थ समाचार लेखेपछि त्यसको कार्यान्वयन कसरी भइरहेको छ भन्ने बारेमा खवरदारी गर्ने दायित्व पनि पत्रकारिताको हो । पत्रकारिताको धर्म लेखेर मात्रै सकिदैन । लेखेपछि त्यसको बारेमा पटक पटक अध्ययन अनुसन्धान गर्ने कुरालाई पत्रकारिताले आफ्नो कर्तत्वको दायरामा राख्नुपर्छ ।
[email protected]