spot_img
spot_img

दाङका छापा माध्यम र यिनले उठाएका विषयहरु–२

शरद अधिकारी

पत्रकारिताले गरेको योगदान डिग्री लगाएर नाप्ने विषय होइन । स्वास्थ्यको सेवा लिनेहरुको प्रतिशत, साक्षरताको प्रतिशत, खानेपानीको पहुँचमा रहेको नागरिक, विद्युत उपभोग गरिरहेको जनसंख्याको प्रतिशत निकालेको जस्तो हुँदैन । पत्रकारिताले दिने सचेतनाले कसरी उपलव्धि दिन्छ भन्ने कुराको मापन गर्ने काम निकै गाह्रो हो । पत्रकारिताले विषयको उठान मात्रै गर्दैन । समस्या उजागर गर्ने काम मात्रै गर्दैन । धेरैजसो अवस्थामा समाधानको उपायका बारेमा छलफल चलाउँछ । राष्ट्रिय विषयहरु हुन वा स्थानीय विषयहरु नै किन नहोउन सवै संचारका सरोकारका विषयहरु हुन्छन् । कुनै घटना वा दुर्घटनाका विषय, अचम्म लाग्दा विषयहरु, खेलकुदका विषयहरु, कसैले गिनिज बुकमा नाम लेखाएका कुराहरु, विकास निर्माणका विषयहरु लगायत अन्य धेरै विषयहरु संचारका सरोकारका विषय हुन्छन । एकथरी विषयहरु घटना भएपछि समाचार बन्छन भने अर्कोथरी सचेतनाका लागि संचारका विषय बन्छन् । समाचार घटनाका मात्रै हुँदैनन् । कतिपय विषयहरु समाचारमा आएपछि मानिसलाई अहो यस्तो भएको रहेछ भन्ने लाग्छ । दाङ जिल्लामा छापा माध्यम सवैभन्दा पहिले आयो । रेडियो २०५८ सालमा आयो । टेलिभिजन छ तर यसको प्रभावकारीताका बारेमा मानिसहरुलाई त्यति चासो छैन । अहिले इन्टरनेट सर्वसुलभ भएपनि जिल्लाबाट प्रशारण हुने टेलिभिजनहरु अन्य जिल्लामा पनि हेर्न सकिने भएको छ । यो अर्को राम्रो पक्ष हो ।

अघिल्लो अंकमा दाङ जिल्लाका छापा माध्यमले उठाएका विभिन्न विषयका बारेमा चर्चा गरेको थिए । दाङ जिल्लाको छापा पत्रकारिताको इतिहास करिव पाँच दशक हुँदै गर्दा अनेकन विषयहरु उठान गरिएका छन् । अधिकार प्राप्तीका लागि भएका आन्दोलन देखि लिएर समसामयिक विषयहरु संचारका विषय बन्ने गरेका छन् । संचारका विषयहरुको प्रभावकारिता नाप्न गाह्रो भएपनि संचारले उठाएका विषयको प्रभावकारितालाई स्मरण गर्नै पर्दछ । दाङ जिल्लाबाट प्रकाशित हुँदै आएका छापा माध्यमले उठाएका विषयहरुमध्य केही विषयहरुका बारेमा अघिल्लो सातामा चर्चा गरिसकिएकाले थप विषयहरु यहाँ उठान गरिएको छ । छापा माध्यमले उठाएका विषयहरु र त्यसको प्रभावकारिताका बारेमा लिखित चर्चा गर्न जरुरी छ । हामीकहाँ कुनै संचारमाध्यमले उठाएको विषयका बारेमा चर्चा गरिदो रहेनछ । कुनै संचारमाध्यमले बार्षिकोत्सव आयोजना ग¥यो भने वा कुनै स्मारिका प्रकाशन ग¥यो भने राम्रोको बयान गरिने रहेछ । कुन राम्रो विषयले उठायो जसले प्रभावकारी भूमिका खेल्यो भन्ने बारेमा अनुसन्धान नहुने रहेछ । यो पत्रिका गज्जव छ । यो राम्रो छ । यसले निरन्तरता पाएको छ । सवैको मनमा बसेको छ । जताततै जाने गरेको छ । हरेक दिन विहान सवैको हातमा पुग्छ भन्दै त्यसको प्रशंसा गरिने रहेछ । त्यो माध्यमले उठाएको यो विषय प्रभावकारी भयो । यो विषय उठाएर निकै राम्रो भयो भन्ने बारेमा नलेखिने रहेछ । छापामाध्यमले उठाएका अनेकन विषयहरु छन । ति मध्य थप विषयहरु निम्न बमोजिम रहेका छन् ।
१. बादी जातिलाई मुल प्रवाहमा ल्याउने विषय
२. विकास निर्माणका अभियानमा खवरदारी
३. भूमिहिनका मुद्दामा वकालत
४. जनआन्दोलन लगायत विभिन्न आन्दोलनहरु
५. न्यायका आवाजहरु बुलन्द
६. पर्यटन पवद्र्धनका लागि भूमिका
७. किसानका कुरा, मजदुरका कुरा, न्यायको खोजिमा रहेकाहरुका कुरा ।

बादी जातिलाई मुल प्रवाहमा ल्याउने विषयः
कुनै बेला दाङ जिल्लाका विभिन्न स्थानमा बादी जातिले देह व्यापार गर्दछन भन्ने कुरा प्रमाणित जस्तै थियो । समयक्रमसंगै बादी जातिका महिलाहरु यो व्यापारबाट मुक्ती चाहिरहेका थिए । बादी जातिका महिलाहरु कुरा गर्नु, उनिहरुले भोगिरहेको समस्यालाई उजागर गर्नु चुनौतिको कुरा थियो । पत्रकारहरु समेत त्यहाँ जान डराउने अवस्था थियो । समस्या सुन्नका लागि उनिहरुकै बस्तीमा जानुपर्ने, उनिहरुसंग कुरा गर्नुपर्ने । कसैले देख्ला कि भनेर डराउनुपर्ने अवस्था थियो । जिल्लाका पत्रकारहरुले त्यो चुनौतिलाई चिर्दै बादी जातिले भोगिरहेका समस्यालाई संचारको विषय बनाए । बादी जातिका महिलाहरु देह व्यापार छोड्न चाहन्छन् भन्ने समाचारहरु प्रवाह गरे । खासगरी छापा माध्यममा यि विषयहरु उजागर गरियो । विस्तारै दाङ जिल्लामा देह व्यापार गर्ने बादी जातिको संख्या सुन्य जस्तै भयो । अहिले बरु अरुले देहव्यापार गरेको भन्ने सुन्नमा आउँछ । पहिले देश व्यापार गरेर निश्चित स्थानमा बस्ने बादी जातिका महिलाहरुले पेशा परिवर्तन गरेका छन् । कोही व्यापारमा लागेका छन् । कोही विभिन्न संघ संस्थामा लागेका छन् । कोही खेतिपातीमा लागेका छन् । बरु गिट्टी कुटेर खाने तर देहव्यापार नगर्ने भन्ने सोच सहित बादी जातिका महिलाहरुले करिव यो पेशा छोडेका छन् । दाङ जिल्लामा बादी जातिले देहव्यापार छोड्नुमा संचारको महत्वपूर्ण योगदान रहेको छ ।

विकास निर्माणका अभियानमा खवरदारीः
यो मुलुकमा विकास निर्माणको काममा ढीला सुस्ती हुने कुरा सामान्य विषय हो । काम फटाफट भयो भने अचम्म मान्नुपर्छ । एकसय वटा योजनामा एक÷दुईवटा योजना मात्रै समयमा हुने तर अन्य सवै योजना समयमा नहुने प्रचलन जस्तै भएको छ । विकास निर्माणको काममा खवरदारी गर्ने काममा संचारले आफूलाई कहिल्यै पछि पारेका छैन । विकास निर्माणका हरेक काममा खवरदारी गर्ने काम छापा माध्यमले गरेको छ । योजना शिलान्यास हुने समय देखि योजना सम्पन्न नहुँदासम्म त्यसका हरेक पक्ष केलाउने काम संचारले गरिरहेको छ । २०५८ सालतिर राप्ती नदीमा बनेको गढवा जोड्ने स्थानमा बनेको पुलमा भएको भ्रष्टाचारको विषयलाई उजागर गर्ने विषयलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ । यस्ता धेरै विषयहरुलाई छापा माध्यमले खवरदारी गरिरहेको पाइन्छ । कतै पानी नपुगेको कुरा, कतै विद्युत नपुगेको कुरा, कतै सडक नपुगेको कुरा छापा माध्यमको बिषय बनिरहेको हुन्छ । पानी नपुगेको कुरा गर्ने संचारले पानी पुगेपछि त्यसलाई समाचारको विषय बनाउने गरेको छ । विद्युत नपुगेको कुरा गर्ने संचारले विद्युत पुगेपछि विद्युत पुगेको कुरा गर्ने गरेको छ । बाटो हुँदा र नहुँदाको अवस्थाको चित्रण गर्ने गरेको छ । पुल नवनेका कारणले गर्दा नागरिकले पाएको दुःखलाई संचारले आफ्नो विषय बनाउने गरेको छ । दाङ जिल्लाबाट प्रकाशित भइरहेका संचारमाध्यमका लागि यि र यस्ता विषयहरु प्राथमिकतामा पर्ने गरेको देखिन्छ । विकास निर्माणमा हुने ढिलासुस्ती र अनियमितताका बारेमा संचारमा कुरा उठ्ने गरेको छ ।

भूमिहिनका मुद्दामा वकालतः
दाङ जिल्लाको कुरा गर्ने हो भने भूमिहिनको समस्या ठूलो समस्याका रुपमा रहेको छ । भूमिहिनलाई जमिन दिने भनेर पटक पटकका सरकारले आश्वासन दिने गरेका छन् । सरकार परिवर्तन भएसंगै भूमि आयोग गठन गर्ने, निवेदन माग गर्ने, केही काम गरेको जस्तो गर्ने तर बर्षौैसम्म भूमिहिनका विषयलाई अड्काइराख्ने काम भएको छ । बर्षौदेखि समस्याको विषय बनेको भूमिहिनका मुद्दाहरु संचारमा आउने गरेका छन् । मोहीयानी हक नपाएका कुराहरु, गुठि पीडितले जमिन नपाएका कुराहरु, सुकुम्बासीले जमिन नपाएका कुराहरु, सरकारले सुकुम्वासीलाई दिएको जमिन विक्रि गरेर अनियमितता गरेका कुराहरु पनि संचारमा आउने गरेका छन् । राजनीतिक दलको काम आश्वासन दिने जस्तो भएको छ । यतिवेला स्वर्गद्वारी गुठि पीडितहरु आन्दोलनमा छन् । आन्दोलनका समाचार छापा लगायत सवै माध्यममा आइरहेका छन् । कसरी उनिहरुले जमिन पाउन सकिरहेका छैनन् । कहाँनेर विषय अड्किएको छ भन्ने बारेमा संचारमा प्रशस्त कुरा आएका छन् ।

जनआन्दोलन लगायत विभिन्न आन्दोलनहरुः
दाङ जिल्लामा छापा माध्यम आउनु भन्दा पहिले अनेकौैं आन्दोलन भएका थिए । २००७ सालको क्रान्तीको समयमा दाङ जिल्लाका योद्दाहरुको योगदान इतिहासकारले लिपिवद्ध गरिसकेका छन् । पंचायती व्यवस्थाको समयमा भएका अनेकौं किसान आन्दोलनका बारेमा पनि इतिहासमा लिपिवद्ध गरिसकिएको छ । २०३३ सालपछि जव दाङमा छापा माध्यम सुरुवात भयो तवदेखि भएका अनेकन आन्दोलनको समर्थनमा पत्रकारिताले भूमिका निर्वाह गरेकै छ । पत्रकारहरु जहिले पनि परिवर्तनको पक्षमा देखिन्छन् । अग्रगमनको पक्षमा देखिन्छन् । शान्तिको पक्षमा देखिन्छन । विकास निर्माणको पक्षमा देखिन्छन् । यस कारणले गर्दा विभिन्न समयमा भएका आन्दोलनको पक्षमा पत्रकारिताले योगदान गरेको छ । आन्दोलनका बारेमा जानकारी दिने र नागरिकलाई उत्साहित गराउने काम पत्रकारितले गरेकै छ । पछिल्लो समय अर्थात २०६२÷०६३ सालको आन्दोलनलाई उचाईमा पु¥याउने सवालमा छापा माध्यमको योगदान रह्यो ।

न्यायका आवाजहरु बुलन्दः
संचार माध्यम भन्ने कस्तो विषय हो भने कुनै व्यक्तिले कतै न्याय पाएन भने न्यायको आशामा जाने अन्तिम स्थान भनेको संचार हो । हामी मानिसहरु अन्यायमा परेको भनेर प्रहरी कार्यालय गएको देख्छौं । कतिपय जिल्ला प्रशासन कार्यालय पुगिरहेका हुन्छन् । कतिपय अदालत पुगिरहेका हुन्छन । अदालतले न्याय दिन्छ कि फैसला भन्ने बहस एकातिर छदैंछ । यति हुँदा पनि न्याय नपाएको वा आफू मर्कामा परेको भन्ने ठान्यो भने मानिस पत्रकारलाई खोज्दै आउँछ । आफू अन्यायमा परेका कुरा गर्दछ । कसैलाई उपचार गर्नुपरेको छ तर आर्थिक रुपमा निकै समस्या छ भने उसले पत्रकारलाई खोज्छ । पत्रिकामा समाचार लेखेका कारणले गर्दा कतिपटक बालवालिकाले पुस्तक पाएका छन् । कतिपयले घर निर्माणका लागि सामग्री पाएका छन् । कतिपयले औषधी उपचारका लागि रकमको सहयोग पाएका छन् । घर नभएका नभएकाहरुलाई घर हुने, भर नभएकाहरुलाई भर हुने क्षेत्र भएको छ संचार । अन्यायको विरुद्धमा र न्यायको पक्षमा पत्रकारिताको खवरदारी जहिले पनि हुन्छ । न्यायको पक्षमा लाग्नका लागि पत्रकारिताले अरुलाई उत्प्रेरणा प्रदान गरिरहेको हुन्छ ।

पर्यटन पवद्र्धनका लागि भूमिकाः
पर्यटन पवद्र्धनको विषय संचारको प्राथमिकताको विषय हो । दाङ जिल्लाका संचारमाध्यमले दाङका पर्यटकिय स्थलको मात्रै होइन प्यूठानको स्वर्गद्वारीका बारेमा पटक पटक लेख्ने गरेका छन् । जिल्लामा रहेका पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने कामलाई कर्तत्वका रुपमा लिने गरेका छन् । पछिल्लो समय प्रख्यात रहेको धारापानी प्रख्यात हुनुमा संचारको भूमिका रहेको छ । यस्तै हलवारमा रहेको सिद्ध चमेरे गुफाको बारेमा उजागर गर्ने कुरा, छिल्लिकोट रमणिय पर्यटकिय स्थल हो भन्ने कुराको प्रचार प्रसार गर्ने कुरा, देउखुरीमा रहेको जखेरा तालको प्रचार प्रसार गर्ने कुरा, बाघनाथ वावाको कुटीको प्रचार प्रसार गर्ने कुरा, विभिन्न ताल तलैयाका बारेमा प्रचार प्रसार गर्ने कुरा संचारका लागि प्राथमिकताको विषय बनिरहेको हुन्छ । यस्तै पुरन्धारा झरनाको प्रचार प्रसार गर्ने कुरा, ज्यामिरे दहलाई प्रचारमा ल्याउने कुरा, दंगिशरणको प्रचार प्रसार गर्ने कुरा, घोडदौरामा पर्यटन प्रवद्र्धन गर्न सकिने कुरा देखि लिएर सवारी कोटबाट प्याराग्लाइडिङ गरिएको विषय पनि पत्रकारका लागि विषय बन्ने गरेका छन् । अझ भन्ने हो भने पर्यटन र पत्रकारिता आपसमा जोडिएको विषय बनेको छ । पत्रकारिताले पर्यटन पवद्र्धनका लागि भूमिका खेलिरहेको छ । विभिन्न मेला महोत्सव संचालन हुनुपर्ने र मेला महोत्सवलाई पर्यटन प्रवद्र्धन गर्ने माध्यम बनाउनुपर्छ भनेर संचारले खवरदारी गर्दै आएको विषय हो ।

किसानका कुरा, मजदुरका कुरा, समग्रमा भूईमान्छेका कुराः
पत्रकारितामा नअटाउने कुनै विषय छैन । कतिपयले यहि भएर पत्रकारलाई सवै कुरा थाहा हुन्छ भन्ने गर्दछन् । हो पत्रकारलाई सवै कुरा थाहा हुन्छ तर सवै कुरा पूर्ण रुपमा थाहा नहुन सक्छ । अहिले पत्रकारितामा विट पत्रकारिता फस्टाएको छ । पत्रकारले गहिरोसंग अध्ययन गर्नुपर्छ । अनुसन्धान गर्नुपर्छ । पत्रकारले विषयको गहिराई बुझ्नुपर्छ भनेर नै विट पत्रकारिताको सुरुवात गरिएको हो । जिल्लामा विट पत्रकारिताको अभ्यास सामान्य रुपमा भएपनि थालिएको छ । जिल्लाको पत्रकारिताले किसानले मल नपाएको कुरा गर्ने गरेको छ । किसानले विउ नपाएको कुरा गर्ने गरेको छ । श्रम गर्नेहरुले उचित मूल्य नपाएको बारेमा वकालत गर्ने गरेको छ । कतिपयले पत्रकारले थाहा पाउछन् भनेर श्रम शोषण नगरेको, कामबाट निकाल्न नसकेको, नियमित रुपमा तलव दिइरहेका हुन्छन ।

पत्रकारिताले उठाउनुपर्ने विषयहरु अनेकन छन् । पत्रकारिताले उठाइरहेका विषयहरु पनि अनेकन छन् । कहिलेकाँही पाठकले विषय दिने गर्दछन् । पत्रिकाले लेखेपछि केही हुन्छ भन्ने मानिसमा जुन विश्वास रहेको छ यसलाई जोगाउनुपर्छ । पत्रिकाले लेख्छ भन्ने कुराले भ्रष्टाचारमा कमी ल्याउन सघाउ पु¥याउँछ । पत्रिकाले लेख्छ भन्ने डरले सरकारी सेवालाई चुस्त दुरुस्त बनाउनुपर्छ भन्नेहरु पनि छन् । समग्रमा दाङ जिल्लामा पत्रकारिताले उठाएका केही विषय सफल भएका छन् । केही विषयहरु निरन्तर खवरदारी गर्नुपर्ने विषयका रुपमा रहेका छन् । दाङ जिल्ला पत्रकारितका लागि उर्वर क्षेत्र हो । शिक्षाका लागि उर्वर रहेको भूमि पत्रकारिताका लागि पनि राम्रो मानिन्छ । साविक राप्ती अञ्चलको केन्द्रका रुपमा दाङ जिल्ला रहेको थियो । अहिले यहाँ छ जिल्ला छन् तर दाङ जिल्लामा मात्रै दैनिक पत्रिकाहरु प्रकाशनमा छन् । साप्ताहिक पत्रिकाहरु छन् । म्यागेजिनहरु छन् । साहित्यीक पत्रिकाहरु प्रकाशनमा रहेका छन् । यस कारणले गर्दा पनि दाङ जिल्लाको पत्रकारिताको उचाई बढी छ । (समाप्त)

[email protected]

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार