spot_img
spot_img

विकास पत्रकारितामा दाङका छापा माध्यमको योगदान

 

शरद अधिकारी

पत्रकारिताका हिसावले दाङ जिल्ला अव्वल जिल्लामा पर्दछ । दाङ जिल्लामा सवैभन्दा पहिले संचारमाध्यमका रुपमा छापा माध्यम आएको थियो । कतिपय जिल्लामा पत्रिका प्रकाशन नहुँदै रेडियो पुगेका उदाहरणहरु छन् । दाङ जिल्लामा पंचायतकालमै पत्रिका प्रकाशन भएको देखिन्छ । पत्रकारको कुरा गर्ने हो भने जिल्लामा पत्रिका नहुँदा पनि पत्रकारहरु जन्मिइसकेका थिए । जिल्लामा पत्रिका प्रकाशन भएको कुरालाई आधार मान्ने हो भने करिव पाँच दशक मात्रै भएको छ । यो पाँच दशकको अवधिमा छापा माध्यमले निकै फड्को मारेको छ । शुरुमा पाक्षिक रुपमा पत्रिका निस्केको इतिहास छ । समाचार पत्रको रुपमा युगवोध दैनिकलाई पहिलो पत्रिका मान्ने हो भने यो सुरुमा पाक्षिक थियो । पछि साप्ताहिक रुपमा आयो । युगवोध दैनिक लामो समय छापा माध्यमका रुपमा उभियो । दाङ जिल्लामा पंचायती व्यवस्थाको समयमा केही पत्रिकाहरु जन्मिएका थिए । केही पत्रिकाहरु लोकतन्त्रको आगमन पछि मात्रै आएका छन् । पत्रकारिताका लागि उर्वर मानिएको दाङ जिल्लामा छापा माध्यमले विकास पत्रकारिताको क्षेत्रमा कति योगदान गरे ? कुन कुन क्षेत्रमा योगदान गरे भन्ने सन्दर्भमा आजको लेख केन्द्रित रहेको छ ।

विकास पत्रकारिताको मुख्य काम भनेको समाज परिवर्तनका लागि सकारात्मक सन्देश दिने हो । छापा माध्यमको काम भनेको समाजमा परिवर्तन ल्याउने हो । विकास ल्याउने हो । समृद्धि ल्याउने हो । विकृती विसंगती अन्त्य गर्ने हो । त्यसका लागि खोज र अनुसन्धान गने हो । दाङ जिल्लाको कुरा गर्ने हो भने अहिले यहाँ पाँचवटा दैनिक पत्रिकाहरु नियमित रुपमा प्रकाशन भइरहेका छन् । घोराहीबाट चारवटा दैनिक पत्रिका छन् भने तुलसीपुरबाट एउटा दैनिक पत्रिका प्रकाशन भइरहेको छ । यस्तै केही साप्ताहिक पत्रिकाहरु प्रकाशित भइरहेका छन् । जिल्लाबाट प्रकाशित पत्रिकाहरुले गरेको योगदान अनुसन्धानको विषय हो । जिल्लाको विकासका लागि छापा माध्यमले गरेको योगदान महत्वपूर्ण रहेको छ । परिवर्तनका पक्षमा, विकासका लागि पत्रकारिताले योगदान गरेको छ । जसलाई निम्न रुपमा उल्लेख गर्न सकिन्छ ।
विकास सम्वन्धी समाचारहरुः हामी सवैलाई थाहा छ नेपालको पत्रकारितामा राजनीतिले बढी स्थान पाउने गर्दछ । यो रोगबाट दाङ जिल्ला पनि अछुतो रहेको छैन । दाङ जिल्लाका छापा माध्यममा पनि राजनीतिक कुरा नै धेरै आउँछन् । यति हुँदा हुँदै पनि दाङको छापा माध्यमले विकासका क्षेत्रमा भइरहेका प्रगतिहरु, लगायत विकासमा भइरहेका समस्याहरुलाई उजागर गरिरहेका छन् । पत्रकारिताले कहिले पनि आफूलाई यो विषयबाट टाढा राखेको छैन । विकास सम्वन्धी समाचारहरु यहाँका पत्रिकाका लागि प्राथमिकतामा पर्र्ने गरेका छन् । कतिपय विकासका कुरा, विनासका कुरा, भ्रष्टाचारका कुराहरु मानिसले छापा माध्यमबाट आउने समाचारबाट थाहा पाउने गरेका छन् ।

साक्षरता बढाउने काममा छापा माध्यमः विकासको कुरा गर्दा विकास भनेको भौतिक विकास मात्रै होइन । भौतिक विकासको कुरा मात्रै समाचारमा आउने होइन । विकासका विभिन्न क्षेत्रहरु छन् ति विषयहरु पनि छापा माध्यममा विषय बन्ने गरेका छन् । स्वास्थ्यको क्षेत्रमा भएका राम्रा काम र प्रगतिका बारेमा पत्रिकामा आउने गरेका छन् । शिक्षाको क्षेत्रमा भएका अनेकौं प्रगतिका बारेमा समाचारहरु आउने गरेका छन् । अन्य विषयहरुको तुलनामा शिक्षाको क्षेत्रमा वा साक्षरता बढाउने सवालमा पनि यहाँको पत्रकारिताले काम गरेको छ ।

अभियान संचालनमा साथैः हाम्रो समाजमा अनेकन खालका समस्याहरु रहेका छन् । कतिपय समस्याहरु समाधान भएका छन् । कतिपय समस्याहरु अझै ज्यूदै छन् । कुनै बेला दाङ जिल्लामा खुल्ला दिसामुक्त अभियान चलिरहेको थियो । त्यतिवेला अभियानकर्मीसंग छापा माध्यम पनि कुदिरहेको थियो । छापामाध्यमले खुल्ला दिसामुक्तको अभियानमा आफूलाई साथै लगाएको थियो । यो त एउटा उदाहरण मात्रै हो । केही बर्ष अघि विधवाले सेतो लगाउनुपर्छ भन्ने मान्यतालाई तोडन्का लागि महिलाहरु लागिरहेको समयमा त्यसलाई छापा माध्यमले साथ दिएको थियो । एकल महिलाहरुले रातो लगाउने अभियानलाई सफलतामा पु¥याउनका लागि पत्रकारिताले ठूलो योगदान गरेको थियो । यस्तै जिल्लामा कम्लहरी मुक्तीको अभियानमा पत्रिका साथै थिए । जिल्लालाई बालश्रम मुक्त बनाउनका लागि पत्रकारिताले योगदान गरेको थियो । अहिले पूर्ण सरसफाईको अभियान चल्न खोजिरहेको छ । यसमा पनि छापामाध्यमको पुरै साथ र सहयोग हुनेछ ।

समस्या उजागर गर्नेः समाजमा अनेकौं समस्याहरु छन् । समाजमा गरीवी छ । समाजमा बेरोजगारी छ । समाजमा शिक्षाको अभाव छ । समाजमा अहिले पनि छुवाछुत कायमै छ । बाल विबाह अन्त्य भएको छैन । बालश्रमिकहरु राख्ने क्रम पूर्ण रुपमा अन्त्य भएको छैन । अपाङ्गता भएकाहरुले अधिकार पाएका छैनन् । कहिले किसान समस्यामा हुन्छन् । कहिले विद्यार्थी, कहिले व्यापारी, कहिले खेलाडीहरु समस्यामा पर्ने गरेका छन् । यस्ता समस्याहरुको उजागर गर्ने भरपर्दो माध्यम छापा माध्यम बन्ने गरेको छ । कसैले न्याय पाएन भने पत्रकारलाई खोज्दै गरेको देखिन्छ । कोही विरामी पर्दा पत्रकारले समाचार लेखिदिए केही सहयोग जुट्छ कि भन्नेहरुको कमि छैन । यस्ता धेरै बिषयहरु छन जसलाई पत्रकारिताले उजागर गर्दै आइरहेको छ ।

सांस्कृतिक अभिवृद्धिमा योगदानः दाङ जिल्ला विविधताले भरिएको जिल्ला हो । यहाँका छापा माध्यमले स्थानीय सांस्कृतिक गतिविधिहरू, विभिन्न पर्वहरु, विभिन्न चाडहरुलाई महत्व दिइएका हुन्छन् । पर्यटनका विषयहरु होउन वा सांस्कृतिक संरक्षण गर्ने सवाल ने किन नहोस छापा माध्यमले आफूलाई अव्वल रुपमा प्रस्तुत गर्दै आएको छ । सांस्कृतिक रुपमा रहेको विविधता संरक्षण गर्ने र संरक्षणमा लाग्नेहरुलाई उत्प्रेरणा दिने काम संचारले गर्नै पर्दछ । दाङको छापा माध्यमले यो विषयमा पनि आफूलाई सधै अग्रस्थानमा राख्ने गरेको छ ।

स्थानीय उद्यमशिलता प्रवद्र्धनः छापा माध्यमको काम जस्तो भएको छ स्थानीय उद्यमिहरूको प्रवद्र्धन गने कुरा । स्थानीय रुपमा उद्यमीहरुले हासिल गरेका सफलताका कथाहरु, कसैले सानो लगानीबाट गरेका सफलताहरुलाई प्रवद्र्धन गर्नै काम मिडियाले गरिरहेको छ । छापा माध्यमहरुले अनेकौं सफलताका जीवन्त बिषयहरुलाई उजागर गर्दै आइरहेका छन् । कसैले गरेका राम्रा कामहरु, कसैले गरेका राम्रा योगदानहरु, कसैले गरेका राम्रा कामहरु, स्थानीय उद्यमीले राष्ट्रिय रुपमा समेत चर्चा पाएका सफलता गथाहरूलाई छापा माध्यमहरुले उजागर गर्ने गरेका छन् ।

यि त केही उदाहरण मात्रै हुन । जिल्लाको छापा माध्यमले पाँच दशकको अवधिमा गरेको योगदानलाई लिपिवद्ध गर्नु गाहे कुरा हो । छापा माध्यमले विकास पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको कुरा हामी सजिलै भन्न सक्छौं । यो विषय लुकाउँदा पनि लुक्ने विषय होइन । जिल्लामा रहेका पाँचवटा दैनिक पत्रिकाहरुले विकास पत्रकारितालाई कुनै न कुनै रुपमा अघि बढाएका छन् । कुनै न कुनै रुपमा सम्वोधन गरेका छन् । छापा माध्यमको इतिहास लामो छ । जिल्लामा अहिले नयाँ युगवोध दैनिक, गोरक्ष दैनिक, गणतन्त्र दैनिक, राप्ती पोष्ट दैनिक घोराहीबाट प्रकाशित भइरहेका छन् । तुलसीपुरबाट प्रदेश टुडे दैनिक प्रकाशनमा रहेको छ । पाँच वटा दैनिक नियमित रुपका प्रकाशन भइरहदा हरेक दिन कुनै न कुनै विकासका बिषयहरुले स्थान पाइरहेका छन् । स्थानीय विषयको मात्रै कुरा होइन राष्ट्रिय बिषयलाई पनि महत्व दिने काम यहाँका पत्रिकाहरुले गरिरहेका छन् । कुनै पनि संचारका माध्यमहरु समाजका सम्पती हुन । यि सवै समाजका विषयहरु उजागर गर्ने माध्यमहरु हुन । कसैलाई पत्रिका वा रेडियोले अरु विषयहरु उजागर गर्नुपर्छ भन्ने लाग्न सक्छ । त्यो स्वभाविक कुरा हो । कसैलाई अझै धेरै बिषय आए हुन्थ्यो भन्ने लाग्न सक्छ । मिडियामा आउने विषयका बारेमा व्यापक छलफल गर्ने । बहस गर्ने । यो पुगेन भनेर भन्ने हो भने त्यो विषयलाई समेट्न सवै माध्यम तयार हुनेछन् । संचारमाध्यमलाई कसरी राम्रो बनाउने भन्ने बारेमा समाजको सचेत बर्गले ध्यान दिनुपर्छ ।

[email protected]

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img