राप्ती पोष्ट
घोराही, फागुन । आगामी फागुन १३ गतेदेखि घोराहीमा दादुरा रुवेला विरुद्ध खोप अभियान संचालन गरिने भएको छ । दादुरा रुबेला विरुद्धको खोप अभियान अन्तरगत घोराहीमा पनि तयारी तीव्र पारिएको छ । नेपाल सरकारले फागुन १३ गतेदेखि चैत २७ गते भित्र देशव्यापी रुपमा दादुरा रुबेला खोप अभियान संचालन गरिसक्ने निर्देशन गरे बमोजिम घोराहीमा बसोबास गर्दै आएका ६४ हजार तीन सय २८ जना बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने तयारी भएको हो ।
उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले बिहीबार कार्यपालिका सदस्य, सामाजिक विकास महाशाखाका प्रमुख, प्रतिनिधीहरु, पत्रकारहरुका लागि आयोजना गरेको अभिमुखिकरणमा फागुन १३ गतेदेखि पालिकाभरका एक सय ९७ वटा खोप केन्द्रमार्फत बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाउन लागिएको जानकारी गराईएको हो ।
विद्यालयहरुका खोप केन्द्र निर्धारण गरी संचालन गर्न थालिएको अभियानमा स्वास्थ्यकर्मी, शिक्षक र स्वयम्सेविकाहरुले सहजीकरण गर्नेछन् । संघ सरकारले उपलब्ध गराएको खोपलाई प्रदेश सरकारले व्यवस्थापन गरीरहेको छ भने स्थानीय पालिकाहरुले खोप अभियानलाई कार्यान्वयन गर्ने भएको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ यो अभियान पूर्ण खोप सुनिश्चित भएका स्थानहरुमा पनि संचालन गर्न थालिएको छ ।
पालिकास्तरीय खोप समन्वय समिति संयोजक एवम् नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको अभिमुखीकरणमा पालिकाभरसंचालन हुन लागेको खोप अभियान बारे जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी गराउनुभएको थियो । अघिल्लो वर्ष ९५ प्रतिशत बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाईएकोमा यो पटक शतप्रतिशत पुर्याउने लक्ष्य लिईएको उहाँले बताउनुभयो ।
‘नियमित दादुरा–रूबेला खोपको कभरेज ९५ प्रतिशत भन्दा कम भएको, नियमित दादुरा–रूवेला खोपको कभरेज सबै तहमा एकरूपता नरहेको, दादुरा रुबेला खोप अभियान २०७६÷७७ पछि गरिएको सर्भेक्षणअनुसार दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत मात्र देखिएको, कोभिड १९ को महामारी र अन्य कारणहरूले गर्दा दादुरा रूबेला खोप लगाउन छुट बालबालिकाहरूको संख्यामा वृद्धि भई २०७९–०८० मा दादुराको महामारी देखिएका कारण पनि यस्तो बेलामा सबैले सकारात्मक रुपमा अभियान सफल बनाउन लाग्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो ।
नगर प्रमुख चौधरीले आफ्ना बालबालिकालाई तोकिएको खोप केन्द्रबाट अनिवार्य खोप अनिवार्य लगाउन अनुरोध गर्नुभयो । स्वस्थ नागरिक बनाउने सरकारको लक्ष्यलाई सहयोग गर्न उहाँको आग्रह थियो । ‘लक्षित उमेरका बालवालिकाहरुलाई दादुरा–रूबेला खोप लगाएर दादुरा र रूबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगहरूबाट संक्रमण हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न, पाँच वर्ष मुनिका बालबालिकाहरूको नियमित खोपको अवस्था पहिचान गरेर छुट नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्न सबै अभिभावकहरु, सरोकार निकायले जिम्मेवारपूर्वक भुमिका खेल्न अनुरोध छ, गाउँ टोल समुदायमा सबैले सहयोग गर्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो ।
९ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकाहरुका लागि दादुरा रुबेला खोप अभियान संचालन हुन लागेको हो । पछिल्लो समय दादुरा रुबेलाका बिरामीको संख्या बढेको हुँदा सो अभियान सञ्चालन गर्नु परेको सरकारको भनाई छ । लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषणा भएपनि २०७९ मंसिर ३ देखि २०८० पुस १५ गतेसम्म दादुरा रुबेलाको महामारीको रुपमा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेका थिए । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा ३ सय २१ जना दादुरा रुबेलाबाट बालबालिका संकमित भएका थिए । त्यसैगरी बर्दियामा ७२, दाङमा ३९, अर्घाखाँचीमा ११ जनामा बिरामी परेका थिए ।
जसका कारण पुनः तराईका २१ जिल्लामा ९ महिना दखि १५ वर्ष उमेर समुहका र काठमाडौं उपत्यकाका ३ जिल्लामा ९ महिना देखि ५ वर्ष उमेर समुहका बालबालिकाहरुमा दादुरा रुबेला खोप अभियान संचालन हुन लागेको छ । यस अभियान अन्तरगत लुम्बिनी प्रदेशमा रहेका ११ लाख ६० हजार ६ सय ६६ जना बालिबालिकाहरुमा खोप लगाउने लक्ष्य रहेको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उसो त, नियमित दादुरा रुबेला खोपको कभरेज सबै स्थानीय तहमा एकरुपता हुन सकेको छैन । जसका कारण पनि दादुरा रुबेला खोप अभियानको कभरेज समग्रमा ८४ प्रतिशत मात्र रहेको पाइएको छ । खोपबाट बचाउन सकिने रोग नियन्त्रण गर्नु तथा अपाङ्गता र मृत्युदरलाई कम गर्न, खोपबाट बचाउन सकिने रोगहरुको निवारण र उन्मुलनको लक्ष्य हासिल गर्ने कार्यलाई तिव्रता दिई दिगोपन कायम राख्न, सन् २०१० देखि पोलियो शुन्य अवस्था कायम भएकोलाई निरन्तरता दिई सन् २०२६, सम्ममा पोलियो रोग उन्मूलन गर्न, सन् २००५ देखि नवशिशु धनुष्टंकार रोग निवारण भएको अवस्थालाई कायम राख्न, सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्न र प्रत्येक बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चित गर्न अभियानकै रुपमा संचालन गर्ने लक्ष्य राखिएको बतार्ईएको छ ।
यद्यपि, हालसम्मको अवस्था हेर्ने हो भने अपेक्षित कभरेज हासिल नहुनु, कभरेजमा एकरूपता नहुनु, शून्य खोप र ड्रपआउटको संख्या बढ्दै जानु, सुक्ष्मयोजना अध्यावधिक नगरिनु, पूर्ण खोप दिगोपना कार्यक्रम प्रभावकारी नहुनु, महामारीहरु देखा परी रहनु तथा खोप खेर जाने दर उच्च हुनु जस्ता समस्याले चुनौति थप्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।