spot_img
Home Blog Page 31

माओवादी दाङको बैठकमा विधान अधिवेशनको चर्चा

राप्ती पोष्ट

घोराही, २४ माघ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको पूर्ण बैठक मंगलबार बस्यो । जिल्ला संयोजक तुलसीराम पुनको अध्यक्षतामा बसेको बैठकमा माओवादीले आगामी फागुन १ गते देखि गर्ने विधान महाधिवेशनको चर्चा गरिएको थियो । तुलसीपुरमा बसेको बैठकमा पार्टीको विधान महाधिवेशनका लागि तयार गर्ने मस्यौदाका लागि सुझाव संकलन गरिएको थियो ।

बैठकमा बोल्नेहरुले पार्टी विधान अनुसार चल्नुपर्ने, युवामैत्री विधान बनाउनुपर्ने, गणतन्त्र, समाबेशीता र समानुपातिकमैत्री विधान बन्नुपर्ने, महिलाको सहभागीतामा ३५ प्रतिशतबाट वृद्धि गर्नुपर्ने, तल्लो तहको समितिको सिफारिस बाध्यकारी हुनुपर्ने व्यवस्था गर्नुपर्ने, पार्टी र सत्तामा आलोपालो ब्यवस्था गर्नुपर्ने, भ्रष्टाचार लगायत जघन्य अपराधलाई पार्टीको पनि कार्वाहीको विषय बनाउनुपर्ने लगायत सुझाव संकलन गरिएको थियो ।

सो अवसरमा केन्द्रिय सदस्य निर्मल आचार्यले माओवादी पार्टी इतिहासमा पहिलो पटक बिधान अधिवेशन हुन लाग्नु आफैमा ऐतिहासिक कदम भएको बताउनुभयो । उहाँले युद्धबाट आएको पार्टी भद्रगोल छ भन्ने गलत भाष्य स्थापित भएको बेलामा यसलाई सच्याउन आशन्न बिधान अधिवेशन कोषेढुङ्गा साबित हुने बताउनुभयो । माओवादी नै वास्तविक अर्थको बैकल्पिक शक्ति भएको बताउँदै उहाँले कामका दौरान भएका केही कमिकमजोरीलाई इंगित गर्दै नियोजित रुपमा हुने गरेको आरोप आधारहीन रहेको बताउनुभयो ।

सो अवसरमा पार्टीका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक ईन्द्रजीत थारु, केन्द्रिय सदस्य भिमकुमारी बुढा, केन्द्रिय सल्लाहकार शेशुराम भण्डारी, प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने, केन्द्रिय कला साहित्य बिभाग सदस्य रामप्रसाद जैसीलगायत बोल्नुभएको थियो ।

घोराहीको बुद्ध हस्पिटलमा पटक पटकको लापरवाही

पटक पटकको लापरवाहीमा सम्वन्धित निकाय मौन

राप्ती पोष्ट

घोराही, माघ । गएको शुक्रबार घोराही १७ निवासी ५९ वर्षीया शीला भुसाल पत्थरी र पिसाव सम्बन्धी समस्याको उपचारका लागि भन्दै घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा जानुभयो । चिकित्सकबाट आवश्यक जाँच गरेपछि ब्लड सुगरको मात्रा धेरै भएको र केही दिन अस्पताल बस्नुपर्ने सल्लाह भयो । सोही अनुसार, बिरामी भुसाल अस्पताल मै भर्ना भएर उपचारमा केन्द्रित हुनुभयो । तर, चार दिनको राति उहाँ अचानक अस्वस्थ हुनुभयो । सामान्य अवस्थामा रहेको बेलामा उहाँलाई नर्सहरुले इन्सुलिन दिँदादिदै बेहोस हुन पुग्नुभयो ।

सुगर धेरै भएको भन्दै दिइएको इन्सुलिनको मात्रा नमिले पछि समस्या भएको हुन सक्ने बिरामीका आफन्तले अडकल काटे । उता, अस्पतालमा ड्यूटीमा रहेका चिकित्सकले प्यारालाइसिस भएको अन्दाज गरे । बिरामी अचानक बेहोस भएपछि अस्पतालमा ड्युटीमा रहेका डाक्टरले प्यारालाईसिस भएको अन्दाज गरिरहँदा बिरामीका आफन्तले राप्ती एकेडेमीमा सिटी स्क्यान गर्न लगे । बिरामी बेहोस भएका कारण टाउकोमा रगत जमेको एकिन हुन खोजिएको थियो । तर, बिरामीको दिमागमा रगतको असर देखिएन । अस्वस्थ शरीर, त्यसैमा उपचारपछि निको हुने अवस्थामा पुगेको बिरामी अचानक बेहोस भई जीवन र मृत्युको दोसाँधमा पुगेको देखेपछि बिरामीका आफन्ती आत्तिनु स्वाभाविक थियो ।

रातिको समयमा यति गतिविधि भईरहँदा अस्पतालमा रहेका कार्यरत डाक्टर र नर्सहरुबाट हुनुपर्ने जिम्मेवारी पूरा नहुँदा बिरामी मर्ने अवस्थामा पुगेको बिरामीको आफन्त गोकर्ण रेग्मीको भनाई छ । डयुटीमा रहनुभएका डाक्टर दिपेश शाहले पनि आफुलाई बिरामीलाई प्यारालाईसिस भएको जानकारी गराएको रेग्मीले बताउनुभयो । ‘बिरामी उपचारका जानु भनेको समयमा सहज उपचार पाएर निको हुनका लागि जाने हो, आशा र भरोसामा पुगेका बिरामीलाई गरिने व्यहार जिम्मेवारपूर्ण भएन भने मेरी दिदी मृत्युको मुखमा पुगे जस्तै हुन्छ । जुन व्यहार बुद्ध अस्पतालले गरेको छ’, बिरामीका आफन्त रेग्मीले भन्नुभयो ‘डाक्टरले बिरामीका लागि चलाउनुपर्ने औषधी समय अनुसार दिईन भने के होला ? जिम्मेवारीपूर्वक ड्युटी नगर्ने अनि एकै पटक औषधी दिँदाको परिणाम हो ।’

बिरामी एउटा समस्या लिएर उपचार गराउन गएको बेला अरु थरीको उपचार गरेर मार्न खोजेको जस्तो अवस्था भएको उहाँको गुनासो छ । अचेत अवस्थामा रहनु भएकी बिरामी भुसाललाई अब के गर्ने भन्ने टुंगो लगाउन हम्मे भएको बेलामा अस्पतालले हात उठाउन खोजेको प्रति बिरामीका आफन्त असन्तुष्ट बने । यही बेलामा अस्पतालमा कार्यरत नर्सहरुले आफ्नो साथीको जन्मदिन बिरामीकै क्याबिनमा मनाई रहँदा मानवता हराएको आभाष बिरामीका आफन्तलाई भयो । ‘जन्मदिन मनाउन पाउनुपर्छ, यो उहाँहरुको अधिकारको कुरा हो, तर कहाँ कति बेला कस्तो अवस्थामा मनाउनुपर्छ भन्ने हेक्का नराखेर बिरामी बेहोसको अवस्थालाई बेवास्ता गरेर मानवताको ख्यालै नगरी गरिएको कामले अस्पतालले बिरामी प्रति गरिरहेको व्यहार स्पष्ट भएको छ । यसरी बिरामीलाई प्रयोगशाला बनाईनु हुँदैन’ बिरामीका आफन्त रेग्मीले भन्नुभयो ।
शुक्रबार राति अबेरसम्म बिरामीको अवस्था नाजुक हुँदै गएको भन्दै अत्तालिएका आफन्तले के गर्ने भन्ने निधो गर्न सकेका थिएनन् । उनीहरुले बिरामी बचाउन सकिएला भन्ने कोशिस भने जारी राखे । अन्ततः अस्पतालबाट राति करीव साढे १ बजे एम्बुलेन्समार्फत काठमाडौँ लगे । काठमाडौमा रहेका डाक्टरहरुसँग परामर्श लिएर बिरामीका आफन्त रेग्मीले उपचार अघि बढाउनुभयो । दिउँसो करीव साढे १ बजे पुग्नुभएकी बिरामी भुसाललाई माइल्ड स्टोक भएको र प्यारालाइसिसको अवस्थामा पुगेको कारण जनाउँदै माईतीघर नजिक रहको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरियो । ःआरआई लगाएत थुप्रै परिक्षण एक घण्टाभित्रै भयो । सबै प्रकारका परिक्षण भएपछि बिरामीलाई ‘हाईपो ग्लाईसेमिया’ भएको पत्ता लाग्यो ।

यो हुनुमा बिरामीलाई एकै दिन बिहान चार र साँझमा तीन गरी सातवटा इन्सुलिन प्रयोग गरिएको र त्यसकै कारण सुगर उच्च मात्रामा घटेर बेहोसको अवस्थामा पुगेको चिकित्सकले बताएको रेग्मीको भनाई छ । चिकित्सकले इन्जेक्सन दिनु भनेर हिड्ने ड्यूटीको नर्स सुत्ने र व्यूँझिदा त्यो समय गुज्रिसकेको हुने अनि बिरामीको फाइल विवरणमा सुई दिएको समय अलग–अलग लेख्ने तर ब्यूँझिएपछि एकै पटक लगाइदिने गरेको गरेको विरामीले बताएको रेग्मीले जानकारी दिनुभयो ।
काठमाडौँमा ३ दिनको लगातारको उपचारपछि डाक्टरले बिरामीलाई ‘हाईपो ग्लाईसेमिया’ कारण समस्या भएको कारण देखाउँदै आवश्यक औषधीसहित निको हुँदै गएको उल्लेख गरेर अन्नपूर्ण अस्पतालले डिस्चार्ज गरेको कागजमा उल्लेख छ । बिरामीको स्वास्थ्यमा खेलवाड गर्दै बुद्ध अस्पतालले गरेको लापरवाही विरुद्ध कानूनी उपचार खोज्ने बिरामीका आफन्तको चेतावनी छ ।

जनस्वास्थ्य जस्तो गम्भीर विषयमा बिरामीको उपचारमा गरिएको लापरवाहीले बिरामीलाई मृत्युको मुखबाट बचाउन आफुहरुसफल भएपनि आम जनताको विषय यही अवस्था रहे के हुने ? भन्दै उहाँका आफन्तले प्रश्न गर्नुभएको छ । यसप्रति जिम्मेवारपूर्ण रुपमा स्वास्थ्य सेवा प्रदान गर्न पनि बिरामीका आफन्तले अपिल गरेका छन् । निकै दुखद घटना भएको एक साता बितिसक्दा पनि अस्पताल प्रशासनले आफुहरुसँग घटनाका बारेमा ठोस छलफल नगरेको प्रति पनि उनीहरुको चित्त दुखाई छ ।

उता, बुद्ध इन्टरनेशनल हस्पिटलले पनि बिरामी बेहोस भएको घटना प्रति चासो लिएको जनाएको छ । उक्त दिन उपचाररत बिरामीको बारेमा नियमित रुपमा औषधी उपचार भईरहेको बेलामा अचानक बेहोस भएपछि के भएको हो भनी पत्ता लगाउने कोशिस भएको अस्पताल प्रशासनका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माको भनाई छ ।
बिरामी बेहोस भएपछि बिरामीका आफन्त तनाबमा हुनुहुन्थ्यो, यो बेलामा आक्रोसित हुनु स्वाभाविक पनि हो, हामीले सकेसम्मको कोशिस गरेर बिरामीको उपचार गरिरहेका थियोँ, अचानक उहाँ बेहोस हुनुभएछ, त्यसपछि उहाँको अवस्था सामान्य बनाउन कोशिस गरेको हो । केही समयपछि उहाँ होसमा आउनुभयो । ‘हामीले माइल्ड स्ट्रोक भएको ठहर्यायौँ । यो हुँदा बिरामीको कुनै अंग नचल्ने अवस्था हुन्छ तर पछि सामान्य बन्छ’, प्रमुख कार्यकारी अधिकृत शर्माले भन्नुभयो ‘यो हुनुमा उपचारमा तलमाथि भएर होईन । उहाँको आफ्नै कारणले हो भन्ने हामीले ठानेका छौँ ।’

बिरामीलाई उपचारका लागि फरक फरक औषधी दिने क्रममा धेरै औषधी दिँदा सबै औषधी एकै पटक नदिएको भन्दै उहाँले आवश्यक मात्रा अनुसार औषधी सेवन गराउनेदेखि इन्सुलिन पनि सोही आधारमा दिएको अस्पताल प्रशासनको दावी छ । बिरामीको जनस्वास्थ्यलाई ध्यानमा राखेर उपचार गर्ने गरिएको भएपनि कहिलेकाँही यस प्रकारका घटना हुन सक्ने भन्दै उक्त घटनालाई अस्पताल प्रशासनले पनि निकै चासोका साथ लिएर बिरामीलाई जिल्ला नलैजाँदासम्म उपचारमा केन्द्रित भएको बताएको छ । बुद्ध हस्पिटलमा विगतमा पनि स्वास्थ्य सेवा प्रदानका क्रममा लापरवाही भएको भन्दै बिरामीका आफन्तले आन्दोलन गर्नेदेखि गुनासो पोख्ने गरेका छन् ।

बुद्ध हस्पिटलमा पटक पटक यस्ता घटना भइरहेका तथ्यले देखाउँछ । सामान्य विरामी भएकाहरु उपचार गर्नका लागि आउँदा मृत्युबरण गरेर गएका अनेकौं उदाहरणहरु रहेका छन् । पटक पटक मानव स्वास्थ्यमाथी खेलवाड भइरहदा सरोकारवाला निकायले कुनै चासो दिएको छैन । स्वास्थ्य जस्तो संवेदनशिल विषयमा अस्पतालबाट भएको लापरवाहीका बारेमा स्पष्ट कुरा भन्नु भन्दा घटनालाई लुकाउने वा दवाउने भन्ने तर्फ नै अस्पताल प्रशासनको ध्यान जाने गरेको पीडितहरुको भनाई रहेको छ । यस्ता विषयमा सरोकारवालाले चासो नदिंदा अस्पतालमा पटक पटक दुर्घटना हुने गरेको छ ।

 

राप्ती इञ्जिनियरिङमा जिल्लास्तरीय हाजिरी जवाफ

राप्ती पोष्ट

घोराही, १८ माघ । घोराहीमा रहेको राप्ती इञ्जिनियरिङ कलेजले स्थापना दिवसको अवसरमा विहीबार तेस्रो जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना ग¥यो । शुक्रबार कलेजमा सम्पन्न जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा रोजी बड्स प्रथम, दाङ भ्याली दोस्रो र गोर्खा स्कुल तेस्रो भएको थियो ।

प्रतियोगितामा रोजी बड्सका छात्र ऋृषिकेश चौधरी, साहिल चौधरी र छात्रा स्वीकृति भुषालको टोली प्रथम भएको थियो । यसैगरी प्रतियोगितामा दाङ भ्याली कलेजका छात्र पिताम्बर यादव, आयुष पोख्रेल र छात्रा एन्जिलिना डाँगीको समूह द्वितीय भएको थियो भने गोर्खा स्कुल लमहीका विशाल अधिकारी, निरज शर्मा र छात्रा उपासना आलेको टिमले तृतीय स्थान हासिल गरेको थियो । त्यस्तै प्रतियोगितामा गोर्खा तुलसीपुरका छात्र रिजोन बस्नेत, शिवराज वली र छात्रा अप्रेना केसीको टोलीले सान्त्वना स्थान हासिल गरेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीहरुलाई क्रमशः नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

कलेजका व्यवस्थापन समितिका अध्यक्ष डा. भिमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गौतमले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नका लागि हाजिरी जवाफ जस्ता प्रतियोगिता आयोजना गर्ने राप्ती इञ्जिनियरिङ कलेजलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा कलेजका प्रीन्सीपल रेशम गिरी, आदर्श मावि देउपुरका शिक्षक वसन्तराज अधिकारी गोर्खा स्कुल तुलसीपुरका विज्ञान कोर्डिनेटर विष्णुप्रसाद भण्डारी, गुरु जरुर मावि तुलसीपुरका विज्ञान विषयका कोर्डिनेटर चन्द्र बहादुर केसी, गोर्खा स्कुल घोराहीका विज्ञान विषयका शिक्षक थम्मन बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्दै राप्ती इञ्जिनियरिङ कलेजले दाङमा इञ्जिनियरिङ पढाइमा ठूलो भूमिका खेलेको बताउनुभयो ।

प्रतियोगितामा गोर्खा स्कुल घोराही, जनज्योति विद्यामन्दिर घोराही, गुरुकुल एकेडेमी घोराही, गोर्खा स्कुल तुलसीपुर, हिमाल एकेडेमी तुलसीपुर, गोर्खा स्कूल लमही, दाङभ्याली कलेज घोराही, रोजी बर्ड्स स्कुल लमही, पद्मोदय पब्लिक नमूना मावि घोराही, पब्लिक ज्यानज्योती तुलसीपुर, मावि रझेना घोराही, आदर्श स्कूल देउपुर, सिद्धरत्ननाथ स्कुल नारायणपुर, सिद्धार्थ एकेडेमी घोराही र गुरुजजुर मावि तुलसीपुर गरी १५ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो ।

कलेजले बिगत तीन वर्षदेखि निरन्तर रुपमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा कलेजका विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेको थिए । कलेजका डाइरेक्टर मधुसूदन वैद्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन कलेजका आइटी विभाग प्रमुख विश्ववन्धु थापाले गर्नुभएको थियो ।

कुष्ठरोगको जोखिम कायमै, निवारणको कार्यक्रम शुन्य

छबि पुरी/राप्ती पोष्ट

घोराही, माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ गिठेपानीकी गीता थापा (नाम परिवर्तन) लाई अघिल्लो वर्ष अचानक हातखुट्टा झमझमाउने, छाला चिलाउने समस्या देखियो । विभिन्न घरेलु औषधी उपचार गरे पनि निको भएन । अनेक उपाय खोजेपनि सञ्चो नभएपछि उहाँ घोराहीस्थित एक स्वास्थ्य संस्थामा गएर जाँच गराउँदा कुष्ठरोगको शंका गरियो ।

लगत्तै काठमाडौँ गएर उपचार गराउँदा गीतालाई कुष्ठरोग लागेको एकिन भयो । त्यसपछि उहाँले नियमित औषधी सेवन गरिरहनुभएको छ । हाल उहाँमा धेरै सुधार आएको छ । रोग पत्ता लागेपछि चिकित्सकसँग नियमित परामर्श गर्दै आउनुभएको छ । ‘औषधी खाने काम गरिरहेको छु, शुरुशुरुमा हातखुट्टा झमझमाउने, छाला चिलाउने अनेक समस्या भयो’, उहाँले भन्नुभयो, ‘रोग पत्ता लागेपछि नियमित उपचार गरिरहेको छु, घरपरिवारमा पनि यसलाई नकारात्मक रुपमा लिनुभएको छैन, यसले उपचारमा सहज भएको छ । स्वास्थ्यमा धेरै सुधार भईसकेको छ ।’

घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नोक काउलेका नारायणबहादुर पुन (नामपरिवर्तन) लाई भारतको दिल्लीमा रहँदा अचानक छालाजन्य समस्या देखा पर्यो । रोग बल्झिँदै गएपछि उहाँ उपचारका लागि अस्पताल पुग्नुभयो । परिक्षण गरेपछि उहाँलाई कुष्ठरोग लागेको पत्ता लाग्यो । करीव २० वर्षअघिबाट छालाजन्य समस्या भोग्नुभएका नारायणबहादुरले पछिल्ला केहीवर्षयता कुष्ठरोग निको हुने औषधी सेवन गर्दै आउनुभएको छ । ‘दिल्लीमा काम गर्दा छालामा समस्या देखियो, त्यसपछि अनेक उपचार गरेँ तर निको भएन, मलाई कुष्ठरोग लागेको रहेछ’, उहाँले भन्नुभयो, ‘अहिले समस्या पत्ता लागेपछि औषधी खाईरहेको छु, अहिले स्वास्थ्यमा सुधार हुँदै गएको छ ।’

समुदायस्तरमा यसरी रोग लागेपछि समस्या पहिचान गर्न आएका बिरामीले उपचारको बाटो रोजिरहेका छन् । २०६६ सालमा सरकारले कुष्ठरोग निवारण उन्मुख भएको घोषणा गरेपनि यो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । समुदाय स्तरमा कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेकाले यसको वृहत रुपमा खोज अनुसन्धान र सचेतना फैलाउनु पर्नेमा स्वास्थ्यकर्मी बताउँछन् ।

तर, राज्यको उदासीन नीति तथा कमजोर व्यवस्थापनका कारण कृष्ठरोगको संक्रमण बढ्न सक्ने धेरै जोखिम रहेको उनीहरुको भनाई छ । दाङमा कुष्ठरोगको संक्रमणको जोखिम धेरै भएपनि रोग नियन्त्रणका लागि सावधानी अत्यन्त कम भएको दावी स्वास्थ्य कार्यालयको छ ।

अझै पनि सामाजिक विभेद र लाच्छनाका कारण बिरामीहरु खुल्न सक्ने अवस्था अझै बनि नसकेको स्वास्थ्य कार्यालय दाङको कुष्ठरोग फोकल पर्सन गजेन्द्र यादवले बताउनुभयो । ‘अस्पतालमा आएका बिरामीहरुको मात्रै जाँच हुने गरेको छ, यदि समुदाय स्तरमा पुगेर वृहत रुपमा जाँच अनुसन्धान गर्ने हो भने यो समस्या बिकराल रुपमा आउन सक्छ, यसका लागि तीनै तहका सरकारले गम्भीरतापूर्वक कदम चाल्नुपर्छ’ उहाँले भन्नुभयो ।

स्वास्थ्य कार्यालयसँग कुष्ठरोग निवारण सम्बन्धी कार्यक्रमका लागि यो वर्ष बजेट छैन । औषधी तथा किट अभावमा यो वर्ष कुष्ठरोग परिक्षण समेत हुन सकेको छैन । ‘अहिले बजेट अभाव छ, काम गर्नका लागि चाहिने श्रोत नै नभएपछि काम कसरी हुन्छ, यो बेलामा कुष्ठरोगी भएको ठाउँमा नमूना संकलन गरी परिक्षण गर्नुपर्ने हो तर, काम हुन नसकेको अवस्था छ’, कुष्ठरोग फोकल पर्सन यादवले भन्नुभयो ।

दाङमा गत आर्थिक वर्ष २०७९÷०८० मा कुष्ठरोगको औषधी सेवन गर्ने नियमित बिरामीको संख्या २६ जना थियो । नियमित औषधी खाएमा बिरामीहरु निको हुने भएकाले बिरामीको संख्या थपघट हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । औषधी सेवन गरिरहेका २६ जना बिरामीहरु मध्ये करिव आधा बिरामी नयाँ रहेका स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्वर कुँवरले जानकारी दिनुभयो ।

कुँवरका अनुसार कुष्ठरोगका घोराही उपमहानगरपालिकामा १२ जना, गढवामा छ जना, दंगीशरण गाउँपालिकामा तीन लमहीमा दुई जना, राप्तीमा दुई जना र तुलसीपुर उपमहानगरपालिकामा एक जना बिरामीले नियमित औषधी खाईरहेको तथ्यांक छ । जबकी अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा २२ जना कुष्ठरोगी रहेको तथ्यांक थियो । प्रति दश हजार व्यक्तिमा एक वा सो भन्दा बढी भयो भने प्रमुख समस्याका रुपमा लिने गरिएको छ । जिल्लामा हाल प्रति दश हजारमा सुन्य दशमलव ५ मा कुष्ठरोग देखिएकाले यो निवारणको अवस्थामा रहेको बताईएको छ । यद्यपि, जिल्लामा कुष्ठरोगको परिक्षणसँगै सचेतनाको पाटो कमजोर बन्दै गएको पाईएको छ । जसले गर्दा समुदायमा कुष्ठरोगीकोे संख्या तथ्यांकभन्दा धेरै हुन सक्ने आशंका छ ।

हाल उपचाररता बिरामी अस्पताल आएर जाँच गराउँदा देखिएका बिरामीहरुको संख्या भएको भन्दै स्वास्थ्य कार्यालय कुँवरले सामाजिक विभेद र लाच्छनाका कारण खुल्न नसक्ने विरामीको संख्या धेरै हुन नसक्ने जोखिम रहेको बताउनुभयो । नियमित औषधी खाएर निको भएका बिरामीहरुलाई स्वास्थ्य कार्यालयले सम्मानसहित यातायात खर्चका रुपमा विरामीलाई रकम दिदै आएको कुँवरले जानकारी गराउनुभयो ।

नेपालमा कृष्ठरोग उन्मुलन भएपनि भारतसँगको खुल्ला सिमाना र दाङसँग सिमा जोडिएका अन्य जिल्लाहरुमा संक्रमणको संख्या रहेकाले दाङमा पनि जोखिम उच्च रहेको छ । कृष्ठरोग नियन्त्रणका लागि सचेतनासँगै राज्यका तीन तहकै सरकारले बिरामी रहेका बस्तीहरुका अन्य मानिसहरुसँग स्वास्थ्य जाँच गर्न आवश्यक रहेको बताउनुभयो ।

कुष्ठरोगबारे सचेतना फैलाउने, जानकारी गराउने काम विगतमा सबै तहबाट हुने गरेकोमा संघीयता कार्यान्वयनमा आएसँगै यसको कार्यभार पनि विकेन्द्रित हुँदा समन्वयमा समस्या हुने गरेको कार्यालयको भनाई छ । हाल कुष्ठरोग निवारण उन्मुख भएको भन्दै संघीय सरकारले सिमित बजेट विनियोजन गर्ने बाहेक अरु ठोस योजना हुन नसकेको बताउनुभयो । ‘बजेट छैन, यो वर्ष सबै कामका लागि केही गर्न सकिने अवस्था छैन, उहाँले भन्नुभयो ‘उन्मुलन उन्मुख भएको हुँदा कम वास्ता हुँदै गएको छ ।’

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो व्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोग मानिसबाट मानिसमा सर्छ । निकै पुरानो रोग भनिने कुष्ठरोग उपचार नगरेको कुष्ठरोग विरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । शुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई नसर्ने स्वास्थ्यकर्मीको भनाई छ ।

कानूनका विद्यार्थीले प्रकाशन गरे ‘मेट्रो म्यागजिन’

राप्ती पोष्ट

तुलसीपुर, माघ । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले प्रकाशन गरेको मेट्रो डिजिटल म्यागजिनको बिमोचन गरिएको छ ।

कानून सम्बन्धि विभिन्न विषयगत कुरा र गतिविधिहरु समेटेर प्रकाशन गरेको बुलेटिनको नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले विमोचन गर्नुभएको हो । डिजिटल रुपमा मात्रै प्रकाशन हुने बुलेटिनको विमोचन कार्यक्रममा बोल्दै जिएमले विद्यार्थीहरुको कार्यको प्रशंसा गर्नुभयो । उहाँले कानूनका विभिन्न विषयमा आधारित रहेर बुलेटिनमा सामग्रीहरु प्रकाशन हुनुपर्ने बताउनुभयो । ‘हामीले जानेको विषयलाई सर्वसाधारणसम्म पनि पुर्याउनु पर्दछ त्यसैले तपाईहरुले राम्रो काम गर्नुभएको छ ।’ उहाँले पत्रकारिता डिजिटल युगमा प्रवेश गरीसकेको हुँदा डिजिटल संस्करणमा प्रकाशित गरिनु समय सुहाउँदो कुरा भएको पनि बताउनुभयो ।

कार्यक्रममा रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका अध्यक्ष शरद रेग्मीले विद्यार्थीहरुको पहलमा म्यागजिन प्रकाशन जस्तो महत्वपूर्ण काम भएकोमा खुसी व्यक्त गर्नुभयो । इन्सेक दाङका प्रतिनिधि जेएन सागरले कानूनका धेरै कुराहरु संवेदनशिल हुने भएको हुँदा विद्यार्थीहरुले सर्वसाधारणलाई बुझाउनुपर्ने कुरामा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरीले कानूनका विषयमा समाचार लेख्ने पत्रकारको संख्या कम भएको अवस्थामा विद्यार्थीहरुले गरेको कामको प्रशंसा गर्नुभयो ।

कलेज प्रमुख वसन्त आचार्यले कलेजले विद्यार्थीहरुलाई नयाँ नयाँ काममा संलग्न गराउँदै लगेको बताउनुभयो । उहाँले पढ्ने मात्रै भन्दा पनि पढेको कुरालाई व्यवहारमा लागु गराउनका लागि कलेजले भुमिका खेलेको बताउनुभयो । कानून संकाय संयोजक विजय पोख्रेलले विद्यार्थीहरुलाई सृजनात्मक बनाउनका लागि पत्रिका प्रकाशन गरेको बताउनुभयो । कार्यक्रममा विद्यार्थी दुरविन वलीले पत्रिका प्रकाशन गर्नुको उद्देश्यका बारेमा जानकारी गराउनुभयो । विद्यार्थी दिपा बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी पारस वलीले गर्नुभएको थियो ।

प्रेस चौतारी दाङले स्थापना दिवस तीन दिन मनाउने

राप्ती पोष्ट

दाङ, माघ । प्रेस चौतारी नेपाल दाङले प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।

प्रेस चौतारी दाङका कार्यबाहक अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षतामा बसेको बैठकले विस्तारित भेला, रक्तदान र स्थापना दिवस एवं पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । घोराहीमा बसेको पदाधिकारी बैठकले फागुन १८ र १९ गते दाङको घोराहीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्थापना दिवसका अवसरमा माघ २० गते तुलसीपुरमा विस्तारित भेला गर्ने र सोको तयारीका लागि उपाध्यक्ष सुधासुमन ढकालको संयोजकत्वमा कोषाध्यक्ष गोकर्ण पौडेल, सहसचिव एकराज भण्डारी, तुलसीपुर नगर कमिटी अध्यक्ष वसन्त परियार र महिला विभाग संयोजक दिप्तीशिखा चौधरी सदस्य रहेको तयारी समिति समेत गठन गरेको छ ।

त्यसैगरी दोस्रो दिन माघ २१ गते लमहीमा रक्तदान गर्ने निर्णय गरेको छ । रक्तदानका लागि लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष दशरथ घिमिरेलाई जिम्मेवारी दिइएको छ । स्थापना दिवसको दिन माघ २२ गतेका दिन स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम घोराहीमा गरी मनाउने निर्णय गरेको छ । उक्त कार्यक्रमका लागि जिल्ला सचिव किरण गौतम संयोजक, सहसचिव चन्द्रप्रकाश नेपाली र कार्यसमिति सदस्य महेश बस्नेत सदस्य रहेको तयारी समिति गठन गरेको छ ।
साथै पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारीको संयोजकत्वमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सह–इन्चार्ज टीका बस्नेत, केन्द्रीय सदस्य रीता लामा, पूर्व अध्यक्ष दुर्गालाल के.सी. सदस्य र कार्यबाहक अध्यक्ष प्रेमबहादुर राम्जा सदस्य सचिव रहेको पुरस्कार छनौट समिति गठन गरेको छ ।

त्यसैगरी फागुन १८ र १९ गते प्रेस चौतारी दाङको आयोजना तथा लुम्बिनी प्रदेश कमिटीको समन्वयमा घोराहीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सहभागिता हुनेगरी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको सचिव किरण गौतमले जानकारी दिनुभयो ।

बैठकले दुर्घटनामा परी घाइते भएका कार्यसमिति सदस्य अभिषेक डाँगीको स्वास्थ्य लाभको कामना तथा प्रेस चौतारी नेपाल दाङका पूर्व अध्यक्ष दुर्गालाल केसीका जेठा दाजु र प्रेस चौतारी नेपालकी साधारण सदस्य विमला के.सी. दाहालको जेठाजु कीर्तिपुर नगरपालिका–५ भत्क्यापाटी निवासी मन बहादुर खत्रीको निधनमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली एवं परिवारजनमा समवेदना सहितको शोक प्रस्ताव पारित गरेको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष शरद अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज प्रदीप आचार्य, सह–इन्चार्ज टीका बस्नेत, दाङ जिल्ला इन्चार्ज अमृत गिरी, नेपका (एमाले) प्रेस चौतारी विभाग प्रमुख संगीत बस्याल, केन्द्रीय सदस्य सन्तोष दहित, लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष दशरथ घिमिरे, पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी., प्रेस चौतारी नेपाल दाङका सल्लाहकार जे.एन. सागर लगायतले सुझावहरु राख्नुभएको थियो ।

सर्वाधिक पुरस्कार राशिको दोश्रो दाङ क्रिकेट लिग हुने

राप्ती पोष्ट

घोराही, माघ । दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) को दोश्रो संस्करण फागुनमा गर्न थालिएको छ । दाङ क्रिकेट संघले सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी फागुन २६ देखि हुने बारे जानकारी गराएको हो । ‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज लिग रहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता खेल्ने टिमहरुले अक्सनमार्फत खेलाडीहरु खरिद गर्नुपर्ने व्यवस्था गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ ।

लिगमा देशभरका सय बढी खेलाडीलाई म्याच शुल्कसहितको क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको बताउनुभयो । प्रतियोगिताका लागि प्रत्येक टिमले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका एक÷एक जना मार्की र टिम कप्तानका रुपमा टिम मालिकहरुले अधिकतम मुल्यमा आफै छनोट गर्न पाउने व्यवस्था गरिएको प्रतियोगिताका संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट संघका सचिव सन्जु केसीले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरुलाई खेलाडी खरिदका लागि न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको संयोजक केसीले जानकारी दिनुभयो । प्रतियोगिताले दाङ जिल्लाको क्रिकेटसँगै समग्र खेलकुद र आर्थिक विकासका लागि मद्दत गर्ने अध्यक्ष मजगैयाँले बताउनुभएको छ । लिगका विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश÷दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिने भएको आयोजकले जनाएको छ ।

अघिल्लो संस्करणमा प्रत्येक टिममा दाङका १६ वर्ष मुनिका २ जना, १९ वर्ष मुनिका दुईजना र सिनियर खेलाडीको हकमा कप्तानसहित ६ जना रहने व्यवस्था गरिएको थियो । त्यस्तै लुम्बिनी प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी २ जना र नेपालभरबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी २ जना गरी १४ जना खेलाडीको टिम बनाईएको थियो । हरेक टिमका खरिद गर्दा न्यूनतम ८४ हजारदेखि अधिकतम १ लाख ४८ हजार रुपैयाँ खर्च गर्न सक्ने सीमा तोकिएको भएपनि अहिले यसको दायरा बढाइएको छ ।

फागुनमा हुन लागेको दोश्रो संस्करणको डिसिएल प्रदेशमै खेलाडी खरीद गरेर क्लबमार्फत व्यावसायिक प्रतियोगिता गर्दा खेलको विकाससँगै खेलाडीले व्यावसायिक खेल प्रदर्शन गर्न पाउने वातावरण बनेको छ । प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्ला हो भनेर चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको छ । यस प्रकारको प्रतियोगिताले देशभरका खेलाडी जिल्लामा आउँदा यहाँको खेलकुदको बारेमा थाहा पाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि स्थानीयदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा नाम चलिसकेका खेलाडीहरूले नाम दर्ता गर्नका लागि समय तोकिने भएको छ । जसका लागि आयोजकले चाँडै निर्णय गरी फ्रेन्चाईजहरुमार्फत फाराम खुलाउने तयारी गरेको छ । लिगमा साविककै घोराही टाइगर्स, दंगाली लाइन, तुलसीपुर रोयल्स, पुरन्धारा च्यालेन्जर्स र देउखुरी वारीयर्स गरी पाँच वटा फ्रेन्चाईज टिमहरु सहभागी हुनेछन् । पहिलो संस्करणको दाङ क्रिकेट लिगको उपाधि घोराही टाईगर्सले जितेको थियो ।

 

घोराहीको न्यायीक समितिप्रति नागरिकको भरोसा बढ्दो

छबि पुरी /राप्ती पोष्ट

घोराही, माघ । घोराही उपहानगरपालिका वडा नम्बर–४ का एक बालक बुवा आमाको स्याहार र संरक्षण पाउनबाट वञ्चित थिए । उनको स्याहार सुसार मावलीमा भईरहेको थियो । पढ्ने उमेर भएपछि जन्मदर्ता र अरु कागजी प्रकृया पूरा गर्नुपर्ने समस्या आईलाग्यो । बच्चाको आमा अर्कै व्यक्तिसँग विहेगरी गईसकेको तथा बुवाको पहिचान भई नसकेको जटिल अवस्थामा मावली बाजेले न्यायको याचना गर्दै न्यायीक समितिमा उजुरी दिनुुभयो । त्यसपछि न्यायीक समितिले छानबीन प्रकृया अघि बढाएपछि आमा र पहिचान नभएका भनिएका बुवाको टुंगो लाग्यो । सामाजिक प्रतिष्ठा र व्यक्तिको आचरणमा धक्का नलागोस् भन्दै न्यायीक समितिले सबै काम गोप्य रुपमा टुंगो लगायो । अन्ततः ती व्यक्तिले आफ्नो छोरा स्वीकार गर्दै भरणपोषण र शिक्षा दिक्षाको जिम्मा लिए । दुवै परिवारमा मिलापको वातावरण पनि बनाईयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ की एक महिला श्रीमानसँगको खटपटले सम्बन्ध विच्छेदको अवस्थामा पुग्नुुभयो । घरमा श्रीमानसँग बस्न नसक्ने अवस्था रहेको भन्दै गर्भवती अवस्थाकी ती महिलाले काखको सानो बच्चा च्यापेर न्यायीक समितिमा उजुरी दिनुुभयो । उजुरीपछि न्यायीक समितिले पीडित र पीडकलाई एकैथलोमा राखेर मिलेर बस्न आग्रह गर्यो । तर, पटक पटकको प्रयास निरर्थक बन्यो । पीडक भनिएका उनकै श्रीमानले अब गल्ती नगर्ने, मिलेर बस्ने, श्रीमतीको राम्रोसँग हेरचाह गर्ने जस्ता वचन दिएपछि न्यायीक समिति अवस्था बुुझेर निर्णय र्गा आग्रह गर्यो । विशेष आग्रहमा एक हप्ता श्रीमानसँग बस्न र अवस्था बुुझेर मात्रै निर्णय गर्न आग्रह भएपछि भनिए बमोजिम काम भयो । अन्नतः सम्बन्ध विच्छेद गर्ने अन्तिम अवस्थामा पुुगेको सम्बन्ध न्यायीक समितिले सुमधुर बनाई दियो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ का एक व्यक्तिले जीवनको उर्जावान समय चिया बेच्न मै खर्चिनुुभयो । घोराही बजारमा वर्षौसम्म चिया बेचेर कमाएको श्रमको निशानी केही किनौँ भन्ने सोँच उहाँमा पलायो । त्यसपछि एक जना चिनेजानेका व्यक्तिसँग घडेरी किन्नुभयो । घडेरी किनेर दंग पर्नुभएका उहाँको खुशी धेरै दिन टिकेन । वर्षौको श्रम, पसिना खर्चेर कमाएको पैसाले किनेको घडेरी नापजाँच गर्दै जाँदा बाटोमा रहेको थाहा लाग्यो । त्यसपछि उहाँ न्यायको याचना गर्दै घोराहीको न्यायीक समितिमा जानुुभयो । त्यसपछि उहाँले जसबाट घडेरी किन्नुुभएको थियो त्यही व्यक्तिबाट अर्को घडेरी पाउने गरी न्याीयक समितिबाट न्याय पाउनुुभयो ।

हिंसाजन्य यस्ता दर्जनौं घटनाको निरूपण र पीडितलाई न्याय दिलाउने काममा घोराही उपमहानगपालिकास्तरीय न्यायिक समिति क्रियाशील छ । न्यायिक समितिको कार्यादेश नै मेलमिलाप गराउने हो । सकेसम्म समाजमा मिलाप होस् भन्ने मात्रै नभई सानातिना विवाद प्रहरी र अदालतसम्म पुग्दा हुने खर्च भार पनि कम हुँदै गएको धेरैले महसुस गरेका छन् । सुरुवाती दिनमा खासै विश्वास नपाएको न्यायीक समिति, उसको निष्पक्ष मेलमिलापको कामले अहिले भने न्यायका लागि आम नागरिकको पहिलो रोजाइमा परेको छ । बितेको साढे ६ वर्षको अवधिमा यस्ता न्याय पाएका सयौँ उदाहरण न्यायीक समितिसँग छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ मा उल्लेख भएको व्यवस्था अनुसार घोराही उपमहानगरपालिकाको न्यायीक समितिले न्याय निरुपणको काम गर्दा धेरैले सहज रुपमा घर आँगनमै न्याय पाईरहेका छन् । फौजदारी अभियोगबाहेक देवानी सम्बन्धि मुद्धाको विषयमा न्यायीक समितिले काम गर्दै आएको छ ।

२०७४ असार १४ गते जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि २०७४ भदौ २ गते घोराही उपमहानगर कार्यपालिकाको पहिलो नगर सभाबाट न्यायीक समितिले आफ्नो औपचारिक रुपमा जिम्मेवारी पाएको हो ।

एक हजार एक सय सात उजुरी, एक हजार ५१ मिलापत्र

घोराहीको न्यायीक समितिमा न्यायका लागि एक हजार एक सय भन्दा बढी उजुरी परेका छन् । जसमध्ये एक हजार ५० बढीको उजुरी उपर छलफल गरी न्याय निरुपणको काम भईसकेको न्यायीक समिति संयोजक एवं उपप्रमुख हुमा डिसीले बताउनुभयो । घोराहीको न्यायीक समितिमा साढे ६ वर्षको अवधिमा एक हजार एक सय सात वटा उजुरी पर्दा एक हजार पचास वटा मुद्धाको मिलापत्र भईसकेको छ भने हाल ५६ वटा विवादको फैसला हुन बाँकी रहेको छ । २०७४ असोजको पहिलो हप्तामा घोराही उपमहानगरपालिकाको न्यायीक समितिमा पहिलो मुद्दा दर्ता गरिएको थियो ।

घोराही उपमहानगरपालिकाको न्यायीक समितिले जनप्रतिनिधि निर्वाचित भएको ४ महिनामा नै न्याय निरूपणको काम शुरू गर्यो । आर्थिक वष २०७४÷०७५ मा दुई सय ५६ मुद्दाहरु परेको तथ्यांकले देखाउँछ । जसमा न्यायीक समितिले आफ्नो ज्ञान, क्षमता र विवेक प्रयोग गर्दै एक सय पाँच मुद्धाहरु फछ्यौट गर्न सफल भएको थियो । त्यसैगरी आर्थिक बर्ष २०७५÷०७६ मा दर्ता भएका दुई सय छ मुद्दाहरु मध्य र लगत सरी आएका मुद्धाहरु गरि एक सय ५१ मुद्दाको न्यायीक प्रकृया अघि बढाएको थियोे । जसमा दुई सय २३ मुद्धाहरु फछ्यौट भयो । त्यस्तै आर्थिक वर्ष २०७६–०७७ मा दर्ता भएका एक सय ५४ मुुद्धा र जिम्मेवारी सरी आएका एक सय २३ गरी कुल दुई सय ७७ मु्द्धाको मिलाप तथा इजलासमार्फत एक सय ९० वटा फछ्र्यौट भएको छ ।

आर्थिक वर्ष २०७७–०७८ मा दर्ता भएका एक सय ४७ मुुद्धा र जिम्मेवारी सरी आएका ९८ गरी कुल दुई सय ४५ मु्द्धाको मिलाप तथा इजलासमार्फत एक सय ४० वटा फुछ्र्यौट भएको छ । यसैगरी, आर्थिक वर्ष २०७८–०७९ मा दर्ता भएका एक सय ५० मुुद्धा र जिम्मेवारी सरी आएका एक सय पाँच गरी कुल दुई सय ५५ मु्द्धाको मिलाप तथा इजलासमार्फत दुई सय ३४ वटा फुछ्र्यौट भएको छ । आर्थिक वर्ष २०७८–०८० मा दर्ता भएका एक सय ४२ मुुद्धा र जिम्मेवारी सरी आएका २१ गरी कुल एक सय ६३ मु्द्धाको मिलाप तथा इजलासमार्फत एक सय ३० वटा फुछ्र्यौट भएको छ ।

यसैगरी, चालु आर्थिक वर्ष २०८०÷०८१ को पुस मसान्तसम्मको तथ्यांक अनुसार, दर्ता भएका ५२ मुुद्धा र जिम्मेवारी सरी आएका ३३ गरी कुल ८५ मु्द्धाको मिलाप तथा इजलास मार्फत हालसम्म २९ वटा मुद्धा फुछ्र्यौट भएको छ । अब ५६ वटा मुद्धाको मेलमिलाप गर्न बाँकी रहेको छ । बाँकी रहेका मुद्धाको पनि छलफल मिलाप तथा ईजलासमार्फत किनारा लगाउने क्रम जारी रहेको घोराही उपमहानगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक डिसीले जानकारी दिनुुभयो ।

उजुरीमध्य ९५ प्रतिशत मिलापत्र

घोराही उपमहानगरपालिकाको न्यायीक समितिले काम शुरु गरेको बितेको साढे ६ वर्षको अवधिमा ९५ प्रतिशत उजुरी उपर छलफल गरी मिलापत्र गराउन सफल भएको छ । न्यायीक समिति संयोजक डिसीले समितिमा परेको निवेदनलाई निकै गम्भीरतापूर्वक गोपनीयता कायम गरी छलफलका माध्यमबाट टुंगो लगाउने काम गरेकाले छिटो छरितो भएको बताउनुुहुन्छ ।
वडा तथा नगरमा सूचीकृत मेलमिलापकर्ताहरुको सहयोगबाट पनि थुप्रै काम भईरहेकाले न्याय निरुपणमा सहयोग पुगेको बताउनुभयो । नगरमा मात्रै ५० जना मेलमिलापकर्ता रहेका छन् । उहाँका अनुसार न्याय सम्पादन प्रभावकारी बन्दै जाँदा नागरिकको यसप्रति विश्वास पनि बढेको छ । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले आफ्नो संयन्त्रमार्फत गरेको कामलाई थप व्यवस्थित र पारदर्शी बनाउने काममा कानूनका विज्ञ तथा जानकारहरुसँग पनि बारम्बार छलफल एवम् परामर्श लिने काम हुने गरेको कानूनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले बताउनुभयो ।

अपाङ्गको सहारा बन्दै खगेन्द्र नवजीवन केन्द्र दाङ्ग

छबि पुरी /राप्ती पोष्ट

घोराही, माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ बडहरा बस्दै आउनुभएकी अनन्ती भट्टराई अहिले ३८ वर्षको हुनुभयो । उहाँ जन्मदै अपांग हुनुहुन्छ । उहाँको हेरचाहमा परिवारका सदस्यले सघाउनुको विकल्प छैन । अरुको भरमा हिडाउनु पर्ने बाध्यतामा रहनुभएकी अनन्तीलाई बाहिर लैजानु पर्यो भने ह्विलचियर थिएन । उहाँलाई अहिले निशुल्क रुपमा ह्विलचियर मिलेको छ ।

वर्षौदेखि ह्विलचिय बिना नै गुजारा गर्दै आउनुभएकी उहाँ ह्विलचियर पाएपछि निकै खुशी हुनुभएको छ । बुवा चिन्तामणि भट्टराईका अनुसार उहाँको शरीर अकडिन्छ, मन्द दिमागका कारण प्राय सबै काम अरुको सहारामा गर्नुपर्छ । त्रिवेणी गाउँपालिका ९ रुकुम पश्चिम घरभई हाल घोराही १० लम्डरुवा बस्दै आउनुभएका २३ वर्षका उत्सव चन्द ४ वर्ष अघिसम्म स्वस्थ हुनुहुन्थ्यो । उहाँलाई ह्विलचियर चाहिएला भन्ने कल्पनासमेत थिएन । तर, कक्षा १० मा पढ्ने क्रममा बसेर कुप्रो परेर पढ्दा ढाडमा समस्या आयो । जाँचका क्रममा बोन टिबी लागेको पत्ता लाग्यो ।

‘पढ्दा कुप्रो परेर बस्दा ढाडमा स्पाईन टिबीले कम्मर मुनि नचल्ने भएको छ । मैले जीवनमा यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन । अहिले मेरो हात चल्छ । बोली छ । तर कम्मरमुनि केही चल्दैन, अरुको सहारा लिनुपर्छ’, चन्दले भन्नुभयो । उहाँका खुट्टा चल्दैनन् । यसअघि लामो उपचार गरेर घर फर्किनुभएका उत्सवले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा घोराहीले निशुल्क रुपमा वितरण गरेको ह्विलचिय पाउँदा निकै ठूलो सहारा पाएको महसुस गर्नुभएको छ । बाँच्नका लागि अब अरुको सहारा चाहिएको बेला यताउति जाँदा चाहिने ह्विलचियर पाएकोमा उहाँलाई धेरै राहत मिलेको छ ।
घोराही ४ मनैयाका बमबहादुर बुढाथोकी आठ वर्ष अघिसम्म घर निर्माणको काम गर्नुहुन्थ्यो । रोजगारीको सिलसिलामा काठमाडौँ बस्दै आउनुभएको बेलामा २०७२ को भूकम्पले क्षति पुर्याएको घर मर्मत गर्ने क्रममा उहाँ दुर्घटनामा पर्नुभयो । तीन तले सिसाको घर भत्काउने क्रममा उहाँको शरीरमा सिसा खस्यो । कम्मरमुनि काम नलाग्ने गरी चोट लाग्यो । लामो उपचारपछि उहाँ बाँच्न सफल हुनुभयो तर, खुट्टा काम लागेन । अहिले अपाङ्ग जीवन बाँची रहनुभएको छ ।
अपाङ्ग भएपछि उहाँलाई आउजाउ गर्न ह्विलचियरको सहारा लिनुपर्छ । उहाँले पनि नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा घोराहीले निशुल्क रुपमा वितरण गरेको ह्विलचियर पाउनुभएको छ । घोराही ४ लक्ष्मीपुरकै दिलबहादुर कामी अधवैशे भई सक्नुभयो । उहाँ अहिलेसम्म ह्विलचियरमा बस्नुभएको थिएन । सानो छँदा पोलियोले अपाङ्ग हुनुभएका दिलबहादुरको दाहिने भाग चल्दैन । बोली पनि प्रष्ट छैन । उहाँलाई अरुको सहारा चाहिन्छ । आठ वर्षदेखि समस्यामा रहनुभएका दिलबहादुरले यतिका वर्षसम्म ह्वील चियर प्रयोग नगरेको बताउनुहुन्छ । अब प्रयोग गर्ने भएपछि उहाँलाई खुशी लागेको छ ।

अपाङ्गता भएकाहरुको सहारा बन्दै अहिले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा घोराहीले थुपै्रलाई सहयोग गर्दै आएको छ ।
जन्मजात मात्रै होईन विभिन्न कारणले पछि अपाङ्गता भएकाहरुको साथ र सहयोगमा नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखा घोराहीले आफुलाई अभिभावकीय भुमिकामा उभ्याउने काम गरिरहेको छ । जसका माध्यमबाट अहिले थुप्रैले साथ सहयोग पाउन सफल भएका छन् । स्वर्गद्वारी शाखामार्फत अपाङ्ग पुनस्र्थापना केन्द्र समेत संचालन गर्दै आएको संस्थाले सामाजिक उत्तरदायित्व बहनमा आफुलाई उभ्याउने काम गरिरहेको संस्थाकी अध्यक्ष रुपा वलीले बताउनुहुन्छ । विभिन्न सहयोगी निकाय, दाता तथा राज्यबाट सहयोग संकलन गरेर अपाङ्गता भएकाहरुको क्षेत्रमा काम गर्दै आएको उहाँले बताउनुभयो ।

यसैबीच, नेपाल अपाङ्ग सघ खगेन्द्र नवजीवन केन्द्रका सस्थापक खगेन्द्र बहादुर बस्नेतको ९६ औ जन्मजयन्ती अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक पर्ने सहायक सामग्री प्रदान गरेर मनाईएको छ । संस्थाले अपाङ्गता भएकाहरुलाई १० थान ह्वीलचियर र १ जोर बैशाखी गरी ११ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री प्रदान गरी शुक्रबार संस्था परिसरमा जन्मजयन्ती मनाएको हो । घोराही उपमहानगरपलिकाको कार्यालय दाङ्गको आर्थिक सहयोग तथा नेपाल अपाङ्ग सघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी जिल्ला शाखा दाङ्गको आयोजनामा भएको कार्यक्रममा अपाङ्गता भएकाहरुलाई सहायक सामग्री प्रदान गर्दा उनीहरु खुशी भएका छन् ।

संघका निवर्तमान सभापति एबम केन्द्रीय उपाध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको उपस्थितिमा आयोजित कार्यक्रममा वक्ताहरुले अपाङ्गता भएकाहरुलाई सबैले साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपप्रमुख डिसीले मानवीय सेवा भावले स्थापित नेपाल अपाङ्ग सघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी जिल्ला शाखा दाङ्गले गरिरहेको काम प्रति राज्यका सबै निकायको ध्यान जान जरुरी रहेको बताउनुभयो । कार्यक्रममा २६ जना अपाङ्गता भएका व्यक्तिहरु र साथमा उनका घर परिवारका सदस्यहरुको उपस्थिति थियो । उक्त कार्यक्रमको सञ्चालन सचिव भुमा चौधरीले गर्नुभएको थियो ।

मानव सेवा आश्रम र गुरुकुल संस्कृतलाई खाद्यान्न सहयोग

राप्ती पोष्ट

घोराही, २९ पुस । लायन्स क्लव इन्टरनेशनलका संस्थापक मेल्विन जोन्सको सँझनामा घोराही क्षेत्रका लायन्स क्लवहरुले मानव सेवा आश्रम र घोराही ७ मा रहेको श्री माता पवित्रादेवी साङ्गदेव संस्कृत विद्यालय गुरुकुलमा र विद्यार्थीहरुलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।
लायन्स क्लव राप्ती इञ्जिनियरिङ, लायन्स क्लव घोराही सिटी, लायन्स क्लव राप्ती अम्विकेश्वरी, लायन्स क्लव दाङ भ्याली, लायन्स क्लव राजविद्या र लायन्स क्लव नारायणपुरले मेल्विन जोन्सको १४५ औं जन्म जयन्तीका अवसरमा खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

लायन्स क्लव इन्टरनेशनल ३२५ एन का डिष्ट्रिक एक्जुकेटिभ चिफ लव अधिकारी, एरिया नं. २ का एरिया चिफ डा. भिमसेन गिरी, एमजेएफ लायन प्रताप विक्रम शाह, एरिया कोषाध्यक्ष रेशम गिरी, जोन चियरपर्शनहरु पवन योगी र पृथ्वी कुवर, लायन्स क्लव राप्ती इञ्जिनियरिङका अध्यक्ष शरद अधिकारी, लायन्स क्लव घोराही सिटीका अध्यक्ष विवेक आचार्य, प्रथम उपाध्यक्ष ओविन्द्र बहादुर महरा, लायन्स राप्ती इञ्जिनियरिङका बावुराम जोशी र सरिता तामाङको टोली दुवै स्थानमा पुगेर खाद्यान्न हस्तान्तरण गरेको थियो ।

घोराही–१० मा रहेको मानव सेवा आश्रममा लायन्सले दुई बोरा चामल, दाल, तेल, विस्कुट, दुध लगायतका सामग्री हस्तान्तरण गरेको थियो । मानव कल्याण समाजका संचालक सुस्मीता श्रेष्ठलाई सामग्री हस्तान्तरण गरिएको थियो । सामग्री बुझ्दै श्रेष्ठले हाल सेवा घरमा ३५ जना सहयोगापेक्षी मानवहरु रहेको जानकारी दिनुभयो । तीन सय ५० बढीलाई उद्दार गरेर दुई सय ५० जनालाई परिवारमा पुनःस्थापना गरिसकिएको जानकारी उहाँले दिनुभयो ।

यस्तै घोराही ७ मा रहेको श्री माता पवित्रादेवी साङ्गदेव संस्कृत विद्यालय गुरुकुलमा पुगेको लायन्स क्लवको टोलीले विद्यालयका संचालक प्रकाश भट्टराइलाई चामल, दाल, तेल, विस्कुट, दुध लगायतका सामग्री हस्तान्तरण गरेको थियो । संचालक भट्टराइले हाल गुरुकुलमा ६ देखि ८ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरु रहेको जानकारी दिनुभयो । उहाँले आगामी बर्षदेखि कक्षा ९ संचालनका लागि प्रक्रिया अघि बढीसकेको जानकारी दिनुभयो । बवई नदीको तिरमा रहेको शुक्रवारमा रहेको विद्यालयमा हाल गुरुकुल संचालनमा रहेको छ ।

कार्यक्रममा लायन्सका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले एक सय बर्ष भन्दा पहिले लायन्सको स्थापना गरिएको जानकारी गराउँदै विश्वव्यापी रुपमा सेवाका काम गरिरहेको लायन्सले दाङ जिल्लामा विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी सो अवसरमा गराइएको थियो ।