spot_img
spot_img

माओवादी दाङको बैठकमा विधान अधिवेशनको चर्चा

राप्ती पोष्ट

घोराही, २४ माघ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको पूर्ण बैठक मंगलबार बस्यो । जिल्ला संयोजक तुलसीराम पुनको अध्यक्षतामा बसेको बैठकमा माओवादीले आगामी फागुन १ गते देखि गर्ने विधान महाधिवेशनको चर्चा गरिएको थियो । तुलसीपुरमा बसेको बैठकमा पार्टीको विधान महाधिवेशनका लागि तयार गर्ने मस्यौदाका लागि सुझाव संकलन गरिएको थियो ।

बैठकमा बोल्नेहरुले पार्टी विधान अनुसार चल्नुपर्ने, युवामैत्री विधान बनाउनुपर्ने, गणतन्त्र, समाबेशीता र समानुपातिकमैत्री विधान बन्नुपर्ने, महिलाको सहभागीतामा ३५ प्रतिशतबाट वृद्धि गर्नुपर्ने, तल्लो तहको समितिको सिफारिस बाध्यकारी हुनुपर्ने व्यवस्था गर्नुपर्ने, पार्टी र सत्तामा आलोपालो ब्यवस्था गर्नुपर्ने, भ्रष्टाचार लगायत जघन्य अपराधलाई पार्टीको पनि कार्वाहीको विषय बनाउनुपर्ने लगायत सुझाव संकलन गरिएको थियो ।

सो अवसरमा केन्द्रिय सदस्य निर्मल आचार्यले माओवादी पार्टी इतिहासमा पहिलो पटक बिधान अधिवेशन हुन लाग्नु आफैमा ऐतिहासिक कदम भएको बताउनुभयो । उहाँले युद्धबाट आएको पार्टी भद्रगोल छ भन्ने गलत भाष्य स्थापित भएको बेलामा यसलाई सच्याउन आशन्न बिधान अधिवेशन कोषेढुङ्गा साबित हुने बताउनुभयो । माओवादी नै वास्तविक अर्थको बैकल्पिक शक्ति भएको बताउँदै उहाँले कामका दौरान भएका केही कमिकमजोरीलाई इंगित गर्दै नियोजित रुपमा हुने गरेको आरोप आधारहीन रहेको बताउनुभयो ।

सो अवसरमा पार्टीका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक ईन्द्रजीत थारु, केन्द्रिय सदस्य भिमकुमारी बुढा, केन्द्रिय सल्लाहकार शेशुराम भण्डारी, प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने, केन्द्रिय कला साहित्य बिभाग सदस्य रामप्रसाद जैसीलगायत बोल्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img