छबि पुरी/राप्ती पोष्ट
घोराही, माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ गिठेपानीकी गीता थापा (नाम परिवर्तन) लाई अघिल्लो वर्ष अचानक हातखुट्टा झमझमाउने, छाला चिलाउने समस्या देखियो । विभिन्न घरेलु औषधी उपचार गरे पनि निको भएन । अनेक उपाय खोजेपनि सञ्चो नभएपछि उहाँ घोराहीस्थित एक स्वास्थ्य संस्थामा गएर जाँच गराउँदा कुष्ठरोगको शंका गरियो ।
लगत्तै काठमाडौँ गएर उपचार गराउँदा गीतालाई कुष्ठरोग लागेको एकिन भयो । त्यसपछि उहाँले नियमित औषधी सेवन गरिरहनुभएको छ । हाल उहाँमा धेरै सुधार आएको छ । रोग पत्ता लागेपछि चिकित्सकसँग नियमित परामर्श गर्दै आउनुभएको छ । ‘औषधी खाने काम गरिरहेको छु, शुरुशुरुमा हातखुट्टा झमझमाउने, छाला चिलाउने अनेक समस्या भयो’, उहाँले भन्नुभयो, ‘रोग पत्ता लागेपछि नियमित उपचार गरिरहेको छु, घरपरिवारमा पनि यसलाई नकारात्मक रुपमा लिनुभएको छैन, यसले उपचारमा सहज भएको छ । स्वास्थ्यमा धेरै सुधार भईसकेको छ ।’
घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नोक काउलेका नारायणबहादुर पुन (नामपरिवर्तन) लाई भारतको दिल्लीमा रहँदा अचानक छालाजन्य समस्या देखा पर्यो । रोग बल्झिँदै गएपछि उहाँ उपचारका लागि अस्पताल पुग्नुभयो । परिक्षण गरेपछि उहाँलाई कुष्ठरोग लागेको पत्ता लाग्यो । करीव २० वर्षअघिबाट छालाजन्य समस्या भोग्नुभएका नारायणबहादुरले पछिल्ला केहीवर्षयता कुष्ठरोग निको हुने औषधी सेवन गर्दै आउनुभएको छ । ‘दिल्लीमा काम गर्दा छालामा समस्या देखियो, त्यसपछि अनेक उपचार गरेँ तर निको भएन, मलाई कुष्ठरोग लागेको रहेछ’, उहाँले भन्नुभयो, ‘अहिले समस्या पत्ता लागेपछि औषधी खाईरहेको छु, अहिले स्वास्थ्यमा सुधार हुँदै गएको छ ।’
समुदायस्तरमा यसरी रोग लागेपछि समस्या पहिचान गर्न आएका बिरामीले उपचारको बाटो रोजिरहेका छन् । २०६६ सालमा सरकारले कुष्ठरोग निवारण उन्मुख भएको घोषणा गरेपनि यो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । समुदाय स्तरमा कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेकाले यसको वृहत रुपमा खोज अनुसन्धान र सचेतना फैलाउनु पर्नेमा स्वास्थ्यकर्मी बताउँछन् ।
तर, राज्यको उदासीन नीति तथा कमजोर व्यवस्थापनका कारण कृष्ठरोगको संक्रमण बढ्न सक्ने धेरै जोखिम रहेको उनीहरुको भनाई छ । दाङमा कुष्ठरोगको संक्रमणको जोखिम धेरै भएपनि रोग नियन्त्रणका लागि सावधानी अत्यन्त कम भएको दावी स्वास्थ्य कार्यालयको छ ।
अझै पनि सामाजिक विभेद र लाच्छनाका कारण बिरामीहरु खुल्न सक्ने अवस्था अझै बनि नसकेको स्वास्थ्य कार्यालय दाङको कुष्ठरोग फोकल पर्सन गजेन्द्र यादवले बताउनुभयो । ‘अस्पतालमा आएका बिरामीहरुको मात्रै जाँच हुने गरेको छ, यदि समुदाय स्तरमा पुगेर वृहत रुपमा जाँच अनुसन्धान गर्ने हो भने यो समस्या बिकराल रुपमा आउन सक्छ, यसका लागि तीनै तहका सरकारले गम्भीरतापूर्वक कदम चाल्नुपर्छ’ उहाँले भन्नुभयो ।
स्वास्थ्य कार्यालयसँग कुष्ठरोग निवारण सम्बन्धी कार्यक्रमका लागि यो वर्ष बजेट छैन । औषधी तथा किट अभावमा यो वर्ष कुष्ठरोग परिक्षण समेत हुन सकेको छैन । ‘अहिले बजेट अभाव छ, काम गर्नका लागि चाहिने श्रोत नै नभएपछि काम कसरी हुन्छ, यो बेलामा कुष्ठरोगी भएको ठाउँमा नमूना संकलन गरी परिक्षण गर्नुपर्ने हो तर, काम हुन नसकेको अवस्था छ’, कुष्ठरोग फोकल पर्सन यादवले भन्नुभयो ।
दाङमा गत आर्थिक वर्ष २०७९÷०८० मा कुष्ठरोगको औषधी सेवन गर्ने नियमित बिरामीको संख्या २६ जना थियो । नियमित औषधी खाएमा बिरामीहरु निको हुने भएकाले बिरामीको संख्या थपघट हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । औषधी सेवन गरिरहेका २६ जना बिरामीहरु मध्ये करिव आधा बिरामी नयाँ रहेका स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्वर कुँवरले जानकारी दिनुभयो ।
कुँवरका अनुसार कुष्ठरोगका घोराही उपमहानगरपालिकामा १२ जना, गढवामा छ जना, दंगीशरण गाउँपालिकामा तीन लमहीमा दुई जना, राप्तीमा दुई जना र तुलसीपुर उपमहानगरपालिकामा एक जना बिरामीले नियमित औषधी खाईरहेको तथ्यांक छ । जबकी अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा २२ जना कुष्ठरोगी रहेको तथ्यांक थियो । प्रति दश हजार व्यक्तिमा एक वा सो भन्दा बढी भयो भने प्रमुख समस्याका रुपमा लिने गरिएको छ । जिल्लामा हाल प्रति दश हजारमा सुन्य दशमलव ५ मा कुष्ठरोग देखिएकाले यो निवारणको अवस्थामा रहेको बताईएको छ । यद्यपि, जिल्लामा कुष्ठरोगको परिक्षणसँगै सचेतनाको पाटो कमजोर बन्दै गएको पाईएको छ । जसले गर्दा समुदायमा कुष्ठरोगीकोे संख्या तथ्यांकभन्दा धेरै हुन सक्ने आशंका छ ।
हाल उपचाररता बिरामी अस्पताल आएर जाँच गराउँदा देखिएका बिरामीहरुको संख्या भएको भन्दै स्वास्थ्य कार्यालय कुँवरले सामाजिक विभेद र लाच्छनाका कारण खुल्न नसक्ने विरामीको संख्या धेरै हुन नसक्ने जोखिम रहेको बताउनुभयो । नियमित औषधी खाएर निको भएका बिरामीहरुलाई स्वास्थ्य कार्यालयले सम्मानसहित यातायात खर्चका रुपमा विरामीलाई रकम दिदै आएको कुँवरले जानकारी गराउनुभयो ।
नेपालमा कृष्ठरोग उन्मुलन भएपनि भारतसँगको खुल्ला सिमाना र दाङसँग सिमा जोडिएका अन्य जिल्लाहरुमा संक्रमणको संख्या रहेकाले दाङमा पनि जोखिम उच्च रहेको छ । कृष्ठरोग नियन्त्रणका लागि सचेतनासँगै राज्यका तीन तहकै सरकारले बिरामी रहेका बस्तीहरुका अन्य मानिसहरुसँग स्वास्थ्य जाँच गर्न आवश्यक रहेको बताउनुभयो ।
कुष्ठरोगबारे सचेतना फैलाउने, जानकारी गराउने काम विगतमा सबै तहबाट हुने गरेकोमा संघीयता कार्यान्वयनमा आएसँगै यसको कार्यभार पनि विकेन्द्रित हुँदा समन्वयमा समस्या हुने गरेको कार्यालयको भनाई छ । हाल कुष्ठरोग निवारण उन्मुख भएको भन्दै संघीय सरकारले सिमित बजेट विनियोजन गर्ने बाहेक अरु ठोस योजना हुन नसकेको बताउनुभयो । ‘बजेट छैन, यो वर्ष सबै कामका लागि केही गर्न सकिने अवस्था छैन, उहाँले भन्नुभयो ‘उन्मुलन उन्मुख भएको हुँदा कम वास्ता हुँदै गएको छ ।’
कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो व्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोग मानिसबाट मानिसमा सर्छ । निकै पुरानो रोग भनिने कुष्ठरोग उपचार नगरेको कुष्ठरोग विरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । शुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई नसर्ने स्वास्थ्यकर्मीको भनाई छ ।