spot_img
Home Blog Page 8

सडक सञ्जालमा घोराहीको प्रगति

आठ वर्षमा एक सय ८९ किमी सडक कालोपत्रे

छबि पुरी /राप्ती पोष्ट

घोराही, २८ जेठ । स्थानीय तहको निर्वाचन २०७४ भएयता घोराही उपमहानगरपालिकाले अहिलेसम्म एक सय ८९ किलोमिटर सडक कालोपत्रे गरेको छ । पालिकाका सबै वडालाई सडक सञ्जालसँग जोड्ने नीति लिएको घोराहीले वर्षेनी सडक सञ्जाल बिस्तार गर्नेदेखि कालोपत्रे गर्ने कामलाई निरन्तरता दिँदै जाँदा कालोपत्रे भएको सडक झण्डै दुई सय किलोमिटर पुर्याएको छ ।

यो अवधिमा घोराहीले चार सय २३ किलोमिटर ग्राभेल तथा स्तरोन्नति, दुई सय ३८ किलोमिटर नयाँ सडक निर्माण र ६५ किलोमिटर मर्मत कार्य सम्पन्न भइसकेको छ । घोराहीले सडक निर्माणलाई प्राथमिकता दिंदै हरेक वडा कार्यालयसम्म पुग्ने सडक पक्की गर्ने अभियाननै थालेको छ । अधिकांश वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे भएको र केही वडामा पुग्ने सडक मात्रै पक्की गर्न बाँकी रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधारतर्फ एक सय ७८ वटा कल्भर्ट र तीन वटा झोलुङ्गे पुलको निर्माण पनि उपमहानगरपालिकाले गरिसकेको छ । सबै वडाहरुलाई सडक सञ्जालमार्फत नगर केन्द्रमा जोड्ने काम भएको भन्दै सडक विस्तार गर्ने नगरपालिकाको नीतिले जनताको सामाजिक तथा आर्थिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको नगरप्रमुख चौधरीले बताउनुभयो ।
यसैगरी, सफा र स्वस्थ नगर निर्माणको अभियान अन्तर्गत ८३ किलोमिटर ढल तथा नाला, १९ वटा पार्क र १ वटा स्यानेटरी ल्यान्डफिल साइट निर्माण गरिएका छन्।नदी नियन्त्रणका कामहरू पनि २८ किलोमिटर भन्दा बढी क्षेत्रमा सम्पन्न भएका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार, नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने लक्ष्य अनुसार ९७ वटा कुवा र ६३ वटा डिप बोरिङ निर्माण भएका छन् । सरकारका सम्बन्धित निकाय र स्थानीय उपभोक्ता संस्थाको सहकार्यबाट करिब ९० प्रतिशत घरधुरीमा स्वच्छ पानीको पहुँच पुर्याउन सफल भएको प्रमुख इन्जिनियर पौडेलले बताउनुभयो ।

कषि क्षेत्रमा पनि पालिकाले विभिन्न आयाम थप्ने काम गर्दै आएको नगरप्रमुख चौधरीले बताउनुभयो । कृषिमा आत्मनिर्भरता र जल स्रोतको उपयोगका लागि ४३ वटा कृत्रिम जलाशय निर्माण गरी ७ सय ३८ हेक्टर जमिन सिंचित भएको उहाँ बताउनुहुन्छ । ८७ किलोमिटर विद्युत प्रसारण लाइन बिस्तार तथा वैकल्पिक ऊर्जाका लागि ७ वटा सौर्य प्लान्ट निर्माण भएको जनाउँदै कृषि उत्पादनमा वृद्धि, वातावरण सन्तुलन र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याएको मेयर चौधरीको विश्वास छ ।

घोराहीले जनप्रतिनिधि पाएको करिव आठ वर्षको अन्तरालमा युवा र समुदाय केन्द्रित पूर्वाधारसँगै पालिकाका विभिन्न वडामा १५ वटा खेल मैदान पाएको बताउनुभयो । उहाँले घोराहीमा एउटा हाटबजार, २१ वटा विद्यालय भवन र २५ वटा नयाँ कक्षाकोठाहरू निर्माण तथा मर्मत गरिएको पनि बताउनुभयो । स्वास्थ्य संस्थामा २३ वटा भवन निर्माण तथा तला थप कार्य सम्पन्न भइसकेको छ । योग हल, ध्यान केन्द्र, कभर्ड हल, यात्रु प्रतिक्षालय र ४१ वटा सामुदायिक भवनको निर्माणबाट सामाजिक सम्बन्ध मजबुत बनाइएको पनि नगरप्रमुख चौधरीले बताउनुभयो ।

घोराहीमा रहेका धार्मिक, सांस्कृतिक र सार्वजनिक सम्पत्तिको संरक्षण अन्तर्गत ९ वटा सार्वजनिक शौचालय, २३ वटा मठ, मन्दिर, गुम्बा, चर्च र मदरसा लगायत धार्मिक स्थलहरुको निर्माण तथा मर्मत गरिएको भन्दै उहाँले भन्नुभयो ‘४० वटा भुयाँरथानको निर्माण भएको छ । १९ वटै वडाको कार्यालय भवन निर्माण तथा मर्मत कार्य भएको छ । जलाशय संरक्षण, सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, विद्यालय, स्वास्थ्य संस्था, मन्दिरलगायत सार्वजनिक सम्पत्ति संरक्षणका लागि ४१ किलोमिटर तारवार निर्माण गरिएको छ ।’

पूर्वाधार विकासमा मात्रै नभई नागरिकको स्वासथ्य उपचार सेवा प्रभावकारी र सहुलियतयुक्त बनाउन विपन्न नागरिक उपचार सेवा अन्तर्गत आठ प्रकारका रोगहरु मुटुको अप्रेसन, क्यान्सर, मृगौला डायलासिस, पार्किन्सन, अल्जाईमर, हेडईन्जुरी, स्पाईनल ईन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरुलाई उपचार सहुलियतको सिफारिस गरिएको पनि नगरप्रमुख चौधरीले बताउनुभयो ।

पछिल्लो समय महिलाहरुको प्रजनन् स्वास्थ्यमा देखा परेको क्यान्सरलगायत गम्भीर रोग रोकथामका लागि कार्यक्रम पनि प्रभावकारी बन्दै गएको पालिकाको भनाई छ । अहिले प्रजनन स्वास्थ्य रुग्णता कार्यक्रम अन्तर्गत घोराही उप महानगरपालिकाका विभिन्न वडाहरुमा गई पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्या रोकथाम तथा पत्ता लगाउनका लागि पाठेघरको जाँच‘ गर्ने कार्यक्रम संचालन गरी साढे दुई वर्षको अन्तरालमा पाँच हजार तीन सय ६९ जना महिलाहरुलाई सेवा प्रदान गरिएको उपप्रमुख हुमा डिसीले बताउनुभयो ।

उहाँका अनुसार, अहिले पनि संस्थागत परिवार नियोजन क्लिनिकबाट पाठेघरको मुखको क्यानसरको नियमित जाँच गर्ने गरिएको छ भने समुदाय स्तरमा पुगेर भिआईए स्क्रिनिङलगायत स्वास्थ्य सचेतनाका कार्यक्रम हुने गरेको छ । यसैगरी, ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार कार्यक्रमलाई निरन्तरता दिईएको पनि उहाँले बताउनुभयो । ७० वर्ष माथि उमेर भएका नागरिकको स्वास्थ्य परिक्षणको परामर्शका लागि स्वास्थ्यकर्मीहरु नियमित मासिक रुपमा घरमै गई घरभेट स्वास्थ्य उपचार तथा परामर्श कार्यक्रमबाट ७ हजार २ सय ९५ जना ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य उपचार तथा परामर्श सेवा प्रदान गरिएको पनि उपप्रमुख डिसीले बताउनुभयो ।

पालिकाले उज्यालो संसार कार्यक्रम अन्तर्गत राप्ती आँखा अस्पताल रक्षाचौर तुल्सीपुरको सहकार्यमा मोतियाबिन्दुको अप्रेसन निःशुल्क गर्ने व्यवस्था अन्तरगत यो वर्ष मात्रै दुई सय ८६ जना नगरवासीले निःशुल्क मोतियाबिन्दुको अप्रेसन सेवा प्राप्त गरेका उहाँले बताउनुभयो । नगर प्रमुख रक्तसंचार कार्यक्रमबाट नौ सय ९७ प्वाइन्ट रगत प्रदान गरिएको पनि उहाँले बताउनुभयो । कोही पनि सडकमा आश्रित हुन नपरोस्, न्याय पाऊन् भन्ने उद्देश्यसहित मानव कल्याण आश्रम सेवा घर, शान्ति बाल गृह र अल्पकालिन सेवा गृह मार्फत सडक मानव, बेवारिसे बालबालिका, हिंसा पीडित महिलाहरुको व्यवस्थापन, पुनस्र्थापन गरिएको पनि उहाँले बताउनुभयो ।

जनतासँग प्रत्यक्ष रूपमा आवद्ध रही आर्थिक, सामाजिक, भौतिक, साँस्कृतिक, कानुनी लगायत जनजीविका सम्बन्धी सवालहरूको संरक्षण, प्रवद्र्धन र रुपान्तरण गर्ने जिम्मेवारीका साथ आफुहरु काममा खटिएको नगरप्रमुख चौधरीले बताउनुभयो । संविधानले स्थानीय सरकारलाई प्रदान गरेको अधिकारको परिपालन गर्दै ऐन, कानून र कार्यविधिहरूको निर्माण तथा संस्थागत व्यवस्थापनमार्फत कानुनी, संरचनागत, नीतिगत र व्यवस्थापकीय सुधार गरेर सेवा प्रवाह, समृद्धि र विकास निर्माणका क्रियाकलापलाई सँगसँगै अघि बढाएको उपप्रमुख डिसीले बताउनुभयो ।

जसका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत विकास, सेवा र सुशासनको यात्रालाई तीव्र गतिमा अगाडि बढाउँदै पालिकाले हालसम्म एक सय ३३ वटा कानून निर्माण गरी कार्यान्वयन गरिरहेको बताउनुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओसिएमसी हिंसापीडितको सहारा बन्दै

छबि पुरी /राप्ती पोष्ट

घोराही, २२ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) हिंसापीडितहरुको सहारा बन्दै गएको छ । शारीरिक तथा मानसिक रुपमा विक्षिप्त भई ओसिएमसीमा उपचार र सेवा लिन आएका हिंसापीडितहरुले अभिभावकीय साथ पाउँदै समस्याको निदान पाउँदा नयाँ जीवन पाएको अनुभूति गर्ने गरेका छन् । हिंसापीडितलाई आवश्यक पर्ने स्वास्थ्य सेवा, मनोपरामर्शलगायतका सेवा एकै ठाउँबाट दिइरहेको ओसिएमसीले हिंसापीडितलाई चोटपटक लागेको भए निःशुल्क उपचार, औषधिको व्यवस्थापन, खाना, नास्ता, कपडा र आवश्यकताका आधारमा दूरी हेरेर यातायात खर्चसमेत दिने गरेको छ । साविक राप्तीका हिंसा पीडितहरुले ओसिएमसीबाट सेवा लिन पाउँदा नयाँ जीवन पाएको अनुभूति गर्ने गरेका हुन् ।

केही महिना अघि साथीको लहलहैमा लागेर दुव्र्यसनमा फसेकी दाङ, तुलसीपुरकी १६ वर्षीया एक बालिकाले दुव्र्यसनकै कारण दुई वर्षदेखि घर छाडेकी थिइन् । बस्ने कुनै ठेगान थिएन । साथीहरुको कोठामा बस्दा आफ्नै साथीबाट बलात्कृत हुन पुगिन् । दुव्र्यसनको नशामा बलात्कृत बालिकाले १६ वर्षमै राप्ती प्रादेशिक अस्पतालमा शिशुलाई जन्म दिइन् । सुत्केरी भएकी बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएपछि २०८१ मंसिर ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवजात शिशु र आमाको उपचार शुरु भयो । शिशुलाई एनआइसियु र आमालाई आइसियुमा राखेर लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) घोराहीले २६ दिनसम्म स्याहार गर्यो ।

विरामीको साक्षी, जमानी र अभिभावकको भूमिका निभाएको ओसिएमसीले स्याहार सुसार, औषधि, खाना र अस्पताल शुल्क गरी एक लाख बढी खर्च समेत गरेपछि शिशु र आमा दुबैले नयाँ जीवन पाए । मृत्युको मुखमै पुगेको अवस्थामा सुत्केरीलाई पुनर्जीवन दिएर ओसिएमसीले २०८१ पुस ६ गते स्थानीय सरकारलाई जिम्मा लगाएको ओसिएमसी फोकलपर्सन स्टाफ नर्स सुस्मिता पोख्रेलले जानकारी दिनुभयो ।

घोराहीकी एक महिला आफ्नै श्रीमानबाट हिंसामा परेपछि आफन्तको सहारामा पुगिन् । श्रीमानको हिंसामा परेपछि मानसिक समस्याबाट ग्रस्त हुन पुगेकी उनलाई ओसिएमसीमा पुर्याइयो । त्यसपछि उपचार र परामर्शपछि ती महिलालाई न्याय दिलाउने काम भयो । ओसिएमसीमा पुर्याइएपछि विशेषज्ञ चिकित्सक र मनोपरामर्शदाताको टोलीले उनको स्वास्थ्य परीक्षण तथा मानसिक अवस्थाको मूल्यांकन गरेको थियो । उपचारपछि महिलाको अवस्था सुधार भयो ।

पीडित महिलाले श्रीमानको निरन्तर मानसिक तथा शारीरिक यातनाले आफू गहिरो मानसिक समस्यामा परेको बताएकी थिईन् । ओसिएमसीमार्फत परामर्श, कानुनी जानकारी र आवश्यकताअनुसार सेवाहरू प्रदान गरिएपछि उनलाई न्याय पाएको अनुभूति भयो । सम्बन्धित निकायहरूले महिलाको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै सेवा दिने गरेको छ । हिंसापीडितलाई यहाँ उपचार सम्भव हुन नसकेको अवस्थामा रिफर गर्नु परेमा एम्बुलेन्स सेवासमेत दिने गरेको छ भने कानुनी सेवाका लागि सरोकारवालासँग सहजीकरण, सुरक्षित आवासका लागि रिफर गर्ने काम पनि ओसिएमसीले गरिरहेको छ ।

तर जनशक्ति थोरै भएकाले सेवामा खटिने स्वास्थ्यकर्मी र प्रहरीलाई भ्याइ नभ्याइ हुने गरेको छ ।‘बलात्कार घटनाका पीडितको स्वास्थ्य परीक्षण तत्काल गर्नुपर्ने अवस्थामा सेवा दिन चुनौति हुने गरेको ओसिएमसी फोकलपर्सन स्टाफ नर्स पोख्रेलले बताउनुभयो ।

सेवा लिन आउनेहरु जुन सुकै समयमा आउने हुँदा पर्याप्त जनशक्ति अभावमा सेवा दिन रातको समयमा पनि आउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । स्थापनाकालमा हिंसापीडितलाई सेवाका लागि बोलाउँदै हिड्नुपरेको अवस्थाबाट अहिले पूर्वाधारसहितको सेवामा सुधार भएको पनि उहाँले बताउनुभयो । उहाँले अहिले पीडितहरु सिधै ओसिएमसीमा आएर सेवा लिने वातावरण बनेको बताउनुभयो । ‘कतिपयले रातको २ बजे फोन गरेर रुँदै मलाई श्रीमानले कुट्यो भन्दै फोन गर्नुहुन्छ’ फोकल पर्सन पोख्रेलले भन्नुभयो ‘ अप्ठेरो पर्दा पीडितले ओसिएमसीलाई सम्झनु हाम्रो सेवाप्रतिको विश्वास पनि हो । हाम्रो कमाइ पनि यही हो भन्ने लाग्छ । सेवाका लागि हामी तत्कालै उपस्थित हुन्छौँ ।’

हिंसापीडितहरुले पनि निःशुल्क सेवा पाउँदा खुशी व्यक्त गरेका छन् । ‘कुटेर घाइते बनाउने घर परिवारका आफन्त नै हुन्छन्, उनीहरुले उपचार गर्ने पैसा दिने कुरा भएन, आफ्नो कमाउने र आउने ठाउँ केही हुदैन । यो ठाउँ नभएको भए कहाँ जाने हुन्थ्यो होला । औषधि उपचार र सेवाका लागि निकै सजिलो भएको छ’ एक हिंसापीडित महिलाले भन्नुभयो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) को पछिल्लो तीन वर्षको तथ्यांक अनुसार सेवा लिन आउने हिंसापीडितहरु हरेक वर्ष दुई सय भन्दा बढी छन् । चालु आर्थिक वर्ष २०८१–०८२ को १० महिनासम्म दुई सय ४१ जना पीडितलाई सेवा दिएको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा दुई सय ७० जना पीडितलाई ओसिएमसीले सेवा दिएकोमा अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा २ सय ८६ जनालाई स्वास्थ्य तथा मनोपरामर्श सेवा दिएको तथ्यांक छ ।

आर्थिक २०८१–०८२ मा बलात्कारपीडित ७३ जना, यौनजन्य दुव्र्यवहारका ९ जना, शारीरिक दुव्र्यवहारका ८२, बालविवाह तथा जबरजस्ती विवाहका ८ जना, मानसिक दुव्र्यवहारका ५७ जना र अन्य १२ गरी दुई सय ४० महिला र एकजना पुरुषले सेवा लिएका ओसिएमसी फोकलपर्सन पोख्रेलले जानकारी दिनुभयो ।

यसैगरी आर्थिक वर्ष २०८०–०८१ मा बलात्कारपीडित ८५ जना, यौनजन्य दुव्र्यवहारका ९ जना, शारीरिक दुव्र्यवहारका ५० जना, बालविवाह तथा जबरजस्ती विवाहका १४ जना, स्रोत साधन र अधिकारबाट बञ्चित एक जना, मानसिक दुव्र्यवहारका ८९ जना र अन्य २२ जना गरी दुई सय ६९ महिला र एकजना पुरुषले सेवा लिएका छन् ।

आर्थिक वर्ष २०७९–०८० मा बलात्कारपीडित ८६ जना, यौन दुव्र्यवहार पीडित १९ जना, शारीरिक दुव्र्यवहारका ९४ जना, बालविवाहका १७ जना, स्रोत साधन र अधिकारबाट बञ्चित भएका पाँच जना, मानसिक दुव्र्यवहार खेपेका ५६ जना र अन्य ९ जना गरी दुई सय ८४ महिला र दुई जना पुरुषलाई सेवा दिइएको ओसिएमसी फोकलपर्सन पोख्रेलले जानकारी दिनुभयो ।
ओसिएमसीमा दक्ष जनशक्ति र सेवाको प्रभावकारीताका कारण सेवा लिने हिंसापीडितको यस प्रति विश्वास बढ्दै गएको पाईएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि प्रोत्साहन गरेर उपचारमा सहयोग गरिरहेको हुँदा सेवामा सहज भएको फोकलपर्सन पोख्रेलले बताउनुभयो । अस्पताललगायत सरोकारवालाको अग्रसरताले सेवा प्रभावकारीता बढ्दै गएको अवस्थामा ओसिएमसीका लागि आवश्यक बजेट घटेर आउँदा भने चुनौति हुने गरेको उहाँले बताउनुभयो । २०७२ सालदेखि शुरु भएको ओसिएमसी घोराहीमा हाल फरेन्सिक एक्सपर्ट डा. सुमी महर्जन, मेडिकल अफिसर डा. नवीनविक्रम पाण्डे, स्टाफ नर्स सुस्मिता पोख्रेल र प्रहरी हवल्दार रविना बुढा गरी चार जना जनशक्तिबाट सेवा प्रदान हुँदै आएको छ ।

 

लुम्विनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

राप्ती पोष्ट

लुम्विनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सन्दर्भः ३२ औं मदन–आश्रित स्मृति दिवस

सँझनामा मदन भण्डारी र जिवराज आश्रित

शरद अधिकारी

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र जिवराज आश्रितको निधन भएको ३२ बर्ष पुगेको छ । २०५० साल जेठ ३ गतेका दिन नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परेर ज्यान गएको थियो । नेपालमा भएका अनेकौं रहस्यमय दुर्घटनामध्य त्यो पनि एक थियो तर त्यो दुर्घटनालाई अहिले पनि रहश्यमय रुपमा लिने गरिएको छ । नेपालको इतिहासमा भएका अनेकौं रहश्यमय घटनाहरुमध्य यो पनि एउटा हो । पंचायती व्यवस्थाको समयमा हुने गरेका कतिपय हत्याहरु, राणाहरुले आफ्नो शासनको विरुद्धमा बोल्नेहरुलाई दिएको यातना भन्दा बढी चोटिलो घटना थियो २०५० जेठ ३ गतेको त्यो घटना । अर्काे हिसावले भन्ने हो भने त्यो दुर्घटना नेपालको राजनीतिक इतिहासमा कालो दिनका रुपमा थियो । एउटा बैचारिक नेताको अवसान भएको दिन थियो त्यो । नेपालको इतिहासमा त्यो लेवलको नेताको हत्या भएको विगतमा कुनै पनि घटना थिएन । न त आगामी दिनमा पनि यस्तो कल्पना गरिन्छ । पारिवारिक रुपमा बंश विनास भएको विरेन्द्रको कुरा गर्ने हो भने नेपालमा यस्ता राजा महाराजाहरु क्षडयन्त्रमा परेका अनेकन घटना छन् । जनताको छोराको हत्या षडयन्त्रपूर्वक गरिएको यो घटना नौलो थियो ।

नेपालको प्रजातान्त्रिक र बामपन्थी आन्दोलनमा मदन भण्डारीको नाम नमेटिने गरी लेखिएको छ । पंचायती व्यवस्थाको कालो शासन व्यवस्थाबाट भर्खरै मात्र खुल्ला राजनीतिमा प्रवेश गरेको तत्कालिन नेकपा मालेलाई यौटा राम्रो शक्तिका रुपमा स्थापित गराउनका लागि मदन भण्डारीको ठूलो योगदान रहेको छ । मदन भण्डारी जनताले मन पराएको नेता, जनताद्वारा रुचाइएको नेता, तत्कालिन अवस्थामा राजसंस्थालाई खुल्लेआम चुनौति दिएको नेता । जनताले मन पराएको नेता भएका कारणले गर्दा मदन भण्डारीलाई जननेता भनिएको छ । त्यसैगरी आश्रित पनि कुुशल संगठकका रुपमा हुनुहुन्थ्यो । उहाँलाई एमालेले कुशल संगठकका रुपमा मान्दै आएको छ । उहाँको सांगठनिक क्षमताका कारणले गर्दा पनि नेपालमा कम्युनिष्टहरुको वर्चश्व रहन सकेको हो । अर्थात नेकपा एमालेलाई कुनै बेलाको ठूलो पार्टी बनाउनका लागि आश्रितको सांगठनिक क्षमताले पनि काम गरेको हो भन्ने कुरामा शंका छैन । तत्कालिन एमालेले गुमाएका दुवै जना नेता एमालेका लागि मात्रै लडेका थिएनन । जनताका लागि पनि लडेका थिए । एमालेको स्वार्थका लागि त लडेकै थिए त्यो भन्दा पनि माथि उठेर देशको विकास र अग्रगमनका लागि लडेका थिए । दुवै नेता साच्चीकै श्रद्धाका पात्रका रुपमा रहेका छन ।
मदन भण्डारी र आश्रित नभएको पछिल्लो ३२ बर्षमा नेपालको राजनीतिमा अनेकन उथलपुथल भएका छन । नेपालमा जतिवेला मदन भण्डारीले शान्तिरुपमा पनि राजतन्त्र उन्मुलन हुने कल्पना गरिरहनुभएको थियो, त्यतिवेला धेरैले पत्याएका थिएनन तर अन्ततः मदन भण्डारीले भने जस्तै गरि शान्तिपूर्ण आन्दोलनले नै नेपालको राजतन्त्रको अन्त्य गर्न सक्यो । नेपालमा राजतन्त्रले यसरी यसरी नेपाली जनताका अधिकारमाथि धावा बोल्न सक्छ भन्ने कुरा गर्नुभएको थियो त्यसैगरी राजाले नागरिकका अधिकारमाथि धावा वोल्ने काम गरेका थिए । यसरी मदन भण्डारी भविश्य देख्न सक्ने र बर्तमानका बारेमा बोल्न सक्ने नेताका रुपमा हुनुहुन्थ्यो भन्न सकिन्छ । २०६१ माघ १९ गते जुन कदम ज्ञानेन्द्रले चालेका थिए त्यो कुरा २०४७ सालमा जारी भएको संविधानको व्याख्या गर्ने क्रममा मदन भण्डारीले भनिसक्नुभएको थियो । त्यतिवेला मालेले संविधानलाई आलोचनात्मक समर्थन गरेको थियो । संविधान जारी गर्नका लागि तत्कालिन मालेको शक्तिले मात्रै पुग्थेन । काँग्रेस लगायतको सहभागितामा संविधान निर्माण गरिएको थियो । संविधानमा जे जस्ता व्यवस्था राजाका लागि गरिएको थियो त्यसैलाई टेकेर राजाले कदम चालेका थिए । जुन कुरा मदन भण्डारीले पहिल्यै भनिसक्नुभएको थियो ।

नेपालमा मदन भण्डारीको अभाव अहिले पनि निकै खड्किएको छ । उहाँको अभाव उहाँको विचार बोक्ने पार्टीका लागि मात्रै खड्किएको छैन विरोधीहरुलाई पनि यो चासोको विषय बनेको छ । मदन भण्डारी भइदिएको भए मुलुक आजको अवस्थामा जाँदैनथ्यो भन्ने कुरा अहिले धेरैको मुखबाट आउने गरेको छ । यो कुरा त कल्पनाको कुरा मात्रै भयो मात्र कुरा के भने मदन भण्डारीले छोडेर गएको विचार छ नि यसलाई पक्डन सक्ने हो पक्कै पनि सम्वृद्धिको यात्रा टाढा हुने छैन । नेकपा एमालेमा मदन भण्डारीको विचारलाई पक्डने सवालमा एमालेमा अझै दृढता आउन सकेको छैन । एमालेले बहुदलिय जनवादमा के कुरा उल्लेख गरिएको छ भन्ने कुरालाई आम रुपमा प्रचार गर्न सेकेको छैन । कतिपय मानिसहरु २०४९ सालमा आएको यो विचारलाई कमा र फुलस्टप पनि परिवर्तन नहुने कुरा गरिहेका छन् भने अर्कोथरी समय अनुसार परिमार्जन गर्नुपर्ने धारणा राख्छन् । जवज भनेको जडसुत्र होइन । यो सिद्धान्त हो । सिद्धान्तलाई व्यवहारमा लागु गर्नुपर्छ । तर एमालेमा जवजको बुझाइको केही अभाव देखिएको पक्कै हो । एमालेले मदन भण्डारीको विचारलाई पक्डन सकेको भए एमालेको यात्रा २०५४ सालमा भन्दा अझ अघि बढ्ने थियो । एमाले कुनै बेला यो देशको प्रमुख शक्तिका रुपमा थियो । अहिले पनि छ । तर गएको निर्वाचनमा नेकपा एमाले र माओवादी आपसमा मिलेर नेकपा बन्ने घोषणा गरे । जसको फलस्वरुप नेकपा सवैभन्दा ठूलो दलका रुपमा स्थापित भयो । एकता टुट्यो । फेरि नेकपा एमाले र माओवादी आफ्नो बाटोमा लागेका छन् । सरकारमा सहकार्य गरेका छन । यि मिल्छन कि मिल्दैनन नागरिकले चासोका साथ हेरेका छन् । कम्युनिष्टहरु मिलेर मदन भण्डारीले कल्पना गरेको समृद्धिको यात्रा तय गर्दछन कि गर्दैनन भनेर आम नागरिकले चासोका साथ हेरिरहेका छन् ।

यतिवेला नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारका रुपमा स्थापित छ । अहिले पनि नेपालको कम्युनिष्ट आन्दोलन मदन भण्डारीले अघि सारेको विचारको सेरोफेरोमा घुमिरहेको छ । मदन भण्डारीको अभाव यतिवेला फेरि खड्किएको छ । मदन भण्डारी भइदिएको भए नेपालका कम्युनिष्टहरुका बीचमा धेरै पहिले नै एकता भइसक्ने थियो भन्नेहरु पनि छन् । हामी सवैलाई थाहा छ । जनताको बहुदलिय जनवादका विशेषता भनेको संविधानको सर्वोच्चता, बहुदवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानवअधिकारको रक्षा, बहुदलिय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार तथा संवैधानिक प्रतिपक्ष, कानुनी राज्य, बैदेशिक पूँजी र प्रविधिको उपयोग, क्षतिपूर्तिको नीति, बैदेशिक नीति, नेतृत्व र अधिनायकत्व, जनवादी व्यवस्थाको सुदृढीकरण, जनताको बहुदलीय जनवाद ।
मदन भण्डारीको सपनामा देशको समृद्धि लुकेको छ । जनता सुखी र देश समृद्ध भयो भने मात्रै मदन भण्डारीको सपना साकार हुनेछ । एतिवेला नेकपा एमालेको सरकारले दुई बर्ष काम गर्न सक्यो भने कुनै पनि प्रधानमन्त्रीले पाँच बर्ष लगातार काम गरेको देखिने थियो । विगतमा सरकार परिवर्तनमा लागिरहने दलहरुको स्वभाव यो बीचमा पनि देखिएको छ । सरकारमा जाने, सुखभोग गर्ने भन्दा पनि जनतालाई कसरी सुविधा दिने, जनतालाई कसरी सुरक्षा दिने भन्ने कुरामा दलहरुको ध्यान जानुपर्ने थियो । तर नेपालका कुनै पनि राजनीतिक दलदहरु जनताप्रति समर्पित देखिएका छैनन् । ‘जनता भनेका ज्युदा भगवान हुन’ भन्ने मदन भण्डारी र ‘पार्टी संगठनलाई जनताको हितमा लगाउनुपर्छ’ भन्ने कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली दिएर मात्रै पुग्दैन । २०५० साल जेठ ३ गते साँझको त्यो कालो घडी, जसले नेपालको प्रगतिशील राजनीति र वाम आन्दोलनमा एउटा गहिरो धक्का दिएको दिन थियो । उक्त घटना केवल दुई नेताको मृत्यु मात्र थिएन, त्यो नेपाली वाम आन्दोलनको एउटा युगको अन्त्य र अर्को युगको चुनौतीपूर्ण आरम्भ पनि थियो । यी दुई महान नेताको जीवन, विचार, संघर्ष र योगदानको समीक्षा गर्दा उनीहरू केवल राजनीतिक नेता थिएनन्; उनीहरू युगप्रवर्तक, वैचारिक मार्गनिर्देशक र जनताको मनमा बस्न सफल जननायक थिए ।

मदन भण्डारीको जन्म २०१० साल असार १४ गते ताप्लेजुङ जिल्लाको धारापानी गाउँमा भएको थियो । शिक्षा र संघर्षको सिलसिलामा उहाँ काठमाडौं हुँदै भारत पुग्नुभयो । जहाँ उहाँले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभयो । पुष्पलालको संगत हुँदै जाँदा बामपन्थी बन्नुभयो । नेपालको सन्दर्भमा वाम आन्दोलन लामो समयसम्म एकल दलीय अधिनायकवादतर्फ झुकेको थियो । यथार्थमा, अधिकांश वामपन्थी पार्टीहरू ‘जनयुद्ध’ वा ‘सशस्त्र संघर्ष’लाई मात्रै समाजवादमा पुग्ने एकमात्र बाटो ठान्थे । यही परिपाटीमा वैचारिक मोड ल्याउने साहस जननेता मदन भण्डारीले गर्नुभयो । उहाँले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ले नै नेपाली वाम आन्दोलनलाई लोकतान्त्रिक मार्गमा हिँडाएको छ । हरेक बर्ष जव जेठ ३ गते आउँछ तव औपचारिक कार्यक्रम गरेर मदन भण्डारी र जिवराज आश्रितको सँझना गरिन्छ । मदन भण्डारीले नेपालको राजनीतिलाई दिएको योगदान एक दिन स्मरण गरेर पुग्ने होइन । उहाँको विचारलाई अवलम्वन गर्ने हो भने मात्रै नेपाल समृद्ध बन्न सक्छ । हामी नेपाली सुखी बन्न सक्छौं । मदन भण्डारी र जिवराज आश्रितको निधन भएको ३२ औं बर्षमा उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ।

 

के हो कुहिएको भनिएको अण्डाको फण्डा ?

सस्तोमा विक्रि गर्नेलाई कारवाही भन्दै भाउ बढाइयो

राप्ती पोष्ट

दाङ, बैशाख । गएको २३ गतेका दिन सामाजिक सञ्जालमा एउटा दृष्य आयो । यो दृष्य थियो, एउटा मोटरसाइकिलमा गत्ता राखिएको र त्यो गत्तामा रहेका अण्डा कुहिएको भन्ने । सामाजिक सञ्जालमा कुहिएको अण्डा विक्रि गरिरहेको अवस्थामा एकजनालाई पक्राउ गरिएको कुरा थियो । कुहिएको अण्डा विक्रि गरेको भनेर ति व्यक्तिलाई पक्राउ पनि गरियो तर ति व्यक्तिले कुहिएको अण्डा विक्रि गरेको नभइ झुठो आरोपमा अण्डा विक्रि गरिरहेका व्यक्तिलाई पक्राउ गरेको थाहा भयो । त्यसपछि प्रहरीले ति व्यक्तिलाई छोड्यो । जसले पक्राउ गराएको थियो उसैले उल्टै गल्ती स्विकार गर्नुपर्ने अवस्था आयो ।
घोराही उपमहानगरपालिका वडा नं। १५ मा रहेको सव्जी मण्डीमा एकजना व्यवसायी विहान अण्डा विक्रि गर्नका लागि जान्छन । बजारमा विक्रि गर्ने भन्दा केही सस्तोमा ति व्यवसायीले केही दिन यता अण्डा विक्रि गरिरहेका छन् । दाङ जिल्लामा अण्डाको सिण्डिकेट रहेको छ । कुनै व्यवसायीले सस्तोमा अण्डा विक्रि गर्न पाउँदैन । यसले गर्दा उपभोक्ताहरु चर्को मूल्यमा अण्डा किन्न बाध्य छन् । तर ति व्यवसायीले एकजना अण्डा उत्पादकसंग लिएर थोरै नाफा खाएर विक्रि गरिरहेका छन् । जसले गर्दा कुखुरा पालक संघका केही सिण्डिकेटवालालाई घाटा लाग्यो । विहान सव्जी मण्डीमा अण्डा विक्रि गर्ने ति व्यवसायीले दिउँसो घोराही बजारमा अण्डा बिक्री गर्दै हिड्ने गर्दछन् । सोही क्रममा ति व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो ।

खानका लागि योग्य रहेका अण्डा सस्तो मूल्यमा माइकिङ गर्दै बिक्री गर्न थालेपछि कुखुरा पालक संघले कुहिएको अण्डा विक्रि गरेको भन्ने आरोप लगायो । जवकी अण्डा कुहिएको छ कि छैन भन्ने थाहा पाउनका लागि अण्डा फोडनुपर्छ । दुई दिन अघि घोराहीकै एकजना कुखुरा पालकसंग लिएको अण्डा भएकाले ताजा नै भएको दावी ति व्यवसायीको छ । ‘ताजा अण्डा विक्रि गरिरहेको अवस्थामा यसरी आरोप लगाउनु भनेको केही व्यक्तिको दादागिरी बाहेक अरु केही होइन ।’ ति व्यवसायी भन्छन ।

घोराहीमा रहेका लेयर्स कुखुरा पालकहरुले अण्डा विक्रि गर्दा ताजा अण्डा मात्रै विक्रि गर्ने गरेका छन् । कुखुरा पालक संघले पनि उत्पादन भएको मितिदेखि १५ दिनसम्म अण्डा ताजा हुने बताउने गरेको छ । आफूले दुई दिन अघि ल्याएको अण्डा विक्रि गरिरहदा पक्राउ गर्नु र आफ्नो बदनाम गराउनु गम्भिर विषय भएको ति व्यवसायीको धारणा छ ।
जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा अण्डा कुहिएको भन्ने कतैबाट प्रमाणित नभएपछि कुहिएको अण्डा विक्रि गरेको भन्नेहरु लज्जित भएका थिए । संघले निर्धारण गरेको भन्दा थोरै कम नाफा लिएर अण्डा विक्रि गरिरहेको ति व्यवसायीको भनाई छ । हरेक दिन मण्डीमा माइकिङ गर्दै बजारमा पाइने भन्दा केही सस्तोमा आफूले अण्डा विक्रि गरिरहेको ति व्यक्तिको भनाई छ । स्थानीय कुखुराको अण्डा प्रति क्यारेट पाँच सय रुपैया सम्ममा र लेयर्स कुखुराको अण्डा प्रति क्यारेट तीन सय रुपैया देखि पाँच सय रुपैयासम्ममा विक्रि गर्दै आएकोमा लेयर्स कुखुरा पालक संघले षडयन्त्रपूर्वक यस्तो गरेको व्यवसायीको भनाई छ ।

अण्डाका लागि कुखुरा पालन गर्नुभएका पूर्व व्यवसायी भरतराज देवकोटा दाङ जिल्लामा कुहिएको अण्डा विक्रि गरिएको भनेर कुखुरा पालकले नै विरोध गर्नु आफैलाई घाटा पु¥याउनु भएको बताउनुहुन्छ । अहिले त्यसैपनि अण्डाको माग बढी छ । यस्तोमा दुई चार दिन भन्दा बढी स्टकमा बस्न पाउँदैन । आजको अण्डा भोली व्यवसायीको हातमा पुग्दा ढीलोमा पनि पर्सिसम्म उपभोक्ताको हातमा पुगिसक्ने उहाँको अनुभव छ । यस्तोमा अण्डा उत्पादकहरुले नै कुहिएको अण्डा विक्रि गरिएको भनेर प्रचार गर्नु आफ्नै लागि घातक भएको टिप्पणि देवकोटाको छ ।

अण्डाको मूल्य बढाइयो

यसैबीच व्यवसायीले अण्डाको मूल्य बढाएका छन् । बिहीबार बसेको नेपाल लेयर्स कुखुरापालक संघको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेसँगै एक पेटीमा कम्तीमा चार सय रुपैयाँ मूल्य बढेको संघका सचिव मदन पोख्रेलले जानकारी दिनुभयो ।

अण्डाको मूल्य बढ्दा अण्डा उत्पादक किसानलाई केही राहत भएपनि अण्डाको उत्पादनमा भने गिरावट आएको उहाँ बताउनुहुन्छ । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य समायोजन गरि नयाँ रेट कायम गर्दा मूल्य बढेको नेपाल लेयर्स कुखुरापालक संघ दाङका सदस्य हरपल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, शुक्रबारदेखि नै लागू हुने गरी अण्डाको समर्थन थोक मुल्य एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी ९सात क्रेट० तीन हजार पाँच सय ५० रुपैयाँ, ठूलो अण्डा तीन हजार चार सय रुपैयाँ र मझौलाको तीन हजार ५० रुपैयाँ कायम गरिएको छ ।

यसअघि एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी ९सात क्रेट० तीन हजार एक सय ४० रुपैयाँ, ठूलो अण्डा तीन हजार रुपैयाँ र मझौलाको दुई हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी तीन हजार छ सय ७५ रुपैयाँसम्म पुगेको थियो ।

अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो भईरहेको अवस्थामा मुल्यमा सुधार आउँदा केही राहत हुने गरेको नेपाल लेयर्स कुखुरापालक संघ दाङका कोषाध्यक्ष ईश्वर अर्यालको भनाइ छ । अण्डा उत्पादनमा लागत बढ्दै जाने तर कुखुराले अपेक्षा गरिए अनुसार अण्डा नदिने, विभिन्न किसिमका रोग संक्रमणले समस्या थप्दा लगानी उठाउन चुनौति हुने गरेको संघका कोषाध्यक्ष अर्यालले बताउनुभयो ।

गर्मीका कारण अण्डा उत्पादनमा गिरावट आएको र बजार माग बढ्दा मुल्य बढेको उहाँले जानकारी दिनुभयो । ‘गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो । उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ । अण्डा उत्पादन अहिले झण्डै २५ प्रतिशत गिरावट आएको हुँदा मूल्य अझ बढ्न सक्ने अवस्था रहेको छ’ उहाँले भन्नुभयो ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी तीन हजार छ सय ७५ रुपैयाँसम्म पुगेको थियो । दाङमा हाल दैनिक एक हजार सात सय पेटी अण्डा उत्पादन हुने गरेको नेपाल लेयर्स कुखुरा पालक संघ दाङले जनाएको छ ।

विमानस्थल विस्तारका लागि प्रधानमन्त्रीलाई कोमल ओलिको ज्ञापन पत्र

राप्ती पोष्ट

दाङ, बैशाख । बजेटको तयारी हुँदै गर्दा दाङ जिल्लामा विमानस्थलको विषय जोडतोडले उठ्न थालेको छ । विभिन्न राजनीतिक दल र संघ संस्था मात्रै होइन व्यक्तिगत रुपमा पनि दाङ जिल्लामा एयरपोर्ट आवश्यक रहेको कुरामा लविङ हुन थालेको छ । खासगरी तुलसीपुरमा रहेको एयरपोर्टको स्तरबृद्धि गरेर नियमित उडानको लागि पहल भइरहेको छ ।
तुलसीपुरमा विमानस्थल विस्तार र ठूला जहाज बस्न मिल्ने गरी बजेट विनियोजनाका लागि लागिरहनुभएकी नेकपा एमालेकी नेतृ कोमल ओलीले सोको पुनः पहल गर्नुभएको छ । राष्ट्रिय सभाको सदस्यका रुपमा रहेको समयमा पनि उहाँले टरिगाउँ एयरपोर्टको कुरा पटक पटक उठाउनुभएको थियो । राजकीय जिम्मेवारी नभएको अवस्थामा पनि उहाँले एयरपोर्टको विषय उठाउन छोड्नु भएको छैन ।

सोही क्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलिले दाङको प्रमुख पूर्वाधार सपना मानिएको टरिगाउँ विमानस्थलको विस्तारका लागि प्रधानमन्त्रीसंग भेट गर्नुभयो । बुधबार प्रधानमन्त्रीलाई भेटेर आगामी बजेटबाट विशेष व्यवस्थाका लागि माग गर्नुभयो । प्रधानमन्त्रीलाई भेटेर बजेटका बारेमा ध्यानाकर्षण गराएको उहाँले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री ओलीलाई भेटेर विमानस्थलको विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्दै औपचारिक ज्ञापन पत्र बुझाउनुभएको हो ।

ओलीले बुझाउनुभएको ज्ञापन पत्रमा दाङको भूगोल, विकास सम्भावना र विमानस्थल विस्तारको महत्व उल्लेख गर्नुभएको छ । उहाँले तुलसीपुरमा विस्तार गरिने विमानस्थल क्षेत्रीय विकासको आधार बन्ने विश्वास व्यक्त गर्नुभयो । टरिगाउँ विमानस्थलको स्तरोन्नति भएमा दाङ मात्र होइन, आसपासका जिल्लाहरूको व्यापार, पर्यटन र आवागमनमा क्रान्तिकारी परिवर्तन आउनेछ ।’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ओलीले गएको फागुन महिनामा प्रधानमन्त्रीलाई तुलसीपुर एयरपोर्टको प्रत्यक्ष अवलोकनमा लैजानु भएको थियो । नेतृ ओलीले प्रधानमन्त्रीलाई प्रत्यक्ष रुपमा विमास्थल लग्नुका पछाडी विमानस्थल संचालनका लागि बजेटको विनियोजनका लागि ध्यानाकर्षण गराउनु नै रहेको बताउनुभयो । यसअघि स्थानीय तह, उद्योगी–व्यवसायी तथा जनप्रतिनिधिहरूले समेत टरिगाउँ विमानस्थलको स्तरोन्नतिको माग गर्दै आएका थिए । अहिलेको अवस्थालाई मध्यनजर गर्दै विमानस्थलको पूर्वाधार निर्माण अत्यावश्यक भएको भन्दै ओलीले विमानस्थलमा रकम विनियोजन हुने विश्वास गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ज्ञापन पत्र प्राप्त गर्दै टरिगाउँ विमानस्थलको सम्भाव्यता र आवश्यकताका विषयमा सरकार गम्भीर रहेको बताउनुभएको थियो । प्रधानमन्त्रीले विमानस्थलका बारेमा ध्यानाकर्षण गराएकोमा नेतृ ओलीलाई धन्यवाद दिनुभएको थियो ।

लोकतन्त्र जिन्दावाद

राप्ती पोष्ट टिम

आज लोकतन्त्र दिवस । आज वैशाख ११ गते । नेपालको इतिहासमा बैशाख ११ एक विशेष दिन हो । यो दिन यस्तो दिन हो जसले शासक र शासितबीचको सम्बन्धलाई परिभाषित ग¥यो, निरंकुशता र जनाधिकारबीचको द्वन्द्वमा जनताको विजयको घोषणा ग¥यो । २०६३ सालको यही दिन नेपाली जनताले आफ्नो बलिदान, सङ्घर्ष र दृढ इच्छाशक्तिबाट निरंकुश राजतन्त्रको विरुद्ध आवाज उठाउँदै लोकतन्त्र पुनःस्थापना गरेका थिए । आज हामी लोकतन्त्र दिवस मनाइरहेका छौं । तर यो केवल एउटा उत्सव होइन, यो चेतनाको दियो बालेको दिन हो, जहाँ जनताको स्वर शासकभन्दा बलियो प्रमाणित भयो । आजको दिन ल्याउनका लागि ठूलो बलिदानी भएको थियो । हजारौंको ज्यान गयो । हजारौं घाइते भए । कति वेपत्ता भए । नेपालमा जनताले जितेको दिनका रुपमा यो दिन सुनौलो अक्षरले लेखिएको छ । यो दिन हामी सवैका लागि गर्व गर्न लायक दिन पनि हो ।

२०४६ सालमा आएको बहुदलले निर्माण गरेको संविधानको छिद्रबाट छिरेर राजतन्त्रले लोकतन्त्रको अपहरण गरेको थियो । त्यहि लोकतन्त्रलाई जनताले आफ्नो पोल्टामा पारेको दिन हो बैशाखको ११ गते । २०५० को दशकदेखि नै नेपालको राजनीति अनिश्चितताले भरिएको थियो । २०४६ सालको जनआन्दोलनपश्चात स्थापित बहुदलीय प्रणाली र संविधानको मूल आत्मा क्रमशः कमजोर हुँदै गयो । राजनीतिक अस्थिरता, दलहरूबीचको आन्तरिक कलह, आर्थिक संकट र जनताको विश्वासको ह्रास हुँदै गएपछि २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले संविधानको धज्जी उडाउँदै निर्वाचित सरकारलाई बर्खास्त गरे र स्वयम् आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरे । यो कदम केवल असंवैधानिक मात्र थिएन, यो सम्पूर्ण लोकतान्त्रिक मूल्य र मान्यताको उपहास थियो । कतिपयलाई यो कदम राजाको बहादुरी लाग्यो । राजाले गज्जव गरे भन्ने पनि लाग्यो । तर यस्तो होइन । नेपालमा राजाले जनताका लागि कहिल्यै सोचेका थिएनन् । जनताको स्वतन्त्रताको विषयमा सोचेका थिएनन् ।

२०५९ असोज १८ गतेका दिन नै राजा ज्ञानेन्द्रको निरङ्कुशताको कास्टीङ देखिएको थियो । त्यसको एक करिव दुई बर्षपछि अर्थात २०६१ माघ १९ गते ज्ञानेन्द्रले लोकतन्त्रमाथि कु गरेका थिए । राजा ज्ञानेन्द्रको शासनको दुई वर्ष निरंकुशताको गहिरो कालो छायाँ थियो । प्रेसमाथि नियन्त्रण, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको नजरबन्द, नागरिक स्वतन्त्रताको हनन, सेना र प्रशासनको दमनकारी प्रयोग । यी सबैले राजा स्वयंलाई ‘प्रजातन्त्रको संरक्षक’ होइन, एक ‘तानाशाह’ को रूपमा स्थापित गरिदिए । जनताको मनमा डर मात्र होइन, असन्तोष र आक्रोश पनि थपिँदै गयो । त्यही असन्तोषले विकराल रूप लिएर जनआन्दोलन–२ को जन्म भयो । २०६२ साल चैत २४ गतेबाट सुरु भएको दोस्रो जनआन्दोलन नेपाली जनताको त्यो ज्वालामुखी थियो, जुन लामो समयदेखि थुनिएको थियो । सात प्रमुख राजनीतिक दलहरूले माओवादीसँग १२ बुँदे सहमति गरेर आन्दोलनलाई एकीकृत गरे । यो केवल शासकीय प्रणालीको विरुद्धमा मात्र होइन, त्यो एक राष्ट्रिय जागरणको आन्दोलन थियो । देशका सहर, गाउँ, पहाड, तराई—सबैतिर एकै स्वरमा ‘लोकतन्त्र चाहिन्छ’ भन्ने आवाज गुञ्जियो ।

आन्दोलन १९ दिनसम्म निरन्तर चल्यो । लाखौं नेपालीले सडकमा उत्रेर आफ्ना अधिकारका लागि लडे । गोलिबारि भयो, कफ्र्यु लाग्यो, थुप्रै नेपाली घाइते र सहिद भए। तर जनताको मनोबल झन बलियो हुँदै गयो । अन्ततः बैशाख ११ गते राजा ज्ञानेन्द्र झुक्न बाध्य भए । उनले सत्ता जनता समक्ष फिर्ता गरे, संसद् पुनःस्थापना गरियो र लोकतन्त्र पुनःस्थापित भयो । त्यो दिन नेपाली इतिहासको एक निर्णायक मोड थियो—जहाँ जनताको आवाजले सत्ताको स्वरूप बद्लियो ।
लोकतन्त्र भनेको केवल निर्वाचन, दल र सरकारको फेरबदल मात्र होइन । लोकतन्त्र भनेको मानवीय गरिमा, अभिव्यक्ति स्वतन्त्रता, समानता र उत्तरदायित्वमा आधारित शासन प्रणाली हो । तर आज लोकतन्त्र दिवस मनाउँदा, हाम्रो मनमा केही गम्भीर प्रश्नहरू उठ्छन् । के हाम्रो लोकतन्त्र बलियो हुँदै गएको छ ? कि हामी फेरि पनि संस्थागत कमजोरी, दलगत स्वार्थ र अपारदर्शिताको जालोमा परिरहेका छौं ? २०६३ सालपछि स्थापना भएको लोकतान्त्रिक गणतन्त्रले नेपाली समाजमा महत्वपूर्ण परिर्वतनहरू ल्याएको छ । संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मानवअधिकारको संरक्षण, प्रेस स्वतन्त्रता जस्ता थुप्रै उपलब्धिहरू हासिल भएका छन् । तर यथार्थमा अझै पनि शासन प्रणालीभित्र गम्भीर समस्याहरू छन् । दलीय गुटबन्दी, भ्रष्टाचार, कुशासन, न्यायपालिकाको अविश्वास, र बृहत् जनतासँग टाढिएको राजनीतिक नेतृत्व ।

हालका वर्षहरूमा केही समूहहरूले पूर्व राजसंस्थाको पुनस्र्थापनाको पक्षमा आवाज उठाइरहेका छन् । सामाजिक सञ्जाल र सडकमा देखिएको यो प्रवृत्ति लोकतन्त्रप्रति जनताको मोहभंग भएको संकेत हो कि ? यो प्रश्न गम्भीर छ । तर उत्तर स्पष्ट छ, जनताले प्राप्त गरेको अधिकारलाई कुनै ‘ईश्वरीय सत्ता’ पुनः खोस्न सक्दैन । इतिहासले प्रमाणित गरिसकेको छ, नेपाली जनता सजग छन्, उनीहरूले प्राप्त गरेको स्वतन्त्रता सजिलै गुमाउँदैनन् । राजा वा महाराजाको शासनको सपना देख्नु अब केवल एक भ्रम हो । जनताले अब प्रतिवादी होइन, जवाफदेही नेतृत्व चाहन्छन् । उनीहरू संस्थाहरूको सुदृढीकरण, पारदर्शिता र विकास चाहन्छन् । त्यसैले, लोकतन्त्रप्रतिको असन्तोषलाई व्यवस्थाको आलोचनाका रूपमा लिनुपर्छ, तर व्यवस्थाको अस्वीकारको रूपमा होइन ।

लोकतन्त्रलाई जीवन्त राख्नका लागि केवल चुनाव नै काफी हुँदैन । यसका लागि शिक्षित र सचेत नागरिक, पारदर्शी संस्था, उत्तरदायी नेतृत्व र स्वतन्त्र न्यायपालिका आवश्यक छ । आजका दिन हामीले आफैंलाई सोध्नुपर्छ, के हामीले यो प्रणालीलाई जोगाउने जिम्मेवारी पूरा गरिरहेका छौं ? के जनताको सहभागिता नीति निर्माणमा सुनिश्चित छ? के राजनीतिक दलहरूले लोकतान्त्रिक आचरण अपनाइरहेका छन् ? लोकतन्त्रलाई बलियो बनाउने जिम्मेवारी केवल सरकार वा दलहरूको मात्र होइन, आम नागरिकको पनि हो । जब हामी विभाजित हुन्छौं, तब निरंकुश प्रवृत्तिहरू बलियो हुन्छन् । त्यसैले आजको प्रमुख आवश्यकताः लोकतन्त्रवादी शक्तिहरूबीच एकता, साझा उद्देश्य र सिद्धान्तप्रतिको प्रतिबद्धता हो ।

लोकतन्त्र कुनै स्थिर अवस्था होइन, यो एक निरन्तर प्रक्रिया हो । सुधारको, सहभागिताको, र जनतासँग संवादको । २०६३ सालको जनआन्दोलनले हामीलाई एक ऐतिहासिक अवसर दिएको थियो । आफ्नै शासन आफ्नै हातमा राख्ने । अब यो हाम्रो जिम्मेवारी हो कि हामी त्यस अवसरलाई बलियो प्रणालीमा रूपान्तरण गरौं । राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन, सोचको परिवर्तन, चेतनाको विकास र जिम्मेवार नेतृत्वद्वारा मात्र सशक्त लोकतन्त्र निर्माण हुन्छ । आज, जब हामी लोकतन्त्र दिवस मनाइरहेका छौं, हामीले केवल विगत सम्झनु होइन, भविष्यको यात्रालाई स्पष्ट दिशा दिनुपर्छ । जनताको जित कहिल्यै अस्थायी हुँदैन । इतिहासले देखाएको छ, नेपाली जनता जब एकजुट हुन्छन्, तब संसार हल्लिन्छ । त्यसैले, आजको दिनमा पनि हामी स्पष्ट रुपमा लोकतन्त्र जिन्दावादको नारा लगाउनुपर्छ । जनताको शासन ल्याउनका लागि जुन बलिदानी भएको छ यसको अपमान गर्ने छुट कसैलाई छैन । हामी प्रजाबाट जनता भएको दिन बैशाख ११ हो । हामी पुनः प्रजा वा रैति बन्न तयार छैनौं । लोकतन्त्र दिवस यो केवल एउटा तिथि होइन, यो नेपाली जनताको आँसु, पसिना र बलिदानले लेखिएको इतिहासको एउटा उज्यालो पाना हो । २०६३ साल बैशाख ११ गते नेपाली जनताले आफ्नो सार्वभौम सत्ता पुनः प्राप्त गरेका थिए । त्यो दिन राजा ज्ञानेन्द्रको निरंकुश शासन अन्त्य गर्दै जनताले आफ्नो हातमा सत्ता पुनः लिएका थिए । यो केवल सिंहदरबारको सत्ताको हस्तान्तरण मात्र थिएन; यो जनताको इच्छाशक्ति, संकल्प र सङ्घर्षको विजय थियो ।

नेपालको इतिहासमा निरंकुशताको कालो अध्याय लामो समयसम्म फैलिएको थियो । राजतन्त्रको नाममा जनतालाई दास बनाउने परिपाटी सदीयौं देखि चल्दै आएको थियो । पञ्चायत व्यवस्थाको बन्द कोठाभित्र लोकतन्त्रको आवाज दबाइएको थियो । र, जब २०४६ सालमा बहुदलीय प्रजातन्त्र आयो, तब जनतामा केही आशाको किरण पलायो । तर त्यो पनि पूर्ण रूपमा जनतामुखी बन्न सकेन । लोकतन्त्र आएको दुई दशक नपुग्दै, हामीले फेरि पनि लोकतन्त्रको मूल्य र महत्वमाथि प्रश्न गर्न थालेका छौं । किन ? के जनताले जितेको त्यो दिनको मर्म बिर्सिंदैछौं ? के गणतन्त्र, संघीयता, मानव अधिकार, समावेशीता यी केवल दस्तावेजमा सीमित हुनुहुँदैन । शासन प्रणालीमा देखिएका कमजोरीले लोकतन्त्रप्रति नै जनतामा वितृष्णा पैदा गर्दैछ । भ्रष्टाचार, सत्ता–स्वार्थ, बिचौलिया संस्कृति र सेवा प्रवाहको चरम विफलता, यी सबैले जनताको आस्थामा चोट पु¥याइरहेका छन् । यसैले आजको दिन केवल उत्सवको दिन होइन; आत्मसमीक्षाको दिन पनि हो । हामीले प्राप्त गरेको लोकतन्त्रलाई कसरी सार्थक बनाउने भन्ने प्रश्नको उत्तर खोज्ने दिन हो । राजनीतिक दलहरुबीचको विभाजन, चरम प्रतिस्पर्धा र सत्ता लिप्साले लोकतन्त्र कमजोर हुँदैछ । गणतन्त्रवादी शक्ति टुक्राटुक्रा छन् । यिनले फेरि एकजुट भएर, लोकतन्त्रको रक्षा गर्नुपर्छ । शक्ति, स्वार्थ र सत्ताको लागि होइन, जनताको लागि, लोकतन्त्रको लागि । आजको दिन फेरि स्मरण गराउँछ । राजा, महाराजाहरु, पंचे मण्डलेहरुका सपनाहरू, जनताको आँधीले पटक–पटक बगाएको छ । लोकतन्त्रको विरुद्ध लाग्ने जुनसुकै शक्तिलाई जनताले अन्ततः पराजित गरेका छन् । इतिहासले प्रमाणित गरेको छ । यसर्थ लोकतन्त्र दिवसका दिन पुनः एक पटक लोकतन्त्र जिन्दावादको नारा घन्काउनुपर्ने भएको छ ।

त्रिभुवननगर जेसीजको सप्ताह सुरु

सेवा घरमा आश्रितलाई भोजन तथा सहयोग

राप्ती पोष्ट

घोराही, वैशाख । हरेक बर्ष जस्तै यस बर्ष पनि त्रिभुवननगर जेसीज घोराहीले जेसीज सप्ताह–२०२५ सुरु गरेको छ । सप्ताहको उद्घाटनका दिन अर्थात पहिलो दिन शनिवार घोराही १० नारायणपुर स्थित मानव कल्याण समाज सेवा घरमा पुगेर सामग्री सहयोग गरिएको थियो ।

आश्रममा आश्रित ५० जनालाई एक दिनको खानाको व्यवस्थापनका साथै विभिन्न सामग्री सहयोग गरेर वर्ष २०२५ को जेसीज सप्ताहको उद्घाटन् गरिएको हो । त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षतामा भएको जेसिज सप्ताहको उद्घाटन लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री सीता चौधरीले गर्नुभएको थियो ।

सेवा घरमै औपचारिक कार्यक्रम गरेर गरिएको उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री चौधरीले जेसीज सप्ताहको प्रारम्भ सामाजिक सेवाबाट हुनु अत्यन्तै सराहनीय कार्य रहेको बताउनुभयो । उहाँले त्रिभुवननगर जेसीजले सेवा घरमा आश्रित व्यक्तिहरूप्रति देखाएको माया र सहयोग प्रेरणादायी भएको बताउनुभयो ।
समाज परिवर्तनका लागि यस्ता सकारात्मक कदमहरु आवश्यक रहेको बताउदै मन्त्री चौधरीले यस्ता सेवामूलक कार्यमा सधैं साथ दिन तयार रहेको बताउनुभयो । साथै समारोहका अवसरमा त्रिभुवननगर जेसीजले वि.सं. वर्ष २०८२ को आफ्नो वार्षिक क्यालेन्डरको बिमोचन समेत गरेको थियो ।

उक्त अवसरमा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, लमही जेसीज अध्यक्ष रामदीन चौधरी, तुलसीपुरनगर जेसीज अध्यक्ष सन्दिप भुसाल, दाङ महिला जेसीज कार्यवाहक अध्यक्ष लक्ष्मी घमाल, अप्टिमिष्ट क्लब अफ् घोराहीका अध्यक्ष निरञ्जन गहतराज, प्रेस चौतारी नेपाल दाङ शाखाका कोषाध्यक्ष चन्द्रप्रकाश नेपाली, प्रेस सेन्टर नेपालका गिरिराज नेपाली, त्रिभुवननगर जेसीजका विर्तमान अध्यक्ष रविकिरण केसी, पूर्व अध्यक्ष एवम् वर्ष २०२५ का आन्तरिक लेखापरीक्षण समिति संयोजक दीपक शर्मा, मुकेश्वर शर्मा लगायतले शुभकामना दिनुभएको थियो । किरण न्यौपानेको जेसीज आस्थापाठ, रण बहादुर खड्काको जेसीज मिसन तथा भिजन प्रस्तुती र पहिलो दिनको कार्यक्रम संयोजक जेसी राजन घर्ति मगरको स्वागत मन्तव्यबाट सुरु भएको थियो । उद्घाटन कार्यक्रममा जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक बाबुराम पाण्डेयले सप्ताहका गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो ।

सेवा, सहयोग र सामाजिक उत्तरदायित्वको भावना बोकेर सुरु भएको त्रिभुवननगर जेसीज सप्ताह–२०२५ विभिन्न कार्यक्रममार्फत साताभर सञ्चालन हुने अध्यक्ष रावतले बताउनुभयो । पहिलो दिनको कार्यक्रममा त्रिभुवननगर जेसीस मार्फत मानव कल्याण समाज सेवा घरलाई वितरण गरिएको सहयोग सामाग्रीहरु आरसि प्र्रिन्टर्स, लुम्बिनी स्टोर, रोयल फार्मेसी र युनाईटेड सर्जिकलबाट प्राप्त भएको मूल समाहारोह संयोजक बाबुराम पाण्डेयले जानकारी दिनुभएको छ ।

प्रेस चौतारी दाङका सवै पालिकामा पुग्ने

राप्ती पोष्ट

दाङ, चैत । प्रेस चौतारी दाङ जिल्ला कमिटी जिल्लाका सवै पालिकामा पुग्ने भएको छ । पालिका कमिटी गठनका लागि बैशाखको महिना तय गरिएको छ । प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा घोराहीमा बसेको बैठकले जिल्लाका १० वटै पालिकामा चौतारीको कमिटी गठन गर्ने निर्णय गरेको हो । जस अन्तरगत शान्तिनगर, दंगीशरण र राप्ती गाउँपालिकामा आगामी बैशाख २० गते, तुल्सिपुर र बवईमा बैशाख १३ गते, घोराही र लमहीमा बैशाख ६ गते, राजपुर र बंगलाचुलीमा बैशाख २७ गते र गढवामा बैशाख ७ गते भेला तथा कमिटी गठन गर्ने निर्णय गरिएको छ ।

बैठकले चौतारीमा विभिन्न व्यक्तिहरूले राखेको अक्षयकोष व्यवस्थित गर्दै जिल्ला अधिबेशनमा आर्थिक सहयोग गर्ने घोराही र तुलसीपुर उप महानगरपालिकालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । चौतारीको इतिहास समेटिने गरि प्रकाशन गर्न थालेको स्मारिका तयारी तिव्र बनाउने निर्णय गरेको छ ।

यस्तै चौतारीलाई आवश्यक सल्लाह सुझाव प्रदान गर्न सुदर्शन रिजाल, जेएन सागर, प्रेम बहादुर राम्जा, पाण्डव प्रसाद शर्मा र दिप्तिशिखा चौधरीलाई सल्लाहकार चयन गरेको छ । बैठककै क्रममा चौतारीको केन्द्रिय सदस्यमा निर्वाचित टीका वस्नेत, दुर्गालाल केसी र गणेश आचार्य तथा थारू पत्रकार संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित दिप्तिशिखा चौधरी, सवि थारू र आदिवासी जनजाति पत्रकार संघ लुम्बिनीका अध्यक्षमा निर्वाचित प्रेम बहादुर राम्जालाई सम्मान पत्र सहित बधाई ज्ञापन गरेको छ ।

बैठकले नेकपा एमालेले सञ्चालन गरेको जरा अभियानमा चौतारीलाई जोड्न बैशाख ५ गते घोराहीमा ‘गणतन्त्र सुदृढीकरणका आधारहरू’ विषयक अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ । जसमा गणतन्त्र ल्याउनका लागि भूमिका खेल्ने सवै सरोकारवालाई सहभागी गराउने निर्णय पनि गरिएको छ ।

बैठकलाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य कुमार दशौदीले पार्टीलाई बलियो बनाउन चौतारीमा आवद्ध पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग गरि पार्टीप्रति फैलाईएको भ्रम चिर्दै पार्टी र सरकारको गतिविधि जनतामाझ पूर्याउन आग्रह गर्नुभयो ।

चौतारीका उपाध्यक्ष विमल योगीको स्वागत मन्तव्यबाट सुरू भएको बैठकमा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, प्रेस चौतारीका पूर्व उपाध्यक्ष तथा पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारी, केन्द्रीय सदस्य टीका वस्नेत लगायतले आवश्यक सुझाव दिनुभएको थियो । बैठकको सञ्चालन सचिव निमुसंगम घर्तीले गर्नुभएको थियो ।

मेरो सम्झनामा २०४६ चैत २६

शिबकुमार थापा

नाममा निर्दलीय पञ्चायती व्यवस्था भनिए पनि प्रायः व्यवस्था अहिले जस्तै हुन्थ्यो । वडा देखि राष्ट्रिय पञ्चायतसम्म निर्वाचन हुन्थ्यो । आफ्नै बलबुताले चुनाव जितेर आएका पञ्चहरू स्थानीय, जिल्ला र केन्द्रीय सरकार चलाउँथे । अहिले जस्तै दलहरू संघ–सङ्गठन खोल्ने स्वतन्त्रता थिएन । एक सय ४० सदस्यीय राष्ट्रिय पञ्चायतमा २५ जना राजाबाट मनोनित हुन्थे । जसमा दलित, आदिवासी, जनजाति, महिला र कहिल्यै चुनाव जित्न नसक्ने राजभक्त पञ्च पनि हुन्थे । वाक् स्वतन्त्रता भनिन्थ्यो तर राजपरिवार र राजाको विरोध गर्न पाइँदैनथ्यो ।

अहिले जस्तो प्रशस्त बजेट हुन्नथ्यो, त्यसैले भ्रष्टाचार कमै हुन्थ्यो । स्थानीय तह र जिल्ला तहका निर्वाचित पञ्चहरू स्वयंसेवक हुन्थे । एक पैसाको बैठक भत्ता सम्म पाउँदैनथे । गाउँमा बाटो, घाटो, कुलो बनाउन जनतालाई आह्वान गर्थे, जनश्रमदानबाट बनाउँथे । दाङका सबै पुराना प्रमुख सडकहरू जनश्रमदानबाट बनेका हुन् । जसमा मेरो पनि फरुवा खिइएको र पसिना बगेको छ । पञ्चहरू स्वयं फरुवा बोकेर जान्थे । घरबाट लगेको चामल, आलु, सिँक्यी जनतासँगै पकाएर खान्थे ।

राजनीतिक चेतना लगभग थिएन । केही पढेलेखेका, लोकसेवा पास गरेर जागीर खान नसकेका वा लोकसेवा पास गरेर पनि पुलिस रिपोर्टका कारण जागीर खान नपाएका, कालापार जान नसकेका धेरैजसो कांग्रेस र केही कम्युनिस्ट भएका थिए । कम्युनिस्ट अलिक कडा अनुशासनमा बस्नुपर्छ भन्ने भ्रम थियो, त्यसैले कम्युनिस्ट कम हुन्थे । भएकाहरू अत्यन्त असल थिए । गरीबलाई ‘तपाईं’ को सम्बोधन गर्ने, बसमा महिला र अशक्तलाई कसैले सिट छाड्यो भने शंका हुन्थ्यो — कतै कम्युनिस्ट त होइन ? यिनीहरू अलिक गोपनीयता राख्थे, यिनको सांगठनिक क्षमता थाहा हुन्नथ्यो । कांग्रेस धेरै हुन्थे । यिनीहरू करिब–करिब खुल्ला जस्तै हुन्थे । त्यसैले को कांग्रेस हो स्पष्ट थाहा हुन्थ्यो । बुढापाकाहरू प्रायः सातसालमा कांग्रेसको आन्दोलनमा लागेकै हुन्थे । कांग्रेसलाई माया गर्थे ।

जिल्लामा धेरै कांग्रेस हुनुको परिणाम २०३७ बैशाख २० को जनमत सङ्ग्रहमा, कम्युनिस्टले बहिष्कार गरे तापनि, बहुदलीय व्यवस्था लागू हुनुपर्छ भन्नेहरूले दाङमा जितेका थिए । अहिले जस्तो राजनीतिक चेतना नभएको कारण गफगाफका विषय प्रायः रोजगारी, खेतीपाती, पशुपालन, सन्चो–बिसन्चो, सामाजिक संस्कार हुन्थे । पञ्चहरू जनता सँग मिलेका थिए । राजाको प्रतिनिधिको रूपमा अञ्चलाधीश हुन्थे । यिनीहरू पञ्च वा कांग्रेस–कम्युनिस्ट छाडेर पञ्चायत प्रवेश गरेका, दरबारले छानेका व्यक्ति हुन्थे । यिनीहरू मध्ये धेरैजसो बदमाश नै हुन्थे ।

पञ्चायत जानुको कारण एउटै — यिनीहरू पनि हुन् । यिनले कांग्रेस–कम्युनिस्टमा लागेकालाई सीआईडी बनाएका हुन्थे । तिनको सूचनाको आधारमा कांग्रेस–कम्युनिस्टमा लागेकालाई मण्डले र पुलिस लगाएर पिट्न लगाउँथे । गिरफ्तार गर्थे, जेलभित्रै पिटाउँथे । स्कूल–कलेजमा पढ्न टिक्न दिँदैनथे । हामी भन्दा सिनियर प्रायः यता पढ्न टिक्न नसकेर भारत, खासगरी बनारसतिर गएर उच्च शिक्षा लिएका थिए ।

सीडीओ पनि त्यस्तै बदमाश थिए । लोकसेवा पास गरे जागीर खान पुलिस रिपोर्ट चाहिन्थ्यो । मलाई यो ठिकै लाग्छ, किनभने क्रिमिनल रेकर्ड हेर्नै पर्छ । तर यिनीहरूले पञ्च बाहेक अरु सबैलाई अपराधी ठानेर, ट्यालेन्ट भए पनि जागीर खान दिँदैनथे । यस्तै असन्तुष्टिका बीच जनविद्रोह भयो । नेपाली कांग्रेसका नेता गणेशमान सिंह र संयुक्त बाममोर्चाका अध्यक्ष साहना प्रधानको नेतृत्वमा २०४६ साल फागुन ७ गतेबाट आन्दोलन शुरु भयो । जिल्लाजिल्लामा आन्दोलन रोक्न कांग्रेस–कम्युनिस्टलाई गिरफ्तार गर्ने काम हुन थाल्यो । मण्डले र पुलिसको संयुक्त गस्तीले पिट्ने काम गर्न थाले । विद्यार्थी सङ्गठनको नाममा सक्रिय कांग्रेस–कम्युनिस्टले शहर केन्द्रित आन्दोलन बढाए । केही स्थानमा हताहति पनि भयो । विदेशीहरूले पनि आन्दोलनमा समर्थन जनाउन थाले । भारतले त्यस भन्दा अगाडि नै, २०४५ चैतदेखि नै नाकाबन्दी लगाइसकेको थियो ।

राजा आन्दोलनकारीसँग वार्ता गर्न राजी भए । २०४६ चैत २६ गते मध्यरातमा बहुदलीय व्यवस्था लागू भयो । यो व्यवस्था ल्याउँदा राजाले तत्कालीन सरकार वा राजसभा सँग परामर्श गर्न उपयुक्त ठानेनन् । जननिर्वाचित राष्ट्रिय पञ्चायत थियो । जिल्लामा निर्वाचित जिल्ला पञ्चायत थियो । गाउँमा प्रधानपञ्च थिए । तर राजाले यिनीहरूको हैसियत के रहेछ भनेर देखाइदिए । वास्तवमा २०४६ साल अघि पञ्च र पञ्चायतलाई देखाएर राजाले प्रत्यक्ष शासन चलाएका थिए । पञ्चहरू त सिर्फ राजाको भजनमण्डली मात्र थिए । स्वविवेकले कुनै निर्णय गर्न सक्दैनथे । राजा, राजपरिवार, दरबारका सचिव, अञ्चलाधीश, सीडीओले नै शासन चलाएका थिए ।

त्यसैले पञ्चहरूले पनि पञ्चायत जाँदा दुख मनाएनन् । बरु केही सीमितले दलहरूको प्रतिबन्ध हटेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी नाम राखेर पार्टी खोले । अधिकांश कांग्रेस–कम्युनिस्ट पार्टीमा लागे । केही पाकाहरू निष्क्रिय रहे । पञ्चायत हटेर बहुदलीय व्यवस्था आएकोमा सर्वत्र खुशी छायो । जनताहरू आफैं कांग्रेस–कम्युनिस्ट कित्तामा बाँडिए। संघ–संस्थाहरू खोलिए ।

विकास र भ्रष्टाचार

पञ्चायतमा पनि समयानुकूल भौतिक विकास भएकै हो । पञ्चहरू वास्तवमा जनसेवक नै थिए । भ्रष्टाचार नाममात्रको हुन्थ्यो । अलिकति भ्रष्टाचार भएको थाहा पाउने बित्तिकै जेल जानुपथ्र्यो । राजाकै भाइ–भारदारहरू पनि कारवाही परेका थिए । अलि डर थियो । तर दरवारियाहरूको चुरिफुरी हेरिसक्नु थिएन । पछिल्लो समयमा दरवारिया र दरवार निकटहरू अलि आर्थिक कुरामा तानिएका थिए ।

वर्तमान

त्यो बेला देखि आजका दिनसम्म के परिवर्तन भयो? विकास–निर्माण भएकै छन् । यो समयानुकूल हो । तर शासकको व्यवहार तत्कालीन दरवारियाभन्दा पनि गएगुज्रेको भयो । भ्रष्टाचार अलिबेशी भएको छ र भए भन्दा ज्यादा हल्ला पनि भएको छ, जसको कारण अब ईमान्दारले पनि भ्रष्टाचारीको पगरी गुथ्नुपरेको छ । सबै पार्टी र सरकारप्रतिको भरोसा पूरै टुटेको छ । राज्यको कोष लुट्न होडबाजी छ । बेथिति छ । सरकारले जतिसुकै राम्रो काम गरोस्, जस पाउँदैन । आफुले पाएको जिम्मेवारीमा नातागोतालाई सरकारी सुविधा खुवाउन सबै तल्लीन छन् । भएका असल कार्यकर्ता पाखा लागेका कारण सरकार र दलको प्रतिरक्षा गर्न सकेका छैनन् । सरकारलाई आफ्नै कार्यकर्ताको समेत साथ छैन ।

अबको बाटो

अबको बाटो के हुने ? तपाईंको प्रतिक्रिया र सुझाव पाएपछि लेखौँला । यो व्यवस्था राम्रो व्यवस्था हो । यो व्यवस्था ल्याउन खुन–पसीना बगाएका, ज्ञात–अज्ञात सबै महामानवहरूप्रति नतमस्तक हुँदै, हाल दिवंगत हुनुभएकाहरूको पवित्र स्मृतिमा श्रद्धाञ्जलि अर्पण गर्दछु । यो व्यवस्था सानो मेहनत र छोटो सङ्घर्षबाट आएको होइन । सबै मिलेर यस व्यवस्थाका सञ्चालकहरूको विकृति हटाउन सकियो भने व्यवस्थाको विकल्प खोज्नु पर्दैन ।