राप्ती पोष्ट
दाङ, बैशाख । बजेटको तयारी हुँदै गर्दा दाङ जिल्लामा विमानस्थलको विषय जोडतोडले उठ्न थालेको छ । विभिन्न राजनीतिक दल र संघ संस्था मात्रै होइन व्यक्तिगत रुपमा पनि दाङ जिल्लामा एयरपोर्ट आवश्यक रहेको कुरामा लविङ हुन थालेको छ । खासगरी तुलसीपुरमा रहेको एयरपोर्टको स्तरबृद्धि गरेर नियमित उडानको लागि पहल भइरहेको छ ।
तुलसीपुरमा विमानस्थल विस्तार र ठूला जहाज बस्न मिल्ने गरी बजेट विनियोजनाका लागि लागिरहनुभएकी नेकपा एमालेकी नेतृ कोमल ओलीले सोको पुनः पहल गर्नुभएको छ । राष्ट्रिय सभाको सदस्यका रुपमा रहेको समयमा पनि उहाँले टरिगाउँ एयरपोर्टको कुरा पटक पटक उठाउनुभएको थियो । राजकीय जिम्मेवारी नभएको अवस्थामा पनि उहाँले एयरपोर्टको विषय उठाउन छोड्नु भएको छैन ।
सोही क्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलिले दाङको प्रमुख पूर्वाधार सपना मानिएको टरिगाउँ विमानस्थलको विस्तारका लागि प्रधानमन्त्रीसंग भेट गर्नुभयो । बुधबार प्रधानमन्त्रीलाई भेटेर आगामी बजेटबाट विशेष व्यवस्थाका लागि माग गर्नुभयो । प्रधानमन्त्रीलाई भेटेर बजेटका बारेमा ध्यानाकर्षण गराएको उहाँले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री ओलीलाई भेटेर विमानस्थलको विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्दै औपचारिक ज्ञापन पत्र बुझाउनुभएको हो ।
ओलीले बुझाउनुभएको ज्ञापन पत्रमा दाङको भूगोल, विकास सम्भावना र विमानस्थल विस्तारको महत्व उल्लेख गर्नुभएको छ । उहाँले तुलसीपुरमा विस्तार गरिने विमानस्थल क्षेत्रीय विकासको आधार बन्ने विश्वास व्यक्त गर्नुभयो । टरिगाउँ विमानस्थलको स्तरोन्नति भएमा दाङ मात्र होइन, आसपासका जिल्लाहरूको व्यापार, पर्यटन र आवागमनमा क्रान्तिकारी परिवर्तन आउनेछ ।’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ओलीले गएको फागुन महिनामा प्रधानमन्त्रीलाई तुलसीपुर एयरपोर्टको प्रत्यक्ष अवलोकनमा लैजानु भएको थियो । नेतृ ओलीले प्रधानमन्त्रीलाई प्रत्यक्ष रुपमा विमास्थल लग्नुका पछाडी विमानस्थल संचालनका लागि बजेटको विनियोजनका लागि ध्यानाकर्षण गराउनु नै रहेको बताउनुभयो । यसअघि स्थानीय तह, उद्योगी–व्यवसायी तथा जनप्रतिनिधिहरूले समेत टरिगाउँ विमानस्थलको स्तरोन्नतिको माग गर्दै आएका थिए । अहिलेको अवस्थालाई मध्यनजर गर्दै विमानस्थलको पूर्वाधार निर्माण अत्यावश्यक भएको भन्दै ओलीले विमानस्थलमा रकम विनियोजन हुने विश्वास गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले ज्ञापन पत्र प्राप्त गर्दै टरिगाउँ विमानस्थलको सम्भाव्यता र आवश्यकताका विषयमा सरकार गम्भीर रहेको बताउनुभएको थियो । प्रधानमन्त्रीले विमानस्थलका बारेमा ध्यानाकर्षण गराएकोमा नेतृ ओलीलाई धन्यवाद दिनुभएको थियो ।