शिबकुमार थापा
नाममा निर्दलीय पञ्चायती व्यवस्था भनिए पनि प्रायः व्यवस्था अहिले जस्तै हुन्थ्यो । वडा देखि राष्ट्रिय पञ्चायतसम्म निर्वाचन हुन्थ्यो । आफ्नै बलबुताले चुनाव जितेर आएका पञ्चहरू स्थानीय, जिल्ला र केन्द्रीय सरकार चलाउँथे । अहिले जस्तै दलहरू संघ–सङ्गठन खोल्ने स्वतन्त्रता थिएन । एक सय ४० सदस्यीय राष्ट्रिय पञ्चायतमा २५ जना राजाबाट मनोनित हुन्थे । जसमा दलित, आदिवासी, जनजाति, महिला र कहिल्यै चुनाव जित्न नसक्ने राजभक्त पञ्च पनि हुन्थे । वाक् स्वतन्त्रता भनिन्थ्यो तर राजपरिवार र राजाको विरोध गर्न पाइँदैनथ्यो ।
अहिले जस्तो प्रशस्त बजेट हुन्नथ्यो, त्यसैले भ्रष्टाचार कमै हुन्थ्यो । स्थानीय तह र जिल्ला तहका निर्वाचित पञ्चहरू स्वयंसेवक हुन्थे । एक पैसाको बैठक भत्ता सम्म पाउँदैनथे । गाउँमा बाटो, घाटो, कुलो बनाउन जनतालाई आह्वान गर्थे, जनश्रमदानबाट बनाउँथे । दाङका सबै पुराना प्रमुख सडकहरू जनश्रमदानबाट बनेका हुन् । जसमा मेरो पनि फरुवा खिइएको र पसिना बगेको छ । पञ्चहरू स्वयं फरुवा बोकेर जान्थे । घरबाट लगेको चामल, आलु, सिँक्यी जनतासँगै पकाएर खान्थे ।
राजनीतिक चेतना लगभग थिएन । केही पढेलेखेका, लोकसेवा पास गरेर जागीर खान नसकेका वा लोकसेवा पास गरेर पनि पुलिस रिपोर्टका कारण जागीर खान नपाएका, कालापार जान नसकेका धेरैजसो कांग्रेस र केही कम्युनिस्ट भएका थिए । कम्युनिस्ट अलिक कडा अनुशासनमा बस्नुपर्छ भन्ने भ्रम थियो, त्यसैले कम्युनिस्ट कम हुन्थे । भएकाहरू अत्यन्त असल थिए । गरीबलाई ‘तपाईं’ को सम्बोधन गर्ने, बसमा महिला र अशक्तलाई कसैले सिट छाड्यो भने शंका हुन्थ्यो — कतै कम्युनिस्ट त होइन ? यिनीहरू अलिक गोपनीयता राख्थे, यिनको सांगठनिक क्षमता थाहा हुन्नथ्यो । कांग्रेस धेरै हुन्थे । यिनीहरू करिब–करिब खुल्ला जस्तै हुन्थे । त्यसैले को कांग्रेस हो स्पष्ट थाहा हुन्थ्यो । बुढापाकाहरू प्रायः सातसालमा कांग्रेसको आन्दोलनमा लागेकै हुन्थे । कांग्रेसलाई माया गर्थे ।
जिल्लामा धेरै कांग्रेस हुनुको परिणाम २०३७ बैशाख २० को जनमत सङ्ग्रहमा, कम्युनिस्टले बहिष्कार गरे तापनि, बहुदलीय व्यवस्था लागू हुनुपर्छ भन्नेहरूले दाङमा जितेका थिए । अहिले जस्तो राजनीतिक चेतना नभएको कारण गफगाफका विषय प्रायः रोजगारी, खेतीपाती, पशुपालन, सन्चो–बिसन्चो, सामाजिक संस्कार हुन्थे । पञ्चहरू जनता सँग मिलेका थिए । राजाको प्रतिनिधिको रूपमा अञ्चलाधीश हुन्थे । यिनीहरू पञ्च वा कांग्रेस–कम्युनिस्ट छाडेर पञ्चायत प्रवेश गरेका, दरबारले छानेका व्यक्ति हुन्थे । यिनीहरू मध्ये धेरैजसो बदमाश नै हुन्थे ।
पञ्चायत जानुको कारण एउटै — यिनीहरू पनि हुन् । यिनले कांग्रेस–कम्युनिस्टमा लागेकालाई सीआईडी बनाएका हुन्थे । तिनको सूचनाको आधारमा कांग्रेस–कम्युनिस्टमा लागेकालाई मण्डले र पुलिस लगाएर पिट्न लगाउँथे । गिरफ्तार गर्थे, जेलभित्रै पिटाउँथे । स्कूल–कलेजमा पढ्न टिक्न दिँदैनथे । हामी भन्दा सिनियर प्रायः यता पढ्न टिक्न नसकेर भारत, खासगरी बनारसतिर गएर उच्च शिक्षा लिएका थिए ।
सीडीओ पनि त्यस्तै बदमाश थिए । लोकसेवा पास गरे जागीर खान पुलिस रिपोर्ट चाहिन्थ्यो । मलाई यो ठिकै लाग्छ, किनभने क्रिमिनल रेकर्ड हेर्नै पर्छ । तर यिनीहरूले पञ्च बाहेक अरु सबैलाई अपराधी ठानेर, ट्यालेन्ट भए पनि जागीर खान दिँदैनथे । यस्तै असन्तुष्टिका बीच जनविद्रोह भयो । नेपाली कांग्रेसका नेता गणेशमान सिंह र संयुक्त बाममोर्चाका अध्यक्ष साहना प्रधानको नेतृत्वमा २०४६ साल फागुन ७ गतेबाट आन्दोलन शुरु भयो । जिल्लाजिल्लामा आन्दोलन रोक्न कांग्रेस–कम्युनिस्टलाई गिरफ्तार गर्ने काम हुन थाल्यो । मण्डले र पुलिसको संयुक्त गस्तीले पिट्ने काम गर्न थाले । विद्यार्थी सङ्गठनको नाममा सक्रिय कांग्रेस–कम्युनिस्टले शहर केन्द्रित आन्दोलन बढाए । केही स्थानमा हताहति पनि भयो । विदेशीहरूले पनि आन्दोलनमा समर्थन जनाउन थाले । भारतले त्यस भन्दा अगाडि नै, २०४५ चैतदेखि नै नाकाबन्दी लगाइसकेको थियो ।
राजा आन्दोलनकारीसँग वार्ता गर्न राजी भए । २०४६ चैत २६ गते मध्यरातमा बहुदलीय व्यवस्था लागू भयो । यो व्यवस्था ल्याउँदा राजाले तत्कालीन सरकार वा राजसभा सँग परामर्श गर्न उपयुक्त ठानेनन् । जननिर्वाचित राष्ट्रिय पञ्चायत थियो । जिल्लामा निर्वाचित जिल्ला पञ्चायत थियो । गाउँमा प्रधानपञ्च थिए । तर राजाले यिनीहरूको हैसियत के रहेछ भनेर देखाइदिए । वास्तवमा २०४६ साल अघि पञ्च र पञ्चायतलाई देखाएर राजाले प्रत्यक्ष शासन चलाएका थिए । पञ्चहरू त सिर्फ राजाको भजनमण्डली मात्र थिए । स्वविवेकले कुनै निर्णय गर्न सक्दैनथे । राजा, राजपरिवार, दरबारका सचिव, अञ्चलाधीश, सीडीओले नै शासन चलाएका थिए ।
त्यसैले पञ्चहरूले पनि पञ्चायत जाँदा दुख मनाएनन् । बरु केही सीमितले दलहरूको प्रतिबन्ध हटेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी नाम राखेर पार्टी खोले । अधिकांश कांग्रेस–कम्युनिस्ट पार्टीमा लागे । केही पाकाहरू निष्क्रिय रहे । पञ्चायत हटेर बहुदलीय व्यवस्था आएकोमा सर्वत्र खुशी छायो । जनताहरू आफैं कांग्रेस–कम्युनिस्ट कित्तामा बाँडिए। संघ–संस्थाहरू खोलिए ।
विकास र भ्रष्टाचार
पञ्चायतमा पनि समयानुकूल भौतिक विकास भएकै हो । पञ्चहरू वास्तवमा जनसेवक नै थिए । भ्रष्टाचार नाममात्रको हुन्थ्यो । अलिकति भ्रष्टाचार भएको थाहा पाउने बित्तिकै जेल जानुपथ्र्यो । राजाकै भाइ–भारदारहरू पनि कारवाही परेका थिए । अलि डर थियो । तर दरवारियाहरूको चुरिफुरी हेरिसक्नु थिएन । पछिल्लो समयमा दरवारिया र दरवार निकटहरू अलि आर्थिक कुरामा तानिएका थिए ।
वर्तमान
त्यो बेला देखि आजका दिनसम्म के परिवर्तन भयो? विकास–निर्माण भएकै छन् । यो समयानुकूल हो । तर शासकको व्यवहार तत्कालीन दरवारियाभन्दा पनि गएगुज्रेको भयो । भ्रष्टाचार अलिबेशी भएको छ र भए भन्दा ज्यादा हल्ला पनि भएको छ, जसको कारण अब ईमान्दारले पनि भ्रष्टाचारीको पगरी गुथ्नुपरेको छ । सबै पार्टी र सरकारप्रतिको भरोसा पूरै टुटेको छ । राज्यको कोष लुट्न होडबाजी छ । बेथिति छ । सरकारले जतिसुकै राम्रो काम गरोस्, जस पाउँदैन । आफुले पाएको जिम्मेवारीमा नातागोतालाई सरकारी सुविधा खुवाउन सबै तल्लीन छन् । भएका असल कार्यकर्ता पाखा लागेका कारण सरकार र दलको प्रतिरक्षा गर्न सकेका छैनन् । सरकारलाई आफ्नै कार्यकर्ताको समेत साथ छैन ।
अबको बाटो
अबको बाटो के हुने ? तपाईंको प्रतिक्रिया र सुझाव पाएपछि लेखौँला । यो व्यवस्था राम्रो व्यवस्था हो । यो व्यवस्था ल्याउन खुन–पसीना बगाएका, ज्ञात–अज्ञात सबै महामानवहरूप्रति नतमस्तक हुँदै, हाल दिवंगत हुनुभएकाहरूको पवित्र स्मृतिमा श्रद्धाञ्जलि अर्पण गर्दछु । यो व्यवस्था सानो मेहनत र छोटो सङ्घर्षबाट आएको होइन । सबै मिलेर यस व्यवस्थाका सञ्चालकहरूको विकृति हटाउन सकियो भने व्यवस्थाको विकल्प खोज्नु पर्दैन ।