spot_img
spot_img

सन्दर्भः ३२ औं मदन–आश्रित स्मृति दिवस

सँझनामा मदन भण्डारी र जिवराज आश्रित

शरद अधिकारी

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र जिवराज आश्रितको निधन भएको ३२ बर्ष पुगेको छ । २०५० साल जेठ ३ गतेका दिन नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परेर ज्यान गएको थियो । नेपालमा भएका अनेकौं रहस्यमय दुर्घटनामध्य त्यो पनि एक थियो तर त्यो दुर्घटनालाई अहिले पनि रहश्यमय रुपमा लिने गरिएको छ । नेपालको इतिहासमा भएका अनेकौं रहश्यमय घटनाहरुमध्य यो पनि एउटा हो । पंचायती व्यवस्थाको समयमा हुने गरेका कतिपय हत्याहरु, राणाहरुले आफ्नो शासनको विरुद्धमा बोल्नेहरुलाई दिएको यातना भन्दा बढी चोटिलो घटना थियो २०५० जेठ ३ गतेको त्यो घटना । अर्काे हिसावले भन्ने हो भने त्यो दुर्घटना नेपालको राजनीतिक इतिहासमा कालो दिनका रुपमा थियो । एउटा बैचारिक नेताको अवसान भएको दिन थियो त्यो । नेपालको इतिहासमा त्यो लेवलको नेताको हत्या भएको विगतमा कुनै पनि घटना थिएन । न त आगामी दिनमा पनि यस्तो कल्पना गरिन्छ । पारिवारिक रुपमा बंश विनास भएको विरेन्द्रको कुरा गर्ने हो भने नेपालमा यस्ता राजा महाराजाहरु क्षडयन्त्रमा परेका अनेकन घटना छन् । जनताको छोराको हत्या षडयन्त्रपूर्वक गरिएको यो घटना नौलो थियो ।

नेपालको प्रजातान्त्रिक र बामपन्थी आन्दोलनमा मदन भण्डारीको नाम नमेटिने गरी लेखिएको छ । पंचायती व्यवस्थाको कालो शासन व्यवस्थाबाट भर्खरै मात्र खुल्ला राजनीतिमा प्रवेश गरेको तत्कालिन नेकपा मालेलाई यौटा राम्रो शक्तिका रुपमा स्थापित गराउनका लागि मदन भण्डारीको ठूलो योगदान रहेको छ । मदन भण्डारी जनताले मन पराएको नेता, जनताद्वारा रुचाइएको नेता, तत्कालिन अवस्थामा राजसंस्थालाई खुल्लेआम चुनौति दिएको नेता । जनताले मन पराएको नेता भएका कारणले गर्दा मदन भण्डारीलाई जननेता भनिएको छ । त्यसैगरी आश्रित पनि कुुशल संगठकका रुपमा हुनुहुन्थ्यो । उहाँलाई एमालेले कुशल संगठकका रुपमा मान्दै आएको छ । उहाँको सांगठनिक क्षमताका कारणले गर्दा पनि नेपालमा कम्युनिष्टहरुको वर्चश्व रहन सकेको हो । अर्थात नेकपा एमालेलाई कुनै बेलाको ठूलो पार्टी बनाउनका लागि आश्रितको सांगठनिक क्षमताले पनि काम गरेको हो भन्ने कुरामा शंका छैन । तत्कालिन एमालेले गुमाएका दुवै जना नेता एमालेका लागि मात्रै लडेका थिएनन । जनताका लागि पनि लडेका थिए । एमालेको स्वार्थका लागि त लडेकै थिए त्यो भन्दा पनि माथि उठेर देशको विकास र अग्रगमनका लागि लडेका थिए । दुवै नेता साच्चीकै श्रद्धाका पात्रका रुपमा रहेका छन ।
मदन भण्डारी र आश्रित नभएको पछिल्लो ३२ बर्षमा नेपालको राजनीतिमा अनेकन उथलपुथल भएका छन । नेपालमा जतिवेला मदन भण्डारीले शान्तिरुपमा पनि राजतन्त्र उन्मुलन हुने कल्पना गरिरहनुभएको थियो, त्यतिवेला धेरैले पत्याएका थिएनन तर अन्ततः मदन भण्डारीले भने जस्तै गरि शान्तिपूर्ण आन्दोलनले नै नेपालको राजतन्त्रको अन्त्य गर्न सक्यो । नेपालमा राजतन्त्रले यसरी यसरी नेपाली जनताका अधिकारमाथि धावा बोल्न सक्छ भन्ने कुरा गर्नुभएको थियो त्यसैगरी राजाले नागरिकका अधिकारमाथि धावा वोल्ने काम गरेका थिए । यसरी मदन भण्डारी भविश्य देख्न सक्ने र बर्तमानका बारेमा बोल्न सक्ने नेताका रुपमा हुनुहुन्थ्यो भन्न सकिन्छ । २०६१ माघ १९ गते जुन कदम ज्ञानेन्द्रले चालेका थिए त्यो कुरा २०४७ सालमा जारी भएको संविधानको व्याख्या गर्ने क्रममा मदन भण्डारीले भनिसक्नुभएको थियो । त्यतिवेला मालेले संविधानलाई आलोचनात्मक समर्थन गरेको थियो । संविधान जारी गर्नका लागि तत्कालिन मालेको शक्तिले मात्रै पुग्थेन । काँग्रेस लगायतको सहभागितामा संविधान निर्माण गरिएको थियो । संविधानमा जे जस्ता व्यवस्था राजाका लागि गरिएको थियो त्यसैलाई टेकेर राजाले कदम चालेका थिए । जुन कुरा मदन भण्डारीले पहिल्यै भनिसक्नुभएको थियो ।

नेपालमा मदन भण्डारीको अभाव अहिले पनि निकै खड्किएको छ । उहाँको अभाव उहाँको विचार बोक्ने पार्टीका लागि मात्रै खड्किएको छैन विरोधीहरुलाई पनि यो चासोको विषय बनेको छ । मदन भण्डारी भइदिएको भए मुलुक आजको अवस्थामा जाँदैनथ्यो भन्ने कुरा अहिले धेरैको मुखबाट आउने गरेको छ । यो कुरा त कल्पनाको कुरा मात्रै भयो मात्र कुरा के भने मदन भण्डारीले छोडेर गएको विचार छ नि यसलाई पक्डन सक्ने हो पक्कै पनि सम्वृद्धिको यात्रा टाढा हुने छैन । नेकपा एमालेमा मदन भण्डारीको विचारलाई पक्डने सवालमा एमालेमा अझै दृढता आउन सकेको छैन । एमालेले बहुदलिय जनवादमा के कुरा उल्लेख गरिएको छ भन्ने कुरालाई आम रुपमा प्रचार गर्न सेकेको छैन । कतिपय मानिसहरु २०४९ सालमा आएको यो विचारलाई कमा र फुलस्टप पनि परिवर्तन नहुने कुरा गरिहेका छन् भने अर्कोथरी समय अनुसार परिमार्जन गर्नुपर्ने धारणा राख्छन् । जवज भनेको जडसुत्र होइन । यो सिद्धान्त हो । सिद्धान्तलाई व्यवहारमा लागु गर्नुपर्छ । तर एमालेमा जवजको बुझाइको केही अभाव देखिएको पक्कै हो । एमालेले मदन भण्डारीको विचारलाई पक्डन सकेको भए एमालेको यात्रा २०५४ सालमा भन्दा अझ अघि बढ्ने थियो । एमाले कुनै बेला यो देशको प्रमुख शक्तिका रुपमा थियो । अहिले पनि छ । तर गएको निर्वाचनमा नेकपा एमाले र माओवादी आपसमा मिलेर नेकपा बन्ने घोषणा गरे । जसको फलस्वरुप नेकपा सवैभन्दा ठूलो दलका रुपमा स्थापित भयो । एकता टुट्यो । फेरि नेकपा एमाले र माओवादी आफ्नो बाटोमा लागेका छन् । सरकारमा सहकार्य गरेका छन । यि मिल्छन कि मिल्दैनन नागरिकले चासोका साथ हेरेका छन् । कम्युनिष्टहरु मिलेर मदन भण्डारीले कल्पना गरेको समृद्धिको यात्रा तय गर्दछन कि गर्दैनन भनेर आम नागरिकले चासोका साथ हेरिरहेका छन् ।

यतिवेला नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारका रुपमा स्थापित छ । अहिले पनि नेपालको कम्युनिष्ट आन्दोलन मदन भण्डारीले अघि सारेको विचारको सेरोफेरोमा घुमिरहेको छ । मदन भण्डारीको अभाव यतिवेला फेरि खड्किएको छ । मदन भण्डारी भइदिएको भए नेपालका कम्युनिष्टहरुका बीचमा धेरै पहिले नै एकता भइसक्ने थियो भन्नेहरु पनि छन् । हामी सवैलाई थाहा छ । जनताको बहुदलिय जनवादका विशेषता भनेको संविधानको सर्वोच्चता, बहुदवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानवअधिकारको रक्षा, बहुदलिय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार तथा संवैधानिक प्रतिपक्ष, कानुनी राज्य, बैदेशिक पूँजी र प्रविधिको उपयोग, क्षतिपूर्तिको नीति, बैदेशिक नीति, नेतृत्व र अधिनायकत्व, जनवादी व्यवस्थाको सुदृढीकरण, जनताको बहुदलीय जनवाद ।
मदन भण्डारीको सपनामा देशको समृद्धि लुकेको छ । जनता सुखी र देश समृद्ध भयो भने मात्रै मदन भण्डारीको सपना साकार हुनेछ । एतिवेला नेकपा एमालेको सरकारले दुई बर्ष काम गर्न सक्यो भने कुनै पनि प्रधानमन्त्रीले पाँच बर्ष लगातार काम गरेको देखिने थियो । विगतमा सरकार परिवर्तनमा लागिरहने दलहरुको स्वभाव यो बीचमा पनि देखिएको छ । सरकारमा जाने, सुखभोग गर्ने भन्दा पनि जनतालाई कसरी सुविधा दिने, जनतालाई कसरी सुरक्षा दिने भन्ने कुरामा दलहरुको ध्यान जानुपर्ने थियो । तर नेपालका कुनै पनि राजनीतिक दलदहरु जनताप्रति समर्पित देखिएका छैनन् । ‘जनता भनेका ज्युदा भगवान हुन’ भन्ने मदन भण्डारी र ‘पार्टी संगठनलाई जनताको हितमा लगाउनुपर्छ’ भन्ने कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली दिएर मात्रै पुग्दैन । २०५० साल जेठ ३ गते साँझको त्यो कालो घडी, जसले नेपालको प्रगतिशील राजनीति र वाम आन्दोलनमा एउटा गहिरो धक्का दिएको दिन थियो । उक्त घटना केवल दुई नेताको मृत्यु मात्र थिएन, त्यो नेपाली वाम आन्दोलनको एउटा युगको अन्त्य र अर्को युगको चुनौतीपूर्ण आरम्भ पनि थियो । यी दुई महान नेताको जीवन, विचार, संघर्ष र योगदानको समीक्षा गर्दा उनीहरू केवल राजनीतिक नेता थिएनन्; उनीहरू युगप्रवर्तक, वैचारिक मार्गनिर्देशक र जनताको मनमा बस्न सफल जननायक थिए ।

मदन भण्डारीको जन्म २०१० साल असार १४ गते ताप्लेजुङ जिल्लाको धारापानी गाउँमा भएको थियो । शिक्षा र संघर्षको सिलसिलामा उहाँ काठमाडौं हुँदै भारत पुग्नुभयो । जहाँ उहाँले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभयो । पुष्पलालको संगत हुँदै जाँदा बामपन्थी बन्नुभयो । नेपालको सन्दर्भमा वाम आन्दोलन लामो समयसम्म एकल दलीय अधिनायकवादतर्फ झुकेको थियो । यथार्थमा, अधिकांश वामपन्थी पार्टीहरू ‘जनयुद्ध’ वा ‘सशस्त्र संघर्ष’लाई मात्रै समाजवादमा पुग्ने एकमात्र बाटो ठान्थे । यही परिपाटीमा वैचारिक मोड ल्याउने साहस जननेता मदन भण्डारीले गर्नुभयो । उहाँले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ले नै नेपाली वाम आन्दोलनलाई लोकतान्त्रिक मार्गमा हिँडाएको छ । हरेक बर्ष जव जेठ ३ गते आउँछ तव औपचारिक कार्यक्रम गरेर मदन भण्डारी र जिवराज आश्रितको सँझना गरिन्छ । मदन भण्डारीले नेपालको राजनीतिलाई दिएको योगदान एक दिन स्मरण गरेर पुग्ने होइन । उहाँको विचारलाई अवलम्वन गर्ने हो भने मात्रै नेपाल समृद्ध बन्न सक्छ । हामी नेपाली सुखी बन्न सक्छौं । मदन भण्डारी र जिवराज आश्रितको निधन भएको ३२ औं बर्षमा उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार