spot_img
spot_img

सडक सञ्जालमा घोराहीको प्रगति

आठ वर्षमा एक सय ८९ किमी सडक कालोपत्रे

छबि पुरी /राप्ती पोष्ट

घोराही, २८ जेठ । स्थानीय तहको निर्वाचन २०७४ भएयता घोराही उपमहानगरपालिकाले अहिलेसम्म एक सय ८९ किलोमिटर सडक कालोपत्रे गरेको छ । पालिकाका सबै वडालाई सडक सञ्जालसँग जोड्ने नीति लिएको घोराहीले वर्षेनी सडक सञ्जाल बिस्तार गर्नेदेखि कालोपत्रे गर्ने कामलाई निरन्तरता दिँदै जाँदा कालोपत्रे भएको सडक झण्डै दुई सय किलोमिटर पुर्याएको छ ।

यो अवधिमा घोराहीले चार सय २३ किलोमिटर ग्राभेल तथा स्तरोन्नति, दुई सय ३८ किलोमिटर नयाँ सडक निर्माण र ६५ किलोमिटर मर्मत कार्य सम्पन्न भइसकेको छ । घोराहीले सडक निर्माणलाई प्राथमिकता दिंदै हरेक वडा कार्यालयसम्म पुग्ने सडक पक्की गर्ने अभियाननै थालेको छ । अधिकांश वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे भएको र केही वडामा पुग्ने सडक मात्रै पक्की गर्न बाँकी रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधारतर्फ एक सय ७८ वटा कल्भर्ट र तीन वटा झोलुङ्गे पुलको निर्माण पनि उपमहानगरपालिकाले गरिसकेको छ । सबै वडाहरुलाई सडक सञ्जालमार्फत नगर केन्द्रमा जोड्ने काम भएको भन्दै सडक विस्तार गर्ने नगरपालिकाको नीतिले जनताको सामाजिक तथा आर्थिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको नगरप्रमुख चौधरीले बताउनुभयो ।
यसैगरी, सफा र स्वस्थ नगर निर्माणको अभियान अन्तर्गत ८३ किलोमिटर ढल तथा नाला, १९ वटा पार्क र १ वटा स्यानेटरी ल्यान्डफिल साइट निर्माण गरिएका छन्।नदी नियन्त्रणका कामहरू पनि २८ किलोमिटर भन्दा बढी क्षेत्रमा सम्पन्न भएका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार, नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने लक्ष्य अनुसार ९७ वटा कुवा र ६३ वटा डिप बोरिङ निर्माण भएका छन् । सरकारका सम्बन्धित निकाय र स्थानीय उपभोक्ता संस्थाको सहकार्यबाट करिब ९० प्रतिशत घरधुरीमा स्वच्छ पानीको पहुँच पुर्याउन सफल भएको प्रमुख इन्जिनियर पौडेलले बताउनुभयो ।

कषि क्षेत्रमा पनि पालिकाले विभिन्न आयाम थप्ने काम गर्दै आएको नगरप्रमुख चौधरीले बताउनुभयो । कृषिमा आत्मनिर्भरता र जल स्रोतको उपयोगका लागि ४३ वटा कृत्रिम जलाशय निर्माण गरी ७ सय ३८ हेक्टर जमिन सिंचित भएको उहाँ बताउनुहुन्छ । ८७ किलोमिटर विद्युत प्रसारण लाइन बिस्तार तथा वैकल्पिक ऊर्जाका लागि ७ वटा सौर्य प्लान्ट निर्माण भएको जनाउँदै कृषि उत्पादनमा वृद्धि, वातावरण सन्तुलन र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याएको मेयर चौधरीको विश्वास छ ।

घोराहीले जनप्रतिनिधि पाएको करिव आठ वर्षको अन्तरालमा युवा र समुदाय केन्द्रित पूर्वाधारसँगै पालिकाका विभिन्न वडामा १५ वटा खेल मैदान पाएको बताउनुभयो । उहाँले घोराहीमा एउटा हाटबजार, २१ वटा विद्यालय भवन र २५ वटा नयाँ कक्षाकोठाहरू निर्माण तथा मर्मत गरिएको पनि बताउनुभयो । स्वास्थ्य संस्थामा २३ वटा भवन निर्माण तथा तला थप कार्य सम्पन्न भइसकेको छ । योग हल, ध्यान केन्द्र, कभर्ड हल, यात्रु प्रतिक्षालय र ४१ वटा सामुदायिक भवनको निर्माणबाट सामाजिक सम्बन्ध मजबुत बनाइएको पनि नगरप्रमुख चौधरीले बताउनुभयो ।

घोराहीमा रहेका धार्मिक, सांस्कृतिक र सार्वजनिक सम्पत्तिको संरक्षण अन्तर्गत ९ वटा सार्वजनिक शौचालय, २३ वटा मठ, मन्दिर, गुम्बा, चर्च र मदरसा लगायत धार्मिक स्थलहरुको निर्माण तथा मर्मत गरिएको भन्दै उहाँले भन्नुभयो ‘४० वटा भुयाँरथानको निर्माण भएको छ । १९ वटै वडाको कार्यालय भवन निर्माण तथा मर्मत कार्य भएको छ । जलाशय संरक्षण, सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, विद्यालय, स्वास्थ्य संस्था, मन्दिरलगायत सार्वजनिक सम्पत्ति संरक्षणका लागि ४१ किलोमिटर तारवार निर्माण गरिएको छ ।’

पूर्वाधार विकासमा मात्रै नभई नागरिकको स्वासथ्य उपचार सेवा प्रभावकारी र सहुलियतयुक्त बनाउन विपन्न नागरिक उपचार सेवा अन्तर्गत आठ प्रकारका रोगहरु मुटुको अप्रेसन, क्यान्सर, मृगौला डायलासिस, पार्किन्सन, अल्जाईमर, हेडईन्जुरी, स्पाईनल ईन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरुलाई उपचार सहुलियतको सिफारिस गरिएको पनि नगरप्रमुख चौधरीले बताउनुभयो ।

पछिल्लो समय महिलाहरुको प्रजनन् स्वास्थ्यमा देखा परेको क्यान्सरलगायत गम्भीर रोग रोकथामका लागि कार्यक्रम पनि प्रभावकारी बन्दै गएको पालिकाको भनाई छ । अहिले प्रजनन स्वास्थ्य रुग्णता कार्यक्रम अन्तर्गत घोराही उप महानगरपालिकाका विभिन्न वडाहरुमा गई पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्या रोकथाम तथा पत्ता लगाउनका लागि पाठेघरको जाँच‘ गर्ने कार्यक्रम संचालन गरी साढे दुई वर्षको अन्तरालमा पाँच हजार तीन सय ६९ जना महिलाहरुलाई सेवा प्रदान गरिएको उपप्रमुख हुमा डिसीले बताउनुभयो ।

उहाँका अनुसार, अहिले पनि संस्थागत परिवार नियोजन क्लिनिकबाट पाठेघरको मुखको क्यानसरको नियमित जाँच गर्ने गरिएको छ भने समुदाय स्तरमा पुगेर भिआईए स्क्रिनिङलगायत स्वास्थ्य सचेतनाका कार्यक्रम हुने गरेको छ । यसैगरी, ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार कार्यक्रमलाई निरन्तरता दिईएको पनि उहाँले बताउनुभयो । ७० वर्ष माथि उमेर भएका नागरिकको स्वास्थ्य परिक्षणको परामर्शका लागि स्वास्थ्यकर्मीहरु नियमित मासिक रुपमा घरमै गई घरभेट स्वास्थ्य उपचार तथा परामर्श कार्यक्रमबाट ७ हजार २ सय ९५ जना ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य उपचार तथा परामर्श सेवा प्रदान गरिएको पनि उपप्रमुख डिसीले बताउनुभयो ।

पालिकाले उज्यालो संसार कार्यक्रम अन्तर्गत राप्ती आँखा अस्पताल रक्षाचौर तुल्सीपुरको सहकार्यमा मोतियाबिन्दुको अप्रेसन निःशुल्क गर्ने व्यवस्था अन्तरगत यो वर्ष मात्रै दुई सय ८६ जना नगरवासीले निःशुल्क मोतियाबिन्दुको अप्रेसन सेवा प्राप्त गरेका उहाँले बताउनुभयो । नगर प्रमुख रक्तसंचार कार्यक्रमबाट नौ सय ९७ प्वाइन्ट रगत प्रदान गरिएको पनि उहाँले बताउनुभयो । कोही पनि सडकमा आश्रित हुन नपरोस्, न्याय पाऊन् भन्ने उद्देश्यसहित मानव कल्याण आश्रम सेवा घर, शान्ति बाल गृह र अल्पकालिन सेवा गृह मार्फत सडक मानव, बेवारिसे बालबालिका, हिंसा पीडित महिलाहरुको व्यवस्थापन, पुनस्र्थापन गरिएको पनि उहाँले बताउनुभयो ।

जनतासँग प्रत्यक्ष रूपमा आवद्ध रही आर्थिक, सामाजिक, भौतिक, साँस्कृतिक, कानुनी लगायत जनजीविका सम्बन्धी सवालहरूको संरक्षण, प्रवद्र्धन र रुपान्तरण गर्ने जिम्मेवारीका साथ आफुहरु काममा खटिएको नगरप्रमुख चौधरीले बताउनुभयो । संविधानले स्थानीय सरकारलाई प्रदान गरेको अधिकारको परिपालन गर्दै ऐन, कानून र कार्यविधिहरूको निर्माण तथा संस्थागत व्यवस्थापनमार्फत कानुनी, संरचनागत, नीतिगत र व्यवस्थापकीय सुधार गरेर सेवा प्रवाह, समृद्धि र विकास निर्माणका क्रियाकलापलाई सँगसँगै अघि बढाएको उपप्रमुख डिसीले बताउनुभयो ।

जसका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत विकास, सेवा र सुशासनको यात्रालाई तीव्र गतिमा अगाडि बढाउँदै पालिकाले हालसम्म एक सय ३३ वटा कानून निर्माण गरी कार्यान्वयन गरिरहेको बताउनुभयो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार