सेवा घरमा आश्रितलाई भोजन तथा सहयोग
राप्ती पोष्ट
घोराही, वैशाख । हरेक बर्ष जस्तै यस बर्ष पनि त्रिभुवननगर जेसीज घोराहीले जेसीज सप्ताह–२०२५ सुरु गरेको छ । सप्ताहको उद्घाटनका दिन अर्थात पहिलो दिन शनिवार घोराही १० नारायणपुर स्थित मानव कल्याण समाज सेवा घरमा पुगेर सामग्री सहयोग गरिएको थियो ।
आश्रममा आश्रित ५० जनालाई एक दिनको खानाको व्यवस्थापनका साथै विभिन्न सामग्री सहयोग गरेर वर्ष २०२५ को जेसीज सप्ताहको उद्घाटन् गरिएको हो । त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षतामा भएको जेसिज सप्ताहको उद्घाटन लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री सीता चौधरीले गर्नुभएको थियो ।
सेवा घरमै औपचारिक कार्यक्रम गरेर गरिएको उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री चौधरीले जेसीज सप्ताहको प्रारम्भ सामाजिक सेवाबाट हुनु अत्यन्तै सराहनीय कार्य रहेको बताउनुभयो । उहाँले त्रिभुवननगर जेसीजले सेवा घरमा आश्रित व्यक्तिहरूप्रति देखाएको माया र सहयोग प्रेरणादायी भएको बताउनुभयो ।
समाज परिवर्तनका लागि यस्ता सकारात्मक कदमहरु आवश्यक रहेको बताउदै मन्त्री चौधरीले यस्ता सेवामूलक कार्यमा सधैं साथ दिन तयार रहेको बताउनुभयो । साथै समारोहका अवसरमा त्रिभुवननगर जेसीजले वि.सं. वर्ष २०८२ को आफ्नो वार्षिक क्यालेन्डरको बिमोचन समेत गरेको थियो ।
उक्त अवसरमा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, लमही जेसीज अध्यक्ष रामदीन चौधरी, तुलसीपुरनगर जेसीज अध्यक्ष सन्दिप भुसाल, दाङ महिला जेसीज कार्यवाहक अध्यक्ष लक्ष्मी घमाल, अप्टिमिष्ट क्लब अफ् घोराहीका अध्यक्ष निरञ्जन गहतराज, प्रेस चौतारी नेपाल दाङ शाखाका कोषाध्यक्ष चन्द्रप्रकाश नेपाली, प्रेस सेन्टर नेपालका गिरिराज नेपाली, त्रिभुवननगर जेसीजका विर्तमान अध्यक्ष रविकिरण केसी, पूर्व अध्यक्ष एवम् वर्ष २०२५ का आन्तरिक लेखापरीक्षण समिति संयोजक दीपक शर्मा, मुकेश्वर शर्मा लगायतले शुभकामना दिनुभएको थियो । किरण न्यौपानेको जेसीज आस्थापाठ, रण बहादुर खड्काको जेसीज मिसन तथा भिजन प्रस्तुती र पहिलो दिनको कार्यक्रम संयोजक जेसी राजन घर्ति मगरको स्वागत मन्तव्यबाट सुरु भएको थियो । उद्घाटन कार्यक्रममा जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक बाबुराम पाण्डेयले सप्ताहका गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो ।
सेवा, सहयोग र सामाजिक उत्तरदायित्वको भावना बोकेर सुरु भएको त्रिभुवननगर जेसीज सप्ताह–२०२५ विभिन्न कार्यक्रममार्फत साताभर सञ्चालन हुने अध्यक्ष रावतले बताउनुभयो । पहिलो दिनको कार्यक्रममा त्रिभुवननगर जेसीस मार्फत मानव कल्याण समाज सेवा घरलाई वितरण गरिएको सहयोग सामाग्रीहरु आरसि प्र्रिन्टर्स, लुम्बिनी स्टोर, रोयल फार्मेसी र युनाईटेड सर्जिकलबाट प्राप्त भएको मूल समाहारोह संयोजक बाबुराम पाण्डेयले जानकारी दिनुभएको छ ।