spot_img
Home Blog Page 61

घोराही १४ मा सार्वजनिक सुनुवाई

राप्ती पोष्ट

घोराही, चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले चालु आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको सुनुवाईमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीसहित विभिन्न शाखा, महाशाखा र सरोकारवालाहरुको उपस्थिती थियो ।

वडाको कूल ७३ वटा योजना रहेको मध्य २६ वटा योजना सम्पन्न भएकोमा १६ वटा योजनाको भुक्तानी समेत भैसकेको वडा कार्यालयले जनाएको छ । बाँकी ६७ वटा योजना पनि सम्झौता भैसकेको छ । वडा कार्यालयले २ सय ६९ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।

यसैगरी सामाजिक सुरक्षा तर्फ ६ सय ८९ जना सुचिकृत भएको र फागुन मसान्त सम्म एक करोड १७ लाख ११ हजार पाँच सय ५८ रुपैयाँ ५४ पैसा राजस्व संकलन भएको वडा कार्यालयले जनाएको छ । स्वास्थ्य तर्फ परिवार नियोजन सम्बन्धि सेवा लिनेहरुमा नयाँ नौ सय ६९ जना, एक हजार आठ सय पाँच पुराना नागरिकहरुले सेवा लिएका छन् ।

चार पटक गर्भवती जाँच गराउने दुई सय ३९ जना, आइरन एक सय ८० र जुकाको औषधी खाएका दुई सय ८५, ३८ जनो सुरक्षित गर्भपतन गराएको, पिल्स, डिपो, इम्प्लान्ट, आईससूसिडी सेवा लिने ४ सय ४७ जना, ७३ सय १५ वटा कण्डम वितरण र १९ हजार ७ सय ५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यस्तै कार्यक्रममा घोराही उपमहानगरापालिकाका प्रमुख नरुलाल चौधरीले गुनासो रहित काम गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभएको छ । नगरले गर्ने सबै काममा गुणस्तरीय र गुनासो रहित बनाउने प्रयासमै रहेको भन्दै त्यसको निगरानी सबै सरोकारवाला र नगरबासीहरुले गर्नुपर्ने उहाँको भनाई छ । शिक्षामा विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान, तह अनुसारको प्रधानाध्यापकको व्यवस्था गरेको जानकारी दिनुभयो । त्यसैगरी, कालो पत्रे सडकलाई बलियो बनाउन अक्सफाल्ट विधी अपनाईएको र आफुहरु निर्वाचित भएर आएपछि गरेको त्यस्तो प्रविधिको कालोपत्रे मर्मत गर्नु नपरेको बताउनुभयो ।

कार्यक्रममा वडाबासीहरुले एकीकृत समन्वयकारी भूमिका नहुदा अघि हुनुपर्ने काम पछि र पछि हुने काम अघि भएको बताएका छन् । पहिले सडक कालोपत्रे गर्ने र पछि नाला बनाउने कार्यले कालोपत्रे अस्तव्यस्त भएको, पहिले गरेको लगानी खेर गएको, समन्वय नगरि टेलिफोन र पानीको पाईप राख्न सडक काट्ने तर मर्मत नगर्दा समस्या भएको, निर्माण कार्यमा निकै ढिलाई भएको, निर्माण सामग्रीको मूल्य आकाशिँदा स्टिमेट कम र लागत धेरै हुदा निर्माण कार्य रोकिने अवस्थामा पुगेको गुनासो गरेका छन् ।

साथै, नालाबाट फोहोर सहज ढंगले बगाउने, सडक बत्ती भरपर्दोे हुनुपर्ने, लागुऔषध दुव्र्यसनीलाई रोक्नुपर्ने, पार्किङलाई व्यवस्थित गर्नुपर्ने विषयमा समेत वडाबासी आवाज उठाएका छन् । विभिन्न टोलका प्रतिनिधी नरबहादुर बुढाथोकी, तुलसीराम दाहाल, अनिल सेर्पाईली, दुर्गाबहादुर थापा, सन्तबहादुर वुढा, भानुभक्त पाण्डे, एकराज खनाल, सुभाष नेपालीलगाएतकाले आ आफ्ना भनाई सुझावसहित गुनासो राख्नुभएको थियो ।

कार्यक्रममा उठेका विषयमा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वडा अध्यक्ष शक्तिराम डाँगी, पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, राजस्व शाखा प्रमुख कृष्णकुमार केसी, वडा प्रहरी कार्यालयका प्रमुख हृदेश सापकोटा, ट्राफिक प्रहरी प्रमुख थम्मन जिसी लगाएतले कार्यक्रममा सहभागीहरुबाट उठेका विषयका बारेमा जवाफ दिनुभएको थियो । कार्यक्रमको सञ्चालन चन्द्रप्रकाश नेपालीले गर्नुभएको थियो ।

दाङ क्रिकेट लिग

घोराही टाईगर्स र देउखुरी वारियर्स विजयी

राप्ती पोष्ट

घोराही, चैत । घोराहीमा जारी दाङ जिल्ला क्रिकेट लिगमा घोराही टाईगर्स अपराजित रहँदै शीर्ष स्थानमा उक्लिएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ क्रिकेट रंगशालामा शनिबारबाट शुरु भएको खेलमा घोराही टाईगर्सले आइतबार भएको खेलमा दंगाली लायन्सलाई १४ रनले पराजित गर्दै लिगमा अपराजित यात्रा कायमै राखेको हो ।

घोराही टाईगर्सले मध्यम लक्ष्य दिएर जवाफी ब्याटिङको निम्तो दिएको दंगाली लायन्सलाई अलराउन्डर प्रदर्शन गर्दै जीत निकाल्यो । टस जितेर ब्याटिङ रोजेपछि घोराही टाईगर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय १७ रन बनाएको थियो । उसका लागि बिराट भण्डारी र रासिद खानले क्रमश ४३ र ३२ रन बनाउनुु बाहेक अरुले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

घोराही टाइगर्सलाई सस्तैमा रोक्न दंगाली लायन्सका बीरबहादुर घर्तीले ३, विक्रम भुसालले २ तथा अनिल खरेल र राजबीर सिंहले समान १–१ विकेट लिनुुभएको थियो । एक सय १८ रनको मध्यम लक्ष्य पछ्याउँदै दंगाली लायन्सले जवाफी व्याटिङ गरेपनि हार टार्न सकेन । दंगाली लायन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन मात्रै बनाउन सक्यो ।

दंगाली लायन्सका लागि ब्याट्सम्यान तीर्थराज दासले २७, अनिल खरेलले १८, सोनुु अन्सारीले १७, सुमित पराजुलीले १० रन जोड्नुबाहेक अरु खेलाडीले सम्झन लायक प्रदर्शन गर्न नसक्दा हार व्यहोर्न वाध्य भएको हो । दंगाली लायन्सलाई जीतबाट रोक्न सिद्धान्त राज शाही र अनुप न्यौपानेले समान २–२ विकेट लिनुभयो भने रासिद खान, रविन थापा र आवाज गौतमले सामान १–१ विकेट लिनुभयो । आईतबारको जीतसँगै घोराही टाईगर्सले ४ अंक जोडेको छ भने दंगाली लायन्स जीत विहिन हुँदै अंक जोड्न असफल भएको छ ।

यसअघि आईतबार नै भएको पहिलो खेलमा देउखुरी वारियर्स ७ विकेटले विजयी भएको छ । तुलसीपुर रोयल्ससँग भएको खेलमा देउखुरी वारियर्सले आफ्नो ३ विकेट गुमाउँदै १६ दशमलव १ बलमा लक्ष्य पूरा गर्यो । टस जितेर पहिले व्याटिङ रोजेको तुलसीपुर रोयल्सका व्याट्सम्यान सम्हालिन नसक्दा १९ दशमलव ३ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै सय रन मात्रै बनाउन सक्यो ।

जीतसँगै देउखुरी वारियर्सले पनि २ अंक जोड्न सफल भएको छ । जारी लिगमा घोराही टाईगर्स अपराजित रहँदै २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा रहँदा २ खेलमा एकमा हार र एक खेलमा जीत निकाल्दै २ अंकका साथ दोश्रो स्थानमा रहँदा देउखुरी वारियर्स पनि एकमा हार र अर्को खेलमा जीत निकाल्दै अंक तालिकाको तेश्रो स्थानमा रहँदा दंगाली लायन्स र तुलसीपुर रोयल्स जीत विहिन हुँदै अंक तालिकाको चौथो र पाँचौ स्थानमा रहेका छन् । जार लिगमा हरेक टीमले एक अर्कासँग चार वटा खेल खेल्नेछन् ।

चैत १७ गतेसम्म चल्ने जारी लिगमा आज सोमबार पुरन्धारा च्यालेन्जर्स र घोराही टाइगर्सबीच बिहान ८ बजे खेल हुनेछ भने दिउँसो १ बजेपछि दंगाली लायन्स र तुलसीपुर रोयल्सबीच खेल हुने लिग आयोजक संयोजक प्रदीप मजगैयाले जानकारी दिनुभयो । प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल रहेका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि ५० देखी ६० लाख रुपैयाँ सम्म खर्च हुने अनुमान आयोजकले लिएको छ ।

प्रथम हुने समूहलाई २ लाख र दोस्रो हुनेलाई एक लाख नगद पुरस्कार रहेको छ । यस्तै, हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा बल क्याच गर्ने दर्शकलाई नगद पुुरस्कृत गरिने भएको छ ।

 

 

निवृत्त राष्ट्रसेवकको उपचार निशुल्क हुनुपर्ने माग

राप्ती पोष्ट

घोराही, चैत । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड घोराही दाङको २० औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गणेशप्रसाद दाहालको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन नेपाल निजामति कर्मचारी संगठन केन्द्रिय कार्यसमिति अध्यक्ष लेखनाथ कोईरालाले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले निवृत्त राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य उपचारको व्यवस्था गर्न राज्यसँग विशेष माग गर्नुभयो ।

उहाँले पेशाकालमा समय खर्चेका मध्य ९९ प्रतिशत निवृत्त राष्ट्रिय सेवक परनिर्भरको अवस्थाबाट गुज्रिरहेकाले राज्यले उनीहरुको योगदानको कदर गर्नुपर्नेमा जोड दिनुुभयो । हिजोका दिनमा पनि निजामति कर्मचारीको कामको योगदानमा आधारित विषयलाई संस्थागत गर्न संगठनका माध्यमबाट पहल हुँदै आएपनि सार्थक बन्न नसकेकाले यसलाई साझा अभियानकै रुपमा उठाउन अपिल गर्नुभयो ।

कार्यक्रमलाई घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, जिल्ला समन्वय समिति सदस्य खिमबहादुर डाँगी, नेपाल निजामती कर्मचारी संगठनका शेरबहादुर केसीलगायतले बोल्नुुभएको थियो ।

संस्थाका कोषाध्यक्ष बाबुराम अधिकारीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव सुरेशकुमार शर्माले गर्नुुभएको थियो ।

राष्ट्रसेवकको अध्यक्षमा पुनः दाहाल

यसैबीच, राष्ट्रसेवक बहुुमुखी सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुुनः गणेशप्रसाद दाहाल चयन हुनुुभएको छ । अध्यक्ष दाहालको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ । जसको उपाध्यक्षमा सुरेशकुमार शर्मा, सचिवमा दिनमणि योगी, सहसचिवमा प्रेम वली चयन हुुनुुभएको छ ।

यसैगरी संस्थाको कोषाध्यक्षमा विश्वमाया बहकरी, सदस्यहरुमा ईश्वरीप्रसाद घिमिरे, किरण अधिकारी, शालिकराम पराजुुली, गंगाराम आचार्य, ईश्वरा रावत, भीमकुमारी बस्नेत चयन हुुनुुभएको छ । यस्तै, संस्थाले लेखा संयोजकमा लक्ष्मी अधिकारी, शिक्षा उपसमिति संयोजकमा गंगाराम आचार्यलाई, ऋण समिति संयोजकमा सुरेशकुमार शर्मालाई चयन गरेको छ ।

 

दाङ क्रिकेट लिग सुरु

घोराही टाईगर्स र पुुरन्धारा च्यालेन्जर्सको विजयी शुरुवात

राप्ती पोष्ट

घोराही, १२ चैत । दाङमा पहिलो पटक फ्रेन्चाइज क्रिकेट लिग सुरु भएको छ । पाँचवटा टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गर्नुभएको थियो ।

प्रतियोगिता उद्घाटन गर्दै मेयर चौधरैले घोराही उपमहानगरपालिकाले खेलकुदका लागि पूर्वाधार विकासको क्षेत्रमा धेरै काम गरेको जानकारी दिंदै अव खेलाडीको लगाव आवश्यक रहेको बताउनुभयो । उहाँले आफूहरुले हरेक बडामा एउटा खेलकुद मैदानको अवधारणा अनुसार काम गरेको भन्दै दाङ जिल्लाका खेल मैदानमा देशभरका खेलाडीहरु ल्याउने बातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले खेलकुदको विकासका लागि घोराही उपमहानगरपालिका सदा तत्पर रहेको बताउनुभयो ।

प्रतियोगिता अन्तरगत शनिबार भएका दुईवटा खेलमा घोराही टाईगर्स र पुरन्धारा च्यालेन्जर्सले विजयी शुरुवात गरेका छन् । दाङ क्रिकेट संघको आयोजनामा शनिबारबाट आयोजित लिगको पहिलो दिनको खेलमा घोराही टाईगर्सले देउखुरी वारियर्सलाई तीन विकेट र पुरन्धारा च्योलेन्जर्सले दंगाली लायन्सलाई १५ रनले हराउँदै पहिलो जीत दर्ता गरेका हुन ।

लिगको पहिलो खेलमा टस जितेर पहिले व्याटिङ रोजेको देउखुरीले निर्धारित २० ओभरमा आफ्नो सात विकेट गुमाउँदै एक सय ३९ रनमात्रै बनाएको थियो । जवाफी व्याटिङ गर्दै घोराही टाईगर्सले १६ दशमलव ५ ओभरमा आफ्नो ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । पहिलो खेलको म्यान अफ द म्याच देउखुरी वारियर्सका बिशाल बिक्रम केसी भएको लिग आयोजक संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुुभयो । केसीले उत्कृष्ठ व्याटिङ गर्नुभएको थियो । केसीले ७१ रन जोडेपनि टिमलाई जित दिलाउन सक्नुभएन ।

यस्तै, लिगको दोश्रो खेलमा पुरन्धारा च्यालेन्जर्सले किफायती बलिङ गर्दै १५ रनको जीत आफ्नो पक्षमा पार्न सफल भयो । पुरन्धारा च्यालेन्जर्सले सबै विकेट गुमाउँदै निर्धारित २० ओभरमा १ सय १५ रन बनाएको थियो । १ सय १६ रनको सामान्य लक्ष्य पस्केको पुरन्धाराले कसिलो बलिङ गर्दै दंगाली लायन्सलाई लक्ष्यमा प’न दिएन । दंगाली लायन्स निर्धारित २० ओभर ७ विकेट गुमाउँदै ९९ रनमै समेटियो ।

किफायती बलिङका कारण हार नजिक पुुगेको पुुरन्धारा च्यालेन्जर्सले लिगको दोश्रो खेल आफ्नो पक्षमा पार्न सफल भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका तुलबहादुर थापा प्लेयर अफ द म्याच घोषित भए । अब लिग अन्तर्गत दोश्रो दिनको खेलमा आज आईतबार बिहान ८ बजे देउखुरी वारियर्स र तुलसीपुर रोयल बीच खेल हुने भएको छ भने दिउँसो १ बजेपछि घोराही लायन्स र घोराही टाईगर्सबीच खेल हुने भएको लिग आयोजक संयोजक प्रदीप मजगैयाले जानकारी दिनुुभयो । लिगका खेलहरु आगामी १९ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल रहेका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि ५० देखी ६० लाख रुपैयाँ सम्म खर्च हुने अनुमान आयोजकले लिएको छ । प्रथम हुने समूहलाई २ लाख र दोस्रो हुनेलाई एक लाख नगद पुरस्कार रहेको छ । यस्तै, हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा बल क्याच गर्ने दर्शकलाई नगद पुुरस्कृत गरिने भएको छ ।

दाङ क्रिकेट लिग भव्य रुपमा शुरु

दाङ क्रिकेट लिग एक शनिबार कार्यक्रम गरी भव्य रुपमा शुरु गरिएको थियो । दाङ क्रिकेट संघको आयोजनामा आयोजित लिगको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया क्रिकेट मैदानमा आयोजना गरिएको प्रतियोगिता १७ गते सम्म चल्ने छ । लिगमा पाँच वटा व्यावसायिक टीमले प्रतिष्पर्धा गर्दैछन् ।

कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले स्वस्थ जीवनको आधार नै खेल क्षेत्र भएको बताएका छन् । खेल क्षेत्रले देशको शिर उचो बनाउन सफल भएको भन्दै अब खेलाडीहरुलाई ब्यवसायीक बनाउन आवश्यक रहेको बताएका थिए ।

संघका सदस्य कैलाश रोकामगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा क्यान प्रदेशका उपाध्यक्ष दुर्गाबहादुर थापा, घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी, १७ का अध्यक्ष खुशीराम चौधरी, नेकपा एमालेका सचिवालय सदस्य विबेक श्रेष्ठ, नेपाली कांग्रेसका सचिब बालिका लम्साल, माओबादी केन्द्रका हरिमान पुन, संघका सल्लाहकार एवं प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, चेम्बर अफ कमर्श प्रदेशका उपाध्यक्ष श्रीधर महरा, दाङ जिल्ला उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्की, नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिी प्रदेश उपाध्यक्ष बलिभद्र राना, कांग्रेस नेता जानकीलाल बस्नेत लगाएतले आ आफ्नो भनाई राख्दै प्रतियोगिताको सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सदस्य किशोरचन्द्र गौतमले गर्नुभएको थियो ।

सकियो दाङ उद्योग बाणिज्य संघको प्रदर्शनी

राप्ती पोष्ट

दाङ,  चैत । १४ दिन चलेर दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी–२०७८ बुधबार सकिएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा गत फागुन २६ गतेबाट प्रदर्शनी थालिएको थियो ।

संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भर मुखी अर्थतन्त्रको निकास ।’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ९ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिंगौरामा भएको थियो । स्थानीय उत्पादनको बजारीकरण, कृषि पशुपालनको प्रवद्र्धन, पर्यटनलाई व्यवसायीकरण गदै आर्थिक विकासमा टेवा पु¥याउने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय वजारमा यहाँको उत्पादित वस्तु पहिचान गराउने र स्थानीय भाषा, साहित्य कला, परम्परागत सिप, धार्मिक क्षेत्र एवं संस्कृतिको परिचय गराउदै संरक्षण एवं सम्वद्र्धन गर्ने उदेश्यले प्रदर्शनीको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिनुभयो ।

यस क्षेत्रमा स्थापित प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने, दाङ जिल्लाको आर्थिक विकास पुर्वाधार विकास सक्रियता वढाउने, योजना निर्माणमा सहयोग पु¥याउने, स्थानीय उत्पादनलाई प्राथमिकता दिइ राष्ट्रिय अर्थ तन्त्रलाई टेवा पु¥याउनु पर्दछ भन्ने सन्देश प्रभाव गर्ने, दाङलाइ आगामी दिनमा औद्योगिक गन्तव्य स्थल वनाइ लगानी मैत्री वातावरण निर्माणको सन्र्दभमा सरोकारवालाहरुको ध्यानाकषर्ण गराउने लक्ष्य लिएको थियो ।

समापन कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले प्रदर्शनीले यस क्षेत्रमा कृषि जन्य वस्तु बजारीकरणमा सहयोग पुगेको बताउनुभयो । उहाँले प्रदर्शनीले उद्यमीलाइ प्रोत्साहन गरेको विश्वास लिएको बताउनुभयो । विकासका कार्यलाइ अगाडि वढाउन निजी क्षेत्र संग संहकार्य गरेर अगाडि वढ्न आफुहरु तयार रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमवहादुर वस्नेत, नेपाली काँग्रेसका जिल्ला उप सभापती कमानसिंह भारती, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समितिका लिलावहादुर पुन, कृषि विकास बैक लुम्विनी प्रदेश कार्यालयका प्रमुख गिरीराज रेग्मी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, घरेलु तथा साना उद्योग कार्यालयका निमित प्रमुख उमबहादुर वली, घोराही उप महानगरपालिका वडा नं १४ का अध्यक्ष शक्तिराम डाँगी, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजं शाह, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान वस्नेतले बोल्नुभएको थियो ।

संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्याट सुरु भएको कार्यक्रममा सहभागिहरु लाइ धन्यवाद ज्ञापन वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव महेन्द्र वुढाथोकीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्ति तगा संस्थालाई पुरस्कार प्रदान गरिएको थियो ।

स्थापना दिवसको अवरमा रक्तदान

दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा रक्तदान गरिएको छ । संघको ५२ आंै स्थापना दिवसको अवसरमा रक्तदान गरिएको हो । प्रदर्शनीस्थल घोराही १४ झिगौरामा नै रक्तदान गरिएको हो । सो अवसरमा २१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रेडक्रस सोसाइटी घोराहीले गरेको थियो । संघको स्थापना २०२७ साल चैत ९ गते भएको हो ।

अपहरणको नाटक गरेर अरुलाई फसाउन खोज्दा फसे देवकोटा

राप्ती पोष्ट

घोराही, चैत । आफू अपहरणमा परेको नाटक गरि आफ्नै साहु सँग फिरौती माग गर्ने एकजनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिका वडा नं. ९ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँबस्ती बस्ने जनक देवकोटाले आफूलाई अपहरण गरिएको भन्दै आफै ५० लाख रुपैया माग गरेको खुलेको छ । तुलसीपुरमा हरीप्रसाद रिजालको ड्राईगन फ्रुट कृषि फर्ममा काम गर्दै आएका २४ वर्षीय देवकोटालाई प्रहरीले मंगलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरेको थियो ।

देवकोटाले फर्म सञ्चालक रिजाललाई डर, त्रास र धम्की दिई ५० लाख रुपैयाँ फिरौती मागेको खुलेको प्रहरीले जनाएको छ । आफु अपहरणमा परेको नाटक गरि मध्यरातमा म्यासेज मार्फत ५० लाख रुपैयाँ नदिए देवकोटालाई सिध्याईदिने धम्की दिएका थिए । उनले गत फागुन २७ गते सोही फर्ममा प्लाष्टिकको पाईपमा कालो टेपले शंकास्पद बस्तु राखेका थिए । उक्त बस्तुलाई नेपाली सेनाले डिष्पोज गरेको थियो । त्यसपछि ३० गते फर्म सञ्चालक रिजाल आबद्ध रहेको पार्टी र स्वंयले अमेरिकी सहयोग सम्झौता एमसीसीको पक्षमा रहेको भन्दै धम्कीपूर्ण भाषामा ‘नो एमसीसी’ लेखेको पत्र राखेका थिए । लगत्तै चैत ६ गते देवकोटा तुलसीपुर बजार जान्छु भनि निस्कीएको र त्यहाँबाट बैंकमा गई उनी नेपालगञ्ज गएका थिए ।

बेलुका घरमा श्रीमती पवित्रा देवकोटालाई तपाईको बुढो हामीसँग सुरक्षित छ हामी एउटै पार्टीका रहेछौ हजुर आफु सुरक्षित ठाउँमा जानु होस, हामी हजुरको बुढोलाई केही गर्दैनौ, हामीले हरिप्रसाद रिजालसँग बदला लिनु छ भनेर मोवाईलमा म्यासेज लेखेर सम्पर्क विहीन भएका थिए । त्यसपछि प्रहरीले जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी स्यामु अर्याल र वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक हृदेयस सापकोटाको टोली उद्दार र अनुसन्धानमा खटेको थियो ।

देवकोटाले रिजालको घर व्यवहारका बारेमा सबै बुझेकाले सजिलैसँग पैसा कमाउने सोचले उक्त घटना रचेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताउनुभयो । देवकोटा बिरुद्ध झुठा अफबाह फैलाउन नहुने कसुरमा मुलुकी फैजदारी संहिता २०७४ को परिच्छेद ३ को दफा ७० (झुठा अफबाह फैलाउने) र सोही ऐनको परिच्छेद ७ को दफा १४० बमोजिम कृत्रिम बिष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने कसुरमा सजाय अन्तरगत मुद्दा चल्ने उहाँको भनाई छ ।

घोराहीको गुरुवागाउँ ‘बरसिम’का लागि देशकै उत्कृष्ठ

छबि पुरी /राप्ती पोष्ट

घोराही, चैत । दाङका किसानले व्यावसायिक रुपमै बरसिम घाँसखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । जिल्लाको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, राप्ती गाउँपालिकालगायतका स्थानका कृषकहरुले व्यावसायिक रुपमा बरसिम घाँस खेतीबाट पशुपालनसँगै बीउ बिक्रीबाट राम्रो आम्दानी गर्न सफल हुँदै गएका छन् ।

अन्य पालिकाहरुभन्दा घोराही उपमहानगरपालिका वडा नम्बर ६ का कृषकहरु बरसिम घाँसबाट बढी लाभ लिँदै आएका छन् । जसले गर्दा घाँसखेतीतिर उनीहरु आकर्षित भएका छन् । घाँसबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश गाउँमा बरसिम घाँस खेती गरिएको छ । पहिले पहिले हिउँदयाममा बाँझै रहने खेतहरु अहिले लोभलाग्दो गरी हराभरा भएका छन् । जाडोको मौसममा पशुको दुग्ध उत्पादनका लागि अत्यन्तै लाभकारी मात्रै होईन निकै पौष्टिक तत्वयुक्त बरसिम घाँस रौपन थालेपछि जमीनको उर्वराशक्ति पनि बढ्दै गएको कृषकको अनुुभव छ ।

कुनै समय गाईबस्तुका लागि घाँसको जोहो गर्न बिहान भर र दिन भरको सास्ती झेलेका कृषकलाई बरसिम घाँस लगाउन थालेपछि पशुपालनमा निकै सजिलो भएको छ । धान बाली स्याहार गरी सकेपछि प्राय बाँझै रहने खेत अहिले वर्षायाममा जस्तै हराभरा छन् । जसले गर्दा वातावरण पनि निकै मनमोहक देखिने गरेको छ ।

कुनै समय पशुुबस्तुका लागि घाँसको जोहो गर्न निकै सास्ती व्यहोरेका घोराही उपमहानगरपालिका वडा नम्बर ६, ६, १७ का अधिकांश कृषकका लागि बरसिम घाँस लगाउन थालेपछि हाई सञ्चो मान्ने गरेका छन् । हिँउदमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाएर घाँस बिक्रि सँगै पशुुपालनबाट मनग्गे आम्दानी लिन सफल भएको बताउनुुहुुन्छ, घोराही ६ गुुरुवागाउँका खुुसलराम डाँगी ।

विगत आठ वर्षदेखि घर छेवैँमा रहेको खेतमा बरिसम घाँस लगाएर भैसी र बाख्रा पालनबाट राम्रो आम्दानी लिन सफल खुसलरामले शुुरुमा १२ सयको लगानीमा बरसिम घाँस छर्नुभएको थियो । तर, अहिले उहाँले त्यही घाँसबाट अन्य बालीभन्दा कैयौँ गुणा बढी आम्दानी गर्न सफल हुुनुुभएको छ । घोराही ६ गुुरुवागाउँका अर्का ६० वर्षीय भीमबहादुर डाँगीले विगत १५ वर्षदेखि यही घाँसको भरमा आफ्नो कृषि पेशालाई निरन्तरता दिँदै आउनुुभएको छ । धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छर्ने गरिन्छ ।

कात्तिकको अन्तिमतिर बरसिमको बीउ छरेपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उहाँको अनुभव छ । ‘यो घाँस लगाएपछि त बस्तुुभाउ पाल्न पनि सजिलो, दुुध पनि धेरै दिन्छन् । खेतको उर्वराशक्ति पनि बढेको छ,’ भीमबहादुुरले भन्नुुभयो, ‘बरसिम घाँसले त फाईदै फाईदा पुुगेको छ ।’ घोराही ६ को गुरुवागाउँ बरसिम घाँस उत्पादनको गुणस्तर दृष्टिकोणले देशमै उत्कृष्ट ठहरिएको छ ।

बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाई, भैँसी, भेंडा र बाख्रा सबैलाई सो घाँसले फाइदा पु¥याउँछ । गहुँ र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले बरसिम घाँसमा आफुुहरु आकर्षित भएको १५ वर्षअघिदेखि घाँस प्रयोग गर्दै आउनुुभएका लक्ष्मण चौधरी बताउनुुहुुन्छ । कुनै बेला घुुरो काटेर दिन बिताउनुुभएका उहाँका लागि अहिले बरसिम घाँस निर्बिकल्प बनेको छ ।

किसानले प्रायः आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने चलन भए पनि दाङका किसानले वागवानीअन्तर्गतका तरकारी, फलपूmल र फूलको साटो घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका हुन् । बरसिम खाएका पशुले दूधको मात्रा बढाउनुुका साथै अत्यन्तै लाभकारी मानिएको कृषकको अनुुभव छ ।

दाङ बरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको जिल्लाका रुपमा परिचित हुँदै गएकोे छ । दाङमा उत्पादन भएको घाँसको बीउको उमार शक्ति र गुणस्तर अरु जिल्लाको भन्दा निकै राम्रो भएकाले रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर, भक्तपुरमा बिक्री हुने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले बताउनुुभयो ।

किसानले हरियो घाँस काटेर गाईबस्तु पाल्न र त्यसबाट आम्दानी लिन सपल भएका छन् भने अन्तिममा त्यही घाँसको बीउ बेचेर राम्रो आम्दानी पनि गर्दै आएका छन् । घाँस खेतीबाट गत वर्ष ७० लाख आम्दानी भएको सचिव अधिकारीले बताउनुुभयो । यस वर्ष पनि बरसिम घाँसको बीउ करिब ७५ लाखको बिक्री हुने उहाँको अनुुमान छ ।

मौसमले साथ दिएकाले यस वर्ष घाँस खेती राम्रो हुने कृषकले अपेक्षा गरेका छन् । दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएकाले यहाँ पशुुपालनको पनि उत्तिकै सम्भावना बढ्दै गएको हो । दाङ बरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको जिल्लाका रुपमा चिनिन्छ ।

दाङमा उत्पादन भएको घाँसको बीउको उमार शक्ति र गुणस्तर अरु जिल्लाको भन्दा निकै राम्रो छ । घोराही –६ का श्रीधर अधिकारीले आफ्नो दुई बिघा खेतमा हिउँदका समयमा तोरी, मसुरो र गहुँको साटो वरसिम घाँस लगाउने गरेको बताउनुुभयो । बरसिमको सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस भएको किसानहरु बताउँछन् । उहाँका अनुसार एक बिघा खेतबाट एक याममा एक लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।

हिउँदमा वरसिम घाँस एक पटक लगाएपछि एक याममा चारदेखि ६ पटकसम्म घाँस काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने धेरै कृषकको अनुभव छ । बरसिम घाँसको बीउ सबैले नजोतेरै छर्ने गरेका छन् । घोराही– ६ का गुरुवागाउँ, गुरगँै, वेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा गाउँका किसानले वरसीम घाँसखेती गरेका छन् । अहिले उक्त क्षेत्रमा रहेका १५० घरपरिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँसको बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुुभयो । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।

घाँसका लागि भौतारिनु नपर्ने खेतबारीबाट सजिलै पाउन सकिने भएपछि हरेक वर्ष यसका किसानको सङ्ख्या बढ्दै गएको शिवशक्ति उत्पादक सङ्घले जनाएको छ । व्यावसायिक रुपमा वरसीम घाँसखेती गर्ने दाङ पहिलो जिल्ला पनि हो । कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गरेका छन् । बीउ उत्पादक सङ्घले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ ।

उसो त, घोराही ६ मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँस खेती शुरु गरिएको हो । अहिले दाङ बरसिम घाँसको बीउ ‘पकेट क्षेत्रको’ रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन कमै मात्रामा हुने तथा उमार शक्ति कम हुने गरेको पाईएको छ । यस्तै, जिल्लामा नेपियर, मकैचरी, जैलगायत जातका घाँस खेती भए पनि हावापानी र उमारका दृष्टिले बरसिम घाँसलाई सबैभन्दा उत्तम श्रेणीमा राखिएको छ ।

बीउ उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नत जातका पशुपालन गर्नेको सङ्ख्या बढ्दै गएको पशुसेवा विज्ञ केन्द्र, घोराहीले जनाएको छ । घाँस खेती फस्टाउँदै गएपछि स्थानीय सरकारहरुले पनि कृषकहरुलाई अनुदान लगायत प्रोत्साहनका कार्यक्रम गर्दै आएका छन् ।

शिक्षामा तुलसीपुर उपमहानगरको नमूना काम

प्राविधिक शिक्षामा उल्लेख्य प्रगति, सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बृद्धि

सुरक्षा रेग्मी/राप्ती पोष्ट

तुलसीपुर, चैत । तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँमा रहेको रानागाउँ प्राविमा कक्षा ५ सम्म जम्मा ५६ जना विद्यार्थी थिए । विद्यार्थीको संख्या निकै कम भएपछि तुलसीपुरले विद्यालयलाई गाभ्ने निर्णय ग¥यो । साथै विद्यालयलाई अवस्था सुधार्नका लागि अन्तिम मौका दिइयो । पालिकाले विद्यालयलाई समय मात्रै दिएको थिएन, विद्यार्थी संख्या वढाउन सके संरचना र अन्य सहयोग गर्ने प्रतिवद्धता पनि गरेको थियो । ‘विद्यालयले अभियान सञ्चालन गरेर विद्यार्थी संख्या मात्रै बढाएन तह पनि थप्यो । तीन वर्षको बिचमा विद्यालयले आधारभूत तह सञ्चालन गरिसकेको छ भने विद्यार्थी संख्या पनि तीन सय पु¥याएको छ । शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले भन्नुभयो, त्यो निर्णय नगरपालिकाले नगरेको भए विद्यालयको अवस्था सुधारका लागि सरोकारवालाहरु लाग्ने थिएनन् ।

तुलसीपुर उपमहानगरपालिकाले पहल गरेपछि महेन्द्र माविमा विद्यार्थीको संख्या दोव्वर भयो । अहिले दुई हजारको हाराहारीमा विद्यार्थीले अध्ययन गरिरहेका छन् जहाँ मुस्किलले एक हजार विद्यार्थीले मात्रै अध्ययन गर्दथे । गुरुजजुर मावि रक्षाचौर, बालपुर मावि, जनकल्याण मावि दुधरास, मावि सेन्टर लगायतका विद्यालयमा पनि सयौं विद्यार्थी थपिएका छन् । पहिले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण नहुने गरेकोमा यो पाँच बर्षको अवधिमा तुलसीपुरमा सरकारी विद्यालयमा विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्न नमान्नेहरु यतिवेला सामुदायिक विद्यालयमा जान थालेका छन् ।

पहिले अंग्रेजी मोहका कारण संस्थागत विद्यालयमा भर्ना हुने विद्यार्थी अहिले सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेका छन् । तुलसीपुरका १५ वटा विद्यालयले अहिले अंग्रेजी माध्यमबाट पनि अध्यापन गराइरहेको छ । गुरुजजुर माविमा अग्रेजी माध्यमको अध्यापन सुरु भएपछि विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । ‘वोर्डिङ्ग छाडेर यहाँ आउनेको लहर चलेको छ’, प्रधानाध्यापक विष्णु केसीले भन्नुभयो । तुलसीपुरभित्रका १० वटा सामुदायिक विद्यालयले अहिले प्राविधिक तहका कार्यक्रम सञ्चालन गरिरहेका छन् । हरेक विद्यालयमा फरक–फरक विषयको अध्यापन हुने भएकाले विद्यार्थीले चाहेको विषय अध्ययन गरिरहेका छन् । ‘मलाई फुड एण्ड डेरी पढ्ने धोको थियो अहिले पुरा भएको छ’, तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अध्ययनरत छात्रा आयुशा थापाले भन्नुभयो ।

जनप्रतिनिधि आएको पाँच बर्षको यो अवधिमा तुलसीपुरमा शिक्षाको क्षेत्रमा अनेकन परिवर्तन देखिएका छन् । तुलसीपुरको शैक्षिक क्षेत्रको अनुहार बदलिदै गएको छ । प्राविधिक र उच्च शिक्षाको लागि बाहिर जानैपर्ने बाध्यता जस्तो थियो । तर अहिले तुलसीपुर शिक्षाकालागि ह वबनेको छ । हरेक बर्ष विद्यार्थीको संख्या बढ्दै गएको छ । अघिल्लो बर्ष २१ हजार सात सय ९३ विद्यार्थी अध्ययन गर्ने गरेकोमा चालु शैक्षिक सत्रमा तुलसीपुरभित्र २३ हजार एक सय ५५ विद्यार्थी अध्ययन गरिरहेका छन् । ‘चार वर्ष अगाडीको कुरा गर्ने हो भने यो संख्या १८ हजारभन्दा पनि तल थियो’, शिक्षा महाशाखा प्रमुख भण्डारीले भन्नुभयो ।

अहिले गाउँगाउँमा देशैभरका स्वयम्सेवक शिक्षकहरु छरिएका छन्, परम्परागत शैलीबाट सञ्चालन भइरहेका सामुदायिक विद्यालयहरु पनि सुविधासम्पन्न हुँदै गएका छन् । स्थानीय सरकारले गरेको पहलकदमीले सामुदायिक विद्यालयको अवस्था सुधारिदै गएको छ । सामुदायिक विद्यालयमा यस वर्ष विद्यार्थी संख्या आठ प्रतिशतले बढेको पालिकाको तथ्यांक छ ।

आफ्नै कलेज र शिक्षालय

तुलसीपुर उपमहानगरपालिकाले शिक्षाको क्षेत्रमा गरेको उल्लेखनिय काम भनेको आफ्नै पहलमा कलेज र प्राविधिक शिक्षालयको स्थापना रहेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा पालिकाले तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबीको अध्यापन गराइरहेको छ भने सिटिइभिटीको साझेदारीमा डिप्लोमा तहका वन विज्ञान, वाली विज्ञान, फुड एण्ड डेरी टेक्नोलोजी, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग र मेकानिकल इन्जिनियरिङ्ग कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

पालिकाले सञ्चालन गरेको प्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसईई गरेका छात्राहरुलाई पूर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराइरहेको छ । नगरप्रमुख घनश्याम पाण्डेका अनुसार अहिले एक सय सय २६ छात्राहरुलाई निशुल्क प्राविधिक शिक्षा दिइएको छ । मेट्रो कलेज आफ्नो धेरै अघिको सपनाको शिक्षालयका रुपमा रहेको भन्दै नगरप्रमुख पाण्डेले मेट्रोले देशका लागि आवश्यक जनशक्ति उत्पादन गरिरहेको दावी गर्नुभयो । ‘शिक्षाको क्षेत्रमा नमुना काम गर्ने योजना अनुसार मेट्रो कलेज स्थापना भएको हो ।’ पाण्डेले भन्नुभयो ।

प्राविधिक शिक्षाको जग

तुलसीपुर उपमहानगरपालिकामा प्राविधिक विषय पठनपाठन गराउने सामुदायिक विद्यालयहरु थिएनन भन्दा पनि हुन्छ । प्राविधिक शिक्षाको माग बढीरहेको तर शिक्षा हासिल गर्नका लागि बाहिर जानैपर्ने बाध्यता थियो । यसले गर्दा तुलसीपुरबाट आर्थिक रुपमा पनि तुलसीपुरलाई धेरै मार परिरहेको अवस्था थियो । जव पालिकाको सहयोगमा प्राविधिक शिक्षालयहरु सञ्चालन भए तव जनशक्ति र आर्थिक पाटोमा भएको क्षति रोकियो । प्राविधिक धारका विद्यालयहरुले प्रति कार्यक्रम एक लाख रुपैयाँसम्ममा अध्यापन गराउन थालेका छन् । यो भन्दा अगाडी जिल्ला बाहिर जानुपर्ने वाध्यता एकातिर थियो भने शुल्क पनि दुई लाख बढी तिर्नुपर्ने अवस्था थियो ।

‘सानैदेखि बन विज्ञान पढ्ने रहर भएपनि पढ्न पाउँदिन जस्तो लागेको थियो, यही नै सञ्चालन भएपछि बल्ल पढ्न पाइएको छ’, तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अध्ययन गरिरहेका तुलसीपुर–१३ का अजय नेपालीले भन्नुभयो । प्राविधिक शिक्षाको सर्वसुलभता र विकासका लागि उपमहानगरपालिकाले प्राविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक शिक्षालयहरुलाई अनुदान दिने नीति अख्तियार गरेको छ । अहिले नगरभित्र नौ वटा सामुदायिक विद्यालयहरुले प्राविधिक विषय अध्यापन गराएर प्रति विद्यालय १० लाख अनुदान लिइसकेका छन् । केही विद्यालयहरु प्राविधिक विषय थप गर्ने तयारीमा जुटेका छन् । प्राविधिक विषय अध्यापन हुन थालेपछि बाहिर जिल्लाबाट आउने विद्यार्थीको संख्या पनि बढिरहेको छ । शिक्षा महाशाखा प्रमुख भण्डारीकाअनुसार हरेक वर्ष तीन सयका दरले बाहिरबाट आउने विद्यार्थीको संख्या वढिरहेको छ ।

प्राविधिक विषयको अध्ययनसँगै स्थानीयरुपमा प्राविधिक जनशक्तिको माग पुरा हुँदै गएको नगरप्रमुख पाण्डेले बताउनुभयो । ‘हामीलाई चाहिने प्राविधिक जनशक्तिको अभाव विस्तारै पुरा हुँदै जाने देखिन्छ’, पाण्डेले भन्नुभयो । उपमहानगरपालिकाभित्र अहिले कृषि विज्ञान, प्राणी विज्ञान, सुचना प्रविधि, फुड एण्ड डेरी, अमिन, वन विज्ञान, सिभिल, मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरिङ्ग लगायतका विषय सामुदायिक विद्यालयमा अध्यापन भइरहेको छ ।

मेट्रो कलजेका प्रमुख बसन्त आचार्य शिक्षालाई व्यवहारसंग जोड्नका लागि प्राविधिक शिक्षाको विकल्प नरहेको बताउनुहुन्छ । सिकेका कुराहरुलाई व्यवहारमा उतार्न पाएन भने त्यो सिप निरर्थक हुन्छ । त्यसैले अहिले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढीरहेको छ । तुलसीपुर उपमहानरपालिकाले शिक्षाको क्षेत्रमा अन्य पालिकाको भन्दा फरक र उत्कृष्ठ तरिकाले अघि बढेको दावी पनि आचार्यको छ ।

विद्यालय मर्ज गर्ने अभियान

व्यवस्थापकीय समस्या र भौगोलिक कठिनाईका कारण केही विद्यालयमा विद्यार्थी संख्या न्युन थिए । ‘कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै थियो’, शिक्षा महाशाखाका अधिकृत चक्र भण्डारीका अनुसार विद्यार्थी संख्या कम भएका विद्यालयहरुको सिकाईस्तर निकै कम भएको हुँदा मर्जको प्रक्रिया अगाडी वढाइएको थियो । तुलसीपुरमा मर्जमा जाने भनेपछि केही विद्यालयले निकै मेहनत गरेका थिए । विद्यालय मर्जको प्रक्रिया अगाडी बढाएसँगै १३ वटा प्राविलाई वालविकास केन्द्र कायम राखी कक्षा स्थगन गरिएको छ ।

८३ वटा विद्यालय भएकोमा अहिले ७० सामुदायिक विद्यालय पालिकाभित्र रहेका छन् । पहुँच र दुरी नविग्रने गरी विद्यालय मर्ज गरिएको हो । तोकिएकोभन्दा विद्यार्थी संख्या थोरै भएका विद्यालयहरुको सिकाइस्तर कमजोर भएकाले विद्यालय मर्जमा जानुपरेको शिक्षा महाशाखा प्रमुख भण्डारीको भनाई छ । मर्ज गरिएका विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई नजिकैको विद्यालयमा स्थानान्तरण समेत गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै नगरप्रमुख पाण्डेले भन्नुभयो । ‘कतै कम विद्यार्थी शिक्षक धेरै, कतै धेरै विद्यार्थी शिक्षक कम भएपछि हामीले विद्यालय मर्जको अवधारणा अगाडी वढाएका हौं’, कक्षा स्थगन भएका विद्यालयमा नमुना बालविकास सञ्चालन गरिएको छ । विद्यालय मर्ज भएर सिकाई प्रक्रिया प्रभावकारी भएपछि कतिपय अभिभावकहरुले संस्थागत विद्यालयबाट सन्तानहरुलाई सामुदायिक विद्यालयमा पढाउन समेत थालेका छन् । ‘हामीले विद्यार्थी संख्याको टार्गेट दिएका थियौ, कतिपय विद्यालयहरुले त्यसलाई पुरा गरेर मर्ज हुनबाट जोगिए ।’ पाण्डेले भन्नुभयो ।

सामुदायिक विद्यालयमा अँग्रेजी

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वढाउनका लागि अग्रेजी माध्यमको सुरुवात गरिएको छ । सामुदायिक विद्यालयमै अग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि अहिले अभिभावकहरुले वालवालिकालाई संस्थागत विद्यालयबाट छाडेर सामुदायिक विद्यालयमै भर्ना गर्न थालेका छन् । ‘सामुदायिक विद्यालयमै अँग्रेजी माध्यमको पठनपाठन भएपछि किन संस्थागतमा खर्च गर्नु, मैले त संस्थागतबाट झिकेर सामुदायिक विद्यालयमै छोरोलाई भर्ना गरेको छुँ ।’ गुरुजजुर माविका अभिभावक खिमराज खनालले भन्नुभयो । उहाँजस्ता कयौं अभिभावकहरुले अँग्रेजी माध्यमको पठनपाठन सुरुवात भएपछि सामुदायिक विद्यालयमा बालबालिकाहरु भर्ना गरिरहेका छन् । ‘नेपाली माध्यममा अध्यापन भइरहेको सामुदायिक विद्यालयमा अँग्रेजी माध्यमको पठनपाठन सुरुवात गर्न कठिनाइ रहेको थियो तर पनि अनुदान दिएर अँग्रेजी माध्यमका शिक्षकहरु राखेपछि सहज वन्दै गएको छ’, शाखा अधिकृत भण्डारीले वताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने कुरा सुरुमा अस्वाभाविक लागेपनि विस्तारै सहज वन्दै गएको वताउनुभयो । ‘अभिभावकले पनि अंग्रेजी माध्यमका लागि मासिक शुल्कमा केही सहयोग गर्नुभएको छ’, गुरुजजुर माविकी प्राचार्य विष्णुकुमारी केसीले भन्नुभयो ।

स्वयमसेवक शिक्षक परिचालन

शुन्य दरबन्दी हुँदा पनि समुदायले आँटेर सञ्चालन गरिएका माध्यमिक विद्यालयहरुको नतिजा निकै दयनीय थियो । शिक्षक व्यवस्थापनका लागि ‘टिच फर नेपाल’सँगको सहकार्यमा विभिन्न विद्यालयमा अँग्रेजी, विज्ञान र गणितका स्वयम्सेवक शिक्षकहरु व्यवस्थापन गरिएको छ । ‘पहिलो वर्ष नौ वटा र दोस्रो वर्ष १० वटा सामुदायिक विद्यालयमा दुई वटा शिक्षकका दरले यस्ता शिक्षक उपलब्ध गराइएको हो’, शाखा अधिकृत भण्डारीले भन्नुभयो ।

उहाँले स्वयम्सेवक शिक्षक परिचालन गरिएका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएको पनि वताउनुभयो । विद्यार्थीहरु सबैभन्दा धेरै अनुत्तिर्ण हुने विषयका शिक्षकहरुको व्यवस्थापन गरेका कारण पनि गुणस्तर र नतिजा सुध्रिएको उहाँको भनाई छ । उपमहानगरपालिकाले साना कक्षाको सिकाईस्तर उकास्नका लागि चेन्जिङ्ग स्टोरीको सहयोगमा विभिन्न आठ वटा विद्यालयमा ३० वटा गु्रप सञ्चालन गराएर स्वयम्सेवकहरु परिचालन गरिएको छ ।

शिक्षक करारनामा

सामुदायिक विद्यालयका शिक्षकलाई जिम्मेवार बनाउनका लागि उपमहानगरपालिकाले प्रधानाध्यापक र शिक्षकसँग करारनामा गरेको छ । शिक्षा महाशाखा प्रमुखका अनुसार करारनामा बमोजिम काम भएको या नभएको भन्ने बारेमा नियमित अनुगमन गरेर शिक्षकको मुल्यांकन समेत हुने गरेको छ । उपमहानगरपालिकाले प्रधानाध्यापक र प्रधानाध्यापकले शिक्षकसँग यस्तो करारनामा गर्ने गरेका छन् । करारनामामा वर्षभरी गर्नुपर्ने कामको विवरण हुने भएकाले मुल्यांकन गर्न सहज बनेको वताइन्छ ।

‘पालिकाले प्रधानाध्यापकसँग करारनामा गरेपछि अहिले जथाभावी प्रधानाध्यापकले विद्यालय छाड्ने क्रमको अन्त्य भएको छ’, शिक्षा समिति संयोजक कुमार लामिछानेले बताउनुभयो । उहाँले करारनामाका कारण विद्यालयको मुल्याङकन सहज भएको बताउनुभयो । तुलसीपुरमा रहेका सवै विद्यालयका प्रधानाध्यापकहरुलाई यसले गम्भिर बनाएको आफूहरुले पाएको भनाई पनि लामिछानेको छ ।

इलेक्ट्रिक हाजिरी

सामुदायिक विद्यालयमा शिक्षक उपस्थितिलाई पारदर्शी वनाउनका लागि उपमहानगरपालिकाले पहिलो चरणमा सबै माध्यमिक विद्यालयहरुमा इलेक्ट्रिक हाजिरीको ब्यवस्था गरेको छ । शाखा प्रमुख भण्डारीका अनुसार इलेक्ट्रिक हाजिरीको सबै विवरण शिक्षा महाशाखामा आउने भएकाले विवरण अद्यावधिक गर्न सहज भएको छ ।

‘यस किसिमको व्यवस्थाका कारण समयमा विद्यालय नआउने क्रमको अन्त्य भएको छ भने कामको बहानामा विच समयमै विद्यालय छाडेर जाने क्रम पनि रोकिएको छ’, भण्डारीले भन्नुभयो । उपमहानगरपालिकाले २३ वटा माध्यमिक विद्यालयमा यस्तो हाजिरी प्रणालीको सुरुवात गरेको हो । ‘सबै विद्यालयमा तत्काल विस्तारको योजना अगाडी बढेको छ’, उहाँले भन्नुभयो ।

स्थानीय पाठयक्रमको विकास

स्थानीय भाषिक समुदायलाई लक्षित गरेर उपमहानगरपालिकाले सानो कक्षामा स्थानीय भाषामै पठनपाठनको सुरुवात गरेको छ । स्थानीय भाषामा पढ्न पाउँदा विद्यार्थीहरुको आकर्षण बढेको वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण भण्डारीले बताउनुभयो । सो वडाको विरेन्द्र मावि भ्युडहर सुनपुरमा मगर भाषाको कक्षा सुरुवात गरिएको छ । पाठ्यपुस्तक समेत स्थानीयस्तरमा तयार गरेर कक्षा सञ्चालन गरिएको शिक्षा महाशाखाले जनाएको छ । ‘घरमा बोल्ने भाषामा स्कुलमा पढाई हुँदा रमाईलो लागेको छ’, अनिस मगरले भन्नुभयो । अन्य स्थानीय भाषामा पनि कक्षा सञ्चालनका लागि तयारी गरिएको महाशाखाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार पालिकाले स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिरहेको छ । आगामी शैक्षिक सत्रबाट लागु गर्ने गरी तयारी पुरा भएको शाखा अधिकृत भण्डारीले वताउनुभयो । भण्डारीका अनुसार अहिले विभिन्न विज्ञहरुबाट पाठ्यपुस्तक लेखनको काम भइरहेको छ । कक्षा १ देखि ८ सम्म एकैपटक स्थानीय पाठ्यक्रम लागु हुने गरी तयारी गरिएको समेत उहाँले बताउनुभयो । पुस्तकको नाम तुलसीपुरको चिनारी राखिएको छ ।

 

देउखुरीमा एमाले प्रवेशको लहर

राप्ती पोष्ट

देउखुुरी, चैत । लामो समय सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील रहनु भएका राप्ती उद्योग बाणिज्य संघ भालुबाङ्गका निवर्तमान अध्यक्ष जगतप्रसाद पोख्रेल, सिसहनिया उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष शान्तराज भण्डारी लगायत विभिन्न पार्टीमा आवद्ध रहेकाहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस परित्याग गरे उहाँहरु नेकपा एमाले एमालेमा प्रवेश गर्नुभएको हो । आइतबार लालमटियामा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिव्युरो सदस्य तथा नेकपा एमालेका जिल्ला इञ्चार्ज नरुलाल चौधरी, सह–इञ्चार्ज तथा सांसद गंगा थारु, लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले लेखा आयोगका सदस्य रेवतीरमण शर्मा लगायतले उहाँहलाई पार्टी प्रवेश गराउनु भएको थियो ।

नेकपा एमाले राप्ती गाउँपालिका कमिटीको आयोजनामा पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम लालमटीयामा आयोजना गरिएको थियो । नेकपा एमाले राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै चौधरीले जनताले परिवर्तन चाहेको, त्यो परिवर्तन एमालेको नेतृत्वमा सम्भव रहेको बताउनुभयो । विकास र समृद्धिको नेतृत्व नेकपा एमालेले मात्रै गर्न सक्ने भन्दै उहाँले नेकपा एमालेको निती विचार र सिद्धान्तमा आवद्ध हुनेहरुको संख्या बढीरहेको चर्चा गर्नुभयो । उहाँले आगामी सवै खालका निर्वाचनका नेकपा एमालेको बर्चश्व रहने दावी गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्र्दै केन्द्रीय सदस्य गंगा थारुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले विकास निर्माणको गतिलाई तिव्रता दिएको चर्चा गर्नुभयो । उहाँले नेपालको समृद्धिका लागि नेकपा एमालेले जित्नुको विकल्प नरहेको बताउनुभयो । यस्तै नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा, अनुशासन आयोगका सदस्य सरस्वती गौतम, जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, जिल्ला सचिव मनोहर बुढाथोकी लगायतले सम्बोधन गर्नु भएको थियो ।

यसैबीच नेकपा एमालेमा प्रवेश गर्नुभएका पोख्रेललाई कारवाही गरिएको विज्ञप्ती राष्ट्रिय जनमोर्चाले जारी गरेको छ । नेकपा एमालेमा प्रवेश गर्ने चर्चा चलेपछि उहाँलाई जनमोर्चाले कारवाहीको विज्ञप्ती जारी गरेको थियो ।

गुरुकुलले कक्षा १ र ११ मात्र भर्ना लिने

राप्ती पोष्ट

दाङ, चैत । शैक्षिक गुणस्तरमा जोड दिदै आएको घोराही–१५ रतनपुर स्थित गुरुकुल एकेडेमीले कक्षा १ र ११ मा मात्र नयाँ भर्ना लिने भएको छ ।

विद्यालयले शनिवार पत्रकार सम्मेनल गर्दै गुरुकुल एकेडेमीले आगामी शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा भर्ना लिने जानकारी दिएको छ । स्थापनाकालदेखि नै संख्यात्मक भन्दा शैक्षिक गुणस्तरमा जोड दिदै आएको विद्यालयले कक्षा १ मा २४ जना विद्यार्थी संख्या र कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा ८०÷८० जना विद्यार्थी सिट संख्यामा नयाँ भर्ना खोलिने विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।र

उहाँका अनुसार कक्षा दुई देखि ९ कक्षासम्मको हकमा भने दुई÷दुई जनाको सिट संख्यामा नयाँ भर्ना खोलिनेछ । विद्यालयमा कक्षा २ देखि ९ सम्मका सबै कक्षाका सिट खाली नभएकाले उत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थीलाई मात्र नयाँ भर्ना दिने उहाँले बताउनुभयो । ‘धेरै विद्यार्थी भर्ना गरेर संख्या बढाउने भन्दा पनि गुणस्तरीय शिक्षा जोड दिनुपर्छ भन्ने सोचले नयाँ भर्ना रोकेका छौं’ उहाँले भन्नुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महांघ दाङका अध्यक्ष दुर्गालाल केसीले विद्यालयहरुले विद्यार्थी संख्या बढाउने होडबाजी भन्दा शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘धेरै विद्यालयहरु विद्यार्थी संख्या बढाउन तर्फ लागेको देखिन्छ’ उहाँले भन्नुभयो, ‘त्यसले गुणात्मक वृद्धि त होला तर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिदैन ।’

विद्यायलका प्लस टु कोर्डिनेटर निमानन्द गैरेले यसले विद्यार्थी संख्या बढाउने प्रणालीको अन्त्य गर्दै शैक्षिक गुणस्तरमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा एकको भर्नाको लागि फारम चैत १५ गतेदेखि खुला गरिने तथा प्रवेश परीक्षा वैशाख १० गते हुने जानकारी पनि गैरेले दिनुभयो । विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो