घोराही टाईगर्स र पुुरन्धारा च्यालेन्जर्सको विजयी शुरुवात
राप्ती पोष्ट
घोराही, १२ चैत । दाङमा पहिलो पटक फ्रेन्चाइज क्रिकेट लिग सुरु भएको छ । पाँचवटा टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गर्नुभएको थियो ।
प्रतियोगिता उद्घाटन गर्दै मेयर चौधरैले घोराही उपमहानगरपालिकाले खेलकुदका लागि पूर्वाधार विकासको क्षेत्रमा धेरै काम गरेको जानकारी दिंदै अव खेलाडीको लगाव आवश्यक रहेको बताउनुभयो । उहाँले आफूहरुले हरेक बडामा एउटा खेलकुद मैदानको अवधारणा अनुसार काम गरेको भन्दै दाङ जिल्लाका खेल मैदानमा देशभरका खेलाडीहरु ल्याउने बातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले खेलकुदको विकासका लागि घोराही उपमहानगरपालिका सदा तत्पर रहेको बताउनुभयो ।
प्रतियोगिता अन्तरगत शनिबार भएका दुईवटा खेलमा घोराही टाईगर्स र पुरन्धारा च्यालेन्जर्सले विजयी शुरुवात गरेका छन् । दाङ क्रिकेट संघको आयोजनामा शनिबारबाट आयोजित लिगको पहिलो दिनको खेलमा घोराही टाईगर्सले देउखुरी वारियर्सलाई तीन विकेट र पुरन्धारा च्योलेन्जर्सले दंगाली लायन्सलाई १५ रनले हराउँदै पहिलो जीत दर्ता गरेका हुन ।
लिगको पहिलो खेलमा टस जितेर पहिले व्याटिङ रोजेको देउखुरीले निर्धारित २० ओभरमा आफ्नो सात विकेट गुमाउँदै एक सय ३९ रनमात्रै बनाएको थियो । जवाफी व्याटिङ गर्दै घोराही टाईगर्सले १६ दशमलव ५ ओभरमा आफ्नो ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । पहिलो खेलको म्यान अफ द म्याच देउखुरी वारियर्सका बिशाल बिक्रम केसी भएको लिग आयोजक संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुुभयो । केसीले उत्कृष्ठ व्याटिङ गर्नुभएको थियो । केसीले ७१ रन जोडेपनि टिमलाई जित दिलाउन सक्नुभएन ।
यस्तै, लिगको दोश्रो खेलमा पुरन्धारा च्यालेन्जर्सले किफायती बलिङ गर्दै १५ रनको जीत आफ्नो पक्षमा पार्न सफल भयो । पुरन्धारा च्यालेन्जर्सले सबै विकेट गुमाउँदै निर्धारित २० ओभरमा १ सय १५ रन बनाएको थियो । १ सय १६ रनको सामान्य लक्ष्य पस्केको पुरन्धाराले कसिलो बलिङ गर्दै दंगाली लायन्सलाई लक्ष्यमा प’न दिएन । दंगाली लायन्स निर्धारित २० ओभर ७ विकेट गुमाउँदै ९९ रनमै समेटियो ।
किफायती बलिङका कारण हार नजिक पुुगेको पुुरन्धारा च्यालेन्जर्सले लिगको दोश्रो खेल आफ्नो पक्षमा पार्न सफल भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका तुलबहादुर थापा प्लेयर अफ द म्याच घोषित भए । अब लिग अन्तर्गत दोश्रो दिनको खेलमा आज आईतबार बिहान ८ बजे देउखुरी वारियर्स र तुलसीपुर रोयल बीच खेल हुने भएको छ भने दिउँसो १ बजेपछि घोराही लायन्स र घोराही टाईगर्सबीच खेल हुने भएको लिग आयोजक संयोजक प्रदीप मजगैयाले जानकारी दिनुुभयो । लिगका खेलहरु आगामी १९ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल रहेका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि ५० देखी ६० लाख रुपैयाँ सम्म खर्च हुने अनुमान आयोजकले लिएको छ । प्रथम हुने समूहलाई २ लाख र दोस्रो हुनेलाई एक लाख नगद पुरस्कार रहेको छ । यस्तै, हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा बल क्याच गर्ने दर्शकलाई नगद पुुरस्कृत गरिने भएको छ ।
दाङ क्रिकेट लिग भव्य रुपमा शुरु
दाङ क्रिकेट लिग एक शनिबार कार्यक्रम गरी भव्य रुपमा शुरु गरिएको थियो । दाङ क्रिकेट संघको आयोजनामा आयोजित लिगको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया क्रिकेट मैदानमा आयोजना गरिएको प्रतियोगिता १७ गते सम्म चल्ने छ । लिगमा पाँच वटा व्यावसायिक टीमले प्रतिष्पर्धा गर्दैछन् ।
कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले स्वस्थ जीवनको आधार नै खेल क्षेत्र भएको बताएका छन् । खेल क्षेत्रले देशको शिर उचो बनाउन सफल भएको भन्दै अब खेलाडीहरुलाई ब्यवसायीक बनाउन आवश्यक रहेको बताएका थिए ।
संघका सदस्य कैलाश रोकामगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा क्यान प्रदेशका उपाध्यक्ष दुर्गाबहादुर थापा, घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी, १७ का अध्यक्ष खुशीराम चौधरी, नेकपा एमालेका सचिवालय सदस्य विबेक श्रेष्ठ, नेपाली कांग्रेसका सचिब बालिका लम्साल, माओबादी केन्द्रका हरिमान पुन, संघका सल्लाहकार एवं प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, चेम्बर अफ कमर्श प्रदेशका उपाध्यक्ष श्रीधर महरा, दाङ जिल्ला उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्की, नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिी प्रदेश उपाध्यक्ष बलिभद्र राना, कांग्रेस नेता जानकीलाल बस्नेत लगाएतले आ आफ्नो भनाई राख्दै प्रतियोगिताको सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सदस्य किशोरचन्द्र गौतमले गर्नुभएको थियो ।