spot_img
Home Blog Page 62

साहित्यकारले राजनीतिक विकृति विरुद्ध खवरदारी जारी राख्नुपर्ने

प्रलेस लुम्विनीमा नयाँ कार्यसमिति चयन

राप्ती पोष्ट

लमही, चैत । राजनीतिक दलहरुले बाटो विराएको अवस्थामा खवरदारी गर्ने काम साहित्यकारहरुको रहेको लमहीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । प्रगतिशील लेखक संघ नेपाल लुम्विनी प्रदेशको दोस्रो अधिवेशनमा बोल्ने बक्ताहरुले नेपालको राजनीतिमा विकृति विसंगती हावी भएको भन्दै विकृति विसंगतीका विरुद्धमा लेखक साहित्यकारहरुले खवरदारी गरिरहनुपर्ने धारणा राखेका हुन् ।

प्रलेस लुम्विनी प्रदेश अध्यक्ष केशव थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रलेसका केन्द्रिय अध्यक्ष प्राध्यापक जिवेन्द्रदेव गिरीले प्रगतिशील साहित्यकारहरुले राष्ट्रियताको पक्षमा, जनजिविकाको पक्षमा निरन्तर आवाज उठाउदै आएको बताउनुभयो । उहाँले प्रगतिशीले स्रष्टाहरुले निरन्तर खवरदारी गर्दै आइरहेको भन्दै यस्तो खवरदारी जारी राख्नपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बरिष्ट पत्रकार नारायण प्रसाद शर्माले नेपालका बामपन्थी राजनीतिक दलका बीचमा तिक्ततापूर्ण सम्वन्ध रहेको भन्दै यस्तो नगर्न सुझाव दिनुभयो । भारतमा काँग्रेस र कम्युनिष्टको अवस्था कहाँबाट कहाँ पुग्यो भन्दै शर्माले जनताले कम्युनिष्टको विकल्प खोज्ने दिन नल्याउनका लागि कम्युनिष्टहरु सच्चिएर अघि बढ्नुपर्ने बताउनुभयो । राजनीति अत्यन्त विकृत बन्दै गएकोमा उहाँको चिन्ता थियो ।

यस्तै प्रा. डा. कपिलदेव लामिछानोले राजनीतिलाई दिशानिर्देश गर्ने गरेर साहित्यकारले खवरदारी गरिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा बामपन्थी जनमत अत्यन्त राम्रो रहेको भएपनि बामपन्थी दलहरुका बीचमा देखिएको बैमनस्यताले समाजलाई नै असर गरिरहेको बताउनुभयो । यस्तै कवि रामचन्द्र भट्टराइ, गजलकार बुँद राना लगायतले राजनीतिमा बढ्दै गएको विकृति विसंगती रोक्नका लागि साहित्यकारहरुले कमल चलाइरहनुपर्ने बताउनुभयो । साहित्यकारहरुले नै हरेक क्षेत्रको विकृति विसंगीतको विरुद्धमा खवरदारी गर्न सक्ने भन्दै उहाँहरुले राजनीतिलाई विचारले डोराउनेगरी सामग्री दिने काम साहित्यकारको रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रलेसका केन्द्रिय सदस्य शरद अधिकारी, प्रलेस रुपन्देहीका पूर्व अध्यक्ष कपिल घिमिरे, दाङ शाखाका अध्यक्ष भुवन देवकोटा शरद, स्तम्भकार समाजका अध्यक्ष केवि मसाल, देउखुरी साहित्य समाजका अध्यक्ष हरि पोख्रेल लगायतले बोल्नुभएको थियो । रामप्रसाद पोखरेलले संचालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष पंकज श्रेष्ठले गर्नुभएको थियो ।

शर्मालाई सम्मान

सोही कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मालाई सम्मान गरिएको थियो । उहाँलाई यस क्षेत्रको साहित्य उत्थानका लागि योगदान दिएको भन्दै सम्मान गरिएको थियो । प्रलेस लुम्विनीले पहिलो पटक अधिवेशनमा सम्मान थालनी गरेको छ । उहाँलाई दोषल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

नयाँ कार्यसमिति चयन

यसैबीच प्रलेस लुम्विनीमा नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष पंकज श्रेष्ठ, उपाध्यक्ष तिलक लामिछाने, महिला उपाध्यक्षमा शारदा शर्मा, सचिवमा रामप्रसाद पोखरेल, सह सचिवमा रिंकु वाग्ले, सदस्यहरुमा अर्जुन सर, बुद्धिराम गैरे, माधवा भुषाल, प्रभात सुवेदी, गिताञ्जली पछल्डङ्ग्या, सूर्यराज गौतम, रेशम विसी, जगदिश ढकाल, केशव बेल्वासे, खेमराज शर्मा र कृष्ण डाँगी हुनुहुन्छ । २१ सदस्यीय कार्यसमितिमा चारजना पछि मनोनित गरिने भएको छ ।

चुुनढंगा खानी क्षेत्रको अवरोध खोल्ने सहमती

चार महिनादेखि खानी बन्द हुँदा उद्योगमा समेत प्रभाव परेको थियो ।

राप्ती पोष्ट

घोराही, चैत । मानव स्वास्थ्य र पूर्वाधारमा असर पर्न थालेपको भन्दै बंगलाचुली गाउँपालिकाले बन्द रहेको दाङको बंगलाचुुलीस्थित चुुनढंगा खानी क्षेत्र चैत ७ गतेबाट संचालनमा आउने भएको छ ।

बंगलाचुुली गाउँपालिकाका प्रतिनिधिहरु, सिमेन्ट उद्योग प्रतिनिधि, टिप्पर व्यवसायीहरु र नागरिकहरु सहभागि भएर गरिएको छलफलपछि चुनढुङ्गा उत्खनन्को काम सुचारु गर्ने सहमति भएको थियो । जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संयुुक्त बैठकले टिपरले चुनढुुंगा ढुवानी गर्दा सडक र वातावरणमा पारेको असरलाई निवारण गर्ने गरी चुुन ढुुंगाखानी संचालन गर्न दिने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले मदन भण्डारी मार्ग देखि चुनढुङ्गा खानीसम्म जोड्ने ४ किलोमीटर पहुँच मार्ग सिमेन्ट उद्योगले फुटपाथसहित कालोपत्रे गर्ने कार्य छिटो भन्दा छिटो सम्पन्न गरिसक्न निर्माण पक्षलाई ताकेता गरेको छ ।

यसैगरी, बंगलाचुली गाउँपालिकाले सिफारिस गरेको आधारमा घोराही बंगलाचुली सडकका अत्यावश्यक स्थानमध्ये बढीमा ६०० मिटर सडक कालोपत्रे गर्ने निर्णय गरेको छ । सिमेन्ट उद्योगहरुले धुलो नियन्त्रणका लागि अन्य आवश्यक उपायहरु अवलम्बन गर्न र त्यसको उचित कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ ।

यसैगरी, यस अघि भएका सम्झौताहरुको तत्काल कार्यान्वयन सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गराएको प्रमुुख जिल्ला अधिकारी रेग्मीले बताउनुुभयो । बंगलाचुुलीको तापामा रहेको चुुनढुंगा खानी क्षेत्रबाट दैनिक सयौँ टिपरले भारबहन क्षमता भन्दा बढी ढुवानी गरेपछि करोडौँ रुपैया खर्च गरेर कालो पत्रे गरिएको सडक केही दिनमै भत्किएको छ ।

टिप्परले उडाएको धुलोका कारण स्थानीयको खेतबारीमा लगाइएको अन्नबाली तथा पशुुचौपायामा पनि असर गरेपछि खानी उत्खनन् र ढुुवानीमा पालिकाको पहलमै रोकिएको थियो । मंगलबारको बैठकमा घोराही उपमहानगरपालिकाका नगरप्रमुुख नरुलाल चौधरी, बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली, सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, प्रमुख प्रशासकीय अधिकृत टंकराज गौतम, नागरिक सरोकार समितिका तर्फबाट नारदमणि पोख्रेल, घोराही सिमेन्ट उद्योगका तर्फबाट अमर सुवेदी, संजय भुसाल, सम्राट सिमेन्ट उद्योगका तर्फबाट बासुदेव पाण्डे, दामोदर भट्टराई, टिप्पर व्यवसायी समितिका तर्फबाट सुरज पोख्रेल, आरके पाण्डेय, बसन्तराज अधिकारी सहभागी हुनुभएको थियो ।

मानव स्वास्थ्यमै गम्भीर असर पर्ने गरी चुनढुंगा उत्खनन् भइरहेको भनेर पालिकाले निर्णय नै गरेर उत्खनन्मा रोक लगाएको थियो । उद्योग बन्द भएपछि त्यसको उल्टो असर परेपछि जिल्ला प्रशासनले चासो लिएको थियो । राज्यलाई करोडौं रुपैया राजश्व तिर्ने उद्योग बन्द भएपछि त्यसको असर अनेत्र पर्न थालेको गुनासो आइरहेको थियो । उद्योग बन्द हुँदा रोजगार पाएकाहरुको रोजगार गुमिरहेको थियो । टिप्पर व्यवसायी मर्कामा परेका थिए ।

घोराहीको वडा नं. १ को विकट माले गाउँमा पुग्यो खानेपानीको सुबिधा

राप्ती पोष्ट

घोराही, चैत । करिव पाँच बर्ष स्थानीय तहको निर्वाचन हुँदा वडाध्यक्षका उमेदवार राममणि पाण्डेले आफ्नो कार्यकालमा जसरी पनि पानी पुराउने बाचा गर्नुभएको थियो । घोराही उपमहानगरपालिकाको वडा नंं १ माले विकट बस्तीका रुपमा रहेको छ । जहाँ पानी पुराउने सपना पुरा भएको छ ।

वडा नं. १ को सल्लीकोट मालेमा खानेपानीको अभाव थियो । मालेबासीलाई पानीको व्यवस्थापन गर्न मुस्किल थियो । दैनिक रुपमा चाहिने पानीका लागि उनिहरु करिव डेढ घण्टाको वाटो हिडेर डाँगीचिरा पुग्नुपर्ने बाध्यता थियो । बाटो नहुँदा भन्दा पानी नहुँदा स्थानीयलाई पिरोलिरहेको थियो । आफूले खानुप¥यो । बस्तुभाउलाई खुवाउनु प¥यो । सिचाईका लागि पानी त टाढाको कुरा । खानेपानीको निकै अभाव थियो । पानीको अभावमा चर्पी प्रयोग भएका थिएनन् । पानीका कारणले भोगेका समस्या त कति छन कति । तर त्यो समस्याको समाधान भएको छ । सोलार मोटरवाट पानी लिफ्ट गरी गाउँमा पानी पु¥याइएपछि पहिलेका दुःख विर्सने अवस्था आएको छ ।

घोराही उपमहानगरपालिका १ नम्बर वडा कार्यालयको तीन लाख रुपैँयाको बजेटमा घर–घरमा खानेपानी पु¥याइएको हो । उपभोक्ता समितिले बजेट पाएपछि खानेपानीको समस्या समाधान गरेका छन् । तीन एचपीको मोटर राखेर करिव १३ मिटर माथि पानी उकालेर खोपानीको व्यवस्थापन गर्न सकिएको घोराही १५ स्थित ज्योति इनर्जी ट्रेडर्सका संचालक भरतमणि अधिकारीले जानकारी गराउनुभयो । यसवाट तल्लो र माथिल्लो मालेका करिव ४५ घरधुरी लाभान्बित भएका छन् । पहिले त्यहाँ जाँदा पानीको हाहाकार भएपनि पानी पाएपछि भने गाउँलेहरु खुसी भएको उहाँको भनाई छ ।

यो भन्दा पहिले पानीको व्यवस्थापन नगरिएको होइन् । हालको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पहिले जिल्ला खानेपानी हुँदा सोलारवाटै गाउँमा पानी लगिएको थियो । करिव पाँच बर्ष अगाडी खानेपानीको व्यवस्था गरिएको थियो । तर करिव डेढ बर्ष अगाडी मोटर विग्रदा मालेवासीलाई खानेपानीको समस्या भएको हो । अहिले फेरी डिसी मोटर जडान गर्दा पानीको समस्या समाधान गर्न सकिएको हो ।

सोलर लिफ्टका माध्यमवाट पानी आएपछि खुसी लागेको स्थानीयले बताएका छन् । पानी नहुँदा घण्टौ हिडेर खानेपानीको जोहो गर्नुपरेको थियो, तर अहिले घर आगनमै पानी आएको छ”स्थानीय गिरा तिवारीले भन्नुभयो । गाउँमा पानीको सुविधा भएपछि अव पानीकै लागि भनेर समय छट्याउनुपर्ने छैन् । गाउँमा सरसफाई कपडा धुन नुहाउनलाई सहज हुने उहाँको भनाई छ ।
यस्तै घोराही उपमहानगरपालिका वडा नं. १ को अदुवाबारीमा सोलार लिफ्ट योजनाको काम सम्पन्न भएको छ । सिचाइ सुविधा पु¥याउनका लागि वडाले योजना कार्यान्वयन गरेको हो । ट्याङकी र पाइप लगाएतका बाहेक साढे चार खाख रुपैँयाको १२ वाटको सोलार सिष्टम जडान गरिएको छ । ज्योती इनर्जी ट्रेडर्सले सोलार सिष्टम जडान गरि सिचाइँ पानी खेतवारी सम्म पु¥याएको हो ।

गत बर्ष ट्यांकी निर्माणको काम सम्पन्न भएको थियो । भने यसवर्ष पानीको व्यवस्थापन गरिएको छ । सिचाइँ सुविधा संगै त्यहाँको कृषि वालीको उत्पादन बढ्ने नागरिकको अपेक्षा छ । पहिले सिचाइँ पानीको अभावमा वारीहरु सुख्खा हुने गर्दथे । सिचाइँको लागि पानीको व्यवस्थापन गरेपछि भने त्यहाँका कृषकहरुले कृषि उत्पादन तर्फ लागेका छन् । पानी पाएपछि खुसी लागेको स्थानीय कृषकहरु बताउछन् ।

घोराही उपमहानगरपालिका वडा नंं १ का अध्यक्ष राममणि पाण्डेले हरेक नागरिकलाई स्वच्छ पानी खुवाउनका लागि आफूले माले र अदुवाबारीमा पानीका लागि लिफ्टको योजना ल्याएको बताउनुभयो । पानीका लागि अन्य उपाय केही नभएपछि सोलारबाट पानी तान्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा पानीको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले सोलारको प्रयोग गरेर पानी तान्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । वडाका सवै नागरिकलाई स्वच्छ र स्वस्थ पानी पुराउने अभियान चलिरहेको पनि उहाँले बताउनुभयो ।

सगरमाथा सिमेन्ट दाङ क्रिकेटमा सहयोगी थपिदैं

राप्ती पोष्ट

दाङ, चैत । दाङ जिल्ला क्रिकेट संघले आगामी चैत १२ गतेदेखि घोराहीमा संचालन गर्न लागेको सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिग–२०७८का लागि सहयोगी थपिने क्रम बढेर गएको छ । क्रिकेट प्रतियोगितालाई भव्य र आकर्षक बनाउनका लागि दाताहरुले सहयोग गरिरहेको आयोजक दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैंयाले जानकारी दिनुभयो ।
प्रतियोगिताको पहिलो पुरस्कार सगरमाथा सिमेन्टले उपलव्ध गराएको छ भने दोस्रो पुरस्कार समाजसेवी गणेश रोका मगरको परिवारले प्रदान गरेको छ । गतबर्ष निधन हुनुभएका रोकाको परिवारले उहाँकै संझना र सम्मानमा पुरस्कार घोषणा गरेको हो । रोकाकी श्रीमती कमला रोका र छोराहरु नारायण रोका मगर, गुप्ता रोका मगर, कैलाश रोका मगर र अशोक रोका मगरले दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँलाइ रकम हस्तान्तरण गर्नु भएको थियो ।

समाजसेवी गणेश रोका मगर र वहाको परिवारले २०४३ सालदेखि दाङको क्रिकेट बिकासमा सहयोग गर्दै आउनु भएको र वहाको परिवारबाट दाङलाइ प्रतिनिधित्व गर्दै नारायण रोका मगर, गुप्ता रोका मगर, कैलाश रोका मगर र अशोक रोका मगरले राष्ट्रिय स्तरको विभिन्न प्रतियोगिता खेल्नु भएको छ भने कैलाश रोका मगर हाल लुम्बिनी प्रदेशका मुख्य छनोटकर्ता तथा र अशोक रोका मगर दाङ जिल्ला क्रिकेट संघका सल्लाहकार हुनुहुन्छ ।

दाङमा पहिलो पटक ठूलो अक्सनमा (खेलाडी किन बेच) आधारित भएर हुन लागेको प्रतियोगितालाई धेरैले चासोको रुपमा लिएका छन । प्रतियोगिताको संरक्षकको रुपमा घोराही उप महानगर पालिका, प्रमुख प्रायोजक सगरमाथा सिमेन्ट, हपिस्टालिटि पाटनरमा भिन्ग्रेली रिसोर्ट, इन्सोरेस पार्टनर शिखर इन्सोरेस, गोल्ड स्पोंसरमा किसान ट्रेडीङ् कन्सर्न– इसुजु गाडी रहेको छ । विभिन्न व्यक्तिगत र संस्थागत सहयोग संकलन भैरहेको दाङ जिल्ल्ला क्रिकेट संघका सचिब संजु केसीले जानकारी जानकारी दिनु भएको छ ।

प्रकाशको गोल्ड प्रायोजन

दाङ जिल्ला क्रिकेट संघले संचालन गर्न लागेको सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिग–२०७८ को गोल्ड प्रयोजकको रुपमा खेलप्रेमी समाजसेवी वसन्त राज थापा (प्रकाश) जोडिनु भएको छ । सोमबारसम्पन्न अक्सन (खेलाडी खरिद) कार्यक्रममा उपस्थित भएमा थापाले अक्सन कार्यक्रममा ५० हजार नगद दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँलाइ हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै थापाले युवाहरुको सकारात्मक र दाङ लाई चिनाउने प्रयासमा आफ्नो सानो सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । यस्तै लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष दुर्गा थापा मगरले प्रतियोगिताको सफलताको लागि २५ हजार रुपैया सहयोग गर्नु भएको थियो । प्रतियोगिताका लापिग सन्तोस दाहालले २० हजार, मुकेश डिसीले १५ हजार र शिशिर अधिकारी, श्रीजना पोख्रेल, डुल्लु राम पोख्रेल, भावना चन्द ठकुरी (स्वर्गीय छोरा प्रभाकर कँवरको स्मृतिमा) १०÷१० हजार सहयोग प्रदान गरेको संघले जनाएको छ ।

दलजितपुर र हापुरमा नयाँ प्रहरी चौकी स्थापना

घोराही, फागुन ।

जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाको शान्ति सुरक्षालाई थप बलियो बनाउन र नागरिकप्रति जनउत्तरदायी भूूमिका निभाउन थप दुुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरेको छ ।

घोराही ५ दलजितपुर र वडा नम्बर ११ को हापुर शिवपुरमा बुधबार अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयबासीको माग अनुसार वडा कार्यालयको सिफारिसमा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।

वडा नम्बर ५ का अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दलजीतपुरमा स्थापना गरिएको चौकीको बुधबार उदघाटन गर्नुभएको थियो । यस्तै वडा नम्बर ११ मा वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले नै अस्थायी चौकीको उद्घाटन गर्नुभएको थियो ।

अस्थायी प्रहरी चौकी गाउँमै स्थापना भएपछि स्थानीयबासी हर्षित भएका छन् । गाउँको शान्ति सुरक्षा र अमन चयनमा थप टेवा पुग्ने स्थानीयले विश्वास लिएका छन् । वडा नम्बर ११ मा स्थापित अस्थायी प्रहरी चौकीले सिंगो वडा, तुलसीपुर उपमहानगरको वडा नम्बर १७, १८ तथा घोराही १२ का विभिन्न गाउँका नागरिकलाई सुरक्षा महसुुस भएको वडा अध्यक्ष लामिछानेले बताउनुुभयो ।

उता, घोराही ५ मा दलजीतपुरमा स्थापित अस्थायी प्रहरी चौकीले साविक धर्ना गाबिसका नागरिकले लाभ लिन सक्ने भएका छन् । स्थानीय बासीको माग बमोजिम ग्रामीण क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुुभयो । नागरिकको भौतिक तथा सामाजिक सुरक्षाका लागि प्रहरी सँधै साथमा रहने बताउँदै उहाँले समुदाय प्रहरी साझेदारी अभियानमार्फत समाजलाई समुन्नत बनाउन सकिनेमा जोड दिनुुभयो ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रंहरी उपरीक्षक सुरेश काफ्लेले ग्रामीण क्षेत्रमा प्रहरी चौकी स्थापना गरिएसँगै समाजमा हुने सबै खाले अराजकता अन्त्य हुने भएपनि यसमा नागरिकको साथ अपरिहार्य रहेको बताउनुुभयो । उहाँले गाउँमा जुवातास, झैझगडा, तस्करी जस्ता आपराधिक घटना हुने गरेको जस्ता गुनासो आएकाले यो काम नागरिककै लागि हो भन्ने धारणा बनाउन आग्रह गर्नुभयो ।

कानून भन्दा कोही पनि माथि हुन नसक्ने बताउँदै उहाँले प्रहरी नागरिककै पक्षमा रहेपनि गलत काम गर्ने जोकोही भएपनि उन्मुक्ति नपाउने बताउनुुभयो । ‘कानूनभन्दा माथि कोही छैन, गाउँका नागरिकबाटै गुनासो आएकाले प्रहरीले काम अघि बढाएको हो,’ उहाँले भन्नुुभयो, ‘यहाँ तास खेल्ने, झैझगडा गर्ने, साँझ चोकमा बसेर अनावश्यक काम गर्ने, कुलतमा लाग्ने, गाईगोरु तस्करी गर्ने जस्ता कुरा आएको छ हामी यी नकारात्मक पक्षलाई नियन्त्रण गर्छौँ ।’
अस्थायी प्रहरी चौकी स्थापना कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिको विशेष उपस्थिति रहेको थियो । उहाँहरुले स्थानीयबासीको साथ सहयोग र सहकार्य रहने बताउनुुभयो । दुवै अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा छ जनाको प्रहरी टोली खटिएकोे छ ।

अटो रिक्साको मनपरी भाडामा भएन नियमन

छबि पुरी/राप्ती पोष्ट

घोराही, फागुुन । तीन दिन अघि घोराहीको नयाँ बसपार्कबाट तुुलसीपुुर चोकसम्म अटो रिक्सामा यात्रा गरेका चार जनाले चार सय रुपैयाँ भाडा तिरे । उनीहरुको साथमा दुुई वटा झोला पनि थियो । दुरीका हिसावले नयाँ बसपार्कबाट तुलसीपुर चोक बढिमा दुई किलोमिटर मात्रै होला । तर, दुई किलोमिटर मात्रै यात्रा गरेका चार जनाले चार सय तिर्न बाध्य भए ।
यो भाडा त महंगो भएन र ? भन्दा रिक्सा चालकको तुरुन्तै जवाफ आयो तेलको मुल्य बढेर कहाँबाट कहाँ पुगि सक्यो यति भाडा त लागि हाल्छ नी । अलि भाडा मिलाउनु घोराहीको तुलसीपुर चोकमा रिक्सा चालकसँग भाडाको विषयमा यसरी बहस गरिरहेका ती चार जनाले अटोवालाले मागेको भाडा नै तिर्न बाध्य भए । दुुई दिन अघि रतनपुरबाट राप्ती स्वास्थ्य वित्रान प्रतिष्ठान अघि पुुगेका दुई जनाले तीन सय तिरे । उनीहरु यसअघि एक सय पचास तिरेर जाने गरेका रहेछन् । अटो रिक्साले यसरी अचाक्ली भाडा बढाएर लिएपछि उनीहरु तर्सिए ।

स्थानीय नगरबासीहरु अटो रिक्साले कति भाडा लिन्छन् भन्नेमा सामान्यतया अभ्यस्त छन् । तर, केही दिनयता आफु खुशी भाडा बढाएर तोक्ने परिपाटी अटो रिक्सा चालकहरुमा देखिएको छ । घोराहीको बालमन्दिरबाट तल गुलरिया चोकसम्म पुुगेको ५० रुपैयाँ मात्रै हो । तोकिएको भाडा भन्दा अहिले दोब्बर रुपैयाँ बुझाए पछि मात्रै अटोमा यात्रा गर्न सकिन्छ । बुधबार घोराही १५ का निरज थापा रतनपुरबाट भरतपुर जान लाग्नुुभएको थियो । अटो रिक्सामा जानुपर्ने बाध्यताले उहाँले रिक्सा रोक्नुुभयो । उहाँको गन्तव्यसम्मको भाडा ७५ रुपैयाँ हो तर रिक्सा चालकले एक सय पचास मागे ।
अटोमा जानको लागि अटो चालकसँग भाडामा कुरा मिलेन । ‘भरतपुरसम्मको भाडा त ७५ रुपैयाँ तो हो नि ? तपाई भाडा बढाएर भन्दै हुनुहुन्छ । उहाँले फेरी भाडा घटाउन अटोरिक्सा चालकलाई आग्रह गर्नुभयो । अटो रिक्सा चालकले १५० रुपैयाँ भाडा दिने भए लैजाने नत्र पु¥याउन नसक्ने जवाफ दिए । अन्ततः १२५ भाडा तिर्नको लागि राजि भएपछि चालकले अटोरिक्सा स्टार्ट गरेर भरतपुरतर्फ सोझिए ।

त्यस्तै घोराहीका मनिष शर्माले घोराहीको तुलसीपुर चोकदेखि मालपोतसम्म गएकोे अटो रिक्सामा भाडा एक सय रुपैयाँ तिर्नुभयो । यसअघि उहाँ ५० रुपैयाँमा पुग्ने गर्नुभएका शर्माले एक सय रुपैयाँ भाडा बुझाउँदा आक्रोशित हुनुुभयो तर नतिरी छट्टुी पाउनुुभएन । ‘अटो रिक्साहरुले मनपरी भाडा लिन थालेछन्,’ शर्माले भन्नुभयो ‘यसरी आफुु खुुशी भाडा बढाएर लिने हो भने कसरी चल्छ हो ।’ ‘दीपशिखा चोकमा तरकारी तथा फलफुलको व्यवसाय गर्दै आएका एक व्यवसायीले सामान ओसारपसार गर्ने काम अटोमार्फत गर्नुहुन्छ । यसअघि बजारको सब्जीमन्डीबाट १५० मा सामान ढुवानी गर्दै आएकोमा अहिले २५० रुपैयाँ तिनुपरेको गुनासो गर्नुभयो ।

‘म त नियमित रुपमा अटोमा सामान ल्याउँछुु,’ उहाँले भन्नुुभयो, ‘यो अचाक्ली भयो, कसले भाडा बढाउन लगायो खै, आफै भाडा तोकेका छन् लिएका छन् ।’ उसो त अटो रिक्सा चालकहरुले लिने भाडामा एक रुपता छैन । ग्राहक अनुुसार उनीहरुले भाडाको मोलमोलाई समेत गर्न थालेका छन् । केहीदिन यता घोराहीमा अटोरिक्सा चालहरुले मनोमानी रुपमा भाडा लिने गरेको जनगुनासो बढ्न थालेको छ । पछिल्लो समयमा अटोरिक्सामा आवतजावत गर्नेहरुको संख्या बढ्दै गएको र भाडा पनि बढाउँदै गएको यात्रुहरुको भनाई छ ।

घरायसी सामान होस् वा व्यापारी प्रयोजनको लागि प्रयोगका सामानहरु प्रायः अटोरिक्सामा नै ओसारपसार गर्नुपर्ने अवस्थामा यो भरपर्दो साधन भन्दा डरलाग्दो साधनमा परिणत हुने अवस्था बन्दै गएको छ । ‘आपतको बेलामा सामान्य बिरामीदेखि घरदेखि कार्यालय वा अन्य कुनै कामको लागि जान प¥यो भने अटोरिक्साको नै बढी प्रयोग हुन थालिसकेको थियो, अहिले यिनै अटो रिक्साले रुवाउन थाले,’ घोराहीकी लक्ष्मी श्रेष्ठले भन्नुुभयो, ‘आफुुसँग साधन छैन, अटो रिक्साले टुप्पी कसेर भाडा असुल्छन् ।’ प्रत्येक अटो रिक्सा चालहरुसँग घोराहीको तुलसीपुर चोकलाई केन्द्र मानेर भाडा कायम गरिएको भाडा दरको प्रमाण–पत्र पनि साथमा राखिएका हुन्छन् । तर कायम गरेको भाडा दरभन्दा तीन गुना बढी भाडा असुल्ने गरेका छन् ।

पाँच वर्षभन्दा माथिलाई पूरै भाडा लाग्ने र एक जना मात्र भएमा ५० रुपैयाँमा भाडा लिने दर रेट निर्धारण गरिएको छ । तर अटोरिक्सा चालकहरुले एकजना यात्रु भएपनि ५० रुपैयाँ, चार जना यात्रु भएपनि गन्तव्यसम्म पु¥याउनको लागि प्रति व्यक्ति ५० रुपैयाँ लिने गरेकोमा अहिले यो दर बढाएर आफै भाडा दर बनाएका छन् । घोराहीमा अटो रिक्सा चालकहरुको पनि समिति छ । तर, समितिलाई छलेर ती अटो रिक्सा चालकले बदमासी गरी आर्थिक लाभ उठाउने गरेका छन् । लालीगुराँस टेम्पो तथा रिक्सा यातायात प्रालिले मनोमानी भाडा लिएका अटोरिक्सा चालकहरुलाई सम्बन्धित अटोरिक्सा समितिमा खबर गरेको छ । केही बदमास अटो रिक्सा चालकका कारण सबै अटो रिक्सा चालकलाई नै बदनाम गराउने काम भएको केही रिक्सा चालकको गुुनासो छ । नियमसंगत रुपमा अटो रिक्सा नचलाउनेहरुबाट नै केही अटो रिक्सा चालक आजित बनेका छन् ।

उता, तुलसीपुर क्षेत्रमा अटो रिक्सले मनलाग्दी भाडा असुलेको जनगुनासो बढेपछि नयाँ भाडा दर लागू गरिएको छ । घोराहीमा मात्रै आधा दर्जन अटो व्यवसायी समिति मातहत संचालित छन् । अम्बिकेश्वरी रिक्सा यातायात प्रालि, बराहदेव रिक्सा यातायात प्रालि, लालीगँुरास रिक्सा यातायात प्रालिलगायत अहिले अटो रिक्सा चलेका छन् । घोराही बजारमा अटो चालकहरुले मनपरी भाडा लिने मात्र होइन् अव्यवस्थित रुपमा पार्किङसमेत गरेका छन् ।

घोराहीका मुख्य चोकमा अव्यवस्थित पार्किङका कारण सडक साँघुरो हुँदै गएको छ । सडक लेनको प्रयोग नगर्ने, मनलाग्दी अटो रिक्सा कुदाउने तथा जहाँ पायो त्यहीबाट रिक्सा घुमाउने जस्ता कारणले धेरै जसो दुर्घटना अटो रिक्साकै कारण हुने गरेको छ । जिल्लामा मोटर साईकल पछि दोश्रो नम्बरमा दुर्घटना हुने सवारीमा अटोरिक्सा पर्ने गरेको जिल्ला ट्राफिक प्रंहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक थम्मन जिसीले बताउनुुभयो ।

‘बजार क्षेत्रमा पनि तीव्र गतिमा अटो कुदाउने काम भएको पाईन्छ, हामीले बारम्बार अटो रिक्सा चालकलाई सचेतना प्रदान गर्दै आएका छौँ, तर भनेको टेरेको पाइएको छैन, जरिवाना गरेपछि केही दिन सतर्क हुुन्छन् फेरी अवस्था उस्तै हुुन्छ,’ प्रमुुख जिसीले भन्नुुभयो, ‘यसका लागि सवारी चालक गम्भीर बन्नै पर्छ ।’ उसो त जिल्लामा मात्रै अहिले करीव ९ हजार भन्दा बढी अटो रिक्सा कुद्ने गरेको प्रहरीको भनाई छ । बजारभन्दा ग्रामीण क्षेत्रमा अटो रिक्साले झन मनलाग्दी भाडा असुल्ने गरेका छन् । घोराही उपमहानगरपालिकाले पनि नगर क्षेत्रमा चल्ने अटो रिक्सालाई पालिकामा सूचीकृत हुन यस अघि सूचना जारी गरेको छ । पालिकाका राजस्व शाखा प्रमुुख कृष्ण केसीका अनुसार घोराहीमा अहिले करीव १२ सय वटा अटो रिक्सा मात्रै सूचीकृत भएका छन् ।

जबकी घोराहीमा मात्रै २५ सय भन्दा बढी अटो रिक्सा कुद्ने गरेका २०७२ सालदेखि घोराहीमा अटो रिक्सा चलाउँदै आउनुुभएकी लक्ष्मी राना बताउनुुहुन्छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनकी केन्द्रीय सदस्यसमेत रहनुुभएकी रानाले अटो रिक्साको भीडले घोराही बजार अव्यवस्थित बन्दै गएको बताउनुुभयो । ‘हामीले घोराही उपमहानगरलाई घोराही बजारमा कति अटो रिक्सा कुुदाउने हो स्पष्ट हुनुुस् भनेका हौँ, त्यही अनुसार कार्य विधि बनाएर अटो रिक्सा चलाऔँ भनेको पनि धेरै पटक भयो, सुुनुवाई हुुदैन, बजारमा अटो रिक्साको भीड लागेको छ’ उहाँले भन्नुुभयो, पालिकाले दिएको तथ्यांकमै अटो रिक्सा थोरै छ, जबकी घोराहीमा पच्चीस सयभन्दा धेरै अटो कुद्छ ।’

अहिले बढ्दो पेट्रोलिय मुल्यको आधारमा अटो रिक्सा चालकले आफुु खुुशी भाडा दर निर्धारण गर्न नहुुने उहाँको भनाई छ । प्रालि, समिति, स्थानीय सरकार, सरोकार निकायबीचको समन्वयको आधारमा मुल्य निर्धारण गरेर भाडा लिनुु पर्ने उहाँ बताउनुुहुुन्छ । अहिले अधिकांश अटोरिक्साले चर्को भाडा असुुलेको जनगुनासो आईरहेको उहाँको स्वीकारोक्ति छ । यसका लागि चाँडै नै बैठक बसी समस्या समाधान गर्न ध्यानाकर्षण गराउने उहाँले बताउनुुभयो ।

 

हात्तीपाईलेको औषधि नखाइदिंदा पुनः अभियान संचालन गर्नुपर्ने बाध्यता

विमला घर्ती/ राप्ती पोष्ट

घोराही/फागुन । हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान चलाएको १२ पटक पुग्यो । तर दाङ जिल्लामा हात्तीपाइले रोग निवारण हुन सकेको छैन् । सबैले औषधी सेवन नगर्दा निरन्तर रुपमा अभियान चलाउनुपरेको छ । यसपटक पनि फागुन २८ गते देखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान चलाउन थालिएको छ ।

यस अघि ११ पटक दाङ जिल्लामा हात्ती पाइले विरुद्ध औषध सेवन अभियान चलाइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय दाङले हात्तीपाइले रोगलाई निर्मुल गर्नका लागि सबै नागरिकलाई औषधी सेवन गर्न आग्रह गरेको छ । अहिले दाङ, बाँके, कपिलवस्तु जिल्लामा हात्तीपाइले रोग निवारण हुन सकेको छैन् । यी सवै जिल्लाहरुमा हात्तीपाइले रोग विरुद्ध अभियान चलाइने भएको छ । नागरिकहरुले औषधी नखाइदिंदा लक्ष्यमा पुग्न नसकिएको स्वास्थ्य कार्यालयको भनाई छ ।

अभियान चलाउनुभन्दा अगाडी जिल्लाको स्थितिका विषयमा स्वास्थ्य कार्यालयले सर्भे गरेको थियो । सिसहनियामा तीन सय १४ जनालाई परिक्षण गर्दा १५ जनामा हात्तीपाइलेको लक्षण देखिएको थियो । घोराही रामपुर सुर्केडागीमा तीन सय ३० जनालाई परिक्षण गर्दा ११ जनामा लक्षण देखिएको थियो । यो सर्भेले जिल्लाको स्थितलाई जटिल मान्न सकिने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो । “हरेक वर्ष अभियान चलाइन्छ, कसैले खानुहुन्छ, कसैले खानुहुन्न, जसका कारण अभियान सफल हुन नसकेको हो ।’ उहाँले भन्नुभयो ।

नागरिकको स्वास्थ्यलाई ध्यान दिदैँ करोडौ रकम खर्चेर अभियान चलाएपनि नागरिकको लापरवाहीका कारण अभियानले पूर्णता पाउन नसकेको उहाँको गुनासो छ । “जति पटक हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान चल्न यो अभियानमा तपाईहरु पनि सहयोग गर्नुहोस्, औषधी खानुहोस् । ”उहाँले भन्नुभयो ।

स्वास्थ्य कार्यालयका कमल चन्दले जनचेतनाको कमी, औषधिबारे गलत धारणा र औषधिसम्बन्धी जानकारी नभएको जस्ता विषयले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानले लक्ष्य प्राप्त गर्न नसकेको बताउनुभयो । यो अवस्थालाई सुधार गर्न अहिले स्थानीय तहले सक्रियता देखाउन आवश्यक भएको उहाँको भनाई छ । जिल्लाका स्थानीय तहमा औषधी पठाइसकेपछि स्थानीय तहले औषधी अभियान चलाउनेछन् । रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २०११ बाट जिल्लामा रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको थियो ।

पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्छ । यो परजीवी करिब छवर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार छवर्ष नियमित औषधि सेवन गर्नुपर्ने स्वास्थ्य कार्यालयका चन्दले बताउनुभयो । हात्तीपाइलेको बाहिर देखिने लक्षणहरुमा तत्काल देखिने केही लक्षण हुन्छन भने केही दिर्घकालिन रुपमा देखिने खालका हुन्छन् । यसका लक्षणमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला–काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु जस्ता रहेका छन् ।

यस्तै महिलामा पनि यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्नु, खुट्टा सुन्निनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुक्खा खोकी लाग्नु, दम बढ्नु, रगतमा इयोसिनोफिलको मात्रा बढ्नु र बिरामीले दैनिक क्रियाकलाप गर्न नसक्नु जस्ता लक्षण देखिन्छन् । हात्तीपाइले रोग विरुद्धको औषधी दुई बर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिन सम्मका सुत्केरीले सेवन गर्न हुँदैन् । सरकारले सन् २०३० सम्म नेपाललाई हात्तीपाइले रोग उन्मुलन गर्ने लक्ष्य राखेको छ ।

एमाले दाङले टुङ्गायो विभिन्न जिम्मेवारी

को को थपिए, कस्ले कुन जिम्मेवारी प्राप्त गरे

छवि पुरी/राप्ती पोष्ट

घोराही, फागुन । नेकपा एमाले दाङ जिल्ला कमिटीको पहिलो पूर्ण बैठकमा जिम्मेवारी बाँडफाँड गरिएको छ । नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड गरेको थियो ।
नेकपा एमाले दाङको बैठकमा आगामी निर्वाचनलाई लक्षित गरेर जिल्लाका सवै वडामा इञ्चार्जको जिम्मेवारी तोकिएको छ । यस्तै क्षेत्र नं. १ मा उपाध्यक्ष राममणि पाण्डे, क्षेत्र नं. २ मा सचिव मनोहर बुढाथोकी र क्षेत्र नं. ३ मा सह सचिव कृष्णप्रसाद भुषालाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

यसैगरी जिल्लाका दश वटै पालिकाको ईन्चार्ज पनि तोकिएको छ । जस अनुसार घोराही उपमहानगरपालिका इन्चार्जमा गेहेन्द्र बस्नेत, तुलसीपुर उपमहानगरपालिका इन्चार्जमा मानबहादुर रावत, लमही नगरपालिका इन्चार्जमा नारायण छम्पाली, दंगीशरण गाउँपालिका इन्चार्जमा भागीराम चौधरी, शान्तिनगर गाउँपालिकामा विष्णुु केसी, राप्ती गाउँपालिकामा हरि बेल्बासे, राजपुर गाउँपालिकामा कुलराज गिरी, गढवा गाउँपालिकामा सहजराम यादव, बंगलाचुली गाउँपालिकामा हेमराज पुन चयन हुनुुभएको छ ।

बैठकलाई सम्वोधन गर्दै पोलिटव्युरो सदस्य नरुलाल चौधरी

गत पुस २३ गते सम्पन्न जिल्ला अधिवेशनले तय गरेको १० प्रतिशत जिल्ला कमिटी सदस्य पनि मनोनित गरेको छ । जिल्ला सदस्यमा मनोनित हुनेहरुमा सविन प्रियासन, श्याम आचार्य, बुुद्धिराम बुुढा, प्रेमनाथ योगी, जितेन्द्र शाह, पूूर्ण वली, हरि गोराथोकी, नारायण खनाल, सुुनिल आचार्य, निमबहादुर केसी, सुरेश आचार्य, मोहन पौडेल, नवराज देवकोटा, लक्ष्मण भण्डारी, जीतबहादुर केसी, विकल्प भण्डारी, विकास डाँगी, दुुर्गा पन्थ, पूर्ण थापा, गोपाल ज्ञवाली, गोपाल विक, मनोज लामिछाने, डिल्ली पाण्डे, रविलाल घर्ती, पदमप्रसाद पाण्डे, कमल केसी हुनुहुन्छ ।

यसैगरी, जिल्ला सदस्यमा किरण रेग्मी, गिरबहादुर कवँर, पूर्णबहादुर बस्नेत, लोकबहादुर खत्री, गोपाल वली, विष्णुुराम आचार्य, मोहन विक, सहदेव थारु, मोहन आचार्य, सर्वजीत वली, माधव पाण्डे, धर्म सेजवाल, सन्तोष केसी, देवुु बस्नेत, एकराज खनाल, धर्मबहादुर नेपाली, बासुुदेव भुसाल, पिताम्बर आचार्य, विकास नेपाल, डोमकान्त विष्ट, धर्म परियार, गोकर्ण वली, सुरेश रावत, रामबहादुर डाँगी, युवराज ज्ञवाली, दुुर्गा श्रेष्ठ, दिलिप खनाल, मानबहादुर आले, सुमन पोख्रेल, तिलक डाँगी, सागर खनाल, लोकबहादुर वली, बलदेव आचार्य, उमेश विकलाई पनि मनोनित गरिएको नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुुभयो ।

यसैगरी बैठकले विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी प्रदान गरेको छ । जस अनुुसार संगठन विभाग प्रमुखमा श्याम डाँगी, स्कुल विभाग प्रमुुखमा विवेक श्रेष्ठ, प्रेस चौतारी विभागमा संगीत बस्याल, युवा तथा खेलकुुद विभागमा सुरेश रावत, खानेपानी तथा सरसफाई विभागमा नारायण छम्पाली, प्रचार विभागमा सविन प्रियासन, किसान महासंघ विभागमा सुदन केसी, युवाको जिम्मेवारी सुरेश रावतलाई, विद्यार्थीको जिम्मेवारी पवन रिजाललाई चयन गरिएको छ । अन्य विभागहरुमा पनि विभिन्न सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी बैठकले जिल्लाका सय वटै वडाहरुमा पनि इन्चार्ज तोकेको सचिव बुढाथोकीले बताउनुुभयो ।

बैठकलाई नेकपा एमाले दाङका इञ्चार्ज तथा पार्टीका पोलिटव्युरो सदस्य नरुलाल चौधरीले सम्वोधन गर्नुभएको थियो । उहाँले निर्वाचनको दिन नजिक आएकाले निर्वाचनमा जित हासिल गर्ने गरी काममा खटिन आग्रह गर्नुभयो । अघिल्लो निर्वाचनमा नेकपा एमाले एक्लैले दाङका छ वटा पालिकामा जित हासिल गरेको स्मरण गर्दै आगामी निर्वाचनमा सत प्रतिशत नतिजा निकाल्ने गरी खटिुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

चौधरीले आसन्न स्थानीय तहको निर्वाचनमा सबै पालिकामा जीत हासिल गर्ने गरी पार्टी संगठन, विभाग, जनवर्गीय संगठनलाई निर्देशन दिनुुभयो । विभिन्न आरोह अवरोह पार गर्दै पार्टी पंक्ति अघि बढेको बेला नागरिकको आकर्षणलाई आत्मसात गर्दै देशमा जनताकोे पार्टी भनेकै नेकपा एमाले हो भन्ने सन्देश दिन र त्यही अनुुरुप जनमत ल्याउने अभियानमा गोलवद्ध हुुन अपिल गर्नुभयो । अहिले दाङसहित देशैभर एमालेको जनलहर चलेको बेलामा जनताको भावनाको उच्च कदर गर्नु एमालेजनको पहिलो कर्तव्य भएको उहाँको भनाई थियो । ‘जनताको पार्टी भनेकै नेकपा एमाले हो, यसमा जनताको विश्वास र भरोसा अडेको छ, हामीले मन वचन र कर्मले जनताको पक्षमा हिजो जसरी काम गर्योँ त्यसैको जगमा आज हामीलाई देशभर जनताले विश्वास गरेका छन्,’ उहाँले भन्नुुभयो, ‘यसका लागि हामीमा हिजोको जस्तै इमान्दारिता रहनुुपर्छ ।’

२०७४ को स्थानीय निर्वाचनको समीक्षा गर्दै अब सय वटै वडामा नेकपा एमालेमय बनाउन गहन रुपमा गृहकार्य गर्न आवश्यक भएकाले जिल्लाको पूर्ण बैठकबाट जिम्मेवारी पाएका तथा विभिन्न संगठनमा रहेका सबैले इमान्दार प्रयास जारी राख्नुुपर्ने बताउनुुभयो ।

यस्तै पोलिटव्युरो सदस्य तथा संसदिय दलका सचेतक शान्ता चौधरीले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले गरेका राम्रा कामहरु जनताको बीचमा लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपा एमालेप्रति जनताको आशा र भरोसा बढेर गएको भन्दै जनताकालाई निरासा पार्ने गरी बर्तमान गठवन्धनले काम गरिरहेको बताउनुभयो । बैठकमा केन्द्रिय सदस्यहरु सीता सिग्देल न्यौपाने, गंगा चौधरी, प्रदेशसभा सदस्य सरस्वती गौतम, निवर्तमान जिल्ला अध्यक्ष टिकाराम खड्का, नेता शम्भु गौतम लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

यस अघि गत पुस २४ गतेको अधिवेशनबाट निर्वाचित सवै पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । निर्वाचन समितिका अध्यक्ष दामोदर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पदाधिकारी र सदस्यलाई प्रमाण पत्र प्रदान गरिएको थियो । सपथ खान बाँकी सदस्यहरुलाई जिल्ला इञ्चार्ज नरुलाल चौधरीले सपथ खुवाउनुभएको थियो ।

 

स्वास्थ्य संस्था अगाडि फोहोरको थुप्रो

छबि पुुरी/राप्ती पोष्ट

घोराही, फागुुन । घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर बजारबाट निस्कने फोहोर व्यवस्थापन नहुुँदा कुुरुप हुुँदै गएको छ । बजारको मुुख्य चोक सफा जस्तो मानिएपनि छेवैका खोल्सा, बाँसघारी, खुला चौर फोहोर बिसर्जन गर्ने थलोका रुपमा परिणत हुँदै गएको छ ।

रामपुर बजार घोराहीको पूर्वी क्षेत्रका नागरिकको पूरानो बजार हो । उपमहानगरपालिका घोषणा भएको पाँच वर्ष बित्नै लाग्दा अहिले रामपुर बजारको स्वरुप फेरिने तयारी भएपनि बजारको फोहोर व्यवस्थापन हुन नसक्दा कुुरुप हुने खतरा बढेको छ । बजारको मुुख्य चोकसँगै रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा जाने बाटो छेउँमा बजारबाट निस्कने फोहोरको डंगुर लागेको छ ।

त्यहाँबाट निस्कने दुुर्गन्ध खाँदै सेवाग्राही र नागरिक दैनिक आउजाउ गर्छन् । फोहोर थुपार्ने थलो बनेको ठाउँमा गल्ने नगल्ने फोहोरले रामपुरबासीलाई गिज्याए पनि त्यसको उचित व्यवस्थापनमा कसैको चासो पुुगेको छैन । रामपुरसम्म पुग्ने सडक अत्यन्त राम्रो रहेको छ भने सडकको दायाँ बाँया जाँदा फोहर जताततै देखिन्छ ।

स्वास्थ्य संस्था अघिल्तिरबाट फोहोरको दुुर्गन्ध खाँदै दैनिक जसो सयौँँ सेवाग्राही, बिरामी शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा उपचारका लागि जाने गर्छन् । स्वास्थ्य संस्थामा जानेहरु मुख तोपेर जानुुपर्ने अवस्था आएपनि त्यसको उचित व्यवस्थापनमा वडा कार्यालय तथा सिंगो उपमहानगर बेखबर जस्तै बनेको छ । फोहोरको डुंगुर फाल्ने थलोभन्दा करिव ५० मिटरको दुरीमा पश्चिम तर्फ वडा नम्बर २ को कार्यालय रहेको छ । त्यही अन्य सरकारी कार्यालय पनि छन् । तर, ती नियामक कार्यालयले त्यहाँको फोहोर बिसर्जन र व्यवस्थापनमा कुनै चासो नलिँदा अहिले सिंगो रामपुर बजार फोहोरले दुुर्गन्धित हुने अवस्थामा पुुगेको छ ।

फोहोरको डंगुरमा प्लाष्टिकजन्य, सिसाजन्य तथा अन्य प्रकारका गल्ने फोहोर पनि यत्रतत्र फालिएको छ । जसले गर्दा खेतमा सिंचाई गर्न बनाइएको सानो खोल्साबाट बग्ने पानी पनि त्यही दुुर्गन्ध र प्लाष्टिक बगाएर खेतमा जाने समस्या रहेको स्थानीयको गुुनासो छ । अहिले तिनै फोहोरका कारण खेतबारीमा विभिन्न खालमा रसायनले समस्या निम्तन लागेको स्थानीय रमेश थापाले बताउनुुभयो । आफ्नो परिसर अगाडिको फोहोर देखेर पनि नदेखेको जसरी काम गरिरहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द रामपुरले सरसफाईका लागि पहल गर्न आवश्यक देखिएको सिनियर अनमी अमृता कवँरले बताउनुुभयो । हामीले यहाँको सरसफाईलाई ध्यान दिएकै छौँ, तर यहाँ आउने बाटोको छेवैमा बजारबासीले जथाभावी फोहोर फाल्ने काम गरिदिँदा समस्या भएको छ, कवँरले भन्नुुभयो, यसका दीगो व्यवस्थापन हुन आवश्यक छ ।’

उसो त, सो शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले पनि उपचार गर्दा निस्कने फोहोरजन्य तथा प्लाष्टिकजन्य बस्तुुलाई आफ्नो परिसरमै जलाउने गरेको पाइएको छ । जसले गर्दा प्लाष्टिक जलेपछि आउने दुषित दुुर्गन्धको असर बिरामी र सेवाग्राहीमा पर्ने गरेको छ । स्वास्थ्य संस्था जस्तो सरसफाईं अनिवार्य चाहिने ठाउँको अगाडि सिंगो. रामपुरबासीले फोहोर व्यवस्थापन गर्न नसक्दा त्यसको असर स्वयं आफैले भोग्नुु परेको छ । ‘अगाडि पसल छन्, पछाडि फोहोर फाल्ने थलो बनेको छ, यस्तो नियतिले भोलि रामपुर बजार कस्तो होला,’ सुमन केसीले भन्नुुभयो, ‘यस बारे सबै पक्षले गम्भीर रुपमा सोँच्न जरुरी छ ।’

रामपुर बजार भोलिको सम्भावना बोकेको बजार हो । यहाँ पूूर्वी क्षेत्रका अधिकांश नागरिक बजार र सेवाका लागि आउने गर्छन् । तर, बजार व्यवस्थापनका विषयमा वडा कार्यालय, स्थानीय टोलबासीले चासो लिन भने नसकेको स्पष्ट थाहा हुुन्छ । स्थानीय टोल विकास संस्था र वडा कार्यालयले बेलैमा फोहोर व्यवस्थापनका बारेमा चासो नलिने हो भने भोलिका दिनमा यही विषयले बिकराल रुप लिने खतरा पनि उत्तिकै छ ।

वडा कार्यालयसँगै सटेको इलाका प्रहरी चौकी, केही पर सामुुदायिक विद्यालयलगायत सेवा प्रदायक संस्था भएपनि उनीहरुको व्यवस्थापनमा स्थानीय सरकारले चासो लिनुु अति नै जरुरी देखिएको सोही वडाका एक सेवाग्राहीले बताउनुुभयो । वडा अध्यक्ष केशव आचार्यले वडाको तर्फबाट निरन्तर रुपमा सरसफाईका विषयमा चासो राख्ने, यसको उचित व्यवस्थापन गर्न अपिल गर्ने काम भईरहेपनि यो समस्या देखा परेको बताउनुुभयो । यसका लागि आगामी दिनमा टोल विकास संस्थालाई सरसफाईका क्षेत्रमा कठोर रुपमा व्यवस्थापन गर्न निर्देशन दिने बताउनुुभयो ।

घोराही उपमहानगरपालिकाले गत वर्षबाट पालिकाबाट उत्सर्जन हुने फोहोर खरीद गर्ने अभियान चलाएको छ । तर, पालिकाबासीलाई फोहोरबाट मोहर कमाउन सकिन्छ भन्ने व्यवहारिक ज्ञान अझै आई सकेको देखिएको छैन । श्रोत केन्द्रबाटै गल्ने र नगल्ने फोहोरलाई अलग्याएर बिक्रिका लागि राखेमा खरीद गर्ने काम भईरहेको घोराही उपमहानगर सरसफाई शाखा प्रमुुख लक्ष्मण अधिकारी बताउनुुहुुन्छ । पालिकाले नै फोहोर खरीद गर्ने अभियान चलाई रहँदा पनि नगरबासी भने अहिले पनि फोहोर यत्रतत्र फाल्ने बानीबाट मुुक्त हुन सकेका छैनन् । जसका कारण फोहोर व्यवस्थापन पक्ष चुुनौतिका रुपमा रहेको छ । घोराहीको बजार क्षेत्रमा फोहोर व्यवस्थापनको काम केही गतिका साथ अघि बढेको जस्तो देखिएपनि ग्रामीण क्षेत्रहरुमा अझै पनि फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय व्यवहारिक कार्यान्वयनमा आउन नसकिरहेको स्वयं सरसफाई शाखा प्रमुुख अधिकारीको भनाई छ । जसका लागि शाखाले वडा वडामा पुुगेर टोल विकास संस्था, सरोकार निकायलाई सरसफाईका बारेमा जानकारी गराउने, श्रोतबाटै गल्ने नगल्ने फोहोर अलग्याउन लगाउने जस्ता कामको थालनी भएको बताइएको छ ।

घोराहीमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

राप्ती पोष्ट

घोराही, फागुुन । घोराही उपमहानगरपालिका स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारबाट शुरु भएको छ । घोराही उपमहानगरपालिकाकाको वडा नं. १८ रझेना आयोजक रहेको प्रतियोगिता वडा नम्बर १८ मै रहेको नवलपुरस्थित खेल मैदानमा आयोजना गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका सदस्य भरतमणि अर्यालको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेले गर्नुभएको थियो ।

उहाँले उपमहानगरपालिकाले विभिन्न खेललाई महत्व दिएको बताउनुभयो । खेल क्षेत्र मानव स्वास्थ्य र अनुशासन कायम गर्न मार्गनिर्देश गर्ने प्रमुख आधार रहेकाले बालबालिकाहरुलाई खेलमा सहभागि गराउनु अनिवार्य रहेको बताउनुुभयो । विद्यालय स्तरबाट खेलकुुदमा जोड्दै स्वस्थ नागरिक उत्पादनमा पालिकाले लगानी गर्दै आएको उहाँको भनाई थियो ।

प्रतियोगिता उद्घाटन गर्दै घोराही उपहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपाने

खेलकुद मानव स्वास्थ्यका लागि अपरिहार्य बताउँदै विद्यालय तहबाटै यसको आकर्षण बढाउन यस प्रकारका प्रतियोगिता निरन्तर आवश्यक रहेकोमा जोड दिनुभयो । खेल क्षेत्रबाटै खेलाडीले आफ्ना नाम देश विदेशमा स्थापित गराउन सक्ने हुँदा यो राष्ट्रको पहिचानसँग जोडिने विषय रहेको चर्चा गर्दै घोराही उपमहानगरले एक वडा एक खेल मैदान बनाएर खेल प्रति युवाहरुको आकर्षण बढाउने काम गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षा, युवा तथा खेलकूद महाशाखाका अधिकृत नारायणप्रसाद पौडेल, विद्यालयका प्रधानाध्यापक उद्दव न्यौपाने, विद्यालयका शिक्षक अभिभाबक संघका सदस्य मातृका पाण्डेले यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा खेल प्रतिको आकर्षण बढ्ने र मेलमिलापको समेत विकास हुने बताउनुभयो । फागुन २१ गते सम्म चल्ने प्रतियोगितामा घोराही उपमहानगरपालिकाका सवैजसो वडाका दुई दर्जन बढी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा भलिवल, कवड्डी र एथलेक्टिसका खेलहरु हुनेछन् ।