spot_img
spot_img

अटो रिक्साको मनपरी भाडामा भएन नियमन

छबि पुरी/राप्ती पोष्ट

घोराही, फागुुन । तीन दिन अघि घोराहीको नयाँ बसपार्कबाट तुुलसीपुुर चोकसम्म अटो रिक्सामा यात्रा गरेका चार जनाले चार सय रुपैयाँ भाडा तिरे । उनीहरुको साथमा दुुई वटा झोला पनि थियो । दुरीका हिसावले नयाँ बसपार्कबाट तुलसीपुर चोक बढिमा दुई किलोमिटर मात्रै होला । तर, दुई किलोमिटर मात्रै यात्रा गरेका चार जनाले चार सय तिर्न बाध्य भए ।
यो भाडा त महंगो भएन र ? भन्दा रिक्सा चालकको तुरुन्तै जवाफ आयो तेलको मुल्य बढेर कहाँबाट कहाँ पुगि सक्यो यति भाडा त लागि हाल्छ नी । अलि भाडा मिलाउनु घोराहीको तुलसीपुर चोकमा रिक्सा चालकसँग भाडाको विषयमा यसरी बहस गरिरहेका ती चार जनाले अटोवालाले मागेको भाडा नै तिर्न बाध्य भए । दुुई दिन अघि रतनपुरबाट राप्ती स्वास्थ्य वित्रान प्रतिष्ठान अघि पुुगेका दुई जनाले तीन सय तिरे । उनीहरु यसअघि एक सय पचास तिरेर जाने गरेका रहेछन् । अटो रिक्साले यसरी अचाक्ली भाडा बढाएर लिएपछि उनीहरु तर्सिए ।

स्थानीय नगरबासीहरु अटो रिक्साले कति भाडा लिन्छन् भन्नेमा सामान्यतया अभ्यस्त छन् । तर, केही दिनयता आफु खुशी भाडा बढाएर तोक्ने परिपाटी अटो रिक्सा चालकहरुमा देखिएको छ । घोराहीको बालमन्दिरबाट तल गुलरिया चोकसम्म पुुगेको ५० रुपैयाँ मात्रै हो । तोकिएको भाडा भन्दा अहिले दोब्बर रुपैयाँ बुझाए पछि मात्रै अटोमा यात्रा गर्न सकिन्छ । बुधबार घोराही १५ का निरज थापा रतनपुरबाट भरतपुर जान लाग्नुुभएको थियो । अटो रिक्सामा जानुपर्ने बाध्यताले उहाँले रिक्सा रोक्नुुभयो । उहाँको गन्तव्यसम्मको भाडा ७५ रुपैयाँ हो तर रिक्सा चालकले एक सय पचास मागे ।
अटोमा जानको लागि अटो चालकसँग भाडामा कुरा मिलेन । ‘भरतपुरसम्मको भाडा त ७५ रुपैयाँ तो हो नि ? तपाई भाडा बढाएर भन्दै हुनुहुन्छ । उहाँले फेरी भाडा घटाउन अटोरिक्सा चालकलाई आग्रह गर्नुभयो । अटो रिक्सा चालकले १५० रुपैयाँ भाडा दिने भए लैजाने नत्र पु¥याउन नसक्ने जवाफ दिए । अन्ततः १२५ भाडा तिर्नको लागि राजि भएपछि चालकले अटोरिक्सा स्टार्ट गरेर भरतपुरतर्फ सोझिए ।

त्यस्तै घोराहीका मनिष शर्माले घोराहीको तुलसीपुर चोकदेखि मालपोतसम्म गएकोे अटो रिक्सामा भाडा एक सय रुपैयाँ तिर्नुभयो । यसअघि उहाँ ५० रुपैयाँमा पुग्ने गर्नुभएका शर्माले एक सय रुपैयाँ भाडा बुझाउँदा आक्रोशित हुनुुभयो तर नतिरी छट्टुी पाउनुुभएन । ‘अटो रिक्साहरुले मनपरी भाडा लिन थालेछन्,’ शर्माले भन्नुभयो ‘यसरी आफुु खुुशी भाडा बढाएर लिने हो भने कसरी चल्छ हो ।’ ‘दीपशिखा चोकमा तरकारी तथा फलफुलको व्यवसाय गर्दै आएका एक व्यवसायीले सामान ओसारपसार गर्ने काम अटोमार्फत गर्नुहुन्छ । यसअघि बजारको सब्जीमन्डीबाट १५० मा सामान ढुवानी गर्दै आएकोमा अहिले २५० रुपैयाँ तिनुपरेको गुनासो गर्नुभयो ।

‘म त नियमित रुपमा अटोमा सामान ल्याउँछुु,’ उहाँले भन्नुुभयो, ‘यो अचाक्ली भयो, कसले भाडा बढाउन लगायो खै, आफै भाडा तोकेका छन् लिएका छन् ।’ उसो त अटो रिक्सा चालकहरुले लिने भाडामा एक रुपता छैन । ग्राहक अनुुसार उनीहरुले भाडाको मोलमोलाई समेत गर्न थालेका छन् । केहीदिन यता घोराहीमा अटोरिक्सा चालहरुले मनोमानी रुपमा भाडा लिने गरेको जनगुनासो बढ्न थालेको छ । पछिल्लो समयमा अटोरिक्सामा आवतजावत गर्नेहरुको संख्या बढ्दै गएको र भाडा पनि बढाउँदै गएको यात्रुहरुको भनाई छ ।

घरायसी सामान होस् वा व्यापारी प्रयोजनको लागि प्रयोगका सामानहरु प्रायः अटोरिक्सामा नै ओसारपसार गर्नुपर्ने अवस्थामा यो भरपर्दो साधन भन्दा डरलाग्दो साधनमा परिणत हुने अवस्था बन्दै गएको छ । ‘आपतको बेलामा सामान्य बिरामीदेखि घरदेखि कार्यालय वा अन्य कुनै कामको लागि जान प¥यो भने अटोरिक्साको नै बढी प्रयोग हुन थालिसकेको थियो, अहिले यिनै अटो रिक्साले रुवाउन थाले,’ घोराहीकी लक्ष्मी श्रेष्ठले भन्नुुभयो, ‘आफुुसँग साधन छैन, अटो रिक्साले टुप्पी कसेर भाडा असुल्छन् ।’ प्रत्येक अटो रिक्सा चालहरुसँग घोराहीको तुलसीपुर चोकलाई केन्द्र मानेर भाडा कायम गरिएको भाडा दरको प्रमाण–पत्र पनि साथमा राखिएका हुन्छन् । तर कायम गरेको भाडा दरभन्दा तीन गुना बढी भाडा असुल्ने गरेका छन् ।

पाँच वर्षभन्दा माथिलाई पूरै भाडा लाग्ने र एक जना मात्र भएमा ५० रुपैयाँमा भाडा लिने दर रेट निर्धारण गरिएको छ । तर अटोरिक्सा चालकहरुले एकजना यात्रु भएपनि ५० रुपैयाँ, चार जना यात्रु भएपनि गन्तव्यसम्म पु¥याउनको लागि प्रति व्यक्ति ५० रुपैयाँ लिने गरेकोमा अहिले यो दर बढाएर आफै भाडा दर बनाएका छन् । घोराहीमा अटो रिक्सा चालकहरुको पनि समिति छ । तर, समितिलाई छलेर ती अटो रिक्सा चालकले बदमासी गरी आर्थिक लाभ उठाउने गरेका छन् । लालीगुराँस टेम्पो तथा रिक्सा यातायात प्रालिले मनोमानी भाडा लिएका अटोरिक्सा चालकहरुलाई सम्बन्धित अटोरिक्सा समितिमा खबर गरेको छ । केही बदमास अटो रिक्सा चालकका कारण सबै अटो रिक्सा चालकलाई नै बदनाम गराउने काम भएको केही रिक्सा चालकको गुुनासो छ । नियमसंगत रुपमा अटो रिक्सा नचलाउनेहरुबाट नै केही अटो रिक्सा चालक आजित बनेका छन् ।

उता, तुलसीपुर क्षेत्रमा अटो रिक्सले मनलाग्दी भाडा असुलेको जनगुनासो बढेपछि नयाँ भाडा दर लागू गरिएको छ । घोराहीमा मात्रै आधा दर्जन अटो व्यवसायी समिति मातहत संचालित छन् । अम्बिकेश्वरी रिक्सा यातायात प्रालि, बराहदेव रिक्सा यातायात प्रालि, लालीगँुरास रिक्सा यातायात प्रालिलगायत अहिले अटो रिक्सा चलेका छन् । घोराही बजारमा अटो चालकहरुले मनपरी भाडा लिने मात्र होइन् अव्यवस्थित रुपमा पार्किङसमेत गरेका छन् ।

घोराहीका मुख्य चोकमा अव्यवस्थित पार्किङका कारण सडक साँघुरो हुँदै गएको छ । सडक लेनको प्रयोग नगर्ने, मनलाग्दी अटो रिक्सा कुदाउने तथा जहाँ पायो त्यहीबाट रिक्सा घुमाउने जस्ता कारणले धेरै जसो दुर्घटना अटो रिक्साकै कारण हुने गरेको छ । जिल्लामा मोटर साईकल पछि दोश्रो नम्बरमा दुर्घटना हुने सवारीमा अटोरिक्सा पर्ने गरेको जिल्ला ट्राफिक प्रंहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक थम्मन जिसीले बताउनुुभयो ।

‘बजार क्षेत्रमा पनि तीव्र गतिमा अटो कुदाउने काम भएको पाईन्छ, हामीले बारम्बार अटो रिक्सा चालकलाई सचेतना प्रदान गर्दै आएका छौँ, तर भनेको टेरेको पाइएको छैन, जरिवाना गरेपछि केही दिन सतर्क हुुन्छन् फेरी अवस्था उस्तै हुुन्छ,’ प्रमुुख जिसीले भन्नुुभयो, ‘यसका लागि सवारी चालक गम्भीर बन्नै पर्छ ।’ उसो त जिल्लामा मात्रै अहिले करीव ९ हजार भन्दा बढी अटो रिक्सा कुद्ने गरेको प्रहरीको भनाई छ । बजारभन्दा ग्रामीण क्षेत्रमा अटो रिक्साले झन मनलाग्दी भाडा असुल्ने गरेका छन् । घोराही उपमहानगरपालिकाले पनि नगर क्षेत्रमा चल्ने अटो रिक्सालाई पालिकामा सूचीकृत हुन यस अघि सूचना जारी गरेको छ । पालिकाका राजस्व शाखा प्रमुुख कृष्ण केसीका अनुसार घोराहीमा अहिले करीव १२ सय वटा अटो रिक्सा मात्रै सूचीकृत भएका छन् ।

जबकी घोराहीमा मात्रै २५ सय भन्दा बढी अटो रिक्सा कुद्ने गरेका २०७२ सालदेखि घोराहीमा अटो रिक्सा चलाउँदै आउनुुभएकी लक्ष्मी राना बताउनुुहुन्छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनकी केन्द्रीय सदस्यसमेत रहनुुभएकी रानाले अटो रिक्साको भीडले घोराही बजार अव्यवस्थित बन्दै गएको बताउनुुभयो । ‘हामीले घोराही उपमहानगरलाई घोराही बजारमा कति अटो रिक्सा कुुदाउने हो स्पष्ट हुनुुस् भनेका हौँ, त्यही अनुसार कार्य विधि बनाएर अटो रिक्सा चलाऔँ भनेको पनि धेरै पटक भयो, सुुनुवाई हुुदैन, बजारमा अटो रिक्साको भीड लागेको छ’ उहाँले भन्नुुभयो, पालिकाले दिएको तथ्यांकमै अटो रिक्सा थोरै छ, जबकी घोराहीमा पच्चीस सयभन्दा धेरै अटो कुद्छ ।’

अहिले बढ्दो पेट्रोलिय मुल्यको आधारमा अटो रिक्सा चालकले आफुु खुुशी भाडा दर निर्धारण गर्न नहुुने उहाँको भनाई छ । प्रालि, समिति, स्थानीय सरकार, सरोकार निकायबीचको समन्वयको आधारमा मुल्य निर्धारण गरेर भाडा लिनुु पर्ने उहाँ बताउनुुहुुन्छ । अहिले अधिकांश अटोरिक्साले चर्को भाडा असुुलेको जनगुनासो आईरहेको उहाँको स्वीकारोक्ति छ । यसका लागि चाँडै नै बैठक बसी समस्या समाधान गर्न ध्यानाकर्षण गराउने उहाँले बताउनुुभयो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img